Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

अन्तर्वार्ता

प्रजातन्त्र हुँदैमा देश बन्दैन : महाथिर

(0 votes)
प्रजातन्त्र हुँदैमा देश बन्दैन : महाथिर

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विजनेस कन्क्लेभमा मुख्य वक्ताको रुपमा सहभागी हुन नेपाल आएका छन्। आधुनिक मलेसियाका पिता मानिने महाथिर तेस्रो विश्वबारे बोल्ने प्रखर वक्ता हुन्। उनको पालामा मलेसियामा तीव्र विकास भयो। २२ वर्षसम्म त्यहाँका प्रधानमन्त्री रहेका महाधिर नेपाल आएको बेला नागरिककर्मी विज्ञान अधिकारी र प्रकटकुमार शिशिरले गरेको कुराकानी :



नेपालमा स्वागत छ यहाँलाई।
धन्यवाद। प्राकृतिक सुन्दरताले भरिएको देशमा दोस्रोपटक आउन पाउँदा खुसी छु। 

कुनै बेला नेपाल र मलेसियाको आर्थिक अवस्था उस्तै थियो। तर मलेसियाले विकासमा छलाङ मारिसकेको छ, नेपाल जहाँको त्यहीँ। विकासको सूत्र के हो?
हामी सन् १९५७ मा स्वतन्त्र भयौं। हाम्रा संस्थापक पिताले बहुजातीय मोडलमा जाने निर्णय गरेका थिए। मलेसियन आदिबासी, चाइनिज र इन्डियन समुदाय त्यहाँ थिए। हामीले देशलाई प्रमुख ३ समुदायको सहकार्यमा माथि उकास्नुपर्छ भन्यौं। सबैलाई समान नगरे पनि व्यवहारिक रुपमा 'फेयर' गरेका थियौं। उनीहरुको पूर्ण समर्थन थियो र देशमा स्थिरता पनि। त्यसैले हामीले बलियो सरकार बनाउन पायौं। बलियो सरकारले स्थिर मुलुक बन्यो र हामी प्रगतितर्फ लम्कियौं। 

नेपालको आर्थिक र राजनीतिक अवस्थालाई यहाँले कसरी बुझ्नुभएको छ?
नेपाल अहिले उही समस्यामा छ, जतिखेर हामी स्वतन्त्र हुनुपूर्व थियौं। तीन समुदाय एकआपसमा त्यति धेरै नजिक थिएनन्। उनीहरु विभिन्न जाति, संस्कृति र पहिचानका थिए। तीमध्ये केही विद्रोही पनि, खासगरी चाइनिज समुदाय। तर हामीले त्यो बिर्सने प्रयास गर्दै देश निर्माणमा हातेमालो गर्ने निर्णय गर्यौंव। 
तपार्इंले देख्न सक्नुहुन्छ– यहाँ पनि त्यस्तै अवस्था छ। विभिन्न समुदाय र जातजाति छन्। हामीसँग पनि ३० विभिन्न जाति छन्। जब तिनीहरु मलेसिया निर्माणमा जुटे तिनीहरुले विचार आदानप्रदान गरे। मुख्य कुरा उनीहरुमा कहिल्यै द्वन्द्व भएन। द्वन्द्वले देश भत्काउँछ। देश भत्केको बेला कसैले लगानी गर्दैन। लगानी नभई विकास हुँदैन। नेपालको आर्थिक र राजनीति संक्रमणकालीन अवस्थामा छ। त्यसैले विकास गर्न लागि स्थिरता आवश्यक छ। 

भनेपछि आर्थिक विकासका लागि राजनीतिक स्थिरता नै महत्वपूर्ण हो?
अवश्य, स्थिरता धेरैधेरै महत्वपूर्ण छ। स्थिरताबिना कसैले पनि लगानी गर्दैन। स्वदेशी, विदेशी कसैले पनि। हामी विदेशी प्रत्यक्ष लगानीको भरमा छौं। हामीले लगानीकर्ताका लागि उचित वातावरण दिएका छौं। स्थिर देशमा नीतिगत परिवर्तन हुँदैन। भयो भने प्रगतिका लागि हुन्छ। हामी व्यवसायमैत्री वातावरण चाहन्छौं। व्यवसायीले बढी फाइदा लिन खोज्छन्। 

नेपाल संक्रमणकालमा छ। यो ठूलै चुनौतीको रुपमा छ, साथै आर्थिक चुनौतीहरु पनि छन्। यी चुनौती सम्बोधनका लागि तपाईंको दृष्टिकोण के हुन सक्छ?
दुर्भाग्यवश, म पूर्वाग्रही छु। किनकी म विभिन्न जातीय समुदायको समस्यामा गुजि्रएर आएको मान्छे। यो समयमा सबैका माग हुन्छन्। हाम्रो पद्धतिले यसबारे छलफल गर्ने सुविधा दिन्छ। यस अवस्थामा हामीले केही न केही त्याग गर्नुपर्छ। भविष्यमा प्रगति भए त्यसको भागिदार हामी सबै हुन्छौं। सबै मिलेर निर्माण गर्ने हो भने सबैले पाउन सक्छौं। 
मैले विभिन्न देशमा नयाँ प्रजातन्त्र देखेको छु। प्रजातन्त्र हुँदैमा देश बन्दैन। हामीसँग पनि सीमितता हुन्छन्। जिम्मेवारीबिना प्रजातन्त्र भएर पनि हुँदैन, त्यस्तो प्रजातन्त्रले काम पनि गर्दैन। लोकतन्त्रको मुख्य कुरा हार्नु पनि हो। गुमाउनु पनि हो। केही गुमाएपछि देश बन्छ। 

नेपाल मलेसिया जस्तो कहिले बन्न सक्ला?
इच्छाशक्ति भयो भने चाँडै नै। कहिले भनेर निश्चित समय हुँदैन। देशको प्रगति गर्न केही कुरामा सम्झौता पनि गर्नुपर्छ। सधैं जितेर हिँड्न खोज्यो भने पनि देश बन्दैन। सबैले योगदान दिने हो भने जुनसुकै मुलुक तीव्र गतिमा बन्छ। नेपालसँग भएको प्राकृतिक स्रोत प्रयोगमा ध्यान दिनुपर्छ। राजनीतिक स्थिरता कायम गर्नेतर्फ लाग्नुपर्छ। अनि मलेसियालेभन्दा पनि छिट्टै प्रगति गर्न सक्छ।

मलेसिया नेपाली कामदारका लागि मुख्य गन्तव्य हो। त्यहाँ करिब ५ लाख नेपाली कामदार छन्। तर, उनीहरुले विभिन्न समस्या भोगिरहेको अवस्था छ। यस्तो किन भइरहेको होला? 
निश्चय पनि नेपाली कामदार मलेसियमा धेरै छन्। गइरहेका पनि छन्। मलेसियामा नेपालीलगायत सबै कामदारलाई उचित वातावरण छ। कामदारको हकहितका लागि मलेसिया जहिले पनि सकारात्मक छ। 
हाम्रा लगानीकर्ता पनि अरु देशमा लगानी गर्न जान्छन्। त्यो अवस्था पनि हेर्न सकिन्छ। सरकारले श्रमका विषयमा बल गर्न सक्दैन। बाहिर देशमा काम गर्न जानेले त्यो देशको व्यवस्था र पद्धति पनि स्विकार गर्नुपर्छ। 

तपाईंले आफ्नो पालामा स्कुल क्षेत्रको सुधार गर्नुभयो। अहिले पनि विभिन्न पूर्वाधारमा लगानी छ। तपाईंले सामाजिक र पूर्वाधारलाई प्राथमिकता दिएर लगानी गर्नुभयो। नेपाल जस्तो देशका लागि यो विषयमा के सुझाव हुन सक्छ?
सबै कुरा राजनीतिक समझदारीमा हुन्छ। हामीकहाँ पनि त्यही भएको हो। जब एकपटक देश स्थिरतामा आउँछ आर्थिक नीतिले विकास गर्न सजिलो हुन्छ। योजना कार्यान्वयन गर्न सजिलो हुन्छ। देश स्थिर भएपछि जनताले लगानी गरेर व्यवसाय थाल्छन्। हामीले शिक्षा क्षेत्रका लागि केही योजना बनाएर काम गरेका छौं। विश्वका विभिन्न मुलुकमा विज्ञान, इन्जिनियरिङ पढ्न विद्यार्थी पठाउँछौं। हामी औद्योगिक मुलुक चाहन्छौं। 
आर्थिक विकासको स्वरुपबारे यहाँका राजनीतिक दलबीच मतभेद छ। कुनै दललेे निजी क्षेत्रको नेतृत्वमा आर्थिक विकास गर्नुपर्छ भन्छ, कोही

सरकारी नेतृत्वको पक्षमा छन्, कसैले सहकारीमा जानुपर्छ भन्छन्। तपाईं के सुझाव दिनुहुन्छ?
सामान्यतया सरकार व्यवसायका लागि राम्रो होइन। इमानदारीपूर्वक भन्नुपर्दा सरकारले नाफा कमाउने काम गर्दैन। जब व्यवसाय निजी क्षेत्रमा हस्तान्तरण हुन्छ अनि जनता, लगानीकर्ता, कामदार सबैले काम गर्छन्। उनीहरुले व्यवसाय राम्रोसँग अगाडि बढाउँछन्। उदाहरणका लागि टेलिकमलाई लिन सकिन्छ। जब टेलिकम सरकारी थियो प्रत्येक वर्ष २ सय मिलियन रिंगेट सञ्चालनका लागि दिनुपर्थ्यो, सरकारले तलब पनि दिन्थ्यो। हामीले त्यसलाई निजीकरण गर्यौंल। २ सय मिलियन रिंगेट सञ्चालन खर्च जोगियो। तलब पनि दिनु परेन। यसले सरकारी घाटा घटायो। निजी क्षेत्रबाट सञ्चालन राम्रो हुन्छ। पैसा लगाएका निजी क्षेत्र ढुक्क हुन्छ। उनीहरुले आफ्नो रकम फिर्तासमेत पाउँछन्। उनीहरुले टेलिकम धेरै राम्रोसँग सञ्चालन गरेर नाफा बढाए। टेलिकम निजीकरण गरेको दोस्रो वर्षमै एक अर्ब रिंगेट नाफामा गयो। त्यसबाट सरकारले २८ प्रतिशत कर पायो। सरकारका लागि यो एउटा टिप्स पनि हो।