Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अन्तर्वार्ता

भारतको भूतले हामीलाई खाइरहेको छ

(0 votes)
भारतको भूतले हामीलाई खाइरहेको छ
नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय प्रभावकारी भूमिकामा रहेका माधवकुमार नेपाल अपेक्षाकृत सरल र भद्र राजनीतिकर्मी मानिन्छन्। नेपाली काँग्रेस र मधेसी मोर्चाको समर्थनमा नेपाल प्रधानमन्त्री भएका बेला माओवादीले अनिश्चितकालीन बन्द गर्यो । त्यतिबेला आन्दोलन दमन गर्न बल प्रयोग गरिएन बरु माओवादीलाई नै आन्दोलन फिर्ता लिनुपर्ने गरी थकाइयो। त्यसको श्रेय नेपालको नेतृत्वलाई दिइन्छ।

जनआन्दोलन २०४६ पछि सधैँ नै सत्ता र प्रतिपक्षमा नेतृत्वदायी भूमिकामा रहेका माधवकुमार नेपाल मदन भण्डारीको असामयिक रहस्यमय निधनपछि नेकपा (एमाले) को महासचिव भए। उनकै नेतृत्वमा रहेको पार्टी फुटेर नेकपा (माले) बन्यो। मालेलाई पुनः एमालेमा एकीकरण गरी उनले अर्को छवि बनाए। समन्वयकारी भूमिका खेल्न खोज्दा नेपाल यदाकदा एक्लै परेका देखिन्छन्। समसामयिक राजनीतिबारे नेपालसँग प्रतीक प्रधान, उजिर मगरमणि दाहालले गरेको कुराकानीको सम्पादित अंश :

चुनावको मितिसँगै कार्यतालिका पनि घोषणा भइसक्यो। अहिलेकै अवस्थामा चुनाव हुन्छ कि हुँदैन? तपाइँ के देख्नुहुन्छ?

– हामी चुनाव गर्नुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छौं। सरकार चुनाव गराउन एउटा 'डिटरमिनेसन'का साथ अघि बढेको छ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी अघि बढाउँदैछ। निर्वाचन सम्पन्न गराउन विदेशीसँग सहयोग मागिराखेको छ। सहयोग गर्ने मित्रराष्ट्रहरू छिटो चुनाव होस् भन्ने चाहन्छन्। आवश्यक उपकरणसहित सबै सहयोग गर्न उनीहरू तयार छन्। उनीहरूले सहयोगका निम्ति तयार छौं भनिरहेका छन्। जनता छिटो चुनाव होस् भन्ने चाहन्छन्। समयले संविधान निर्माणको काम छिटो टुंगियोस् भन्ने माग गर्दैछ। परिस्थितिको माग, जनताको चाहना र हामी सबैको तत्परतालाई हेर्दा चुनावको विकल्प छैन। तर, केही समूह चुनावका निम्ति तयार भएको देखिँदैन। उहाँहरूले साँचै चुनावमा भाग नलिने हो भने त्यसले जटिलता खडा गर्छ। उहाँहरूले अघि सार्नुभएको माग पूरा गर्न निकै गाह्रो छ। यो सरकारको विस्थापनको कुरा, ११ र २५ बुँदे विषयवस्तुको कुरामा जटिलता छन्। ती सबैलाई उल्ट्याउने हो भने अहिलेसम्मको सबै प्रक्रिया उल्टिने अवस्थामा पुग्छ। त्यस्तो अवस्थामा मंसिरमा चुनाव सम्भव हुँदैन। 'थ्रेसहोल्ड'को कुरा हटायौं भने सबै साना दल चुनावमा भाग लिन आउँछन्, सहभागी हुन्छन् भनेर एकीकृत माओवादी र मधेसवादी दलले भनेका हुन्। एक प्रकारले सरकारले पनि हामीलाई त्यही कुराको विश्वास दिलाउन खोजेको हो। उहाँहरूले भनेको कुरा त भयो। अब, जसले हिजो जिम्मा लिनुभयो, उहाँहरूले सहमतिमा ल्याउनुपर्छ। थ्रेसहोल्डको कुरालाई मात्रै हामीले मिलाउन सक्ने हो भने अरु दललाई सहमत गराउन सकिन्छ भनेर ज–जसले विश्वास दिलाउनुभो, बचन दिनुभयो, जिम्मेवारी लिनुभयो, अब उहाँहरू त्यो जिम्मेवारीबाट पन्छिन खोजेको हो कि जस्तो छ। नयाँ कुरा उठाएर फेरि समस्या खडा गर्न खोजेको जस्तो देखिँदैछ।
हिजो उहाँहरूले अनावश्यक रूपमा ६ सय १ को संख्यामा पुर्या उन खोज्नुभयो। यो पनि एउटा समस्याको विषय थियो। दुई–तीन महिना यही विषयमा विवाद गर्दै बित्यो। यो अनावश्यक थियो किनभने संविधानबारे सहमति भइसकेको थियो। संविधान संशोधन र संख्याको बारेमा टुंगो लागिसकेको थियो। अब त्यस्तो अवस्थामा नयाँ कुरा उठाएर समस्या खडा गर्न खोजियो, त्यसैले हामीले एकीकृत माओवादी र मधेसी मोर्चाको नियतमाथि शंका गरेका हौं। समय बर्बाद गर्ने र यत्तिकै बिताउने काम एकीकृत माओवादी र मधेसवादीबाट भयो। हामीले अरु दलसँग वार्ता गरेर, सम्झाएर चुनावको प्रक्रियामा जान सहमत गराउनुपर्छ भनेका छौं। 

थ्रेसहोल्ड नहुने कुरालाई कसरी लिनुभएको छ? 
– थ्रेसहोल्ड नहुँदा विगतमा समस्या खडा भएको हो। बहुदलीय व्यवस्थालाई बलियो बनाउन खोजिएको हो भने थ्रेसहोल्डको व्यवस्था राख्नुपर्थ्यो। संविधानसभा छुट्टै, व्यवस्थापिका छुट्टै गरिदिएको भए हुन्थ्यो। संविधानसभाका निम्ति थ्रेसहोल्डको व्यवस्था गर्न सकिन्थ्यो। त्यस विषयमा उहाँहरू पछि हट्नुभयो। हामीले डेढ प्रतिशतबाट एक प्रतिशतमा ल्याउँदा सबै दल सहमत भइसकेका थिए। त्यसमा एकीकृत माओवादी र मधेसी मोर्चा पनि सहमत भएका हुन्। निर्वाचन आयोगलाई उहाँहरूले सहमति दिनुभएको हो। फेरि उहाँहरूले कुरा उल्ट्याउनुभयो र बचन तोड्नुभयो। यस अर्थमा उहाँहरूमा इमान्दारिता देखिएन। वचनको पालना गर्ने प्रतिबद्धता छैन। पटक–पटक यस्ता कुरा दोहोरिन्छन्। यसबाट हामी वाक्क भइसक्यौँ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी चुनावमा आउन नखोज्नुको कारण के देख्नुहुन्छ? 
वैद्य माओवादी चुनावमा आउन नखोज्नुको कारणमा उहाँहरूभित्रको अन्तर्द्वन्द्व एउटा पक्ष हुनसक्छ। उहाँहरूभित्र विद्रोही मानसिकता अलि बढी देखिन्छ। दोस्रो कुरा, उहाँहरू चुनावका निम्ति भौतिक र मानसिक रुपमा तयार हुन सक्नुभएको छैन। पहिलो, विचारले समस्या खडा गर्दैछ। दोस्रो, तयारीको पक्षले समस्या खडा गरेको हुनसक्छ। विचारमा प्रस्ट भइदिएको भए उनीहरूमा यो समस्या आउने थिएन। हामी चुनाव बिथोल्दैनौं, चुनावका विरोधी होइनौं, चुनावको पक्षपोषक नै हौ भन्ने तर व्यवहारमा नदेखिने। यी पक्ष मिलेका छैनन्। वैद्यजीहरूले चार दलको वर्चश्व 'तानाशाही' जस्तो भयो भन्नुभएको छ। हामीलाई बेवास्ता गरियो भन्नुभएको छ। उहाँहरूलाई पनि सम्पूर्ण प्रक्रियामा सहभागी गराउनुपर्छ। हिजो पनि सोध्नुपर्थ्याे। पार्टीहरूबाट केही कमी–कमजोरी भए भनेर कुरा उठाइरहेका छौं। अहिलेको अवस्थामा चुनावबाटै समस्याको समाधान निकाल्नुपर्छ। 

अर्को 'सशस्त्र द्वन्द्व'का लागि देश, जनता तयार छैनन्। के उनीहरूको पार्टी त्यसका लागि तयार भएको देख्नुहुन्छ?
वैद्यजीको पार्टी त्यस रूपमा जान सक्ला जस्तो लाग्दैन। उहाँहरूभित्र एउटा संक्रमणकालीन अवस्था देखिन्छ। एउटा पक्षलाई के लागेको छ भने 'क्रान्ति अधुरो' छ। यो अधुरो क्रान्तिलाई एक धक्का दिएर मात्रै पूरा गर्न सकिन्छ। अर्को पक्षले यही प्रक्रियामा समावेश हुँदै जनताको जीवनमा परिवर्तन र साँचो अर्थमा मुक्ति हुन सक्दछ भन्ने मान्यता बोक्नुभएको छ। अलि क्रान्तिकारी ढंगले जानुपर्छ भन्ने होला। क्रान्तिकारी ढंग भनेको सबैभन्दा पहिले सर्वहारा वर्ग र शोषणमा शिकार भएका जनताका हित र मुक्तिका निम्ति लाग्नु हो। दोस्रो कुरा, समाज परिवर्तन हो। राजनीति र प्रशासनमा रहेका सबै विकृति–विसंगतिविरुद्ध जुध्नु हो। तेस्रो, देश र जनताका हितका निम्ति समर्पित भएर आफूलाई अघि बढाउनु हो। अहिले सामाजिक आर्थिक रुपान्तरणका निम्ति बहुमत हासिल गरेर जनताका हितमा कार्यक्रम लागू गर्नु, राष्ट्रको हितमा कार्यक्रम लिएर अघि बढ्नु हो। यस प्रकारको सोचलाई आत्मसात गर्ने स्थिति उहाँहरूमा बनिसकेको जस्तो लाग्दैन। 

चुनाव गराउने भित्रैकालाई पनि तपाईंले सन्देह गरिरहनु भएको छ नि! 
गराउने भन्नेभित्रको एकीकृत माओवादी हो। उसले ६ सय १ को नयाँ–नयाँ कुरा ल्यायो। मधेसी मोर्चाले समेत नयाँ–नयाँ मुद्दा उठाउन खोज्यो। आफैंले ४ सय ९१ को कुरा ल्याउने। सहमति गर्ने। फेरि ६ सय १ भन्ने। सहमति गरेका विषयमा दुई दिन पनि अड्न नसक्ने। जे आयो त्यसैमा बहकिने। यस्तो कुरामा सुरुमै विचार गर्न सक्नुपर्थ्यो। 
एकीकृत माओवादी, कांग्रेस र एमाले आ–आफ्नो अनुकुल नहुन्जेल चुनावमा जान चाहँदैनन् भन्ने कुरा आएको छ नि? 
हामी तयार छौं। हामी डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हौं। त्यसैले हाम्रो के हुन्छ भन्दा पनि राष्ट्रका लागि के हुन्छ भनेर, जनतालाई केन्द्रबिन्दुमा राखेर सोच्ने हो। हामीले चुनावबाहेक अर्को विकल्प देखेका छैनौं। 

चार दलले गरेको राजनीतिक सहमतिका आधारमा ११ बुँदे र त्यसैको आधारमा रहेर गरिएको २५ बुँदे बाधा अड्काउ फुकाउ विषयमा तपाईंले व्यक्तिगत असहमति राख्नुभयो नि? 
मेरो असहमति यो सरकार कस्तो चरित्रको बन्यो भन्नेमा हो। म के निष्कर्षमा पुगेको थिएँ भने अब राजनीतिक पार्टीको नेतृत्वमा सरकार बन्न सक्दैन। त्यो निष्कर्षमा पुग्नुको कारण एकीकृत माओवादीको बेइमानी हो। सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमित गरेर पनि ऊ पछि हट्यो। म केमा विश्वस्त भएँ भने उहाँहरू आफूबाहेक कसैलाई जिम्मा दिने पक्षमा हुनुहुन्थेन। त्यस समयका प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रष्ट भन्नुभएको थियो। कसैका नाममा सहमति जुटाउन सक्ने अवस्था थिएन। कांग्रेसबाट बुझ्दा उनीहरू माओवादीलाई दिने अवस्थामा थिएनन्। त्यस्तोमा कुनै न्युट्रल व्यक्ति खोजी गर्नुपर्थ्याे। तर, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सबै अधिकार एकै स्थानमा केन्द्रित हुने स्थिति बन्यो। त्यो स्थितिले आज कसैगरी काम चल्यो। तर, यो नजिर बन्यो भने त्यसले तानाशाह जन्माइदिन्छ। मेरो असहमति यसैमा हो।

यही अवस्थालाई एक किसिमको डेमोक्रेसी मान्नेले प्रधानन्यायाधीशको पदबाट अध्यक्षले राजीनामा गर्नुपर्छ भन्ने कुरा उठाइरहनु भएको छ नि?
चुनावको मुखमा आएर यस्तो कुरा गर्नु उपयुक्त छैन। अहिलेको संविधानले व्यवस्था गरेअनुरुप गर्न फेरि बाधा अड्काउ फुकाउनुपर्ने हुन्छ। त्यसमा सहमति हुन सक्छ कि सक्दैन? प्रश्न उठ्छ। सहमति भैदिए त राम्रो हो। सहमति हुने भए पहिले नै हुने थियो। सहमति भइरहेको छैन। कति समयसम्म कुर्ने? कसको कुरा मान्ने? यस्ता स–साना कुरालाई इज्जत र प्रतिष्ठाको विषय किन बनाउने? डेमोक्रेसीप्रतिको चिन्ता हो भने हामी सबैले चिन्ता गरौं, होस गरांै, सतर्क हौं। आउने जटिलतालाई ध्यानमा राखेर अघि बढौं। होइन भने यस्ता कुरामा अल्भि्कएर समय यत्तिकै बिताउने र देशलाई बर्बाद पार्ने काम नगरौं। 

एकीकृत माओवादीले चुनावमा गएका लोकतान्त्रिक दललाई प्रचार–प्रसार गर्न, जनतामा जान, जनतामा झिज्न, आफ्नो मत जनतामा राख्न दिन्छन्?
पहिले भन्दा माओवादीको त्रास जनतामा हटेको छ। त्रास गर्ने शक्ति मैदानमा देखिएका छैनन्। खासखास स्थानमा यस्तो गर्ने कोसिस होला तर जनताको मनोबल बढेको छ, प्रतिवाद गर्नेहरूको पनि मनोबल बढेको छ। सबैले अनुभवबाट शिक्षा लिएर अघि बढ्ने अवस्था सिर्जना भएको छ। माओवादी विभाजन भएको छ। एकीकृत माओवादी, नेपाल–माओवादी र मातृका यादव नेतृत्वको माओवादी क्रियाशील छन्। त्यो अवस्थामा काउन्टर ब्यालेन्सको अवस्था छ। 

यसको अर्थ अब नेकपा एमाले वामपन्थी मूलशक्तिको रूपमा अघि बढ्छ भन्ने तपाईंको अनुमान हो?
एमाले वामपन्थी पार्टी हो। यो प्रतिकूलताको बीचमा पनि अघि बढेको पार्टी हो। चुनावका समयमा वास्तवमै बढी भरोसा र विश्वास गरौं। माओवादी तल्लो तहसम्म झर्ला, उत्रिएला, साम, दाम, दण्ड, भेद अपनाउला भनेर पहिले सोचेनौं। यति ठूलो त्रासको अवस्था, त्यति ठूलो आतंकको अवस्था, यति ठूलो बुथ कब्जाको स्थिति, यति धेरै पैसाको चलखेल, यतिधेरै वाइसिएलको परिचालन गर्ला भनेर सोचेका थिएनौं। जनतामा सन्त्राश र प्रलोभन बाँड्ने काम माओवादीले अघिल्लो चुनावमा गर्योा। त्यसको हामीबाट खण्डन र प्रतिकार पनि हुन सकेन। यी सबै कारणले असोचनीय परिणाम भोग्नुपर्ने स्थिति बन्यो। एमाले वामपन्थी दृष्टिकोण र सोँचका साथ अघि बढिरहेको छ। सरकारमा जाँदा पनि हामीले त्यही दृष्टिकोणमा आधारभूत तहका जनताको हितलाई ध्यानमा राख्यौं। म प्रधानमन्त्री हुँदा जनतासँग आवास कार्यक्रमदेखि युवा स्वरोजगार, युवा नीति तर्जुमा गर्ने काम भयो। हामीले महिलामाथि ज्यादति, कमलरी र सुकुम्बासीको समस्या सम्बोधन गर्यौंग। बालबालिका, मुस्लिम, कर्णाली, दलित, पिछडिएका जनजातिलगायत सबै समुदायका समस्यालाई यथोचित सम्बोधनदेखि लिएर सिंगो देशको विकासनिम्ति गर्नुपर्ने महत्वपूर्ण कार्यमा ध्यान दिएँ। 

आफूले वामपन्थी सरकार गठन गरेको भन्नुहुन्छ। एमालेभित्र दुईवटा प्रवृत्ति देखियो नि! तपाईंले सरकार नेतृत्व गर्दा कांग्रेसको समर्थन, अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्दा माओवादीको साथ लिनुभयो। यो गठबन्धनलाई हेर्दा त तपाईंहरू वामपन्थी हो कि होइन भन्ने प्रश्न उब्जिन्छ नि?
मधेसवादी दलको पूरै टेकोपुरोमा बाबुराम भट्टराईको सरकार बन्यो। त्यो खाँटी वामपन्थी सरकार हुन सकेन। नीति, विचार र सोच सबैमा सन्तुलित विचार राखेर हिँडेको एमालेलाई कांग्रेसले माओवादीको कारणले साथ दियो भनेपछि गैरवामपन्थी भन्ने के छ आधार? फेरि माओवादीले हाम्रो पार्टीभित्र खेल्नका लागि, हाम्रो पार्टीभित्रैबाट अन्तर्द्वन्द्व पैदा गर्नका लागि दाउपेच खेलेको हो। त्यो दाउपेचमा हाम्रा साथीहरू फस्नु हुँदैनथ्यो। पदीय आकांक्षा परिपूर्ति गर्न आफ्नै सरकारको विरोधमा जानु हुँदैनथ्यो। यो घातक प्रवृत्ति हो। त्यो नभएको भए शान्ति प्रक्रिया, संविधान निर्माण र आर्थिक विकासका सवालमा निकै ठूलो प्रगति हुने थियो। अहिलेसम्म देशले जुन दुर्दशा भोग्नुपरेको छ, यो दुर्दशाबाट देश मुक्त हुने थियो।

यसको अर्थ त्यसको जिम्मेवार एमाले पार्टीभित्रै देखियो? 
एमालेभित्रै त्यो कारक रह्यो। एमालेभित्रकै कमजोरीले मैले राजीनामा दिनुपर्यो। अरुले पूरै साथ दिएका थिए। २२ दलमध्ये २१ दलको पूर्ण समर्थन थियो। सबै दबाबलाई मैले सामना गरेको थिएँ। माओवादीको दबाब सामना गरेको थिएँ। बाहिरी शक्तिले दिएको दबाब सामना गरेको थिएँ। चाहे त्यो अनमिनको सवालमा होस् वा अन्य कुनै मुद्दामा। माओवादीको अनिश्चितकालीन आमहड्तालको सामना गरेँ। समाजमा उत्पन्न भएको अराजकतालाई नियन्त्रण गरेको थिएँ। बन्द, हड्ताल, चक्काजाम र राजमार्गमा उत्पन्न हुने समस्या नियन्त्रण गरेको थिएँ। दुई परिवारको झगडा हुनेबित्तिकै सहिद घोषणा गर्नुपर्ने र राजमार्ग बन्द गर्ने कार्यलाई नियन्त्रण गरेको थिएँ। दस लाखको कुरालाई डेढ लाखमा झारेको थिएँ। सहिदको नयाँ परिभाषा गर्न नयाँ आयोग नै गठन गरिएको थियो। त्यसले दस्तावेज प्रस्तुत गरिसकेको थियो।

१२ बुँदेदेखि शान्ति प्रक्रियासम्म आँउदा तपाईं सबै प्रक्रियामा सामेल हुनुहुन्छ। पार्टीका कारणले तपाईंमा निरासा उत्पन्न भएर सरकारबाट बाहिरिएपछिको प्रक्रियामा सहभागी नहुनुभएको हो? 
म त सहभागी हुँदै आएको छु। पछिल्लो कालमा अलि निस्त्रि्कय जस्तो मात्रै हो। हिजोको बैठकमा मैले भनेको थिएँ। अहिलेको यो चार दलको वार्तामा जाने कुरामा मलाई जाँगर नै पलाउँदैन। के हो, के हो! म त जाँगरिलो मान्छे, लागि पर्ने मान्छे। जब त्यहाँ बोलाउन थाल्छन्, मलाई जाँगर नै लाग्दैन। मेरो जाँगर अलिकति घट्यो, खासगरी यो बीचको प्रक्रियाका सन्दर्भमा। शान्ति प्रक्रियालाई टुंगोमा पुर्यााउन मैले भूमिका खेलेकै हुँ। संविधान निर्माणलाई टुंगोमा पुर्या उन पनि अन्तिम विन्दुसम्म कोसिस गरेँ। जेठ २ गतेको सम्झौतामा मैले नै मुख्य भूमिका निर्वाह गरेको हुँ। जेठ १४ गतेको अन्तिम विन्दुमा पुर्याभउन बालुवाटार मात्रै होइन सिंहदरबार पनि पुगेको हुँ। सिंहदरबार पुग्दा बाबुरामजीले भेट्नुभएन र अपमान गरेको सन्दर्भ पनि उठाएकै हो। मैले आफ्नोतर्फबाट सक्दो गरेको हुँ। सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर मैले नै प्रस्ताव गरेँ। हामीले दुई–दुईपटक प्रधानमन्त्री चलाइसक्यौँ, फेरि माग्नु उचित हुँदैन भनेँ। सुशीलजीको नाम अगाडि सार्दा कांग्रेसले पनि नाम दिओस् भनेको हुँ। माओवादी ब्याक भएपछि, उसले बेइमानी गरिसकेपछि अब स्वतन्त्र व्यक्ति खोज्नुपर्छ भन्ने भयो। स्वतन्त्र व्यक्ति खोज्दै जाँदा पूर्वप्रधानन्यायाधीशभन्दा अरु सम्भव थिएन। पूर्वप्रधानन्यायाधीशका लागि प्रयास गर्न हाम्रो पार्टीले सुरुमा मानेन। नमानेपछि दिक्दार भएर विदेश हिँडेको हुँ। यहाँ जादुमयी परिवर्तन भयो म्याजिकल चेन्ज (हाँसो)। बहालवाला प्रधानन्यायाधीशमा चेन्ज भएको अवस्थामा म अचम्भित भएँ। 

वामपन्थी पार्टीको हैसियतले आगामी संविधानसभामा एमालेको पोजिसन कहाँ रहन्छ? 
हाम्रो पार्टीको हाराहारीमा कुनै पार्टी छैन। पहिलो, विचारको हिसाबले। हामीसँग एउटा यस्तो सिद्धान्त छ, जसलाई हामी राजनीतिक कार्यदिशा भन्छौँ। हामी कम्युनिस्टले के भन्छौँ भने राजनीतिक कार्यदिशा सही भएको पार्टीले नै मुलुकलाई नेतृत्व गर्नसक्छ। सही राजनीतिक कार्यदिशा भएको पार्टीले नै मुलुकलाई सफलताको विन्दुमा पुर्याकउन सक्छ। हाम्रो राजनीतिक कार्यदिशा 'जनताको बहुदलीय जनवाद' हो। अरु पार्टीको राजनीतिक कार्यदिशा के हो? के जनयुद्धको कार्यदिशाले नेतृत्व दिइरहेको छ? छैन। नयाँ कार्यदिशा के आयो? २१औं शताब्दीको जनवाद हो? त्यो हो भने आउनुपर्योन। त्यो बहुदलीय जनतावादको नयाँ संस्करण मात्रै हुन सक्छ, त्योभन्दा भिन्न हुन सक्दैन। त्यसमा विचारको अगुवा त एमाले भयो। शान्तिपूर्ण ढंगबाट, चुनावको माध्यमबाट सामाजिक र आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता हामीले बोकेका हौं। ठूला तानाशाहलाई ढाल्न सकिन्छ भन्ने मान्यता हामीले बोकेका हौं। जंगल जानुपर्दैन, हतियार बोक्नुपर्दैन, रक्तपात गर्नुपर्दैन भन्ने मान्यता हामीले बोकेका हौं। चुनावको माध्यमबाट जनताको विश्वास जित्न सकिन्छ। ठूलो पार्टी हुन सकिन्छ, बहुमत हासिल गर्न सकिन्छ, आफ्नो कार्यक्रम लागू गर्न सकिन्छ, एकदलीय तानाशाही व्यवस्था चाहिँदैन भनेर भन्ने हाम्रै पार्टी हो। समाज परिवर्तनका लागि जनताका के–के आकांक्षा छन् भनेर हामीले पहिल्यै भनेका थियौं। मधेस, जनजाति, महिला, दलित, सुकुम्बासी, गरिब भूमिहीन किसान, पिछडिएका जनताका आकांक्षा के छन् भनेर बेलाबेलामा सम्बोधन गर्दै आएका छौं।
२०४७ सालमा जतिखेर हामी संविधान बनाउँदै थियौं, त्यसबेला पनि संविधानसभा (नेपाल अधिराज्यको संविधान, २०४७) मा महिला र दलितका लागि छुट्टै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने आरक्षणको व्यवस्था गरेका थियौं। त्यसपछि २०५० सालमा म महासचिव हुँदा मधेसको समस्याबारे अध्ययन कार्यदल बनायौं। २०६२ सालको आन्दोलन सफल नहुँदै साउनमा हामीले राज्य पुनर्संरचना गर्नुपर्दछ भन्दै संघीय इकाइ निर्माण गर्ने आधार तयार गरेका थियौं। नेपालमा संघीयता आवश्यक छ भन्ने कुरा हामीले नै अघि सारेका थियौं। 

जुन वर्गको कुरा उठाउनुभयो, त्यही त्यही वर्गले तपाईंलाई छाडे नि!
एउटा व्यक्तिले छाडेको कुरा गर्नुहुन्छ? रत्नेश्वर गोइत, यदुवंश झा कहाँबाट आए? यिनीहरू मधेसी होइनन्? हजारौं मानिस एमालेमा प्रवेश गरेका छन्। रौतहटका गाउँगाउँमा आइरहेका छन्। हामी जहाँ–जहाँ गएका छौं, त्यहाँ मधेसी, जनजाति, महिला, दलित सबै वर्ग र तहका जनता एमालेमा प्रवेश गरेका छन्। यो संख्या हज्जारांै हजार छ। एमाले विचारको हिसाबले ठीक छ, नेतृत्वको खुबी र विशेषताका आधारमा एमाले अगाडि छ। हामी उग्रतामा विश्वास गर्दैनौं र यथास्थितिमा रुमल्लिँदैनौं। यी दुवैखाले प्रवृत्तिविरुद्ध छौं। यथास्थितिवादी प्रवृत्ति, घोर दक्षिणपन्थी प्रवृत्ति वा घोर उग्रवामपन्थी प्रवृत्ति यी सबै कुराबाट जोगिएर हामी सन्तुलित भएर अघि बढेका छौं। 

अध्यक्ष झलनाथ खनालका नेतृत्वमा उग्रवामपन्थी लाइनमा अर्का नेता केपी ओली लोकतान्त्रिक वामपन्थी लाइनमा उभिएका छन्। तपाईंको लाइन छैन वा कमजोर छ भनिन्छ नि? 
(हाँसो) हाम्रो पार्टीमा अनेक खालका विचार प्रवृत्ति नभएको होइन। जुनसुकै पार्टीमा त्यो हुन्छ। हामीले पार्टीको मूलधारलाई हेर्ने हो। मूलधार बेलाबखतमा दायाँबायाँ हुन खोज्नु बेग्लै कुरा हो। कहिले माओवादीतर्फ लहसिन खाजेको, कहिले कतातिर लहसिन खोजेको जस्तो देखिन्छ। सिंगो पार्टीलाई स्वतन्त्र धारमै लाने काम भएको छ। माओवादीसँग लहसिने त गइसके। माओवादीको वास्तविक चरित्र देखिसकेपछि मोहभंग हुनेछ। फेरि फर्केर आउने त मूलघरमै हो। एमालेको संस्कार र संस्कृतिमा हुर्केकाहरु घुमिफिरी एमालेमै आउँछन्। त्यसको विकल्प पनि छैन।

तर, एमालेमा पछिल्लो चरणमा गुटबन्दी र अराजकता तीब्र रूपमा बढेको देखिन्छ नि? 
केही–केही प्रवृत्ति यस्ता देखिएका छन्। त्यस्तो थोरै हुन्छ। आमकार्यकर्ता पंक्ति त्यस्तो छैन। 

सिंगो युवापंक्ति नै गुन्डा छुटाउन चन्दा उठाउँछु भनेर लागेको छ त? 
त्यस्तो कुरा गलत हो। हामी गलत कुराको पछि लाग्दैनौं। राज्यले कानुनी कारबाही गर्छ भने राज्यको कुरा हुन्छ। हामीले हिजो पनि रातो पासपोर्टको मुद्दामा प्रतिरक्षा गरेनौं। राज्यले कारबाही गरोस्, कोही निष्पक्ष र निर्दोष छ भने छुटकारा पाउनुपर्छ। कसैमाथि कुनै निकायले कारबाही गर्छ भने, केही हेरेको छ भने कुनै आग्रह नपालोस्, सत्य तथ्यको आधारमा चलोस् भन्ने मात्रै हुन्छ। कुनै पनि डन र गुन्डागर्दी गर्ने तत्वलाई एमालेले संरक्षण दिन सक्दैन। एमाले समाजमा रहेका भ्रष्ट, पतित, अपराधी, गुण्डाहरूको जमघट थलो हुन सक्दैन। एमालेले राम्रो कच्चा पदार्थलाई मात्रै स्थान दिन्छ। जस्तोसुकै कच्चा पदार्थलाई स्थान दियो भने कमसल वस्तु उत्पादन हुन्छ। खराब कच्चा पदार्थ यहाँ आयो भने पक्का पदार्थलाई खराब बनाउँछ। 

एमाले पाठशाला, विश्वविद्यालय, ट्रेनिङ दिएर सुधार गर्ने थलो हो भनेर जिम्मेवार नेताहरूले भनेका छन् नि?
एमाले अपराधीको जमघट थलो हुन सक्दैन। जसले यस्तो कुरा गरेको भए पनि त्यो गलत हो। त्यसले पार्टीलाई बर्बाद बनाउँछ। कसैको अनुहार नै डरलाग्दो छ भने पार्टीका असल मान्छेहरू भाग्छन्। 

तपाइँले पर्शुराम बस्नेत गलत मानिस हो भन्नुभएको हो कि सही? युवासंघले पर्शुराम बस्नेतलाई रिहा गर्न धरौटी जुटाउँछौं भनिरहेको छ त? 
पर्शुराम बस्नेत कस्तो मानिस हो भन्ने राज्यले तय गर्ने कुरा हो। म यो काम सही ठान्दिन। यस्तो गर्नै हुँदैन। कति जनाका भारी बोक्ने? युवा संघले यस्तो निर्णय गरेको छ भने त्यो बेठिक गरेको छ। 

न्यायाधीशहरू राजनीतिक आस्था देखाउँदै बल्खु आउनु कत्तिको सही कुरा हो? 
त्यस्तो आएकै छैनन्। मैले आज (बुधबार) सोधेँ। आउँदै नआएको कुरालाई न्युज बनाइदिएर सेन्सेसनल गर्ने हो? न्यायपालिकामा गएका मान्छे राजनीतिबाट टाढा बस्नुपर्छ। मैले बुझ्दा कोही आएका छैनन्। उहाँहरू न्यायाधीश हो, पूरै मर्यादामा बस्नुपर्छ। 

न्यायपालिकाको प्रसंग आउँदा थप प्रश्न गरौं। अहिले न्यायपालिका खिलराज रेग्मीको नियन्त्रणमा लिरहेको हो कि दामदोर शर्माले दाबी गरेको जस्तो स्वतन्त्र रूपमा चलिरहेको छ? 
मैले सुनेको आधारमा भन्ने हो। सुनेसम्म खिलराज रेग्मीजीले 'मेरो कुनै पनि भूमिका छैन, मैले कुनै पनि सम्पर्क राखेको छैन' भन्नुभएको छ। अरु कसैले पनि राखेको छ भनेर भनेको सुनेको छैन मैले। त्यसैले नभएको कुरा त कसैमाथि आरोप लगाउनुहुँदैन। 

संविधानसभाका निर्वाचनमा पार्टी नयाँ नेतृत्वका साथ जानुपर्छ भन्ने धारणा आएको थियो नि? 
संविधानसभाको निर्वाचन मंसिरमा हुन्छ। हाम्रो महाधिवेशन फागनुसम्म गर्नुपर्छ। फागुनसम्म महाधिवेशन गर्न सकिहाल्छौं। पहिले पनि मंसिरमा निर्णय गरेर माघमा गरेका थियौं। अहिले पनि मंसिरमा निर्णय गरेर फागुनमा गर्न सकिन्छ। त्यस्तो केही परे महाधिवेशन सार्न पनि सकिन्छ, त्यो ठूलो कुरा भएन। एक वर्षसम्म महाधिवेशन अघि–पछि सार्न सकिन्छ भन्ने हाम्रो निर्णय नै हो। तर, यो समस्याको विषय बन्दैन। चुनावको मिति घोषणा भइसकेको अवस्थामा महाधिवेशनको कुरा बेमौसमको बाजा बनेको छ। यसले हाम्रो ध्यान डाइभर्ट गर्छ, चुनावमा प्रतिकूल असर पार्छ। एमालेलाई बहुमतबाट रोक्ने जुन ठूलो षडयन्त्र छ, त्यसमा फस्ने स्थिति बन्छ। 

एमालेको बहुमत आउनेमा निश्चित हुनुहुन्छ?
एमाले बहुमतका निम्ति लागिपरेका छौं। कम्तीमा पहिलो स्थानको नम्बरमा एमालेलाई पुर्यााउने संकल्प छ। लोकतान्त्रिक संविधानलाई सुनिश्चित गर्न एमालेसहितको लोकतान्त्रिक पार्टीलाई लिएर दुई तिहाइ बहुमतको अवस्थामा पुर्यानउने सुनिश्चित गर्न अघि बढेका छौं। 

लोकतान्त्रिक दलहरूको दुई तिहाइ भएन भने संविधान बन्छ कि बन्दैन?
यस्तो अवस्थामा परस्परिक रूपमा सम्झौता गरेर लचकता प्रस्तुत गरेको खण्डमा संविधान बन्न सक्ला। होइन, मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने त्यो अवस्थामा संविधान लेखनले निरन्तरता प्राप्त गर्न सक्दैन। बाँकी विषयमा जनमत संग्रहको विधि अपनाउनुपर्ने हुन्छ। 

जनमतसंग्रह के–के विषयमा गर्नुपर्छ?
संघीयताको कुरामा। एकल जातीय प्रदेश र देश टुक्र्याउने कुरा मान्न सकिँदैन। एकल जातीय पहिचानसहितको राज्यको कुरा र आत्मनिर्णय अधिकारका आधारमा देश टुक्र्याउने कुरा मान्न सकिँदैन। 

प्रसंग बदलौं। नेपाली राजनीतिमा भारतको भूमिका कत्तिको देख्नुहुन्छ?
भारतको भूतले हामीलाई खाइरहेको छ। केही पक्ष सहमतिमा मिलाएर जानुपर्नेमा हामीले आवश्यकताभन्दा बढी महत्व दिने गरेका छौं। आफूले ज्यादा आशीर्वाद लिन खोज्छौं, सुझाव लिन खोज्छौं। यस्तो प्रवृत्ति ठीक होइन। भारतले सधैँ भन्ने गरेको छ– नेपाल–भारत दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन्। भारतका नेताहरुले मलाई स्पष्टसँग भनेका छन्– हामी नेपालसँगको सम्बन्धलाई पारस्परिक लाभ र सम्मानको आधार अहस्तक्षेपका नीतिअनुसार चलाउन चाहन्छौं। उहाँहरुले कुनै कुरामा दबाब दिएको मैले पाएको छैन। कुनै कुरामा सुझाव दिँदा राम्रो छ भने ग्रहण गर्नुस्, राम्रो छैन भने दायाँ कानले सुन्नुस् देब्रेले उडाइदिनुस्। 

सुशील कोइरालालाई प्रधानमन्त्री हुन नदिन पनि भारतले ठूलो रोल प्ले गर्यो भन्छन नि?
त्यो कुरा सुशील कोइरालाजीलाई सोध्नुभए हुन्छ। त्यसै कारणले माओवादीले नमानेको हो भने माओवादीलाई सोध्नुपर्योल। उसैले जवाफ दिनुपर्योे। हामीलाई त त्यस्तो सूचना छैन। मैले पाएको सूचना माओवादीले कोइरालालाई नमानेका हुन्। 

बाबुराम भट्टराई सत्तामा पुगेपछि विदेशीको चलखेल रहेछ भन्नुभयो। तपाईंलाई त्यस्तो लाग्यो लागेन?
मलाई लागेन। मैले त्यस्तो चलखेलको अवस्था पाइन। तपाईंहरुको सद्भावचाँहि चाहिन्छ र तपाइंहरूले त्योभन्दा बढी सोच्ने पनि होइन। कतिपय अवस्थामा गाह्रो पर्योो तर त्यसको मैले सामना गरेँ। वैशाख ८ (२०६३) गतेको मैले पटक–पटक चर्चा गरेको छु। विदेशीले आन्दोलन अघि बढाउन र रोक्न भनेका हुन् तर हामीले मानेनौं। मलाई अनमिन नपठाउन भनेर भनेका हुन्। रक्तपात हुन्छ भनेका हुन्। केही पनि भएन। उनीहरूको विश्लेषण गलत देखियो। विदेशीले जे भन्यो, त्यो मान्ने हाम्रो दास मनोवृत्ति र विदेशीको सामु नतमस्तक हुने मनस्थिति हो। 

झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा पुष्पकमल दाहालले विदेशीको सहयोगबिना बनायौं भने नि? 
उहाँले त्यो भनेको अर्थबाट के देखिन्छ भने उहाँ पनि प्रधानमन्त्री बन्दा विदेशीको सहयोगबाट बन्नु भएको देखिन्छ। झलनाथ खनालको सरकार नेपालीको सहयोगमा बनेको पहिलो सरकार थियो भने पुष्पकमल दाहालको सरकार के थियो? उहाँ पनि हो नि प्रधानमन्त्री! त्यसो भए उहाँलाई पनि विदेशीले प्रधानमन्त्री बनाइदिएको हो त? त्यस्तो होइन। प्रचण्डजीले राजीनामा दिइसकेपछि उहाँले विकल्पमा अर्को सरकार बन्नै सक्दैन भनेर दाबी गर्नुभएको थियो। तर, नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले मेरो नाम अघि सार्नुभयो। पार्टीले मेरो पक्षमा निर्णय गरेपछि मैले साना दललाई मिलाएँ। उपेन्द्र यादवको समूह नआउँदा जहिले पनि खतरा उत्पन्न हुने भयो। कहीँ दुई–चारवटा भोट तलमाथि हुन्छ कि भनेर उपेन्द्रजीको समर्थन लिन सुरुदेखि कोसिस गरियो। उहाँले अलमल अलमल गरेपछि विजय गच्छदारले पूरा साथ दिन्छु भन्नुभयो। त्यसपछि हाम्रो समर्थनको संख्या पुग्यो। कहाँबाट विदेशीको आडभरोसा हुनु? अवश्य पनि सबैको सद्भाव मैले प्राप्त गरेको थिएँ। म कसैसँग पनि झुक्दिनँ। मान्छे को सँग डराउँछ भने जो बिक्दछ। भारतलाई पनि डर होला– अरुसँग बिक्छ कि भनेर। चीन, पाकिस्तानलाई त्यस्तै होला। बिकाउ मान्छे बिकाउ माल हुने भयो। त्यसमा खाली बढाबढ मात्रै नहुने हो। जो मान्छे सन्तुलन मिलाएर चल्न चाहन्छ। त्यस्तालाई सबैले उपयुक्त ठान्छन्। म त्यस्तो कुरामा विश्वास गर्ने मानिस हुँ। म अनुचित काम गर्न चाहन्नँ। अनुचित रूपमा झगडा गर्न चाहन्नँ र अनुचित रूपमा चाकडी गर्न पनि चाहन्नँ।