Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अन्तर्वार्ता

नेतृत्व पाए पार लगाउँछु : केपी ओली

  • सोमबार १ माघ, २०६९
  • स्वरूप आचार्य र बसन्त बस्ने
  • DISQUS_COMMENTS
(1 Vote)
नेतृत्व पाए पार लगाउँछु : केपी ओली
एमालेका 'प्रभावशाली नेता'का रूपमा चिनिँदै आएका केपी ओली एकीकृत माओवादीका प्रखर आलोचकका रूपमा चिनिन्छन्। विपक्षीहरूमाथि कडा प्रहार गर्ने शैली नै राजनीतिमा उनको पहिचान बन्न पुगेको छ। त्यसैले त पार्टी सत्तामा भएको बेला होस् वा प्रतिपक्षीमा रहेको बेला उनी सदाबहार हिसाबले नै चर्चामा रहन्छन्। २०४६ सालको परिवर्तन यता ओली सधैंभरी नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका छन्। एमालेको नौ महिने शासनकालमा सफल गृहमन्त्रीको छवि बनाएका ओली ०६२/०६३ सालको जनआन्दोलनपछिको संक्रमणकालमा भने उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री थिए। संविधानसभाको निर्वाचनमा पराजय भोगेका ओलीले पार्टीको आठौं महाधिवेशनमा पनि अध्यक्ष पदमा पराजय नै भोग्नुपर्‍यो। तैपनि उनी राजनीतिको केन्द्रमा भने रहिरहे। पछिल्लो समय बिरामी अवस्थाबाट उत्रेर आराम गरिरहेका तिनै ओलीसँग नागरिकका स्वरूप आचार्य र बसन्त बस्नेतले गरेको वार्ता :
जस्तो- हर्टअट्याक मान्छेलाई अचानक हुन्छ। तर त्यसको आधार पहिलादेखि बन्दै आएको हुन्छ। देख्दा अचानक भएको देखिन्छ। मेरोचाहिँ छ/सात वर्षअगाडि 'किड्नी फेल' को कुरा आयो। त्यो अचानक भएको थिएन। बिस्तारै भएको हो। यसपल्ट पनि म बाहिर जाँदादेखि नै बिग्रँदै गएको थियो। मेक्सिकोमै बिरामी परिसकेको थिएँ।
तपाईँको स्वास्थ्य कस्तो छ?
एकदम राम्रो छ।

पछिल्लो समयमा तपाईँको स्वास्थ्य स्थितिलाई लिएर अनेकन टिप्पणी आए। हाम्रो राजनीति जस्तै कहिले राम्रो भयो, कहिले अचानक नराम्रो भयो भनेर। किन?
त्यस्तो पनि होइन किनभने कहिले अचानकै नराम्रो पनि हुन्छ, कहिले बिस्तारै- बिस्तारै नराम्रो हुँदै जान्छ। जस्तो- हर्टअट्याक मान्छेलाई अचानक हुन्छ। तर त्यसको आधार पहिलादेखि बन्दै आएको हुन्छ। देख्दा अचानक भएको देखिन्छ। मेरोचाहिँ छ/सात वर्षअगाडि 'किड्नी फेल' को कुरा आयो। त्यो अचानक भएको थिएन। बिस्तारै भएको हो। यसपल्ट पनि म बाहिर जाँदादेखि नै बिग्रँदै गएको थियो। मेक्सिकोमै बिरामी परिसकेको थिएँ। न्युयोर्क आइपुग्दा अलिक बढी नै बिमारी परेँ। त्यहाँ उपचार गराउँदा नै मैले नेपालसम्म पुग्न सक्ने बनाइदिनूस् भनेर डाक्टरलाई भनेको थिएँ। पुरै निको हुन धेरै समय लाग्ने थियो। यहाँ आएपछि फेरि बिरामी परियो।

एकातिर तपाईका समर्थक ज्यानै दिउँला जस्तो गर्छन्, अर्कोतिर विरोधीचाहिँ ज्यानै लिउँला जस्तो गर्छन्। किन होला?
यो बुझ्ने र नबुझ्नेबीचको अन्तर हो। म स्पष्ट बोल्छु, बुझ्नेले समर्थन गर्छन्, नबुझ्नेले विरोध गर्छन्। स्वार्थीहरूले भ्रममा पार्छन्।

'ग्रे जोन' नै छैन, कि कालो कि सेतो?
त्यो नराम्रो होइन।

मास पोलिटिक्स गर्ने मान्छेलाई त्यसले हानि गर्दैन?
गर्छ। तर म कुनै खेल खेल्दिन। म सचेत गराउँछु। म सचेत जनताको सचेत प्रयासबाट देश बनाउने कुरामा विश्वास गर्छु। कतिबेला आफू कहाँ परिन्छ भन्दा पनि देश कहाँ पर्छ भन्ने मेरो चिन्ताको विषय हो।

तीन/चार दशक भइसक्यो तपाईँले जनता सचेत बनाउन थाल्नुभएको। जनता कति सचेत भइसके त?
धेरै भइसके। मैले देशमा राजनीति थाल्दा देशमा सक्रिय राजतन्त्रको आडमा निर्दलीय पञ्चायती व्यवस्था थियो। आज गणतन्त्र नेपाल छ। गणतन्त्र नेपाल निकै अगाडि बढ्थ्यो यदि उग्र वामपन्थी अतिवाद नभएको भए। यो त हामीमात्र हैन, अरु पनि छन् नि। अरु टिम हुन्थेन भने त मेसीले सधैँ गोल हान्थ्यो होला नि! अरु पनि टिम हुन्छ, उनीहरूले हान्न दिँदैनन् नि। सबै कुरा मिल्नुपर्छ, गोल हान्नलाई। एउटा खेलमा त त्यस्तो हुन्छ भने यो राजनीति हो। यसमा विरोधी शक्ति र प्रतिपक्षी पनि हुन्छन्।

यदि माओवादी हुन्थेन भने तपाईँहरू कहिल्यै गोल गर्न जानुहुन्न थियो, खाली मैदानको बीच भागमै बल खेलाइरहनुहुन्थ्यो भन्छन् नि?
सात सालअगाडि जब काँग्रेस, एमाले जस्ता पार्टी बने, त्यतिबेला माओवादी जन्मेको नै थिएन। त्यो बेला राणा शासनको अन्धकार युग थियो। आइएनजिओबाट पैसा लिएर राजनीतिक दलहरूलाई तथानाम भन्नेहरू पनि छन्। अर्काको हितका लागि कराइरहेकालाई देशको हित कसरी हुन्छ भन्ने चिन्ता छैन। त्यसकारण उनीहरूले देशमा चेतना ल्याउने शक्तिलाई गाली गर्छन्। यो देशमा लोकतन्त्र भन्ने चेतना कसले लिएर आयो? सामाजिक न्याय र समानता भन्ने शब्द कसले सुनायो? त्यो त यिनै दल होलान् नि। खाली गाली गरेरमात्र हुन्छ र?

गाली गरे भनेर कसलाई लक्षित गर्नुभएको?
गाली गर्नेलाई। गलत स्वार्थ बोकेकाहरूलाई।

कुनै समुह होला नि?
यति भन्दा या त तिनले आफ्नो दाह्री छाम्छन् या आफ्नो खुट्टा तान्छन्। त्यहीँबाट चिन्नूस्।

तपाईँहरूले २०४६ सालमा ल्याएको प्रजातन्त्र पूर्ण हुन्थ्यो भने त्यसमा यति चाँडै संकट किन उत्पन्न भयो?
कुनै कुरा त्यस कारणले गलत सावित हुँदैन कि त्यसमा कुनै अर्को पक्ष पनि देखियो। या विरोध वा असहमति पनि देखियो भनेर। त्यस्तो सत्य कसैले चुनौती दिँदैमा असत्य पनि हुँदैन। अथवा सत्यलाई एक हदसम्म स्वीकार गर्‍यो भनेर त्यो असत्य हुँदैन। ०४६ सालको उपलब्धि एक महान उपलब्धि हो। नेपालमा सात सालको आन्दोलनले ठूलो परिवर्तन ल्यायो। त्यसपछि ०४६ को आन्दोलनले ठूलो अग्रगामी परिवर्तन ल्यायो। र, ०६२/०६३ ले पनि ल्यायो। अब ०४६ सालको आन्दोलन सम्पूर्ण राम्रो-राम्रो, कमी-कमजोरी नै नभएको, सहमति नभएर विजय नै विजय मात्रै, सीमै नभएको असीमित राम्रो भनेर म भन्दिन। त्यो एउटा ठूलो सकारात्मक परिवर्तन हो। सँगसँगै त्यसले आफ्नो फरकखालको रणनीति लिएको थियो। सहमतिबाट नेपाली समाजका त्यतिखेरका जटिलतालाई फुकाउँदै अग्रगामी ढंगले अगाडि बढ्ने बाटो लिएको थियो।

त्यस्तो हुँदो हो त ०६२/०६३ को आन्दोलन हुँदै हुँदैन थियो होला नि?
बहुदलीय शक्तिबीचको सहमति थियो त्यो। सामन्तवाद र असमानताविरुद्ध राजतन्त्रसँगको हाम्रो संघर्ष त छँदै थियो। त्यो अन्तिमरूपमा विजय हासिल गरेका थियौँ भनेर मैले भनिन्। त्यसभन्दा पछि ०५१ सालमा एमालेको सरकार बनिसकेपछि वामपन्थीकै नाममा उग्र वामपन्थी धार देखा पर्‍यो नेपालमा। त्यसलाई प्रार्दुभाव गरियो यहाँ। सोभियत संघ ढल्यो, पूर्वी युरोप ढल्यो, संसारभरबाट कम्युनिष्टको अन्त्य भयो भनेर सर्वत्र हल्ला गरियो। तर नेपालमा कांग्रेसले गराएको निर्वाचनमा कम्युनिष्ट लोकप्रिय पार्टीका रूपमा अगाडि आयो। लोकप्रिय सरकार चलायो। त्यो देखेपछि अब सशस्त्र संघर्ष नभई भएन भन्ने धारणा खडा भयो। त्यसले कहाँ पुर्‍यायो भन्दा सत्र हजार मान्छे मरे, संरचनाहरू ध्वस्त भए। त्यो भुमरीमा हामी अहिले पनि छौँ। यस्तो अभ्यासले देशलाई अगाडि जान दिएन। ०४६ सालको आन्दोलन सम्पूर्ण थिएन तर त्यो सकारात्मक थियो। त्यसरी बु‰ने कि नबु‰ने? अघि तपाईँले सोध्नुभएको गोलपोष्टसम्म कसले जान दिएन? संविधान सभाबाट संविधान बन्न कसले रोक्यो? संविधान सभालाई त जनतामाझ विद्वेष फैलाएर काटमार गराउने हतियार बनाउन खोजियो। माओवादीले ठूलो परिवर्तन ल्याएको भन्ने हो भने के सत्र हजार मान्छे मरेको, अलिक हजार विधवा भएको र केही हजार टुहुरा भएकोलाई नै परिवर्तन मान्ने हो? अब ०६२/०६३ को आन्दोलनचाहिँ कसले गर्‍यो? यो त एमाले-कांग्रेसले नै गरेका हुन्। त्यसैले सबै मैलेमात्र गरेको भनेर हुन्छ? कि 'महान् जनयुद्ध' सात दललाई जिम्मा लाइदिनुपर्‍यो। त्यसैले कि शान्ति रोज्नुपर्‍यो कि हिंसात्मक रोज्नुपर्‍यो।

त्यस्तो पार्टीको सरकार अहिले सत्तामा छ। तपाईँहरू चुप हुनुहुन्छ, आन्दोलन गर्नुहुन्न?
कामचलाउ सरकारविरुद्ध के आन्दोलन गर्नु? त्यसको विरोध हामीले गरिरहेका छौँ किनभने त्यसले एउटा पनि समर्थनयोग्य काम गरेको छैन। त्यसले भ्रष्टचार, देश विरोधी, जन विरोधी सबै काम गरेको छ। एउटा अपराधीहरूको गिरोह पक्राउ पर्‍यो भनेर गुरिल्ला नेताले जस्तो भाषण गर्ने? त्यो शान्ति बिथोल्ने कुरा हो कि होइन? सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनतिर लाग्ने कि भाषणबाजी गर्ने?

त्यो त तपाईँको पार्टी पनि दुई-दुई पटक सरकारमा पुगेको थियो। त्यहीबेला किन नबनाएको?

हामीले बनाउन खोजेकै हो तर माओवादीले मानेन।

सरकार चलाउने अनि माओवादीले मानेन भन्न त मिल्दैन नि?

सहमति गरेर जाने नै हाम्रो कुरा थियो। हामीले संविधान बनाउन नसक्नुको मुख्य कारण माओवादीको अनुपयुक्त हैसियत संविधान सभाको बनावटमा रहेकाले हो। होइन जस्तो भए पनि बनाएको भए हुन्थ्यो भन्ने हो भने म अहिले एउटा संविधान तपाईहरूलाई दिन्छु। तीन दिनमा मज्जाको संविधान बनाउन सकिन्छ। तर कुरा के भने विधिवत रुपमा संविधान सभाबाट आउनुपर्‍यो नि।

तपाईँको पार्टी त सुशील कोइरालालाई प्रधानमन्त्री बनायो भने सबै ठिक-ठाक हुन्छ भन्नेमा छ होइन?

कसैले ठिक हुन्छ भनेको छैन। हामी सनकमा छैनौँ कि पार्टीहरूले राणा शासनदेखि उखेल्दै उखेल्दै ल्याए, अब सकेनन्। त्यसैले अराजनीतिक प्राणीलाई ल्याएर सुम्पने पक्षमा छैनौँ। ड्राइभरले राम्रो गाडी चलाएन, अब स्टेयरिङमै नबसेकालाई ल्याएर राख्देपछि मज्जाले चलाउँछ भन्ने मूर्खतामा एमाले छैन।

ड्राइभरी नै नगरे पनि त गाडी कुदाउन आउने मान्छे हुन्छ होला नि?

किन नहुनु? प्लेनको छेउमा उभिएर मैले प्लेन चलाउन जानेको छु भने भइहाल्छ नि।

सुशील कोइरालालाई त तपाईँहरूले यसरी समर्थन गर्नुभयो कि त्यति समर्थन त काँग्रेसभित्रबाट पनि भएको थिएन। तपाईँहरूले त निर्विकल्प बनाइदिनुभयो, होइन?

एमाले स्पष्ट छ, राजनीतिमा। एमाले यस्तो पार्टी हो नेपालको, जो आफ्नो लागि भन्दा बढी अर्काका लागि लड्छ र प्रजातन्त्रका लागि लड्छ। एमालेले थाहा पाउँछ। हेर्नूस्, हाम्रो कसैसँग वैयक्तिक झगडा, कलह केही छैन। माओवादी पार्टी र तिनका नेताहरूसँग पनि छैन। माओवादीले सरकारको नेतृत्व गर्‍यो तर संविधान बनाउने कुराको अगुवाइ गर्न सकेन, संविधान सभा जोगिएन। संविधान सभा जोगाउने प्रयासलाई मानेन। संसद जोगाउन मानेन। संवैधानिक रिक्तताको स्थिति नहोस् भन्ने कुरा मानेन। सहमतीय राष्ट्रिय सरकार बनाउने कुरा मानेन। अहिलेको राजनीतिक गरिरोध र संकटको स्थिति ल्यायो। नाउ चलाउने मान्छेले नाउ चलाउन सकेन, त्यसैले त यात्रु जति सबै झर, अर्कोलाई चलाउन देउ भन्दा माओवादी मान्दैन। नसकेपछि अर्कोलाई देउ भन्नुपर्‍यो कि परेन? नसकेपछि त अरूलाई छाडिदिनुपर्‍यो नि।


उनीहरू भन्दा पहिलाका नाविकले चाहिँ के चलाए त भन्ने प्रश्न गर्छन् उनीहरू?
त्यसभन्दा अघिकाले संविधान बन्न नदिएर संविधान सभा सिध्याएका थिए? संवैधानिक संकट खडा गरेका थिए? बनेको सहमतिको स्थितिलाई भताभुंग पारेका थिए?

जे हुनु भइहाल्यो, पुनःस्थापना गरेर संविधान बनाउँ भन्ने माओवादीको टिप्पणीप्रति तपाईँको के भनाइ छ?

जुन डाक्टरले बिरामी मार्‍यो, त्यही डाक्टरलाई फेरि ल्याउने? गज्जब छ! जुन वैद्यले मार्‍यो त्यही वैद्य ल्याउने? जुन दिनदेखि संविधान बन्दैन भन्ने पक्का भयो, देश शान्त छ। कहीँ कतै कहीँ कलह छैन। अन्त भए मारामार हुन्थ्यो। यहाँ त सब चूपचाप छन्। केही पनि छैन। यता फु-फु गर्‍यो, आगो बल्दैन। उता फु-फु गर्‍यो, आगो बल्दैन। अनि छट्पटाइरहेका छन्। अब संविधान सभाको निर्वाचन अर्को हुन्छ, अनि त्यसबाट आगो बाल्न सकिँदैन। आगो बाल्न नसकिनेखालको संविधान सभा बन्छ। जनताले कुरा बुझिसके। त्यसैले अर्को संविधान सभाको चुनाव हुन नदिने र त्यही संविधान ब्युँताउन लागेका छन्।

कोइराला हेरियो, दाहाल हेरियो, नेपाल हेरियो, खनाल हेरियो, भट्टराई हेरियो, अब एकपटक ओली पनि हेर्ने हो कि भन्ने जनतामाझ कुरा सुनिन्छ नि?

बुझेर गरेको हो भने त्यो कुरा ठिक हो। पार लाउने कुरा हो।

अहिले नेतृत्व पाउनुभयो भने पार लाउनुहुन्छ?

किन नलाउनु? त्यसो हो भने यत्रो वर्ष राजनीति किन गरेको त?

तपाईँसँग त्यस्तो जादुको छडी के छ?

जादुले हुने होइन। जादु, टुना, मुना, चमत्कारमा विश्वास गर्नेहरू नै चट हुने हुन्। काम गर्नेले मात्रै पार लगाउन सक्छ।

आफ्नै पार्टीले साथ देलाजस्तो छैन त?

मलाईचाहिँ त्यस्तो लाग्दैन। एमालेमा फेरि सबै कुरा सिद्धियो, अब प्रधानमन्त्रीकै लागिमात्र लड्ने हो भन्ने पनि छैन।

ओलीलाई पनि एकपटक हेरुँ न त भन्ने जमात छ, होइन?

त्यो ठिक हो, राम्रो कुरा हो। कम्युनिष्टको नाममा त माओवादीले हुर्मत नै लियो। त्यो सच्चाउनुपर्ने छ क्या। कम्युनिष्ट भनेको संवेदनाहीन र राष्ट्रियताको नाममा तमासा गर्ने होइन। यता राष्ट्रियता भन्ने उता 'लिखितम धनीका नाम, तिम्रा इशारा स्वार्थ र आदेशबिना केही पनि गरिन्या छैन। दायाँ बायाँ औँठा छाप गरिदिँया' भन्ने कुरा लेखिदियो। यस्तो होइन नि कम्युनिष्ट भनेको। अनि आफ्ना हितका निम्ति जति मारे पनि हुन्छ, भने जति चन्दा दिएनन् भने जति लुटपाट गरे पनि हुन्छ भन्ने त कम्युनिष्ट संस्कार होइन नि।

तपाईँहरू पनि प्रतिपक्षमा हुँदा राष्ट्रवादको चर्का-चर्का कुरा गर्नुहुन्छ अनि सत्तामा पुगेपछि अनेक सम्झौता गर्नुहुन्छ। जस्तो महाकाली सन्धि गर्नुभयो?

महाकाली सन्धि राष्ट्र हितकै पक्षमा छ। कहाँ तपाईँहरू देश विरोधीहरूले चलाएको हल्लाको पछाडि लाग्नुभएको? त्यसमा त हामीले आफ्नो हक अधिकार सुनिश्चित गरेका छौँ।

वर्षामा बाढी आउँछ, सबै नेपाल डुबाउँछ। सुख्खामा केही गर्न पनि पानी हुँदैन भन्छन् नि?

कुरा के छ भने बाढी वर्षामा आउँछ। त्यतिबेला पानी धेरै हुन्छ। त्यसको व्यवस्था गर्न भारतसँग हामीले सार्थक कुराकानी गरेका छौँ? एमालेको समयमा बाहेक सार्थक कुरा भएको छ? हामीले हाम्रो जलस्रोतको सही उपभोग गर्नका लागि सही ढंगबाट काम गरेका छौँ? कतिपय कुरा हामीले सार्वजनिक खपतका लागि र आफूलाई देशभक्त देखाउने प्रयोजनका लागि उठाउनु वाञ्छनीय हुँदैन। समाधानका लागि उठाउनुपर्छ। भारत हाम्रो छिमेकी मित्रराष्ट्र हो र त्यसअनुसार नै उनीहरूसँग गम्भीर वार्ता गर्नुपर्छ। उनीहरूले गरेको कामले हामीलाई थिचोमिचो, गाह्रो-साँघुरो परेको छ भने त्यसलाई हटाउनका लागि हामीले सार्थक वार्ता गर्नुपर्छ। त्यो नगर्ने तर प्रधानमन्त्री हुनेबित्तिकै कुद्दै गएर तिमीहरूको जे-जे छ, सबै मान्छु भन्ने? अनि साँचो हाम्रो हातमा रहेनछ भन्ने? किन बुझाएको त साँचो? यो तरिकाले राजनीति हुँदैन। देशको हितको पक्षमा उभिनुपर्छ, तमासा गर्ने होइन।

अब एमालेको आन्तरिक राजनीतिको कुरा गरौँ। धेरै लामो समयसम्म गुटबन्दीमा रह्यो एमाले। त्यो गुटबन्दी अब हटेको हो?

मूलतः हाम्रोबीचमा केही राजनीतिक मतभेद थियो। सबैलाई थाहा भएकै कुरा हो, माओवादीलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा हाम्रो पार्टीको नेतृत्व तहमा मतभेद थियो। हाम्रो आपसी छलफल प्रयास र माओवादीहरूको संयुक्त योगदानबाट ती मतभेद टुंगिए। अब वैचारिकरूपमा हामी एक भएका छौँ।

भनेपछि एमाले मिलाउन माओवादीले ठूलै योगदान दिएछ?

त्यो त माओवादीले जनतालाई सचेत हुन पनि सिकाएको छ। हिजो भ्रमले नै भए पनि माओवादीप्रति आकर्षण थियो, अब त्यो रहेन। माओवादी भनेको यस्तो हो भन्ने थाहा थिएन। माओवादी भनेको साँच्चिकै चामत्कारिक छ भन्ने थियो। अब त्यो रहेन। केही गर्छ भन्ने अपेक्षा थियो तर त्यो भ्रम थियो। अब त्यो भ्रम पनि जनतामा रहेन।

अहिले सरकारमा भएको पार्टीको चुनाव गराउने मनसाय देखिँदैन। यस्तो अवस्थामा निकास के त?

तपाईँले माने पनि नमाने पनि यथार्थ त्यही हो। कहिलेकाहीँ के हुन्छ भने मान्छे अति नै डरायो भने आँखा चिम्लन्छ। तर जे हुने हो त्यो त भइ नै रहन्छ नि। अब त्यो तपाईँको कुरा हो। तपाईँ आँखा चिम्लिएर बस्नुहुन्छ कि आँखा खोलेर बच्ने कोसिस गर्नुहुन्छ। म भने आँखा खोलेर लड्ने प्रयास गर्छु। आँखा चिम्लिएर भाग्दिन। कुरा के हो भने माओवादी चुनाव गर्न र हुन दिन पनि चाहँदैन। र, अहिले सत्ताधारी गठबन्धनमा भएका पनि चुनाव चाहँदैनन्। किनभने ०६४ साल भदौ २८ गते फुटेको आँखाले सधैँ रमणीय नै देख्छ। तर, अहिलेको मौसम त बढो सुख्खाग्रस्त र खडेरी छ।

माओवादीप्रति तपाईँ धेरै नै 'अब्सेस्ड' भइसक्नुभएछ?
छैन। तपाईँ माओवादीबारे सोध्नुहुन्छ अनि जवाफ दिएपछि माओवादी विरोधी भनेर भन्नुहुन्छ। तर नेपालमा माओवादीको म जतिको शुभचिन्तक, हितचिन्तक कोही पनि छैन। किनकि म त माओवादीलाई सच्याउन चाहन्छु। अरुले उरालिदिन्छन्, हामफाल अनि खुट्टा भाँच भनेर उकासिदिन्छन्। तर मचाहिँ सच्याउन चाहन्छु।

फेरि एमालेमै फर्किऊँ। एमालेमा पनि अब महाधिवेशनका कुरा होला। अब केपी ओलीले नै हाम्रो नेतृत्व गर्नुपर्छ भन्ने कुरा तल कार्यकर्तासम्म पुर्‍याउने तत्परतामा केही निष्त्रि्कयता बढेको हो?
हैन, त्यसमा सक्रियताको आवश्यकता नै छैन। निष्त्रि्कयता पनि आएको होइन। फेरि मैले अघि भनें, हाम्रोमा त्यो आवश्यक पनि छैन। हामी संस्थागत, सामूहिक निर्णयमा विश्वास गर्छौँ। को के हुनुपर्छ भन्ने कुरा महŒवपूर्ण छैन।

हिजोआज अध्यक्षसँग तपाईँको सम्बन्ध कस्तो छ?
बहुत राम्रो छ। पहिले मेरो राजनीतिक मतभेद थियो माओवादीलाई हेर्ने सम्बन्धमा। सबैलाई थाहा भएकै कुरा हो। मैले अघि पनि भनें, हाम्रो आपसी छलफल र माओवादीले पुर्‍याएको योगदान यी दुईवटाको योगबाट त्यसमा स्पष्टता छ र हामी एक छौँ।

माधवकुमार नेपालसँग कस्तो छ?
उहाँसँग पनि राम्रो छ। माओवादीलाई हेर्ने सम्बन्धमा उहाँसँग कुनै समस्या थिएन। अहिले पनि त्यस्तो वैचारिक समस्या केही पनि छैन। समस्या के हो भने मान्छेको आ-आफ्नो स्वाभाव हुन्छन्। कसैको बढ्ता रिजिडिटी हुन्छ, कसैमा धेरै फ्लेक्सिबिलिटी हुन्छ। ती स्वभावजन्य कुरा हुन्। कहिलेकाहीँ के देखिन्छ भन्दा उहाँमा समस्याको समाधान खोज्ने कुरामा तत्परता र लचकता धेरै छ। त्यो लचकता भएकै कारण समस्याको समाधान कसरी हुन सक्छ भनेर उहाँ लागिरहनुहुन्छ। त्यसलाई मान्छेले गलत अर्थ लगाउँछन्। त्यसलाई अलिकति उचाल्न खोज्छन्।

तपाईँको अध्यक्षको सीमा वा कमजोरी केही देख्नुहुन्छ?
कोही पनि सीमाहीन हुँदैनन्। गुणका सीमा हुन्छन्। कामका सीमा हुन्छन्। विद्वताको, धनको सबैको सीमा हुन्छ। उहाँसँग पनि होला। म यो अनुमानित कुरामा जान चाहन्न। उहाँ एउटा योग्य नेता हो।
राष्ट्रिय सहमति निर्माण गर्न माधवकुमार नेपाल कुदिरहनुभएको देखिन्छ, अध्यक्षको हैसियतमा खनाल पनि दौडी नै रहनुभएको होला। तर पछिल्लो समयमा तपाईँ केही निष्त्रि्कय देखिनुहुन्छ नि?
हैन, हामी पार्टीगत हिसाबमा कुरा गर्दैछौँ। अर्को, मान्छेको आफ्नो स्वभावको पनि कुरा हो। फेरि माधवजी बढी सक्रिय किन पनि देखिनुभएको छ भने उहाँ वार्ता संयोजक नै हुनुहुन्छ। आवश्यक सक्रियता खनालजीको किन देखिन्छ भने उहाँ अध्यक्ष हुनुहुन्छ। मेरो पनि अलिअलि देखिएला किनभने म पनि वार्ता टोलीको सदस्य हुँ।

ल माओवादीले त केही गर्न सकेन रे। विकल्पमा एमाले किन उभिन नसकेको?
विकल्पभन्दा कसको के भन्ने कुरा हुन्छ। प्रष्ट कुरा यो देशको भविष्य एमाले हो। फलानोको विकल्प तिलानोको विकल्प भन्ने कुरै हुँदैन।

त्यस्तो भविष्य भएको पार्टी अहिलेचाहिँ कहाँ छ त?
आफैँ पछाडि फर्केर पनि हेर्नूस् न। मलाई सबै कुरा फिट्न पनि मन छैन के। तर कहिलेकाहीँ ठूलो खेलाडी खेलको समयमा बिरामी भएर खेल्नै नसक्ने हुन्छ। त्यसो भन्दैमा अब त्यो सधैँका लागि अशक्त भयो, खेल्नै सक्दैन भन्ने होइन। यो नवग्रह सौर्यमण्डलको सिर्जनाकर्ता सूर्य, जसको तापबाट, गुरुत्वाकर्षणबाट दुनियाँ चलेको छ। त्यसलाई पनि कहिलेकाहीँ ग्रहण लाग्छ। कहिलेकाहीँ सानो चन्द्रमाले त्यसलाई छेकेर धरती अन्धकार हुन्छ। त्यो भनेको सूर्यको सामर्थ्य सकिएको त होइन नि!

खग्रास धेरै लम्बियो कि?
लम्बियो। निकै लामो भयो। औँसीको दिनमा कहिलेकाहीँ यस्तै हुन्छ।

उज्यालो कहिले हुन्छ त?
बिस्तारै हट्दैछ। राहुले, चन्द्रमाले छोड्दैछ र बिस्तारै उज्यालो हुँदैछ।

चुनावसम्म नै कुर्नुपर्ने हो?
चुनावमा त आश्चर्यचकित नै हुनुहुनेछ। चुनाव त हुन दिनूस्। नेपाली जनताको सचेतना यति माथि पुगेछ भनेर तपाईँहरू छक्क पर्नुहुनेछ। ०६४ मा आतंकित भएका, अल्मलिएको जनता यति उन्मुक्त।

तपाईँहरू पनि त्यही शैलीमा त जाने होला नि, माओवादीको प्रतिवाद गर्न?
हामी माओवादी हो? हेर्नुस् त राम्रोसँग, के म माओवादी जस्तो देखिन्छु? (हाहा...) जस्तालाई तस्तै भनेर बोल्ने हामी होइनौँ। कुकुरले खुट्टा टोक्यो भने के गर्ने, त्यसको पनि खुट्टा टोकिदिने? बाबुरामजीले भन्दा दश वर्षअगाडि मार्क्सवाद मैले पढेको हुँ। के मार्क्सवादले त्यस्तो भन्न सिकाउँछ?

तीन दशकअगाडि हतियार बोकेर त हिँडेकै हो नि?
माओवादीभन्दा पच्चीस वर्ष पुरानो उग्रपन्थी हुँ म। तर त्यो मैले गलत बाटो समातेको थिएँ। आफूलाई सच्याएँ, तुरुन्तै छाडिदिएँ। माओवादी जस्तो गलत समातेर बस्ने होइन म।

त्यो उग्रपन्थी धार अझै बाँकी छ, कित्तामात्र बदलिएको हो पनि भन्छन् नि?
त्यसलाई पुष्टि गर्न सक्नुपर्‍यो नि कसैले। के कारणले सबै जना डराएर लुकेर बसेको बेला राजतन्त्रविरुद्ध लडेर चौध वर्ष जेल बसेकाले, कसैले गणतन्त्रका लागि हतियार नउठाएको बेला हतियार उठाएकाले, सबै टांगमुनि पुच्छर हालेर कि भागेको कि राजतन्त्रको जयगान गरेको बेला राजतन्त्रलाई ललकारेकाले?
एमालेभित्रै गणतन्त्रको कुरा हुँदा ढिला मात्रै सकारात्मक भएकाले भन्छन्।
कसले? सबैभन्दा पहिला गणतन्त्रको कुरा कसैले गरेको हो भने त्यो कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालमा गरेको हो। त्यसपछि गणतन्त्रका निम्ति, राजतन्त्रका विरुद्ध कसैले आन्दोलन गर्‍यो भने झापा आन्दोलनले गर्‍यो, केपी ओलीले गर्‍यो होला। हतियार चाहिँदैन सवुतका रूपमा कतै लिखित त हुनुपर्‍यो नि। अब रामराजप्रसादजी ०४२ सालमा पहिलो गणतन्त्रवादी हुँ भन्नुभयो। त्यो भन्दा पन्ध्र वर्षअगाडि त हामीले राजतन्त्रविरुद्ध हतियार उठाएका थियौँ। हामी दोस्रो गणतन्त्रवादी वा तेस्रो कसरी भयौँ? मैले गणतन्त्रका लागि गरेको आन्दोलन भनेको स्कुलमा गरिने वक्तृत्वकला प्रतियोगिता जस्तो होइन। मैले पूर्व राजारानीको फोटोमा काठको बन्दुक घोचेर गरेको गणतन्त्रको कुरा होइन। त्यसबेला लडेका हौँ हामी। आफ्नो ज्यानको बाजी थापेर आन्दोलनमा होमिएका हौँ। त्यसकारण मलाई बातबहादुरहरूसँग बातको कुस्ती गर्नु छैन। बातको कुस्तीमा त हामीलाई बातबहादुरहरूले धोबी फाट्का ख्वाइदिन्छन्।

दुईवटा माओवादी र काँग्रेसमध्ये कुनसँग राम्रो सम्बन्ध छ?
हाम्रो काँग्रेससँग छ। किनकि उनीहरू लोकतन्त्रका आधारभूत मान्यता पक्षधर हुन्। एकदलीय, एकाधिकारका पक्षधर होइनन्। उनीहरूसँग हाम्रो मतभेद पनि थुप्रै छन्। तर, मतभेदहरू एउटा दायराभित्र चलाउन सकिन्छ। तर, माओवादीसँग पनि वैयक्तिक सम्बन्धको प्रश्न होइन, व्यवस्थापकीय कुराको सम्बन्धको कुरा हो। बहुलवादलाई स्वीकार्दैन, बहुदलीय व्यवस्था स्वीकार्दैन, यसलाई पुरानो व्यवस्था भन्छ। एकाधिकार चाहन्छ। अहिलेकै प्रधानमन्त्रीले कहीँ भनेका छन्, 'हामीले पुरानो सत्तालाई आधामात्र भत्काउन सकेका छौँ। नयाँ सत्ता आधामात्र बनाउन सकेका छौँ। हामी सत्तामा छौँ तर आधामात्र हासिल गर्न सकेका छौँ। हामी न्यायपालिकासहित सम्पूर्ण सत्ता आफ्नो हातमा चाहन्छौँ' भनेको लोकतन्त्रका शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि नमान्ने। केही पनि नमान्ने। अराजकतावादी सोच। यस्तो माओवादीसँग निकटता छ भन्नु उचित हुँदैन। नेपाली काँग्रेसमा शिथिलता छ। बुढ्यौलीले ग्रस्त छ।

तपाईँहरू पनि त चौबाटोमा अल्मलिइरहनु भएको छ नि?
अब एकातिर लैनो बाच्छो फुकेजस्तोलाई समाउनुपरेको छ। अर्कोतर्फ बुढ्यौली लागेकोको काँध थाप्नुपरेको छ। एक्लै भए त दौडनुहुन्थ्यो नि! हाहा..