24 Jestha, 2077 | June 06, 2020
Menu

अन्तर्वार्ता

चार जनाको काउन्सिल बनाउनुपर्छ

(1 Vote)
चार जनाको काउन्सिल बनाउनुपर्छ
जगदीश शमशेर राणाको व्यक्तित्व केवल साहित्यकार र समालोचकका रुपमा मात्र स्थापित छैन। उनी प्रखर चिन्तक पनि हुन्। नेपालको कला, संस्कृति र साहित्य क्षेत्रमा उनको योगदान निकै गहकिलो मानिन्छ। नेपाली विचार पक्रियालाई आधुनिक जीवनसापेक्ष बनाउन उनी लागिपरेका छन्। साहित्यमा हाल चलेको उत्तरआधुनिकवादबारे उनको स्पष्ट विचार छ - 'उत्तर भन्ने हुँदै हुँदैन।' उनले भर्खरै उत्तरआधुनिकवाद र बाहुल्य बिष्फोट नामक पुस्तक पनि लेखेका छन्। अहिलेको नेपाली समाज, साहित्य र राजनीतिलाई हेर्ने उनको दृष्टिकोण रोचक र विहंगम छ। यिनै प्रसंगमा किशोर नेपालसँगको वार्ता :
म नेपाल बाहिर सिमलामा बस्छु। त्यहाँ बस्नुको कारण अरु केही होइन, मात्र लेखपढ गर्न हो। टाढाबाट हेर्दा हिमाल छर्लङ्ग देखिन्छ। म नेपाल आउँदा गटर इन्सपेक्टर भएर आउँदिन। म नेपाल देखेर एकदमै गदगद छु आज। यो नेपाल जहाँ शताब्दियौँसम्म राजनीतिको 'र' पनि उच्चारण गर्न नपाइने ठाउँमा, अचानक मान्छेहरूले आफूमाथि भएको दमन अनुभूत गरे र जागे।

कहाँबाट सुरु गरौं तपाईंसँगको यो कुराकानी? तपाईँ नै भन्नुस्।
मैले अहिले भरखरै एउटा किताब निकालेको छु। अहिलेका बुद्धिजीवी र व्याख्याताहरू पोष्ट मोर्डनिज्म भन्छन्। पोष्टमोर्डनिज्म हुँदै हुन्न भन्छु म। अंग्रेजहरूले त शब्द नपाएर पोष्ट मोर्डनिज्म भनेका हुन्। पोष्टमोर्डन समय त एक्सप्लोजनको समय हो। मोर्डनिज्म भन्न हुन्छ। किनभने त्यसको लक्ष्य छ। जाने गति छ। पोष्ट भन्नेबित्तिकै यसको त गति नै छैन। यो त टेक्नोलोजीका कारण यसमाथि आइपरेको हो। त्यो टेक्नोलोजिकल प्रेसरले गर्दा नै एक्सप्लोजन भएको हो। आजका दिन हामी लेखकहरूले उपन्यास लेख्नेबारे सोच्नुपर्ने स्थिति छ। त्यो किन पढ्ने र? अब त टेलिभिजनमा हेर्ने हैन र? हामीले जतिसुकै कर गरे पनि हामीले लेखेका पढ्ने धेरै छन् कि सिरियल धेरैले हेर्छन्? विद्वान्देखि सबैले।

त्यसो भए के त, टेलिभिजन सिरियलहरु र सिनेमाले विस्थापन गर्यो साहित्यलाई?
विस्थापन किन गर्थ्यो? च्यालेन्ज दियो। कस्तो टक्कर भने उन्नाइसौँ शताब्दीमा पेन्टिङ गर्नेहरूले क्यामेरा आएपछि आफ्नो पेन्टिङ गर्ने शैलीमा नै परिवर्तन गर्नुपर्योप। नेचरको पेन्टिङ गर्ने पिकासोले पनि ब्ल्यु, पिङ्क हुँदै क्युबिज्मसम्म आउनुपर्योप। अहिले सबै बदलिएर अमूर्त कला, अब्स्ट्र्याक्ट आर्टसम्म आउनुपर्योन। त्यही चिज अहिले लेखकका सामु आइपुगिसक्यो।


तपाईँले धेरै वर्षदेखि नेपाली विचार प्रक्रिया र साहित्यलाई गम्भीरपूर्वक हेरिरहनुभएको छ। समालोचक पनि हुनुहुन्छ। विचार प्रवाहको नेतृत्व पनि गरिरहनुभएको छ? भन्दिनुस् न त नेपाली साहित्य अहिले कुन अवस्थामा छ?
प्रविधिसँगै दुनियाँमा आएको डाँवाडोलले गर्दा लेखकहरुले अनेकथरी लेख्न थालिसके। सानासाना कविहरू रंगवाद भनेर लागेका छन्। उनीहरूको पनि वाद हुँदैन। ओपन इन्डेड नै हुन्छ। साहित्य सबै नै लेख्नेमात्र होइन। सानो उदाहरण दिन्छु, तपाईँ पत्रकार, म लेखक, ऊ बिजनेसम्यान होला, अरु पनि होलान्। त्यो परको सानो गाउँ मनाङमा भेडा चराउने महिला, हामी सबैले एकैपटक टेलिभिजनको स्क्रिनमा माइकल ज्याक्सनको डान्स हेर्छौँ भने हाइ कल्चर कहाँ, लो कल्चर कहाँ? सबै कोएक्जिस्टेन्स हुनै परिसक्यो अब। अनि लेखकले लेख्दा पनि समावेसी र समन्वय नभई सुखै छैन। चाहे त्यो राजनीतिज्ञ होस्, चाहे जो होस्। इन्सक्लुसिभ सिंक्रिटिसिज्मबाहेक एक्काइसौँ शताब्दिमा अरु सिद्धान्त हुनै सक्दैन।

तपाईंको यो अवधारणा अलि बढी नै मोर्डन भएन र हाम्रा सन्दर्भमा?
अबको समयमा राजनीतिक पार्टी नै हुँदैन भन्दा धेरै मान्छेले नाक खुम्च्याउन सक्छन्। मैले राजनीतिक पार्टी छैन भन्या हैन। नेपाल र भारतमै हेर्नुस्, राजनीतिक पार्टी भनेको आइडोलोजीले बाँधिएकाले एकै ठाउँमा बस्ने भन्ने हो। कम्युनिज्म सबैभन्दा ठूलो मोनोलिथिक आइडोलोजी थियो, अब त्यो पनि कम्युनिजम्स भइसक्यो। कसरी कम्युनिज्म परिवर्तन हुँदै जान्छ भन्ने कुरा मार्क्सले, 'वर्किङ म्यान अफ दि वर्ल्ड युनाइट' भनेका थिए। त्यो वर्किङ क्लासभित्र अलग-अलग परिचय बनिसक्यो। त्यसपछि रुसमा आयो कम्युनिज्म, लेनिनले धेरै गरे। उनको मृत्युपछि स्टालिन आए। अहिले पनि नेपालका कम्युनिष्ट साथीहरू त्यहाँ जालसाजी भएको थियो भन्छन्। त्यहाँ कसैले पनि केही पोसेज गर्नुहुन्न भनेका थिए। तर चाइनामा जानेबित्तिकै त्यहाँका साना किसानलाई पनि हटाउन भएन, साना व्यापारीलाई पनि हटाउन भएन। उनीहरूलाई लिएर चल्नैपर्योस। त्यसो हुनेबित्तिकै त्यसको नेचरमा परिवर्तन आइहाल्यो। उनीहरूले सबैलाई एकीकृत गरे, अनि विकास भयो। हामीकहाँ टुक्रा टुक्रा पार्ने कुरै आउँदैन। त्यसपछि तंेन स्याउ पिङ आए। उनी आएपछि ओपन डोर पोलिसी आयो। अहिले के छैन त चाइनामा? अहिलेका राष्ट्रपति के भन्छन् भने 'म आगामी दश वर्षमा चारवटा कुरालाई विशेष ध्यान दिन्छु। पहिलो हामीकहाँ उत्पादनसँगै व्यापार बढेकाले भ्रष्टाचार बढ्यो। त्यसलाई कन्ट्रोल गर्नुपर्छ। दोस्रो, शक्तिकेन्द्र जनता नभएर कर्मचारी हुन थाले, त्यो जनतामा नै फर्काउनुपर्छ। तेस्रो, हाम्रो उत्पादन घट्न थालेको छ। यसलाई बढाउनु पर्छ। चौथो, हाम्रो अर्थिक वृद्धि असमान भयो। यसलाई समान बनाउनुपर्छ।' त्यो नीतिलाई हामीले के भन्ने?

नेपालमा के छ त? कसरी बुझ्नुभएको छ नेपाली राजनीति?
नेपालको अवस्थाबारे कुरा गर्दा मान्छेहरू जहिले पनि मेरो फरक मत छ भन्छन्। त्यसको कारण छ। म नेपाल बाहिर सिमलामा बस्छु। त्यहाँ बस्नुको कारण अरु केही होइन, मात्र लेखपढ गर्न हो। टाढाबाट हेर्दा हिमाल छर्लङ्ग देखिन्छ। म नेपाल आउँदा गटर इन्सपेक्टर भएर आउँदिन। म नेपाल देखेर एकदमै गदगद छु आज। यो नेपाल जहाँ शताब्दियौँसम्म राजनीतिको 'र' पनि उच्चारण गर्न नपाइने ठाउँमा, अचानक मान्छेहरूले आफूमाथि भएको दमन अनुभूत गरे र जागे। इजिप्सियन स्पि्रङ भन्छन नि। त्यस्तो स्पि्रंग त नेपालमा सन् १९९६ मै आयो। त्यसपछि दश वर्षको जनयुद्ध भयो। त्यो दश वर्षमा सत्र हजार मान्छे मरे। सत्र हजार भनेको कति भयो? वर्षको सत्र सय न हो। भारतका प्रान्तहरूमा भइरहेका उग्रवादी र जातीय दंगामा परेर त्योभन्दा ज्यादा मरेका छन्। यहाँ के भयो भने सेरेमोनियल आर्मीलाई ल लड भनेर पठाइयो। उनीहरूले लड्दै लडेनन्। अर्कोतिर कस्ता छन् विचराहरू नजिकैको साथी मर्योई भने उसको हतियार उठाएर लड्ने। त्यो लडाइँमा उनीहरूले कहिल्यै मास किलिङ पनि गरेनन्, क्याम्बोडिया कहिल्यै बनाएनन् उनीहरुले नेपाललाई। आफूले जसलाई दुश्मन सम्झेका छन्, त्यसलाई मात्र टार्गेट गरे। त्यो नेपालीपना हो।

तपाईँको जीवनको अधिकांश भाग प्रजातान्त्रिक राजनीतिसँग जोडिएको छ। बीपी, गणेशमान, किशुनजीसँग जोडिएको छ। तपाईं पनि एकताका प्रजातन्त्रवादको सबैभन्दा ठूलो प्रवक्ता पनि हुनुहुन्थ्यो।
लिबरलिज्मको हो।


अहिले तपाईंमा यो चेन्ज अफ भ्युज कसरी आयो?
यो चेन्ज अफ भ्युज होइन। प्रजातन्त्र पनि कुन किसिमको प्रजातन्त्र भन्ने भइसक्यो। म संसदमा पनि थिएँ। म संसदमा हुँदा राजनीति गर्नेहरूको प्रमुख उद्देश्य संसदलाई राजनीति गर्नेहरूको स्वर्ग बनाउने थियो। त्यो हो प्रजातन्त्र? प्रजातन्त्र भनेको जनताद्वारा, जनताकै लागि भन्ने सानो उदाहरण दिउँ? हामीकहाँ यो काठमाडौं शहरमा यहाँ बाह्र, चौध घन्टा बिजुली छैन, अँध्यारोमा बस्छौँ हामी। म पहिले काम गर्ने अछाममा छब्बीसे धारा गाउँ छ। कहाँ हो, कहाँ हो? त्यहाँका मान्छेले माइक्रो हाइड्रो बनाएर चौबीसै घन्टा बिजुली बालेका छन्।
आज प्रजातन्त्र होइन, लिबरलिज्म चाहिएको छ। समय र आवश्यकता परिवर्तन भइसके। आफ्नो राज्य भएपछि मान्छे विस्तारै बिस्तारै कन्जरभेटिभ हुँदै जान्छ। क्रान्तिकारी हुँदैन। मैले आजभन्दा चार वर्षअगाडि पत्रिकामा वाइसिएललाई खुल्ला पत्र लेखेर भनेको थिएँ- 'तिमीहरू जुन शक्तिका साथ अगाडि बढेका छौ, त्यो नरोक। नेताहरू रोक्न खोज्छन्, ज्यादति भयो भन्छन्। तर नेपालको उद्दार तिमीहरूले गर्नुछ भने यो कन्सट्रक्टिभ एनार्किजम चाहिन्छ। तान्डव ननाची सृष्टि नै भएको छैन।' त्यो मेरो भनाइ हो।

तपाईंको पार्टी कता गइरहेको छ त?
कुन पार्टी?

नेपाली काँग्रेस।
म त्यो काँग्रेसको उम्मेदवार पहिले पनि थिइन, अहिले पनि होइन। मैले सदस्यता लिएको पनि छैन। उनीहरूले मलाई प्रमोट गरेर संसदमा राखेकामात्र हुन्। संसदमा छ वर्ष बस्दाखेरी कति पटक भने होलान् मन्त्री बन भनेर? म कहिल्यै बनिन्। मेरो कहिल्यै इच्छा पनि भएन। म अर्कै क्षेत्रको मान्छे कहाँ त्यो राजनीति गर्नु? म कहाँ वागेश्वरीको ठूलो साम्राज्यमा बसेको मान्छे, राजेश्वरीको सानो साम्राज्यमा किन जान्छु र? कति मान्छेले प्रचण्ड वा गिरिजा भने। के म तिनीहरूको खल्तीमा अटाउँछु? लेख्ने मान्छेमा त सूर्यदान गर्न सक्ने क्षमता हुन्छ। आगोलाई खल्तिमा हालेर हिँड्छ कसैले? मैले के गर्न मिल्छ भने 'यस्तो हुनुपर्छ' भन्न। नेपालमा के सानो परिवर्तन भयो भन्ने ठान्नुहुन्छ तपाईं? अहिले नेपालको बच्चा बच्चामा राजनीतिक चेतना विकास भएको छ।

के हामी सिर्जनात्मक विकासतर्फ अग्रसर छौँ त?
सिर्जनात्मकमात्र होइन। उग्र सिर्जनात्मक विकासतर्फ अघि बढिरहेका छौँ। संविधान बनाऔँ भनेर सबै जुटे। संविधान बनाउन लाग्दा यतिका वर्षसम्म थिचिएर बसेका माग उठे। राई, लिम्बू, मगर, थारु सबैले आफ्ना लागि राज्य मागे। के त्यो केवल शासन गर्नका लागि हो त? उनीहरूबीच बिहेवारी चल्ने भइसक्यो। त्यो मागेको त आफ्नो हक अधिकार सुरक्षित गर्न हो।

नेपालमा एउटा कुरा छ नि। पहिला नेपाली नभनेर, म मधेसी नेपाली हुँ, म लिम्बु नेपाली हुँ आदि भन्छन्।
अवश्य भन्छन्। नेपाली लिम्बु के कारणले नभनेको भन्दा उनीहरूले भोगेका कुरा गरेका हुन्, सोचेका कुरा गरेका होइनन्। नेपालीहरूले नेपाली भनेको उदाहरण म तपाईँलाई दिन्छु, कोही पनि खाडी मुलुकमा काम गर्न गएकाले म लिम्बु नेपाली भन्दैनन्। म नेपाली हुँ भन्छ।


त्यसो भनेपछि एउटा राष्ट्र त चाहिँदोरहेछ नि हैन पहिचानका लागि?
राष्ट्र भनेको वरिपरिको भू-भागमात्र होइन। त्यहाँभित्र बस्ने मान्छे हो र त्यो मान्छेको हित पनि हो। नेपालको जो हामी यतिका दिनसम्म संविधान बनेन भन्छौँ नि। बनेको भए पनि त के हुन्थ्यो र? ठूलो कुरा त संविधान कसले बनाउँदैछ त्यो हेर्नुपर्यो नि। हाम्रो राष्ट्रपति यादव हुनुहुन्छ। एउटा किसानको छोरा। भैंसी चराएको अनुभव छ उहा"सँग। उहाँ महान् राष्ट्रपति होइन तर असल राष्ट्रपति हो। उहाँलाई नराम्रो बनाउने कोसिस नै गर्नुहुँदैन। अर्को उदाहरण माधवकुमार नेपाल एउटा सामान्य मास्टरको छोरा देशका नेता भएका छन्। अर्को म नाम लिन्न, कोलकत्तामा वर्षौंअघि दरवान भएर काम गरेका एक जना तपाईंहरू जस्तो पत्रकारसँग टीभीमा संघीयतामा बहस गरेर बसिरहेका छन्। राम्रै बहस गरिरहेका छन्। कोही कसका छोरा, कोही कसका। सबै जना विचार मन्थन गरेर संविधान बनाउने भनेर बसेका छन्। मेरो अगाडि कोही नेता घुस्याहा, फटाहा भनेर भनुन् त! कति संघर्ष गरेर त्यहाँ पुगेका छन्। कसैलाई थाहा छ? नेपाली भनेको कस्तो जात भने, उन्नाइस दिनसम्म सडक आन्दोलन गर्दा एउटा घर पनि जलेन। संसारको कुनै इतिहासमा, कहीँ देख्नुभएको छ यस्तो? चुनाव गरौँ भने। चुनाव पनि ठिकठाक, राम्रै भयो। त्यसपछि के भने, लौ अरु पार्टीका दिग्गजहरू छुटे, तिनलाई पनि समेटौँ। उनीहरूलाई पनि मिलाएर ताने। सबैलाई थाहा थियो छ सय एकको संसदमा कसैको पनि चार महिना सरकार टिकाउने बहुमत पुग्दैन भनेर।

संविधान बनाउने बहुमत पनि भएन नि?
हुँदै हुन्न। राष्ट्रको पैसा खर्च गरेर बसे वर्षौं भन्छन्? के खर्च गरे? विचार मन्थन गरेर त बसेका छन् नि।

तिनीहरू त चूप लागेर बसेका होइनन् र भनेको?
कहाँको चूप लागेर बसेका छन्? मन्थन गरेर बसेका छन्। दिनका दिन बहस गरेका छन्। झगडा छ नि। अहिलेकै उदाहरण लिनुस्। विपक्षी सडकबाटै घुँडा टेकाएर छाड्छौँ भन्छन्। सत्तापक्षीहरू होइन संविधानका लागि हामी पनि सडममा उत्रन्छौँ भन्छन्। राजनीति गर्नेहरू हामी सडकबाटै छिनोफानो गर्छौँ भन्छन् भने हामी को हौँ भनेको उनीहरूले गरेको ठिक छैन भन्ने? हिंसा हुन्छ भन्छन् बा! मैले हिंसा हुने सम्भावना नै देखेको छैन। कुनचाहिँ डाक्टर आफ्नो सेतो कोट र वकिल कालो कोट किलामा टाँगेर लड्न जान्छन् र? उनीहरूकै क्याडरबीच भिडन्त हुने हो। पहिला विद्यार्थी, त्यसपछि युवा, अनि माथिका नेता भिड्छन्। मच्ची मच्ची थच्ची हुन खोज्नेलाई रोक्ने हामी को?

उनीहरूले गरेको काम ठिक हो कि होइन भनेर मूल्यांकन त गर्नुपर्ला नि?
राजनीतिक पार्टीहरूले त यही गर्ने हो। हामी माथि जजमेन्ट गर्ने ठाउँमा बसेका छौँ। नेताहरूले जे/जति भोगेर आएका छन्, त्यति भोगेका पनि छैनौँ, हामी मान्छेले। अनि नेतामा लोभानी, पापानी हुनुहुन्न भन्छौँ। काम, क्रोध, लोभ, मोह, मद, मार्ष्य भन्ने विकार सबैमा हुन्छ। अझ नेपालमा दुईटा थपिएको छ चुक्ली लाउने र नसहने भन्ने कुरा। कहाँको नेपाल कहाँ पुगिसक्यो। म एउटा सानो उदाहरण दिन्छु। मेरो किताब छपाउनु थियो। छाप्ने मान्छे खोज्दाखेरी रंग नेपाल भन्ने एक जना आए। तिमी कहाँको भनेर सोधेको दैलेखको भने। म छक्कै परेँ। म त्यहाँ पहिला पुग्दा मुस्किलले सात-आठ जनाको हातमा घडी हुन्थ्यो। अहिले इलेक्ट्रोनिक्ससँग खेल्ने भइसके सबै। प्रोग्रेस भनेको यस्तै हो। यो सानो प्रोग्रेस होइन। साढे तीन करोडमा एक करोड त बाहिर छन्। तिनीहरूले पठाएको पैसा राज्यको दोस्रो ठूलो आम्दानीको स्रोत भएको छ। यो नेपाली जातलाई चिन्नुपर्यो नि। सखरखण्ड जस्तो हो नेपाली। जरा फैलिएर जान्छ र जहाँ नरम माटो भेट्यो त्यही घुस्रन्छ र फल्छ। 'नेपाली आर अल्वेज स्विट पोट्याटो, दे ह्याभ नेभर बिकम अ बिटर पोट्याटो एनिह्वेर।' त्यो प्रोग्रेस रोकिन्न। प्रचन्डले पनि प्रोडक्टिभिज्म बढाएर बाहिर गएकालाई यहाँ फर्काउने कुरा गरेका छन्। ती सबैलाई यहाँ फर्काएर कहाँ राख्ने? उद्योग गर्न बाहिर जान्छन् भने किन रोक्ने? अंग्रेजहरू हातहतियार बोकेर अर्काको देश छिर्न हुन्छ भने हामी उद्योग गर्न जान हुँदैन? हाम्रा नेपाली ठाउँठाउँमा गए भने 'छौँ हामी आज जो जो वरपर छरिएका देशका दाजुभाइ, एकै कर्तव्य हाम्रो विपुल चहकिलो पार्नु नेपाललाई।' त्यो भइरहने कुरा। त्यो प्रोग्रेसन हामीले बुझ्नुपर्छ।

भनेपछि तपाईं नेपालीलाई जनताका रूपमा भन्दा पनि भावनात्मकरूपमा हेर्नुहुन्छ?
अहिले हामीकहाँ सीमामा भएका विवादलाई के के भनेर भन्छन्। सन् १९५० मा भारतसँग भएको सन्धिलाई म 'मास्टर पिस अफ डिप्लोमेसी' भन्छु। सुन्नुहोस् कारण के? १९५० मा हिन्दुस्तान फैलिएको देखेर मोहनशमशेरले ठाने- मेरो स्थिति अहिले अलिक खराब छ, हिन्दुस्तानले भनेको मान्नुपर्छ। अनि दुईथरी बसेर सन्धि गरे। हामीले के पाउने त भन्दा हामीले हिन्दुस्तानमा व्यापार पनि गर्न पाउने, आउन/जान पनि पाउने, खुला सीमा। उनीहरूले के पाउने त भन्दा हातहतियार ल्याउन पनि उनीहरूको कमान्ड आदि। जो अहिले असमान सन्धि भन्छन्। त्यो असमान सन्धिमा हस्ताक्षर गरे मोहनशमशेरले। आजसम्म त्यो लागु भएको छैन। कहिले पनि त्यो लागु भएकै छैन। जो लागु नै भएको छैन, त्यसलाई बदल्ने भन्ने कुरा खाली राजनीतिक प्रोपोगान्डामात्र हो। अर्को सीमाको कुरा आउँछ। म ऊ बेला नै राष्ट्रवाणीको सम्पादक भएको। के ममा राष्ट्रियता छैन होला त? कालापानीको कुरा गर्छन्। त्यो भनेको ट्राई जंकचर हो। नेपाल, भारत र चीनको सिमाना। त्यहाँ नेपालको सीमामा भारतीय बसेका छन्। त्यो कहिलेदखि बसेका? आज यत्रा वर्ष भइसकेको बसेका। मैले कतै मेरो घर छाडेर हिँडे र त्यहाँ कोही अरु गएर बसेको छ भने म हटाउन जान्छु। तर दाह्रासिंह नै रैछ भने म फरक्क फर्कन्छु। जुध्न जान्न नि। अनि मलाई कतिले के भन्छन् भने के आफ्नो स्वाधीनता, आफ्नो जमिन नै छाड्ने त? म भन्छु छाडने होइन, होइन आँखा चिम्लने। त्यो हो कूटनीति भनेको, राजनीति भनेको। हाम्रो मुलुकको स्थिति हेरिकन। सीमामा हाम्रो मान्छेमाथि अन्याय हुन्छ भने कुरा गर्नुपर्छ। यहाँ बाँध नबनाउँ, हाम्रो मान्छे डुब्छन् भन्नुपर्छ। सानोतिनो लिगल बोर्डर डिस्पुट त दुई पक्ष बसेर सल्लाह गरेपछि सकिइहाल्छ नि। हामीले प्राग्मेटिक पोलिटिक्स नगरेर ठूलो ठूलो पोलिटिक्स गर्ने नै होइन। 'डेमोक्रेसी' भनेको 'डेमोक्रेसिज' भइसक्यो। जो मान्छेले कहिल्यै समाजवाद सुन्ने चाहँदैन भन्ने थियो, ऊ समाजवादको कुरा गर्दै हिँडेको छ। त्यसको उदाहरण ओबामाको हेल्थ प्लान हो। जर्मनको चान्सलर चीन पुगेर हामीकहाँ पैसा लगाउ, नत्र तिमी पनि डुब्छौ, हामी पनि डुब्छौँ भन्छ। योे विश्वलाई बुझेर न चल्नुपर्छ। यहाँ बुझेका छन्। पहिला राष्ट्रको स्वार्थ हेर, अनि आफ्नो स्वार्थ हेर भन्ने कुरा हुँदै नहुने कुरा हो। मान्छेको सबैभन्दा ठूलो इन्स्टिंक्ट भनेकै 'सेल्फ प्रिजर्भेसन' हो। त्यो विचारलाई मारेर देउता भएर सोच भन्ने कुरा कहिल्यै हुँदै हुन्न।
तपाईँहरू नेपालको आर्थिक वृद्धिदरको कुरा गर्नुहुन्छ। नेपालमा आर्थिक वृद्धि भएन भन्नुहुन्छ। नेपालमा चार प्रतिशत वृद्धिदर हुँदा भारतमा आठ प्रतिशत थियो। त्यो चार प्रतिशतमा आधा प्रतिशत पनि क्लासको ग्रोथ छैन सबै मासको ग्रोथ। भारतमा साँढे तीन चार प्रतिशत मासको एघार प्रतिशत क्लासको ग्रोथ भएको छ। हाम्रो नेपालमा क्लासको ग्रोथ के मतलब? हाम्रोमा हुनुपर्ने भनेकै मासको ग्रोथ हो। यहाँ ठूला ठूला कारखाना खोल्ने कुरा छैन। साम्यवाद भनेको उत्पादनमा सरकारको हिस्सेदारी न हो। यहाँ जलविद्युत् विकास आममानिसको चाहनाअनुसार हुन सकेको छैन। पछिका दिनमा ती राजनीति गर्ने पार्टीलाई त्यो अक्षम्य हुनेछ। त्यो किन भएको भने कर र छलले गरेर। बिजुली निकासा गर्नुपर्ने मुलुकलाई बिजुली कहाँ पाउँ भइरहेको छ।

तपाईं संस्कृतिविद् पनि। तपाईंले नेपाली संस्कृतिको अध्ययन गर्नुभएको छ। नेपाल एक बहुसांस्कृतिक मुलुक हो। पछिल्ला आन्दोलनहरू पछि संस्कृतिहरूबीच जुन समन्वयात्मक सम्बन्ध थियो त्यो विच्छेद हुन लागेको जस्तो लाग्दैन?
कुनै हालतमा विच्छेद हुँदैन। के कारणले विच्छेद हुने?

आफ्नै संस्कृति भनेर हिँड्ने, अर्काको संस्कृतिको मान नगर्ने। अर्को जातिलाई घृणा गर्ने जस्ता कुरा देखिन थालेका छन् नि?
यो सानो मुलुकमा त्यस्तो रहनै सक्दैन। कारण, यो वागमती नदीलाई यहाँका काम गर्ने ज्यापूहरू वुंगमती भन्थे। अनि उनीहरूले एउटा देवता बनाए बुंगःदय - माटोको देवता। अनि नाथ सम्प्रदायहरू घुसे यहाँ। तिनीहरूलाई हान्न गाह्रो पर्यो। अनि उनीहरूले हामी तिम्रो देवता मान्छौँ भने। यी त हाम्रो गुरुका पनि गुरु हुन्। यिनलाई मछिन्द्रनाथ भनेर मान्छौँ भनेर पुज्न थाले। अनि सनातनी ब्राह्मणहरूले यी त सनातनी देवता हुन्, वर्षाका देवता हुन् इन्द्र भनेर पुज्छौँ भने। बुद्धमार्गीहरू पनि आए करुणामय भनेर पूजा गर्न थाले। यो समन्वय एक ठाउँमा मात्र छैन। हामीले पूजा गर्दै आइरहेको असनको अन्नपूर्णामा पनि छ। यो सिंक्रिटिसिज्म नभई यो सानो मुलुकमा हुँदै हुँदैन। यहाँका बाहुनले राँगा पनि खाएकै छन्। लसुन प्याज नखाने नेवार पनि छँदैछन्। नेपालीले जे गरे पनि नेपाली प्रवृत्ति छाड्दैन। ढुक्क हुनुहोस्। गुन्द्रुक लिएर न्युयोर्क पुग्छ नेपाली, यो भन्दा ठूलो उदाहरण के हुन्छ।

अहिलेको यो द्वेषमात्र हो त्यसो भए?
द्वेष, द्वन्द्वमात्र हो। जस्तो यहाँ तीनवटा राज्य थियो काठमाडौँ, भक्तपुर र ललितपुर। तिनीहरूबीच कहिल्यै लडाइँ भएन। सानोतिनो झगडामात्र थियो दाजुभाइको जस्तो। यहाँ जुन अलग अलग विचार भएका राजनीतिक पार्टीका मान्छे पनि सँगै बसेर गफ गरेको देखिन्छ। बढो मित्रता छ। बाहिर कहाँ त्यस्तो हुन्छ? यसो कुम फर्काइहाल्छ। नेपाल संसारकै नमुना सिंक्रेटिक मुलुक बन्न सक्छ। किनभने अब संसार सिक्रेटिजममा नगई सुख्खै छैन। इन्टरनेसनल इन्सक्लुसिभनेसको कुरा विश्वभर फैलिसकेको छ। हामीले हतास खाने ठाउँ नै छैन। असनमा गएर हेर्नुस् त एघारौँ शताब्दीको पुसकार्ट पनि छ, एकाइसौँ शताब्दीको मोटर पनि छ। त्यसरी मिलेर बसेका छौँ हामी।

मधेसमा मिथिला संस्कृति छ। उनीहरूले खास दृष्टिकोण लिएर बसेका छन् जस्तो लाग्दैन?
उनीहरूको एकदमै खास दृष्टिकोण छ। उदाहरणका लागि भक्तपुरमा एउटा मिथिला सम्प्रदायीहरू अहिले पनि ब्रह्मानन्द भजन गाएर बस्छन्। उनीहरूले हामी इन्डियन त भनेका छैनन् नि? हामी नेपाली मात्र नभनेर हामी मैथली भनेपछि केही पाइन्छ कि भन्ने सोच हो। त्यो नाजायज होइन। थारु त्यसैगरी बसेका छन्। भोजपुरी त्यसैगरी बसेका छन्। उनीहरूले पनि विचार मन्थन गरिरहेको मात्र हो। तर, तराईको दुःखलाग्दो कुरा केमात्र हो भने त्यहाँ शताब्दियौँदेखि बसिरहेका नेवार र अरुलाई भने आन्दोलनको क्रममा धपाइयो। त्यो बडो गलत भयो। अहिले जे/जति पनि कुरा उठेका छन् त्यो त लिबरेज लिनलाई उठेको मात्र हो। मान्छेले लोभ, पाप सबै छाडेर सोच्नुपर्छ भन्ने कुरा त आदर्शमात्रै हो।

नेपाली साहित्यको कुरा गरौँ न। कत्तिको पढ्नुभएको छ अहिलेको नेपाली साहित्य?
मेरो विचार त असी लागेपछि पढ्नुहुन्न भन्ने हो। पढ्ने कुरा त किताबमा भइहाल्छ। लेख्नुपर्छ भन्ने हो।

तपाईं विचार मन्थन खुब गर्नुहुन्छ, अहिले पनि?
हो। नेपाल आउनुअघि मलाई जेएनयुमा बोलाएका थिए केही बोल्न भनेर। म गएँ। केमा बोलुँ भनेर सोधेँ। उनीहरूले जेमा मन लाग्छ त्यसैमा बोल्नुस् भने। मैले त्यसो भए 'सेक्सुआलिटी एज अ मिन्स फर विमन इम्पावरमेन्ट' मा बोल्छु भने। अनि मैले संस्कृतलाई कोट गरेर, 'या देवी सर्वभुतेषु काम रुपेण संस्थिता' भनेर सुरु गरेँ। कसरी काम शक्तिलाई पहिला लिइन्थ्यो र अहिले के छ भनेर। अनि म्याडोनालाई लिएँ। म्याडोना स्टेजमा आइ र स्टेज नै ढाकी आइमाईको तेज र सौन्दर्यले। त्यसको पाँच/छ वर्षपछि लोग्ने मान्छेको बुट लाउँछे नेपाली केटी। आज हाम्रो न्युरोडमा जानुस् त सबै केटीहरू बुट लाएर हिँड्छन्। हामीमा पनि त लोग्ने मान्छेको शक्ति के कम छ भनेर देखाएको त हो नि यो।