Wednesday 25 Mangshir, 2076 | December 11, 2019
Menu

काठमाडौं–हेटौंडा सुरुङमार्गमा टिबीआई होल्डिङको एक अर्ब लगानी

(0 votes)
काठमाडौं–हेटौंडा सुरुङमार्गमा टिबीआई होल्डिङको एक अर्ब लगानी

काठमाडौं— निजी क्षेत्रले बनाउन लागेको काठमाडौं–हेटौंडा सुरुङमार्गमा जापानको टिबीआई होल्डिङले एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी र टिबीआईवीच बुधवार एक अर्बको शेयर खरीद सम्झौंता भयो।

सम्झौंतापत्रमा पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी र टिबीआईका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरे।

गैरआवासीय नेपाली अध्यक्ष रहेको यो कम्पनीले विश्वका १२ राष्ट्रमा लगानी गरिरहेको छ। नेपालमा संचार, हवाईजहाज लगायत क्षेत्रमा यो कम्पनीले लगानी गरिरहेको छ। निर्माण, संचालन, स्वामित्व र हस्तान्तरण(बुट) अन्तर्गत निर्माण हुने सुरुङमार्गमा यो सबैभन्दा ठूलो लगानीको प्रतिवद्वता हो। ५८ किलोमिटर लामो यो सुरुङमार्गले काठमाडौंदेखि हेटौंडालाई एक घन्टामा जोड्छ। ३५ अर्ब लागतमा बन्ने यो परियोजना पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको पहिलो प्रवेश हो।

'निजी क्षेत्रलाई विश्वास गरेर वुट ऐन अनुसार हामीले पूर्वाधार क्षेत्रमा पाएको पहिलो परियोजना हो,' अध्यक्ष जोशीले भने, 'यसलाई हामीले सार्वजनिक–निजी–जनता साझेदारी(फोरपी)को अवधारणाबाट परियोजना अघि बढाइरहेका छौ। हाम्रो दृढ ईच्छाशक्ति तीन वर्षभित् रनै सक्ने हो। यसका लागि सबैको सहयोग आवश्यक पर्छ ।' उनले मुलुकको रुपान्तरण गर्ने साहसका साथ परियोजना अघि बढाएको बताउँदै लगानी समयमै सकाउन सबै प्रयास गरिरहेको बताए।

'यो परियोजनामा रिर्टन राम्रो दिनसक्छौ । जसरी बैंक, जलविद्युत क्षेत्रमा राम्रो प्रतिफल छ त्यो भन्दा बढी प्रतिफल यो परियोजनाबाट दिनसक्छौ,' जोशीले भने, 'हाम्रो सबै अध्ययनले प्रतिफल राम्रो हुनसक्छ भन्ने देखाएको छ।' उनले मुलुकभित्र छरिएर रहेको पुँजीलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउने प्रयास गरेको बताए ।

'मुलुकभित्र यथेष्ट पैसा छ। कुनै बैंक र जलविद्युतको साधारण सेयर जारी गर्दा धेरै गुणा आवेदन पर्छ,' उनले भने, 'यसले हामीलाई हौस्याएको छ।' जोशीका अनुसार संस्थापक सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन गएको छ।

'संस्थापक सेयरको लागि बोर्डमा आवेदन गरेका छौ । हामीसँग जोडिएका ६ वटा मर्चेन्ट बैंकले यसलाई राम्रो परियोजना भएर सहकार्यमा आएका छन्,' उनले भने, 'हामीलाई विभिन्न मुलुकमा बसेका गैरआवासीय नेपालीले लगानी गर्ने प्रतिवद्वता गरिसक्नुभएको छ ।' टिबिआईका अध्यक्ष भट्टले सुरुङमार्ग आर्कषक परियोजना मात्रै नभएर मुलुकको सेवा गर्ने अवसर समेत भएको बताए ।

'व्यवसायिक रुपमा उच्च सम्भावना भएको यो राजमार्गले लगानीको आयाम खोल्नेछ,' उनले भने, 'देशमै आशा र सम्भावनाको ढोका खोल्ने परियोजनामा हामी जोडिन पाउँदा गौरवान्वित भएका छौ ।' भट्टले नेपाललाई सुन्दर र समृद्व मुलुकमा रुपान्तरण गर्न सकिने बताउँदै यो परियोजनालाई सबैको सहयोग आवश्यक हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको पहिलो प्रवेश सुरुङमार्गबाट भएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताए । सुरुङमार्गले दुरी घटेर पेट्रोलियम पदार्थको खपत कम हुने उनले बताए ।

'अहिले पेट्रोलियम पदार्थको लागि लामो लाइन बस्नुपरेको छ । हामीले ठूलो रकम यही पेट्रोलियम पदार्थ किन्न रकम गएको छ,' पाण्डेले भने, 'यो परियोजनाले पेट्रोलियम पदार्थको आयात कम गरेर सधैको समस्यालाई कम गर्न सक्छ ।'