Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

नागरिक शनिबार

पन्ध्र सालकै जस्तो जनलहर

  • ८ मंसिर, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।
त्यतिखेर सहायक बडाहाकिम बनेर चुनाव गराउन धनकुटा खटिएका रिमाल कांग्रेसले पाएको बहुमत राजाका लागि 'अप्रत्यासित' बनेको सम्झन्छन्, अहिलेको परिणामलाई केही दलले पचाउन नसकेजस्तै।

यस्तो परिणामको पूर्वाभास भएको भए एमाओवादीले यति सजिलै चुनाव हुन दिन्थे भन्नेमा उनलाई शंका छ, ०१५ सालमा तत्कालीन राजा महेन्द्रले जस्तै। त्यसबेला पनि कांग्रेसले बहुमत ल्याउनसक्ने अलिकति पनि अनुमान गरेका भए राजा महेन्द्रले चुनाव गराउने थिएनन् भनेर उनी ठोकुवा गर्छन्।

'सल्लाहकारहरूले निर्वाचनपछि कांग्रेस बढारिने दाबी गरेकाले मात्र राजा चुनाव गराउन तम्सिएका हुन्। गलत सल्लाहको विश्वासमा परेका राजालाई नतिजा अप्रत्यासित लाग्यो, उनले लामो समय सरकार बनाउन कांग्रेसलाई बोलाएनन्,' रिमालले भने, 'भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको दबाबपछि मात्र सरकार गठन गर्न राजा बाध्य भए।'

त्यतिबेला कांग्रेसको पक्षमा जनलहर देखिनुमा उनलाई लागेको मुख्य कारण हो संविधानसभाको चुनाव गराउन राजाले ढिलाइ गर्नु। 'राणा शासन ढाल्ने जस पाएका जनताले छिटो परिवर्तनको अपेक्षा गरे, राजाले जनताको अपेक्षालाई सम्बोधन नगरेपछि उनीहरूले कांग्रेसलाई विश्वास गरे,' रिमाल भन्छन्।

निर्वाचन गराउने काममा संलग्न रिमाल त्यो चुनाव धाँधलीरहित रहेको दाबी गर्छन्। 'निष्पक्षताकै कारण कांग्रेसले दुईतिहाइ मत ल्याउन सकेको हो,' उनको तर्क छ, 'नत्र राजा महेन्द्र नै अपोजिसनमा हुँदा पनि त्यत्रो सिट कसरी ल्याउन सक्थ्यो कांग्रेसले?'

चुनावपछि बल्लबल्ल सरकार बन्यो। बिपी कोइराला प्रधानमन्त्री भए। चार वर्ष आफूले शासन गर्दा जित्न नसेको जनताको मन बिपीले सजिलै जित्न थालेपछि राजा र प्रधानमन्त्रीको 'इगो'बढ्दै गएको उनले बुझेका छन्।

बिपी क्रान्तिकारी भूमिसुधारको पक्षमा थिए। राजा त्यसका विरोधीलाई साथ लिएर बिपीको आलोचना गराउँथे। बिपी विदेशी राष्ट्रसँग सम्बन्ध विस्तारमा लाग्थे, महेन्द्रलाई त्यो निको लाग्दैनथ्यो। दुईजनाको इगोले नेपाली कांग्रेसको सरकार र प्रजातन्त्रविरुद्ध नै १९ महिनामै 'कू' गरियो।

'जनताले निकै अपेक्षा गरेको सरकारले कामै गर्न पाएन। जनतामा निराशा आउनुअगावै कू गर्दा राजालाई त्यसपछि पनि जनताको साथ रहेन,' रिमाल तत्कालीन परिस्थिति विश्लेषण गर्छन्। उनलाई त्यतिबेला राजाले गरेको व्यवहार कुनै हालतमा न्यायोचित लाग्दैन।

'बिपीको अन्तर्राष्ट्रिय समुदायमा लोकप्रियता यस्तो चुलिएको थियो, नेहरू पनि इष्र्या गर्थे भनिन्छ,' नेहरूकै सपोर्ट पाएर महेन्द्रले कू गरेको हुनसक्ने चर्चा त्यतिखेर व्यापक रहेको उनी बताउँछन्।

'डिभाइड एन्ड रुल' भन्ने सिद्धान्तलाई महेन्द्रले आत्मसात गरेको रिमालको बुझाइ छ। बिपीका निकट मित्र तुलसी गिरी लगायतलाई अलग्याएर सत्तामा ल्याउने बिपीको कदम रिमालका अनुसार त्यही सिद्धान्तको अनुकरण हो।

०१५ सालमा जनताले ठूलो अपेक्षाका साथ कांग्रेसलाई रोजेको मान्ने रिमाल अहिलेको चुनावमा एमाले र कांग्रेसलाई जनताले विकल्पको अभावमा छानेको जिकिर गर्छन्। 'नत्र उनीहरूले नयाँ शक्तिका रूपमा उदाएको माओवादीलाई मौका दिएकै हुन् नि,' उनी माओवादीले जनमत गुमाउनुको कारण औल्याउँछन्, 'भारतको शरण परेर उनीहरूले जनयुद्ध गरेको जनताले थाहा पाए, सर्वहाराको उत्थान गर्ने भनेर आएका नेताहरू आफ्नै जीवनशैली सुधार्नतिर लागे। उनीहरूको राजसी जीवनशैली देखेपछि जनता क्रुद्ध भए।'

माओवादीसँग असन्तुष्टी बढ्यो, जनताले राजावादी र मधेसवादी दललाई पनि विश्वास गर्न सकेनन्। त्यही भएर एमाले–कांग्रेसतिर जनलहर मोडिएको उनको अनुमान छ।

...

नेपालको अस्थिर राजनीतिका पुराना साक्षी हुन् रिमाल। कूटनीतिज्ञ हुँदै पत्रकार बनेका उनले निर्वाचन परिणामपछि एकीकृत माओवादीको प्रतिक्रियालाई २०३६ सालको जनमत संग्रहसँग तुलना गरेर हेर्छन्।

'हामीलाई निर्वाचनमा हराउन देशी–विदेशी षडयन्त्र भयो। मतगणना बहिस्कार गर्दै हामी चुनावी प्रक्रियाबाट अलग हुन्छौं,' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान यस्तो वक्तव्य दिएको सुन्दा रिमाल चकित परेका थिए।

सबै पर्यवेक्षकले निर्वाचन शान्ति र निष्पक्ष भएको रिपोर्ट बुझाएका थिए। त्यसमाथि माओवादीकै विरुद्ध धाँधली गर्न सक्ने शक्ति उदायो होला भनेर उनले कत्ति विश्वास गर्न सकेनन्। खराब नतिजा मिलेपछि माओवादीले दिएको वक्तव्य उनलाई अलोकतान्त्रिक लाग्यो। त्यतिबेला उनले २०३६ सालको जनमत संग्रहको नतिजापछि कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाले दिएको वक्तव्य सम्झिए।

'जनमत संग्रहमा धाँधली भएको घटना धेरै स्रोतले पुष्टि गरेको छ। तथापि हामी जनमतको सम्मान गर्छौं र परिणाम स्विकार्छौं,' कोइरालाको यस्तो वक्तव्य आएपछि त्यसबेला परराष्ट्र मन्त्रालयमा कार्यरत रिमाल निकै प्रभावित भएका थिए।

जनमत संग्रहमा बहुदलवादीलाई हराउन राजसंस्था नै लागेको स्मरण गर्दै उनले भने, 'पहिला मलाई बिपी भारतमुखी नेता लाग्थ्यो, यस्ता घटनामा उनको व्यवहार देख्दा राष्ट्रवादी लाग्यो। उनी महान नेता हुनुमा यस्तै कारण छन्। राष्ट्रिय नेताले सधैं जनमतको सम्मान गर्नुपर्छ।'

बिपीको यस्तै विचारधाराले आफू प्रभावित भएको उनी बताउँछन्। २०३६ सालको जनमत संग्रह बेला उनी परराष्ट्र मन्त्रालयका सहसचिव थिए। २०३९ मा कोइरालाको निधन हुँदा पनि जागिरमै थिए। 'पञ्चायतविरोधी' कोइरालासँग संगत गर्नु त अपराध नै ठानिन्थ्यो, रिमालले मलामी जाँदा पनि जागिरबाट हात धुनुपर्यो ।

'बिपीप्रतिको इनर फिलिङका कारण मलामी गएँ, त्यो थाहा पाएपछि प्रधामन्त्री सूर्यबहादुर थापाले जागिरबाट अवकाश दिए,' उनी भन्छन्, 'यस्तो व्यवहार पछि तत्कालीन सत्ताको विरोधी कित्तामा उभिएँ।'

त्यसपछि कूटनीतिज्ञका रूपमा बनाएको चिनारी बदल्दै उनी पत्रकार बन्न जोस्सिए। 'तीन रोपनी जग्गा बेचेर अमेरिका गएँ। फर्किएपछि पत्रिका निकालेँ,' अंग्रजी म्यागेजिन 'स्पटलाइट'का संस्थापक सम्पादक रिमाल पत्रकारको परिचयसँगै 'रिटायर्ड' भए।

नेपाली राजनीतिले आजसम्म बिपीजस्ता राष्ट्रवादी नेता उत्पादन गर्न नसकेको उनको भनाइ छ। 'जुन देशमा राजा र प्रधानमन्त्री नै राष्ट्रवादी हुँदैन, त्यो देशको राजनीति कस्तो हुन्छ?' अस्थिर राजनीतिको प्रसंग उप्काउँदा उनी प्रतिप्रश्न गर्छन्।

'अब त कांग्रेस र एमालेले चेते कि?'

उनी विश्वास गरिहाल्दैनन्। सरकार गठनसँगै उनीहरू आरोप÷प्रत्यारोपमा नउत्रिएलान् भन्नेमा रिमाल ढुक्क हुन सक्दैनन्। देश निर्माणको 'अभिभारा' उठाउने दलहरूबीच किन झगडा हुन्छ भन्नेमा उनीसँग कारण छ।

'उनीहरूले देशको उन्नति सोचेका भए झगडा हुन्थ्यो? व्यक्ति र पार्टीको स्वार्थ पूरा गर्न झगडा गर्छन्,' माओवादी 'लफडा'ले आगामी राजनीतिलाई थप अप्ठ्यारो पार्ने शंका गर्छन् उनी।

अन्तर्राष्ट्रिय शक्तिको चलखेललाई उनी अस्थिर राजनीतिको अर्का कारण मान्छन्। 'स्थिरताका लागि सच्चा देशभक्त चाहिन्छ, ती लुकेका छन्, खोज्नु पर्छ,' रिमाल भन्छन्।

...

'जब पुग्यो नब्बे, हब्बे न कब्बे' भन्ने उक्तिका निर्मातालाई रिमालको जीवनशैलीले चुनौती दिन्छ।

यो उमेरमा पनि उनी र उनको 'डकुमेन्टेसन' अतिव्यवस्थित छ। नेपाली कांग्रेस गठनको प्रसंग निस्कँदा त्यतिबेलाको दस्तावेज देखाएर उनी बोल्न अघि सरे। 'नेपाल भारतकै अंग हो भन्ने व्याख्याका साथ कांग्रेस गठन भएको छ। यस्तै कुरालाई भारतले नेपालमाथि हस्तक्षेपको निम्तो माने,' रातो धर्को लगाएको पंक्ति देखाउँदै रिमालले भने।

पृथ्वीनारायण शाहको निधनपछि शाहवंशमा स्थितरता भएन। यही अस्थिरताको फाइदा उठाउँदै जंगबहादुरको उदय भयो। इतिहास पढेर उनी ती व्यवस्था जनमैत्री नभएको खुट्याउँछन्। राणा शासन त उनले करिब पञ्चायती व्यवस्था जति नै लामो भोगे।

२००७ सालको क्रान्तिलाई नजिकबाट नियालेका रिमाल जनविद्रोह र कांग्रेसको संघर्षकै भरमा राणा शासन सकिएको मान्दैनन्। राणा शासनको अन्त्यसँगै नेपालको वास्तविक राजनीति सुरु भएको देख्ने उनी भारतको प्रभावले नेपालमा राजनीतिक परिवर्तन भएको ठोकुवा गर्छन्। उनका अनुसार यस्तो खेलको सिलसिला अझै जारी छ।

'भारत स्वतन्त्र भयो, कांग्रेसको संगठन त्यहीँ विकास भयो, राजा त्रिभुवन भागेर भारत गए र भारतले नेपालमा खेल्ने औपचारिक अनुमति पायो,' उनी भन्छन्, 'त्रिभुवन छउन्जेल नेपालको राजनीति भारतले चलायो भन्दा पनि हुन्छ।'

उनी कांग्रेसको राजनीति सधैं भारतमुखी भएको आरोप लगाउँछन्। 'उनीहरू भारतीय नेतालाई आदर्श मान्थे, त्यसले नेपालको राजनीति प्रभावित भइरह्यो। उतैको स्कुलिङमा यहाँको राजनीति चलाउन खोजियो,' २००७ सालमा डिल्लीरमण रेग्मीले नेतृत्व गरेको राष्ट्रिय नेपाली कांग्रेसको सदस्यतासमेत लिएका रिमाल भन्छन्, 'नेपाली कांग्रेस स्थापना हुँदा म कलकत्तामा पढ्थेँ, भारतीयको देखासिखीमा यो पार्टीको राजनीतिक मोडल तयार भएको हो।'

२००६ सालमा बाली भित्राउन नेपालगन्ज गएका बेला कांग्रेस बनेर त्यहाँका बडाहाकिम धु्रवशमसेरलाई थर्काएको अनुभव पनि छ उनको।

कांग्रेसमा सक्रिय हुने÷नहुने दोधारमा छँदै उनलाई पाटी अध्यक्ष रेग्मीको कार्यशैली मन परेन। 'पार्टी छाडेँ, २००८ सालमा शाखा अधिकृत भएर सरकारी जागिर थालेँ,' त्यसपछि उनको क्रियासिलता अन्तै मोडियो। लामो समय उनले परराष्ट्र मन्त्रालयमा काम गरे, थुप्रै देशमा जिम्मेवारी निर्वाह गरे।

नेपाललाई भारतीय हस्तक्षेपबाट अलग गराउने र विदेशी समुदायमा देशलाई परिचित गराउने जस उनी राजा महेन्द्रलाई दिन्छन्। 'तर उनको कतिपय निरंकुश नीति समय सुहाउँदो थिएन। काम गर्ने मौका नै नदिई बिपीको सरकार विघटन गर्ने कदम त कुनै हालतमा पनि सही थिएन,' उनी भन्छन्।

१० वर्ष सक्रिय शासन गरेका महेन्द्रसँग आफू निकट थिएँ भन्ने दाबी पनि छ उनको।

'देशको कहिल्यै उन्नति हुन्न सरकार,' एक भेटमा राजालाई ठाडै यसो भनेको बताउने रिमाललाई राजाको प्रतिक्रिया पनि याद छ। '५ सेकेन्ड मेरो मुखमा हेरेर उनले भने, किन?' रिमालले करण दिएछन्, 'नेपालमा नेपाली नै जन्मेको छैन।'

आफूले त्यतिबेला भनेको कुरा अहिलेको राजनीतिमा पनि लागु हुन्छ भन्छन् उनी। 'अहिलेका नेताहरू पनि नेपाली हुन् कि होइनन् भन्नेमा शंका लाग्छ।'
प्राध्यापनबाट परराष्ट्र

प्राध्यापनबाट परराष्ट्र

सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ...

ध्यानमा परम आनन्द

ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम। ध्यान केन्द्र धाउनेको संख्या बढ्दै छ। नेपालमा पनि ध्यान केन्द्रहरू छन्। काठमाडौं, पोखरा, लुम्बिनीलगायत सहरमा खुलेका केन्द्रमा नेपालीको राम्रै जमघट हुन्छ।

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

झ्याल्चा अर्थात् यौन लीला

झ्याल्चा अर्थात् यौन लीला

इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा

सुशीलदा'को डायरी

‘मनको बह कसैलाई नकह' भन्ने उखान नै छ। कहने साथी कोही नपाएपछि कहिलेकाहीँ डायरी लेख्ने इच्छा हुन्छ। आफैं लेख्यो, आफै पढ्यो, अनि खोपामा थन्क्यायो। ईश्वरले गरेको सबैभन्दा गजप डिस्कभरी सायद...

धन्न धानेका छन् विभागीयले

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

मोलामोल मालपोत

मोलामोल मालपोत

हातमा सादा नेपाली कागज र लालपुर्जा, काखीमा केही फाइल च्यापेर सेवाग्राही यताउता घुमिरहेका छन्। काम छिटो सकाउन सबैलाई हतार छ। 'सर मेरो यो हेरिदिनुस् न, यसमा सही गर्दिनुपर्योा, यी मेरो...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...