24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

मतलब, तीन पुस्ता...

  • १५ मंसिर, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
बाहिरपट्टि विभिन्न पत्रिकामा आफ्नो प्रकाशनका किताब र लेखकबारे छापिएका समाचार र तस्बिरका कटिङ सजाइएका छन्। विभिन्न लेखकबारे छापिएका स्टोरी पनि सँगै छन्। केही कलाहरू छन्।
रत्न पुस्तक भण्डारका प्रबन्धक गोविन्दप्रसाद श्रेष्ठको कार्यकक्ष छिर्नेबित्तिकै रत्नले छापेका नेपाली साहित्यिक पुस्तकका चाङसँग आमनेसामने हुनुपर्छ। उनका हजुरबा रामदास श्रेष्ठ र बुबा रत्नप्रसादको तस्बिर देखिन्छ। कुर्सीमाथि नेपालको मानचित्र छ। झट्ट हेर्दा कुनै जासुसी उपन्यासकारले वर्णन गरेको सेटिङजस्तो लाग्छ गोविन्दको कार्यकक्ष।

बिन्दास छन् गोविन्द। कुनै तनाव झल्किन्न अनुहारमा। केही मुद्राहरू छन्– धुम्धुम्ती बसिरहेका, पुस्तकका बिल हेरिरहेका, कम्प्युटर चलाइरहेका, कफी पिइरहेका अथवा टेलिफोनमा कसैलाई गफ दिइरहेका। बोलीपिच्छे 'मतलब–मतलब' थेगो फुत्किन्छ। त्यसले उनको बोलीमा रस थप्छ। पंक्तिकार निस्कने बेला बाहिरबाट कसैले ढोका खोल्यो। लेखक नारायण तिवारी रहेछन्। गोविन्दलाई भेट्न लेखकहरू बरोबर आइरहन्छन्।

रत्न पुस्तक भण्डार प्रकाशक मात्रै होइन, वितरक पनि हो। वितरकमात्रै होइन, बिक्रेता पनि हो। जे गरे पनि यसको काम साहित्य र गैरसाहित्यका पुस्तकसँग खेल्नु हो। गोविन्द आफूचाहिँ रत्न पुस्तक भण्डारको प्रकाशन विभाग हेर्छन्। अहिले रत्नका चार शाखा छन्। रत्न बुक्स डिस्ट्रिब्युटर्स, भोटाहिटीमा रहेको रत्न पुस्तक भण्डार, माइतीघरमा रहेको धार्मिक पुस्तक बेच्ने पसल र पुल्चोकको सरस्वती बुक्स।

सिंगो रत्न पुस्तक भण्डार गोविन्दका पिता रत्नप्रसाद श्रेष्ठको नाममा खोलिएको हो। त्योभन्दा पहिले रामदास एन्ड सन्स यसको नाम थियो। २०११ सालमा जन्मे गोविन्द। उनी जन्मिनु एक वर्षअघि हजुरबा रामदासले खोलेको पसललाई तीन पुस्तासम्म निरन्तरता दिइरहेछन् उनी।

तिनताक गोविन्दका आठ दाजुभाइको भान्छा एउटै चुलोमा चल्थ्यो। गोविन्द आइएस्सी पढ्दै थिए। काकाको साथमा बुबा रत्नप्रसाद श्रेष्ठ जर्मनीको फ्र्यांकफर्ट बुक फेयरमा भाग लिन गएका बेला पसल कसले हेर्ने भन्ने संकट उत्पन्न भयो। गोविन्दका माइला दाजु गंगाप्रसाद टेबुलटेनिस भिड्न जापान गएका थिए। साइँला दाइ कृष्णप्रसाद पढाइको सिलसिलामा रसिया गएका थिए। अमृत साइन्स क्याम्पसमा आइएस्सी पढ्दै गरेका काइँला भाइ गोविन्द घरमा थिए।

ठिक यही बेला घरको काम सघाउन पसल रुँघेर बसेका गोविन्दको चाख किताबमा बस्यो । आइएस्सीको साधना किताब पसल चलाउने ध्याउन्नमा मोडियो। यो २०२९ सालको कुरा हो।

आइएस्सी सकेका गोविन्दले त्यसपछि पढाइ नै छाडे। तीन पुस्तादेखि पुस्तक प्रकाशन र वितरण कर्ममा होमिएको उनको परिवार पहिले पुस्तकमात्रै बेचेर गुजारा चलाउँदैनथ्यो। मिठाई पसलदेखि नाङ्लोमा पसल थापेको पृष्ठभूमि आज वर्षमा करोडौं कारोबार गर्ने गोविन्दको पृष्ठभूमि हो। 'मखनटोलमा रोटी पसल थियो हाम्रो,' गोविन्द सम्झन्छन्, 'पाँच–छ बजेसम्म रोटीको पसल थापेर सोह्रहाते गणेशथानमा धार्मिक किताब बेचिन्थ्यो, बा पनि सँगै गएर सघाइदिनुहुन्थ्यो।'

१९९६ सालमा रामदास एन्ड सन्स का नाममा स्थापित संस्थाले पहिलो कृतिका रूपमा २००३ मा भगवती स्तोत्र नामक धार्मिक कृति छाप्यो। भक्तपुरको भोलाछेंबाट आएको हो गोविन्दको बाजे पुस्ता। रत्नप्रसादले २००३ सालमा रत्न पुस्तक भण्डार स्थापना गरे।

'माइला दाइबाहेक सातै भाइ किताब प्रकाशन र बिक्रीमा नै होमियौं,' गोविन्द भन्छन्। सुन्दा अपत्यारिलो लाग्नसक्छ– केही वर्षअघिसम्म सबै दाजुभाइको परिवार एउटै चुलोमा खाना पकाएर खान्थ्यो।

पुस्तक बेचेर कति कमाइ हुन्छ त? पहिले पाठ्यपुस्तकमात्रै छाप्ने गोविन्दको ध्यान अहिले साहित्यमा केन्द्रित भएको बताउँछन्। 'हाम्रो पुँजी भनेको शिक्षा नै हो, पाठ्यपुस्तकमा अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा छ, अब मैले के भनुँ लेनदेन नै हुन्छ,' उनी जिकिर गर्छन्, '४० वर्षभन्दा पुराना मित्रहरूको चाहिँ छापिरहेको छु, अरू नयाँको चाहिँ अब नछाप्ने।'

पाठ्यपुस्तक नछाप्ने र केवल साहित्यिक पुस्तक छाप्ने प्रकाशनहरू अहिले पनि धर्मराउँदो अवस्थामा रहेको उनी बताउँछन्। उनीहरूले अहिले पनि नकमाएको, बरु गुमाइरहेको गोविन्दले बुझेका रहेछन्। अरू प्रकाशन भने रत्न पुस्तक भण्डार पुरानै ढर्राबाट चलिरहेको जिकिर गर्छन्।

रत्न पुस्तक भण्डार गेसपेपर र गाइड छाप्दैन। यो गोविन्दको दाबी हो। 'हामीले जसरी पनि पैसा कमाऊँ भन्ने उद्देश्य राखेका छैनौं,' उनी भन्छन्, 'यो स्वस्थ पेसा अहिले भद्रगोल छ।'

रत्न पुस्तक भण्डारले वार्षिक दुई करोडको कारोबार गर्छ। 'एक करोड ९२ लाख मेरो सेल्स हो, लगानी त अझै पनि ठूलो छ,' उनी सगौरव सुनाउँछन्। सँगसँगै थप्छन्, 'खास मुनाफाचाहिँ छैन, २८ जनालाई रोजगारी दिइरहेको छु। लेखकको रोयल्टी सधैं दिन्छु, दिइरहेको छु।'

लेखकहरू भने रत्न पुस्तक भण्डारले पहिलो संस्करणको रोयल्टी नदिने गरेको बताउँछन्।

गोविन्द आफैं पनि सकार्छन्। प्रेस खर्च, छपाई खर्च, कलाकारलाई दिने पारिश्रमिक र वितरण आदिमा हुने लगानी बुझेकै छन् लेखकले। पहिलो संस्करण पाँच सय प्रति निकाल्छन् उनी। त्यसपछिको मुद्रणमा लेखकस्व रहन्छ। कसैलाई कसैसँग गुनासो छैन। गोविन्द–शैली बिस्तारै पुरानो हुँदै छ।

गोविन्दलाई थाहा छ, अहिलेको समयमा खण्डकाव्य बिक्दैन। तैपनि उनी छाप्छन्, किनकि यसो गर्दा उनको प्रकाशनको क्याटलग बलियो हुन्छ रे। सेवा गर्नेले त्याग पनि गर्न सक्नुपर्ने उनको जिकिर छ।

उनले सकारे पनि नसकारे पनि बूढा हुँदै छन् गोविन्द । सपना र योजनाहरू अझै थाक लागिरहेकै छन्। 'सबै लेखकका लागि प्लेटफर्म बनाउने मेरो काम हो,' उनी सपनाको हिसाब राख्छन्, 'मेरो पुँजी भनेको त्यही हो, त्यत्ति हो।'

साहित्यको किताब वर्षमा एक हजार प्रति बिक्यो भने अझै पनि सन्तोष मान्नुपर्ने अवस्था रहेको गोविन्द तर्क गर्छन्। अहिले विभिन्न प्रकाशनहरूले आफ्नो किताब तीन हप्तामै यति बिक्यो उति बिक्यो भन्ने भनाइलाई सत्य मान्न तयार छैनन् उनी। नेपाली पाठक पछिल्लो समय बढेको भन्ने भनाइ उनले अस्वीकारे। 'पल्पसा क्याफे ५० हजार कपी बिक्यो भन्दैमा पाठक बढेको मान्न सकिन्न,' उनी जिकिर गर्छन्, 'पाठक बढेका भए किन अरू किताब त्यसको एक चौथाइ पनि नबिकेका त?' अहिलेसम्म पाँच हजार किताब छापिसकेका उनी आफैं भने खासै किताब पढ्दैनन्।

नयाँ पुस्ता र पुराना पुस्ताबीच अझै पनि बलियो सम्बन्ध कायम हुन नसकेकामा गोविन्द नमिठो मान्छन्। पुराना लेखकलाई मान चाहिने, नयाँ पुस्ताका प्रकाशक मान दिन नजान्ने, अनि कहाँबाट हुन्छ?' उनी दिक्दारी दर्शाउँछन्।

रत्नले छापेकामध्ये सर्वाधिक बिक्री भएको पुस्तक कुन होला ? जवाफ रोचक छ– नेपाली ठूलो वर्णमाला। साहित्यिक कृतिचाहिँ डायमनशमशेरको 'सेतो बाघ'।

अमरता नचाहनेले रचनालाई माया गर्दैन

इटालीका ८१ वर्षे उपन्यासकार अम्बर्टो इको समकालीन विश्वका बहुचर्चित लेखकमध्ये एक हुन्। उनी दार्शनिक, निबन्धकार, साहित्यिक समालोचक र संकेतशास्त्री पनि हुन्। इकोको परिचय यत्तिमा सीमित छैन। उनी पचास हजारभन्दा बढी...

अनलाइनको सदुपयोग

फुर्सद हुँदा तिमी कत्तिको अनलाइनमा बस्ने गरेका छौ? छौ भने अनलाइनमा के गर्छौ? कतिपय साथी भने धेरै समय फेसबुकमै बिताउने गरेका छन्। अनलाइन भनेको फेसबुकमात्र होइन, यहाँ त धेरै सामग्री...

आमा, तिनीहरूले जेसुकै भनून्

आमा, तिनीहरूले जेसुकै भनून्

कस्ता–कस्ता मैं हुँ भन्नेलाई पनि सजिलोसँग जिउन गाह्रो छ। बाँच्ने क्रममा आईपर्ने थरीथरीका अप्ठ्यारा र चुनौतीको सामना गर्न शारीरिक–मानसिक रूपले सक्षम भइएन भने जिन्दगीले नमिठोसँग हाराबारा खेलाइदिन्छ। जे जस्तो भुक्तमान...

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

'महान् सहिद'मा रातो धर्का

कवि इच्छुकको बारेमा सम्झन लायक 'ठूल्ठुला' प्रसंगहरू नहुने नै भए। २०५८ सालताका म एउटा सानो 'कमरेड कवि' त्यसमा पनि अन्तर्मुखी। जिब्रोमो 'चिप्लो पदार्थ'को कमी भएको म ठूल्ठुला कमरेडहरूसँग त्यति सजिलै...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।