Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

हिंसाले पुर्‍याउँछ सडकमा

  • २२ मंसिर, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको उपचार गरिदिनुस्। त्यहाँसम्म पुर्‍याउने खर्च हामी व्यहोर्छौ।' देवकोटाले उत्तर दिए, 'बच्चा आमासँगै बस्ने अधिकार हुन्छ। आमासँगै बच्चा पठाउनुस्। हामी उपचार गर्छौ।'


कोसिसको आँगनमा पुग्दा तिनै सुत्केरीलाई घामको पारमा एक महिलाले तोरीको तेलले गोडा मालिस गर्दै थिइन्। अर्की एक युवतीले बच्चा लिएर आडैमा राख्दा ती दोलखाबाट ल्याइएकी गौरी तामाङ मुसुक्क हाँसिन्। तामाङले दोलखाको सडकमै बच्चा जन्माएकी हुन्। हेर्दा अन्दाजी ४० उमेर देखिने ती महिलाले आफूले जन्माएको बच्चालाई अहिले खासै वास्ता गर्न सक्दिनन्।

छोरा हातमा लिने प्रयास गर्छिन्। उनी थोरै बोलिन्, 'यहाँ खान, बस्न पाइँदो रहेछ। यतै बस्नुपर्ला।' तीन दिनको बच्चासँगै उनी १२ दिनअघि कोसिसमा ल्याइएकी हुन्।

तामाङजस्तै अन्य महिला त्यहाँ आइपुगेका छन्। ३८ वर्षे बालकुमारी चापागाईं अहिले सामान्य अवस्थामा छिन्। उनलाई पनि सडकबाटै उद्धार गरिएको हो। १६ महिनाअघिसम्म उनलाई तामाङलाई जस्तै देख्नेजतिले 'दिमाग खुस्केकी' महिलाको संज्ञा दिन्थे।

चापागाईं स्याङ्जालाई कर्मथलो बनाउन ताप्लेजुङबाट एक गुरुङ ठिटोको बहकाउमा आइन्। त्यो बेला उनी १६ वर्षकी थिइन्। उनलाई स्याङ्जा ल्याइपुर्‍याउने केटो ओभरसियर थिए। उनीबाटै चापागाईंले एक छोरा र छोरी जन्माइन्। गुरुङ पढ्ने निहुँमा भारत पसेपछि उनले घर–समाजबाट अनेक दुःख, पीडा खपिन्।

घाँस काट्न अर्कैको घरमा बसेका बेला चिनजानेको व्यक्तिबाटै उनी बलात्कारको सिकार बनिन्। बलात्कार गर्ने मान्छे कतार उडिसकेको थियो। गर्भवती बनेको थाहा पाएपछि गाउँलेबाटै अपहेलित बनिन्। अन्ततः उनी बाटोमै आइन्। छोरीलाई बाटोमा जन्म दिइन्।

स्याङ्जा र पोखराका सडक–गल्लीमा मागिखाने उनको दिनचर्या बन्यो। सुत्केरीको महिना दिन बाटोमै डुलेर गुजारिन्। सडकमा भौंतारिँदा–भौंतारिँदै उनी खैनी, सूर्तिको लतमा फसिसकेकी थिइन्।

अहिले उनी कोसिसमा आइपुगेकी छिन्। यो संस्थामा आएसँगै उनमा केही गरेर खाने साहस जुटेको छ। तर छोरीको भविष्यप्रति उनी चिन्तित छिन्।

उनको अवस्थामा सुधार आएपछि स्याङ्जा लगियो। तर आरोपी त्यहाँबाट उम्किसकेका थिए। न्याय पाउन सकिनन्।

मानसिक, शारीरिक हिंसाले उनीजस्तै विक्षिप्त महिलाहरू कोसिसको संरक्षणमा छन्। अर्धनग्न बनेर सडकमा आफ्नै सुरले हिँड्ने महिलाबारे सोच्न कसैलाई फुर्सद छैन। उनीहरू सन्चो बनेर फेरि पहिलेकै अवस्थामा आउन सक्छन् भन्ने विश्वास कसैले गर्दैनन्। धेरै त घरेलु हिंसाबाट पीडित महिला नै सडकसम्म आइपुगेका छन्।

गुल्मी तम्घासकी सीता केसीकी ९ महिनाकी छोरी छिन्। कसैले बिहेको नाटक रचेर काठमाडौं ल्यायो। उसको दिनरातको यातनाले उनलाई पनि सडकसम्म ल्याइपुर्‍यायो। पछि उनी काठमाडौंको सडकमै रात बिताउन थालिन्। बाटोमै बच्चा जन्माइन्। थुप्रै मान्छे उनलाई छोरी माग्न आउँथे। भन्छिन्, 'छोरी लैजान्छु भन्नेलाई ढुंगा टिपेर हिर्काउँथे।'

तीन महिनाकी छोरीसहित उनलाई छ महिनाअघि संस्थामा पुर्‍याइएको थियो।

सीतालाई अहिले पनि छोरीको भविष्यबारे सुर्ता छ। आफ्नै भाग्यलाई दोष दिन्छिन्। खप्परमा यस्तै लेखेको रहेछ भन्दै चित्त बुझाउँछिन्। अब भने उनमा केही गर्ने आँट पलाएको छ। भन्छिन्, 'केही काम पाए गर्ने थिएँ। छोरीलाई पढाउनुपर्‍यो। सधैंभरि बसेर के गर्ने?'

सीता, गौरी, बालकुमारीजस्तै धुलीखेल, बागलुङ, पोखरा, मुलपानी, दोलखाका सडकमा भौंतारिएका १३ जना महिला अहिले कोसिको एउटै छहारीमा आश्रय लिइरहेका छन्।

घरेलु हिंसाले महिलको मानसिकतामा असर पर्छ। कतिपय त आत्महत्याको बाटो पनि रोज्छन्, धेरै मानसिक विक्षिप्तताका कारण सडक–सहरमा भौंतारिन्छन्। नेपालमा यसबारे अध्ययन भएको देखिन्न। 'मानसिक आघातमा परेकालाई मुक्त पार्ने औषधि नै काउन्सिलिङ पनि एउटा औषधी हो,' कोसिसका अध्यक्ष देवकोटाले भने।

बागलुङमा जन्मिएर भारतको पन्डिचेरी हुर्केकी माया केसी बितेका कुरा धेरै सम्झन सक्दिनन्। उनीसँग रहेकी छोरीको बाबु खोज्ने उनको धोको छ। तर, बाबुको नामसमेत सम्झन सक्दनन्। उनी भन्दै थिइन्, 'अब मलाई पन्डिचेरी नै लगिदिनुस्!'

घरमा पीडा खप्न नसकेर सडकमा आउन बाध्य हुन्छन्, महिला। तर सडकमा उनीहरू झनै सुरक्षित हुँदैनन्। सडकमै बलात्कृत हुन्छन्, सडकमै बच्चा जन्माउँछन्। सडकमा भौंतारिने वेवारिस थप हिंसाबाट पीडित हुन्छन्। यो समस्या दिनहुँ बढ्दै गएको छ।

'यहाँ ल्याउँला शरीरभरि प्लास्टिक बेरिएका, मैलोको कलेटी परेका, अर्धनग्न अवस्थामा महिला हुन्छन्,' कोसिसमा कार्यरत नर्स शोभा गुरुङ भन्छिन्, 'बिस्तारै मानसिक र अन्य उपचारपछि मात्रै सामान्य अवस्थामा फर्कन्छन्।'

मानसिक स्वास्थ्य समस्या झेलेरै आएका मातृका देवकोटाले कोसिस घर खोलेका हुन्। कक्षा ९ पढ्दा नै उनी डिप्रेसनमा फसे। १५ वर्षकै उमेरमा। लगातार किताब पढिरहँदा उनमा समस्या देखा परेका थियो। 'रोग थाहा पाउनै झन्डै १० वर्ष लाग्यो। सन्चो भएर समाजमा स्थापित हुन पाँच वर्ष संघर्ष गरेँ,' उनी भन्छन्, 'आफूजस्तै डिप्रेसनको समस्यामा फसेकाहरूलाई सहयोग गर्न संस्था स्थापना गरेको हुँ।'

उनीहरूको मानसिक उपचार गर्न सकिए पनि परिवारमा पुनर्स्थापना गर्न संस्थालाई गाह्रो परेको छ। कोसिसले एक सय १३ जनालाई उपचारका लागि लिइसकेको छ। त्यसमध्ये ८५ जना हिंसाको कारण मानसिक समस्या बेहोर्नेहरू भएको अध्यक्ष देवकोटा बताउँछन्।

नेपालमा २०५३ सालमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति बनेको थियो। यसको कार्यान्वयन भने हुन सकेको छैन। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कुल जनसंख्याको १५ प्रतिशत व्यक्ति मानसिक स्वास्थ्यबाट ग्रसित हुन्छन्।
आमालाई भेट्न

आमालाई भेट्न

एक दिन अचानक भाइले रुँदै फोन गर्योे मलाई। काठमाडौंमा बिहानको करिब साढे आठ बजेको थियो होला। म बसेको ठाउँमा भने साँझको सात बजेको थियो।

बुवाविनाको जीवन

अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

मेरो पहिलो पुरस्कार

मैले जीवनमा पहिलो आकाशवाणी पाएँ। लेखिएको थियो, 'तु आउनु... एक जोर दौरासुरूवाल ल्याउनू...।'पोखराको आवा कार्यालयका कुनै एक कर्मचारीले दिएर गए, अहिले मलाई सम्झना छैन। सम्झना त मलाई हिजोआजका बैङ्क भौचरजस्तो...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

अन्तर्राष्ट्रिय अवसरको खाँचो

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।

राजनीतिमा रंग

राजनीतिमा रंग

अभिनेत्री रेखा थापा निकै अड्कलेर कुरा गर्छिन्। सोचेर जवाफ दिन्छिन्। सकेसम्म कुरा छोट्याउने प्रयत्न गर्छिन्।यो उनको पुरानो बानी भने होइन।राजनीतिमा लागेपछि उनको स्वभाव बदलिएको छ। फिल्मको कुनै मोडले भूमिकामा आएको...