24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

साहसी सहाना

  • २२ मंसिर, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
साहसी सहाना
सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।

उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर, सामाजिक कार्यकर्ता भनेको सुन्न चाहँदिनन्।


टेलिभिजनमा फिल्मी कार्यक्रमको प्याकेज लिएर झुल्किन्छिन्। 'रेड कार्पेट'को रिपोर्टिङ गर्छिन्। तर, उनलाई फिल्म पत्रकार बन्नु छैन।

'तपाईंको नाम पछाडि के लेख्ने त?'

धेरैथरी पहिचानले घेरिएकी तर खास पहिचानको खोजीमा तल्लीन यी युवतीले लैनचौरको एक क्याफेमा पुखलो हुँदै जवाफ दिइन्, 'अहिलेलाई मेरो अफिसियल जब–टाइटल, टेलिभिजन कार्यक्रम प्रस्तोता। त्यत्ति हो।'

मोडल र सामाजिक कार्यकर्ता भनाउन नचाहनुमा उनीसँग कारण छ– 'अलिअलि काम गर्दैमा समाजसेवीको पगरी गुथ्ने हो भने मदर टेरेसालाई के भन्ने? दुईचार वटा सो गरेको भरमा मोडल भनेको सुन्न चाहँदा यो पेसामै समर्पित सिजन भट्टाचार्यहरूमाथि अन्याय हुँदैन?'

...

मिस नेपाल प्रतियोगिता २०१०।

त्यतिबेला युएनएफपिएमा इन्टर्न गरिहेकी सहानालाई लाग्यो, सामाजिक काम गर्न पनि कुनै 'रिकग्निसन' चाहिने रहेछ। मिस नेपालमा आवेदन खुलेको थाहा पाएपछि उनले ठानिन्, यो प्रतियोगितामा ताज जिते 'एक्सपोजर' मिल्छ। तर, उनले सजिलै यसमा भाग लिन चाहेको कुरा घरमा भन्न सकिनन्।

बल्लतल्ल आमालाई इच्छा बताइन्। आमाले हुन्न नै त भनिनन् तर 'मिस नेपाल मात्र बनेर पुग्दैन' भन्दै सजग पनि गराइन्। बाबुले पढाइ नबिग्रियोस् भन्दै सतर्क गराए। ताज नजिते निरासा, जिते छोरीको भविष्य 'ट्र्याक' बाहिर पर्ने चिन्ता थियो उनको बाबुलाई। 'नेम' र 'फेम'को चक्करमा छोरी भौंतारिएको उनी हेर्न चाहँदैनथे।

मनोरञ्जन क्षेत्रलाई उनको अभिभावकले करिअर मानेनन्। चर्चित ताजको प्रतिस्पर्धामा सामेल हुन पनि उनले अनुमति पर्खनुपर्‍यो।

एक साताअघि क्रिकेटको प्रत्यक्ष प्रसारण गर्दा उनले खेलकुदलाई मनोरञ्जन दुनियाँसँग दाँजिन्। आफैंले पार गरेको अवस्थासँग उनले खेल करिअर तुलना गरिन्। बीस वर्षअघि सुरु भएको मिस नेपाल प्रतियोगिताको प्रगतिभन्दा क्रिकेटको फड्को उनलाई अब्बल लाग्यो। तर, अनौठो लागेन।

'म खेलाडी बन्छु' भन्ने छोरालाई कुनै बाबुआमाले हुन्न भन्लान् जस्तो उनलाई लाग्दैन। कम्तीमा कुलतमा लाग्दैन, शरीर तन्दुरुस्त राख्छ, चुरोट–रक्सी खाँदैन भनेर। 'म मोडल बन्छु भन्ने छोरीले त्यति सजिलै अनुमति पाउलिन् त?' यस्तै अप्ठेरोले फिल्म र मोडलिङ क्षेत्र पछि परेजस्तो उनलाई लाग्छ।

मनोरञ्जन क्षेत्रमा महिलाको माग बढेको देख्दा उनी रमाइलो मान्छिन्। सिमेन्टको विज्ञापनमा पनि महिला नदेखिई नहुने भएपछि उनले सपना देखेकी छन्, 'कम्तीमा मोडलिङ क्षेत्रमा त पुरुषले आरक्षण मागेर आन्दोलन गरून्।'

मुख्य ताजलाई लक्ष्य बनाएर सामेल भए पनि सहानाले 'फस्ट रनरअप' मा चित्त बुझाउनुपर्‍यो। अरूले उनी निराश भएर घर बाहिर निस्कन नसकेको अड्कल लगाइरहँदा उनी गुमनाम मिस नेपालहरूको अवस्थाबारे चिन्तन गरिरहेकी थिइन्।

'मिस नेपाल पनि त आफ्नो अवधिपछि हराएका थिए,' उनले भनिन्, 'मैले ठानेँ, सहायक उपाधि जितेर पनि यो क्षेत्रमा जीवित हुन सकिन्छ।'

सामाजिक मान्यताका लागि यो टाइटलले निकै काम गरेको महसुस हुँदै गयो उनलाई। सहायक उपाधि जितेर पनि सहानाले प्रगति गरेकी छन् भनेर देखाउनु थियो। तीन वर्षमा उनलाई केही गरेजस्तो लागेको पनि छ।

सहाना चुनौती दिन्छिन्, मबाहेक अरू कतिजना मिस नेपालका फस्ट रनरअपको नाम भन्न सक्नुहुन्छ?'

ठूलो उपाधि नजिते पनि जित्नेभन्दा स्थापित भइन्छ भन्नेको कुराको उदाहरण बन्ने दौडमा छिन् उनी।

'उपाधि बोनसजस्तो हो। समाजमा चिनिइरहन ह्वाट नेक्स्ट भन्ने कुरा दिमागमा राखिरहनुपर्छ। त्यसलाई सम्पन्न गर्न लागिरहनुपर्छ,' जीवन धन्य भयो भनेर बस्नाले धेरै मिस नेपाल गुमनाम भएको उनी अड्कल काट्छिन्। क्राउनले पहिचान दिन्छ, त्यसलाई टिकाइरहन आफैं सक्रिय रहनुपर्ने ज्ञान आफूलाई छ भन्छिन् सहाना।

पहिचान फैलाउने मोहमा दुई वर्षअघि उनलाई डकुमेन्ट्री बनाउने जोस चढ्यो। महिलालाई महिनावारीको समय गोठमा सुताइन्छ भन्ने उनले सुनेकी थिइन्। कुन ठाउँमा त्यस्तो प्रथा छ भन्ने बुझ्दा थाहा पाइन्, अछाम। आमाले 'महिनावारी भएका बेला पूजा कोठामा नछिर' भन्दा 'भगवानले भनेमात्र मान्छु' भन्दै प्रगतिशील तर्क गर्ने उनलाई अछामका महिला किन आफूले जस्तो गर्न सक्दैनन् भन्ने लागेको थियो। त्यही अछाम जिल्लामा परम्परागत विधिबाट गर्भपतन गराउँदा महिलाको ज्यान गएको मार्मिक दृश्य दिलभुषण पाठकको डकुमेन्ट्री 'न्युज रुम बाहिर' हेरेपछि उनी अझै बढी त्यहाँ जान उत्सुक भइन्। महिनावारी बेला आफू पनि गोठमै सुत्ने र त्यहाँका महिलाले भोगेको कठिनाइलाई नजिकबाट चिन्ने अठोट गरिन्।

'प्राकृतिक कुरालाई तिरस्कार गर्ने त्यो समाज र चुपचाप त्यसलाई स्वीकार गर्ने महिलाको अवस्थालाई खै कसरी व्यक्त गर्ने, मेरो अनुभव क्यामरामा कैद हुँदै थियो, तीन शब्द भन्दा बोल्न सकिन, रोएँ। सायद अछामका महिलाको पीडालाई आँशुबाटै अभिव्यक्त गर्दा न्याय हुन्थ्यो,' बोल्ड सहानालाई पनि त्यहाँको पीडाले पगालेरै छोड्यो।

डकुमेन्ट्री तयार भयो। उनी गाउँले जीवनसँग थप मोहित भइन्। त्यसअघि उनलाई दुर्गम ठाउँ भनेको सौराहा जाँदा बाटोमा पर्ने बस्ती होलान् जस्तो लाग्थ्यो। अछाले उनलाई वास्तविक नेपालसँग परिचय गरायो।

अहिले यात्रा उनको अम्मल बनेको छ। त्यो पनि दुर्गम पहाडी गाउँ। उनलाई ...फ्रेम बाइ फ्रेम'का केही एपिसोड स्टक राखेर गाउँ चहार्न हतार हुन्छ। अरूलाई कालो चिया खुवाए पनि आफू 'टिभीमा आउने नानी' भन्दै दूध चिया पिलाउने गाउँले उनलाई आत्मीय लाग्छ। उनी 'जनताको मान्छे' बन्न पल्किएकी छन्।

दुई वर्षमा ३८ जिल्लाको यात्रा गरेपछि उनले अनुभव गरिन्, 'यात्राले जति केहीले पनि सिकाउँदैन। गाउँमा मिल्ने खुसी अन्त पाइँदैन।' जिल्लाको संख्या बढाउने उनको धुन जारी छ। उनको योजनामा युनिसेफले साथ दिएको छ। सहाना महिनामा १५ दिनजति पहाडका कुनाकन्दरा पुग्छिन्। र, युनिसेफको कार्यशाला परामर्शदाताको भूमिका निर्वाह गर्छिन्।

'अछामका दुई गाविस त छाउपडीमुक्त भयो नि,' आफूहरूले सञ्चालन गरेको कार्यक्रमपछि आएको परिवर्तनले उनको उत्साह अझै बढेको छ।

उनी अहिले गाउँका धेरै समस्यासँग परिचित भएकी छन्। गाउँलेहरू पनि उनीसँग परिचित छन्। 'मलाई तपाईंको कार्यक्रममा तीन नम्बरमा आउने गीत मनपर्छ,' उनी अक्सर यस्तो प्रतिक्रिया पाउँछिन्।

'यस्तो बेला चाहिँ मलाई मनोरञ्जन दुनियाँसँग जोडिएर ठिक गरेँ जस्तो लाग्छ। कुनै काम गर्न गाउँ जाँदा यो को हो? कहाँबाट आई भन्ने दसथरी शंका हुँदैन। मानिस मेरो कुरा सुन्न तयार हुन्छन्, छिटो विश्वास गर्छन्,' उनी भन्छिन्।

कार्यक्रमकै प्रसंगसँग जोडिएको अर्को खुसी पनि छ उनीसँग। राजधानीका दर्शकको प्रतिक्रियाले उनलाई खासै प्रभावित बनाउँदैन। हालै बुधबार कार्यक्रमको सुटिङ सकेर शुक्रबार अछामको सदरमुकाम मंगलसेन पुगिन्। १३ घन्टा मोटर यात्रा गरेकी सहाना थकाईले चुर थिइन्। तैपनि उनी निदाउन सकेकी थिइनन्। टिनको छाना, पातलो प्लाइउडको बार, पल्लो कोठाको सबै कुरा आफ्नो कानमा ठोक्किँदा उनको निद्रामा बाधा पुर्‍याएको थियो।

'निद्राको याचना गरिरहेकी म त्यसपछि झन् निदाउन सकिन जब मानिस झुम्मिएर मेरो कार्यक्रम हेरिरहेका थिए। आफूलाई हेर्ने दर्शक त आफ्ना भइहाले, म पनि उनीहरूको आफ्नै मान्छे भएर गाउँमा काम गरेँ,' उनले अनुभव सुनाइन्।

...

तीन दिदीबहिनीमा कान्छी हुन् सहाना। चुजी, सानो कुरामा रिसाउने र पुलपुलिएकी उनलाई यात्राले बदलेको छ। घर मिस गरेर काठमाडौं हुइँकिन खोज्दा उनी राजमार्ग बन्दको मारमा परेकी छन्। यो पीडाले रन्थनिएर उनी कसैलाई बह पोख्न लालायित हुन्छिन्। फोन गर्न खोज्दा टावर हुँदैन। यात्राको अप्ठेरोले उनलाई धैर्य गर्न सिकाएको छ। उनी चुपचाप बाटो खुल्ने प्रतीक्षा गर्छिन्।

अब उनलाई यस्ता कुरा नौलो लाग्न छाडेको छ। 'यी सबले हामीलाई केही न केही सिकाइरहेको हुन्छ। कठिनाईहरू अचेल यात्राको सौन्दर्यजस्तो लाग्छ,' उनी भन्छिन्।

बच्चैदेखिको उनको एउटा स्वभावलाई भने यात्राले थप बढाएको छ। त्यो हो एडभेन्चरसँग खेल्ने। 'म भाँडाकुँडी खेलेर हुर्किएकी हैन, चंगा चेट गर्ने आदत थियो। केटाहरूको गुच्चा जित्नु मेरो अभिप्राय हुन्थ्यो। म डरपोकको झुन्डसँग र्‍याफ्िटङ गर्ने हैन एक्लै कायक हाँक्न अघि सर्छु,' उनी आफूलाई साहसी दाबी गर्छिन्।

फोटाग्राफी उनको सोख हो। मान्छेको मुड क्याप्चर गर्न उनलाई मनपर्छ। त्यस्ता फोटोले धेरै गिगाबाइट हार्डडिक्स भरेकी सहाना फोटो प्रिन्ट गर्ने, फेसबुकमा अपलोड गर्ने र एक लाइकको आस गर्ने झन्झट उठाउन चाहन्नन्।

काम सकेपछि बार हैन ड्राइभमा जानु उनको अर्को सोख हो। गएको भ्यालेन्टाइन्स डेको राति साथीहरूलाई उनले यस्तै रमिता देखाइन्। वीर अस्पतालअगाडि कार पार्किङ गरेर उनीहरू केही योजना बुन्दै थिए। सहानाले सवा ११ को बस चढाइन्। चाबहिल पुगेर ओर्लिएपछि साथीहरू ट्याक्सीवालासँग वीर अस्पताल पुगेको पैसा बार्गेनिङ गर्न थाले। सहाना फिल्मी शैलीमा अघि सरिन् र चालकलाई भनिन्, 'म तपाईंले मागेभन्दा दोब्बर पैसा दिन्छु तर एउटा सर्तमा।'

'के होला?' चलाकले अनौठो माने।

'ट्याक्सी मलाई चलाउन दिनुपर्छ।'

चालक आनाकानी गर्न थाले, सहानाले मापसे नगरेको र लाइसेन्स बोकेको विश्वास दिलाएर स्टेरिङ हात पारिन्।

'बेलाबेला यसरी घुम्नुमा छुट्टै मज्जा छ,' उनले आफ्नो फिरन्ते शैलीको निष्कर्ष सोचिसकेकी छन्।

'कस्तो होला?'

उनी आफ्नो जीवनको सस्पेन्स खुल्न एक वर्ष लाग्ने बताउँदै भन्छिन्, 'त्यतिबेला यहीँ बसेर रहस्य खोलुँला।'
नेपालका म्याराडोना

नेपालका म्याराडोना

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह' उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना' को उपाधि पाइरहेका थिए।

किताबी ठेलीमा उभिनुभएको शिव दाइ

मोतीराम भट्टद्वारा लिखित र आजभन्दा १२२ वर्षअघि प्रकाशित कवि भानुभक्तको जीवनचरित्र अंग्रेजीमा अनुवाद गर्दै थिए। अकृनको फोन आयो, 'दाइ, शिव दाइ बित्नुभयो।' 'मोतीरामलाई पाखा राखे, पिकदूत पढ्ने इच्छा थियो त्यसदिन।...

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

थ्रिलरका गीतहरूले संसारमा राज गरिरहेका बेला काठमाडौंमा भीम तुलाधर उदाए। लामो कपाल, कालो गगमाथि कालै ड्रेस लगाएर स्टेजमा उक्लिँदा कसैले माइकल ज्याक्सनलाई सम्भि्कए त कसैले एलोसपेर्सीलाई। 'मायालुलाई...' जब उनी गिटार...

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

सञ्चार सीप र सिद्धान्त

नेपालमा सञ्चार, आमसञ्चार र पत्रकारिता विषयमा केन्द्रित भई पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ। यही क्रममा साढे तीन दशकदेखि पत्रकारिता तथा आमसञ्चार विषय प्राध्यापन गर्दै आउनुभएका सञ्चारविद् लालदेउसा राईको पछिल्लो...

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

भुटानमा मर्दै नेपाली भाषा

भुटानमा मर्दै नेपाली भाषा

नयाँ दिल्ली (भारत)– बिजनेस भुटान साप्ताहिककी संवाददाता अलका कटुवाल नेपाली भाषा बुझ्न त बुझ्छिन, तर उनको लवज नेपाली नै हो भनेर खुट्याउन एकछिन समय लाग्छ। शब्दपिच्छे भुटानी राष्ट्रिय भाषा जोङ्खाको...