Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

बीपीका भुइँमान्छे

  • २९ मंसिर, २०७०
  • शारदा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
बीपी कोइरालाको मृत्युको खबर आगोझैं सल्केको थियो सहरमा। चारै दिशाबाट मान्छेको समुद्र उनको निवास जयवागीश्वरीतिर सलहसरी अघि बढिरहेथ्यो।


म चकित थिएँ– त्यतिखेरका सर्वशक्तिमान् राजाले सजाय गरेको यस मान्छेप्रति नेपालीहरूको यत्रो सम्मान रहेछ। उनको शवयात्रासँग पनि डराएको थियो क्यारे सरकारी पक्ष रुटलाई नियन्त्रित गरेको थियो।

जयवागीश्वरीतिर गइरहेको त्यही हूलमा म पनि थिएँ।

आफूलाई कुनै किसिमले अत्यधिक प्रभाव पारेका मान्छे आफ्नो जीवनकालको कुनै खण्डमा वरिपरि नै भए पनि कहिलेकाहीँ तिनलाई जीवनमै साक्षात्कार गर्ने मौका नपर्ने रहेछ। कतिपयको भने मृत्यु भएको धेरै कालपछि झन बढी महत्ताबोध हुने गर्छ। बीपीसँग मेरो साक्षात्कारको संजोग यस्तैगरी पर्‍यो। त्यतिखेरै जयवागीश्वरीस्थित तारिणीप्रसाद कोइरालाको घरको भुइँतलामा चीर निद्रामा निदाइरहेको अवस्थामा देखेकी हुँ मैले बीपीलाई पहिलोपल्ट।

...

पहिलोपल्ट बीपीको नाम परिवारमै सुनेकी हुँ मैले, पोखरा बस्थ्यौं हामी। उहा"को नाम बुवा र बुवाको मामा रामचन्द्र सुवेदीले सम्मानले लिने गरेको सम्झना छ। रामचन्द्र मामा त त्यतिखेरका राजा महेन्द्रप्रति बढी नै आलोचक हुनुहुन्थ्यो कि? एकपल्ट राजा महेन्द्रको सुन कुनै एयरपोर्टमा समातिँदाको समाचार र गजेटमा प्रकाशन भएको राजपरिवारको भत्ता प्रसंग उहा"ले हामी केटाकेटीलाई बताउनुभएको थियो। उहा"को आलोचना सुनेर लागेको थियो–

राजा आफ्नै मात्रै स्वार्थ हेर्छन् क्यारे! त्यसैले सायद ठिक होइनन्।

हामी २०२४ सालमा काठमाडौं आयौं। बीपी बिरामी छन् र उनलाई औÈधि गर्न जानका लागि राजाले जेलमुक्त गरेका छन् भनेर एकदिन बुवाले समाचार सुनाउनुभयो। यो २०२५ सालतिरको कुरा हुनुपर्छ। थाहा पाएर चकित भएकी थिएँ– बीपीलाई राजाले निरन्तर आठ वर्È जेल हालेछन्। कसरी एउटा मान्छेले आठ–आठ वर्ष सम्म जेलमा जिन्दगी बिताउन सक्छ? मलाई बीपबारे त्यतिखेर त्यत्ति थाहा थियो।

पोखराको मल्टीपर्पस स्कुलमा छ कक्षा पढ्दै गरेकी म काठमाडौं आएपछि कान्ति ईश्वरी राज्य लक्ष्मी हाई स्कुलमा भर्ना भए" सात कक्षामा। त्यहाँ एकजना सर हुनुहुन्थ्यो अंग्रेजी पढाउने– हरि सर भन्थे सबैले– हरि रिसाल थियो नाम। स्वाँठ..भन्दै केटीहरूको नाक–कान निमोठिदिनुहुन्थ्यो। उहाँसँग डराउँथे सबै। उहाँले मलाई भने अतिरिक्त स्नेह गर्नुहुन्थ्यो, एसएलसीको बेलामा पनि विशेष रूपमा पढाउनुभएको थियो आफैंले।

पछि बुवाले भन्नुभएको थियो– हरि रिसाल नेपाली कांग्रेसका नेता वासु रिसालका भाइ हुन्। बुवा सुरुमा नेपाली कांग्रेसकै भएको नाताले हरि सरले मप्रति थप निकटता अनुभव गर्नुभएको हुँदो हो त्यतिखेर। कहिलेकाहीँ हरि सरले हामीलाई पञ्चायत पढाउनुहुन्थ्यो। पञ्चायतको बखानका कुरा पढाउ"दा हरि सर बारम्बार मलाई हेर्नुहुन्थ्यो– उहाँका ओठमा उत्कट व्यंग्य हुन्थ्यो। नौ–दस वर्षकी थिएँ, तर त्यतिखेरै लागेको हो– सायद पञ्चायत किताबमा बयान गरेजस्तो गतिलो व्यवस्था होइन। यो बोध हरि सरले दिनुभएको थियो मलाई। कालो भादगाउ"ले टोपी र दौरा सुरुवाल लगाउने, हास्ता केही दाँत फुक्लेका देखिने हरि रिसाल सर त्यसै स्कुलमा पढाइरहेकै अवस्थामा पछि दिवंगत हुनुभएको सुन्दा एउटा निकटको आफन्त गुमाएको अनुभव गरेकी थिए"।

बिहेपछि चाहिँ मैले बीपीको चर्चा धेरै सुनेँ। नरहरिजी र उहा"का कतिपय मित्र बीपीलाई धेरै नै मान्थे। किन मान्थे, थाहा थिएन मलाई। पञ्चायतको विरोध गर्थे उनीहरू, प्रजातन्त्र र पार्टी पद्धतिको पक्षमा थिए। प्रतिबन्धित पार्टीका कार्यालयमा गइरहन्थे। पञ्चायतकालमा प्रजातान्त्रिक प्रक्रियाबाट गठित प्राध्यापक संघमा संलग्न थिए।

बीपी भन्नु त्यतिखेर प्रतिबन्धित कांग्रेस पार्टी र प्रजातन्त्र भन्नुजत्तिकै थियो। बीपी जयन्तीको बेलामा भाषण गरेबापत विश्वविद्यालयले नरहरिजीलाई स्पष्टीकरण पनि सोधेको थियो। उनीहरूकै संगतले बीपीको राजनीतिबारे थाहा पाएकी हुँ। त्यसपछि बीपीका साहित्य पढेँ मैले।

बीपीको निर्जीव शरीरको दर्शन गरेर घर आएपछि मैले बीपीका बारेमा कविता लेखेँ। २०३९ सालको 'पूजा'मा प्रकाशित त्यो कविता संजोगले मेरो पहिलो प्रकाशित रचना पनि बन्न पुग्यो।

...

बीपीलाई जीवनकालमा भेट्ने कतिपयले बयान गरेझैं बीपीको चामत्कारिक व्यक्तित्वसँग मेरो परिचय भएन। उनका यौनसम्बन्धी उदार दृष्टिकोणको चाखले बयान गर्नेहरू पनि भेटिन्छन्। यद्यपि त्यो उनको निजी कुरा हो। मलाई लाग्छ, बीपीसँग मेरो साँच्चैको परिचय उनको साहित्यले नै गराएको हो। त्यसबाट प्रभावित भएरै मैले ...बीपीका उपन्यासका नारीपात्रहरूको दृष्टिकोण र आकांक्षा भन्ने विषयमा एमएको शोधपत्र लेखेँ। त्यतिखेर मेरा लागि चुनौतीपूर्ण बनेको गृहस्थी समाल्दै दस वर्ष लगाएर सकेको त्यही शोध, मेरो विचार र नेपाली लेखन परिष्कृत गर्ने एउटा आधार पनि बनेको थियो।

बीपीका कथाहरू छोटा छन्, मानव मनका खासगरी नारीका यौनसम्बन्धी दमित गुत्थीहरू गजबसँग फुकाइएको छ त्यहाँ। कथाहरूमा कलाको पक्ष प्रबल छ। दोषी चश्मा, पवित्रा, शत्रुजस्ता कथा पढ्दा पाठकले आफूलाई त्यहीँ अन्तर्भुक्त पाउछ।

उपन्यासमा चाहिँ विचार पक्षबलियो छ। तीन घुम्ती प्रष्ट रूपमा विचारप्रधान उपन्यास हो। एउटा मिल्दो परिवेशलाई पृष्ठभूमिमा राखेर यहा" इन्द्रमाया नामकी स्वास्नीमान्छेले नारी जातिको यौन र प्रजनन अधिकारको बलियो वकालत गर्छे। मोदीआइनमा श्रीकृष्णको भगवत् चेतना र अर्जुनको मानवीय चेतनाका बीच द्वन्द्व छ। नरेन्द्र दाइमा जीवनमा नियतिको उपस्थितिलाई प्रष्ट्याइएको छ। सुम्निमा समावेशी जीवनपद्धतिको समन्वयवादी राजनीतिक प्रस्ताव हो बीपीको। हिटलर र यहूदी दोस्रो विश्वयुद्धकालमा पीडित र पीडकका बीचको बहस हो। आमा बाबु र छोरामा एउटा अनौठो सामाजिक पारिवारिक परिवेशले वञ्चनामा परेकी नारीले दह्रोगरी आफ्ना विचारहरू राखेको अवस्था छ।

बीपीले साहित्यमा नारा त लेखेनन् तर उनले राजनीतिमा राखेका विचार र यी उपन्यासका पात्रका माध्यमले राखेको विचारमा सामीप्य देखिन्छ। समता, समावेशिता, मानवीयता र स्वतन्त्रता बीपीका साहित्यको सार हो।

साहित्यमा बीपीका पात्र स्वतन्त्रताका पक्षधर हुन्। प्रेम तिनको जीवनको सबैभन्दा ठूलो खोजी हो र तिनले समन्वयवादी जीवन दृष्टिकोण राखेका छन्। व्यक्तिगत मानवीय आकांक्षा र सामाजिक मर्यादाबीचको द्वन्द्वमा परेको मनको विज्ञान, मानव यौन–आकांक्षाको प्रकटीकरण, स्वतन्त्रताको खोजी, मानवतावाद, मानवीय हक अधिकारको चेतना भएका बलिया नारी पात्र आदि बीपीको साहित्यका विशिष्ट पक्ष हुन्।

त्यतिखेरको परिवेशमा यौन–नैतिकता र नारीको परम्परागत भूमिकाका सन्दर्भ उठाएर कतिपयले बीपीलाई छाडा साहित्य लेखेर समाजलाई भाँड्ने भनेर धेरै नै आलोचना पनि गरे। यद्यपि आधुनिक नेपाली साहित्यमा बीपी साहित्यको प्रवेश आफैंमा एउटा विशेÈ उपलब्धि भएको आज सबैले स्वीकार गरिसकेको अवस्था छ।

बीपीका कृतिहरू पढ्दा मलाई अचम्म लागेको हो– बीपी जेल नपरेका भए नेपाली साहित्यमा सम्भवतः यी कृति हुने थिएनन्। अझ अचम्म केमा लागेको हो भने जेलभित्रको अव्यवस्थित र तनावपूर्ण बसाइमा सर्सरी सम्झेकै आधारमा यति ठोस र बान्की पुर्‍याएर बीपीले लामा र सुन्दर आख्यानहरू कसरी लेखे?

...

लेख्नलाई स्वतन्त्रता चाहिन्छ। आफूलाई लागेका कुरा अभिव्यक्त गर्न स्वतन्त्रता चाहिन्छ। प्रजातन्त्रमा नै सबै किसिमका स्वतन्त्रता निम्ति स्थान हुन्छ। बीपी यही स्वतन्त्रताका निम्ति लडेका थिए, वर्षौ जेल बसेका थिए। उनको समाजवादले हरेक नेपालीका घरका न्यूनतम मानवीय आवश्यकता पूरा गर्ने आकांक्षा राखेको थियो। उनी मुलुकका निम्ति सपना देख्ने राजनीतिज्ञ थिए, अलि परसम्मको भविष्य पनि देख्थे।

आफू सत्तामा भएका बेला मुलुकमा थिति बसाउन खोज्दै थिए बीपी। फटाफट काम गर्दै थिए। राजा रजौटा उन्मूलन, वनको राष्ट्रियकरण, जमिनदारी प्रथाको समाप्ति, विर्ता उन्मूलन गर्दै भूमिसुधार जस्ता क्रान्तिकारी योजनाको जग उनैले हालेका थिए। मैले बुझेको राजनीतिक बीपी दूरदृष्टा, निडर कर्मशील मान्छे थिए।

जहा"निया राणाशासन फ्याँकेर मुलुकमा प्रजातन्त्र ल्याउन नेतृत्व दिने बीपी सात सालपछि मोहन शमशेरका गृहमन्त्री बनेको प्रसंग भने मलाई अपमानजनक र दुःखपूर्ण लागेको हो। अचेल घरीघरी सोच्छु– सम्भवतः त्यस विन्दुदेखि तल परेको नेपाली जनताको हात तलको तलै छ। विभिन्न अवतारमा मोहन शमशेर प्रवृत्ति सत्ताको शिरमा आज पनि हावी हुन छोडेको छैन।

...

विघटित संविधानसभाकी सदस्य दाङकी शान्ता चौधरीले लेखेको आत्मकथा हालै पढेँ। पुस्तैनी कमैया रहेको परिवारकै सन्तान उनी २०४५ सालमा आठ वर्षाको उमेरदेखि लगातार १८ वर्ष जमिन्दारहरूको घरमा कमलरी बसिछन्। जिन्दगीभर गरीबी र शोÈणको दुष्चक्रबाट उम्कन कहालीलाग्दो संघर्ष गरेकी भूमिहीन शान्ताले अन्ततः संविधानसभाको चुनावअगाडि कुनै एउटा पार्टी चयन गर्नुपर्ने अवस्था आउ"दा कांग्रेस पार्टीलाई चयन गर्न नसकेको कारण बताएकी छन्– उनले जिन्दगीभर कमलरी रहेर बिताएका घरका जमिन्दारहरू कांग्रेस समर्थक थिए रे। आफू र आफूजस्तालाई शोषण गर्ने र यातना दिने सामन्तहरूको हालीमुहाली रहेको पार्टीजस्तो लागेछ शान्तालाई कांग्रेस।

बीपीले २०१६ सालमा उन्मूलन गरेको जमिनदारी प्रथा, कमैया कमलरी प्रथाका रूपमा २०५७ सालसम्म जीवितै रहेछ। यद्यपि कमैया प्रथाको उन्मूलन २०५७ सालमा कांग्रेसले नै गरेको थियो। "भूमि क्रान्ति' तथा 'जसको जोत उसको पोत' जस्ता नारा कांग्रेसकै थिए। तर भूमिहीनमाथि अत्याचार गर्नेहरू प्रजातन्त्र आइसकेपछि पनि कांग्रेसै रहेछन् भन्ने पढ्दा मलाई अचम्म लागेको हो। क्रान्तिकारी नीति र कार्यक्रमहरू बनाउन सधैं अघि रहने कांग्रेससँग नीतिको मर्म समातेर समय छँदै काम गर्ने र जस लिने सीपको सधैं अभाव देखियो। त्यसैले शान्ता र उनीजस्ता पुस्तौं भूमिहीन रहेका बँधुवा मजदूरहरूको जीवनमा कुनै अर्थपूर्ण व्यावहारिक भूमिका निर्वाह गर्न सकेन कांग्रेसले। शान्ताको पुस्तक पढ्दै गर्दा मेरो मनमा एउटा गम्भीर प्रश्न उठेको हो– जमिनदारी प्रथा कायम राख्नेहरूलाई नै कांग्रेसले सदस्यता दिन मिल्ने हो कि होइन?

शर्माको नयाँ पुस्तक 'समयको तस्वीर' बाट
मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते...

अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...

मौन चालले दर्शक नचाउँदै

मौन चालले दर्शक नचाउँदै

काठमाडौं हाँडीगाउँकी अनिता प्रजापतीलाई आठ वर्षको उमेरमा टाइफाइड भयो। त्यसपछि उनका दुवै कान बन्द भए। आवाज सुन्न नसकेपछि उनले बोल्न जानिनन्/सकिनन्। तर उनको नृत्य हेर्ने हो भने उनी सुन्न/बोल्न नसक्ने...

तपाईंको देशमा

तपाईंको देशमा

कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

अहिले ठिक अढाई बज्यो

गाउँबाट अचानक हराएको यौटा सानु केटा सोचिरहेछु यो मध्याह्न ऊ के गरिरहको होला?'अहिले ठिक अढाई बज्यो।

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...