Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

नागरिक शनिबार

कर्नाली किनारको फूलबारी

  • २९ मंसिर, २०७०
  • अमृत भादगाउँले
  • DISQUS_COMMENTS
(0 votes)
कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्, रैका ट्राभल्सका अमरबहादुर शाहीले। तिनै अमर दाइको अगुवाइमा केही दिनपहिले हाम्रो पत्रकार टोलीले कर्नालीमा र्‍याफ्टिङ गर्‍यो।


चिसापानीका माछा चाखेपछि पुलमुन्तिरबाट हामी चढेका दुइटा डुंगा अघि बढे। लाइफ ज्याकेटविनै र्‍याफ्टिङ! पानीको छालमा नुहाउन पाइएन। तैपनि यात्रा रोमाञ्चक बन्यो। भलादमी नदीमा कुनै छाल छैनन्। सुस्तरी डुंगा चिप्लियो।

सुन्तला खाँदै अघि बढ्यौं। डुंगामा गाइड पवन थापा र दीपक चौधरी थिए। विशेषतः विदेशी यसरी डुंगा चढेर बर्दिया निकुञ्जको हात्तीसार पुग्छन्। हाम्रो यात्रा भने टीकापुरसम्म। चिसापानीदेखि टीकापुर पार्कसम्म नदीको लम्बाइ १६ किलोमिटर। करिब चार घन्टा लाग्छ डुंगामा।

नदीमा हाँस उडिरहेका। किनारमा बालुवै बालुवा। त्यहाँ रोकिएर साथीहरूले तस्बिर खिचे। अलिक तल किनारमा सुन खोज्दै थियो, सोनाह जाति। बालुवा पखालेर सुन जम्मा गर्दा रहेछन्। दिनभरको मेहनतबाट जम्मा पारेको एक लाल सुन ठेकेदारलाई पाँच सय रुपैयाँमा बेच्न बाध्य छन् उनीहरू। बालुवा चाल्ने पुर्ख्यौली पेसा।

अढाइ घन्टा यात्रापछि हामी जगतपुर पुग्यौं। त्यहाँबाट जीपमा टीकापुरको बनानाज रिसोर्ट पुग्दा झमक्क साँझ परिसकेको थियो। साँझ क्याम्प फायरसँगै केराका परिकारमा झुम्यौं। त्यो रमाइलोमा स्थानीय वन गाउँको मगर सांस्कृतिक समूहले रौनक थपिदियो। उनीहरूसँगै नाच्यौं हामी पनि।

बिहान टीकापुर पार्कमा पुग्यौं। रंगीचंगी फूल। थरिथरिका रुखविरुवा। शान्त कर्नाली किनार। किनारमा उभिएर उदाउँदो सूर्यको स्वागत गर्‍यौं। केही बेरमै पर्यटनकर्मी थर्कबहादुर शाहले कायकजस्तो डुंगा ल्याए। एक जनामात्रै बस्न मिल्ने डुंगा चलाउन मुटु दह्रो चाहिन्छ। शाह नदीमा हेलिए। साथी दीर्घराज उपाध्यायले उनलाई पछ्याए।

म पनि के कम! लाइफ ज्याकेट लगाएँ। शाहले दुई महिनाअघि थाइल्यान्डबाट ल्याएको 'सिट अन टप कायाक'मा नौलो अनुभव सँगाले। दिनभर चलाएको भाडा हजार रुपैयाँ। हामीले पैसा तिर्नुपरेन। पर्यटक विविधतामा रमाउँछन्। कर्नालीमा जलयात्राका यस्तै अरू गतिविधि पनि थपिनुपर्छ।

किनारमा चिया पसल थिएनन्। मन लाग्दालाग्दै पनि खान पाएनौं। डुंगाको अनुभव गरेर पार्कभित्र डुल्यौं। ८४ हेक्टरमा फैलिएको पार्कमा रत्न र ऐश्वर्य बगैंचा छ। पानीको फोहोरा छ। २० रुपैयाँको टिकट काटेपछि पार्कमा प्रवेश पाइन्छ। मंसिरदेखि जेठसम्म यहाँ पिकनिक खानेको घुइँचो लाग्छ।

बगैंचामा महेन्द्र आरोग्य गृह र वीरेन्द्र विश्राम बाटिका छन्। पार्कको कथा राजा महेन्द्रसँग जोडिएको छ। इतिहासअनुसार २०२७ सालमा शुक्लाफाँटामा शिकार खेल्दाखेल्दै राजालाई मुटुको व्यथाले च्याप्यो। चिकित्सकले कर्नाली किनारमा आराम गर्न सुझाए। राजा डेकोटा विमानबाट टीकापुर ओर्लिए। र, यहाँ २९ दिन बसे। उनले यतैबाट २९ दिन राजकाज चलाए।

महेन्द्र बसेको भवन नै महेन्द्र आरोग्य गृह हो। टीकापुर विकास समितिका पूर्वअध्यक्ष मिनबहादुर रावलका अनुसार राजा आउने भनेपछि ७–८ दिनमै काठको घर बनाइयो। बाबियोले छाइयो। सुरक्षाकर्मीलगायत सरकारी पदाधिकारी टेन्टमा बसे। राजा–रानी भने त्यही घरमा।

टीकापुर व्यवस्थित बस्ति भएको सहर मानिन्छ। त्यसो हुनुमा रानी रत्नको गाउँ घुमफिर कारक बनेको रावल बताउँछन्। यहाँ आएको १५ दिनपछि रानी गाउँ डुल्न गइन्। साथमा कीर्तिनिधि विष्ट र खड्गबहादुर सिंह थिए। गाउँ फोहोर देखेर रानीले नाक खुम्च्याइन्। सफा गर्न विष्टलाई आदेश दिइन्। विष्टले सिंहलाई।

दुई–चार दिनमै गाउँ सफा बन्यो। त्यतिबेला गाउँ पुनर्वास आयुक्त गौरीनाथ शर्मा थिए। उनले एउटा मोडल सिंहलाई सुनाए। सिंहले राजालाई। राजाले टीकापुरलाई व्यवस्थित गाउँ बनाउन सहमति दिए। तारामानसिंह स्वाँर, दीर्घराज कोइराला, रत्नबहादुर विष्ट, त्रैलोक्यनाथ उप्रेती आदिको सक्रियतामा शिक्षा, स्वास्थ्य, वन, ढल, यातायात सबै हिसाबले व्यवस्थित गाउँ बनाउने योजना बनेको रावल बताउँछन्।

खड्गबहादुरको अध्यतामा २०२८ सालमा टीकापुर विकास समिति गठन भयो। सरकारले टीकापुर क्षेत्रका ३,१३३ बिघा जग्गा समितिलाई दियो। त्यहीँ वन फाँडेर पार्क बनाइयो। र, बस्ती बसालियो। जसरी पार्कमा थरीथरीका फूल फूल्छन्, त्यसैगरी बस्तीमा थारू, क्षेत्री, ठकुरी, बाहुन, मगर, दमाई, कामी आदि मिलेर बसेका छन्।

टीकापुरमा थारू संस्कृति अवलोकन गर्न पाइन्छ। थारुका ५ घरमा होमस्टे सुविधा छ। बजारमा आधुनिक होटल छन्। सिद्धार्थ, ग्रिन एसिया, खप्तड प्याराडाइज रिसोर्ट, माउन्ट एभरेस्ट, राज, भावना, एरोमा, सेन्थल पार्कलगायत होटलमा एकैरात २ सयजना बस्न सक्छन्। १५ वर्षअघि खुलेको सिद्धार्थ यहाँको पहिलो पर्यटकीय होटल हो।

टीकापुरबाट भारतीय सीमा पिकुनिया बजार १६ किमि दुरीमा छ। त्यसलाई जोड्न खक्रौलाको मोहना नदीमा पुल बन्दै छ। ७० प्रतिशत काम भइसक्यो। पुल बनेपछि भारतीय पर्यटक बढ्ने आशामा छन् व्यवसायी। चिसापानीदेखि पार्कसम्म किनारै किनार रानीजमरा सिँचाई आयोजनाले सडक बनाउँदै छ। दुई वर्षभित्र सडक पूरा हुने स्थानीय पत्रकार परमानन्द पाण्डेले बताए।

सिंहको सोचझैं टीकापुरको विकासले गति लिन सकेन। समिति २०६५ मा विघटन भएपछि पार्क टीकापुर नगरपालिकाको स्वामित्वमा आयो। नगरपालिकाले पार्क व्यवस्थित गर्न सकेन। राजाका नाममा बनेका घरलाई संग्रहालय वा रिसोर्ट बनाउन सके फाइदा हुन्थ्यो। बरु निजी क्षेत्रलाई भाडामा दिने हो कि!

रावलको विचारमा ०४६ को परिवर्तनपछि समितिमा राजनीतिकरण भयो। अनि टीकापुरको प्रगतिको गति धिमा बन्यो। 'सरकारले बृहत् टीकापुर परियोजना सञ्चालन गर्नुपर्छ,' रावलले भने।

जे होस्, टीकापुर घुम्न लायक छ। पार्क, थारू गाउँ, कर्नाली किनार र बनाना रिसोर्टका तस्बिर आँखामा टाँसिन्छन्। त्यहाँबाट हिँड्ने बेला हामीले बनाना किङ हमालसँग बाचा बाँध्यौं, 'हामी फेरि आउनेछौं टीकापुर।'

कसरी पुग्ने?

काठमाडौं–टीकापुर ६९० किमि। काठमाडौंबाट टीकापुरसम्म बस चल्छन्। पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा पर्छ टीकापुर पार्क।
लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...

संविधानमा महिलाको स्थान

संविधानमा महिलाको स्थान

राजनीतिप्रतिको लगाव र निरन्तर सक्रियताको मूल्यांकन गर्दै नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा महालक्ष्मी उपाध्याय ‘डिना' लाई समानुपातिकबाट सभासद बनायो। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी...

दसैंमा ध्यान

दसैंमा ध्यान

दसैंको उल्लासले तासको खाल जमाउने, अकाशमा चंगा चेट् पार्ने कुरा पुरानै हुन्। हल्का चिसो मौसममा टे्रकिङ र समुद्र तटतिर बरालिन निस्किनेे समूह बिस्तारै बढ्दै छ। तर यीभन्दा भिन्न वसन्तपुरको दसैंघरमा...

कर्नाली किनारको फूलबारी

कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्,...

'अझै कति गम्भीर भइदिनु मैले?'

'अझै कति गम्भीर भइदिनु मैले?'

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

कवि कहिल्यै बूढो हुँदैन

कवि कहिल्यै बूढो हुँदैन

हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए। मैले बालाई...

लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...