Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

नागरिक शनिबार

भूतमान्डु

  • २९ मंसिर, २०७०
  • बुद्धिसागर
  • DISQUS_COMMENTS
(1 Vote)
कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको गन्ध नाकभित्र स्वात्त पस्यो। कसो मैले ह्वात्त वाकिनँ।


तन्ना रातो रङको थियो। त्यसमा खैरा धब्बा थिए। ओढेको सिरक ठाउँ–ठाउँमा हिस्स हाँसेको थियो। त्यसका कपास जताततै छरिएका थिए। मानौं, कपासबारीमा रातभरि हुरी चलेको थियो।

मेरै छेउमा उत्तानो पल्टेको कमलेश्वरको मुख सारा बतास खाऊँलाझैं गरेर खुल्ला थियो। नाकबाट एउटा घुँगरिएको रौं बाहिर निस्किएको थियो। त्यही रौंमा अल्झेको कपासको टुक्रा कमलेश्वरको मुखबाट निस्किरहेको सासले मन्द गतिमा हल्लिरहेको थियो।

मरेको भोलिपल्ट दुई दिन हुन्छ भनेझैं म मरेको पनि दुई दिन भइसकेको थियो।

यस्तै रै'छ जिन्दगी। मैले लामो हाई काढें। मेरो हाई तन्किँदै–तन्किँदै कमलेश्वरको कानमा बजारियो। कमलेश्वर झस्किँदै उठ्यो। लामो बेहोसीबाट ब्युँझेझैं एकपल्ट चारैतिर हेर्‍यो।

'दाइ कसरी आइपुग्यौ हामी ह्याँ?,' कमलेश्वरले आत्तिँदै सोध्यो।

'म पनि तिम्लाई सोधूँला भनेर सोचिरहेको थिएँ,' मैले दाँत देखाएँ, 'हिजो डान्स बारमा बियर खा'को याद छ, अरू छैन।'

'खै दाइ, मरेपछि पनि बिर्सने बानी गएन मेरो,' कमलेश्वरले ‰यालमा पेटिकोटझैं झुन्डेको पर्दाबाट यसो बाहिर चिहायो।

'बिर्सिएको होइन,' म हाँसे, 'हिजो अल्लि बढी नै पिइएछ। होस् हरा'को हो।'

'गल्ती हुनसक्छ, होस् हराएको बेला। यस्तै गीत छ नि होइन दाइ?' कमलेश्वर जोडले हाँस्यो, 'माँ कसम दाइ, जिन्दगीमा... होइन, मरेदेखि मज्जा आएको थिएन, हिजोजस्तो। थ्यांक्यु दाइ, हिजोको पार्टीका लागि।'

म हाँसिरहेँ।

'अब हाँसेर बस्ने होइन दाइ, भूतमान्डु हिडिँहालम्,' कमलेश्वरले सर्टका बटन लगाउँदै भन्यो, 'नत्र माइक्रोमा भीड भएर पस्नै सकिन्न।'

'भूतमान्डु त को नै जान्छ होला र!' मैले आफ्नो जुल्फी कपाल हत्केलाले पछाडितिर स्याप्प पारेँ।

'लौ के भनेको दाइ? रातभरि भूतमान्डुका हज्जारौं भूत काठमान्डु आएका हुन्छन्,' कमलेश्वरले ठूलै रहस्य खोलेजसरी भन्यो, 'अहिले सप्पैको फर्कने बेला भ'होला नि!'

'ओहो, त्यत्ति धेरै भूत छन् र?' म छक्कै परँ, 'मैले जिउँदो हुँदा कतै भेटिनँ त भूतलाई।'

'अब के भन्नु दाइ। भूतहरूलाई काठमान्डुको हावा–पानी लाइसकेको छ। आफूले गर्नुपर्ने काम गर्दैनन्। ठूल्ठुला गफ छाँट्दै हिँड्छन्,' कमलेश्वरले आफ्नो चप्पल समाएर ‰यालनेर ट्वाक–ट्वाक हानेर धुलो झार्दै भन्यो, 'अहिले भूतले साधना गर्दैनन् दाइ। अलिअलि प्राक्टिस गरेजस्तो गर्छन्। अनि घुस ख्वाएर लाइसेन्स बनाउँछन्। काठमान्डु हिँड्छन्।'

'लाइसेन्स? मैले कुरा बुझिनँ।' आइमाईले पेटभित्र तानेर पेटिकोटको नडाभित्र साडीको मुठो स्वात्त पसाएझैं म सर्टको फेर पाइन्टभित्र पसाल्दै छक्क परेँ।

'अब दाइलाई कसरी सम्झाउनू!' कमलेश्वर एकछिन मौन भयो र हाँगाबाट सुन्तला टिपेझैं सावधानीपूर्वक शब्दहरू टिप्यो, 'भूतका पनि लाइसेन्स हुन्छन् दाइ। त्यो के, बाइकबालाको जस्तो। भूत बन्न लामै ट्रेनिङ लिनुपर्छ। अनि जाँच हुन्छ। पास हुनेले लाइसेन्स पाउँछन् र ठाउँठाउँमा खटाइन्छन्। लाइसेन्स नभा'को भूतले त मान्छेलाई त्यत्तिकै तर्साउन पनि पाउँदैन दाइ।'

'मैले त मर्नेबित्तिकै भूत भइन्छ भन्ठानेको,' केही सामान छुट्यो कि भनेर मुसाझैं कोठाको कुनाकुनामा आँखा दौडाएँ।

'मर्नेबित्तिकै भूत त व्याकरणमा भइन्छ दाइ, भूतमान्डुमा भइन्नँ,' कमलेश्वर हेंहें गर्दै हाँस्यो, 'दाइ कवि भा'को भे'र व्याकरणको उदाहरण दे'को दाइ। ...अहिले त भूत हुन ब्रिटिस लाहुरे हुनभन्दा गारो टे्रनिङ गर्नुपर्छ दाइ।'

'कस्तो ट्रेनिङ?' म त मरेदेखि छक्क परेको पर्‍यै छु।

'आफंै हेर्नुहोला नि दाइ,' यत्ति भनेर कमलेश्वर फटाफट सिँढी ओर्लियो। मैले पछ्याएँ। काउन्टरमा दर्जनौं मान्छेको बोसो चोरेर आफ्नै पेटमा जडेजस्ती साउनीले मैले दिएको चाबी समाई र खिस्स हाँस्दै भनी, 'आउँदै गर्नुहोला।'

'अब त भूत भएपछि मात्रै आउँछु।'

र, ढोकाबाहिर निस्कने बेला बूढी कुखुरीको क्वार्रक्वार्रजस्तो टर्रो आवाज सुनेँ, 'अझै छाडेको रै'नछ ...ट्वाकेलाई। यस्तो ठट्टा गर्नेलाई मारिदिन्छु म।'

'म मरिसकेँ,' मैले जोडले भनें।

बत्तिएको ढुंगा ठोक्किएझैं साउनीको आवाज मेरो घुच्चुकमा ठोक्कियो, 'मरे के भो? म जिम्दाएर फेरि मार्छु। के ठानेको मलाई?'

...

'भूमानु भूभानु ...' भन्दै खलाँसी कराइरहेको थियो। खलाँसी दुब्लो कायाको थियो। जिन्स पाइन्ट तल लत्रेर पुठ्ठाको चेप देखिइरहेको थियो। एकछिन सुनेपछि बुझेँ, 'भूतमान्डु–भूतमान्डु' भनिरहेको रै'छ। जिउँदा खलाँसीले 'रन्पार्क–रन्पार्क' भनेजस्तो।

कसैले हातमा सुटकेस झुन्ड्याएका थिए। कोही त थ्री पिस सुटमा थिए। कोहीले मुखमा मास्क लगाएका थिए। कोही कानमा इयरफोन जडेर गीत सुनिरहेका थिए। भूतहरू यस्ता थिए भने किचकन्नीहरू फलामको रेलिङमा अडेस लागेर एक–अर्काको कुममा प्याट्ट–प्याट्ट हान्दै खित्खिताइरहेका थिए। भर्खरै रत्नपार्क झरेको पारिलो घामको प्रकाश उनीहरूको सेतो लुगामा ठोक्किरहेको थियो, आँखै तिर्मिराउने गरी।

माइक्रो लस्करै उभ्भेका थिए। तर, अचम्म के थियो भने जिउँदा मान्छे चढ्ने माइक्रो पनि त्यहीँ नै लस्कर लागेका थिए। तर, ती छायाँजस्ता देखिरहेका थिए। र, तिनै छायाँमाथि भूतमान्डु जाने माइक्रो थिए। ठ्याक्कै, मध्याह्नमा आफ्नै छाँयामाथि मान्छे उभ्भे'झैं।

भूतमान्डुमा एउटै माइक्रो सद्दे थिएनन्। कसैको सिसा थिएन, कसैको ढोका। कोही कता कुच्चिएका, कोही कता। पेन्ट चैं सबैमा गरिएको थियो। र, गाडीमा नम्मर चैं थिएन। सबैको नम्मर प्लेटमा पहेँला अक्षरमा लेखिएको थियो– भूतमान्डु। मर्दा ओडाइने पहेंलो वस्त्रबाट यो पहेंलो रङ लिइएको होला।

यत्ति कुरा अचम्म लाग्यो। अरू त सबैथोक जिउँदै हुँदा देखेजस्तो थियो।

'खै, भूत पनि जिउँदा मान्छेजस्तै देखिइरहेका छन्,' मैले कमलेश्वरलाई सोधेँ।

कमलेश्वरले अल्लि पर उभे'को भूतलाई ङिच्च गर्दै हात हल्लायो। भन्यो, 'यसो हेर्दा उस्तै देखिन्छन् तर फरक छन् दाइ। रातभरि थकानले पनि चुपचाप छन् दाइ। यिनीहरू अहिले सामान्य रूपमा फर्केका छन्। यिनीहरूले आफ्नो भूतको बर्दी लगाए भने त सातै जान्छ।'

'बर्दी?' अर्को अचम्म!

'हो, दाइ। यिनले लाइसेन्स लिने बेला कस्तो रूप धारण गर्ने भन्ने आदेश दिइएको हुन्छ। र, यिनीहरू ड्युटीमा हुँदामात्रै त्यस्तो रूप धारण गर्न पाउँछन्। अझ भनूम्न दाइ, जसरी पुलिसले आफ्नो ओहदाअनुसार जसरी डे्रस पाउँछन्, भूतले पनि पाउँछन्। पुलिसमा हवल्दार, असई, इनेस्पेक्टर, डिएसपी, डिआइजी भएझैं भूतहरूमा पनि मुर्कुट्टा, डोके, राँके, भकुन्डेजस्ता अनेक ओहदा हुन्छन् दाइ।'

'आखिर पुलिसको होस् कि भूत,' म खिस्स हाँसे, 'दुवैको काम तर्साउने नै परो।'

'ठ्याक्कै भन्नुभो दाइ,' कमलेश्वर भुइँतिर झुकेर मारुनी नाचेजसरी हाँस्यो, 'उता पुलिस पदको दुरूपयोग गर्छन्, यता भूत। ठ्याक्कै दाइ।'

म हाँसे।

'ल दाइ माइक्रो चढम्। ढिला हुन्छ,' यत्ति भनेर कमलेश्वर माइक्रोको ढोकाबाट ठेलमठेल गर्दै भित्र पस्यो। मैले जिउँदो हुँदा सिकेको माइक्रो चढ्ने कला यहाँ काम लाग्यो। ढोकामा झुन्डेका दुई भूतलाई कम्मरनेरबाट पाखुराले यताउता ठेलेर स्वात्त पसेँ।

माइक्रोभित्र थकित भूतहरू अटेसमटेस दोब्रिएर, कुच्चिएर बसिरहेका थिए। कमलेश्वर मोटो भूतसित चप्किएर बसिरहेको रै'छ। भित्तामा चप्टेको माउसुलीझैं। उसले मोटो भूतलाई अलिकति ठेल्यो। मोटो भूतले राता आँखाले पिर्लिक्क हेर्‍यो, बोलेन। कमलेश्वरले खिस्स हाँस्दै मतिर हेर्‍यो, 'आउनुस् दाइ। यतै मिलेर बसौं।'

कमलेश्वरले सिटको एक बित्ताजति लामो खाली ठाउँ देखाउँदै भन्यो। म भूतका खस्रा र किचकन्नीका उल्टा खुट्टा कुल्चिदै पसेँ। एकबित्ता सिटमा आफ्नो मृत पुठ्ठाको डिल बिसाएँ। बस्नेबित्तिकै ठ्याक्कै आँखा गुरुजीको घुच्चुकमाथिको भित्तामा लेखेको सायरीमा गयोः

जवानीको जताततै लुट भए पनि

नछुट्दो रैछ माया साइँली भूत भए पनि

सायरी पढेर खिस्स हाँसेको थिएँ, कमलेश्वरले थाहा पाइहाल्यो। उसले सानो स्वरमा भने पनि हुने। मुर्दारले ठूलो स्वरमा भन्यो, 'कविको ध्यान कवितातिर गइहाल्ने है दाइ।'

'लौ, कवि पो रै'छ यहाँ,' भूतहरूले तर्सेर मुखामुख गरे। सायद जिउँदो हुँदा सायरी पढ्ने बानी लागेको होला, मेरो दायाँ कुमतिर बसेकी किचकन्नी मलाई हेर्दै खिस्स हाँसी र दोपट्टाको फेर टोक्न थाली।

'दाइले गुरुकुलमा सुनाउनुभएको थियो नि कविता,' कमलेश्वरको त्यतिकै छाड्ने मन रै'नछ, 'प्रेमको हो, बिसर्ं, तर दामी थियो।'

जिउँदो हुँदा सार्वजनिक ठाउँमा कसैले कवि भनेर बोलाउँदा लाजले मरूँलाजस्तो हुन्थ्यो। यसपालि त मर्न पनि सकिएन। त्यसै कान राता पारेर बसिरहेँ। आफ्नोबीचमा भर्खरै मरेको कविलाई पाएर भूतहरू आतंकित भएका थिए।

मैले कुरा मोड्न कमलेश्वरलाई सोधेँ, 'अनि तिमी चैं कुन दर्जाको भूत हौ?'

'म? के भन्नु दाइ,' कमलेश्वर लजायो र मेरो कानमा खुसुक्क भन्यो, 'म वैकल्पिक भूत हुँ दाइ।'

'वैकल्पिक?' म छक्क परेँ।

'मैले ट्रेनिङ पूरा गर्न सकिनँ दाइ। मेयर सा'पले मन पराउनुहुन्थ्यो, त्यसैले वैकल्पिक भूत बनाइदिनुभयो। कतै भूतको आवश्यकता पर्‍यो र भूतको अभाव भो भने म त्यहाँ खटाइन्छु दाइ। म न त राँकेभूत हुन सकेँ, न त मुर्कुट्टा। ...भूत बन्नैपर्‍यो भने म बाख्रो बन्छु। मलाई बाख्रोमात्रै बन्ने अधिकार प्राप्त छ।

'बाख्रो?'

'हो नि दाइ। टे्रनिङमा अब्बल ठहरियो भने पहिला उसलाई मुर्कुट्टा या त राँकेभूत बनाइन्छ, अनि बोनसमा एउटा जनावर बन्न सक्ने अधिकार दिइन्छ। कसैले बाघ छान्छन्, कसैले सर्प। म त अब्बल हुन सकिनँ। त्यै भएर जनावरमात्र बन्न सक्ने निगाह भो। जनावर पनि दुइटा मात्र थिए दाइ। एउटा बाख्री र अर्को कुकुर्नी। कुकुर्नी बन्यो भने त कुकुरले लखेटेरै हैरान पर्लान् भन्ने भो। काठमान्डुमा कुकुर कति छन् दाइलाई थाहै छ। त्यसैले बाख्री बन्ने निर्णय गरेँ,' कमलेश्वर खित्त हाँस्यो।

माइक्रोको स्पिड बढेको थियो। मैले ‰यालबाहिर चिहाएँ। माइक्रो भक्तपुरतिर कुदेजस्तो लाग्थ्यो। कमलेश्वरको कुरामा अल्भि्कँदा कहाँ पुग्यो, पत्तो पाइनँ। भूतमान्डु जाने माइक्रो लस्करै कुदिरहेका थिए। बाटो गाडीले ओहोरदोहोर गर्न सक्ने थियो। बाटोमा शून्यता थियो। कहीँकहीँ झुप्प परेका ‰याङ पनि देखिन्थे। र, ‰याङहरूमा सयौं कौवाका बथान चुच्चामा चुच्चा जुधाउँदै लडिरहेका देखिन्थे। कौवाको चर्को आवाज माइक्रोसम्म आउँथ्यो। कहीँ मालसिरीका झुन्ड एक लहरो माला बनेर उड्थे। बिस्तारै सोझो बाटो ठडिँदै गएजस्तो भइरहेको थियो। उकालो लागेछ। घोडाझैं हिनहिनाउँदै माइक्रो उकालो उक्लिरह्यो। मैले गुरुजीको घुच्चुकतिरबाट हेरेँ, अगाडि विशाल पर्वत थियो। पर्वतको चुच्चोले बादलको फेटा बाँधेको थियो।

उकालो आएर होला, भूतहरू पनि तर्सेछन्। माइक्रोभित्र सन्नाटा छायो। गुरुजीले क्यासेट प्लेयरमा प्याट्ट हान्यो। मौनता छिचोल्दै फत्तेमानले गाइहाले– मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ।

कमलेश्वरसित टाँसिएको मोटो भूतले गीत सुन्दै आँखा चिम्म गर्‍यो। ‰यालमा टाउको अड्यायो। मैले देखिहालेँ, भूतका आँखाबाट मसिनो आँसुको धार गालातिर दगुर्‍यो। पाखुराले पुछ्यो र घँुक्क गर्‍यो। मैले अर्को ‰यालतिर टाउको बटारेँ।

माइक्रो एउटा सानो थुम्कोमा उक्ल्यो। मेराअगाडि थियो, विशाल पर्वतको छाती। त्यहाँ लामो झरना बगिरहेको थियो। लालीगुराँसले पाखाहरू छपक्कै छोपेका थिए। झरनाको कञ्चन पानीभित्रबाट चराहरू फुत्तफुत्त निस्केर आकाशमा डानस गरिरहेका थिए। रूखहरू हरिया पातको ह्याट लाएर चुपचाप उभिरहेका थिए।

'दाइ, भूतमान्डु, त्यही डाँडाको टुप्पोमा त छ नि,' कमलेश्वरले चोर औंलाले देखायो।

म मुस्कुराएँ।

'यहाँदेखि त स्वर्गे लागेजस्तो हुन्छ दाइ,' कमलेश्वरले भन्यो, 'पत्रिकामा आउँछन् नि सम्चार। चरा हराए। रूख हराए। बाघ हराए भनेर। ती हराका होइनन्, दाइ भूतमान्डु आ'का हुन्।'

'ए ए,' म छक्क परेँ।

'मैले त्यसै भूतमान्डु जाम् भनेको हो र दाइ!' कमलेश्वर मख्ख पर्‍यो, 'तपैंजस्तो कविकै लागि बनेजस्तो लाग्छ भूतमान्डु। अब गजबै गजब। अल्लिअगाडि अप्ठ्यारो भूतेभीर आउँछ, त्यहीँ हो।

'भूतेभीर?'

'हो, दाइ भूतेभीर। एउटा बाँदर बनेको भूत त्यही भीरबाट लडेर मरेछ। अनि सप्पैले त्यसलाई भूतेभीर भन्छन्,' कमलेश्वरले भावुक भइरहेको मोटे भूतलाई अलिकति ठेल्दै भन्यो, 'मेयर सा'पले त्यहाँ पनि सजिलो बाटो बनाउँछु भन्स्या छ।'

'को मेयर?'

'अब थाहा पाइहाल्नुहुन्छ नि दाइ,' कमलेश्वरले मेरा कानमा खुसुक्क भन्यो, 'आज तपैंको भेट उहाँसित हुन्छ।'

भूतेभीर आएछ। भूतहरूले तर्सिंदै सिटका चेप च्याप्प समाए। अघिदेखि मलाई हेरिरहेकी किचकन्नीको अनुहार अँध्यारो भयो। भयावह नै रै'छ भूतेभीर। यसो ‰यालबाट हेर्दा मुन्तिर पातालै देखिन्थ्यो। माइक्रो रोकियो। खलाँसी दगुर्दै अगाडि गयो र हातले इसारा गर्न थाल्यो। ड्राइभरले गीत बन्द गर्‍यो। आँखा अल्लि ठूला पार्‍यो। किनभने, अगाडिबाट भुइँकुहिरो हुत्तिँदै माइक्रोतिर आइरहेको थियो। छ–सातपल्ट माइक्रो कहिले अगाडि हुत्ताउँदै, कहिले पछाडि सार्दै ड्राइभरले भूतेभीर पार लायो।

बल्ल भूतहरूको अनुहारमा उज्यालो फैलियो।

माइक्रो फेरि आफ्नै गतिमा कुद्न थालेपछि मैले लामो सास फेरेँ, 'कस्तो भीर रै'छ, खस्यो भने त हाडखोर क्यै नभेटिने।'

कमलेश्वरले आफ्नो मुख फेरि मेरा कानमा जोड्यो र भन्यो, 'हुन त दाइलाई नभने पनि हुने हो। तर पछि थाहा पाइहाल्नुहुन्छ। तपैंलाई थाहा छ दाइ? भूतमान्डुमा जसले बद्मासी गर्छ, मेयरविरुद्ध बोल्छ, उसलाई सुटुक्क यही भीरबाट खसालिन्छ।'

म चकित परेँ। अरू सोध्न पाइनँ। माइक्रो घ्याच्च रोकियो। अगाडि ठूलो गेट थियो, जहाँ ठूल्ठुला अक्षरमा लेखिएको थियो, भूतमान्डु।

भूतहरू झर्न थाले। त्यही बेला पछिल्लो सिटमा बसेकी किचकन्नी जोडले कराई, तेरो ठाँडो हात उता लैजा, भकुन्डे।

सप्पैले फर्केर हेरे।

'के भो बैनी?' एउटा भूतले सोध्यो।

'यो भकुन्डेले त मेरो तिघ्रामा हात राख्दो रै'छ ए।'

भकुन्डे भूत किचकन्नीको छेउमा अमिलो अनुहार लाएर बसिरहेको थियो। सप्पैले आफूलाई हेरिरहेको थाहा पाएपछि, ङिच्च हाँस्दै भन्यो, 'ज्या, म त निदाएछु। हात कहाँ पुग्यो, थाहै भएन।'

किचकन्नी फन्किँदै बाहिर निस्की।

यसो हेर्दा तिघ्रामा हात राखौं–राखौं जस्ती नै रै'छ। ऊ मादक लयमा पुठ्ठा हल्लाउँदै गई। म त हेरेको हेर्‍यै भएँ। कमलेश्वर एकछिन मलाई हेरेर हाँस्यो र भन्यो, 'दाइ कुनै चानस छैन। ...एउटा ट्याक्सी ड्राइभर फसाएपछि, यस्को भुइँमा खुट्टै छैन।'

...

कमलेश्वरले मलाई डोर्‍याउँदै ठूलो गेटभित्र लग्यो। गेटनेर झाँक्रीजस्तो भेष भएका, हातमा हड्डीले बनेको हतियार समाएर चार भूत ठिंग उभिएका थिए। तिनले मलाई घुरेर हेरे। म चुपचाप अघि बढेँ। सोझै पाँचसय मिटर पर बर र पिपलका रूखको चौतारो थियो। त्यहाँ केही वृद्ध भूत मसिनो आवाजमा कुरा गरिरहेका थिए। चौतारोसँगै गाँसिएको सानो चौरको छेउछाउमा अनेकथरी रंगीन फूल मुस्कुराइरहेका थिए। र, चौरमा ससाना मसान होहल्ला गर्दै क्रिकेट खेलिरहेका थिए। टाढाबाट यत्ति देखेको थिएँ। हामी चौतारोनजिक पुग्यौं। चार भूत लहरै पिपलको हाँगामा उल्टो झुुन्डिएका थिए, चमेराझैं। पातझैं बिस्तारै हल्लिरहेका थिए। ज्यानमा कछाडबाहेक केही थिएन।

कमलेश्वर पिपलको रूखमुन्तिर उभियो। मुस्कुराउँदै आँखाको ढकनीमाथि हत्केलाले घाम छेल्दै माथितिर हेर्‍यो। उल्टा झुन्डिएका भूतले आँखा बन्द गरेका थे। उनीहरूको सुकेको पेट मेरुदन्डमा टाँसिएजस्तो भएको थियो।

'कति दिन भो कीरा?' कमलेश्वरले उल्टो झुन्डिएको दुब्लो कायाको फुच्चेलाई सोध्यो।

'११ दिन भो दाइ,' कीराले आफ्ना बिस्तारै काँपिरहेका आँखाका ढकनी खोल्यो, यसपालि त पार लाउँछु जस्तो छ दाइ।

'कतिको कष्ट भइरहेको छ?'

'के भन्नु दाइ,' कीराले उल्टा आँखा मतिर घुमायो, 'हिजै पिडौंला बटारिएर झन्डैं खस्याथें। ...त्यति हो।'

'ल ल ११ दिन कटाइसकेछौ,' कमलेश्वर मुस्कुरायो, 'अब १९ दिन त हो नि बाँकी। यसपालि पार लाउँछौ, चिन्ता नगर।'

अल्लि वर आएपछि, कमलेश्वर मलाई हेर्दै हाँस्यो र भन्यो, 'भूत हुन सजिलो छ र दाइ? एक महिना त रूखमा उल्टो झुन्डिनुपर्छ। कति त बेहोसै भएर खस्छन्। ...म तीन दिन टिक्न सकिनँ। कीराले चैं पार लाउला जस्तो छ। बिचराको ट्रेनिङ सक्केपछि 'कीराभूत' बन्ने रहर छ। जिउँदो हुँदा खुबै पढनदास थियो रे। भन्थ्यो, दाइ म त किताब खाने कीरा बन्छु। त्यसैले सप्पैले उसलाई कीरा भन्छन्।'

'एक महिना रूखमा उल्टो झुन्डिने?' म छक्क पर्दै थिएँ, त्यै बेला ठ्याक्कै आँखाअगाडि हुर्हुरर्िंदै आएको सेतो घोडा देखेँ। त्यसमाथि सेतो फेटा बाँधेको अधवंैशे भूत उफ्रिरहेको थियो। घोडाको पछिपछि मसानहरू होहल्ला गर्दै दगुरिरहेका थिए। मैले पहिला त भूतले घोडा हाँकेजस्तो मानिरहेको थिएँ। नजिकै आउँदा पो था' भो, घोडाले पो उसलाई हाँकिरहेको रै'छ। हामी सडकको छेउतिर दगुर्‍यौं। दगुर्दै गर्दा मैले फेटावाल अधवैंशेको आर्तनाद सुनेँ, 'फेरि दाँत भाँच्ने भो यसले।'

धड्याम्म आवाज आयो।

यस्सो हेरेको अधवैंशे त उत्तानो पछारिएका थिए। घोडा हिनहिनाइरहेको थियो। घोडाको पछाडिका खुट्टा हावामा तैरिए। अनि त्यसका टाप उनका अनुहारमा।

कच्याक।

घोडा बत्तिएर भाग्यो। हामी अधवैंशेतिर कुद्यौं। उनको अनुहारबाट रगतको धार बगिरहेको थियो।

'रामेश्वर काका, ठीक हुनुहुन्छ?' कमलेश्वरले दगुर्दै उनका काँध समायो।

उनी बोलेनन्। रगतले भरिएको अनुहारमा हात घुमाउँदै केही खोजे। भेट्टाएछन्। उनको हातमा एउटा दाँत थियो। उनले दाँतलाई हेरे। मुखभरिको रगत प्याच्च थुके र कराए, 'एस्कीमा... पाँचवटा दाँत भाँच्यो।'

'दाँत त एउटामात्रै छ त!' मैले प्वाक्क भनिहालेँ।

'यो त आजको भो,' रामेश्वर च्याँठि्ठए, 'अस्तिका चारवटा दाँत के तिम्रो बाउले गन्छ?'

म चुप लागेँ। मसान झुम्मिसकेका थिए। 'दाँत मलाई, दाँत मलाई' भन्दै चिच्याउन थाले। रामेश्वरले दाँतलाई एकछिन प्रेमले हेरे। अनि हुर्‍याइदिए। दाँत समाउन मसानहरू मुक्कामुक्की र चिथोराचिथोर गर्न थाले। मसानहरूको हल्लाभन्दा परै पुगेपछि कमलेश्वर मलाई हेर्दै खिस्स हाँस्यो, 'देख्नु भो दाइ, फेटावाल भूत बन्न कत्ति गाह्रो छ!'

जवाफ दिने कुनै शब्द भेटिनँ।

कमलेश्वरले मूल सडकबाट अगाडि सर्पझैं बटारिएको सानो बाटोतिर डोर्‍यायो। अगाडि ससाना एकतले पाँच–छ घर थिए। घरनजिकै पुग्दा मैले बेस्मारी चिच्याइरहेका युवतीका आवाज सुनें। के होला, सोच्नै भ्याएको थिएन। मूलगेटमा साइबोर्ड देखिहालेँ, किचकन्नी उपशाखा।

कमलेश्वरले चिच्याहट आइरहेको ‰यालको पर्दाबाट भित्र चिहायो। र, मलाई भित्र हेर्ने इसारा गर्‍यो। भित्र मादकताले भरिएका युवती पंक्तिबद्ध थिएँ। अगाडि बेन्चजस्तो ठाउँमा एउटी युवती घोप्टो परेकी थिई। एउटा भीमकाय पहलवानले त्यसका गोडा उल्टो बनाउन बटारिरहेको थियो। जब घोप्टो परेकी युवती पीडाले चिच्याउँथी, पंक्तिबद्ध अरु युवती पनि चिच्याउँथे।

मैले दशा हेर्न सकिनँ, मुन्टो बटारँ।

'दाइ खासमा केटीहरू दुईपल्ट यसरी चिच्याउँदा रै'छन्,' कमलेश्वरले आफ्नो ज्ञान बाँड्यो, 'एउटा आमा हुँदा, अर्को किचकन्नी हुँदा।'

मैले भूतमान्डु आएर गल्ती त गरिनँ? यस्तो सोचौं भन्ने त थिएन, सोचिहालिएछ।

'ल दाइ ...अब म तपैंलाई भूतमान्डुको सप्पैभन्दा खतरनाक ठाउँमा लैजान्छु,' यत्ति भनेर कमलेश्वरले मलाई पखेटा फैलाइरहेको चमेराजस्तो घरमा पुर्‍यायो। साइबोर्डमा लेखिएको थियो, मुर्कुट्टा उपशाखा। कमलेश्वरले साइनबोर्डमुनिको बन्द ढोकामा केही फुस्फुसायो। एकैछिनमा ढोका खुल्यो। ढोकामा एउटा पहलमान उभिएको थियो। उसका मोटा पाखुरामा प्याट्ट हान्दै कमलेश्वर भित्र पस्यो। म पछि लागँ।

चारैतिर अग्निका कुन्ड बनाइएका थिए। कुन्डमा हालेका अनेक जटीबुटीको बासना चारैतिर फैलिएको थियो। कुन्डमा तरबारजस्ता हतियार आगोमा फिलुंगाझैं तातेका थिए। र, हतियार तताउनेहरू निर्वस्त्र थिए।

केही सोध्नै आँटेको थिए, कमलेश्वरले चुप रहने इसारा गर्‍यो।

निर्वस्त्र रहेको एउटाले तातेको हतियार समायो। केही मन्त्र फलाक्यो। आँखा चिम्म गर्‍यो र हतियार गर्दननेर पुर्‍यायो। मलाई हगूँ कि मुतूँ भयो। भाग्न सकिनँ।

एकपल्ट 'मरेँ नि आमा...' भनेर जोडले चिच्यायो। अनि, हतियारले आफ्नै गर्दनमा प्रहार गर्‍यो। झालबाट खसेको कद्दुझैं उसको टाउको गोडाअगाडि खस्यो।

सबैले ताली बजाए।

उसले हतियार फाल्यो र आफ्नो टाउको समायो। टाउकोमा लागेको धुलो पुछपाछ पार्‍यो र अघि बढ्यो। आफ्नै टाउको गाग्रीझैं कम्मरमा च्यापेको मैले पहिलोपल्ट देखेको थिएँ। भाउन्न भयो।

कमलेश्वर अघि बढ्यो र उसको काँध थप्थपाउँदै भन्यो, 'बधाई छ। भूतमान्डुले अर्को मुर्कुट्टा पायो।' कम्मरमा बुई चढेको उसको टाउको र ओठ हल्लिए।

'ल जाउँ्क दाइ मेयर सा'पले कुरिरहनुभएको होला,' कमलेश्वरले मेरो हात तान्यो।

...

मेयरको घर के भन्नू, महल नै रै'छ। महलछेउको मूलबाटोमा मेयरको भीमकाय सालिक थियो। दौरासुरुवाल, ढाकाटोपी, हातमा छडी। मोटा जुँगा। मेयर सा'प हेर्दै खाइलाग्दा थिए। बाटोमा हिँडिरहेका भूतले सालिकमुन्तिर पुगेपछि सम्मानले शिर निहुराउँदा रै'छन्।

महलको मूलगेटमा दुइटा मुर्कुट्टा भूतले पहरा दिइरहेका थिए। दुवैले आफ्नो टाउको कम्मरमा च्यापेका थिए। कमलेश्वरले टाउकोतिर निहुरिँदै केही भन्यो र भीमकाय गेट ठूलो आवाज निकालेर उघि्रयो। गेटबाट पस्नेबित्तिकै ठूलो पोखरी आयो। त्यसमा पानीका फोहरा छुटिरहेका थिए। छेउमा लहरै ल्याम्पोस्ट उभेका थिए। जताततै हरियाली थियो। रंगीचंगी फूलहरू थिए। दायाँपट्टि ठूलो चौर थियो। केही भूतले फुटबल खेलिरहेका थिए। एउटा भूतले बल गोलपोस्टतिर लगेको देखेर उभिएँ। गोल गर्छ कि क्या हो!

उसले बल गोलपोस्टतिर प्रहार गर्‍यो। गोलपोस्टभित्र पस्ने बेला बल जोडले चिच्चायो, 'मरें नि आमा।'

लौ अचम्म! बल पनि कराउने रै'छ बा।

'दाइले बल ठान्नुभएको होला, होइन नि दाइ। ती त मेयर सा'पका कान्छा छोरा हुन्,' कमलेश्वरले आँखा नचायो, 'उनलाई भकुन्डे भूत हुने ठूलो इच्छा छ। ...प्राक्टिस गर्दै छन्।'

हामी रातो कार्पेट टेक्दै महलभित्र पस्यौं। महल उज्यालो थियो। जताततै अनेक डिजाइनका बत्ती बलिरहेका थिए। हतारिँदै एउटा कुप्रो परेको लिखुरे भूत आयो र कमलेश्वरसित हात मिलायो। कमलेश्वरले मेरो परिचय दियो। लिखुरे भूतले हामीलाई डोर्‍याउँदै बैठक कोठामा पुर्‍यायो। र, केही बस्दै गर्ने इसारा गरेर मुसोझैं महलको अर्को कुनातिर दगुर्‍यो। बैठककोठा ठूलो र फराकिलो थियो। मधुरो संगीत बजिरहेको थियो। चार कुनामा बाघका मूर्ति थिए। सिलिङमा ठूलो सूर्यमुखी फूलजस्तो बत्ती झिल्मिलाइरहेको थियो। पूर्वपट्टिको भित्तामा मेयरसा'पका पुर्ख्यौली तस्बिर झुन्डेका थिए। पश्चिम कुनामा भने कुनै कलाकारले बनाएको मेयर सा'पको ठूलो पेन्टिङ थियो ।

कमलेश्वर र मैले लचकदार सोफामा पुठ्ठा बिसायांै।

एकैछिनमा हुलमुलसहित मेयर सा'प आइपुगे। लिखुरे भूत अघिअघि थियो। मेयर सा'प दौरा सुरूवालमै थिए। उनको हातको छडी खैरो रङको थियो, टल्किरहेको। लठ्ठीको शिरमा सिंहको टाउको जडान गरिएको थियो, सुनको।

'उहाँ नै हो,' लिखुरे भूतले मतिर इसारा गर्‍यो। म ङिच्च हाँसे। कमलेश्वरले शिर निहुराएर अभिवादन गर्‍यो। मेयर सा'पले मसित दह्रो हात मिलाए। उनी जँुगा अल्लि माथि सारेर हाँसे। मलाई फराकिलो टेबुलको एउटा कुर्सीमा बस्न इसारा गरे। र, आफू टेबुलको मुखैनेरको कुर्सीमा बसे। आफ्ना दुवै हात टेबुलमा राखे। उनका औंला औंठीले भरिएका थिए। उनले बिस्तारै औंठीहरू टेबुलमा ठोक्काउँदै ओठ हल्लाए।

'अहिले म हतारमा छु। कुरा सकिहालौं,' मेयर सा'पको मोटो आवाज आयो, 'एई, ज्यूनार रेडी गर।'

ज्यूनार, छिः अब मरेका जनावरका काँचो मासु ख्वाउने भए।

'हेर्नुस्, म भूतमान्डुमा २० वर्षदेखि मेयर छु। म मेयर भएपछि भूतमान्डुले छलाङ मारेको छ। अपराधीहरूले सजाय पा'का छन्, निर्दोषले न्याय। भूतमान्डुमा कुनै पनि भूतले भोकै बस्न परेको छैन। ल, यस्ता कुरा पछि गरौंला,' मेयर सा'प एक छिन मौन भए, 'भूतमान्डुको अर्थतन्त्रको एउटा मियो काठमान्डुको न्युरोड हो। अघिल्लोपल्ट पोस्टिङ भएको भूतले करोडौंको हिनामिना गरेको थाहा भो। खैर, त्यसलाई भूतेभीरबाट खसालेर सजाय दि'सकेको छ। अहिले न्युरोडको पोस्ट खाली छ, कमलेश्वरले तपैंबारे हामीलाई भन्यो। तपैंका बारेमा बु‰दा अहिलेसम्म त्यस्तो गलत काम गरेको रेकर्ड पाइएन। फेरि तपैं कवि पनि हुनुहुँदो रै'छ, असल कविले कहिल्यै बद्मासी गर्दैनन्। जो बद्मासी गर्छन्, ती कवि हुँदैनन्।'

म खिस्स हाँसे।

'खैर, धेरै सोचविचार गरी हाम्ले तपंैलाई नै न्युरोडको जिम्मा दिने निर्णय गरेका छौं। तपंै नाइँ भन्न पाउनुहुन्न।'

मैले यसो सम्झेँ, करोडौंमा पो खेल्न पाइने भो। मज्जै त होला नि। मैले मुन्टो हल्लाएँ।

'गजब,' मेयर सा'पले खुसी हुँदै टेबुलमा मुड्की बजारे। सबैले ताली बजाए।

'ल अब तपैं भोलिदेखि नै मुर्कुट्टा बन्ने तयारी गर्नुस्,' मेयर सा'पले उठ्दै भने।

'मुर्कुट्टा?' म ट्वाँ परँ।

'मैले त भन्नै बिर्सेको,' मेयर हाँसे, 'न्युरोडमा मुर्कुट्टाबाहेक अरू कसैको पोस्टिङ हुँदैन।'

मलाई सननन भो, थ्याच्च कुर्सीमा बसँ। साले कमलेश्वरले पहिला नै भन्नु पर्दैन? अब हुन्छ भनिहालेँ। नाइँ भनूँ भने भूतेभीरबाट गुल्टाइदिने हुन् कि? यता फाँसी, उता शूली भनेजस्तो पो भो।

त्यै बेला मलमलको कपडाले छोपेका थाली बोकेर किचकन्नी आइपुगे। यस्तो टेन्सन भा' छ, अब काँचो मासु कसरी खाने होला? तर अचम्म भो, थालीको कपडा हट्दा देखेँ, त्यहाँ त अनेकथरी मिठाईहरू थिए। हेर्दै खाऊँखाऊँ लाग्ने।

'हामी शाकाहारी हौं, यस्तै छ हाम्रो खाना,' मेयर सा'पले हाँस्दै भने, 'पहिला काठमान्डुबाटै ल्याउँथ्यो, मिसावटको खबर आउन थालेपछि, यतै बनाउन थालेका छांै।'

मैले एउटा गुलाब जामुन मुखतिर लैजाँदै गर्दा मेयर सा'प दैलोतिर बढे। गुलाब जामुन निल्दै गर्दा पछाडि फर्के र मुस्कुराउँदै सोधे, 'खैर, तपैंको मरेपछिको अनुभव सुन्न पाइएन! कस्तो लाग्दै छ तपैंलाई?' मेयरले मेरो जवाफ कुरेनन्। हिँडिहाले।

मुर्कुट्टा बन्नुपर्ने पीडाले म क्षतविक्षत भइसकेको रै'छु। गुलाब जामुन पनि तीतो लाग्दै गयो। म आफंैले आफ्नो गर्दन कसरी छिनालूँला र खै! मौन बसेँ। त्यही मौनतामा ज्ञान पनि पाएँ, तर धेरै ढिला–

जिन्दगी त सजिलो पो हुने रै'छ। असली दुख्ख त मरेपछि सुरु हुँदो रै'छ। जिन्दगीदेखि आत्तेर, मर्न पाए त आनन्दै हुन्थ्यो भनेर सोच्नेहरू एकदमै गलत सोच्दा रै'छन्।

सिद्धान्तका कुरा

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।

सडक संसद सञ्चालिका

सडक संसद सञ्चालिका

२०२२ सालमा सिराहा, नवराजपुरमा जन्मेकी चित्रलेखा यादव अहिले शिक्षामन्त्री छिन्। २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेका बेला उनी उपसभामुख थिइन्। यादव खुलेरै राजाको कदमविरुद्ध उत्रिइन्। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

घरभित्रै फुटबल

बिहानको चिसोमा धापासीका सुनिल लामा नक्साल पुग्छन्। नक्सालमा चिनिया एम्बेसीको पछाडि एक्स–सेल रिक्रियसन सेन्टर छ। त्यहीँ आइपुग्छन्– दिवाकर, विक्रम, निमा, सुनिल र सुनिलका अरू साथीहरू।

बोझ होइन बुढेसकाल

बोझ होइन बुढेसकाल

सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले।