Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

जाडोमा फिल्म

  • २९ मंसिर, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
तिमी बसेको ठाउँमा अब त जाडो निकै बढिसक्यो होला हगि? जाडोमा धेरै पढ्न, काम गर्न मन लाग्दैन। हात ठिहिर्‍याउँछन्। जाडोमा हिटर बाल्न मजा हुन्छ। गाउँघरतिर अँगेनो वरिपरि झुम्मिएर आगो ताप्न रमाइलो हुन्छ।


म सानो छँदा हजुरबाले भन्नुहुन्थ्यो, 'अगेनोबाट अलि पर जाऊ। केटाकेटीको जाडो बाख्राले खान्छ।'

तिमीलाई पनि कसैले त्यस्तो भनेको छ? अँगेनो वरिपरि बस्ने मौका मिलेन भने त्यसको पनि उपाय छ– फिल्म हेर्ने। यो वर्षको जाडोयाममा केही फिल्म छानेर हेर है। यहाँ केही इरानी फिल्मका नाम छन्। मजिद मजिदी नामक एक प्रख्यात निर्देशक छन्। उनी बच्चाहरूको मनोविज्ञान छामेर फिल्म बनाउन नामी छन्। उनले बनाएका फिल्म मलाई प्रायः सबै मन परेका छन्। प्रत्येक फिल्म मार्मिक र अर्थपूर्ण छन्। तीमध्ये तीनवटा फिल्म तिम्रो लागि सुझाउँछु।

कलर अफ् प्याराडाइज :

मजिदीले १४ वर्षअघि बनाएको यो फिल्ममा एक दृष्टिविहीन बालक 'मोहम्मद' को मर्मस्पर्शी कथा छ। दृष्टिविहीन बालबालिकाका लागि भनेर खोलेको घर टाढाको स्कुलमा पढ्दै गरेको त्यस बालककी आमा पहिल्यै बितिसकेकी छन्। ऊ सधैं गाउँबाट बुवा आएर एक दिन घर लैजाने आशामा पर्खिरहन्छ। बालक भए पनि मोहम्मद धेरै दयालु र चलाख छ। होस्टलनजिकै घुम्न निस्केको बेला नजिकै एक बचेरा कराएको सुन्छ। बचेरा खान खोज्ने बिरालोलाई खेदाउँछ। रूखको हाँगामा लगाएको गुँडबाट बचेरा खसेको थाहा पाउँछ। अचम्म, दुवै आँखा नदेख्ने मोहम्मद छामछुम गरेकै भरमा बचेरा लिएर रूखमा चढ्छ र गुँडमा सुरक्षित राखिदिन्छ। उसले एक्लै कस्तरी त्यति गाह्रो काम गर्न सकेको होला! फिल्म हेर्दा छक्कै परिन्छ।

मोहम्मदका बुवा हासेम आएर गाउँ लैजान्छन्। 'बुवा, तपाईं अब कहिल्यै भेट्न आउनुहुन्न होला जस्तो लागेको थियो, तर आउनुभयो,' उसले आँसु झार्दै हासेमको हात समात्दा दर्शकका आँखा रसाउँछन्।

गाउँमा मोहम्मदलाई हजुरआमा, दिदीबहिनी बहारे र हानिय पर्खेर बसिरहेका हुन्छन्। सबैले उसलाई माया गर्छन्। दृष्टिविहीन भएकामा सहानुभूति पनि दर्साउँछन्। हासेम भने छोरो दृष्टिविहीन भएकामा सधैं दुःखी हुन्छन्। अर्को बिहे गर्न खोजिरहेका उनले छोरालाई टाढा कतै एकलास जंगलमा बस्ने अर्को दृष्टिविहीन सिकर्मीकहाँ छाडेर आउँछन्। हासेमको त्यस्तो काम उनकी आमा अर्थात्, मोहम्मदकी हजुरआमाले मन पराउँदिनन् र घरै छाडेर जान खोज्छिन्। हासेमले मुस्किलले फर्काउँछन्। आमा बिरामी हुँदै अन्ततः देहत्याग गर्छिन्। हुन लागेको बिहे पनि रोकिन्छ। त्यसपछि छोरो फर्काउन गएका हासेम एक्लै फर्कन्छन्। मोहम्मद किन नफर्केको होला? त्यो थाहा पाउन त तिमीले फिल्म नै हेर्नुपर्छ।

चिल्ड्रेन अफ् हेभन :

मजिदीले सन् १९९८ मा बनाएको यो अर्को फिल्ममा हराएको जुत्ता खोज्न कोसिस गर्ने दुई दाजुबहिनीको कथा छ। दक्षिणी तेहरानमा बस्ने गरिब परिवारको बालक अली र उसकी बहिनी जहरा गुलाबी जुत्ता लगाएर स्कुल जाने गर्छन्। जहराको जुत्ता लगाएर गएको अलीले एक ठाउँ फुकालेर राख्छ। त्यहाँनेर आएको फोहोर उठाउने मानिसले काम नलाग्ने भन्ठानेर लैजान्छ। पैसा नभएर घरमालिकसँग पाँच महिनासम्म भाडा तिर्न नसकिरहेका आमाबुवालाई जुत्ता हराएको खबर नसुनाउने योजना दाजुबहिनी बनाउँछन्। बिरामी आमालाई हेरविचार नगरेको भन्दै अलीका पिताले गाली गर्छन्। जबकि यी दाजुबहिनी दाजुको जुत्ता लगाएर पालैपालो स्कुल गएका हुन्छन्।

एउटै जुत्ता लगाएर पालैपालो स्कुल जाने यी दाजुबहिनी एक अर्कालाई पालो दिन छिट्छिटो दौडिन बाध्य हुन्छन्। यसो गर्दागर्दै अली तेज दौडन बानी पर्छ। ऊ स्कुलका दौड प्रतियोगितामा भाग लिन जान्छ। तर ऊसँग अरू प्रतिस्पर्धीको जस्तो राम्रो जुत्ता हुँदैन। जुत्ता नभएकै कारणले उसले राम्रो नतिजा दिन सक्दैन। जुत्ता नल्याएकामा यो गरिब विद्यार्थीलाई शिक्षकले गाली गर्छन्।

विभिन्न स्कुलबीच आयोजित चार किमि दौडमा अली भाग लिन पाउँछ। त्यो प्रतियोगितामा तेस्रो पुरस्कार राखिएको हुन्छ– एक हप्ते बिदा शिविर अनि एक जोर जुत्ता। अलीलाई जुत्ता पाउने मन हुन्छ त्यसैले ऊ पहिलो नभई तेस्रो हुन कोसिस गर्छ। तर ऊ पहिलो हुन पुग्छ। एकजोर दामी जुत्ता पाउने उसको चाहना पूरा हुँदैन, ऊ जितेर पनि तेस्रो हुन नपाएकामा, अर्थात्, जुत्ता नपाएकामा रुन थाल्छ। यस्तो मार्मिक कथालाई फिल्ममा बुनिएको छ।

द सङ अफ् स्प्यारोज्

तीन बालबच्चा र पत्नी नर्गिससँग हाँसिखुसी जीवन बिताइरहेको एक सामान्य मानिसबारे बनेको फिल्म हो 'द सङ अफ् स्प्यारोज्'। तेहरानको अस्ट्रिच फार्ममा काम गर्ने करिम सादा जीवनशैली भएको मानिस हो। जीवनलाई सुखमय बनाउन धेरै मेहनत गर्ने ऊ प्रत्येक बिहान अस्ट्रिच फार्म जान्छ र साँझ फर्कन्छ। एक दिन, सुस्त श्रवण भएकी ठूली छोरी हानियाँको स्वरयन्त्र हराएपछि ऊ छिट्टै घर फर्कन्छ। कुवामा पानी पिउन खोज्दा डुबेको त्यो यन्त्र टिप्न जाँदा उसका छोराहरू माछा देख्छन्। उनीहरूले त्यस्ता धेरै माछा मारेर धनी हुने कल्पना गर्छन्। करिम भने त्यसो गर्न दिँदैन। उनीहरूले स्वरयन्त्र त पत्ता लगाउँछन्, तर पहिलेजस्तो राम्ररी सुनिँदैन।

अस्ट्रिच फार्मबाट एउटा अस्ट्रिच भागेको आरोपमा करिम जागिरबाट निकालिन्छ। उसले मोटरसाइकलमा यात्री राखेर पैसा कमाउने बाटो समात्छ। तर करिमको सोझोपनाको फाइदा उठाउँदै मानिसहरूले हेप्छन्। ऊ पनि सानातिना काम गरेर पेट पाल्ने काममा लागिरहन्छ। करिमको सानो छोरा हुसेनले पनि घरको आर्थिक अभाव टार्ने उपाय खोज्छ। पहिले कल्पना गरेझैं माछा खोजेर व्यवसाय गर्ने जुक्ति लगाउँछ। बेच्न लैजाँदा लैजाँदै भाँडा चुहिएर अधिकांश माछा मर्छन्। पछुतो मान्दै हुसेनले बाँचेका माछालाई नजिकैको पोखरीमा लगेर हालिदिन्छ। तिनले पुनर्जीवन पाउँछन्।

यी सबै हेरिरहेको करिम आफ्नो बालक छोराको दयालु भावनाप्रति गौरव गर्छ। करिम गरिब भए पनि असाध्यै दयालु छ। उसको दयालु स्वभावले एक दिन पुरस्कार पाउँछ। अर्थात्, करिमले पुरानो साथीमार्फत पहिले हराएको अस्ट्रिच फर्केर आएको खबर पाउँछ। ऊ धेरै खुसी हुन्छ। अरू के के हुन्छ, त्यसका लागि पनि तिमीले फिल्म नै हेर्नुपर्छ।

अन्त्यमा,

पुस्तकले हामीलाई धेरै कुरा सिकाउँछ। तर पुस्तकमात्रै ज्ञानको स्रोत होइन। तिमी यसरी बेला बेला राम्रा ठाउँ घुम्ने, राम्रा फिल्म हेर्ने बानी बसाल है। यस्तो गर्ने सबैभन्दा राम्रो मौका त जाडोयाम र चाडपर्व नै हो। कि कसो!
नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...

थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...

हुर्काउँदै फुटबलर

हुर्काउँदै फुटबलर

पोखराको अन्तिम दक्षिण कुनोमा पर्छ, दोबिल्ला। यहाँ फुस्रे खोला सेती नदीमा मिसिन्छ, अनि दुवै एक भएर बग्छन्। त्यसपछि कुन पानी सेतीको, कुन फुस्रेको छुट्याउन सकिन्न।त्यही दोबिल्लामा छ, सहारा एकेडेमी, जहाँ...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

‘आधा धर्ती' की पक्षपाती

‘आधा धर्ती' की पक्षपाती

२०३७ सालको आमहडतालमा बिन्दा पाण्डे पञ्चायती व्यवस्थाविरुद्धको र्या्लीमा सहभागी भइन्। उनका दाइ पक्राउ परेका थिए, रिहाइको मागमा र्यायली निकालिएको थियो। त्यसमा सहभागी भएको भन्दै बाबुले गाली गरे, बिन्दालाई आन्दोलनको चस्का...

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...

टेगोर हुँदै वाइल्डसम्म

मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।

‘अधिकारप्राप्तिको हतियार राजनीति'

‘अधिकारप्राप्तिको हतियार राजनीति'

कमला रोक्का बहुदलीय व्यवस्थापछि राजनीतिमा छिरेकी हुन्। रुकुमको प्वाँङमा जन्मेकी उनले इच्छा हुँदाहुँदै पनि पढ्न पाएकी थिइनन्। यही बखत कम्युनिस्ट आन्दोलनका नाराले उनलाई साह्रै छोए। ‘महिला–पुरुष समान अधिकार' जस्ता वाक्य...