Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

मिनेटमा कर्म नाप्दै

  • ६ पुष, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
कलाकार गेहेन्द्रमान अमात्य ७७ वर्ष पुगे। तर उनको जोस, जाँगरले शरीरमा बुढ्यौली छिर्न दिएको छैन। उनी प्रायः खैरो रङको दौरा–सुरुवाल, कोट, ढाका टोपी, गलबन्दीमै भेटिन्छन्। काठमाडौं कालधारास्थित उनको घर पुग्दा पनि त्यस्तै पहिरनमा थिए।


के गरी दिन बिताउनुहुन्छ?

प्रश्न झर्न नपाउँदै उनले कोटको गोजीबाट सानो डायरी निकाले र भने, 'तपाईंलाई देखाउन लेखेको होइन, यो मेरो दैनिक गर्नुपर्ने काम हो।'

राम्रा अक्षरमा लेखिएको थियो, उनको दैनिकी। ७७ वर्षे 'जोसिला वृृद्ध' को दैनिक तालिका छ। शरीर बूढो भएर के भो! ४४ वर्षयता पावरवाला चस्मा लगाउनुपरेको छैन। औषधिको नाममा कुनै ट्यााब्लेट खानुपरेको छैन।

बिहानै नित्यकर्म गर्छन्। मंगलबार गणेश र कुमारीको पूजा–आराधना। हरेक बारको हेक्का राखेर फरक–फरक मन्दिर धाइरहन्छन्।

उनको दैनिक कार्यतालिका यस्तो छ–

आइतबार र सोमबार– लेख लेख्ने, कार्टुन कोर्ने अनि पत्रपत्रिकामा प्रकाशनका लागि दिने।

मंगलबार र बुधबार– विश्वभर भएका घटना पत्रपत्रिकाबाट कटिङ गरी सुरक्षित राख्ने।

बिहीबार र शुक्रबार– जीवनी पढ्ने र आफू पुगेका हरेक कार्यक्रमसँग सम्बन्धित फोटा टाँस्ने।

शनिबार– कोठा सफा गर्ने।

शनिबार उनी शनिबार साढे तीन घन्टा आर्ट ट्रेनिङ सेन्टर धोबीचौरमा बालबालिकालाई चित्रकला पनि सिकाउँछन्।

यत्ति काम गरेर मात्रै पुग्दैन। दिनदिनै १२ बजेदेखि ४ बजेसम्म चित्रकला तयार पार्छन्, माउन्टिङ, फ्रेमिङ गरी राख्छन्। अपराह्न ५ बजेदेखि बाहिर जाने, किनमेेल गर्ने र भेटघाटमा व्यस्त हुन्छन्।

उनी पुराना कलाकार। प्रायः चित्र प्रदर्शनीका लागि उनलाई निम्तो पुगिरहन्छ। निम्तो हतपत्ती छुटाउँदैनन्।

कार्यक्रममा जानुछ भने दैनिक काम चार घन्टाअघि नै सक्छन्। काठमाडौंको ट्राफिक जाम र अन्य समस्यालाई ध्यानमा राख्दै सुरु हुनुभन्दा एक घन्टाअघि नै कार्यक्रम स्थल पुगिसक्छन्।

२०२२ सालदेखिका दैनिक, साप्ताहिक पत्रपत्रिकाका कटिङ उनीसँग सुरक्षित छन्। उनका यस्ता रेकर्डले ३० वटा बाकस भरिएका छन्। दसैं, तिहार, छठ, नेपाल संवत्, दीपंखा यात्रा, विशेष मान्छेका जीवन–मरण, ठूला घटना, दुर्घटनाका कटिङलाई उनी संग्रहमात्रै भन्न रुचाउँदैनन्। 'यी त इतिहास हुन्, इतिहास,' उनले भने।

'नेपालको दिनदिनैको इतिहास राख्न खोजेको छु,' मदन भण्डारी, गणेशमान सिंह, राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला लगायतका शवयात्राको तस्बिर देखाउँदै भन्छन्, 'सबैको हेर्न थाल्यो भने महिना दिन लाग्छ।' गोलो दराजको फाइलमा यी इतिहास सुरक्षित छन्।

उनी नेपालमा आधुनिक कला प्रदर्शनी गर्ने पहिलो कलाकारका रूपमा चिनिन्छन्। उनले २०१२ सालमा मोर्डन आर्ट प्रदर्शनी गरेका थिए। उनीसँग ५० वर्षदेखिको भिजुअल (फोटो), मुख्य घटना, चाडपर्व, जातजातिका रीतिरिवाज, विदेशका मुख्य घटना कटिङ गरी माउन्टिङ गरेका छन्।

उनका आफू आफू सहभागी कार्यक्रमका हजारौं फोटा छन्। देश–विदेशका कुनै चर्चित व्यक्तिसँग भेट भएको क्षणको तस्बिर खिचाउन उनी कहिल्यै छुटाउँदैनन्। 'आफू पुगेको कार्यक्रमको फोटो भएन भने निद्रै लाग्दैन,' एक प्रसंग कोट्याउँदै भने, 'एउटा कार्यक्रममा प्रचण्डसँग हात मिलाउँदा फोटो खिच्न छुट्यो। फोटोग्राफर बोलाएर फेरि रिहर्सल गरेर खिच्न लगाएँ।'

समय व्यवस्थापनमा प्रतिबद्ध उनी कहिलेकाहीँ आफैंलाई ठग्दा रहेछन्। 'कहिले त समय तालिकाले पनि काम गर्दैन। राति १२ बजेसम्म काम नसिद्धिएपछि के गर्ने?' उनी हाँस्छन् । उनका चित्र धेरै कोरियाली पर्यटकले लैजान्छन्। कोरिया, अमेरिका, डेनमार्कलगायत विश्वका २० देशमा आफ्नो कला पुगेको उनको दाबी छ।

...

२०५९ सालदेखिको उनको रिटायर्ड जीवन निकै व्यस्त छ। २०१६ सालदेखि सूचना विभागमा जागिर खाएका उनी सुरुमा सुब्बासरह थिए। केही समयपछि प्रशासन अधिकृत भए।

रमेश विकलको कथासंग्रह 'नयाँ सडकको गीत' र अन्य कविता गरी ५५ किताबमा आवरण चित्र तयार पारेका अमात्य करिब आठ सय लेख र पाँच हजार कार्टुन प्रकाशित भएको दाबी गर्छन्। उनका सिर्जना गोरखापत्र, मातृभूमि साप्ताहिक, नेपाल पोस्ट, साप्ताहिक मञ्च, गाईजात्रा हास्यव्यंग्यमा प्रकाशित छन्।

चित्रकलासम्बन्धी कार्यक्रममा आफूलाई प्रमुख अतिथि, सभापति वा अतिथि बनाएर बोलाऊलान् भन्ने आश हुन्छ रे उनलाई। उनी कसैले नचिनेर आसन ग्रहणमा नबोलाए पनि कुर्सी खाली छ भने मञ्चमै गएर बस्छन्।

जीवनलाई व्यस्त राख्न सके जस्तोसुकै काम गर्न सकिने र धेरै बाँच्न सकिने उनको तर्क छ। भन्छन्, 'व्यस्त हुन सके धेरै बाँचिन्छ। खाली बस्दा मानसिक टेन्सन बढ्छ।' उनी समयको मर्म बुझेर काम गर्न सुझाव दिन्छन्।

उनले जीवनमा कहिल्यै पनि मोटर गाडीको सोख पालेनन्। जतिसक्दो खुट्टाले हिँडेरै गन्तव्यमा पुग्छन्। 'कहिलेकाहीँ कोटेश्वरदेखि कालधारासम्म हिडेर आउँछु। हिँड्नु भनेको स्वास्थ्य रिचार्ज गर्ने माध्यम हो,' उनी भन्छन्। २००३ सालमा उनी भद्रकाली मोडमा साइकलबाट खसेका थिए। ऊबेलादेखि नै आफैंले साइकल, मोटरसाइकल र गाडी हाँकेनन्। उनी छोराहरूलाई पनि मोटर नकिन्न सुझाउँछन्। भन्छन्, 'हाम्रै लागि सडकभरि गाडी छन्। चाहेको बेला चढ्न सकिहालिन्छ नि।'

पञ्चायतकालमा दौरा–सुरुवाल नलगाई जागिर खान नपाइने नियम आयो। २०३१ सालतिर सरकारी कर्मचारीलाई दौरा–सुरुवालविनाका व्यक्तिलाई हाजिर नगराउनू भन्ने निर्देशन आयो। त्यो बेलादेखि उनले पनि त्यही पोसाक लगाउन थाले। त्यसै बेला एक भारतीय महात्मा आए। उनलाई भने, 'आप का सबसे अच्छा डे्रेस यही है, कभी न छोड्ना। आप का भला होगा।' यो सुनेपछि उनले छोड्ने कुरै भएन। जसलाई अहिलेसम्म पछ्याइरहेका छन्।

विभागमै हुँदा उनी २०४२ सालमा जेल परे। बम काण्डको समाचारमा रामराजाको ब्लक बनाएको आरोपमा उनी पक्राउ परेका थिए। उनले कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता बहुदलवादी नेताहरूको ब्लक बनाउने काम पनि गर्थे। त्यो बेला सबै नेताका ब्लकसहित उनलाई पनि पक्रेको थियो। गोरखापत्रमा उनले तस्बिरको ब्लक बनाउँथे।

०३६ सालको आन्दोलनमा उनी रत्नपार्कस्थित सूचना विभागमा काम गर्दै थिए। १०/१२ जना विद्यार्थी भाग्दै लुक्न त्यहीँ आइपुगे। उनले सबैलाई कुर्सीमा राखेर काम गरेजस्तो बनाइदिए। पुलिस आयो फर्क्यो। यसरी धेरैपटक आफूले आन्दोलनकारीलाई बचाएको उनको सम्झना छ।

...

२००१ सालमा उनी चाँगुनारायणमा पूजा हेर्न पुगेका थिए। एक रात त्यहीँ बस्नुपर्थ्यो। गुठीमा राँगो काट्थे। पुच्छर टाउकोमा बाँधेर राँगो काटेछन्। रगत बगेको देखेर उनलाई चित्र बनाउन मन लागेछ। घरमा आएर त्यस्तै चित्र कोरे। 'चित्रकला अरूले भनेका आधारमा बनाउने होइन,' उनी भन्छन्, 'भगवानको उपहार हो। आफ्नै मनले अह्राउँछ।'

उनका अनुसार राजा वीरेन्द्र चित्र निक्कै मन पराउँथे। 'वीरेन्द्रले लगेका मेरा चित्र ग्यालरीमा अहिले पनि छन्,' उनले सुनाए। वीरेन्द्रले नै उनलाई वीर अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइदिएका थिए। 'यो देशको राम्रो कलाकार हो। जसरी पनि अमात्यलाई बचाउनू' भन्ने लेखेर वीर अस्पताल पठाएको उनी सम्झन्छन्। 'त्यस बेला ११ महिना अस्पताल बस्दा सबै खर्च वीरेन्द्रले दिएका थिए,' उनले भने।
बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...

मर्स्याङ्दीझैं तीन घण्टा

मर्स्याङ्दीझैं तीन घण्टा

सहकर्मी सन्तोष न्यौपाने र म अघिल्लो शुक्रबार कपुरधारा पुग्दा अपराह्नको साढे चार बजेको थियो। स्थानीय तरकारी पसलमा कमिज सुरुवाल र ढाकाटोपी लगाएका एक प्रौढ भेटिए। हामीले सोध्यौं, 'माधवप्रसाद घिमिरेको घर...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल, गगल र 'मिस्टर नो-अल'

ताजमहल औधी सुन्दर छ भन्ने वाक्यबाट यो आलेख सुरु भयो भने नपढिने खतरा छ। सबलाई थाहा भएको तथ्य लेखिरहनुको अर्थ रहेन। सूर्य पूर्वबाट उदाउँछ भनेर दोहोर्‍याइरहँदा कसलाई पो जङ चल्दैन...

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

आन्विकाको आधा चेहरा

आन्विकाको आधा चेहरा

सुनसरीको शिशु विकासिनी प्रावि मधेसाकी छात्रा आन्विका गिरी कक्षा पाँचमा पढ्थिन् । स्कुलले कविता प्रतियोगिता आयोजना ग¥यो । 'कलम' शीर्षकको कविता लेखेर उनी प्रथम भइन् । नजिकैको बलाहा गाउँस्थित शारदा...

लोक सेवाका गुरु

लोक सेवाका गुरु

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँच–पाँच ठाउँबाट नाम...