Wednesday 5 Kartik, 2077 | October 20, 2020
Menu

नागरिक शनिबार

राम्रो रचना मिठो नेपाली

(0 votes)
भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।


'यसको भाग्य यस्तै रहेछ,' शिशुका बाबुले घरमा काम सघाएर बस्ने घले घर्तेनीलाई अह्राए, 'गिद्धले नखाने गरी खाल्डो खनेर पुरिदिनू।'

घर्तेनी दिदीले बच्चालाई काख लिइन्। भर्खर धर्तीमा पाइला टेकेको बच्चालाई कसरी खाल्डोमा पुरिदिनू! हात–खुट्टा छामिन्, चिसै छन्। चिम्सा आँखालाई फट्याएर हेरिन्। 'जीवनको ज्योति यहीँ लुकेको छ,' उनले आँखाको नानी चलायमान देखिन् र भनिन्, 'यो बच्चालाई गाड्ने होइन, बरु म पाल्छु।'

ललितपुर सानेपामा उनकै घरमा गफिँदै गर्दा साहित्यकार कृष्णप्रसाद पराजुलीले आफ्नो जन्मलाई एउटा 'दुर्घटना' भनेर सम्भि्कए। नेपाली उखानलाई मान्ने हो भने सात महिनामा जन्मनु उनको 'भाग्य' नै रहेछ। त्यही खाल्डोमा पुरिन लागेको सानो मांसपिण्डले आज नेपाली साहित्यलाई योगदान दिइरहेको छ।

सात महिनामा जन्मिएको शरीर पछिसम्म कमजोर भयो। पराजुलीको ७५ वर्षे शरीर कमजोर हुँदै गएको छ। बुढ्यौलीको सांसारिक नियमले उनलाई पनि दिनदिनै गाँज्दै छ। लौरोको समातेर हिँड्दा हात–खुट्टा थरथर काँप्छन्। तेजिला आँखा उही सात महिनाको बच्चाको जस्तो चिम्सा हुँदै गएका छन्। आँखामा ठूलो चस्मा लगाउनुपर्छ। तर बुद्धि भने अझै तीक्ष्ण छ। केही न केही लेखिरहनुपर्छ। 'पुस्तक नपढी मलाई निद्रा लाग्दैन,' उनले भने, 'छोरा (शाश्वत)ले ल्याएको किताब एकै रातमा पढेर सिध्याउँछु।'

बिहान उठ्नेबित्तिकै उनी छोरालाई सोध्दा रहेछन्, 'अर्को किताब छैन?'

...

पराजुली काभ्रेको भमरकोटमा जन्मिए। पाँच वर्ष पुगेपछि गाउँकै स्कुलमा पढ्न थाले। त्यस बेला पढ्ने–लेख्ने माध्यम केही थिएन, सिलोटबाहेक। त्यो पनि उनको घरमा थिएन। 'पिर्कामा माटो राखेर झिँजोले त्यहीँ कोरेर अक्षराम्भ गरेँ। त्यो पिर्का युग थियो,' उनले भने, 'अहिले कम्प्युटर युग भनेजस्तो।'

पराजुलीका बुबालाई गाउँले सबैले मान्थे। पण्डितदेखि ज्योतिषिसम्मको काम गर्ने उनलाई सबैले चिन्थे। काभ्रेदेखि काठमाडौंमा आइरहन्थे। महाभारत, रामायण, गीता, रुद्रीका श्लोक कण्ठस्थ पारेका उनी बेलुका छोरालाई धार्मिक लोककथा र काव्यका श्लोक सुनाइरहन्थे। लोक साहित्यप्रतिको समर्पणमा बाबुको ठूलो प्रभाव रह्यो पराजुलीमा।

बाबुले सुनाएका कथा उनी साथीहरूलाई सुनाइहाल्थे। हाउभाउसहित कथा सुनाउँदा कतिपय साथीहरू 'कति चलाख बाहुन' भनेर जिस्काउँथे रे। नेपाली किताब अभावमा उनले ठूलो वर्णमाला, दुर्गा कवज र चण्डी कण्ठस्थ पारेका थिए। स्वस्थानी पढ्नमा उनी औधी रुचि राख्थे। बाहुनले रुद्री पढ्नैपर्छ भन्ने त्यस बेलाको मान्यतालाई उनले पनि पछ्याए। 'रुद्रीका अक्षर जोल्टिएका हुन्छन्, मलाई ती अक्षर खार्न धेरै गाह्रो भयो,' उनी सुनाउँछन्।

पराजुलीका एक दाइ काठमाडौंमा पढ्थे। दाइ काठमाडौंमा पढ्दा उनी गाउँमै थिए। गाउँलेले खिसी गरे, 'दाजु काठमाडौं पढ्ने, भाइ भने यहाँ गोठाला लाग्ने!'

गाउँलेको यस्तो भनाइ उनलाई बि‰यो। घरमा 'विद्रोह' गरे– 'कि मलाई काठमाडौं पठाउनूस्, कि भागेर जान्छु।'

उनको यो जिद्दीमा परिवार सहमत भए। ११ वर्षको हुँदा पराजुलीले काठमाडौं छिर्ने अवसर पाए।

नरदेवीमा कोठा लिएर बस्न थालेपछि उनका संघर्ष र सफलताका दिन सुरु भए। संस्कृत पढ्न पाउनुपर्छ भनेर गरिएको 'जयतु संस्कृतम्'देखि २००७ सालको राणाविरोधी अन्दोलनमा समेत उनको सहभागिता रह्यो।

राणाले सकेसम्म सर्वसाधरणलाई पढ्न दिँदैनथे। रानीपोखरीको पाठशालामा वेद र रुद्री पढ्न भर्ना भएका पराजुलीसहितका विद्यार्थीले 'जयतु संस्कृतम्' आन्दोलनमा उठाएको माग संस्कृतमा पनि आधुनकि विषय पढ्न पाउनुपर्छ भन्ने थियो। 'अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, इतिहासजस्ता आधुननिक ज्ञानका विषय पनि पढ्न पाउनुपर्छ भन्ने हाम्रो माग थियो,' उनले सुनाए, 'तर राणाहरू यसमा मन्जुर थिएनन्।'

त्यसै बेला श्री ३ पद्म शमशेरले 'संस्कृत भनेको मृतभाषा हो। यो त मर्दापर्दा मात्र काम लाग्नेछ' भनेर टिप्पणी गरेछन्। उनको यो अभिव्यक्तिसँगै आन्दोलनकारी झनै विरोधमा उत्रिए। उनीहरू र सरकारबीच वार्ता हुँदा पद्म शमशेरले सच्च्याएछन्– 'मैले कहाँ मृत भनेको हो र, तपाईंहरूका कान के भएका? मैले अमृत भाषा पो भनेको थिएँ।'

त्यसपछि कोही साथी पाठशाला फर्किए, बागीहरू बनारसतिर लागे।

काठमाडौंमा एक वर्षअघिदेखि संघर्ष थालेका पराजुलीले १२ वर्षको हुँदा आफूभन्दा साना बच्चालाई पढाउन सुरु गरेका थिए। एकजनाबाट पाँच रुपैयाँ लिन्थे। पाँचजनालाई पढाउँदा मासिक २५ रुपैयाँ आउँथ्यो। पढाउँदै उनले प्राइभेट रूपमा रुद्री पढ्न थाले। प्रथम भए। पछि तीनधारा पाठशालामै संस्कृत पढ्न थाले। दुई वर्ष पढ्दापढ्दै सात सालको क्रान्ति भयो।

संस्कृत पढ्दापढ्दै अभिभावकले सल्लाह दिए, 'अब संस्कृत होइन, अंग्रेजी पढ्नुपर्छ।' मगन टोलमा एक मास्टरले महिनाको तीन रुपैयाँ लिएर अंग्रेजी पढाउँथे। छ महिना अंग्रेजी पढेपछि उनी छ कक्षामै भर्ना भए। दरबार हाई स्कुलमा उच्च शिक्षा पनि खुलिहाल्यो। १८ वर्षको हुँदा उनले त्यहीँबाट प्रवेशिमा परीक्षा पास गरे।

आफूलाई ज्ञानले खार्दै आएका उनका लागि अवसर पनि एकपछि अर्को गर्दै आइरहे। नेपाल प्रज्ञा प्रतिष्ठान खुल्यो। 'ओहो! यो पो हो संस्था, यही हो मैले काम गर्ने ठाउँ,' उनी दंग परे। उपकुलपति बालचन्द्र शर्मालाई भेट्न गए।

शर्माले सोधेछन्, 'तिमीलाई प्रुफ हेर्न आउँछ?'

'प्रुफ त मैले सानैदेखि हेर्दै आएको छु,' पराजुलीले निसंकोच जवाफ दिए।

'त्यसो हो भने यो किताबको प्रुफ हेरेर ल्याऊ,' शर्माले एउटा पातलो किताब दिँदै भने।

किताब लगेको तेस्रो दिन रातै रङ लगाएर फर्काएको किताब हेर्दै शर्माले भनेछन्, 'यी मान्छे त काम लाग्ने पो रहेछन्।'

माधव घिमिरे, भवानी भिक्षु र सिद्धिचरण श्रेष्ठले प्रतिष्ठानमा पराजुलीको नियुक्तिका लागि सहमति जनाएपछि उनले साहित्यिक संस्थामा पहिलो खुट्किला टेके। २०१७ सालमा प्रज्ञा प्रतिष्ठान छिर्दा उनको पद थियो– अन्वेषक।

जुद्धोदय स्कुलमा नेपाली शिक्षकका रूपमा २०२८ सालदेखि आठ वर्ष काम गरे। त्रिभुवन विश्वविद्यालयमा नेपाली लोकसाहित्य २२ वर्षसम्म पढाए।

प्रतिष्ठानमा छिरेपछि साहित्यिक किताब छाप्न धेरैपटक दिल्ली र बनारस गए। दिल्लीको चाँदनी चोकस्थित प्रेसमा सिद्धिचरणको उर्वशी र भिक्षुका कथाहरू छापे। शर्माकै सम्पादन रहेको शब्दकोश छाप्न बनारस पुगे। २०५६ सालसम्म उनी प्रतिष्ठानमै रहेर काम गरिरहे।

बोली फुट्दैदेखि बाबुले सुनाएका श्लोक र कथाले उनमा लोकसाहित्यप्रतिको प्रेम झाँगिसकेको थियो। संस्कृत अध्ययनपछि उनमा झनै रस पस्यो। विश्वविद्यालय छिरेपछि विद्यार्थीलाई पढाउन र आफ्नो ज्ञानको क्षेत्र फराकिलो बनाउन नेपालको पूर्वी, पश्चिमी पहाड र तराईका धेरै ठाउँ चहारे। स्थानीय समुदायभित्र छिरेर विभिन्न सामग्री संकलन गरे। लोकसाहित्यबारे अध्ययन–अनुसन्धान गरे। 'विश्वविद्यालयको लोकसाहित्य कोर्स तयार गर्न बनारस र दिल्लीबाट किताबहरू किनेर ल्याउँथे,' कीर्तिपुर पढाउँदाका रमाइला दिन सम्झन्छन्, 'मेरो कक्षामा विद्यार्थीको अन्तुष्टि देखिएन। रमाएर पढ्थे।'

अनुसन्धानमा लागिरहेका उनलाई चिन्ता भयो– नेपाली साहित्य कसरी मिठो बनाउने, कसरी लेख्ने? सयौं किताबका ठेली पल्टाए। दिमागलाई अक्षर र शब्दमा घोटिरहे। तर पनि उनले सहयोगी उपयुक्त किताब भेटाउन सकिरहेका थिएनन्। आफैंले केही लेख्नुपर्छ भन्ने निष्कर्षमा पुगे। 'राम्रो रचनाका लागि कसरी मिठो भाषामा लेख्ने भन्ने नै मेरो उद्धेश्य थियो,' उनी भन्छन्।

थप अनुसन्धानका लागि उनले भैरव अर्याल, गोविन्द भट्ट, माधव घिमिरे, शर्मा, भिक्षुलगायतसँग धेरै छलफल गरे। एक वर्षको कठिन मेहनतले २०२२ सालमा नामजस्तै सुन्दर किताब निस्कियो– राम्रो रचना मिठो नेपाली।

किताब प्रकाशनलगत्तै धेरैले प्रश्ांसा गरे। बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, माधव घिमिरेलगायतले 'नेपालीमा नभई नहुने एक किताब' भनेर टिप्पणी गरे। गोरखापत्रमा राजहंशले लेखे– नेपालीमा अहिलेसम्मको बेजोड किताब। कसैले हिन्दीमा रामशरण बर्माको 'अच्छी हिन्दी' जस्तै राम्रो किताब भनेर प्रशंसा गरेको पराजुली सुनाउँछन्।

'यसमा व्याकरण गौण भएर आएको छ,' उनी भन्छन्, 'नेपाली कसरी राम्रो लेख्ने, मिठो कसरी बनाउने भन्ने ध्याउन्न थियो मेरो।' त्रिभुवन विश्वविद्यालय, पश्चिम बंगाल, हिन्दु विश्वविद्यालयलगायत धेरै शिक्षण संस्थाले यही पुस्तकलाई पाठ्यक्रममा समावेश गरे।

आफ्नो स्वीकृतिविनै चोरेर किताब छापिदिनाले भने उनको मन खिन्न भयो। इलाहाबाद र दार्जिलिङमा 'राम्रो रचना मिठो नेपाली' छापेर बेचेको उनी बताउँछन्। 'केपी शर्मालगायत चारजनाको नाम राखेर केही सामग्री तलमाथि पारेर छापेछन्,' पराजुली भन्छन्, 'पैसाका लागि अनेक चलखेल भयो। यसले मलाई धेरै घाटा पनि भयो।'

...

बाबुले सानोमा सुनाएका लोककथा र श्लोकले पराजुलीलाई बालसाहित्य लेखनका लागि पनि प्रेरणा दियो। २०२२ सालमा 'रमाइला नानी' बालकविताबाट बालसाहित्यमा हात हालेका उनका कथा, कविता, गीत गरी डेढ दर्जन कृति प्रकाशित छन्।

करिब १६ वर्षको उमेरमा उनी एकपटक गाउँ पुगेका थिए। गाउँमा पढ्ने साधन केही थिएनन्। 'हामीले त पढ्न पाएनौं तर गाउँका बच्चाले पढ्न पाउनुपर्छ भन्ने लाग्यो,' उनी भन्छन्, 'शिक्षक र पुस्तकको अभावमा पनि गाउलेसँग मिलेर दुइटा स्कुल स्थापना गर्‍यौं।' उनी गाउँमा बस्न नपाउने भएपछि स्वंसेवक–शिक्षकको व्यवस्था गरिदिए।

उनी काठमाडौं आए र बालबालिकाका लागि किताबको खोजीमा लागे। 'बच्चाका लागि चाहिने किताब भेट्नै सकिनँ,' उनी भन्छन्, 'बल्लबल्ल 'सरल नेपाली' भन्ने किताब फेला पर्‍यो। त्यही गाउँको स्कुलमा पठाइदिएँ।'

बच्चालाई रमाइलो हुने र चलाख हुने खालका किताबको खोजीमा थिए, पराजुली। चित्तबुझ्दो किताब नपाएपछि आफैं लेख्न तम्सिए। कविता, जीवनी, कथा, सामान्य ज्ञानका प्रश्नोत्तर संकलन गरी २०१३ सालमा 'ज्ञान सागर' निकाले। यो दुई अंकसम्म प्रकाशन भएको उनी बताउँछन्। स्कुलमा त्यही किताबलाई पढाउने व्यवस्था मिलाए।

...

लोकसाहित्यका र बालसाहित्यका सर्जक पराजुली अहिले महाकाव्य लेखनमा जुटिरहेका छन्। १७ सर्ग पुगिसकेको 'मनमाया' महाकाव्य सिध्याएपछि किताब पनि लेख्ने उनको धोको छँदै छ। 'अरू दुई बालसाहित्यका किताब पनि 'पाइप लाइन'मा छन्,' उनी हाँस्दै भन्छन्।

बूढो शरीर। सुगर र ब्लड पे्रेसरले च्यापेको छ। घुँडाको हड्डी खिइएर राम्रोसँग हिँड्न सक्दैनन्। अस्वस्थताले लेखनमा बाधा पुर्‍याएको छ। किताबका लागि भूमिका लेखिदिनुपर्‍यो भनेर धेरै आउँछन्। तर कमजोर बन्दै गएको शरीरले लेख्ने आँट गर्दैन। उनी भनिदिन्छन्, 'अब त काम नलगाउनूस् न।'

सात महिनामै माया मारिसकेको शरीर ७५ वर्षसम्म आइपुग्यो। केही वर्षअघिसम्म उनै घले घर्तेनी दिदी भेट्न आइरहन्थिन्। 'बाबु कस्तो हुनुहुन्छ?' सन्चो–विसन्चो सोध्थिन्। 'मलाई देखेपछि गहभरि आँसु पार्थिन्। उनैको काखमा बसेर दूध चुसेर हुर्केको म,' पराजुलीले भने, 'उनले धर्ती छोडेर गइन् भन्ने खबर पाउँदा धेरै दिनसम्म विक्षिप्त भएँ।'
आमा, तिनीहरूले जेसुकै भनून्

आमा, तिनीहरूले जेसुकै भनून्

कस्ता–कस्ता मैं हुँ भन्नेलाई पनि सजिलोसँग जिउन गाह्रो छ। बाँच्ने क्रममा आईपर्ने थरीथरीका अप्ठ्यारा र चुनौतीको सामना गर्न शारीरिक–मानसिक रूपले सक्षम भइएन भने जिन्दगीले नमिठोसँग हाराबारा खेलाइदिन्छ। जे जस्तो भुक्तमान...

प्रक्रियामा विश्वास

डा. भगवान कोइरालामतदाता, काठमाडौं क्षेत्र नम्बर– ५आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा...

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

आखिर बाँचिदो रहेछ !

आखिर बाँचिदो रहेछ !

बिरिङ खोला त्यतिसाह्रो गड्गडाएको उनले कहिल्यै सुनेकी थिइनन्। २०३५ साउन २ गते सोमबार । दुई जिउकी शिवमाया घरधन्दामा व्यस्त थिइन् । श्रीमान् गोरु बेच्न बुधबारे बजार गएका थिए।

'युग' धानेका दम्पती

गौरीघाटस्थित घरमा ९४ वर्षीय गोविन्दकुमार रिमाल भुइँखाटमा बसिरहेका छन्। दोलाइँमा गुटमुटिएर बसेका। दसैंको फूलपातीका दिन बाथरुममा लडेर उनको दाहिने हात भाँचिएको छ। बाथरुममा उनी कसरी लडे? उनैलाई पत्तो छैन। घटनाबारे...

चुनाव २०७० (कथा)

'चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!''अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!' 'गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै...