Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

नागरिक शनिबार

'महान् सहिद'मा रातो धर्का

  • ६ पुष, २०७०
  • स्वप्निल स्मृति
  • DISQUS_COMMENTS
(0 votes)
कवि इच्छुकको बारेमा सम्झन लायक 'ठूल्ठुला' प्रसंगहरू नहुने नै भए। २०५८ सालताका म एउटा सानो 'कमरेड कवि' त्यसमा पनि अन्तर्मुखी। जिब्रोमो 'चिप्लो पदार्थ'को कमी भएको म ठूल्ठुला कमरेडहरूसँग त्यति सजिलै घुलमिल हुनै सक्दिनथेँ। दुई–चार भेटमा कवि इच्छुक मलाई अत्यन्त 'सामान्य' लागेका हुन्। मलाई यसो लाग्नुमा उहाँका पेरिफेरीमा ठूला क्रान्तिकारीहरू हुनुले पनि होला। जसरी जेठ–असारको आकाशमा खडा हुने बादलको पहाडमुनि पहाडहरू सामान्य लाग्छन्।


२०५७ सालमा म आरआर क्याम्पसको रात्रिकालीन विद्यार्थी। पत्रकार हुन्छु, कवि हुन्छु भनेर धनकुटा पढ्दापढ्दै भागेर आएको। दुई–तीन महिना लोकन्थलीमा बन्दै गरेको पूर्वमन्त्री तथा त्यस बेलाका कांग्रेस नेता ढुण्डीराज शास्त्रीको घरमा बालुवा चाल्ने काम गरेँ। दिउँसो चार बजेसम्म बालुवा चाल्थेँ, त्यसपछि पानी तान्ने मेसिनमा 'लाइन' जोड्थेँ। खुब तेजले इनारको पानी तान्थ्यो पाइपले। हातमुख हतार–हतार धोएर त्यतिकै तेजमा डेरातिर हानिन्थेँ। कौशलटारको डेरामा लुगा फेरेर 'सात नम्बर' बस समात्थेँ। ममा कविता र राजनीतिको आसक्ति सानैदेखिको हो। आरआर क्याम्पस त हो, विद्यार्थी राजनीतिले पढाइ नै हुँदैनथ्यो। फेरि त्यसैताका स्ववियु निर्वाचनको गरमागरम समेत।

माओवादी– धनकुटा पढ्दा अलिअलि जानेको हुँ। नौलो बिहानी, जनादेश, जनआह्वान साप्ताहिक धनकुटामा पाइन्थे। काठमाडौमै रङ–पेन्टरको काम गर्ने तर परीक्षा दिन धनकुटा धाउने एक दाइ थिए, डोलेश्वर चेम्जोङ। दाइले पढाइमा गाउँमा कमाएको सुनाम आर्थिक अभावले पूरा गर्न पाएनन्। भैरवनाथ गणले सामूहिक बेपत्ता पारेका सूचीमा डोलेश्वर लिम्बू भनेर उल्लेख छ अहिले। उनै दाइ डोलेश्वर र म जनयुद्धबारे गफ हान्थ्यौं। बेलाबेलामा अहिलेका माओवादी युवा नेता हेमराज भण्डारी पनि आउँथे। त्यतिखेर उनी नेकपा मसाल दिननाथ शर्माको विद्यार्थी संगठनका नेता थिए। धनकुटाबाट माओवादी खोज्न म काठमाडौं पसेको थिइनँ। तर संयोग आरआरमा माओवादी भेटियो। क्रान्तिकारीले एक बेलुकी नाइट सिफ्ट कमिटी गठन गर्‍यो, म पनि त्यसको सदस्य भएँ। अर्धभूमिगत रूपमा संगठन बनाउने, पोस्टरिङ गर्ने र राति राँके दौड जुलुस निकाल्ने गरिन्थ्यो। कति साथीहरूलाई पुलिसले बैठकबाटै समातेर लैजान्थ्यो। हामी नारा लगाउँथ्यौं, ढुंगा र इँटा हान्थ्यौं– 'पाल्तु कुकुरहरू मुर्दावाद!' यही क्रममा आरआर क्याम्पसमा आगजनीसमेत भयो।

कवि इच्छुक, त्यतिखेर राजविराज कारागारमा हुनुहुन्थ्यो। ललितपुरको भट्टेडाँडामा माओवादीले चौकी आक्रमण गरेको समाचार जनादेश साप्ताहिकमा प्रकाशित गरेको निहुँमा सरकारले ०५६ साल बैसाखमा पक्राउ गरेको थियो। 'किलो सेरा टु', 'कर्डन एन्ड सेर्च अभियान', 'थवाङ' 'जेलवाङ', 'बेथान' 'जलजला', 'सिस्ने' 'अनेकोट' जस्ता शब्द काठमाडौमा खुब स्थापित थिए। यी शब्द सायद काठमाडांैले पहिलोपटक सुनेको हुनुपर्छ। यी शब्दमा उत्पीडित जनको संगठित संघर्षको उद्वेलन तरंगित थियो। मचाहिँ जनादेशको छैटौं पृष्ठमा छापिने कविता र गीतमा विष्फोट हुन्थेँ। सानोमा बैरागी काइँलाका कविता पढेकाले जनादेशका कविता मेरो लागि 'एम्बुस' नै थियो, छोयो कि पडि्कहाल्ने। मलाई थाहा छैन, नेपाली साहित्यका पण्डितहरूले जनयुद्धकालीन कवितालाई कसरी लिइरहेका छन्! तर ती कवितामा भयंकर शक्ति छ। ती कविता फेरि पनि कुनै दिन पड्किन सक्छन्। समाज–राजनीतिक दृष्टिबाट नेपाली कविताले त्यो नवीनता, त्यो शक्ति पहिला कहिल्यै प्राप्त गरेको थिएन। मैले पढेका त्यस्ता कविताका सर्जकमध्ये एक थिए, कृष्ण सेन इच्छुक।

हरेक महिना नेपाल ल क्याम्पसमा हुने साहित्य सन्ध्यामा जान्थेँ। जहाँ माले समर्थक साहित्यकारहरू सक्रिय थिए। एमाले समर्थकको साहित्य सन्ध्या आरआरमा हुन्थ्यो तर हामी माओवादी समर्थकचाहिँ ल क्याम्पसमै जान्थ्यौं। कारण त्यहाँ अलिक क्रान्तिकारी कविता सुन्न र भन्न पाइन्थ्यो। कोही–कोही कवि मित्रचाहिँ दुवै कार्यक्रम भ्याउँथे। इच्छुकलाई मैले त्यहीँ हो पहिलोपल्ट देखेको। उक्त कार्यक्रममा उहाँले 'जेल' कविता वाचन गर्नुभएको थियो। भर्खरै जेलबाट मुक्त हुनु भएर होला निधारमा रातो अबिर लगाइदिएर मञ्चमा कविता वाचनको लागि आयोजकले डाकेको थियो।

'कुनै अनाम देश होस्

अथवा प्रिय स्वदेश होस्

के फरक पर्‍यो र?

मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी

जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।'

मसिनो र तर तिक्खर स्वरमा उहाँको त्यो कविता वाचन मेरो लागि पहिलो र अन्तिमसमेत भइदियो। 'इतिहासको यस घडीमा' संग्रहका कविता कौशलटारको साँघुरो डेरा, अभावमा बाँचेको म र डोलेश्वर दाजुजस्ता कविताका पारखीले वाचन गर्दा संसार जितेजस्तो सास आउँथ्यो र उहाँप्रति त्यसै–त्यसै प्रेम जागेर आउँथ्यो। २०५८ सालमा उहाँको 'बन्दी र चन्द्रागिरी' लामो कविता प्रकाशित भयो। बागबजारको एक पुस्तक पसलमा किन्नुभन्दा अघि उभिएरै पढिसकेँ। पढिसक्दा साँच्ची साम्यवाद आउने रै'छ भन्ने विश्वास पैदा भएको थियो।

युद्धविरामको अवस्था थियो। म शान्तिनगरमा एक पन्जाबीको गार्मेन्टमा पाले काम गर्थैं। लामो कपाल पालेका, रातो गाडीमा सवार पञ्जाबी साहु प्रकाशचन्द्र लोहनीका बहिनी–ज्वाइँ हुन् भन्नेसम्म सुनेको हुँ। चेम्जोङ लिम्बू भएकाले गार्मेन्टका कामदार मलाई 'च्याङ' भनेर बोलाउँथे। त्यसमा पनि गार्मेन्टको रेखदेख गर्ने जनार्दन भाइले त सार्‍है नै 'च्याङ' भनिबस्थ्यो। म विद्यार्थीबाट पूर्णकालीन कार्यकर्ता हुने तरखरमा थिएँ। आन्दोलन क्याम्पस–क्याम्पस चलिरहेका थिए। दिशाबोध मासिकमा मैले ढुंगा हानिरहेको तस्बिर प्रकाशित भयो। जनार्दनले 'इः च्याङको फोटो' भनेर साहुलाई देखाएपछि संकट पर्‍यो। त्यै मौकामा म पूर्णकालीन कार्यकर्ता भएर कीर्तिपुर क्षेत्र गएँ। निजी विद्यालयमा शुल्क मिलान गर्नु, संगठन बनाउनु र समाचार रिपोर्टिङ गर्नु थियो मेरो काम। पत्रकारिताको विद्यार्थी भएकाले पत्रिकामा काम गर्न चाहन्थेँ नै।

०५८ साल भदौबाट प्रकाशन हुन थाल्यो जनदिशा दैनिक। त्यसपछि मेरो कवि इच्छुकसँगको भेट समीपियो पनि के भन्नु! उहाँ कार्यालयमा पातलोमात्रै आउनुहुन्थ्यो। आफ्नै स्वभावले गर्दा अभिवादन साटफेरसँगै आउने 'हाईहेलो'बाहेक त्यस्तो अन्तरंग केही भएन। भित्र मनमा मात्र थाहा थियो– कृष्ण सेन इच्छुक महान् कवि हो तर कति सरल, कति सौम्य। बोलाउँदा नि केही बिगारिएला कि जस्तो।

दसैंताका म गाउँ गएँ। जनदिशा कार्यालयमा फोन गर्दा पो इच्छुक दाइसँग बोल्न पाइयो। उहाँले उताका केही 'फिचर' पनि ल्याउनु भन्नुभयो। अहिले सम्भि्कँदा लाग्छ, सिकारु पत्रकारलाई दिइने 'होमवर्क' नै फिचर हो। गाउँमा बाक्लै माओवादी प्रभाव थियो तर मैले कुनै फिचर उठाउन सकिनँ। ०५८ साल मंसिर ८ गते राति हामी जनदिशा दैनिकको कार्यालय ज्ञानेश्वरमै थियौं। युद्धविराम भंग भएर दाङ सदरमुकाम घोराहीमाथि आक्रमण भयो। साथीहरूले फोनबाट रिपोर्टिङ गरे। फोनमा त लडाइँ चलिरहेको सुनिन्थ्यो। त्यसको भोलिपल्ट बेलुकीजस्तो लाग्छ, जनदिशा कार्यालयमा सेतो पोसाकमा प्रहरी आए र शिव तिवारीलगायतलाई पक्राउ गरे। कमलकुमार एसी र म बाहिर निस्कियौं। त्यसपछिको स्थिति कहालीलाग्दो भयो। किनभने संकटकाल लाग्यो। तीन महिने संकटकालमा पनि जनादेश निस्कन्थ्यो। प्रभात चलाउने र मलगायत कोठामा हप्ताहप्ता दिनसम्म भोकै रहन्थ्यौं। जनादेश आइपुग्थ्यो, विभिन्न सञ्चार गृहमा लुकाएर पुर्‍याउँथ्यौं।

फेरि तीन महिना संकटकाल थपिँदा पशुपति गौरीघाटमा नवराज पुडासैनी र मलगायत सेल्टरमा बस्थ्यौं। विनातालिम पनि हामी काठमाडौमा 'साना' फौजी कारबाही गर्थ्यौं। यसै क्रममा माछापोखरीमा भिजिलान्तेहरूले पुडासैनीलाई समाते। म गौरीघाट सेल्टरमा फर्किंदा कोठा खानतालसी भइसकेको थियो। इच्छुकका संग्रह, मेरा कविताका डायरी र नागरिकता केही थिएन। कोठालाई नराम्ररी भुत्ल्याइएको थियो। घरबेटी दिदी रुनु भयो। विद्यार्थी हौं भनेर एउटै परिवारजस्तो गरेर बसेका थियौं। कहाँ बस्ने केही टुंगो भएन। थाती राखेको आइए दोस्रो वर्षको परीक्षा झल्झली सम्भि्कन थालेँ। कहाँ जाने? नेता गणेश रेग्मीलाई पेजर गरेँ र बिदा मागेँ। एउटा पोलिथिनको झोलामा केही लुगा लिएर फेरि दाजु डोलेश्वर लिम्बूको डेरा कौशलटार फिर्ता भएँ।

पार्टी सम्पर्क हुन सकेन। परीक्षा दिएँ। जनआस्था खुब पढिन्थ्यो। जनादेश, जनदिशा त पढ्न पाउने स्थिति थिएन। मलाई लाग्थ्यो– मबाहेक काठमाडौंमा कसैलाई पनि बाँकी राखेको छैन। अब म क्रान्तिकारी निराशावादमा फसिसकेको थिएँ। बेलुकी भएपछि ढल्ने गरी 'भक्तपुरे' लगाउँथेँ। भट्टीपसलमा पनि कोही नौलो मानिस देखियो भने 'सिआइडी हो कि'जस्तो लाग्थ्यो। ०५९ जेठतिर हुनुपर्छ, जनआस्थाले इच्छुकलाई महेन्द्र पुलिसमा चरम यातना दिएर चोभारमा दोहोरो भिडन्त भएको नाटक गरेर हत्या गरेको समाचार प्रकाशित गर्‍यो। मैले त्यसलाई सजिलै विश्वास गरेँ। किनभने दुस्मनको निकृष्टता मैले पनि अलिअलि बुझैकै थिएँ। बेलुकी भट्टीपसलबाटै मनमनै महान् कविलाई श्रद्धाञ्जली दिएँ। महान् कविकै स्मृतिमा माले अखिलले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागी भएँ। कविताले दोस्रो पुरस्कार जित्यो तर वाचनको क्रममा 'महान् सहिद कृष्ण सेन इच्छुकलाई समर्पित' भन्ने मेरो समर्पण वाक्यचाहिँ रातो धर्काले स्वाट्ट काटिएको थियो।
पहिलोपटक भोट हाल्दै करिश्मा

पहिलोपटक भोट हाल्दै करिश्मा

करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्। मतदाता नामावलीमा नाम नभएर होइन। 'मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु,' उनी भन्छिन्, 'राजनीतिक...

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ। मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्।...

मौन चालले दर्शक नचाउँदै

मौन चालले दर्शक नचाउँदै

काठमाडौं हाँडीगाउँकी अनिता प्रजापतीलाई आठ वर्षको उमेरमा टाइफाइड भयो। त्यसपछि उनका दुवै कान बन्द भए। आवाज सुन्न नसकेपछि उनले बोल्न जानिनन्/सकिनन्। तर उनको नृत्य हेर्ने हो भने उनी सुन्न/बोल्न नसक्ने...

कर्नाली किनारको फूलबारी

कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्,...

पराजयले बढाएको सक्रियता

पराजयले बढाएको सक्रियता

राजनीतिक माहोलमै हुर्किए पनि रेणुकुमारी यादवलाई आफैं राजनीतिमा होमिएला भन्ने लागेको थिएन। २०४३ सालमा युवा अवस्थामै पति अशोककुमार यादवको हत्या हुँदा नाबालक छोरा अभिषेकको लालनपालनदेखि सम्पूर्ण पारिवारिक जिम्मेवारी रेणुको काँधमा...

बालसखाको अन्तिम बिदाइ

शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर...

लेखक पछ्याउँदै

लेखक पछ्याउँदै

एक दशक पनि बितेको छैन। लेखकको काम पुस्तक लेख्नुमात्रै हुँदैनथ्यो। पुस्तक लेखेकै भरमा को लेखक होओस्! आफैं लेख। आफैं छपाऊ। आफैं विमोचन कार्यक्रम राख। अतिथिदेखि दर्शक आफैं डाक। आफूले लेखेर पुग्दैन, कुनै...