Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

नागरिक शनिबार

फेसबुकको 'इन्फो'

  • ६ पुष, २०७०
  • अच्युत अर्याल
  • DISQUS_COMMENTS
(0 votes)
'नमस्ते है नवीन जी, त फर्स्ट बेन्च नै रिजर्भ गरिएछ त!'

आज पनि क्लासभित्र छिर्नेबित्तिकै उनले हाँसेर भनिन्।

तिनको अनुहार नियाल्दै लज्जामिश्रित स्वरमा भनेँ, 'त्यस्तो होइन।' उनी मेरो दायाँपट्टि बसिन्। लोकसेवा आयोगको नायब सुब्बा तयारी कक्षा लिन थालेको पहिलो दिनदेखि नै यी गहँुगोरी युवतीप्रति म धेरै आकर्षित भइसकेको थिएँ। पातलो शरीरमा कुर्तासुरुवाल लाएकी यी ठिटीले पहिलो दिन नै मलाई 'नवीन जी' भनेर बोलाएकी थिइन्। कहिल्यै नदेखेको केटीले मेरो नामै लिएर बोलाउँदा आत्तिएको थिएँ। पछि पो उनले 'तपाईंको कापीमा हेरेर थाहा पा'को भनेपछि ढुक्क भएँ।


नयाँ केटीसँग बोल्न मलाई अप्ठ्यारो लाग्छ। उनले नै आफ्नो नाम मनिषा रहेको र फर्पिङदेखि कक्षा लिनका लागि पुतलीसडकसम्म आउने गरेको बताएकी थिइन्। सुरुमै आफ्नो परिचय दिएकी उनलाई बोलक्कड केटी भन्ठानेको थिएँ। तर, मबाहेक कक्षाका अरू साथीसँग त्यत्ति नजिकिएको देखिनँ। हामी निकट दोस्ती भइसकेका थियौं। उनी दिल खोलेर कुरा गर्न थालिसकेकी थिइन्।

...

'हिजोको फर्स्ट क्लासमा संविधानबारे नोट दिएको थियो रे, हो नवीन जी?' उनीबारे सोच्दैगर्दा उनकै आवाजले झस्कायो।

'मलाई त्यो नोट सार्न दिनुस् न है। टाढाबाट आउनुपर्छ, हिजो पहिलो कक्षा नै छुट्यो।'

उनका लागि अब जे पनि दिन सक्छु जस्तो लाग्न थालेको थियो। जाबो नोटको त के कुरा भयो र! फ्याट्टै भन्दिहालेँ, 'भइहाल्छ नि। आज लिएर जानुस्, सारेर भोलि ल्याउनुस्।'

'के हो नवीन जी, खुब टोलाउन थाल्नुभएको छ। कसैले मन चोर्‍यो कि क्या हो!' उनी मस्किँदै यसो भनिरहँदा म झनै शिथिल बन्न पुगेँ।

'त्यस्तो केही होइन मनिषा जी,' आफूलाई सम्हालेँ।

हो, मेरो मन साँच्चै उनले नै चोरेकी थिइन्। 'सहरमा गएर बाउको पैसामा पढेर मात्र हुन्छ? सरकारी जागिर खा'र देखा न, अनि मान्छु तँलाई!' घर गएको बेला बुबाको यिनै शब्दवाणको प्रहारबाट ढुन्मुन्निएर म सोझै नायब सुब्बाको तयारी कक्षा लिन पुतलीसडक पुगेको थिएँ। त्यहीँ भेटिएकी मनिषाप्रति खै किन हो, म एकोहोरिएको थिएँ।

उनको सामिप्यले कता–कता काउकुती लाग्न थालिसकेको थियो। मेरो विम्बभित्र उनका ती ठूला र गाजलु आँखा सधैं आउन थालेका थिए। राति सुत्ने बेला उनकै यादले निद्रा हराउन थालेको थियो। सपनामा उनलाई नै देख्न थालिसकेको थिएँ।

कक्षा सकिएपछि भनिन्, 'हेर्नुस् न नवीन जी, घरमा भाइलाई एक कल गर्नुपर्ने, मेरोमा ब्यालेन्स नै सकिएछ। प्लिज एक कल गर्छु ल तपाईंको फोनबाट!'

धेरै दिनदेखि आठ रुपैयाँ बाँकी भए पनि जोगाएर राखेको ब्यालेन्सले संकट पैदा भयो। तर उनको लागि जाबो आठ रुपैयाँको के भ्यालु थियो र! आफ्नो मोबाइल उनलाई सुम्पेँ। छोटो कुरा गरेर मोबाइल फिर्ता गर्दै भनिन्, 'ल नवीन जी, बाई। भोलि भेटौंला है।' उनी फटाफट रत्नपार्कतिर हिँडिन्। मोबाइल हातमा खेलाउँदै उनलाई नदेखिउन्जेसम्म हेरिरहेँ।

...

रातको साढे नौ बजेको थियो। मोबाइलमा मेसेजको टोन आयो– 'टिङटिङ, टिङटिङ'। नयाँ नम्बरबाट मेसेज आएको रहेछ।

'हेलो नवीन जी, खाना भो त? म तपाईंले दिएको नोट सार्दै छु। अनि के गरिराखेको नि?'

म खुसीले गद्गद् भएँ। मेसेज मनिषाकै थियो। सायद मेरो नम्बर उनको भाइको रिसिभ्ड कलबाट थाहा पाएकी थिइन्। खुसीको सीमा रहेन, तुरुन्त रिप्लाई गरिहालेँ, 'खाना बनाउँदै छु। लोडसेडिङले ढिला भयो। खाना खाएर सुत्छु होला। मेरो नम्बर कसरी पाउनु'भो?'

एकैछिनमा उनको रिप्लाई आयो, 'तपाईंको नम्बरबाट भाइलाई फोन गरेको थिएँ नि, त्यहीँबाट थाहा पाएँ। आफैं खाना बनाउने कहिलेसम्म? बिहे गर्नुपर्‍यो नि नवीन जी, हेहे ...गुडनाइट!'

अब म 'कन्फर्म' थिएँ कि– मनिषाले मलाई मन पराउँछिन्। उनका ती मेसेज हेर्दाहेर्दै कति बेला निदाएँ, थाहा भएन। त्यस दिनदेखि उनलाई दिनको तीन वटासम्म मेसेज गर्थें र उनी पनि मलाई तत्काल जवाफ फकाइहाल्थिन्। पढाइ सम्बन्धी औपचारिक कुरामात्र हुन्थे। हरेक दिन कक्षामा भेट हुने भएकाले धेरै कुरा मेसेजमा हुँदैनथ्यो। म भने उनीसँग प्रेमको बारेमा, जीवनको बारेमा र रोमान्सको बारेमा कुरा गर्न चाहन्थेँ।

'कत्तिको पढ्दै हुनुहुन्छ? मैले त खासै पढेको छैन।' यस्ता कुरा धेरैजसो दोहोरिरहन्थे। बरु उनी भने पढाइलाई विषयान्तर गर्दै– 'गलफ्रेन्ड छैन? तपाईंलाई कस्तो केटी मन पर्छ?' जस्ता प्रश्न गर्थिन्। प्रत्युत्तरमा रातो अनुहार पार्दै म अवाक हुन्थेँ।

उनको घर परिवार र अरू कुराबारे थाहा पाउने इच्छा लाग्न थाल्यो। उनीसँग सोध्ने आँट मसँग थिएन। एउटा उपाय सु‰यो– फेसबुकमा उनको एकाउन्ट सर्च गर्ने। उनको इमेल एड्रेस थाहा नभए पनि नाम डिस्प्ले भएको लिस्टबाट फोटो हेरेर एकाउन्ट पत्ता लगाउन सकिन्छ!

...

बिहानै साइबर हान्निएँ। फेसबुक खोलेर उनको पूरा नाम टाइप गरेँ। धेरै एकाउन्टको लिस्टमा उनको फोटो चिनिहालेँ। खुसी हुँदै उनका फोटा हेर्न थालेको म अचानक छाँगाबाट खसेझैं भएँ। भनन्न रिंगटा चलेजस्तो भयो। उनको इन्फोमा 'इन अ रिलेसनसिप' थियो, जसको मतलब उनी अरू कोहीसँग प्रेम सम्बन्धमा छिन् (?)

निरास हुँदै साइबरबाट निस्किएँ, कोठामा जान मन लागेन। म यत्तिकै काठमाडौंको धुवाँ र धुलोमा हिडिरहेँ। मेरो मन भक्कानिएको थियो। सम्पूर्ण सपना चकनाचुर भएका थिए। जिन्दगीको मेरो पहिलो प्रेम कोपिला लाग्नुभन्दा पहिले नै कुहिएर झरेको थियो।

भारी मन लिएर कक्षा लिन गएँ। सधैंझैं उनीसँग भेट भयो। मलाई बोल्न मन थिएन। जिस्क्याउने पारामा उनले भनिन्, 'कसैले मायामा धोका दियो कि क्या हो? बोल्नुभएको छैन नि।'

मोरी, धोका त तिमीले नै दियौ नि। त्यही अभागी भाग्यले नै ठगेर होला– यस्तै सोचिरहेँ। उनलाई जवाफ दिने शब्द पाइनँ।

कक्षा सकिएपछि छुट्ने बेला आँट र साहस बटुलेर भनेँ, 'मनिषा जी, मैले तपाईंलाई फेसबुक सर्च गरेँ नि।'

'हो र! तर म फेसबुक त्यत्ति चलाउँदिन।'

जे पर्लापर्ला, भनिदिएँ, 'खै त, हामीलाई अहिलेसम्म लुकाउने, रिलेसन भा'को मान्छेसँग हामीलाई नभेटाउने?'

'हो र? कहाँ लेखेको छ, त्यस्तो? मैले त राखेको छैन त।'

मैले हाँसेर भने, 'फेसबुकको इन्फोमा त्यस्तै लेख्या छ त।'

'लौ मैले राखेको जस्तो लाग्दैन। म त्यसलाई मेटाउँछु नि है। लौ त बाई, ढिलो भयो के।'

उनी सधैंझैं हतार–हतार बाटो लागिन्।

'म त्यसलाई मेटाउँछु नि है...!' यसको मतलब उनी 'रिलेसनसिप' मा छैनन्। मेरो शरीरमा फेरि खुसीको सञ्चार भयो। कानमा सेक्सोफोन र भायोलिनको रोमान्टिक धुन बज्न थाले। मेरो वरिपरि रंगीन बगैचाभित्र गुलाबका सुन्दर फूल देख्न थालेँ। बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले भने मलाई खाएछ भन्ने सोचेर आफैंलाई धिक्कारेँ।

...

मेरो 'कन्पि्कडेन्स' ह्वात्तै बढेर आयो। अब उनलाई प्रपोज गर्ने मुडमा पुगिसकेको थिएँ। राति लोडसेडिङ थियो। मैले उनलाई मेसेजबाट नै प्रपोज गर्ने विचार गरेँ। तर अँाट जुटाउन गाह्रो पर्‍यो। त्यसका लागि सहज वातावरण मिलाउन एउटा मेसेज गरेँ, 'हाई मनिषा जी, फेसबुकको इन्फो मिलाउनुभो त?'

धेरै बेरसम्म पनि उनको जवाफ नआएपछि फेरि मेसेज गरँे, 'के हो मनिषा जी, मेसेजको रिप्लाई पनि नगर्ने?'

केही बेरपछि उनको जवाफ आयो, 'नवीन जी, मिलाउन त मिलाएँ। तर तपाईंलाई एउटा गोप्य कुरा 'सेयर' गर्छु है। त्यो 'इन ए रिलेसनसिप' लेख्याचाहिँ साँचो हो। ऊ एउटा बोर्डिङमा पढाउँछ। उसको नाम विनोद हो र हामी दुई वर्षदेखि प्रेममा छौं। वी आर इन अ रिलेसनसिप के! ल त, गुडनाइट!'

उनका ती मेसेजका प्रत्येक शब्द पटक–पटक दोहोर्‍याएर पढेँ। मेरा आँखाका कुनाबाट चुहिएका आँसुले सिरानी भिजिसकेको रहेछ।
'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...

भोटभन्दा चन्दा माग्ने धेरै

भोटभन्दा चन्दा माग्ने धेरै

'धेरै जना मंसिर ४ को प्रतीक्षामा व्यग्र छन्, मलाई कहिले सकिएला जस्तो भइसक्यो,' व्यवसायी प्रदीपकुमार श्रेष्ठ चन्दा माग्नेले हैरान बनाएपछि यस्तो बताउन थालेका छन्। उनीकहाँ भोट माग्ने भन्दा पैसा माग्ने...

दिल्लीमा नेपाली स्वाद

दिल्लीमा नेपाली स्वाद

नयाँ दिल्ली–गुल्मी खर्ज्याङ– ५, मानकोटका २२ वर्षे बसन्त गाहा मगर तीन वर्षयता चिनियाँ खाना बनाइरहेछन्। गुडगाउँको अग्रवाल होटलमा चिनियाँ खानाको तालिम लिएका उनी नेपाली र भारतीयलाई चिनियाँ स्वाद चखाउन पाएकामा...

गुफाभित्र देवतै देवता

गुफाभित्र देवतै देवता

घुर्मिबाट हलेसी जाँदा जयरामघाटमा दुधकोशी नदी तर्नु पर्छ। घाट वारी ओखलढुँगा पर्छ भने पारी खोटाङ। नदीमा बेलिब्रिज छ जुन बर्खामा झिकिन्छ। घाटबाट ३२ किलोमिटरमा हलेसी महादेव। वर्सेनी हजारौं तिर्थालु हलेसी...

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

सात तले गुफा

सात तले गुफा

धादिङको खाल्टे गाविसको पात्ले पर्यटन गाउँ बन्दैछ। पात्ले होमस्टेमा न्यानो आतिथ्य पाइन्छ। केही दिनअघि हामी पनि त्यहाँ पुग्यौं। होमस्टे अभियन्ता शेरबहादुर गुरुङले गाउँको जानकारी दिए। होमस्टेमा पाहुनालाई घर–घरमा बाँडेर राखिन्छ।