Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

आत्मघाती गोल

  • १३ पुष, २०७०
  • वसन्तप्रकाश
  • DISQUS_COMMENTS
(0 votes)
आत्मघाती गोल
जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब नपाइरहेका क्याप्टेन चौधरी आज निक्कै उत्साही, दंग र फुरुंग थिए। केहीबेरअघि रंगशालाबाट वर्ल्डकप ट्रफी हेरेर फर्किएको हाम्रो टोलीबीच क्याप्टेन चौधरीले भने, 'हामीले नसके पनि समयले सपना पूरा गराइदियो यार!'


खुसी र उत्साहका रंगहरू वास्तवमा नै अचम्म लाग्दा हुन्छन्। बीसौं वर्षदेखि फुटबल खेलेर वर्ल्डकपको यात्रा गर्नु त कता हो कता? उल्टो ट्रफीसम्म देख्न नपाउने लघुताभासलाई बिर्सेर भुइँ न भाँडाका भएका छौं हामी यतिखेर। राष्ट्रप्रमुखको हातमा अनुदीप्त भएर हामी ट्रफी उचाल्दै छौं अहिले। हट लेमन विथ हनी स्याम्पेनमा परिणत भएको छ। कोही लाम्पार्ड, कोही रोनी, कोही फाब्रिगास, कोही मेसी, कोही बेकह्याम, कोही रोनाल्डो त कोही भेरोनको नवीन संस्करणमा छताछुल्ल भएका छौं। पेलेदेखि म्याराडोनासम्मका पूर्व आदर्शहरू छेउछाउ देखिन्छन्। चेल्सी छान्ने कि बार्सिलोना, इन्टरमिलान रोज्ने कि नेपोली, टोटेनह्याम चाहने कि म्यानेचेस्टर युनाइटेड? छनोट र अपेक्षाका सुखद आगत जहीँतहीँ फैलिएका छन्।

'धत् केटा हो! यस्तो पनि सोच्ने? टिम क्याप्टेन चौधरीले झस्काए हामीलाई। अनि उनले थपे, 'कित्ताकाटको क्लब फुटबल होइन? मुलुक उपस्थितिको विश्वकप खेल्नुपर्छ। हामीले सकेनौं त के भयो? भोलि कसैले सक्लान् नि खेल्न। हेर त अस्ति क्रिकेट खेल्नेहरूले विश्वकप खेल्न थालिसके। हामी त आत्मघाती सोच, संस्कार र शैलीले बिग्रेका छौं। सामूहिकताबोधले लक्ष्य निर्दिष्ट भयो भने कुनै पनि प्राप्ति असम्भव हुनेछैन। खेल मैदानमा मात्र खेल्ने र विचार अन्धताले मूढता नदर्शाउने हो भने गन्तव्य धेरै टाढा हुनेछैन। हामी बिग्रेका त केवल फुटबलसँगै व्यक्ति विचार र क्षेत्रीय संकुचनको संगम गराएकोले हो।'

क्याप्टेन चौधरी भन्दै थिए, हामी सुन्दै थियौं। हाम्रो क्याप्टेन वास्तवमा नै हाम्रा लागि त्यस्ता आदर्श पात्र र प्रवृत्ति थिए, जसले कहिल्यै हाम्रो वर्गीय स्वार्थ र संकीर्ण प्राप्तिका खातिर कर्म बिर्सेन। लाखौं–लाखका अफरमा भिन्न–भिन्न क्लबबाट खेल्नका लागि अनुबन्ध गराउन खोज्दा उसले कहिल्यै स्वार्थ–सम्झौता गरेन। व्यक्तिभन्दा टिम र टिमभन्दा राष्ट्रिय–स्वार्थ उसको सधैं खोजी रह्यो। यस्तैमा म सम्भि्कन्छु विगतको एउटा घटनाक्रम।

...

खेल सुरु हुन लाग्यो र अहिलेको राष्ट्रिय गीत बज्यो– 'सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली।'

राष्ट्रिय गीतमा अचेल उहापोह सुनिन्छ। राष्ट्रिय गीतमाथि आ–आफ्नै व्याख्या र विश्लेषण छन्। हामी यही गाउछौं। मलाई यही मन पर्छ। खेलाडी पंक्तिमा दृष्टि लगाएँ मैले। क्याप्टेन चौधरी, स्ट्राइकर शेर्पा र राई, मिडफिल्डर थापा र सुनुवार...। डिफेन्डर कुँवर, केसी र खनाल आदिसँगै गोलकिपर शर्मा।

हामी सबै उभिरहेका थियौं, जसरी एउटा स्वाभिमान उभिन्छ। स्वाभिमानमा हुने तेज, जोस र आत्मविश्वासको त्रिकोणमा हाम्रो टिमले गोप्य मन्त्रणा गर्‍यौं। क्याप्टेन चौधरीले भने, 'ब्वाइज! डु अर डाई, ओ के?'

जितलाई जीवन–मरणको प्रतिष्ठा बनाएर हामी मैदानमा उत्रियौं।

पहिले मैले यी दृश्यांशहरू सम्झेँ। यी सुखद् क्षणहरू अहिले सम्झनामा सीमित छन्। अन्यथा यतिखेर हामीसँग हाम्रै टिम छैन। हाम्रा विश्वासहरू हाम्रो साथमा छैनन्। हामी थाकेका छौं हाम्रै संकीर्णताले। हामी भागिरहेका छौं, हामी हामैबीचबाट। हामी हिँडिरहेका छौं आ–आफ्नै ज्यान बचाएर।

...

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भई फैलिएका मेची महाकाली।

एउटा युवक यही राष्ट्रिय गीत गाउँदै ओरालो झर्‍यो। हामी उकालो चढिरहेका थियौं। हाम्रा आँखा जुधेनन्। हामीले उसलाई राम्ररी हेर्न पाएनौं। राम्ररी नदेखेपछि मान्छे चिन्ने कुरै थिएन। मान्छे नचिने पनि स्वर सुनेको थियो कानले। स्वरका आधारमा ऊ उम्दा गायक हुनसक्ने लक्षणको थिएन। विनास्वर र ताल जीवनमा यस्ता धेरै गीतहरू गाउने प्रशस्त छन्। स्वरले सुरतालको संयोजन नगरोस्, तैपनि मान्छेहरू गुन्गुनाउँछन् गीतहरू।

गाउने हिसाबले हो भने म स्नानगृही गायक हुँ। नुहाउँदा मेरा ओठहरूले गीत गुनगुनाउँछन्। मेरो घाँटी गीत गाउन सगसग गर्छ। सहरवासीहरू मजस्ता गायकलाई 'बाथरुम सिंगर' भन्छन्। म पनि सहरवासी हुने क्रममा बाध्यताले बाथरुम सिंगर भएको हुँ।

मेरो बाध्यता कस्तो थियो भने म जहाँ डेरा गरी बस्थेँ, त्यहाँको बाथरुममा चुकुल थिएन। बाथरुममा चुकुल नभएको पीडाभित्र सुरुमा मैले धेरैपटक आफ्नो नग्न स्वरूप अरूलाई देखाएको थिएँ। आफू एउटा निर्लज्जताको पीडाबीच गुज्रनु पर्दाका ती पलहरू हटाउन मैले गीतको गुञ्जनलाई साथ दिएको थिएँ।

'अहो! कताको कुरोबाट कता लागिएछ। सायद मान्छेले ठिकै भनेका रहेछन्। कुरो र कुलो जता पनि जाँदो रहेछ। कुरो त्यसैले कुलोझैं जहीँतहीँ नलगौं क्यार! अनि कुरोमा कुलोको पानी जस्तै बहाव खोजूँ!

हामी उकालोतिर बढ्दै छौं। उकालो यात्रा कठिन हुन्छ लक्ष्यजस्तै। हाम्रो लक्ष्य थियो जसरी होस् हामीले यो चुरे क्षेत्र काट्नुपर्छ।

'सुन्नोस् न राईजी! अब कति घन्टा हिँड्यौ भने हामीले त्यो समथर भयको त्रासबाट मुक्ति पाउँछौ होला?' हिँडिरहेका मध्येबाट शेर्पाले भने।

'अब त पहाड सुरु हुन लाग्यो। त्यति डर मान्नु पर्दैन। बरु खानेबस्ने ठाउँ नै नपाइने पो हो कि?' राईले जवाफ दिएँ।

सवाल–जवाफ, जवाफ र सवालको खोजीबीच हामी सास फुलाएर हिँडिरहेका छौं। हामी हिँड्न थालेको केही घन्टा भइसकेको छ। कति घन्टा भयो हामी हिँडेको? ठ्याक्कै समयको याद छैन। तर घटनाक्रममा केही उहापोह सम्झन्छु म। समाज, संस्कृति र मान्छेले मान्छे नभएर देखाएका संकीर्णतालाई सम्झन्छु यतिखेर।

राष्ट्रिय गीत सकिएपछि मैदानमा फुटबल सुरु भएको थियो। रंगशालामा खेलाडीहरूको भन्दा बढी जोस दर्शकहरूमा थियो। देशभरका नामी–नामी खेलाडीको सम्मिश्रणमा खेल रोचक र मनमोहक हुँदै थियो। फर्स्ट हाफ सकियो। कसैले गोल गर्न सकेनन्। सेकेन्ड हाफमा पनि गोल भएन। फुटबलमा गोल नहुनु शरीरमा स्फूर्ति नभएजस्तै निस्सार र लाचारलाग्दो हुँदो रहेछ खेलाडीदेखि दर्शकहरूलाई। त्यही निस्सारताबीच १५ मिनेट समय बढाइयो। यो थपिएको समयमा हाम्रो टिमका आफ्नै खेलाडीले आत्मघाती गोल गरे। यत्र, तत्र, सर्वत्र त्यसको निन्दा भयो। त्यस्तैमा कसैले भनिदिएछन्, 'साला पहाडियाले टिम 'बी'सँग मिलेर हामीलाई हराए।'

अप्रत्यासित र अकल्पनीय यो टिप्पणीले प्रायोजित दंगा निम्त्याएझैं भयो। खेलाडी खेलाडीबीच कुटाकुट भयो। दर्शक–दर्शकबीच मारकाट चल्यो। पाइन्ट लगाउनेले कुर्था सुरुवाल च्यातिदिए। गम्छाले कतिपयको घाँटी कसियो। रंगमा रंगको परिभाषा सुरु भयो। छालाले जातपात छुट्यायो। जातपातमा हिंसा थपियो। हेर्दाहेर्दै अघि भर्खर एउटै टिममा खेलिरहेका हामीहरू भागाभाग र कुलेलाम डोक्दै समथरभूमि पार गर्न कस्सियौं।

'फेरि के सोचेछु?' मनमनै झसंग भएँ म। विगतलाई नबिर्सिकन आगत भेट्न सक्ने अवस्थामा हामी थिएनौं। हामीलाई यतिखेर जीवनभर खेलेका र खेल्ने खेलभन्दा आफूले फेर्ने सास प्रिय भएको थियो। साथीहरू भन्दै थिए, ...जबसम्म हामी उः त्यो पल्लो डाँडासम्म पुग्दैनौ, तबसम्म जहाँ जतिखेर जे पनि हुन सक्छ।' मलाई साथीहरूको यो भनाइले झन् त्रसित तुल्याएको थियो।

...

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली...

फेरि राष्ट्रिय गीत गाउँदै अर्को मान्छे तलतिर आउँदै गरेको थियो। यसपटक मैले त्यो मान्छेलाई राम्ररी नियालेँ। यो यतै कतैको बासिन्दाजस्तै लाग्यो मलाई। मान्छेलाई मान्छेका रूपमा नहेरी थातथलो र जातपातको समीकरणमा नाप्नुपर्ने बाध्यताको तराजु उचालेँ मैले र उसलाई रोक्दै भनेँ, 'गीत गाउँदै कतातिर भाइ?'

उसले निसंकोच र निर्धक्क भन्यो, 'सिमरामा फुटबल हेर्न जान लाग्या दाइ।'

फेरि बेजोडले मन दुखायो। जातपात, धर्मसंस्कृति र क्षेत्रीयताको पारोले ननापिने खेलकुद अझ त्यसमाथि पनि खुट्टाले खेलिने सक्रिय खेलमा मन भत्काएर 'बाँच्न' लखतरान हिँडिरहेका हामी खेलाडीहरूले निसंकोच खेल हेर्न चाहने ऊ जस्ता दर्शकहरूलाई कस्तो जवाफ दिने? धर्मसंकटमा परेँ म।

धर्मसंकट र उकालोले मेरो सास झन् फुलिरहेको थियो। ऊ भने उत्साह र ओरालोले बाटो लाग्न हतारिएको थियो। धर्मसंकटमा मान्छेले धेरैबेर आफूलाई राख्न हुँदैन भन्ने लाग्यो मलाई। दोधारे, अनिर्णय र धर्मसंकट उस्तै–उस्तै परिणाम हुन्, जसले कोही कसैलाई कुनै गन्तव्य दिँदैन। जसरी अनिर्णयमा पेनाल्टी सुट आउट हुन्छ या निर्णयका खातिर 'क्वाइन टस'समेत गरिन्छ। त्यही बुझेर म भन्छु, 'भाइ! अहिले त्यहाँ खेल नभएर जातीय, क्षेत्रीय झेल चलिरहेछ। त्यसैले त्यता नजानुस्। हामी पनि त्यहाँबाट ज्यान बचाएर आएका।'

'ज्यान बचाएर भाग्ने काँतरहरू...।' उसले सायद यस्तै सोच्यो क्यार! हेय दृष्टिले हेर्‍यो र दमदार स्वरमा भन्यो, 'खेल हेर्न र खेल्न गएपछि त कि हारिन्छ कि जितिन्छ। कि मरिन्छ, कि मारिन्छ।'

साथीहरू धेरै अगाडि पुगिसकेका थिए। अन्यथा उसको कुराले मलाई छोएको थियो। परबाट साथीहरूले मलाई बोलाए। सामूहिकताबोधमा मैले एकलकाँटे हुन सकिनँ। तैपनि भोगाइको दारुण अवस्थालाई प्रस्ट्याउँदै उसलाई भनेँ, 'तैपनि होस गर्नुस् है भाइ।'

ऊ गीत गाउँदै ओह्रालो झर्‍यो–

'प्रकृतिका कोटी कोटी सम्पदाका आँचल

वीरहरूको रगतले स्वतन्त्र र अटल।'

वातावरणमा प्रकाश अँध्यारिँदै थियो। साथीहरू पर–पर थिए। म वर–वर हुने कोसिसमा थिएँ। मैले हामीहरूले पार गरेको उकालोबाट ओह्रालोतिर हेरेँ। तल फेदीतिरबाट एक युवक आउँदै गरेका देखिए। उसले मलाई हातको इसारा गरेर रोकिन अनुरोध गर्‍यो। युवक केही परिचित शरीर र हिँडाइ कोही आफ्नै मान्छेको झैं लाग्यो।

ऊ उक्लिँदै थियो। म पछाडि हेर्दै उकालो चढ्दै थिएँ। पछाडि हेर्नुमा दुईवटा कारण थिए। एक, भर्खरै आक्रमण र प्रत्याक्रमण बेहोरेको मलाई कहीँ कसैबाट फेरि बर्बर प्रहार र ज्यादति व्यवहार हुन्छ कि भन्ने डर थियो। दोस्रो, एक्लै यो निर्जन क्षेत्रमा आउँदै गरेको त्यो युवकलाई म साथ दिएर राहत दिने पक्षमा थिएँ।

यस्तैमा मैले साथीहरूलाई भेट्टाएँ पर उकालोको घुम्तीमा। साथीहरूले मलाई सचेतता र खबरदारी नदेखाएकोमा आक्रोश पोखे केहीबेर। मैले उनीहरूलाई अघि भेटिएका भाइ र उकालो चढ्दै गरेको युवकको कुरा सुनाएँ।

हामी सुस्ताउँदै थियौ, थकित बटुवा सुस्ताएझैं। हामीले थोरै उत्साह पायौं, पहाड भेटिएकोले। हाम्रो निर्जन हिँडाइ र अप्रत्यासित भोगाइबीच हामी ज्यान बचाउने लक्ष्यको धेरै निकट थियौं। प्रकाश अँध्यारिनुसँगै साँझ पर्‍यो।

'ओई! ग्वाँचे मिडफिल्डर, साले आफ्नो साथीलाई छाडेर भाग्छस्?' एक्कासि हाम्रो टिम क्याप्टेन चौधरीको स्वर सुनियो। मलाई मात्र होइन हामीलाई अचम्म लाग्यो। हामी हैरानमा पर्‍यौं।

'तिमीहरू साला खत्तम छौ यार! मैदानमा क्याप्टेनलाई छाडेर भाग्ने भगुवाहरू।' फेरि क्याप्टेन चौधरीले भन्यो।

'चौधरी...।' म केही भन्न खोज्दै थिएँ। उसले ड्याम्म मलाई ढाडमा पिट्यो र भन्यो, 'अरूले नचिने पनि तँ ग्वाँचे, तँ नाकचुच्चे। तँ साला त मेरो बच्चैदेखिको साथी होइनस्? क्याप्टेन चौधरीले दुखेसो पोख्यो।

'चौधरी! के गर्ने यार, सबैतिरबाट पहाडियाहरूको मारो... मारो... भन्न थालेको सुनियो। अनि हामी!' म बोल्दै थिएँ। फेरि उसले बीचैमा कुरा काट्यो र भन्यो, 'दर्शक र अन्य खेलाडीहरूले के भन्छन्, त्यसको के चासो तिमीहरूलाई? तँ हामीले खेल्ने होलीको रंगमा कहिल्यै कुनै फरक थियो? हामीले लिने सपथ र सिकेको अभ्यासमा कुनै जातीय विभेदको सूत्र र शैली फरक थियो।' ऊ बोलिरहेको थियो। उसले फेरि थप्यौं, 'हामी र हाम्रो टिम मिल्यौं या मिल्न सक्यौं भने...।' बोल्दाबोल्दै क्याप्टेन चौधरी हामीबीच ढल्यो। हामीले उसलाई उठायौं। उसलाई उठाउँदा मेरो आँखा उसको शरीरमा पर्‍यो। उसको शरीरभर जहीँतहीँ कुटपिटका दागहरू छरपस्ट थिए।
‘अधिकारप्राप्तिको हतियार राजनीति'

‘अधिकारप्राप्तिको हतियार राजनीति'

कमला रोक्का बहुदलीय व्यवस्थापछि राजनीतिमा छिरेकी हुन्। रुकुमको प्वाँङमा जन्मेकी उनले इच्छा हुँदाहुँदै पनि पढ्न पाएकी थिइनन्। यही बखत कम्युनिस्ट आन्दोलनका नाराले उनलाई साह्रै छोए। ‘महिला–पुरुष समान अधिकार' जस्ता वाक्य...

समय र लेखकको तस्बिर

झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...

भर्चुअल दुनियाँमा साहित्य

भर्चुअल दुनियाँमा साहित्य

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित...

'अझै कति गम्भीर भइदिनु मैले?'

'अझै कति गम्भीर भइदिनु मैले?'

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

धन्न धानेका छन् विभागीयले

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...