24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

ताजमहल, गगल र 'मिस्टर नो-अल'

  • १३ पुष, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
ताजमहल, गगल र 'मिस्टर नो-अल'
ताजमहल औधी सुन्दर छ भन्ने वाक्यबाट यो आलेख सुरु भयो भने नपढिने खतरा छ। सबलाई थाहा भएको तथ्य लेखिरहनुको अर्थ रहेन। सूर्य पूर्वबाट उदाउँछ भनेर दोहोर्‍याइरहँदा कसलाई पो जङ चल्दैन र! दसकौंपछि आगरा नगरी पुग्नेहरू अभागी हुन्। उहिलेका लेखकले ताजमहलबारे लेख्न केही बाँकी राखेनन्।


नेपाल र भुटानबाट ताजमहल हेर्न आएका पन्ध्र सूचना–सुराकी बसमा हल्ला गर्दै चढेका छन्। मानिसहरू यिनलाई 'पत्रकार' नाउँले सम्बोधन गर्छन्।

पुस ६ गते– भारतको राजधानी नयाँ दिल्लीबाट नोयडा, अलीगढ, मथुरा हुँदै दुई सय किमी हुइँकिएपछि हामी आगरा आइपुगेका छौं। उत्तर प्रदेशको यो पुरातन सहर मुगल सम्राट शाहजहाँले दिवंगत पत्नी मुमताज–प्रेमको चिनो रहोस् भनी बनाएको ताजमहलकै कारण नामी छ। आधुनिक विश्वका सात आश्चर्यमध्ये एक मानिने ताजमहलबारे गन्थन यत्तिमै बन्द गर्नु उचित हुन्छ।

देखिएको ताजमहलबारे यहाँ पुग्ने नपुग्ने सबलाई थाहा छ। स्कुलको वार्षिक परीक्षा लेख्नेदेखि लोकसेवाको जाँच दिनेसम्मलाई थाहा छ। नदेखिएको ताजमहल सघन कुहिरोभित्र पुरिएको छ। शीतयामको जाडो आगरामा शीतलहरसहित उपस्थित छ।

आगरा पुग्दा–नपुग्दै एउटा ठूलो ट्रकले हामी चढेको बसलाई एकैछिन बाटो छेक्छ। ट्रकको पछिल्तिर लेखिएको छ– लालु यादव। भारतीय सत्ता राजनीतिका नामुद खेलाडी लालु यादव भर्खरै जेलमुक्त भएका छन्। भारतीय राजनीति वृत्तमा यस्सै दुईचार रेक्टरस्केलको भुइँचालो गएको छ। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का रोबरवाफसहित जेलमुक्त भएको घटना सम्झाउन यो पर्याप्त छ।

कम्तीमा प्रेमनगरी पुगेका मौकामा राजनीतिका कुरा नगरुँ भन्यो, प्रेम आफैं राजनीति गर्न आउँछ।

नेपालका पाँच छापा पत्रकार र भुटानका दस गरी पन्ध्र जनाको यो टोली भारतीय विदेश मन्त्रालयका सहचारी नवाङ ग्याल्सो भुटियाको नेतृत्वमा ताजमहल हेर्न हिँडेको हो। बसभित्रको लोकतन्त्रमा छेडखानी वर्जित छैन। यो तथ्य भुटानी पत्रकारलाई राम्रैगरी थाहा छ। सन् २००८ को चुनावसँगै भुटानमा लोकतन्त्र किस्ताबन्दीमा प्रवेश गरेको छ। भुटानी पत्रकारका अनुसार भुटानी प्रेसमा अहिले सेन्सरसिप छैन। त्यहाँका पत्रकार असाध्यै बु‰झकी छन्। आफैं सेल्फ–सेन्सर गर्छन्।

एक हुल सुँगुरका पाठा हाम्रो बाटोमा तगारो हाल्छन्। भुटानकी एक पत्रकार चकित पर्छिन्, 'हाम्रो देशमा त सुँगुरलाई छाडा छाड्दैनन्, खोरमा हुल्छन्।' उनलाई थाहै छ– भारत विश्वकै ठूलो लोकतन्त्र हो।

ताजमहल हुस्सु, कुहिरो र तुवाँलोभित्र हराएको छ। थाहा छैन, यी तीन चीज मिसिएपछि के बन्छ!

यो हुस्सु–प्रदेशमा मार्चपछि चिच्याटलाग्दो गर्मी हुन्छ भनेर कल्पनामात्रै गर्न सकिन्छ। यथार्थचाहिँ त्यही हो। बाहिर खपिनसक्नु चिसो छ। बसभित्रका गोर्खे लोग र डुक्पाहरू भने सित्तैमा उपलब्ध कोक फ्रिजबाट फटाफट निकाल्दै छन्। ठाडो घाँटी लगाएर तन्तनी दन्काइरहेछन्। बाहिरी तापमान माइनस सेन्टिग्रेडमा गएको उपलक्ष्यमा कोक उडाउनु ठूलै घटना हो। यही बेला नेपालमा पत्रकार केदार शर्माले भने काठमाडौंमा ल्याइएको फिफाकपभन्दा प्रायोजक कोकको बढी प्रचार भएको आक्रोशमा छ महिना कोक नपिउने फेसबुके धम्की दिएछन्। आगरा पुग्न लाग्दा डुक्पा र गोर्खे पत्रकार उखान तोडमोड गर्दै छन् :

नपाउनेले कोक पायो, उमालेर खायो

नपाउनेले कोक पायो, कोकमात्रै खायो

नपाउनेले कोक पायो, दूध हालेर खायो

नपाउनेले कोक पायो, थालमा राखेर खायो

नपाउनेले कोक पायो, बोत्तलसँगै खायो

निरीह हाँसोबीच सूचनासुराकी मित्रहरूको घाँटीमा कोक सर्किन्छ।

...

एक नेपाली पत्रकार मित्र दौरासुरुवाल र कोटमा टिमिक्क कस्सिएका छन्। भादगाउँले टोपीमाथि चन्द्रसूर्य झन्डा फहराइरहेको छ। राष्ट्रियताको पुनर्परिभाषा हुनुपर्ने बहस सघन बन्दै गएका बेला पोसाकले मित्रहरूलाई दुई ध्रुवमा बाँड्ने नै भयो। झगडिया नम्बर एक भन्छन्– यो त पहाडे राष्ट्रवाद भयो। झगडिया नम्बर दुई भन्छन्– कहाँ हुनु, यो त समग्र नेपाली राष्ट्रवाद भयो। भुटानी मित्रहरू कुरोको चुरो फेला नपारेर पक्क परिरहेछन्। उनीहरूको देशमा पुरुषहरू 'घो' लगाउँछन्, महिलाहरू 'किरा'। सात लाख जनसंख्या भुटानी भएको देशमा दुई लाख त अझै पनि नेपाली जाति नै छन्। ती पनि घो र किरामा सजिन पाएकामा जबर्जस्त मख्ख छन्। राष्ट्रवाद इँटा काट्ने मेसिन हो, त्यसले जस्तासुकै माटोलाई पनि एउटै 'फर्मा' मा काँटछाँट गर्छ।

नेपालमा पहिचानको आन्दोलनको विरोध गर्ने महोदयहरू भुटानमा भने नेपाली जातिले पहिचानका लागि लड्नुपर्ने अड्डी कस्छन्। निश्चित रूपमा यिनीहरूको पनि जय होस्!

ताजनगरीमा कुहिरो अनन्त, असरल्ल जारी छ। बसबाहिर चर्मचक्षुले भेउ नपाउने गरी कुहिरो छ। बसभित्र अन्तर्चक्षुले मेसै नपाउने गरी बहसको बादल मडारिइरहेको छ।

पत्रकारले नजानेको कुरो केही छैन। यीमध्ये एक–दुई 'मिस्टर नो–अल'हरू अलिअलि नै सही, सबैथोक जान्दछन्। यी 'नो–अल महोदय'हरूलाई 'गुगल महोदय' भन्दिए पनि हुन्छ। यीसँग जस्तासुकै प्रश्नको पनि ट्याक्क रेडिमेड जवाफ छ। सायद धेरै जान्नेमा गुगलपछि दोस्रो–तेस्रो नम्बरमा यिनकै नाम आउँछ। फरक यत्ति हो– यिनीहरू जति पनि ज्ञान वितरण गर्छन्, पहिले पनि कतै सुनेसुनेजस्तो लाग्छन्।

पंक्तिकारलाई थाहा नभएको होइन, क्रिसमसको छेकमा सान्ता क्लसको टोपी उनेको गुगलबारे यस्तो क्रूर टिप्पणी गर्नु कति खतरनाक छ! तर अचाक्ली भएपछि केही त बोल्नै पर्‍यो। यसलाई यो पीडितको आखिरी चित्कार मान्दिए पनि भयो।

हामी वीरांगना झलकारी बाइको स्मारकअघिल्तिर आइपुगेका छौं। भक्तपुरे शैलीका जस्ता लाग्ने घरहरू दायाँबायाँ जताततै देखिन्छन्। कुहिरो केही फाटेजस्तो भएको छ। बस–बहस पनि ताजपरिसरको सौन्दर्यले वशीभूत भएर सानोतिनो 'कू' मा परेको छ। तैपनि एक 'नो–अल' महोदयले उहिल्यै प्रसिद्ध वाणीलाई आफ्नैजस्तो बनाएर ठोकिदिए– 'सबै राजामहाराजाहरू युद्धबाटै जन्मिन्छन्।'

हो र बाबै!

'नो–अल' अर्थात् गुगल महोदयहरू कुनै विषयको उठान भयो कि तर्क, बहस गर्दैनन्, सिधै फैसला सुनाउँछन्। अरूले कि कान थाप्नुपर्‍यो, कि त कानमै रुवा खाँद्नुपर्‍यो। भुटानी मित्रहरूले गुगल ज्ञान लिने जोेखिम उठाएनन्। कानमा इयरफोनको ठेँडी घुसारेर आगराको तुवाँलो हेर्नमै मस्त भए।

...

ताजमहलमा हाम्रा गाइड छानिए बबी। गाइड पनि त एक प्रकारको गुगल नै हो। जे चाहियो, सर्च गर्‍यो, दंग पर्‍यो। तर यी वैकल्पिक ज्ञानवाले गाइडमाथि नलेखी यो लेख तुर्‍याइयो भने इतिहास र सभ्यतामाथि अन्याय हुनेछ।

बबीको वास्तविक नाम आरिफ खान हो। 'बबी'चाहिँ उनको ग्लोबल भर्सन रे! ग्लोबलाइज्ड युगमा आरिफ चल्दैन रे! उनका व्यंग्यवाणी।

आरिफका दुइटा हुलिया छन्। तर काम भने एउटै छ। ताज महलका यी बिन्दास 'टुरिस्ट गाइड'सँग मानिसको कान ध्यानलाई सतप्रतिसत एकत्रित गर्ने कला छ। हिप्नोटाइज गरेबराबर व्याख्यान दिन्छन्, ताजमहलको। सधैं एउटै लेक्चर दिँदा दिँदा हैरान हुनुपर्ने हो। सधैं एउटै कुरा, टेपरेकर्डजस्तो।

आरिफसँग सिधा जवाफ छ, 'भन्नुपर्ने कुरा एउटै भएर के भयो त! सुन्ने मानिस त सधैं नयाँ नयाँ हुन्छन् नि!'

मनासिब।

चालिस वर्षका हंसमुख आरिफ पर्यटकलाई एउटा कुरा भन्न छुटाउँदैनन्– शाहजहाँले कलाकार मारेको होइन। मुगल साम्राज्य हराएपछि ब्रिटिसले हल्ला चलाएको हो।

मुमताजको सम्झनामा शाहजहाँले देश–परदेशका किमती कालिगढ बोलाएर असली मार्बलबाट ताजमहल बनाउन लगाए। पूर्णचन्द्र खुलेको दिन चमचम चम्किने यस्तो दरबार उप्रान्त कसैले पनि बनाउन नसकून्, यिनै कर्मीले पनि फेरि बनाउन नसकून् भनेर शाहजहाँले तिनको हात काटिदिएको सर्वत्र सुनिन्छ। आरिफलाई यस्तो प्रचारले चोट परेको छ।

'विदेशीले हाम्रो मुगल इतिहासको दुष्प्रचार गरे, शाहजहाँले तिनीहरूसँग ससम्मान सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए, राम्रो तलब दिएका थिए,' हिन्दी, उर्दु र अंग्रेजी मिसाउँदै उनले पंक्तिकारसँग भने, 'हिन्दु र इस्लामबीच पनि प्रचार गरेजस्तो विवाद थिएन, उः त्यहाँ हेर्नूस्, मस्जिदसँगै मन्दिर पनि छ। मुगलका बेला हिन्दुहरू दरबारभित्र पूजा प्रार्थना गर्न पाउँथे।'

आरिफ थप्छन्, 'ताजमहल र शाहजहाँको बदनाम गर्न सिनेमासमेत बनाएछन्। तिनले धर्म गरेनन्।'

एक छोरी र एक छोराका चालिस वर्षे यी पिताले चार महिना पर्यटक गाइड तालिम गरेर यो पेसामा छिरे। राम्रो 'पर्फमेन्स'पछि सरकारी गाइडमा नियुक्त भए। उनको सरकारी जागिर रमाइलो छ– हरदिन ताजमहल आउनु, पर्यटकसामु भट्याउनु। थप, ताजमहलबारे व्याप्त भ्रम निवारण गर्नु।

शाहजहाँको भव्य भवन देखेपछि नेपालबाट गएका एक पत्रकार सहकर्मीले वक्तव्य दिए– 'हाम्रो देशको दरबार पनि यस्तै राम्रो छ।'

आरिफले तु फर्काए– 'तर त्यहाँ त फलानो राजकुमारले सबै खत्तम गर्‍यो भन्छन्।'

त्यो फलानो राजकुमार को हो भनेर ठाडै लेख्न अप्ठ्यारो पर्‍यो। जसलाई थाहा छ, भन्नै पर्दैन। जसलाई थाहा छैन, भन्न मिल्दैन।

हिउँदे कुहिरोले सेत्ताम्मे आगरामा कुनचाहिँ ताजमहल हो भनी खुट्याउन गाह्रो हुनेगरी फेरि तुवाँलो ओइरियो। अब त झपक्कै साँझ पर्न पनि लाग्यो। आगराबाट फर्कने बेला भयो। राजा अकबरको समाधि भएको फत्तेपुर सिखरी जाने योजना तुहियो।

ताजमहलका नयाँ शाहजहाँ र मुमताजलाई बिदा गर्दै बस चढ्न लाग्दा दुई सय रुपियाँ गोटाको पुन्टे 'ताजमहल' बेच्न एक हुल यार आइपुगे। ताजमहल किनबेचका लागि ठूलै बार्गेनिङ चल्यो। साथीहरू मोलतोल गर्न कस्सिए। दुई सयमा ताजमहल पाउँदा को पछि हटोस्!

मित्रहरूले गर्नुसम्म बार्गेनिङ गरे।

'पचासमा दिने?'

'सय।'

'ल साठी भयो।'

त्यही बीचमा अर्को ताजव्यापारीले सहमति भाँड्यो।

'ताजमहल : वन्ली फिफ्टी।'

...

अघिल्लो साता हामी दिल्ली ओर्लिदै गर्दा टिभीको स्क्रोलमा भाजपा नेता नरेन्द्र मोदी कुदिरहेका थिए। गुजरातका यी मुख्यमन्त्री केही महिनापछि हुने लोकसभा चुनावमा प्रधानमन्त्री प्रत्यासी हुन्। मोदी ताजनगरीका मुख्यमन्त्री अखिलेश यादवलाई ललकार्दै थिए– मैले गुजरातमा जति गरेँ, त्यति अरू प्रदेशमा विकास भएको छ? उत्तर प्रदेशमा भएको छ?

ताज प्रदेशका मुख्यमन्त्री अखिलेश यादवको टिप्पणी रोचक थियो– मोदी व्यापारी हुन्। यिनलाई जे पनि मैले गरेको हुँ भन्ने लत बसेको छ। कुन दिन यो ताजमहल पनि मैले बनाइदिएको हुँ भन्न बेर छैन।

आज राजनीति र व्यापारको संगम बनेको ताजनगरीमा 'अर्गानिक प्रेम' भेट्टाउन कुहिरो मजैले पन्छाउनुपर्छ। यही बेला ताजप्रदेशमा प्रेमको ओबिचुअरी लेख्न कोही तयार हुन पनि सक्छ। त्यो मानिस को होला, सायद यसको जवाफचाहिँ गुगल महोदयहरूसँग छैन।
नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

शून्यबाट सभासदसम्म

शून्यबाट सभासदसम्म

आठ वर्षको उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कमलरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। दाङ लक्ष्मीपुरकी उनी मुक्त भएपछि ढुक्कले बसिनन्, आफूजस्तै अन्य कमलरीको मुक्ति–अभियानमा होमिइन्। जमिनदारकहाँ पाएको...

सिद्धान्तका कुरा

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

राउन्ड अन्नपूर्ण पदमार्गमा बर्सेनि हजारौं विदेशी पदयात्रा गर्छन। लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ–ला, मुक्तिनाथ, जोमसोम, तातोपानी, पुनहिल हुँदै वीरेठाँटीसम्मको यात्रा। कोही–कोही बेनीतिर पनि निस्कन्छन्। बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म र बेनीबाट मुक्तिनाथसम्म...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

क्रिसमसमा रमाइलो

क्रिसमसमा रमाइलो

विश्वमा मनाइने क्रिसमस हामीले पनि रमाइलो गर्दै मनायौं। त्यस दिन फरक हाँसो, जाँगर, स्फुर्ति र जिज्ञासा थियो। कार्यक्रममा एकपछि अर्को गर्दै स्वागत गीत, आइ.एम.लिटिल स्टार, जिङ्गलबेल, वाकावाका र नेपाली नृत्य...

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...