Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

तनहुँसुर एक्सप्रेस

  • १३ पुष, २०७०
  • अमृत भादगाउँले
  • DISQUS_COMMENTS
(1 Vote)
तनहुँसुर एक्सप्रेस
दमौलीका बृखराज श्रेष्ठ तनहुँसुरमा जन्मे। त्यहीँ उकाली/ओराली गर्दै हुर्के। एसएलसीपछि कलेज पढ्न धरमपानीबाट बेंसी दमौली झरे। कुरा २०२५ सालको। त्यही वर्ष तनहुँको सदरमुकाम बन्दीरपुरबाट दमौली सारिएको थियो। सदरमुकाम सर्ने हल्ला भने ३–४ वर्ष पहिल्यैदेखि चलेको थियो।


उत्तरी डाँडो तनहुँसुरबाट बृखराजझैं धेरै बेंसी झर्न थाले। हेर्दाहेर्दै ६० घर नेवार रहेको तनहुँसुरका लगभग सबै बसाइँ सरे। दमौली, पोखरा, काठमाडौं र चितवन पुगे। आज तनहुँसुर हटियाका चार घरमा मात्र नेवार छन्। बाँकी घर खाली। बस्ती नै उजाड।

कति घर भत्किसके। कति भत्कने अवस्थामा छन्। दमौलीमुन्तिर मादीमा धेरै पानी बगिसक्यो। तनहुँसुरबाट झरेका नेवार व्यापारमा चम्केका छन्। बृखराज पनि समयक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष भए। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बने। बुढ्यौलीमा आइपुग्दा जन्मथलोको सम्झनाले उनलाई चिमोटेको छ।

अचेल उनी तनहुँसुरका कुरा गर्छन्। जन्मथलो विकासमा योगदान गर्न उनको अध्यक्षतामा २०६८ मंसिरमा तनहुँसुर दमौली सम्पर्क मञ्च गठन गरियो। मञ्चले तनहुँसुरलाई पुनर्जीवन दिने सपना देखेको छ।

'तनहुँसुरलाई ब्युँताउन हामी संगठित भएका हौं,' ६४ वर्षे श्रेष्ठ भन्छन्, 'बाँझो जग्गालाई हराभरा बनाउन र गाउँलेको जीवनस्तर उकास्न गाउँमा कृषि सहकारी खोल्दै छौं।'

उनको पुर्ख्यौली घर बेचेको धेरै वर्ष भयो। तनहुँसुरसम्म कच्ची मोटर बाटो पुगेको छ। दुई वर्षभित्र डाँडासम्म कालोपत्रे हुनेछ। बुढेसकालमा गाउँ फर्कने सोचमा छन् उनी। ६ महिनाअघि उनले डाँडामा चार रोपनी जग्गा किने। किन किनेको? 'सडक पिच भएपछि त्यहाँ एउटा घर बनाउँछु,' उनी कारण खोल्छन्, 'दमौलीको गर्मी छल्न तनहुँसुर जान्छु।'

उनी गाउँमा सुविधायुक्त होटल खोल्ने धुनमा छन्। १८ वर्षको लर्के जोवनमा बेंसी झरेका बृखबहादुरमा झैं अरू गैरआवासीय तनहुँसुरेमा पनि जन्मथलोप्रति मोह जाग्दै छ। उनीहरू जागरुक भए तनहुँसुर चम्कन बेर लाग्दैन। हटियाका बालकुष्ण श्रेष्ठहरू भने दुई वर्षअघिदेखि नै गाउँलाई पर्यटन गन्तव्य बनाउन कस्सिएकै छन्।

विगतमा त्यस्तै अवस्था थियो बन्दीपुरको पनि। सदरमुकाम सरेपछि भुताहा सहर बनेको थियो। तर, २०५० सालदेखि गैरआवासीय बन्दीपुरेको अगुवाइमा शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा हातेमालो गरेकाले छोटो समयमै बन्दीपुर पर्यटकीय गन्तव्य बन्यो। त्यसबाट तनहुँसुरले सिक्नुपर्छ।

त्यो पहाडी गाउँमा पनि पुगेँ पुस १० गते। दमौलीका गीतकार दाइ सागर उदासलाई पछ्याउँदै पृथ्वीराजमार्गको घाँसी कुवाबाट पदयात्रा गरेँ। सागर दाइको संस्था गण्डकी वाङ्मय प्रतिष्ठानले बैसाख १३ गते तनहुँसुरमा बृहत् साहित्य पर्यटन यात्रा गरेको थियो। पर्यटन प्रबर्द्धन गर्न आयोजित यात्रामा सयभन्दा बढी कवि/लेखक जुटेका थिए।

घाँसीकुवा, शेरा, बेल्टारी, रातमाटा, चिसापानी, धरमपानी हुँदै तनहुँसुर पुग्न तीन घन्टा। उकालीमा ठाउँ–ठाउँमा बरपिपल चौतारी छन्। धारामा चिसो पानी। सुन्तलाका बुटा पहेँलपुर। लटरम्म। रसिला। स्वादिला।

तनहुँसुरमा गंगालीथोक, पत्यारथोक, हटिया, चण्डिनीथोक, भोटिनीथोक, सिम्पानी आदि गाउँ छन्। हटिया नेवार बस्ती हो भने सिम्पानी खड्गी समुदायको। अरू गाउँमा मगर छन्। देशका अन्य गाउँमा जस्तै यहाँ पनि युवा छैनन्। विदेशिए ती। गाउँमा बूढाबूढी र केटाकेटीमात्रै छन्।

गाउँमा तीनवटा अग्ला थुम्का (त्रितुङ)छन्। त्यसको बीचमा दरबारको भग्नावशेष छ। त्यहाँ चौबिसे राजाले शासन गरेका थिए। पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा भृंगी सेन पहिलो राजा। उनको शासनकाल विसं १६१० देखि १६२८ सम्म। पछि अरू ८ जना राजा भए। अन्तिम राजा हरकुमार दत्त सेनले विसं १८२७ देखि १८३९ सम्म शासन गरे। २३० वर्षसम्म तनहुँको राजधानी तनहुँसुर थियो।

त्यति बेलाको इतिहास सम्झाउने टुँडिखेल, गढी, हात्ती बाँध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसाँघु, जारकाटे ढुंगा आदि छन्। विष्णु, चण्डीदेवी, कालिका, भीमसेन, विन्ध्यबासिनी, भगवती र खड्गमाई मन्दिर छन्। केही समयअघि पुरातत्व विभागले दरबार क्षेत्र उत्खनन् गरेको थियो। दरबारपर पुरानो तोप छ। खुला आकाशमुनि तारबारभित्र राखिएको छ त्यसलाई।

दरबार क्षेत्रमा चैते दसैं मेला लाग्छ। ऐतिहासिक हिसाबले मात्र होइन, प्राकृतिक सौन्दर्यले पनि तनहुँसुर धनी छ। थुम्काबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, लमजुङ हिम शृंखला देखिन्छ। सूर्योदय र सूर्यास्त हेर्न अन्त जानु पर्दैन। चराचुरुंगीप्रेमी पनि रमाउन सक्छन्।

दरबार उकालिने गोरेटो छेउमा शिलिङे फुलको चौतारो छ। बडा दसैं र चैते दसैंमा त्यो रूखमा सेता मसिना फूल फुल्छन्। तनहुँसुरमा फुल्दा गोरखामा बस्नेहरूको नाकसम्म बास्न पुग्थ्यो भन्ने भनाइ छ। राजाले काशीबाट बिरुवा ल्याएर रोपेका रे।

वनमा चितुवा, भालु, खरायो, दुम्सी, मृग, वन बिरालो पाइन्छ। बिहान गाउँमुन्तिरको चुँदी भ्याली हुस्सु र कुहिरोले ढपक्कै हुन्छ। ह्वाइट लेक बन्छ। त्यो दृश्यले मन छुन्छ। चैत–बैसाखमा गुराँसले वन राताम्मे हुन्छ।

बर्खाबाहेक सधंै घुम्न सकिन्छ। तनहुँसुरको उचाइ १,२२० मिटर। वर्षैभरि जाडो हुन्छ। चैतमा समेत सिरक ओढ्नुपर्छ।

युवाविहीन भएकाले गाउँका भीर–पाखा बाँझै छन्। धान, कोदो, मकै मुख्य बाली हुन् भने पिँडालु, तरुल, सिमी, मास, बोडी, मस्याङ, अदुवा पनि राम्रै उत्पादन हुन्छ। फलफूलमा सुन्तला खेती राम्रो छ।

गाउँमा होटल, लज छैनन्। पर्यटकलाई होमस्टे सुविधा छ। हामी तनहुँसुर पर्यटन विकास समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठको घरमा एकरात बस्यौं। २०६८ मा समिति गठन गरेपछि उनीहरूलाई पर्यटन कार्यालय पोखराले ५ लाख रुपैयाँ दिएछ। त्यसबाट दरबार जाने सिँढी र सेड बनाएको श्रेष्ठले सुनाए। पर्यटनमा जुट्न शंकरनारायण श्रेष्ठ, रामचन्द्र पोखरेल, डा. प्रेम शर्मा, शेखर थापालगायतले हुटहुटी बढाएका रहेछन्।

गाउँमा एकैरात ३० जनासम्म बस्न सक्छन्। मगर र नेवारका घरमा होमस्टे गराइन्छ। मगर चेली बिन्दु थापाले माइतीघरमा होमस्टे चलाएकी छिन्। उनले पाहुनाका लागि दुई कोठा छन्। समूहमा आउनेहरू मेनुअनुसार सस्तोमा खाना खान र बस्न सक्छन्। एक–दुई जनामात्रै आउँदा भने एक हजार रुपैयाँको प्याकेज किन्नुपर्छ। प्याकेजमा साँझको खाजा, डिनर, बास, ब्रेकफास्ट र लन्च सुविधा हुन्छ। समूहमा आउनेलाई गाउँले कौरा, ‰याउरे, दोहोरी र बाजागाजाका साथ स्वागत गर्छन्।

होमस्टे दर्ता भएको छैन। बिन्दुको अगुवाइमा ५ घरका होमस्टे दर्ता गर्ने तयारी भइरहेको छ। 'तनहुँसुर राम्रो गन्तव्य बन्न सक्छ,' थापा भन्छिन्, 'हामीलाई होमस्टे र अतिथि सत्कार तालिम चाहिएको छ।'

बिहान हामी शिक्षकद्वय शिव खवास र ज्ञानबहादुर आलेसँग गाउँ डुल्यौं। पर्यटनबाट केही होला कि भन्ने उनीहरूको आशा छ। दमौलीमा बस्नेका लागि तनहुँसुर हाइकिङ गन्तव्य बन्न सक्छ। लामो पदयात्रा गर्ने हो भने मिर्लुङ हुँदै पोखरा निस्कन सकिन्छ।

पर्यटन पूर्वाधार विकासका धेरै काम गर्न बाँकी छ। पुराना चिज संरक्षण गर्नै बाँकी छ। गाउँलेमा पर्यटन चेतना जगाउनै बाँकी छ। तल घाँसीकुवादेखि नै गाउँको जानकारी दिने सूचना बोर्डहरू राख्नुपर्छ। जिविस तनहुँले तनहुँसुरलाई प्राथमिकतामा राखेर बजेट छुट्याउनुपर्छ।

थुम्काबाट हिमालको लहर हेर्ने रहर पूरा हुन पाएन। चुँदी फाँटबाट उडेको कुहिरोले डाँडा ढपक्कै ढाक्यो। ५ मिटर परको मान्छेसमेत नदेखिने भयो। त्यसैले तनहुँसुरबाट खिचिएका तस्बिर हेरेर चित्त बुझाएँ। सागर दाइले त साहित्य यात्रामा अघाउन्जेल हिमाल हेरेका रहेछन्। हिमाल देख्न पाइएन, सुन्तला भने मज्जाले खाइयो। अरेन्ज हाइकिङ रमाइलो भयो।

होमस्टे मेनु

विवरण परिमाण रुपैयाँ

दालभात पेटभरि १५०

चिया कप १०

रक्सी बोतल ५०

मकैभट्ट सेट ५०

सुतेको बेड १००

व्यास जन्मभूमि दमौली

संसारभरका हिन्दुको ध्यान तान्न दमौलीमा १०८ फिट अग्लो व्यासको मूर्ति

वेद, पुराण, महाभारत, ब्रह्मसूत्र र उत्तर मिमांसाजस्ता हिन्दु धर्मग्रन्थका रचयिता महर्षि वेदव्यास हुन्। महर्षि पराशर र मत्यस्यगन्धाबाट जन्मेका व्यासले नदी किनारको गुफामा बसेर ती ग्रन्थ लेखेका थिए। अध्येता काशीनाथ न्यौपानेको पुस्तक 'महर्षि वेदव्यास'मा उनी तनहुँको दमौलीमा जन्मेको दाबी गरिएको छ।

'द्वापर युगको अन्त्यतिर करिब ६ हजार वर्षअघि यहाँ व्यास जन्मेका हुन्,' न्यौपाने ठोकुवा गर्छन्, 'महर्षि व्यासको २८ औं अवतारले दमौलीमा जन्म लिनुभएको हो।'

व्यास गुफा क्षेत्र तीर्थस्थल बनेको छ। गुफामा दुई तल्ला छन्। भुइँतलामा बसेर व्यासले चेलालाई ज्ञान दिन्थे भने माथिल्लो तलामा आफैं ध्यानमा बस्थे। गुफामा गणेश र व्यासका मूर्ति छन्। त्यहाँ राधे बाबा बस्छन्।

गुफा हातामा शिव पाञ्चायन मन्दिर छन्। त्यहाँ थुप्रै छन् व्यासका मूर्ति। दमौलीमा व्यास जन्मेको सन्देश फिँजाउन र संसारभरका पर्यटकको ध्यान खिच्न गुफानजिकै १०८ फिट अग्लो व्यासको मूर्ति बनाउने तयारी भइरहेको छ। व्यास क्षेत्र विकास कोषले ५ फिट ४ इन्च अग्लो नमुना मूर्ति बनाइसकेको छ, जुन राजमार्ग छेवैमा राखिनेछ। कलाकार पृथ्वीनारायण श्रेष्ठले यसको डिजाइन गरेका हुन्।

स्टिल र तामाबाट मूर्ति बन्नेछ। 'व्यासको मूर्ति नेपालकै गहना बन्नेछ,' अध्येता न्यौपाने भन्छन्, 'मूर्ति बनेपछि दमौली अन्तर्राष्ट्रियस्तरको धार्मिक गन्तव्य बन्छ।'

मूर्ति बनाउन करोडौं रुपैयाँ लाग्नेछ। उनीहरूले २०६७ सालमा महायज्ञ लगाएका थिए। त्यसबाट बचेको ५६ लाख रुपैयाँबाट काम सुरु हुँदै छ। 'दाताहरू खोजेर ५ वर्षभित्र हामी मूर्ति पूरा गर्नेछौं,' कोषका अध्यक्ष बृखबहादुर श्रेष्ठ भन्छन्, 'मूर्तिसँगै अरू भौतिक संरचना पनि बनाउँछौं।'

गुफामा दिनहुँ तीर्थालु आउँछन्। खान/बस्न दमौलीमा होटल छन्। तर, धेरैजसो तीर्थालु आएकै दिन फर्कन्छन्। गरिब, दुःखीका लागि गुफा क्षेत्रमा दामोदर बाबाले निःशुल्क भोजन र बास मिलाउँदै आएका छन्। उनले गुफा क्षेत्रलाई २०६७ बैसाखमा 'अन्न क्षेत्र' घोषणा गरेका छन्। त्यहाँ आइपुग्ने जो कोहीले निःशुल्क भोजन र बास पाउँछन्। तनहुँबासीलाई एकदिन, तनहुँसँग जिल्ला जोडिएकालाई दुईदिन र अन्यत्रबाट आउनेले तीनदिनसम्म खान/बस्न पाउँछ। नियमित ४० जनाले खानपिन गर्छन्। आश्रमको आयस्रोत भक्तहरूको मुठ्ठीदान हो।

व्यास गुफानजिकै पराशर आश्रम र गुफा छ। दमौलीनजिकै छाब्दी बराही मन्दिर छ। महर्षि व्याससँग जोडिएका तीनवटै ठाउँ घुम्नेगरी दमौली यात्रा योजना बनाउनु बेस हुन्छ। एकैदिनमा तीनवटै ठाउँ घुम्न सकिन्छ।
गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

‘स्मार्ट' बन्दैछ सवारी लाइसेन्स

काठमाडौं-न घामले खुइलिने डर, न पानीले भिजाउने चिन्ता। हराइहाले पनि अरु कसैले दुरुपयोग गर्ला कि भन्ने कत्ति पीर नहुने। सवारीचालकका लागि खुसीको खबर छ– यातायात व्यवस्था विभागले आठ महिनापछि ‘स्मार्ट...

डेढ लाखको बोका : छटपटाइरहेको खसी

हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले। 

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

चतराधाममा निम्तो

चतराधाममा निम्तो

पूर्वाञ्चलको चतराधाममा चैत १७ गतेदेखि पूर्ण महाकुम्भ मेला आरम्भ हुँदैछ। त्यसले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सदभाव वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। महिना दिन चल्ने मेलामा चैत्र शुक्ल...

आफू त परियो गोतामे!

नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर...