Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

लौ आयो मोन्सान्टो मकै

  • १३ पुष, २०७०
  • तीर्थबहादुर श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :

असल् मुग्रेकेरा, कि त महि हवस् बेस अमिलो

किता सेता मूला कि त बरु हवस् साग उसको

असल हुन्थ्यो धुपमा नतर कसरी खानु यसरी

भुटील्यायौं थाल्मा मकई तिमीले क्यान यसरी


दक्षिण अमेरिकाको एन्डिज पर्वतमालामा सृष्टि भएको यो अन्न हिमाल पर्वतमालाका पहाड पखेरु जताततै खेती गरिन्छ। मकै र भटमास अनि ढिँडो र गुन्द्रुकविनाको नेपाल के नेपाल भन्नुजस्तो हुन्छ। मकै रोप्न र फलाउन नजान्ने किसानै हुँदैन। विशेष गरेर पहाडी जिल्ला रोल्पा र रुकुमतिर मगर र मकै भनेपछि जिल्लाकै पहिचान बनेर बसेको छ। मगरको हातमा पर्‍यो भने मकै जहाँ पनि फल्छ। बतास लाग्ने पाखामा मकैको बोट कमरसम्म अग्लो भयो भने तिनलाई भुइँमा सुताइदिन्छ। बतासको वेगसँग सामना गर्दै ती मकैका बोट आफैं उठ्न थाल्छन्। तिनमा सिँगाने जरा पलाएर आउँछन् र बोटलाई टेको दिन्छ। अनि बतासले मकै ढल्दैन। घोगा लाग्न थालेपछि मकैका जँुगा लामो भएर लत्रन थाल्छ। नामले पुरुषवाची शब्द जुँगा भनिए तापनि ती पोथी जनेन्द्रिय अवयव हुन् मकैका लागि। तिनले भाले फूलका चामरहरूबाट झरेका पराग थाप्ने काम गर्छन्। बोटको टुप्पोमा धानजस्तै देखिने गरी भाले फूलका चामरहरू मुन्टो हल्लाउँदै हावाले झुल्छन् र पराग छर्छन्। मकैका घोगा पोटिलो भएपछि जुँगा ओइलाएर जान्छ। बटारिएर सुक्छ। बोटैमा पाकेको मकै भाँचेर असल दाना छानेर अर्को बालीको निम्ति बीउ सँगाल्ने काम हुन्छ। बाँकी खाद्यान्नको रूपमा प्रयोग हुन्छ। वर्षेपिच्छेको यो किसानीले गर्दा त्यहाँको जमिन, माटो, वातावरणसँग मिल्दो मकैको प्रजाति स्थापित हुन्छ। तिनका वंशमा वंशाणुहरू शुद्ध हुन्छन्। कसैकसैसँग बिटुलिएको हुँदैन। आफ्नै बीउ आफ्नै बारी आफ्नै परिवेश आफ्नै घारी।

पूर्वमा संखुवासभातिर विशेष गरेर लेकाली भेगमा मकै रोप्दा प्रशस्त ढुंगा र ग्रेगान भएको पाटोमा मकै लगाउने चलन रहेछ। बारीका ढुंगाहरू नपन्छाइकनै मकै रापिँदो रहेछ। ढुंगा पन्छायो भने मकैका गेडा अंकुराउन सक्दैन भन्ने किसानहरूले बुझेका रहेछन्। दिनभरिको घामले तातेको ढुंगाले रातभरि मकैलाई न्यानो दिँदो रहेछ। यस किसानी प्रविधिले उमारेका मकै पनि सयौं वर्ष उही बिरुवा उनै बीउ हुँदा अर्को शुद्ध वंशाणु बोकेका लेकाली मकै स्थापित हुन गएको पाइन्छ। पर्वतीय धरातलले निर्माण गरेका विविध प्रकारका प्राकृतिक परिवेशमा विविध प्रकारका मकै नेपालमा स्थापित छन्। कृषि वैज्ञानिकहरू तिनलाई ल्यान्ड रेसेज भन्छन्। तिनको लेखाजोखा र संरक्षण तथा सम्बर्द्धमा प्राथमिकता दिन अति आवश्यक छ। उन्नत मकै उत्पादन गर्न शुद्ध नश्लको भूमिका अद्वितीय हुन्छ। ती मकैका बीउहरू किसानका हातमा उमि्रन्छन्। उर्वर किसान र उर्वरा किसानीको त्यो कथा आजभोलि बिलाउँदोछ, त्यो पनि शीघ्रगतिमा। मानिसकै पनि अन्तरजातीय बिहेबाट जस्तै गोरा र कालाबाट जायज जन्म हुने सन्तानलाई वर्णशंकर भन्नुपर्ने हुन्छ। त्यस्तै विभिन्न गुण र प्रकृतिको मकैहरूका बीच पनि अन्तरजातीय प्रजननबाट उत्पन्न हुने मकैलाई हाइब्रिड मकै भनिन्छ। अन्नबाली र बीजविरुवालाई अन्तरजातीय प्रजनन गराएर वर्णशंकर बिरुवा बनाउने गरेको इतिहास लामो छ। वैज्ञानिक अभिलेखअनुसार अष्ट्रिया र युरोपका एक पादरी ग्रेगर मेन्डलले सन् १८५६–१८६३ मा विभिन्न रङका फूल फुल्ने केराउका वर्णशंकर उत्पादन गर्ने प्रयोग गरेका थिए। वंशाणुगत परीक्षणअनुसार पहिलो वर्णशंकर सन्तानलाई एफ–वान भन्ने नाम दिइन्छ। ल्याटिन भाषामा सन्तानलाई फिलियल भनिन्छ। पुस्तान्तर जनाउन एफ–वान, एफ–टु वा एफ–थ्री लेखिन्छ। मेहनतले पैतृक वंशदान र आफ्नो चाहनाअनुसारको फूल फुल्ने बीउ उत्पादन गर्ने प्रविधि सामान्य भइसक्यो। एफ–वानबाट अर्को पुस्तामा जन्मने सन्तानलाई एफ–टु भनिन्छ। तिनका बीउमा एफ–वानको गुण समान रूपमा कायम हुँदैन। त्यसैले एफ–वानको गुणयुक्त बिरुवा उत्पादन गर्न फेरि पहिलेकै पैतृक वंशका माता पिता खोज्नुपर्ने हुन्छ। आजभोलि हामीले बजारबाट खरिद गरेर ल्याउने हाइब्रिड भनेको एफ–वान हो। त्यसबाट उत्पादन राम्रो हुन्छ तर त्यसको बीउ राखेर एफ–वानको रूपमा अरू बिरुवा पैदा हुँदैन। त्यसैले प्रत्येक बालीको लागि एफ–वानकै बीउ चाहिन्छ। त्यो बीउ उत्पादन गर्ने क्षमता विभिन्न कम्पनीसँग मात्र हुन्छ। त्यस कम्पनीले शुद्ध नश्लका विभिन्न बिरुवा संरक्षण गरेर पैतृक सम्पदाका रूपमा सञ्चेर राखेको हुन्छ। वर्णशंकर बीउ उत्पादन गरेर बजारमा ल्याउने काम हुन्छ। अध्ययन, अनुसन्धान र विकासको यो चलखेलका उन्नत बीउको बढ्दो उत्पादन माझमा किसानहरू नपुंशक बन्न पुग्छन्। किसानले उत्पादन लिन सक्छ तर बीउ उसको हातमा हुँदैन। उत्पादनको हिसाबले ती किसान बोसो लागेको खसीजस्तो हुन्छन् तर बाख्रीलाई गर्भाधान गराउन सक्दैन। वर्णशंकर अर्थात् हाइब्रिड बीउको यो कथा मकैको सन्दर्भमा विभिन्नथरीका मकै प्रजाति भित्रमात्र सम्भव हुन्छ। यो प्रविधिले एकै प्रजातिभित्रको अन्तरजातीय गुण र दोषको सूक्ष्म अध्ययन गरेर उन्नत बीउ उत्पादन गरिन्छ। यो प्रविधि स्थापित भएको लगभग १५० वर्ष भइसक्यो। यसका गुण दोषबारे कृषि वैज्ञानिक धेरै हदसम्म जानकार पनि छन्।

मोन्सान्टो मकै उपरोक्त प्रविधिमा आधारित होइन। यो आधुनिक जैविक प्रविधिको उपज हो। यसमा परागसेचनको कुनै काम हुँदैन। शुक्रकिट र डिम्बको संयोजन पनि हुँदैन। कुनै जीव, प्राणी वा वनस्पतिको जीवकोषमा प्रत्यारोपण गरिन्छ। प्रकृतिले नियन्त्रण गर्ने प्रजननको सिमालाई यस प्रविधिले सिधै उल्लंघन गरेको हुन्छ। प्रकृतिमा मान्छे मान्छेबीच प्रजनन् हुन्छ। मान्छे र बाँदरबीच हुँदैन। मकैको प्रजनन् मकैसँगै हुन्छ र भटमासको भटमाससँगै। तर मोन्सान्टो मकैमा एउटा सूक्ष्म जीवाणु ब्याक्टेरियाको वंशाणु झिकेर मकैमा प्रत्यारोपण गरेको हुन्छ। सूक्ष्मदर्शक यन्त्रले हेर्नुपर्ने ब्याक्टेरिया र मकैको बोटमा आनुवंशीय सम्बन्ध जोड्ने काम आकाश–पाताल जोडेजस्तै हुन्छ। त्यस ब्याक्टेरिया विशेषमा किटपतंगलाई मार्ने गुण हुन्छ। मकै खाने कीरा–फट्यांग्राहरू यतिकै नष्ट हुन्छन्, ब्याक्टेरियाको विषादीले। त्यसैले मोन्सान्टो मकैको उत्पादन राम्रो हुन्छ। मोन्सान्टो मकै खाँदा हामीले पनि त्यस ब्याक्टेरियाको वंशाणु खाइरहेकै हुन्छौं। मोन्सान्टो मकैले हाम्रो जैविक विविधताको संसारभित्रका कीरा फट्यांग्रा, पुतलीहरूमा के प्रभाव पार्ने हो? तिनको भोजनले हामीलाई के कति फाइदा हुने हो? यिनका उत्तर अझै अथाहको गर्भमा छन्। आधुनिक जैविक प्रविधिले वंशाणुगतमा फेरबदल गरेर निर्माण गरेको यस्ता वस्तुलाई जिएमको अर्थात् वंशाणुगत स्तरमा परिवर्तित जीवात्मा भन्ने चलन छ। यस प्रविधिबाट दूध, मासु, माछा, फलफूल, तरकारी, अन्नबालीलगायत औषधि पनि निर्माण हुन थालेको छ। यस प्रविधिमार्फत बनेका विभिन्न खाद्यसामग्री, शृंंगार सामग्री वा औषधोपचारका सामग्री सबैमा जिएमओको उपस्थिति खुलाउनुपर्ने कानुनी प्रावधान धेरै युरोपेली राष्ट्रले अवलम्बन गर्न थालेका छन्। यो कुरा जनताको समुचित हुन पाउने अधिकारको विषय हो।

जैविक प्रविधिले गर्दा जैविक विविधताको प्राकृतिक सम्पदामा नकारात्मक असर पर्ने खतराका कारण सन् १९९२ मा ब्राजिलमा सम्पन्न जैविक विविधता महासन्धिले जैविक सुरक्षाको प्रावधानलाई विशेष स्थान दिएको थियो। त्यसको फलस्वरूप कोलम्बियाको कार्टेगेना सहरमा सन् २००१ मा सम्पन्न जैविक सुरक्षा कार्टेगेना सन्धिअनुरूप नेपाललगायत विभिन्न विकासोन्मुख राष्ट्रले जैविक सुरक्षा नीति र निर्देशिका तर्जुमा गरेका छन्। वंशाणुगत रूपमा रूपान्तरित जीव, प्राणी वा वनस्पतिबाट उत्पन्न हुन सक्ने विकृतिबारे सरकारी संयन्त्रले कस्तो जाँच पड्ताल गर्‍यो वा गरायो भन्नेबारे मोन्सान्टो मकैको नेपाल प्रवेशसँगै सार्वजनिक भएका सूचनाहरू प्रायः मौन छन्। नेपालमा भित्रिएका वा भित्रिने क्रममा रहेका बीउहरू जिएमओ हुन् वा वर्णशंकर मात्र हुन्, प्रमाणीकरण पनि प्रस्ट भएको देखिँदैन। मोन्सान्टो बीउका कपास खेतीको भारतीय पीडा हालसालै सम्पन्न महेशचन्द्र रेग्मी प्रवचनमालाका सिलसिलामा प्रख्यात वातावरणविद् बन्दना शिवाले प्रस्तुत गरेबाट नेपालमा यस अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टो विवाद फेरि बल्झेको छ। सरकार बनाउने विवादमा सरकारै अल्झेको अवस्थामा मकै र किसानका कुरा कहाँ पलाउने, कहाँ बिलाउने ठेगाना छैन। नेपालजस्तो पर्यावरणको विविधताले भरिएको देशमा बीउ परीक्षण गर्ने प्रयोगशाला कुनै पनि ठूला कम्पनीका लागि ठूलै अवसर पनि हो। अस्थिर सरकार र कमजोर प्रशासनका बीच ससाना छिद्रबाट पनि हात्ती छिर्ने गर्छ। छिमेकी भारतमा मोन्सान्टो कपासका बीज भारतीय कम्पनीहरूसँग मिलेर अवैध प्रवेश गरेर स्थानीय बीउबाट किसान वञ्चित हुन गएका कुरा बन्दना शिवाले उजागर गरिन्। नेपालमा पनि यहीँको स्थापित निजी संस्थाको प्रयोग हुन थालेको अवस्था देखिन्छ। उत्पादनको दृष्टिले मोन्सान्टो मकैको बीउका लागि मोन्सान्टोमा नै भर पर्नुपर्ने हुन्छ। आकाशे पानीमा निर्भर कृषिप्रधान देशको कृषि नीति कस्तो हुनुपर्छ भन्ने सोच्ने बेला आएको छ। विज्ञान र प्रविधिले सूचना र सञ्चार क्षेत्रमा पुर्‍याएको चमत्कारी योगदानले हाम्रा आमकिसानका हातमा पनि मोबाइल फोन छ। त्यस्तै गरी जैविक प्रविधिका चमत्कारहरू पनि हाम्रा किसानसम्म पुर्‍याउने काममा नेपाली वैज्ञानिक जुट्नुपरेको छ। वैज्ञानिक अनुसन्धानले मात्र मोन्सान्टोलाई भिœयाउने काम गर्नुपर्छ। व्यापारको नियन्त्रणमा विज्ञान फस्नु हुँदैन।

जिएमओ अर्थात् वंशाणुगत फेरबदलबाट निमार्ण भएका सजीव वस्तुलाई लिभिङ मोडिफाइड अर्गानिजम पनि भनिन्छ। सजीव अवस्थाका बीजबिजन वा प्राणीले हाम्रो वातावरणमा, स्वास्थमा, जैविक सम्पदामा कस्तो प्रभाव पार्न सक्छ? तिनलाई रोकथाम वा अनुगमन गर्न के कस्ता पाइला चाल्नुपर्छ, आदि विषयलाई लिएर हामी र हाम्रा छिमेकी राष्ट्रले एउटा क्षेत्रीय संगठन खोल्न सक्नुपर्छ। त्यसो नभएमा नेपाल, भारत, भुटान, चीन, बंगलादेश, पाकिस्तान जहाँबाट पनि ती वस्तु वा पदार्थ छिर्न सक्ने सम्भावना रहन्छ। एक ठाउँबाट मात्र प्रवेश पाएमा सबै क्षेत्र त्यसबाट प्रभावित हुन्छ। सामूहिक सामर्थ्यविना उन्नत औद्योगिक राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सकिन्न, चाहे ती विज्ञानको विषय हुन वा व्यापारका।

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...

कति नेपाली कहाँ–कहाँ लडे?

कति नेपाली कहाँ–कहाँ लडे?

पहिलो विश्वयुद्ध सुरु भएको यसै वर्ष एक शताब्दी पुगेको छ। युरोपका विभिन्न देशमा इतिहासको त्यो त्रासदीपूर्ण घटनाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

जता पैसा त्यतै डाक्टर

जता पैसा त्यतै डाक्टर

दाङकी सारा बुढामगर बिहान चार बजे सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेकी थिइन्। 'मिर्मिरेमै पुगेन भने पालो पाँइदैन,' पहिलो अनुभवबाट उनले थाहा पाइसकेकी थिइन्। चारै बजे पुग्दा पनि उनी पन्ध्रांै...

धराने दादा कविहरू

धराने दादा कविहरू

धरानको अमरहाटमा म एकाएक हराएँ। झन्डै एक घन्टा ल्वारल्वार हिँडेपछि। त्यो पनि बम दाइकै गेटमा पुगेर। दुइटा गेट रैछन् घडेरीको दुईपट्टिबाट। कताबाट छिर्ने– अलमलमा परेँ। र, त्यहाँ हराएँ।

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

ह्याङ आउट बर्दिया

ह्याङ आउट बर्दिया

पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी!