Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

विवादास्पद कविता

  • २० पुष, २०७०
  • सरुभक्त
  • DISQUS_COMMENTS
(0 votes)
विवादास्पद कविता
विक्रमाब्द २०२९ साउन ७ गते। दिउँसोको समय। अकस्मात् काठमाडौंको नयाँ सडकमा अर्जुनजङ शाहीसित जम्काभेट भयो। उनी युनापकालीन मेरा पुराना साथी, त्यसैले आत्मीयता थियो। युनापले २०३६ सालमा पहिलो पूर्णांकी नाटक 'एउटा घरको कथा हैन' रंगमञ्चमा प्रस्तुत गर्दा उनी त्यसका नायक थिए। म नाटकको लेखक, निर्देशक एवं कलाकार थिएँ। नाटककी नायिका दुर्गा शेरचन थिइन्।


दुर्गा र अर्जुनबीच प्रेमभाव थियो, जुन पछि नाटकको पूर्वाभ्यास र मञ्चनका समयमा झ्यांगिएर विवाहको रूपमा परिणत भयो। धेरै किसिमका कठिनाइ सामना गरी हामीले नाटकको पूर्वाभ्यास गरेका थियौं। पोखरा, काठमाडौं र तानसेनमा नाटक मञ्चन गरेका थियौं।

अर्जुनजङले सफलतापूर्वक नायकको भूमिकामा अभिनय गरेका थिए। यसै नाटकमा आफूले गरेको अभिनयका केही झलक संवादसहित प्रस्तुत गरी उनले शाही नेपाल चलचित्र संस्थानको कलाकार परीक्षा उत्तीर्ण गरे। उनी नेपाली चलचित्रमा खलनायक र पछि चर्चित नायक बने। चलचित्रका नायक बने पनि पोखरा आउँदा मलाई भेट्थे। एकपल्ट म उनको एउटा चलचित्रको सुटिङ हेर्न उनीसँगै कालीखोला पुगेको थिएँ। यसभन्दा धेरै वर्षपहिले विद्यार्थी कालमा मैले हिन्दी चलचित्रका नायक देवआनन्दको फिल्मको सुटिङमात्र हेरेको थिएँ पोखरामा।

लामो समयको अन्तरालपछि आत्मीय साथीहरूबीच जम्काभेट हुँदा के लाग्छ, सिवाय खुसी? हामी दुवै खुसी भयौं अनि आनन्दसाथ नयाँ सडकमा गपिँ्कदै हिँड्दै थियौं। अचानक नयाँ सडकको ढोकातिर ठूलो होहल्ला सुनियो। त्यसै पनि भीड भइरहने नयाँ सडकमा, त्यसपछि त मानिसहरू ग्वारग्वार्ती आएको देखियो।

'ए, के भयो?' हामीमध्ये कसले कसलाई सोध्यो, अहिले ठ्याक्कै याद भएन। हामी कुरा बु‰ने चेष्टामा पिपलबोटनिर उभियौं। 'जात्रा आएको पो हो कि कुनै' मैले मनमनै सोचेँ तर भीडको कोलाहल सुन्दा जात्राजस्तो पनि लागेन। एकछिनपछि नयाँ सडक ढोकामा भीड र कोलाहल परिवेष्टित भएर एउटा ट्रकजस्तो बाहन देखा पर्‍यो। फुटपाथको भीडमा हल्ला मच्चियो— 'बीपी कोइरालाको शवयात्रा! बीपी कोइरालाको शवयात्रा ...!!'

प्रतिबन्धित नेपाली कांग्रेसका शीर्षस्थ नेता विश्वेश्वरप्रसाद कोइरालाको देहवसान भएको अस्पष्ट समाचार मैले बिहानै सुनिसकेको थिएँ तर पञ्चायती व्यवस्थाको उत्कर्षतिर उनको शवयात्रा पनि निस्कन सक्छ– यो मेरो कल्पनाबाहिरको कुरा थियो। क्याम्पसमा मेरा धेरै साथीहरू कांग्रेस वा कम्युनिस्ट थिए तर मैले कहिल्यै आफूलाई न कांग्रेस भनाउन चाहेँ न कम्युनिस्ट। पञ्च बन्ने त कुरै भएन। सोझै भन्दा म देशको प्रत्यक्ष राजनीतिक कर्मबाट पूरै निरपेक्ष थिएँ, यद्यपि सापेक्ष देशमा कोही पनि व्यक्ति राजनीतिक रूपले निरपेक्ष बस्न सक्तैन भन्ने फरक धारणाद्वारा पनि परिचित नै थिएँ। क्याम्पसमा इतिहासको अध्ययन गर्न थालेपछि मेरो निरपेक्ष लेखकले सात सालको क्रान्तिलाई असफल मानेको थियो। त्यसैले उक्त असफल क्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालालाई पनि मेरो निरपेक्ष लेखकले असफल नेता नै मानेको थियो। राणा शासनविरूद्ध क्रान्ति गरेर अन्ततोगत्वा श्री ३ मोहनशमशेरको प्रधानमन्त्रीत्वमा उनी गृहमन्त्री बनेकोमा मेरो सानो विवेकले ठिक मानेन।

राजनेता विश्वेश्वरप्रसाद कोइरालालाई मेरो निरपेक्ष लेखकले ठिक नमाने पनि साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई सधैं ठिक मानिरह्यो। म उनलाई सधैं महान् र अग्रगण्य लेखकका रूपमा सम्मान गर्थें। उनीप्रति म एकैपल्ट आकर्षित र विकर्षित थिएँ।

बीपी कोइरालाको शवयात्रा भन्ने हल्ला मच्चिएपछि र फुटपाथको भीडले पनि च्याप्दै लगेपछि अर्जुनजङ र म भूगोलपार्कतर्फ लाग्यौं। हामी दुवै बीपीको शवयात्रा हेर्न इच्छुक थियौं।

भूगोलपार्कमा मानिसको ताँती लागिसकेको थियो तर पनि हामीले त्यहाँ आफूहरूलाई उभ्यायौं। सुस्तरी बाहन नजिकिँदै आयो। बाहनको पछिल्लो भागमा बीपीको पार्थिव शरीर फूलमालाले सजाई राखिएको थियो। पार्थिव शरीर घेरेर केही कांग्रेस नेता बसेका थिए। त्यहाँ भारतीय नेता चन्द्रशेखर पनि थिए।

बाहनको अगाडिपछाडि कांग्रेसी नेता तथा कार्यकर्ताको विशाल जुलुस थियो। जुलुसले 'वीर बीपी जिन्दावाद!' र यस्तै अरू केही कांग्रेसी विश्वासका नाराहरू लगाइरहेको थियो। जुलुसका सहभागी सबै शोकाकुल देखिन्थे। अर्जुनजङले के अनुभूति गरे थाहा छैन तर मैले अनुभूति गरेँ– साँच्चै नेपालका एक महान् सपुतको मृत्यु भयो। म भित्रभित्रै भावुक बनेँ।

शवयात्राले जुद्धशमशेरको सालिक परिक्रमा गरी पशुपति, आर्यघाटतर्फको बाटो लियो। हामी पछि लागेनौं। नयाँ सडकमा भीड पातलिँदै गएपछि हामी पनि छुट्टियौं। म मनभरि जीवनमा पहिलोपल्ट देखेको त्यो विशाल शवयात्रा सम्झँदै, अनेक भावुकताले छोइँदै डेरातर्फ लागेँ। कापी, कलम समाई एउटा कविता सरसर्ती कोरेँ। नाम राखे– तिमीहरूको सान्दाइलाई मेरो रातो प्रणाम।

भावावेशमा कविता त लेखियो, अब छाप्न कसलाई दिउँ्क? म सोचमा परेँ। लाग्यो, यो समसामयिक कविता हो, तुरून्त छापिए महŒवपूर्ण होला। मेरो आफ्नै मूल्यांकनमा कविता उच्च स्तरको थिएन, ठिकैको थियो। कविताले एउटा विशेष संवेदना बोकेकाले कसरी झुर मानिएला र! यति विश्वास थियो। तिमीहरूको सान्दाइलाई भनेर मैले ती साथीहरूलाई सम्बोधन गरेको थिएँ, जो आफ्नो महान् नेताको अवसानमा दुखित थिए, शोकाकुल थिए। म उनीहरूको यो दुःख र शोकको घडीमा शोक कविताको माध्यमले सान्त्वना प्रदान गर्न चाहन्थेँ। त्यसैले पनि यो कविता चाँडै कुनै पत्रिकामा छापिनु आवश्यक थियो।

त्यस समय काठमाडौंबाट प्रकाशित हुने दुई साप्ताहिक पत्रिका विशेष चर्चामा थिए— 'राष्ट्रपुकार' र 'समीक्षा'। होमनाथ दाहालको सम्पादनमा प्रकाशित हुने 'राष्ट्रपुकार'लाई मानिसहरू कांग्रेसी पत्रिका भन्थे भने मदनमणि दीक्षितको सम्पादनमा निस्कने 'समीक्षा' कम्युनिस्ट पत्रिका। म दुवै पत्रिकामा कविता छपाउँथँे। दुवै पत्रिकाले कवितालाई महŒव दिन्थे। त्यसैले म मानिसका हल्लापछि नलागी आफ्ना कविता छपाउनपट्टि लाग्थेँ।

मेरो डेरा टेबहालमा थियो। टेबहालबाट 'राष्ट्रपुकार'को कार्यालयभन्दा 'समीक्षा'को कार्यालय नजिक पर्थ्याे। त्यसैले आफ्नो शोककविता 'समीक्षा'मा छाप्ने निर्णय गरी भोलिपल्ट बिहान 'समीक्षा' कार्यालय कालिकास्थान हिँडेँ।

'दीक्षितज्यू, मैले एउटा कविता लेखेको छु। छाप्न मिल्ने भए छापिदिनुहोला,' मैले कविता दिँदै अनुरोध गरेँ। दीक्षितजीले कविता लिनुभयो, पढ्नुभयो।

'कहिले लेख्नुभयो कविता?' सोध्नुभयो।

'हिजो राति। दिउँसो शवयात्रा हेरेपछि,' मैले जवाफ दिएँ।

'यति चाँडै कविता लेख्नुहुन्छ त? उहाँले अभिभावकले झैँ स्नेह दर्साएर हाँस्तै मन छाम्नुभयो।

'खोई, भावना जे आयो, लेखिहालेँ,' मैले केही लज्जितजस्तो अनुभूति गर्दै भनेँ। उहाँले थप केही भन्नुभएन। एकजना कामदारलाई बोलाएर मेरो कविता दिँदै भन्नुभयो, 'यो अंकमा छाप्न तयार पारिएको कविता झिकेर यो कविता कम्पोज गर्नू!'

कविता तुरुन्त छापिने भयो– म ढुक्क भएँ। मैले समयमै कांग्रेसी साथीहरूलाई सान्त्वना दिन पाउने भएँ। सन्तुष्ट भएँ। तर जब कविता छापियो, एउटा अनपेक्षित विवादको आगोले वनको डढेलोलेझैं मलाई घेर्न थाल्यो। म सोझो कवि, सानो एउटा कवितै न लेखेको थिएँ– प्रतिक्रियाहरू सुनेर म अलमल र आश्चर्यमा परेँ। कवितामाथिको विश्वास भने यथावत् रह्यो।

मेरो कविता छापिएको अर्को सातादेखि नै 'राष्ट्रपुकार'ले त्यसको विरोधमा कविताहरू छाप्न थाल्यो। ती कविताका कविहरू को को हुन्, अहिले मेरो सम्झनामा छैनन्। अझै सम्झना छ– मेरो कविताको विरोधमा पहिलो कविता छाप्ता छेउमा सम्पादकको टिप्पणी पनि थियो– 'जननेता विश्वेश्वरप्रसाद कोइरालाको दुःखद निधनले सबै शोकसन्तप्त भइरहेको बेला सरूभक्त भन्ने कविले कविता लेखी मर्ममा प्रहार गरेका छन्।

ठ्याक्कै शब्दहरू यिनै होइनन्, यस्तैयस्तै हुन्। टिप्पणीको आसय प्रस्ट थियो– यति ठूलो शोक परेको बेला मैले शोक मनाउन छोडी भयानक प्रहार गरेको थिएँ। अब गर्ने के? जे सोचेर कविता लेखियो, त्यसको ठिक उल्टो असर पर्‍यो।

मलाई 'राष्ट्रपुकार'मा मेरो कविताको विरोधमा छापिएका कविताहरूले भन्दा सम्पादकको टिप्पणीले बढी व्यथित तुल्यायो। यही मनस्थितिमा एकदिन 'समीक्षा' कार्यालय गएँ। मदनमणि दीक्षितले मेरो कविताको विरोधमा आएका तीन–चारवटा कविता देखाउनुभयो। म छक्क परेँ।

'के गर्नुहुन्छ, छाप्नुहुन्छ?' मैले सोधेँ।

'यस्ता चिज छापेर, विवादमात्र बढाएर के गर्ने?' दीक्षितजीले अबुझहरूलाई बुझेझैँ गरी खिस्स हाँसेर भन्नुभयो।

घर जाँदा थाहा भयो, पोखरामा पनि त्यस कविताले ठूलै प्रतिक्रिया जन्माएछ। मैले आफूहरूलाई कांग्रेस सम्झने कवि–कलाकारलाई कविताको आसय सम्झाउने प्रयास गरेँ तर विफल भएँ।

'तिम्रो कवितामा मलाई सबभन्दा ठूलो आपत्ति 'तिमीहरूको' भन्ने शब्दप्रति हो। के बीपी हाम्रोमात्रै हो, पूरै देशको नेता होइन?' एक घनिष्ठ साथीले घनिष्ठता दर्साएर आक्रोश पोखे।

'हुन सक्छ, बीपी पूरै देशका नेता हुन् तर के मलाई आफ्नो नेता नमान्ने नागरिक अधिकार छैन? के तिमीहरूले वकालत गर्ने समाजवादी प्रजातन्त्रमा यस्तै हुन्छ?' मैले पनि घनिष्ठता दर्साएरै भनेँ।

साथीले चित्त बु‰ने जवाफ दिएनन्। त्यसपछि मैले सम्झाउने चेष्टा गरेँ, 'हेर साथी, मैले बीपीप्रति उच्च सम्मान प्रकट गर्नकै लागि कविता लेखेको हुँ। उनी देशका ठूला नेता र साहित्यकार दुवै हुन्।'

म काठमाडौं फर्किएँ। मेरो निकटका केही शुभचिन्तक 'कविताबारे प्रस्ट पार्नु राम्रो हुन्छ' भनी सुझाव दिन थाले। म कुनै प्रस्टीकरण दिने पक्षमा थिइनँ। मलाई लाग्थ्यो– कविता आफैंमा पूर्ण हुन्छ, किन स्पष्टीकरण दिइरहनु आवश्यक पर्‍यो? कविता आफैंमा आफ्नो स्पष्टीकरण हो।

शुभचिन्तकहरूको सुझाव बिस्तारै दबाबमा परिणत भयो। मलाई पनि लाग्यो, यो अनावश्यक विवाद साम्य हुन्छ भने आफ्नो कविताको आसय प्रस्ट्याएर एउटा सानो लेख लेखौं न त।

मैले एउटा लेख लेखेँ। लेखमा 'तिमीहरूको सान्दाइलाई मेरो रातो प्रणाम' शीर्षक मेरो कविता शोक कविताको रूपमा लेखिएको र उक्त कवितामा आफूले विश्वेश्वरप्रसाद कोइरालाप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरेको यथार्थ प्रस्ट्याएँ। मेरो लेख पढेर को कति प्रस्ट भयो थाहा भएन, तर म कीर्तिपुर क्याम्पसतिर हलुका टाउको बोकेर हिँडिरहेँ।

एक दिनको कुरा। क्याम्पसमा कक्षा सकिएपछि पुस्तकालय गएको थिएँ। पुस्तकालयमा पसेपछि प्रायः पुस्तक नै पल्टाउने मेरो स्वभावविपरीत त्यस दिन लामो टेबलभरि छरिएका पत्रिका पल्टाउन थालेँ। अकस्मात् मेरो दृष्टि एउटा पत्रिकामा महŒवका साथ छापिएको कवितामाथि पर्‍यो। शीर्षक थियो 'हाम्रो सान्दाइलाई कसैको लाल सलाम चाहिँदैन'। कविको नाम थियो मेरै दौंतरी–अशेष मल्ल।

'अरे बाफरे!' म यिनै शब्द उच्चारण गर्दै विस्मयको अपत्यारिलो गर्तभित्र नखसे पनि त्यस्तैत्यस्तै अनुभूतिमा डुबेँ। कविले कठोर शब्द प्रयोग गरी दनादन दनक दिएका थिए र त्यो दनक 'रातो प्रणाम' भन्ने म बबुरो कविलाई नै थियो। दौंतरीले 'रातो प्रणाम'लाई 'लाल सलाम' बुझेछन्। तर त्यस्तै बुझे पनि लाल सलामवालाभन्दा चर्काे गर्वाेक्तियुक्त गाली किन प्रजातान्त्रिक कविबाट?

मनमा फेरि प्रश्न जन्म्यो। खिसिक्कि हाँसोसँगै मनको प्रश्न मनभित्र मरेन। अकस्मात् लाग्यो, अशेष मल्लको मनोवैज्ञानिक विश्लेषण गरी हेरूँ! किन उनले मेरो कविताको विरोधमा यति कठोर कविता लेखे?

विश्लेषण : 'तिमीहरूको सान्दाइलाई...'

१. उनलाई लाग्यो, कविता 'समीक्षा'मा छापिएको हुनाले त्यसलाई जन्माउने कवि खाँटी कम्युनिस्ट हुनुपर्छ।

२. बीपीलाई आफ्नो नमानी 'तिमीहरूको' भन्ने कवि पक्का पनि प्रजातन्त्रको शत्रु हुनुपर्छ।

३. 'रातो प्रणाम'मा रातो भनेको कम्युनिस्टको रङ, प्रणाम भनेको सलामभन्दा बढी केही होइन।

४. बीपीको राजनीतिमाथि असहमति जनाउनु सम्पूर्ण बीपी–भक्तका अगाडि उनको भण्डाफोर गर्ने दुष्प्रयास हो। यस्ता कुकविलाई सकेसम्म दनक दिनैपर्छ।

यदि मेरा यी विश्लेषण सत्य हुन् वा सत्यका नजिक छन् भने मैले अशेषको दनक खानुका कारण यिनै हुन् वा यिनका नजिकका केही हुन्। यसबारे मैले कहिल्यै पनि अशेषसित कुरा गरिनँ र उनले पनि कहिल्यै मसित कुरा गरेनन्। सायद हामी दुवै रंगमञ्चका कलाकार भएर हो कि, हामीले सधैं एकअर्काका यी कविता नपढेको अभिनय गरिरह्यौं।

अशेष मल्ल र म तीसको दशकमा परिचयको समयदेखि दौंतरी थियौं, अहिले पनि त्यस्तै छौं। हामी न धेरै नजिक भयौं न त टाढा। उल्लिखित कविताका कारण हाम्रो सम्बन्धमा कुनै असर परेन। पोखरामा हुने साहित्यिक कार्यक्रममा मैले उनलाई आमन्त्रण गरिरहँे। उनी नेराप्रप्रको सदस्य छँदा भेट्न गइरहन्थेँ। म नेराप्रप्रमा सदस्य छँदा उनले नाटक विभागको सल्लाहकार समितिको सदस्य भई महŒवपूर्ण सल्लाह दिइरहे।

कविता जतिसुकै विवादास्पद भए पनि हामीकहाँ कविताको चर्चै कति हुन्छ र! बिस्तारै मेरो विवादास्पद कविताको चर्चा सेलाउँदै गयो। जति दनक खानुपरे पनि मेरो कविमनमा दनकका पीडा सेलाउँदै गए। म अरू उत्साहपूर्वक कविता लेखन कर्ममा सक्रिय भइरहेँ। आफ्ना सम्पूर्ण महान् र गहन परिभाषासहित कविता मूलभूत रूपले शब्दहरूको खेल हो, जसलाई कतिले ठिक बुझ्छन् कतिले बेठिक– मैले कहिले पनि सोचिनँ। मैले आफ्नो हैसियतले कविताको आराधना गर्दा सम्पूर्ण आस्था र विश्वासपूर्वक नै गरेँ। कविता लेखेर म कहिल्यै समृद्ध बनिनँ, कविता लेखेर म कहिल्यै लज्जित बनिनँ।

समयान्तरमा मैले आफ्नो विवादास्पद कवितालाई लगभग बिर्सी नै दिएँ। एक दिन विराटनगरबाट एउटा किताब उपहारको रूपमा प्राप्त भयो। किताबको नाम अहिले याद भएन तर त्यसमा बीपीमाथि रचना गरिएका केही कविता संकलित रहेछन्। त्यसमा मेरो बीपीसम्बन्धी विवादास्पद कवितालाई पनि स्थान दिइएको रहेछ। मलाई खुसी लाग्यो। धेरै समयपछि मैले आफ्नो कविता सरसरती पढेँ। त्यसपछि पछाडि पाना पल्टाएँ। मेरो कवितापछाडि गतिलो प्रत्युत्तर हुने गरी अशेष मल्लको कविता राखिएको रहेछ।

म पुस्तक सम्पादन गर्नेहरूको प्रजातान्त्रिक संस्कार र सम्पादन कलादेखि 'प्रभावित' भएँ। अहिले पनि म त्यो किताब र आफ्नो कविताले जन्माएको विवाद सम्झन्छु तर पहिलेजस्तो पीडानुभूति हुँदैन। वर्तमानमा अतीतको त्यो विवाद कुनै कारण नबुझिएको एक रमाइलो प्रसंगजस्तो मात्र लाग्छ।
बागमती यसरी बन्यो ढलमती

बागमती यसरी बन्यो ढलमती

काठमाडौं– शिवपुरी बागद्वारको मुहानबाट छङछङाउँदै उपत्यका फालहाल्ने बागमती पहिले प्राकृत बागमती नै थियो, अहिलेजस्तो ढलमती थिएन। तीस महिनाभित्र बागमतीलाई त्यही अवस्थामा फर्काउने अभियानमा सहभागी सर्वसाधारणको साझा प्रश्न छ : बागमती कसरी...

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'

'लेख्दालेख्दै मर्न पाऊँ'

'लेख्दालेख्दै मर्न पाऊँ'

वरिपरि किताबका चाङ। बीचमा ९२ वर्षे वृद्ध काया। आँखा धमिलो भएका छन्, तर पढाइ रोकिएको छैन। हात काँप्छन्, तर केही न केही केर्न छाडेका छैनन्। लेखनीले सात दशक पार गरिसक्यो,...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

एउटा नयराज पन्त नजन्मेको भए ...

एउटा नयराज पन्त नजन्मेको भए ...

'शब्द नाउँ भएको यस ज्योतिले संसारभरि प्रकाश नगर्ने हो भने पूरापूर तीनै लोकमा निस्पट्ट अन्धकार हुने थियो' भनी प्रसिद्ध अलंकारशास्त्री दण्डीले आफ्नो काव्यादर्शमा लेखेको परम्परामा एउटा नयराज पन्त नजन्मेको भए...

कृष्ण खनालका चुनावी टिप्स

कृष्ण खनालका चुनावी टिप्स

काठमाडौं– १० कांग्रेसको एक प्रतिबद्ध मतदाता। का मतदाता राजनीतिशास्त्री कृष्ण खनालको परिचय अघिल्लो चुनावसम्म यस्तो थियो। त्यो अब रहेन। उनको भोट त यसपालि पनि 'लोकतन्त्रकै पक्षमा' जान्छ। तर कसलाई! 

पोखरामा फूल फुल्दैन

पोखरामा फूल फुल्दैन

गीतकार/ कवि विनोद गौचनलाई सम्झदा सम्झनाको इलाकामा हल्लाहरुलाई निषेध गर्नैपर्छ किनभने उनलाई हल्ला बिल्कुलै मन पर्थेन।

बुवाविनाको जीवन

अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)