Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

नागरिक शनिबार

दिल्लीमा नेपाली स्वाद

  • २० पुष, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
दिल्लीमा नेपाली स्वाद
नयाँ दिल्ली–गुल्मी खर्ज्याङ– ५, मानकोटका २२ वर्षे बसन्त गाहा मगर तीन वर्षयता चिनियाँ खाना बनाइरहेछन्। गुडगाउँको अग्रवाल होटलमा चिनियाँ खानाको तालिम लिएका उनी नेपाली र भारतीयलाई चिनियाँ स्वाद चखाउन पाएकामा मख्ख छन्।


'म एक्लै २ सय ५० आइटमका खाना बनाउन सक्छु,' एभरेस्ट हटमा परिकार बनाइरहेका उनी भन्छन्, 'पैसा पनि राम्रै कमाइ हुन्छ। बचाएर घरमा पठाउँछु।'

बसन्तले अस्ति दसैंमा घर जाँदा बुवाआमाको हातमा ढ्याक्क ७० हजारको बिटो राखेर ढोगिदिएछन्। दिल्लीमा नेपाली र चिनियाँ खाना पकाएर कमाएको पैसा हो भनेर हातमा थमाउँदा बुवाआमाका आँखामा खुसीका आँसु छल्किएका थिए रे!

पहिले पढ्ने सपना बोकेर आएका बसन्तको यात्राले नयाँ गोरेटो पक्रेको छ। बिहानदेखि रातिसम्म किसिम–किसिमका परिकार पकाउनु, प्लेटमा हाल्नु, बाँड्नु, पैसा बु‰नु, साथमा मिठो खानाका लागि धन्यवाद पाउनु उनको दैनिकी बनेको छ। उनलाई यसैमा रमाउने बानी परिसकेको छ।

'दिनैपिच्छे नेपालका सयौं मान्छे आउँछन्, हामै्र जिल्लाका पनि धेरै आउँछन्,' बसन्तले नागरिकसँग हौसिँदै भने, 'सुरुसुरुमा दिल्ली बिरानो लाग्थ्यो, हाम्रो होटल चल्न थालेपछि यतै रमाइलो लाग्न थाल्यो।'

गुल्मी दिगाम– ३, घडेरीटोलाका टेकराज पाण्डे नयाँ दिल्लीको लक्ष्मीनगर मेट्रो गेटछेवैमा एभरेस्ट हट नामक रेस्टुरेन्ट चलाएर बसेका छन्। ललिता पार्कनेर उनले थालेको यो हट वरपरका भारतीय पसले र स्थानीयबीच लोकप्रिय छ। उनीहरूलाई थाहा छ, यति मिठो खाना पाइने रेस्टुरेन्ट नेपालीले खोलेका हुन्।

टेकराजले पाँच वर्षअघि खोलेको यो रेस्टुरेन्ट नेपाली ममः, चाउमिन र अरू नेपाली खानाका लागि पूर्वी दिल्ली क्षेत्रमा प्रसिद्ध छ।

लक्ष्मीनगर क्षेत्रमा यतिका होटल छन्, उसमाथि नेपालीले थुप्रै होटल खुलेका छन्। तिनैबीच होटल खोलेका टेकराजले यो सफलता सजिलै पाएका कहाँ हुन् र!

दिल्ली युनिभर्सिटीमा पढ्दापढ्दै बीचमै छाडेर दिल्लीकै कनाट प्लेसस्थित पिज्जा हटमा उनले पाँच वर्ष काम गरे। आफैं रेस्टुरेन्ट खोल्ने सुर चलेपछि एभरेस्ट हटको परिकल्पनाले साकार रूप लियो।

सुरुमा दालभात–तरकारी खुवाएरै ग्राहक सन्तुष्ट पारे। चिनियाँ खानाको बढ्दो माग बुझेर उनले ती आइटम पनि थपे। उनको स्वादका पारखीको ओइरो लाग्न थालेपछि एकाध कामदारले पुगेन। त्यसपछि भाइ बाबुरामलाई बोलाएर दुई ठाउँमा हट थाले। अहिले त टेकराजसँग १२ कामदार छन्।

'पहिले त निकै दुःख झेलियो, कामदार टिक्दैनथे, प्रतिस्पर्धा चर्को थियो,' उनले संघर्षका दिन सम्झे, 'स्वादको बानी लागिसकेका ग्राहक आइरहे, त्यसपछि गाउँका भाइहरू बोलाएर व्यवस्थित गरेँ।'

यो हटमा खाना खानमात्रै होइन, दुःखसुख साट्न भनेर नेपाली जम्मा हुन्छन्। पूर्वदेखि पश्चिमसम्मका नेपाली गफ चुट्दै बसिरहेका भेटिन्छन्। होटल धनी पाण्डे दाजुभाइ पनि घरिघरि बहसमा सामेल हुन्छन्। बिहान ११ बजेदेखि राति ११ नबज्दासम्म यो क्रम जारी रहन्छ।

एभरेस्टदेखि करिब पाँचसय मिटर पर धादिङ कुम्पुर– ८ चापखोलाका दिलबहादुर श्रेष्ठले खोलेको मनोकामना होटल छ। पञ्जाबी र दक्षिण भारतीय खाना पकाउने नजिकका होटलबीच पनि एक वर्षअघिमात्रै खुलेको उनको होटलको शान कम छैन। १२ नेपाली कामदारलाई रोजगारी दिएका उनको होटलमा हरदम घुइँचो भइरहन्छ।

टेकराजको होटलका २३ वर्षे कुशल पाककलाकार भुवन जिसी तीमध्ये एक हुन्। दाङ लक्ष्मीपुर–७ का भुवन आफूहरूको स्वादका कारण नेपालीकै घुइँचो बेसी लाग्ने गरेको बताउँछन्। 'ममः, चाउमिन र चिकन चिल्ली खाने धेरै आउँछन्,' दिलबहादुर भन्छन्, 'यहाँ हामीलाई जति बेलै भ्याइनभ्याई हुन्छ।'

उनकै अघिल्तिर खुलेको धादिङ फास्ट फुड एन्ड चाइनिज क्युसिनी अर्को चल्तीको रेस्टुरेन्ट हो। नेपालीको स्वादप्रति भारतीय र अरूको चाख बढेकाले नेपाली–नेपालीबीच नै प्रतिस्पर्धा चल्न थालेको रेस्टुरेन्ट मालिक राजेन श्रेष्ठ बताउँछन्। धादिङ कुम्पुर– ८ बाटै होटल चलाउन आएका उनी भन्छन्, 'दैनिक ४० भारतीय ग्राहक आउँदा दुई सय नेपाली आउँछन्, बिहान ८ देखि राति ११ बजेसम्म ग्राहक टुट्दैनन्।'

तीन–तीन महिनाको अन्तरमा पत्नी र छोराछोरी भेट्न धादिङ जान्छन् राजेन। होटल चलाउँदा गरेको मेहनतले उतै फर्कनचाहिँ दिएको छैन। 'नेपालीले पकाएको खाना भनेर सबैले मन पराउँछन्,' उनी भन्छन्, 'उहाँभन्दा बढी फाइदा यतै हुन्छ, म त दिल्ली नै बस्ने विचारमा छु।'

स्याङ्जा वालिङ–१ घुम्रेबाट सिए पढ्न दिल्ली आएका सन्जोग श्रेष्ठ मुख मिठ्याइ–मिठ्याइ राजेनको होटलमा ममः खाइरहेका थिए। 'यहाँ खाँदा वालिङको खाजा खाएझैं फिल हुन्छ,' उनले भने, 'क्लास सकिनेबित्तिकै दिनदिनै साथीहरूसँग खान आउँछु।'

सन्जोगसँगै चिकेन चाउमिन खाइरहेका तनहुँ दुलेगौंडा–७ का अर्का सिए छात्र सागर भट्टराई भन्दै थिए, 'जिब्रोले नेपाली स्वाद नै खोज्दो रहेछ। यहीँ परको थकाली भान्छाघरमा खान इन्डियन पनि आइरहन्छन्।'

दिल्लीका सडकमा राति चौकीदारी गर्ने नेपाली भेटिन्छन्। तर अब दिल्लीमा नेपालीको परिचय कुल्ली, दरबान र बहादुरमा सीमित छैन। दिल्लीमा होटल चलाउने नेपाली बिस्तारै धनी बन्दै छन्। उनीहरू आफैं अरूलाई रोजगारी दिन थालेका छन्। 'हामीले विदेशमा कमाएको पैसा नेपालीले नै लैजावस्, सीप पनि उसैले सिकोस् भनेर विदेशी कुक र कामदार राखिनँ,' एभरेस्टका टेकराज भन्छन्, 'यहाँ कमाएको नाफा नेपालमै लगानी गर्न पाए हुन्थ्यो।'

प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीका अनुसार पछिल्लो समय होटलमात्रै नभएर अरू क्षेत्रमा पनि नेपालीले लगानी गर्न थालेका छन्। 'ठूला व्यावसायीको बीचमा स्थापित हुन सुरुमा गाह्रो परे पनि पछि राम्रै कमाइ गरेका छन्,' लोकनाथ भन्छन्, 'प्रवासी नेपालीको लगानी बोर्ड राज्यले बनाओस्, हामी यहाँबाट उनीहरूको कमाइ संकलन गरी पठाउन तयार छौं।'
चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

मतलब, तीन पुस्ता...

बाहिरपट्टि विभिन्न पत्रिकामा आफ्नो प्रकाशनका किताब र लेखकबारे छापिएका समाचार र तस्बिरका कटिङ सजाइएका छन्। विभिन्न लेखकबारे छापिएका स्टोरी पनि सँगै छन्। केही कलाहरू छन्।

टेगोर हुँदै वाइल्डसम्म

मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।

वाम–रुढताबाट मुक्त

वाम–रुढताबाट मुक्त

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो।...

विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

१४ डिसेम्बर १९९६

मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...