Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

'जाली फटाहालाई छाडिन्न'

  • २७ पुष, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(1 Vote)
'जाली फटाहालाई छाडिन्न'
काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'
यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।
उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका थिए, जग्गा अतिक्रमण निरीक्षण गर्न।




'२०२१ सालको नापीअनुसार स्कुलको पूरै भवन बागमती क्षेत्रमा पर्छ,' उनले नागरिकसँग भने, 'म यहाँ चारपटक आएँ, तर प्रिन्सिपल भागेको भाग्यै।' उनका अनुसार पश्चिम किनारमा पर्ने बागमतीको चार मिटर जग्गा स्कुलले अतिक्रमण गरेको छ भने पूर्वी किनारमा दुई मिटर।
स्कुलले जग्गा मिचेर बनाइएको भवन भत्काउन समय मागे पनि सफल हुनेमा ठाकुरलाई शंका छ। यसको कारण हो, स्कुल सञ्चालक बाबुराम पोख्रेल फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद बनेका छन्।
'संसद सुरु भयो भने राजनीतिक अवरोध ल्याउन सकिन्छ भन्ने यिनीहरूको सोच हुनुपर्छ,' ठाकुरले भने।
विश्व निकेतन (भिएस निकेतन) स्कुल एउटा उदाहरण मात्र हो, तिलगंगादेखि शंखमूलसम्मको पाँच किलोमिटर क्षेत्रमा बागमतीको सबभन्दा ठूलो समस्या नै जग्गा अतिक्रमण हो। यी क्षेत्रमा करिब ६ सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता छ। धेरैले बागमतीको जग्गा आफ्नो नाममा हडपेका छन्। ०२१ सालको नापीअनुसार अध्ययन गर्ने हो भने ४ सय ८७ घर बागमती नदी क्षेत्रभित्रै पर्छन्।
यतिमात्र होइन, बानेश्वर क्याम्पसदेखि शंखमूल मनोहरासम्मको जग्गामा नेपाल दशनामी समाजसँगको विवाद कायमै छ। यसका प्रमुख रविन्द्र गिरी–समूह बागमतीको जग्गा आफ्नो भएको दाबी गर्दै समिति धाइरहेको छ। यो क्षेत्रमा पनि करिब ६ सय रोपनी जग्गा अतिक्रमणमा परेको छ।
बागमतीपूर्व सिनामंगलभन्दा तल १० तले गुण अपार्टमेन्ट छ। अस्पतालसहितको यो अपार्टमेन्टबाट निस्कने सबै फोहोर बागमतीमै मिसिन्छ। गुण र बागमतीबीचको समस्या यतिमै सीमित छैन। अपार्टमेन्टले ४३ रोपनी बागमतीको जग्गा नै हडपेको देखिन्छ। ०२१ सालको नापीको नक्साबाट यो प्रस्टै खुल्छ। 
'सर्वोच्चले सरकारको पक्षमा फैसला गरिसकेको भए पनि अपार्टमेन्टले जग्गा छाडेको छैन,' ठाकुरले भने। ०४६ देखि ०६९ सम्म यो जग्गाको मुद्दा चलेको थियो। रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश भएका बेला फैसला सुनाइयो तर कार्यान्वयन भएन। 
कुलेश्वरमा रहेको फलफूल बजार र बल्खुको तरकारी बजारले पनि बागमतीको जग्गा अतिक्रमण गरेको छ। कुलेश्वरको करिब १२ फिट जग्गा बागमतीको हो। यहाँको विवाद टुंगिसकेको छैन। नदी पश्चिम किनारको ५० मिटर जग्गामध्ये बल्खु तरकारी बजारले ३५ मिटर खाइदिएको छ। 'प्रहरी प्रयोग गरेर भए पनि यसलाई हटाउने पक्षमा छौं,' ठाकुरले भने, 'यो महानगरपालिकाकै बदमासी हो।' टेकु दोभानदेखि तलको फलफूल बजारले पनि १२ फिट जग्गा मिचेको छ।
बागमती मिचेर बनाइएका सबै घरलाई एकैचोटि हटाउने पक्षमा समिति छैन। सकेसम्म कम क्षति हुनेगरी प्रयास गर्दै आएको ठाकुरले बताए। 'बीचको बाटो निकाल्दा–निकाल्दै जग्गा माफियाहरू झन्झन् अघि बढिरहेका छन्,' उनले भने। समितिले जग्गा अतिक्रमण फुकुवा गर्ने विषयलाई मन्त्रिपरिषद्मा प्रस्तावै दर्ता गर्ने तयारीसमेत गरिरहेको उनले बताए।
ललितपुर साइडमा रहेको मनमोहन पार्क र बिपी पार्क पनि जग्गा अतिक्रमण गर्नेको सूचीमा छन्। समिति यी पार्कको समस्या सुल्झाउन लागिपरिरहेको छ तर 'हात नहाल्न' राजनीतिक दबाब आइरहेको ठाकुर बताउँछन्।
'बागमतीको दृश्य कारुणिक छ,' दुई वर्षदेखि आयोजना प्रमुख रहेका ठाकुरले भने, 'मैले पनि प्रण गरेको छु, यसलाई ठेगान नलगाई हट्नेवाला छैन।' 
सुन्दरीजलदेखि गोकर्णसम्मको क्षेत्रमा भने समस्या देखिएको छैन। ०२१ सालको नक्साअनुरूप नै बागमती बगिरहेको छ। गोकर्णदेखि गुह्येश्वरीसम्मको ५ सय ८२ रोपनी जग्गा अतिक्रमण भएकोमा अहिले मोटामोटी २६ रोपनी जग्गाको विवाद कायम छ। ५ सय ५६ रोपनी जग्गाको मुआब्जा वितरण भइसक्यो, बाँकी २६ रोपनीको प्रक्रिया चलिरहेको छ। 
ठाकुरका अनुसार, समस्या भएका क्षेत्रलाई १६ आना मान्ने हो भने एक आना समस्या मनोहरा मिसिने ठाउँदेखि चोभारसम्म छ। गोकर्णदेखि गुह्येश्वरीसम्म ६ आना, तिलगंगादेखि शंखमूलसम्म ९ आना (सबैभन्दा बढी) जग्गामा समस्या छ। शंखमूलदेखि चोभारसम्म अतिक्रमित दर्ताको समस्या छैन। यहाँको बागमती क्षेत्रमा घर–टहरा नबनेका होइनन् तर सबै अस्थायी छन्। यही कारण यहाँबाट धेरै विरोध आएको छैन। ललितपुरको सरकारी जग्गामा युएन पार्क छ, करिब १६ सय रोपनीमा। काठमाडौंतिर पनि सुकुम्बासी बसाइको समस्या छ, अरू समस्या देखिँदैन। 
बागमती क्षेत्रको अर्को ठूलो समस्या किनारामा बसेका सुकुम्बासी बस्ती हुन्। समिति भने अहिले नै सुकुम्बासी क्षेत्रमा हात हाल्ने मनस्थितिमा छैन। 'यसमा हात हाल्यो भने काम बिथोलिन्छ,' ठाकुरले भने, 'अरू काम बन्दैन।' 
सुकुम्बासीको समस्या बल्खुभन्दा माथि गुसिंगाल, प्रसूतिगृह, सिनामंगल जागृतिनगर क्षेत्रमा बढी देखिन्छ। यसमध्ये सिनामंगलमा सबैभन्दा बाक्लो बस्ती छ। बागमतीको जग्गा हडप्नेमा सुकुम्बासीलाई दोष दिन चाहँदैनन् ठाकुर। 'सुकुम्बासीले होइन, ठूलाबडाले फोहोर गरेका हुन,' उनी भन्छन्, 'सुकुम्बासी देखाउने दाँतमात्र हो। खाने दाँत अरू छन्।'
बागमतीको जग्गा नक्कली किसिमले आफ्नो नाममा दर्ता गर्ने र त्यसलाई पुनः बागमतीलाई नै बेचेर कारोबार गर्ने सक्रिय समूह पनि छ। जग्गा दलाली बागमतीको जग्गा आफ्नो नाममा बनाउँछन् र त्यही जग्गा पुनः बागमतीलाई नै बेचिरहेका छन्। कुनैकुनै ठाउँमा त बागमतीलाई नक्सामा भेट्टाउनै गाह्रो छ।
'कुनै ठाउँमा बागमती नक्सामै छैन,' ठाकुरले भने, 'कहीँचाहिँ बागमतीका लागि दुई मिटरमात्र दिइएको छ।' यसैलाई ध्यानमा राखेर ०६८ सालदेखि बागमतीको कुनै पनि जग्गा दर्तामा रोक लगाइएको छ।
बागमतीमात्रै होइन, उपत्यकाभित्रका कुनै पनि नदी वा खोलाको जग्गा दर्ता र नक्सा पास हँुदैन। 'यसको प्रेसर हामीले भोगिरहेका छौं,' ठाकुर हाकाहाकी भन्छन्, 'तर, जाली फटाहालाई छाडिँदैन।'

केही हुँदैछ बागमतीमा

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग बागमतीलाई स्वच्छ बनाउने ३० महिनाको योजना छ, जसमा नदीका दुवै किनार ढल, तटबन्ध, हरित क्षेत्र र सुन्दरीजलदेखि चोभारसम्म बाटो निर्माण पर्छन्। 
'३० महिनाभित्र चोभारसम्मको बागमती पूरै सफा र स्वच्छ हुनेछ,' समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरले भने।
यो योजना सफल पार्न बागमती क्षेत्रलाई सात भागमा वर्गीकरण गरेर धमाधम काम भइरहेको उनले बताए। चोभारदेखि विष्णुमती, विष्णुमती दोभानदेखि थापाथली, थापाथलीदेखि शंखमूल, शंखमूलदेखि मीनभवन। शंखमूल–मीनभवन प्याकेजमा गुह्येेश्वरीदेखि माथिको बाटो पनि पर्छ। त्यसैगरी मीनभवनदेखि तिलगंगासम्म दुई प्याकेज र गुह्येेश्वरीदेखि गोकर्णसम्म अर्को क्षेत्र छुट्याइएको छ।
‘यी सात प्याकेजअन्तर्गत ढल, बाटो, हरित क्षेत्र, तटबन्ध, घरघरबाट आएका ढललाई बाँध्दै ल्याउने काम पनि भइरहेको छ,’ ठाकुर भन्छन्।
उनले भनेजस्तै बागमतीको किनारमा डुल्ने हो भने केही काम भइरहेको देखिन्छ। ठाउँठाउँमा पुल निर्माण भइरहेका छन्। कोरिडोर बनिरहेको छ। पार्क, ढल निकासको काम चालू छ। मीनभवन, शंखमूल, थापाथली, विष्णुमतीलगायत क्षेत्रमा काम भइरहेको देख्न सकिन्छ। 
समितिले गोकर्णदेखि चोभारसम्म बागमतीको पानी बग्ने क्षेत्र, दुवैतिर बन्ने बाटो, हरियाली क्षेत्र छुट्याएर काम अघि बढाएको छ। गोकर्णदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटीदेखि गुह्येेश्वरीसम्म ४० मिटर, तिलगंगादेखि शंखमूलसम्म ३० मिटर पानी बग्ने क्षेत्र हुनेछ भने यी क्षेत्रमा दुवैतिर २०–२० मिटर बाटो, हरित क्षेत्र र ढललाई छुट्याइएको छ। त्यसैगरी शंखमूलदेखि थापाथली पुलसम्म ४० मिटर, थापाथली पुलदेखि विष्णुमती दोभानसम्म ४५ मिटर, विष्णुमतीदेखि चोभार तलसम्म ५० मिटर पानी बग्ने क्षेत्र हुनेछ। यी क्षेत्रको दुवैतिर ३५–३५ मिटरमा बाटो, हरित क्षेत्र र ढल बनाउने जग्गा छुट्याइएको छ। 
समितिको अर्को महत्वाकांक्षी योजना ढल प्रशोधन केन्द्र निर्माण हो। आगामी पाँच वर्षको योजनाअनुसार बागमती उपत्यकाको सम्पूर्ण ढल संकलन र प्रशोधन गर्न पाँचवटा केन्द्र स्थापना गरिनेछ। यो काम एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्दै छ। काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन कार्यक्रमअर्न्तगत गोकर्णेश्वर, 
गुह्येश्वरी, बालकुमारी, धोबीघाट र भक्तपुर सल्लाघारीमा ढल प्रशोधन केन्द्र बन्न लागेका छन्। 'अहिले प्रारम्भिक चरणमा छौं,' कार्यक्रमका उपप्रबन्धक अनिलभद्र खनालले भने, 'ढल कति छन्, कस्तो अवस्थमा छ भनेर सर्वेक्षण भइरहेको छ।' उनका अनुसार आयोजनाको डिजाइन र परामर्शदाता छनोट गर्ने काम भइरहेको छ।
योजनाअनुसार वरिपरिका ढललाई यी प्रशोधन केन्द्रमा खसालिने छ। ढललाई 'टि्रटमेन्ट' गरिसकेपछि सफा पानीलाई बागमतीमा खसालिने र बाँकीबाट ग्यास, इनर्जी निकाल्ने योजना छ। त्यो इनर्जी प्रशोधन केन्द्र सञ्चालनमा प्रयोग हुनेछ। खनालका अनुसार एक वर्षभित्र तयारी पूरा भई काम अघि बढ्नेछ। सबैको सक्रिय र सकारात्मक सहभागिता भए पाँच वर्षमा सबै काम पूरा हुने उनको विश्वास छ। योजनाका लागि १३ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ। 
अहिले पनि गुह्येश्वरीमा समितिअर्न्तगत ढल प्रशोधन केन्द्र त छ, नाम मात्रको। पहिलो चरणमा यही केन्द्रलाई सुधार गर्ने योजना रहेको खनाल बताउँछन्। 
पहिलो चरणका पाँच प्रशोधन केन्द्रबाहेक अर्को चरणमा खोकनामा पनि ढल प्रशोधन केन्द्र राख्न कार्यक्रमले प्रस्ताव गरेको छ। 'उपत्यकाको सम्पूर्ण ढल पाँच केन्द्रले मात्र प्रशोधन गर्न सक्दैन,' खनालले भने, 'थप सुधारका लागि खोकनामा ठूलो क्षमताको प्रशोधन केन्द्र आवश्यक छ।' यसका लागि खोकना क्षेत्रमा ७ सय रोपनी जग्गा अधिग्रहणको काम अघि बढिसकेको उनले बताए।
यसबाहेक एडिबीको सहयोगमा बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्टअर्न्तगत सुन्दरीजलमा दुईवटा पानी संकलनको लागि बा“ध बन्नेछन्। वर्षा समयमा आएको पानी जम्मा गरेर सुख्खायाममा बागमतीमा पानी छाडिने छ। सुख्खा याममा पशुपति क्षेत्रमा घुँडासम्म पानी बगाउने योजना समितिको छ। रिभर साइड एक्टिभिटिज प्रोजेक्टअर्न्तगत दुवैतिर ग्रिनेरी बनाउने काम पनि भइरहेको छ। 
बागमतीलाई फोहोर बनाउनमा यसका सहायक नदी र खहरेको पनि दोष देखिन्छ। समिति भने यी सहायक खोला र खहरेमा अहिल्यै पसिहाल्ने योजनामा छैन। 'पहिलो चरणमा बागमतीकै काम गर्छौं,' ठाकुरले भने, 'त्यसपछि मात्र सहायकतिर प्रवेश गर्नेछौं।'
बागमतीपछिको योजनामा धोबीखोला र विष्णुमतीको व्यवस्थापन छ। यी दुई खोलामा मिसिन आएका ढल व्यवस्थित बनाइनेछ। ठाकुरका अनुसार आवश्यक बजेटका लागि चार महिनाअघि नै अर्थ मन्त्रालयमा फाइल पुगेको छ। 'पैसाको माग भए पनि अर्थ मन्त्रालयको कानमा बतास लागेको छैन,' ठाकुरले भने। बरु समितिको योजनाभन्दा उल्टो तरिकाबाट अर्थले बाटो पिचको लागि पैसा निकासा गरेको ठाकुरको दुखेको छ। धोबीखोला किनारको बाटो पिच गर्न ३० करोड निकासा भइसकेको छ। 'पहिला पिच गरेर ढल बनाउँदा बाटो खत्तम हुन्छ भनेर हामीले पिचको काम रोकिदिएका छौं,' ठाकुरले भने, 'ढल बनाउँछौं र कालोपत्रे गर्नु भनेका छौं।' 
तेस्रो चरणमा समिति मनोहरा खोलमा छिर्ने योजनामा छ। एडिबीको पैसाबाट मनोहरा, हनुमन्ते, गोदावरी खोलाको काम हुनेछ। यो अझ धेरै प्रदूषित पानी बग्ने क्षेत्र भएको ठाकुर बताउँछन्। यी खोला बागमतीभन्दा चार–पाँच गुणा धेरै फोहोर छन्। मनोहराको पानी डढेको मोबिलजस्तो कालो देखिन्छ। 
ठाकुर सकेसम्म बागमतीका सबै योजना छिटो सक्ने हतारोमा छन् तर पिचभन्दा पहिले ढल बन्नुपर्ने उनको अडान छ। गुरुयोजनामा सहभागी समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), सडक विभाग र सरकारबीच समन्वयनको खाँचो पनि उत्तिकै देखिन्छ। 
'१८ वर्षसम्म बागमतीमा केही हुन सकेन,' ठाकुर आशावादी देखिन्छन्, 'दुई वर्षमा केही काम भएका छन्।' तिलगंगादेखि चोभारसम्म अहिले १० प्रतिशतभन्दा कम काम भएको उनी बताउँछन्। 
बक्स

बागमतीको पानी बग्ने क्षेत्र 
गोकर्णदेखि जोरपाटी पुलसम्म : ३५ मिटर, दुवैतिर २० मिटर
जोरपाटीदेखि गुह्येश्वरीसम्म : ४० मिटर, दुवैतिर २० मिटर
तिलगंगादेखि शंखमूलसम्म : ३० मिटर, दुवैतिर २० मिटर 
शंखमूलदेखि थापाथली पुलसम्म : ४० मिटर, दुवैतिर ३५–३५ मिटर 
थापाथली पुलदेखि विष्णुमती दोभानसम्म : ४५ मिटर, दुवैतिर ३५–३५ मिटर 
विष्णुमतीदेखि चोभार तलसम्म : ५० मिटर, दुवैतिर ३५–३५ मिटर
अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...

विवादास्पद कविता

विवादास्पद कविता

विक्रमाब्द २०२९ साउन ७ गते। दिउँसोको समय। अकस्मात् काठमाडौंको नयाँ सडकमा अर्जुनजङ शाहीसित जम्काभेट भयो। उनी युनापकालीन मेरा पुराना साथी, त्यसैले आत्मीयता थियो। युनापले २०३६ सालमा पहिलो पूर्णांकी नाटक 'एउटा...

एक क्रोनिक दार्शनिक

एक क्रोनिक दार्शनिक

हरेक वर्ष वसन्त ऋतुले पालुवा हालेपछि राजधानीका सडकभरि नीलो शिरीष फूल्छन् जसै, एक महान् स्रष्टाको सम्झना हुन्छ। ती हुन्, पारिजात। आफ्नै स्वतन्त्रताको फाँटभरि छताछुल्ल पोखिने, अप्ठ्यारो टाकुरामा पुगेर पनि आफ्नै...

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...