Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

यार, मजाक गरेको

  • ४ माघ, २०७०
  • नयनराज पाण्डे
  • DISQUS_COMMENTS
(0 votes)
यार, मजाक गरेको
किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?


म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना फाइलभित्र थुप्रिएका थरीथरीका कागजझैं ती अचानक खस्न थाल्छन् र कागजको पुरानो गन्धझैं एक खालको अजीव खालको गन्धले ह्वास्स छोप्छ मलाई।

हो, स्मृतिको पनि गन्ध हुँदो रहेछ त। तर कस्तो गन्ध? अफगानी अत्तरझैं सुगन्धित या अमोनियम नाइट्रेटजस्तो उदेकलाग्दो तीख्खर? ठ्याक्कै भन्न सक्दिनँ म। तर गन्ध हुन्छ, यो पक्का हो। जसरी स्मृतिहरूको आफ्नै खालको रङ र आकार हुन्छ। बाफले छोपिएको ऐनाभित्र देखिएको धमिलो धमिलो रङ र आकार। स्मृतिको गन्धमा बास्नाहरूको अजीव खालकै मिश्रण हुन्छ। त्यसैले त्यो गन्धलाई अनुभूत त गर्न सकिन्छ तर ठ्याक्कै यस्तो हो भनेर अभिव्यक्त गर्न सकिन्न।

बादल नै त हुन् नि स्मृति। त्यसैले दिमागमा इन्कोड गरेर थुप्रिएका स्मृति विषय, प्रसंग, परिवेश र वातावरणअनुसार बादलझैं बत्तिँदै आउँछन् र मनलाई ह्वात्त एउटा अनौठो खालको संवेगले निथ्रुक्क बनाउँछन्। बर्सात्मा रुझेको लुगालाई जसरी निचोरेर टकटक्याउँछौं नि, हो त्यसरी नै स्मृतिहरू निचोरिन्छन् र तपतप चुहिन्छन् हाम्रै अस्तित्वको आँगनमा। यो त्यही आँगन हो, जहाँ सलिम र म गुल्लीडण्डा खेल्छौं। खोप्पीढुस खेल्छौं। कटिया समातेर माछा मार्छौं। गुलेली चलाएर भँगेरा मार्छौं।

हो, त्यसैले सलिम मेरो लागि महŒवपूर्ण छ। हेर्दा कति साधारण, कति असहाय देखिन्छ सलिम। तर कति जब्बर भएर आउँछ ऊ मेरो स्मृतिमा। उति बेला मेराअगाडि आउँदा कि उसको खल्तीमा विभिन्न रङका गुच्चा हुन्थ्यो, कि माछा मार्ने बल्छी अर्थात् कटिया। चानचुन पैसाका ढ्याक पनि लिएर आउँथ्यो ऊ कहिलेकाहीँ र भन्थ्यो, 'आइज यार, खोप्पीढुस खेलौं।'

तर जब ऊ स्मृतिमा आउँछ, ऊ कटिया, गुच्चा या चानचुन पैसामात्र लिएर आउँदैन। त्यससँगै लिएर आउँछ, म हुर्किंदै गरेको समयको तातोपन पनि। मैले खोप्पीढुस खेल्नका निम्ति सानो खोपिल्टा बनाउन कोट्याउँदै गरेको माटोको गन्ध पनि र कटियामा अल्झेका गिरही माछाको ताजा गन्ध पनि। अनि माछा मारिसकेपछि जब हामी पराल बालेर माछा पोल्थ्यौं नि, हो माछा र परालको धुवाँको त्यो मिश्रित बास्ना पनि लिएर आउँछ ऊ। अनि त मलाई यस्तो लाग्छ, मेरो अतीतमा या मेरो स्मृतिमा सलिम जति पावरफुल मान्छे अरू कुनै छैन। हो यार, मान्नुस्न। ऊ पावरफुल मान्छे हो। ऊ लेख्न जान्दैनथ्यो, पढ्न पनि जान्दैनथ्यो। तर उसले मेरो हात समातेर मलाई आफू बाँचेको परिवेशको कथा लेख्न सिकाएको छ। त्यसैले त मैले लेखेका अक्षरहरूबाट पनि अजीव खालको बास्ना आउँछ। सलिमको शरीरबाट बगिरहेको पसिनाको बास्ना त हो नि त्यो।

गल्ती गरेछु मैले। सदरलाइन गएर एकपल्ट भए पनि रस्तोगी फोटो स्टुडियोमा मैले सलिमसित उभिएर एउटा कम्पोजिट शटको फोटो खिच्नुपर्थ्यो। त्यो फोटो भइदिएको भए आज म भन्न सक्थेँ, उसको हुलिया कस्तो थियो। कसरी जोडिएका थिए उसका आँखीभुइँ एकअर्कासित। आँखीभुइँ जोडिएकाहरू रिसाहा हुन्छन् रे। सुनेको थिएँ मैले। तर सलिम किन कैले पनि रिसाएन मसित? त्यो बेला पनि किन रिसाएन ऊ, जब उसले र मैले सुर्खेतरोडको गड्ढामा सँगै कटिया थापेका थियौं। दुई ती घन्टामै सलिमले आठ–दसवटा टेंगना र गिरही माछा मारिसकेको थियो र म पटकपटक कटियामा गड्यौंलामात्र उनिरहेको थिएँ। एउटा माछा पनि मार्न सकेको थिइनँ। अन्तिममा परेको एउटा माछा पनि कटियाबाट निकाल्ने क्रममा फुत्किएर फेरि गड्ढामै खसेको थियो। त्यति बेला मेरो ताल देखेर मज्जाले हाँसेको थियो सलिम र मैले आवेशमा सलिमको कटिया भाँचिदिएको थिएँ। हो, त्यति बेला पनि रिसाएन मसित सलिम।

मेरो स्मृतिमा त्यसैले सधैं सलिमको हँसिलो अनुहार आइरहन्छ। हँसिलो र सुकिलो। हो, उसका लुगा भने कहिले पनि सुकिला भएनन्। उसले एउटाबाहेक अर्को कमिज फेरेको सम्झना छैन मलाई। कमिजको कलरमा जमेको कालो र चिल्लो मयलले पनि उसको सुकिलो व्यक्तित्वलाई मैल्याएको थिएन। मान्छे लुगाले मात्र सफा कहाँ देखिँदो रहेछ र? लुगाले मात्र मान्छेको नग्नता छोपिने भए सधैं ठाउँठाउँमा प्वाल परेको र घरिघरि गुप्तांग देखिइरहने कट्टु लगाउने सलिम मेरो स्मृतिमा किन नांगो भएर आउँदैन? किन अश्लील देखिन्न सलिम? गरिबीले उसलाई कागतीलाई झैं निचोरे पनि उसको स्मृतिले किन मलाई कहिले पनि अम्लीय अनुभूति गराउँदैन?

सलिमको कथा लेखिसकेको छु मैले। सलिम नै शीर्षक राखेर। निकै वर्षअघि। 'उलार' र 'लू'मा सलिमको उपस्थिति छैन। तर मलाई थाहा छ, त्यहाँ सलिम नै सलिम छ जताततै। ऊ अलिकति प्रेमललवामा मिसिएको छ र अलिकति कलुवामा पसेको छ। ऊ इलैयामा पनि मिसिएको छ र करिममा पनि घोलिएको छ। ऊ 'उलार' र 'लू'का पानापानामा फेड इन र फेड आउट हुँदै आउँदै–जाँदै गरिरहेको छ। 'उलार' र 'लू'का पाना जबजब पल्टाउँछु, एउटा पानाबाट फुत्त निस्कन्छ र अर्को पानामा फुत्त पसिहाल्छ सलिम। माछाझैं एक नदीको एउटा धारबाट उफ्रन्छ र तुरुन्तै अर्को धारमा मिसिन्छ ऊ। कहिलेकाहीँ त लाग्छ, सलिम नै त्यो सियो हो, जसले उलार र लूका पानापानालाई गाँसेको छ। आधा अधुरो वस्त्र लगाउने सलिम मेरा लागि जाडोको सुइटर बुन्दै आउँछ। सम्झनाको न्यानो सुइटर, जसलाई सलिमले अतीतको सलाइमा सम्झनाको गोल्छा या वर्धमान ऊनले फटाफट बुनेको छ।

यो पुसमा कहाँ होला सलिम? उसलाई जाडो लागेको होला कि नहोला? तर म किन उसलाई न्यानो सुइटर दिन सक्दिनँ। किन म उसलाई सधैं कठ्यांग्रिरहेकै स्थितिमा छाडिदिन्छु? के सलिम मेरो अस्तित्वको त्यो हिस्सा हो, जसलाई ढुसी परेर कुहिन दिनुहुन्न भन्ने थाहा छैन मलाई?

सलिम नै त हो, मलाई नेपालगन्जका गल्ली–गल्ली घुमाउने। करमोहना र परसपुर लैजाने उही त हो मलाई। जोगागाउँको मेला मैले ऊसितै हेरेको हैन र? मैले आफ्नो उमेरसँगै हुर्कंदै गरेको नेपालगन्जलाई सलिमकै आँखाबाट हेरेको त हु नि। लौ भैगो, सलिम मेरो आँखा हैन रे। तर मैले मेरो आँखामा लगाएको दूरबीन त सलिम नै हो। त्यही दूरबीनको सहायताले त मैले देख्न सकेको हुँ नेपालगन्जभित्रको दुःखी गरिबहरूको अनौठो समाज। कति स्वार्थी छु म, जसको कारणले मैले त्यो समाजको कथा लेख्न सकेँ, त्यो सलिमको नाम मैले आजसम्म सहलेखकको रूपमा पनि उल्लेख गर्न सकिनँ। कति पाखण्डी छु म। मलाई लाग्छ, हरेक लेखकले लेख्ने उत्कृष्ट किताब उसको पाखण्डको अत्युत्तम सिर्जना हो। हरेक सिर्जनासँगै लेखकले एउटा अपराध पनि गर्छ, कि उसले आफ्ना सिर्जनाका लागि प्रयोग गर्ने स्मृति र त्यो स्मृतिका बाहकहरूलाई अलिकति पनि जस पाउने मौका दिँदैन। हरेक श्रेय, हरेक पुरस्कार र हरेक वाहवाही ऊ एक्लैले लुट्छ। आफ्ना सिर्जनाहरूको कपिराइटका लागि मरिहत्ते गर्छ। सलिम र सलिमजस्ताहरू कहिले पनि त्यो सिर्जनामा आफ्नो हिस्सेदारीको दाबी गर्न आउँदैनन्। गरिबीको राजमार्गमा कुद्ने उनीहरूको पाइला सिर्जनाको आकर्षक महलको नक्कासीदार ढोकासम्म आएर फेरि त्यही राजमार्गतिर फर्किन्छ। त्यसैले सिर्जना र डकैतीमा अलिकति भए पनि कतै न कतै समानता त छ नि हाओ। हरेक लेखक सिर्जनाको जंगलमा हालिमुहाली गर्ने औतारी डाँका नै हो क्या। मान्नुस्न।

मैले आफ्नै स्मृति र त्यससँग जोडिएको एउटा कालखण्डलाई फेरि 'घामकिरी'मा उतारेँ। 'उलार' र 'लू'मा लुकेर बसेको सलिम यसमा जागा भएर आएको छ। दृश्यमा उपस्थित भएको छ ऊ यसपटक। उपन्यासभरि सलिम छ। सलिमको स्मृति छ। सलिमले उब्जाइदिएको सपनाको फसलको कटाइ, छटाइँ त छ नि 'घामकिरी'मा।

तर सलिमलाई उलार र लूमा आफू कहाँ छु भन्ने पनि थाहा छैन। घामकिरीमा पानाहरूमा कहाँकहाँ उसको कथा भनेको छु भन्ने पनि थाहा छैन उसलाई। ऊ यति बेला पनि के एकलैनीको त्यही मोडमा जुत्ता पालिस गर्दै बसेको होला? कि नेपालगन्ज छाडेर कतै अन्तै बसाइँ सरिसक्यो ऊ? केही वर्षअघि एकलैनीको त्यही मोडमा देखेको थिएँ मैले। मलाई चिनेन उसले। मैले आफ्नो घरेलु नाम भनेँ। त्यसपछि उसको अनुहारका त्वचा र नसाहरू धेरैपटक खुम्चिने र फैलिने गरिरहे। निकै बेरपछि मात्र उसले चिनेको थियो र भनेको थियो, 'अच्छा, तो वही राजुबाबु होव तुम?'

साथी नै त थिएँ म उसको। त्यसैले 'राजु' भनेर बोलाउँथ्यो सानामा ऊ मलाई। तर धेरै वर्षको अन्तरालमा म उसका लागि 'राजुबाबु' पो भइसकेको रहेछु। मैले त्यतिखेर बुझिनँ, त्यो मेरो हैसियत बढेको सूचना थियो या मित्रताको आदिम किताबमा धमिरा लागेको संकेत थियो त्यो? के सलिमसितको मेरो सम्बन्ध बिस्तारै–बिस्तारै मक्किँदै गइरहेको हो?

त्यसपछि फेरि केही वर्षको अन्तरालमा नेपालगन्ज जाँदा मैले सलिमलाई देखिनँ। सलिमहरूको बस्ती पनि देखिनँ। मानौं एउटा बालकले पेन्सिलले बनाएको चित्र थियो उसको त्यो बस्ती, जसलाई उसको कुनै साथीले इरेजरले मेटिदिएको थियो। जसरी हराएको थियो प्रेमललवाको घर र टाँगा 'उलार'मा, त्यसरी नै सर्लक्क हराएको थियो यसपटक सलिमको बस्ती। म किन रुन सकिनँ त्यति बेला? के समयले परिपक्व बनाएको थियो मलाई? या मेरा आँखाभित्र सुकिसकेका थिए नुनिला र ताता आँसुहरू? आफ्नो आँखाको पानी सुकाएर के आफ्ना रचनाहरू मार्फत् म मेरा पाठकलाई रुवाउने नौटंकी गरिरहेको छु? यदि यो विडम्बना हो भने म यो पंक्तिका लेखक, नयनराज पाण्डे, हजार–हजार विडम्बनाको चलायमान दस्तावेज हुँ। नपढ्नुस मलाई। इग्नोर मी।

तर म सलिमलाई इग्नोर गर्न सक्दिनँ। ऊ आइरहन्छ मेरो स्मृतिमा। ऊ आउँदा उसले आफ्नो काखीमै च्यापेर ल्याउँछ, मैले लेख्नैपर्ने कथाहरूको पाण्डुलिपि। त्यही पाण्डुलिपि म टाइप गर्छु र आफ्नो नामको आख्यान बनाएर छाप्छु। सलिमले फेरि पनि माग्दैन मसित सहलेखकको हैसियत। उसले रोयल्टी पनि माग्दैन। कपिराइटको दाबी पनि गर्दैन ऊ। ऊ उसरी नै हाँसिरहन्छ, जसरी हाँसेको थियो मेरो कटियाबाट फुत्केको माछालाई देखेर।

म आज पनि अलमलिन्छु, सलिम मेरो साथी हो या मसम्म कथाका पाण्डुलिपि बोकेर आउने हुलाकी हो ऊ? म अलमलमै छु, यो सलिमको पहिचानको संकट हो या म आफैं गुमाउँदैछु आफ्नो पहिचान? कि म क्रमशः 'राजु'बाट बन्दै गइरहेको छु 'राजुबाबु'?

सोच्दैछु, अब सलिम चाहिँदैन मलाई। म अब सलिमले दिएको पाण्डुलिपि उतारेर आख्यान लेख्दिनँ। अब म फरक पात्र, फरक परिवेश र फरक समयको कथा लेख्छु। अब म आफैंले तयार गर्छु एउटा सुललित आख्यानको पाण्डुलिपि। तर मैले यो कुरा सलिमलाई भन्न सकेको छैन। मलाई थाहा, मेरो यो कुरा सुनेर ऊ हाँस्नेछ। उसरी नै, जसरी हाँसेको थियो ऊ कुनै बेला,मेरो हातको माछा फुत्किँदा।

००

सलिमको अनौठो बानी थियो। ऊ कहिलेकाही जनावरहरूसित बोल्थ्यो। जनावरसित दोहाोरो संवाद भएझैं गर्थ्यो। म उसको टोलमा पुग्दा ऊ कहिलेकाहीँ वरिपरि भुस्याहा कुकुर भेला पारेर बसिरहेको हुन्थ्यो। उसले ती सबै कुकुरको नाम राखेको थियो। कसैको अमिताभ बच्चन, कसैको धर्मेन्द्र, कसैको हेमा मालिनी, कसैको जिनत अमान र परविन बाबी। ऊ तिनीहरूसित सिनेमाका कुरा गर्थ्यो, सिनेमामा तिनीहरूको भूमिका र अभिनयको कुरा गर्थ्यो। मैले सोध्दा भन्थ्यो, 'मजाक गरेको यार'।

तर नियति, समय अनि परिस्थिति सबैसबै कुराले सलिम र सलिमजस्ता बस्तीबाट हराउँदै गरेका मान्छेहरू आफैं एउटा 'मजाक' अर्थात् एउटा क्रूर ठट्टा बनिरहेका छन् अझै पनि। र म, लेखक भइटोपलेको एउटा पाखण्डी पुरुष, सलिमकै कथा लेखेर उसको भागको रोयल्टी पचाइरहेछु। योभन्दा भद्दा 'मजाक' अरू के होला?

स्मृतिमै सही। जबजब सलिम र मेरो जम्काभेट हुन्छ। मजाक भइरहन्छ। म उसको हातमा कहिले 'उलार', कहिले 'लू' र कहिले 'घामकिरी'का पुस्तक राखिदिन्छु।

ऊ सोध्छ, 'कहानी लेखेको तैंले?'

म जवाफ दिन्छु, 'यार, लेखेको हैन। बस्, मजाक गरेको।'

सलिम फेरि पनि हाँसिरहन्छ। ठिक त्यसरी नै, जसरी ऊ हाँसेको थियो मेरो हातबाट भर्खर समातेको माछा फुत्कँदा।

नाति–नातिना स्याहार्न विदेश

भर्खर जन्मेको बच्चालाई चाहिने सामान काठमाडौंबाटै पोको पारेर यशोदा शर्मा (बाबा) अस्ट्रेलिया पुगिन्। उनका पोकोभित्र थिए– तोरीको तेल, लिटो, ढाकाको भोटोलगायत नातिनीका लागि चाहिने अन्य सामग्री। अस्ट्रेलियामा बच्चाका लागि चाहिने...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

कालो रातको कुरुक्षेत्र

तिनी पुग्दा कुरुक्षेत्र अन्धकारको अँगालोमा गम्लङ्ङ ढाकिएको थियो। आफैंलाई खोज्नुपर्ने त्यस रातमा तिनी आफ्नो पति खोज्न आइन्। आज मारिएका हजारांै सेनामा तिनका पति पनि थिए। आखिर यो त हुनु नै...

घरभन्दा राजनीति प्यारो

घरभन्दा राजनीति प्यारो

अष्टलक्ष्मी शाक्य सानैदेखि विद्रोही स्वभावकी थिइन्। सम्पन्न परिवारमा जन्मे पनि सुखसयल छानिनन्। २०१० सालमा काठमाडौं, झोछेंमा जन्मेकी उनी परिवारका आठ सन्तानमध्ये फरक स्वभावकी मानिन्थिन्। पढाइलेखाइमा निकै ध्यान दिन्थिन्। यसै क्रममा...

नयाँ ढंगले सोचौं

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला...