Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

नागरिक शनिबार

बहादुर लेखक

  • ४ माघ, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
बहादुर लेखक
नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र सुनेकी छन्। देखेकी छैनन्, टेकेकी छैनन्।


तीन साताअघि भारतको नयाँ दिल्लीस्थित शादीपुर कुनामा रहेको 'मे डे बुक स्टोर'मा आफ्नो भर्खरै प्रकाशित पहिलो पुस्तक 'कुली वुमन'बारे गायत्रा बहादुर अर्का लेखक राहुल भट्टाचार्यसँग संवाद गरिरहेकी थिइन्। कार्यक्रममा गायत्राले 'कुली वुमन'भित्रका केही अंश छानेर पढिन्। दर्शकको जिज्ञासा मेटिन्। राहुलले पनि आफ्नो उपन्यास 'द स्लाई कम्पनी अफ पिपुल एन्ड केयर'का अंश पढे। अनि गायत्रासँग संवाद गरे। संजोगको कुरा, फिक्सन्तर्फ सन् २०११ को 'हिन्दु लिटरेरी प्राइज' बाजी मार्न सफल राहुलको यो पहिलो उपन्यासले ती परिवेश र पात्र खोतल्छ, जुन गायत्रा बहादुरको पुस्तकमा पनि पाइन्छ।

हेर्दा सामान्य काँटकी, नपत्याउँदी, तर पछिल्लो समयकी प्रभावशाली लेखक हुन् गायत्रा। उनको पुस्तक 'कुली वुमन' पढ्नेले यो जिकिरमा सायद असहमति जनाउँदैन। न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, द नेसन्, द अब्जर्भरजस्ता पत्रिकामा राजनीति, संस्कृति र बसाइँसराइबारे लेख्ने गायत्रा कुनै बेला रिपोर्टिङ गर्थिन्। क्यारेबियन देश गुयानामा जन्मे पनि त्यहाँबाट नौ वर्षको छँदा अमेरिका लगिइन्। उनी अमेरिकी हुन् तर लेखनको विषयवस्तु छनोट र शैलीमा भारतेली–गुयानाको सांस्कृतिक बास्ना भेटिन्छ। नेपालतिर झन्डै उस्तै अर्थ आउनेगरी 'कुल्ली' शब्द प्रचलित छ। 'कुली' शब्दको उद्भव भने तमिल भाषाबाट भएको यही पुस्तकमा उल्लेख छ।

...

सन् १९९७ मा अमेरिकाको नेवार्क एयरपोर्टबाट जन्मस्थल गुयाना जाने क्रममा गायत्रा आफ्नो अघिल्तिर स्थानीय भाषा बोल्ने मानिस आलु, गोलभेँडाको सस, क्याडबरी चकलेट आदि बेचिरहेको देख्छिन्। आफ्नै जाति र भाषाका लाग्ने ती मानिस देखेपछि उनी पितासँग पारिवारिक जरा, हाँगा खोतल्न थाल्छिन्। पुस्तक लेख्ने क्रममा थुप्रै अनुसन्धान गरे पनि उनको कुली–ज्ञानको प्रारम्भिक स्रोत भने पिता नै हुन्। किनकि उनीसँग आफ्नो परिवारबारे थुप्रै अभिलेख छ। उनले चुहाएका सूचना पछ्याउँदै गायत्राले वंशवृक्षको इतिहास खोतलेकी छन्। तर पुस्तक त्यतिमा टुंगिदैन।

पुस्तककी मूल पात्र गायत्राकी जिजुबज्यै सुजारिया सन् १९०३ मा कलकत्ता डिपोबाट गुयाना गएकी एक कट्टर ब्राह्मण महिला हुन्। दक्षिण अमेरिकी देश गुयानाका लागि 'क्लाइड' नामक पानीजहाज चढेकी उनी गर्भवती थिइन्। महिनौंको जहाज यात्राका क्रममा उनले छोरो जन्माइन्। नाम जुराइन्– लालबहादुर।

क्रोनिक ब्रोङकाइटिस लागेर बितेका लालबहादुरका छोरा हुन् गायत्राका पिता। लेखक गायत्रा उनै लालबहादुरकी नातिनी हुन्। अर्थात्, मूख्य पात्र सुजारियाकी पनातिनी।

गायत्राले सुजारियाजस्ता लाखौं कामदार कुलीको इतिहास यो एउटै पुस्तकमा समेटेकी छन्। ती कामदार कुलीले गुयानाको भूमिमा कडा परिश्रम गर्नुपर्‍यो। बदलामा तिनले अत्याचार खपे। थुप्रै महिलाहरू यौनदासी बनाइए। कतिले शोषण खप्न नसकी आत्महत्या गरे। कोही पलायन भए। महिलाको संख्या कम हुँदै गयो। परिवार भत्कँदै गए। पारिवारिक जिम्मेवारी लिनु नपरेपछि पुरुषहरू बरालिए। उनीहरू बेघरबार भए। घर छाडेर टाढा–टाढा जान थाले।

एकातिर ब्रिटिस राजको ताडना, अर्कातिर कट्टर समुदायको बन्धन। दोहोरो उकुसमुकुस खप्नु नपरोस् भनेर भारत छाड्न चाहने महिलाझैं एक हुन् सुजारिया। बिहारबाट कलकत्ता हुँदै पानीजहाज चढेर विदेश जान सकियोस् भनेर उनी हिँड्न त हिँडिन्, तर सम्भ्रान्त घरानाकी यी महिलाले अदक्ष कामदारका रूपमा गुयानामा काम गर्नुपर्‍यो।

र, सुजारियाको जीवन यसरी नै गयो। छोरा लालबहादुरले उनको सम्झनामा स्मारक बनाए। तर भारत छाड्नेहरू सबै गुयाना भने गएनन्।

तीमध्ये कतिपय वेस्ट इन्डिज पुगे। बाँकी गुयाना हुँदै संयुक्त राज्य अमेरिका पसे। केही फिजी, मौरिसस, टि्रनिडाड गए। महिलाका लागि छुट्टै इमिग्रेसन पास व्यवस्था गरिएको थियो। यसरी जानेमध्ये गायत्राले मुख्य पात्र आफ्नी जिजुबज्यै सुजारिया रोजेकी छन्। उनीसँगै मुक्तिको सपना देखेर भारत छाडेका महिलाहरू गुयाना पुगेपछि त्यस यथार्थसँग आमनेसामने हुन्छन्। जस्तो कि, तावाबाट उफ्रेको माछो भुंग्रोमा पर्छ।

गुयानालाई ब्रिटिस उपनिवेशताका ब्रिटिस गायना भनेर सम्बोधन गरिन्थ्यो। पुस्तकमा दुई खालका नाम देखिँदा पाठक झुक्किन सक्छन्। सन् १९६६ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि यसको नाम बदलियो। नाम बदलियो, शासक बदलिए। तर भारतबाट लगिएका यी मजदुरको भाग्य बदलिएन।

'मेरी जिजुबज्यै उच्च घरानाकी हिन्दु महिला हुनुहुन्थ्यो, तर भारत छाड्दा कुली महिलाका रूपमा छाड्नुपर्‍यो। यसरी समुदायबाट व्यक्ति छुट्टिँदा परिचय पनि भिन्न हुँदो रहेछ,' गायत्राले पुस्तकमा लेखेकी छन्।

इन्डियन–अमेरिकनबीच सधैं झगडा, बेमेल हुने गरे पनि जब सानो राज्य गुयानामा बाह्य शक्तिको निरन्तर आक्रमण भयो, उनीहरूबीच स्वतःस्फूर्त सद्भाव कायम भयो। आजसम्म कायम छ। तर आप्रवासी भएकै कारण भेदभाव खप्नुपर्ला भन्ने डरले उनीहरूले छिमेकी बनाएनन्। स्थानीयसँग घुलमिल भएनन्।

दासताबाट भारतीयलाई मुक्त गर्ने भनी अंग्रेजले घोषणा गरेपछि ज्यालादारी नोकर बोकेको अन्तिम पानीजहाज भारतबाट गुयानाका लागि अन्तिमपल्ट सन् १९१७ मा छुट्यो। यो झन्डै एक शताब्दीअघिको कुरा हो। समयको चक्र बदल्न सय वर्ष पर्याप्त हुन्छ। आज ती प्रवासी भाडाका कामदार वा कुलीकै रूपमा छैनन्। उनीहरू एक उपनिवेशबाट अर्को उपनिवेशमा सरे, सर्न बाध्य बनाइए। ठाउँपिच्छे उनीहरूको हैसियत फेरिँदै गयो। गुयानामा भने अझै पनि उखु मिलमा काम गर्ने, बाली उठाउने मजदुर भेटिन्छन्। कतिपय कुली समुदायका मानिस भने वकिल, चिकित्सक, कवि, राजनीतिज्ञ, पत्रकार र सामाजिक कार्यकर्ता बनिसकेको गायत्राले नागरिकसँगको इमेल वार्तामा बताइन्। समग्रमा कुली जीवनशैली बदलिइसकेको छ।

'हामीलाई किन अझै कुली भन्नुपर्‍यो? हामी त पहिले ज्ञानी र पण्डितका छोराछोरी थियौं, पढालेखा परिवारबाट आएका हौं,' गायत्राले पुस्तकका पात्र समाउँदै लेखेकी छन्।

न्यु जर्सीस्थित निवासको भित्तामा झुन्डिएको श्यामश्वेत फोटोबाहेक हजुरबा लालबहादुरबारे गायत्रासँग केही छैन। पचासको दशकमा हिँड्दा लालबहादुरको उमेर झल्काउँछ फोटोले। गुयाना लगिएका अरू भारतीयझैं उनी धान उमार्ने, गाईबस्तु र कुखुरा पाल्ने गर्थे। त्यसका अलावा सुगर प्लान्टेसनमा काम गर्थे। देवीदेउताको तस्बिर राखेर घरैमा सानो मन्दिर बनाएका थिए। कट्टर हिन्दु धर्मावलम्बी लालबहादुरको विरासत धान्ने आठ छोराछोरी थिए। उनले सिकाएका कुलधर्म पनि भारतेली थिए। केवल बसेको भूमि गुयाना थियो। भारत छाडेर गुयाना जानेका कथामाथि बिस्तारै गुयानासमेत छाडेर अन्यत्र जानेका कथाले वर्चस्व निर्माण गर्दैछन्।

भारतको चटनीदेखि बलिउड सिनेमाले क्यारेबियन क्षेत्रसम्म पारेको प्रभाव पुस्तकभरि आउँछ। बीचबीचमा त्यस बेलाका लोकगीत र कविताका टुक्रा भेटिन्छन्। भारतीय सभ्यता र आफ्ना पुर्खाको इतिहासप्रतिको समर्पणले यो पुस्तक लेखिएको छ। तर भारत छाडेर गुयाना जाने पुस्ताको नोस्टाल्जियालाई गुयाना छाडेर अमेरिका जाने गायत्रा–पुस्ताको संवेदनाले जितेको छ। पुस्तकभरि डबल–डायस्पोरा भेटिन्छ।

...

'कुली वुमन'लाई प्रकाशक सी हर्स्ट एन्ड कम्पनी लन्डन र ह्याचेट दुवैले 'नन्फिक्सन/बायोग्राफी/मेमोइर' विधाअन्तर्गत राखेका छन्। यद्यपि यो अंग्रेजले भारतबाट जबर्जस्ती लगेका कामदारको चार पुस्ताको इतिहास नै हो।

गायत्रासँग मैले मेडे बुकस्टोरमा संक्षिप्त कुराकानीको मौका पाएँ। पुस्तक किनेँ। उनको इमेल आइडी लिएँ। इमेलको जवाफ फर्काउन अनुरोध गर्दै बिदा भएँ।

पुस्तक पढिसकेपछि उनलाई १५ वटा जिज्ञासा पठाएको थिएँ। उनले जवाफ पठाउन ढिला गरिदिइन्। जेहोस्, पठाइन्।

नागरिकसँगको वार्तामा गायत्राले भनेअनुसार यो पुस्तक इन्डो–क्यारेबियनहरूको कथा हो। त्यस समुदायकी एक सदस्य भएको हुनाले यो उनले लेख्नैपर्ने पुस्तक हो। पहिचान, जरा र पुर्खाहरूको खोजीमा निस्केकी आप्रवासीकी यी सन्तान इतिहासप्रतिको आफ्नो बुझाइका आधारमा पुस्तक लेख्न थालेको बताएकी छन्।

पुस्तक लेख्नुपूर्वका तीन वर्ष यी लेखकले पात्रहरूको खोज अनुसन्धानमै बिताइन्। पुस्तक लेख्न भने एक वर्ष लगाइन्। पुस्तक लेखिसकेपछि गायत्राले भारतबाट मुक्तिको सपना देखेर झन् बन्धनमा फसेका महिलाबारे पुस्तक लेख्दै गरेको र त्यो छपाउन चाहेको प्रपोजल विभिन्न प्रकाशकसमक्ष पठाइन्। उनका एजेन्टले अमेरिका, बेलायत र भारतका प्रकाशकसमक्ष पुर्‍याए।

पुस्तक छापिएपछि पहिले अमेरिकामा बिक्यो। त्यसपछि बेलायतमा। पछि बेलायतकै प्रकाशकले पुस्तकलाई दक्षिण एसियामा ल्याए। विख्यात लेखक पंकज मिश्रले औपनिवेशिक आधुनिकताको दोधारे चरित्रबारे शक्तिशाली साहित्यिक भाषामा चित्रण गरिएको पुस्तक भनी 'कुली वुमन'को सराहना गरेका छन्।

पहिलो पुस्तकले छापिएको तीन महिना नबित्दै विश्वव्यापी चर्चा बटुलेपछि गायत्राको लेखकीय प्रतिबद्धता चुलिएको छ। यो लेख छापिँदै गर्दा उनी जयपुर लिटरेचर फेस्टिभलका सत्रहरूमा बोलिरहेकी हुनेछिन्। अब अर्को पुस्तकका लागि तुरुन्त काम थाल्ने योजना सुनाउँछिन् उनी। नयाँ पुस्तकको विषय सोचिसकेकी छन्। तर खुलासा गर्न भने मानिनन्। पाठकलाई सुखद् आश्चर्यमा पार्ने उनको चाहना होला।

उपनिवेशकालीन पीडाको अभिलेखलाई यति मिठो भाषामा लेख्नु चानचुने कुरो होइन। यी बहादुर लेखक गायत्राले त्यही काम गरिन्, जुन कामले सामान्य ठानिएको 'कुली–कथा'लाई असामान्य र महŒवपूर्ण बनाइदियो।

साधारण मानिसले लेख्न थालेका दिन इतिहासका पानाहरू कस्ता होलान्? के ती राजा, सुल्तान र पोपका वंशावलीजस्तै होलान्? कि भिन्न होलान्?

गायत्रा बहादुरको बायोग्राफी 'कुली वुमन' यस्तै एउटा नलेखिएको इतिहास हो। यो परम्परागत धारभन्दा पृथक, वैकल्पिक इतिहास हो।
क्रिसमसमा रमाइलो

क्रिसमसमा रमाइलो

विश्वमा मनाइने क्रिसमस हामीले पनि रमाइलो गर्दै मनायौं। त्यस दिन फरक हाँसो, जाँगर, स्फुर्ति र जिज्ञासा थियो। कार्यक्रममा एकपछि अर्को गर्दै स्वागत गीत, आइ.एम.लिटिल स्टार, जिङ्गलबेल, वाकावाका र नेपाली नृत्य...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

आखिर बाँचिदो रहेछ !

आखिर बाँचिदो रहेछ !

बिरिङ खोला त्यतिसाह्रो गड्गडाएको उनले कहिल्यै सुनेकी थिइनन्। २०३५ साउन २ गते सोमबार । दुई जिउकी शिवमाया घरधन्दामा व्यस्त थिइन् । श्रीमान् गोरु बेच्न बुधबारे बजार गएका थिए।

गलैंचामा बुनिएको जिन्दगी

चाबहिल, रामहिटीको रोल्पा कार्पेटमा दर्जनौं हातहरू गलैंचा तानमा सल्बलाइरहेका थिए । आफूभन्दा अग्लो तानामा खट हालेर धागो उन्दै थिइन्, चिनिमाया तामाङ।

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

फ्लाइट नम्बर ७१७

फ्लाइट नम्बर ७१७

कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं।

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

मतलब, तीन पुस्ता...

बाहिरपट्टि विभिन्न पत्रिकामा आफ्नो प्रकाशनका किताब र लेखकबारे छापिएका समाचार र तस्बिरका कटिङ सजाइएका छन्। विभिन्न लेखकबारे छापिएका स्टोरी पनि सँगै छन्। केही कलाहरू छन्।