24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

वाम–रुढताबाट मुक्त

  • ४ माघ, २०७०
  • शार्दूल भट्टराई
  • DISQUS_COMMENTS
(1 Vote)
वाम–रुढताबाट मुक्त
त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो। मान्छे बलिदानमा होमिन तयार थिए। कहीँकतै बेइमानी, षडयन्त्र र अनैतिक काम भएमा त्यसलाई पार्टीभित्रै दण्डनीय अपराध ठानिन्थ्यो।


त्यो कम्युनिस्ट पार्टी खुल्ला भयो। सबै गतिविधि खुल्ला भए। हिजो क्रान्तिका लागि बलिवेदीमा होमिन तयार कम्युनिस्टहरू संसदीय भासमा होमिन थाले। कम्युनिस्ट राजनीति क्रमशः व्यक्तिगत सुविधा र स्वार्थमा बदलिँदै जान थाल्यो। ठेक्कापट्टा, दलाली, कमिसनजस्ता अनैतिकताले प्रवेश पायो। आमूल परिवर्तनमा लागेको कम्युनिस्ट पार्टी विस्तारै विचारविहीन भीडमा रूपान्तरित हुन थाल्यो। त्याग र आदर्शलाई विकृति–विसंगतिले विस्थापित गर्दै गए। कम्युनिस्टको नाममा नहुनुपर्ने धेरै कुरा हुन थाले।

एउटा कम्युनिस्ट पार्टीको जीवनमा उहिले र अहिलेमा धेरै परिवर्तन आएको छ। त्यस पार्टीमा उहिले कतिले भोगेका, कतिले सुनेका र कतिलाई थाहै नभएका घटना–परिस्थिति र अहिले सबैले देखिरहेका, भोगिरहेका अनि टुलुटुलु हेरिरहेका घटनाक्रमको अवलोकन लेखक झलक सुवेदीले गरेका छन्। यो उनको राजनीतिक अवलोकन हो। आफ्नो अवलोकनलाई उनले उपन्यास आधा जूनमार्फत सार्वजनिक गरेका छन्।

विगतमा झलकको राजनीतिक सक्रियता एमालेमा थियो। उनी २०३६ सालदेखि तत्कालीन नेकपा (माले) हुँदै पन्ध्र वर्षभन्दा बढी नेकपा (एमाले) मा रहे। उनको विचारमा– सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरी राज्यविहीनतामा पुर्‍याएपछि मानिस समान रहन्छन् र सबैका इच्छा पूरा हुने अवस्था बन्छ भन्ने मार्क्सको शिक्षा जहाँबाट प्राप्त भयो त्यहीँबाट मार्क्सलाई बिर्साउने काम हुन थाल्यो। पीपलको रूखमा खिर्रो फलेको उनी आफैंले भोगे। उनी आफ्नो पतनबाट मुक्त हुन चाहन्थे। त्यसैले उनी पन्ध्र वर्षभन्दा बढी समय हिँडेको फराकिलो र सुविधाजनक बाटो छोड्न पुगेका थिए। एमालेमा आफू रहँदाको यही पन्ध्र वर्षको अवधिलाई उनले उपन्यासमा उतारेका छन्।

पार्टीमा रहुन्जेल आफ्नो पार्टीभन्दा राम्रो र असल अरू कसैलाई नदेख्ने तर पार्टी छाडेपछि त्योभन्दा भ्रष्ट, अनैतिक र खराब पार्टी अरू नभएको टिप्पणी गर्ने प्रवृत्ति नेपाली राजनीतिमा बहुप्रचलित छ। तर झलक सुवेदी एमाले छाडे पनि एमालेकै बारेमा उपन्यास लेख्दा उतिसारो आग्रही देखिएका छैनन्। उपन्यासमा केही आग्रह व्यक्त भए पनि उनी उद्देश्यपूर्वक नै दूराग्रही रहेको महसुस हुँदैन।

उपन्यासकार झलक सुवेदीको राजनीतिक यात्राका क्रममा पार्टीका आन्तरिक र बाह्य घटना यस उपन्यासका विषय बनेका छन्। विशेष गरी कास्की जिल्लाको माले–एमाले राजनीतिलाई उपन्यासमा उतारिएको छ। पार्टीका वैचारिक तथा संगठनात्मक विषय, पार्टीभित्र उत्पन्न विवाद, गुटबन्दी, आशा, निराशा, प्रेम, पलायनजस्ता विषय उपन्यासमा समेटिएका छन्। परिवर्तनकामी चरित्रहरूको सामाजिक अन्तरसम्बन्धसँगै क्रान्तिकारी अभियानमा संलग्न शिक्षक, विद्यार्थी र राजनीतिक व्यक्तिको विभिन्न अवस्थाको मनोदशालाई पनि उपन्यासले उद्घाटित गरेको छ।

राजनीतिक जीवनको गतिशीलतामा आरोह–अवरोहका अनेक अर्थ हुन्छन्। त्यसमा पनि निरंकुश राजतन्त्रात्मक मुलुकमा जनवादी गणतन्त्रको स्थापनाका लागि अगाडि बढ्ने ध्येय बोकेका कम्युनिस्टको क्रियाशीलताको अर्थ भिन्नै थियो। त्यसभित्रका सफलता–असफलता र नकारात्मक–सकारात्मक प्राप्तिबाट प्रभावित हुने व्यक्ति र विषय पनि धेरै थिए। झलकले आफ्नो उपन्यासमा यो कुराको अध्ययन निकै नजिक रहेर गरेका छन्।

उहिल्यैदेखि भनिँदै आएको कुरा हो– क्रान्ति रोमाञ्चकारी सपना होइन। जसले क्रान्तिलाई रोमाञ्चकारी सपनाको रूपमा लिन्छ, ऊ भयानक भ्रममा फस्न पुग्छ। त्यसरी भ्रममा बाँच्नेहरू क्रान्तिको वास्तविकतालाई बुझेपछि तिल्मिलाउन पुग्छन्। रुसी कवि एसेनिनले पहिले अक्टोबर क्रान्तिलाई त्यस्तै रोमाञ्चकारी सपनाका रूपमा लिए। उनले ...म बोल्सेभिक हुँ, स्वर्गमा पनि/पृथ्वीमा पनि मेरो महान् अक्टोबर क्रान्ति अमर रहोस्' भनेर कविता नै लेखे। पछि क्रान्तिलाई वास्तविक रूपमा बुझेपछि उनको मानसिक अवस्था नै बिग्रिन पुग्यो। यही रोमाञ्चकारी सपना नै उनको असामयिक निधनको कारण बन्न पुग्यो।

नेपालमै पनि क्रान्तिलाई रोमाञ्चकारी सपना ठान्ने प्रवृत्ति व्यापक छ। झलकले यो कुराको संकेत विभिन्न ढंगबाट गरेका छन्। रोमाञ्चकारी सपना साँचेर आफू अनुकूल कम्युनिस्ट क्रान्तिलाई बु‰ने र आफ्नो स्वार्थ अनुकूल सिद्धान्त र क्रान्तिको व्याख्या गर्नेका लागि यो उपन्यास सरोकारको विषय बन्नैपर्ने देखिन्छ।

कतिपय मार्क्सवादी लेखकले आख्यानमा सोझै आफ्नो दृष्टिकोण थोपर्ने काम गरेकामा मार्क्सवादी समालोचक स्वयंले विरोध जनाउँदै आएका छन्। लेखकले कहिल्यै पनि आफ्नो दृष्टिकोण थोपर्न नहुने विचार राल्फ फक्स राख्छन्। लेखकले पात्रद्वारा स्वाभाविक रूपमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने मान्यता उनको छ। झलकले त्यही शैली अपनाएका छन्। उनका अधिकांश दृष्टिकोण उपन्यासका पात्रमार्फत व्यक्त भएका छन्। उनले धेरै पात्रमार्फत आफ्ना विचार व्यक्त गरेका छन्। ठाउँठाउँमा लेखकले पात्र–पात्रका बीच राजनीतिक मीमांसा नै प्रस्तुत गर्न लागेको अनुभव पनि हुन्छ।

कम्युनिस्ट पार्टीमा समस्या तलबाट होइन माथिबाटै सुरु हुने गरेको देखिन्छ। केन्द्रीय नेतृत्वबाट सुरु हुने समस्याले तल्ला तहका विवादरहित ठाउँ पनि विवादित बन्न पुग्छन्। तल्लो तहलाई केन्द्रीय तहसँग जोडेर हेर्ने कुरामा उपन्यासकारले अलि कमै महŒव दिएका छन्। माथिल्लो तहमा देखिने गलत नेतृत्व, गलत नीति र गलत विचारको प्रभावलाई तल्लो तहसँग जोड्ने सिलसिलामा उपन्यासमा कथाको विकास शृंखलाबद्ध लाग्दैन। केही प्रसंगमा कथा–शृंखलाले बीचैमा अस्वाभाविक फड्को मारेको छ ।

उपन्यासले स्पष्ट पार्छ– सुवेदी मार्क्सवादको गतिशीलतालाई राम्रोसँग बुझेका बुद्धिजीवी हुन्। उनमा कुनै रूढता देखिँदैन। तर मार्क्सवादको सिर्जनात्मक विकासका सन्दर्भमा उनी अहिलेको प्रयोगलाई स्वीकार गर्ने पक्षमा छैनन्। उनी क्रान्तिकारी विकल्पको कुरा त गर्छन् तर त्यो विकल्प के हो र कस्तो हो भन्ने उपन्यासमा देखिँदैन। विकल्पविहीन अवस्थामा कुन कुराका आधारमा केलाई राम्रो मान्ने र केलाई नराम्रो ठान्ने? यो बहसकै विषय हुनसक्छ। यस प्रसंगमा नेपाली कम्युनिस्ट आन्दोलनमा वैचारिक पुनर्गठनको आवश्यकतालाई निष्कर्षका रूपमा प्रस्तुत गर्ने उद्देश्य भने उपन्यासकारमा देखिन्छ।

उपन्यासको कथावस्तु गतिशील छ। त्यही गतिशीलतामा विचारको अभिव्यक्तिलाई सकेसम्म कलात्मक बनाउने काम उपन्यासकारले गरेका छन्। चरित्र चित्रणमा उपन्यासकारको कलाकारिता प्रशंसनीय मान्नुपर्छ। उपन्यासका कतिपय चरित्र वास्तविक छन्। उनले यथार्थको धरातलबाट जे जस्ता चरित्र टिपेका छन् तिनको चित्रण स्वाभाविक मात्र छैन, प्रभावशाली पनि छ। कतिपय चरित्रको चित्रणमा उपन्यासकारको कल्पनाशीलता पनि थपिएको छ। आख्यानलाई सकेसम्म वास्तविक र यथार्थपरक चरित्र र घटनाबाट अगाडि बढाउने प्रयास उपन्यासकारले गरेका छन्। कथालाई अनेक मोड र बान्कीमा बुन्न सक्ने कल्पनाशीलतामा झलक सुवेदी कमजोर छैनन् भन्ने तथ्यलाई उपन्यासले प्रस्तुत गरेको छ। उनको उपन्यासमा आञ्चलिकताको विशेषता पनि पाइन्छ। कतिपय संवादमा पात्रअनुसार स्थानीय भाषाको प्रयोगलाई उनले महत्व दिएका छन्। त्यसले उपन्यासको सौन्दर्य बढाएको छ।

अन्ततः उपन्यासको विषय एउटा वामपन्थी पार्टीसँग सम्बन्धित भएकाले उपन्यासका सबै घटना त्यस पार्टीको आन्तरिक जीवनसँग मात्र गाँसिएर प्रस्तुत भएका छन्। एउटा वामपन्थी पार्टीको माध्यमबाट नेपालको सिंगो वामपन्थी आन्दोलनकै संकटलाई सम्बोधन गर्न सकेको भए उपन्यासको दायरा अझै फराकिलो बन्न पुग्ने थियो। त्यसमा पनि विशेष गरी समग्र वामपन्थी आन्दोलनमा देखिएको वैचारिक संकटलाई सम्बोधन गर्दै वैचारिक पुनर्गठन र क्रान्तिकारी विकल्पको आग्रह राखिएको भए उपन्यासले अझै बढी प्रशंसित हुने अवसर पाउने थियो।
बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

राजनीति गर्न परिवारभित्रै संघर्ष

राजनीति गर्न परिवारभित्रै संघर्ष

स्याङ्जाको थुमपोखरामा जन्मिएकी पद्मा अर्याल नेकपा एमाले स्याङ्जाकी अध्यक्ष हुन्। सातौं जिल्ला अधिवेशनमा पुण्यप्रसाद भुसाललाई पराजित गर्दै उनी एमालेको एकमात्र महिला जिल्ला अध्यक्ष बनेकी थिइन्।

काइँलादाइको पथमा

काइँलादाइको पथमा

महिला आन्दोलनमा शशी श्रेष्ठ पनि चर्चित नाम हो। चौथो महाधिवेशन, एकता केन्द्र हुँदै अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य रहेकी श्रेष्ठ आफ्ना काइँला दाजु तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठको प्रेरणाले...

दुई–दुई

एक रात। हालसालैको रात। म मस्त निद्रामा थिएँ। अचानक घरबाहिर कोही सुँक्कसुँक्क रोइरहेको आवाज आयो। आवाज क्रमशः तीव्र हुँदै गएपछि निदाउन सक्ने स्थिति रहेन। म घरबाहिर आएँ। गेट खोलेँ। आवाज...

वाम–रुढताबाट मुक्त

वाम–रुढताबाट मुक्त

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो।...

'नेगेटिभ' हजुरबा,  'डिजिटल' नातिनी

'नेगेटिभ' हजुरबा, 'डिजिटल' नातिनी

न्युरोड पिपलबोटसँगैको फोटो कन्सर्न ५४ वर्षको भयो। यसका संस्थापक डिबी थापा ८० पुगे । दुई वर्षदेखि कम्पनीको नेतृत्वमा छिन्, उनकी नातिनी सिर्जना थापा, जो ३५ वर्ष भइन्। कर्मचारीहरू भन्छन्, 'सिर्जनाको...

लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...