Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

पोखरामा फूल फुल्दैन

  • ४ माघ, २०७०
  • सरस्वती प्रतीक्षा
  • DISQUS_COMMENTS
(1 Vote)
पोखरामा फूल फुल्दैन
गीतकार/ कवि विनोद गौचनलाई सम्झदा सम्झनाको इलाकामा हल्लाहरुलाई निषेध गर्नैपर्छ किनभने उनलाई हल्ला बिल्कुलै मन पर्थेन।


कोलाहलले त झन् प्रवेशाज्ञा पाउने कुरै भएन किनभने उनी यति शान्त थिए कि उनी बोलेको सुन्न स्वयम् उनलाई पनि हम्मेहम्मे पर्थ्यो।

उनको मृत्युको दुइचार दिन अगाडि मात्रै म उनलाई भेट्न उनको घरमा गएकी थिए। त्यतिखेर उनलाई भेट्दा स्वभावत मभित्र एउटा प्रश्न जन्मेको थियो–मान्छे हाड र मासुले बनेको हुन्छ भन्ने सत्यको विपक्षमा उभिएका त होइनन् विनोद गौचन?' विनोद गौचनको शरीर केवल ह•ीको भरमा मात्र उभिएको थियो। यस्तो लाग्थ्यो, उनको शरीरको मासु ताछेर कतै फालिएको छ। मासुको नाममा छाला मात्र ओढे झैं लाग्थ्यो उनले।

प्राकृत पोखरालाई पोखरा बनाउन यहाँको प्रकृतिले कुनै कसर बाँकी राखेन। सौन्दर्य यहाँ असरल्लै घटित भएको छ। वर्णनातीत सौन्दर्य। साँस्कृतिक पोखरालाई पोखरा क–कसले बनाए? त्यसको लागि भने थुप्रै प्रदीप्त अनुहारहरुले बनेको ग्लोबलाई ओल्टाइपल्टाइ हेर्नैपर्छ। त्यही ग्लोबमा अंकित केही अनुहारहरु मध्येको एउटा अनुहार हो विनोद गौचन।

तीसको दशकमा शून्यप्राय रहेको पोखराको वाङ्मयमा केही उत्साहित युवाहरुले उत्साहको वीजारोपण गरे र त्यसलाई नाम दिए पोखरेली युवा साँस्कृतिक परिवार। सरोजगोपाल बज्राचार्य, सरुभक्त ,तीर्थ श्रेष्ठ, नवराज कार्की, विक्रम गुरुङ जस्ता उत्साहित युवाहरुको जमातमा विनोद गौचन पनि एक थिए। उहाँहरुले त्यतिबेला संस्थागत रुपमा वाङ्मयिक जग नहालेको भए आजको पोखराको वाङ्मयिक इतिहासको वजन यति उल्लेखनीय हुने थिएन पक्कै। वीरासतमा हाम्रो पुस्तासँग उहाँहरुले हालेको त्यही जगको बलियो आधारस्तम्भ जो छ।

'ढुँगेसाँघुको मेलामा' र 'पोखरामा फूल फुल्दैन' गरी दुइवटा कवितासङ्ग्रह। अनठाउन्न वर्षे जीवनकालमा जम्माजम्मी दुइवटा किताब। यस अर्थमा विनोद गौचन थोरै लेख्ने, तर एक–एक अक्षर हृदयले लेख्ने स्रष्टा हुन्। भनिन्छ, मान्छेले जे लेख्छ, आधा त आफ्नै स्वभाव लेख्छ। यस अर्थमा उनको स्वभाव जस्तै उनका रचनाहरुमा पनि सरलता घनिभूत भएको पाउँछौं।

थकाली कुलमा व्यापारीहरु धेरै जन्मन्छन्। भूपि शेरचन अपवाद जो थिए र कविको अवतार लिएर जन्मे। भूपि शेरचन नेपाली कविताको एउटा मोडको नाम हो। सोही उचाइको सरोबर विनोद गौचन कविताको अर्को मोडको नाम नहोला पक्कै। फेरि पनि भूपि शेरचन पछि थकाली कूलमा जन्मिएर साहित्य र सिर्जनाको बाटोलाई आफ्नो मूलबाटो मान्ने दुईचार जनाको नामावलीमा विनोदको नाम पनि अग्रपंक्तिमा आउने गर्दछ।

'जति माया लाए पनि जति कसम खाए पनि'–तीसको दशकमा यही गीतले गुमनाम अरुण थापालाई रातारात चर्चित गायक बनाइदियो। यही गीतले विनोद गौचनलाई रातारात चर्चित गीतकार बनाइदियो। आफ्नो पहिलो रेकर्डेड गीतको भरमै राष्ट्रिय रुपमै ख्याति पाउँनु, यस अर्थमा विनोद गौचन भाग्यमानी स्रष्टा पनि हुन्। आज पर्यन्त 'जति माया लाए पनि' गीतले निर्माण गरको उनको परिचयको सामु अन्य सबै परिचयहरु छायाँ परिचय लाग्छन्।

यायावर स्वभावका थिए उनी। एक्लैएक्लै गाउँघर घुम्नु र कफीका चुस्कीहरुसँगै आफैभित्र हराउनु उनको प्रिय रुचि थियो। पछिल्लो समयामा मध्यरातमा पोखराका सडकहरुमा कोही चुपचाप हिडिरहेको देखिनु र त्यो विनोद गौचन हुनु अथवा धम्पुस र पञ्चासेका भञ्ज्याङ्हरुमा कोही टोलाइरहेको भेटिनु र त्यो विनोद गौचन हुनु आम जस्तै भइसकेको थियो।

त्यसो त कवि र गीतकारको रुपमा चिरपरिचित छन् विनोद गौचन। सिर्जनाका शुरुवाती दिनहरुमा , विशेष गरी तीसको दशकमा गायन तर्फ पनि उनको उत्ति नै रुचि रहेको उनका समकालीनहरु बताउँछन्। अरुण थापा , किरण थापा , विक्रम गुरुङ जस्ता सङ्गीतप्रेमीहरुको संगत थियो उनमा। त्यसताका हिप्पी शैलीमा लामो कपाल पालेर मदमस्त हँदै रातरातभर गितार बजाउँदै हिड्नु पनि उनको सोख रहेको पाइन्छ। उतिबेलाको अल्पभाषी तर मिलनसार मान्छे /सँगोलमा हिड्न रुचाउने मान्छे –कसरी जीवनको उत्तराद्धमा आउँदा उनले सबैबाट आफूलाई अलग्याएर उदाशीको स्व–निर्मित झ्यालखानामा कैद गरे आफैलाई? परिवर्तनको यो शिलशिलाको बीउ एउटा मात्र थिएन पक्कै।

विनोद अर्थात संरक्षण कविता आन्दोलनको संस्थापक सदस्य। पोखरेली युवा साँस्कृतिक परिवारको संस्थापक सदस्य पनि। म आफै पनि यी दुबै संस्थासँग सम्बद्ध रहेको हुनाले उनीबाट अभिभावकत्वको अपेक्षा गर्नु स्वभाविकै हो। तर हाम्रो पुस्ताको माझमा विनोद गौचन अप्राप्य पक्कै थिएनन् , तर उति सारो आत्मीय पनि कहिल्यै लागेनन्। पछिल्लो समयमा पोखरामा विनोद गौचन एउटा अतिथि स्रष्टाको रुपमा मात्र प्रस्तुत भइरहे। कार्यक्रमहरुमा अधिकांशत आउदै नआउने। यदाकदा करबलले आइहाले पनि सबैभन्दा पछिल्लो दीर्घामा अरुचिपूर्वक एक्लै गजधम्म बस्न रुचाउने।

लुम्ले त्यही ठाउँ हो , जहाँ सरुभक्त, विनोल गौचन, हरिदेवी कोइराला, भूपिनहरुसँग हामीले संरक्षण कविता आन्दोलनको रजत कार्यक्रम मनाएका थियौ। पछि त्यही लुम्लेलाई उनले 'कविता गाउ'ँ घोषणा गरे। पोखराबाट केही किलोमिटरको दूरीमा रहेको लुल्लेलाई कविता गाउँ घोषणा गरे पनि लुम्लेसँग पोखराको भगिनी सम्बन्ध स्थापना नै हुनसकेन। कम्तिमा हाम्रो पुस्तालाई त्यसको आभाष कहिल्यै हुन पाएन। अचेल कविता गाउँ लुल्लेमा कविताको बतास कतिको चल्छ कुन्नि? जे होस्, लुम्लेलाई कविता गाउँ घोषणा गर्नुले कविताप्रतिको विनोदको अगाध प्रेम र सम्मानलाई दर्शाउँछ। एकातिर लुल्लेलाई कविता गाउँ घोषणा गर्नु र अर्कोतिर अब कहिल्यै कविता लेख्दिन भन्दै जीवनकै अन्तिम कविता घोषणा गर्नु–यिनै अनमेल घोषणा र घोषणाका स्मृतिहरुमा खोज्नुछ अब उनलाई। जति माया लाए पनि, तगारोमा रुमाल राखी र कस्तो ठाउँमा फुल्यौ तिमी जस्ता गीतहरुको धुनमा गुन्गुनाउनुछ अब उनलाई।

त्यसो त पारिवारिक उतारचढावको एल्बम कहिल्यै सुखद रहेन उनका लागि। परिस्थतिवश : एक पछि अर्को गर्दै तीन–तीन जनासँग बिहे हुनु , दुर्घटनामा परी बाइस वर्षको भर्भराउँदो उमेरमा छोराको मृत्यु हुनु –विनोदको जीवनको यो नमिलेको गणितको उल्झन उनको अनुहारमा पनि प्रष्टै देखिन्थ्यो।

आफ्ना साथीभाइ र सम्बन्धीहरुबाट टाढिएर एक्लैएक्लै बस्न रुचाउनु। एक्लिदा एक्लिदा यति एक्लिनु कि आफैसँग पनि एक्लिनु। जीवनको उत्तराद्धतिर आउँदा विनोदको एक्लोपनप्रतिको घोर प्रियता नै उनको अवसानको एउटा कारण बन्न पुग्यो। उनलाई माया गर्नेहरु सबैलाई थाहा छ– उनमा शारीरिक रोगभन्दा शरीरलाई लापरवाह गर्ने लापरवाह–रोगको भार बढी थियो।

एउटा निश्चित बिन्दुमा पुगेर जीवनले साथ छोड्नु बेग्लै कुरा। जीवनप्रतिको उदाशीनताले मान्छेलाई जीवनबाट कति टाढा पुर्याउँछ? अन्नतः त्यही उदाशीनता कसरी 'स्लो पोइजन'मा परिणत हुन्छ र मान्छेलाई मार्दैमार्दै लान्छ? त्यसको एउटा उदाहरण हुन् विनोद गौचन।

पछिल्लो समयमा जब उनी हाम्रो छेउछाउबाट गुज्रन्थे , जीवनको भाइब्रेसनको महसुस नै हुन्थेन हामीलाई। मृत्यु पश्चात् पनि उनको मुख र आँखाहरु खुल्लै थिए। लाग्थ्यो, उनी केही भन्न खोज्दैछन् र भन्न सकिरहेका छैनन्। बाचुन्जेर आफ्ना सुख र दुख आफैभित्र लुकाएर राखे उनले। सुखदुखका आयतनहरुसँगै भावनात्मक रुपमा उम्लिदैउम्लिदै जानु र कतै न कतै कसै सामु पोखिनु मान्छेहरुको आम स्वभाव हो। सम्भवत : कसैको सामु पोखिन नसक्नु संकोची विनोदको बाँच्ने शैली थियो र स्वभाव पनि। आफैभित्र दबाइएका र दबिएका तिनै सुखदुखहरुको थुप्रोले पनि असमयमै पुरेको हो उनलाई।

'सरस्वती, तिमी आयौ। खुसी लाग्यो।', हिड्ने बेलामा विनोद अंकलले मसँग बोलेका अन्तिम शब्दहरु यिनै थिए।

'तर अंकल म तपाईसँग खुसी छैन। जीवनप्रतिको तपाईको घोर उदाशीनता र लापरवाहीसँग म कत्ति पनि खुसी छैन।'

हिड्ने बेलामा मैले उनलाई बोल्न चाहेर पनि बोल्न नसकेका अन्तिम वाक्यहरु यिनै थिए।

जाडोमा फिल्म

तिमी बसेको ठाउँमा अब त जाडो निकै बढिसक्यो होला हगि? जाडोमा धेरै पढ्न, काम गर्न मन लाग्दैन। हात ठिहिर्‍याउँछन्। जाडोमा हिटर बाल्न मजा हुन्छ। गाउँघरतिर अँगेनो वरिपरि झुम्मिएर आगो ताप्न...

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...

'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

सफलतासँगै लोकप्रियता

सफलतासँगै लोकप्रियता

विश्वमै लोकप्रिय फुटबल खेल नेपालमा भित्रिएको झन्डै १ सय वर्ष भइसकेको छ। आधिकारिक तथ्यांक नभेटिए पनि विक्रम सम्वत् १९७५ सालतिरै नेपालमा फुटबलले प्रवेश पाएको बताइन्छ।

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

मौन चालले दर्शक नचाउँदै

मौन चालले दर्शक नचाउँदै

काठमाडौं हाँडीगाउँकी अनिता प्रजापतीलाई आठ वर्षको उमेरमा टाइफाइड भयो। त्यसपछि उनका दुवै कान बन्द भए। आवाज सुन्न नसकेपछि उनले बोल्न जानिनन्/सकिनन्। तर उनको नृत्य हेर्ने हो भने उनी सुन्न/बोल्न नसक्ने...

झ्याल्चा अर्थात् यौन लीला

झ्याल्चा अर्थात् यौन लीला

इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा