Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

नागरिक शनिबार

यसरी लेखियो 'झोला'

  • ११ माघ, २०७०
  • कृष्ण धरावासी
  • DISQUS_COMMENTS
(1 Vote)
२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३ साल चैतमा घर आगलागी हुँदा त्यस अघिका सवै पाण्डुलिपि खरानी भएका थिए। २०३५ सालमा रेडक्रस झापाबाट प्रकाशित 'सेवा सुश्रुषा' सबै पाण्डुलिपि खरानी भएका थिए। कविताबाट साहित्यिक लेखनतिर प्रवेश गरेको भए पनि आख्यान मेरो रुचिको विषय भएको थियो।


पचासको दशक सम्म आइपुग्दा मेरा निबन्ध, कविता र समालोचनाका कृतिहरु प्रकाशित भइसकेका थिए तर कथाहरु कृतिमा समेटिन सकेका थिएनन्। लेख्दै थन्काउदै गरे पनि प्रकाशनतिर भने निबन्ध नै अघि सरिरहेका थिए।
 
२०६० सालमा पहिलो पल्ट 'झोला' कथासंग्रहका रुपमा मेरा कथाहरु पुस्तक भित्र समेटिए। यस संग्रहमा एक दर्जन कथाहरु थिए। पुस्तक धेरै मोटो नहोस् भन्ने सतर्कताले पुस्तकलाई यस्तो छरितो बनाएको थियो। यो संग्रह प्रकाशन भएको दुई महिना मै दोस्रो संस्करण प्रकाशन भएको थियो। संग्रहमा संकलित हुनु अघि नै 'झोला' कथा अत्यन्तै लोकप्रिय भइसकेको थियो। यो कथाले विशेष प्रचार पाउनुका अघि कमरेड सीपी मैनाली र साहित्यकार नारायण ढकालको विशेष योगदान छ। यो कथा जन्मनुको पछि पनि एउटा रमाइलो पृष्ठभूमि छ।
 २०५७ सालमा बीपी कोइराला नेपाल भारत फाउन्डेसनले धनगढीमा नेपाल भारत नेपाली साहित्य सम्मेलन गरेको थियो। त्यस सम्मेलनमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरुको भेला थियो। नेपालबाट सहभागी हुने लेखक मध्ये म पनि एक थिएँ। अघिल्लो पल्ट भारतको सिलिगडीमा सम्पन्न समारोहमा पनि म सहभागी भइसकेको थिएँ। सो सम्मेलनको प्रकृति बारे जानकार रहेको मलाई फेरि पनि निमन्त्रणा पाएकोले अत्यन्त हर्ष लागेको थियो। काठमाडौं पूर्वबाट बालकृष्ण पोखरेलपछि सायद म मात्र निमन्त्रित थिएँ जस्तो लाग्छ।
धनगढी सिधै झापाबाट पनि जान सकिन्थ्यो तर कहिल्यै नगएको ठाउँमा एक्लै त्यति लामो यात्रा गर्न मन लागेन। काठमाडौं आएर यतैको समूहसँग मिसिएर बसको रमाइलो यात्रा गरियो। यो यात्रामा स्मरणीय दुइटा कुरा छन् ती मध्ये मूख्य हो बालकृष्ण पोखरेलज्यूको अथक वार्ता। काठमाडौंबाट दिउँसो दुई बजे बस हिडे पछि उहाँले खस जाति माथि बोल्न थाल्नु भएको भोलि विहान नौ बजे धनगढीमा गाडी रोकिदा सम्म बोलिरहनु भएको थियो। म अत्यन्त आश्चर्य चकित भएको थिएँ उहाँको असीमित ज्ञान ढिकुटी देखेर। दोस्रो रमाइलो पक्ष थियो मैले उठाएको हास्यकवि डम्बर घिमिरेको 'णाक' (अणाक) प्रसँग। त्यो यति रमाइलो भयो कि अझै पनि कवि रमेश पौडेल 'अणाक' भनिरहनु हुन्छ।
 तीन दिनको त्यो समारोह समापन पछि म फेरि काठमाडौं नै फर्के। एक हप्ताको काठमाडौं बसाईमा यहाँका साहित्यिक घरानाहरु– साझा, मदन पुरस्कार गुठी, गोरखापत्र संस्थान, राष्ट्र बैंकको मिर्मिरे कार्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानहरुमा उपस्थिति जनाएँ र पाएको पारिश्रमिक संकलन गरे। बाटो खर्च भयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा गद्य विभाग प्रमूख प्राज्ञ सनत रेग्मीसँग भेट्दा उहाँले भन्नु भयो– 'प्रज्ञा प्रतिष्ठानले छिट्टै मैनाली कथा प्रतियोगिताको आयोजना गर्दैछ छिट्टै एउटा कथा पठाउनु होस्।'
 त्यस बेलासम्म मैले यस्ता प्रतियोगितामा खासै भाग लिएको थिएन। प्रज्ञाप्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा पनि कहिल्यै भाग लिएको थिइनँ। मुखले 'हुन्छ' भने पनि मन मनमा मलाई यस्तो प्रतियोगितामा भाग लिन खासै मन भएन। भोलिपल्ट विहानको काठमाडौं–झापाको दिवा बसमा चढें। छेऊको सिटमा अपरिचित छिमेकी उघिरहेका हुन्थे। खासै गफ गर्नु पनि थिएन। मैले पनि आँखा चिम्लेरै आफ्नो यात्रालाई सहयोग पुर्‍याइरहेको थिएँ। झण्डै बार घण्टाको दिक्दार लाग्दो यात्रामा कति उघ्नु कति झ्याल बाहिर हेर्नु। यस्तै बेलामा मलाई सनत रेग्मी ज्यूको 'कथा पठाउनु' ले झस्कायो।
मन मनै बाटो पनि काटिने, कथा पनि बनिने सोचेर कथाको प्लटको कल्पना गर्न थालें। प्रतियोगिताका लागि चाहिने कथाको विषय त राम्रै हुनुपर्‍यो नि। तर जति सोचे पनि मन कुनै विषयमा गएर स्थिर हुन सकेन। अनि मैले कथा लेख्ने कुरालाई त्यत्तिकै छोडी दिएँ। बरु मनमा अर्कै खाले विचार आउन थाल्यो।
 मैले अहिले आफू कहाँ पुगेर फर्किदै छु भन्ने सम्झें। त्यो सम्झनासँग मनमा एक प्रकारको गर्व पलाएर आयो। म त एउटा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागी भएर फर्किरहेको थिएँ र त्यसमा नेपाल र भारतका विशिष्ट साहित्यिक व्यक्तित्वहरु उपस्थित थिए जहाँ मैले पनि आफ्नो विचार व्यक्त गर्न पाएको थिएँ। म एउटा सामान्य लेखक, त्यो पनि राजघानीभन्दा धेरै टाडा बसेर साहित्यिक क्षेत्रमा काम गरिरहेको। झापामा म भन्दा विशिष्ट र अग्रज अरु लेखकहरु पनि थिए, तै पनि यस समारोहका लागि म छानिएको थिएँ।
एकाएक मलाई लाग्यो, मेरो एकप्रकारको राष्ट्रिय पहिचान बनिसकेछ होला। अनि मैले आफ्नो बाल्यकाल सम्झें। आफ्नो दुःखका दिनहरु सम्झें। पिताजीको निधन पछि आमाले अत्यन्त कष्टसँग हामीलाई हुर्काएको सम्झें। यो सम्मेलनमा भाग लिन हिंड्ने बेलामा पनि आमालाई ढोगेरै हिडेको थिएँ। म विस्तारै आमाप्रति भावुक हुँदै गएँ। आमाको माया, त्याग, समर्पण सबै कुरा आँखा अघि नाच्न थाले। आमाको विशालताले मलाई छोप्दै ल्यायो। त्यत्तिकै आँखा रसाउन थाले।
सम्झें– पिताजीको ठाउँमा आमाको निधन भएको भएँ हाम्रो अवश्था कस्तो हुन्थ्यो होला। अनि झट्टै यो पनि सम्झना आयो– कुनै बेला त लोग्ने मरे पछि लोग्नेसँगै स्वास्नीलाई पनि त जिउँदै जलाउने प्रचलन थियो नि! त्यो प्रचलन अझै यथावत रहेको भए त आमा पनि त २०३३ साल कार्तिक ३ गते नै बुबाको चितासँगै जल्नु हुने थियो नि। त्यस्तो भएको भए के आज म धनगढी पुगेर फर्किरहेको हुन्थें होला त। यति सोचिसक्दा त मेरा आँखाबाट आँसु नै झरिसकेका थिए। झ्याल तिर हेरेर विस्तारै आँखा पुछेको थिएँ।
 साँझमा घर पुगेर हातमुख धोइ खाना खाए पछि गलेको जीउ, आराम नगरी म लेख्न बसें। सीताजीले सुत्न कर गर्दै हुनु हुन्थ्यो। आमा आफ्नै कोठाबाट गनगन गर्दै हुनुहुन्थ्यो– 'यसलाई कस्तो थकाई नलागेको होला। भोलि लेखे पनि त हुने।' तर मैले कसैको कुरा नसुनी दिवा बसकै रफ्तारमा जस्तो कलम दौडाइ रहें। राति एक बजे लेखिसकें र त्यत्तिकै भुइमा कागज कलम फालेर सुतें। सपनामा पनि बारम्बार कथाकै दृश्यहरुले ऐठन गरिरहे। विहान उठेर सीताजीले गनगन गर्दै कागज कलम भेला गर्दै हुनुहुन्थ्यो। म भने अझै पनि तिनै कथाका दृश्यहरुमा डुबेको थिएँ। सात बजे तिर साथी लेखनाथ भट्टराई आयो। उसलाई यात्रासंस्मरण सुनाउनु भन्दा अघि पहिला कथा सुनाउन थालें तर, त्यसलाई पढ्न त्यति गारो होला भन्ने सोचेको थिएन। हामी दुवै रुँदै थियौं सीताजीले चिया लिएर आउँदा। उहाँ हामीलाई चिया राखिदिएर छक्क पर्दै नबोली जानु भो।
 मैले सनत रेग्मीको कुरा सुनाएँ। लेखनाथले भन्यो– कथा त राम्रो लेखिछस् तर चन्द्र शमशेरको पक्षमा देखिन्छ यो कथा। तँलाई पुनरुत्थानवादी, पश्चगामी भन्ने हुन् कि। विचार गर्नु।' उसको कुराले मलाई पनि छोयो। त्यो त हो नि। राणा शासनमा नेपालमा एउटै पनि काम राम्रो भएन भनेर हामीले इतिहासमा पढिरहेका छौं तर यो कथामा त चन्द्रशमशेरले सारै ठूलो काम गरेको देखिन्छ। अनि सोचें– 'होस् नपठाउने। यसलाई अहिले नछाप्ने पनि।' एक हप्ता पछि फेरि झिकेर पढें। उस्तै आँसु झर्छ, फेरि तीन दिन पछि पढें उस्तै हुन्छ। अनि सोचें– 'जे होस् पठाइ दिन्छु। प्रतियोगितामा असफल भए पनि निर्णायकहरुले मात्र भए पनि त पढ्छन्।' कथा पठाइदिएँ एक्सप्रेस डेलिभरीबाट।
 कथा पुग्यो पुगेन। त्यसले प्रतियोगितामा सहभागी हुन पायो पाएन मैले थाहा पाइन। कथा प्रतियोगिताको रिजल्ट भएको पनि थाहा पाइन। एकदिन जिविका इन्टरप्राइजेज विर्तामोडमा पुगेको बेला शिरो सान्दाइले भन्नु भो– 'धरावासी जी! बधाइ छ। तपाईको बारेमा नारायण ढकालले सारै राम्रो लेख्नुभएको छ, यो हेर्नाेस्।' एउटा साप्ताहिक पत्रिका मेरो हातमा राखिदिनु भो। त्यसमा मेरो लीला लेखन अभियान देखिका कुराहरु गर्दै झोला कथाको चर्चा थियो। म छक्क परें। त्यसै लेखबाट थाहा पाएँ, त्यो कथा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुनु समकालीन साहित्यको 'मैनाली कथा' विशेषाङ्कमा प्रकाशित भएछ। उक्त प्रतियोगितामा सहभागी कथाहरु मध्येको 'झोला' पनि छापिएछ र त्यो पत्रिकामा प्रकाशित उक्त कथा पढेर कमरेड सी.पी. मैनालीले नारायण ढकाललाई त्यो पढ्न सिफारिस गर्नु भएको रहेछ। त्यस पछि त्यो कथा पढेर त्यसको प्रभाव बारे नारायण ढकालले त्यो लेखमा अत्यन्तै उत्साहजनक चर्चा गर्नु भएको थियो। त्यस लेखलाई पछि मैले झोला कथा संग्रहमा साभार पनि गरेको छु। त्यो प्रतियोगितामा कुन कुन कथा पुरस्कृत भए मलाई आज पनि थाहा छैन तर झोला कथा पनि सहभागी चाहि हुन पाएछ भनेर खुशी लागेको थियो।
 समकालीन साहित्यमा प्रकाशित भएको उक्त कथा पहिलोपल्ट एच.वी.सी. एफ एमबाट अच्युत घिमिरेले वाचन गर्नु भएछ। कसैले मलाई काठमाडौंबाट फोन गरे– कृष्णजी तपाईको झोला कथा हामी एच.वी.सी. एफ एमबाट सुन्दैछौं। तर झापामा त्यो सुनिदैन थियो। त्यसको एक हप्ता पछि रेडियो नेपालबाट नवराज लम्सालले फेरि वाचन गर्नु भएछ। पहिलो पल्ट त्यसलाई हामीले सपरिवार एकै चोटी सुन्यौं र सवै जना धुरुधुरु रोयौं। आमा त झन् धेरै रुनु भयो र भन्नु भो– 'अब देखि यस्ता रुने कुरा नलेख है नानी।' त्यस पछि त एफ.एमहरुमा पढ्ने ओइरो नै लागेछ। आज मलाई लग्छ देशका नब्बे प्रतिशत भन्दा वढी एफ.एमहरुले यो कथा पढिसकेका होलान। मलाई सबैभन्दा धेरै फोन आउने पनि यसै कथाको बारेमा हो।
 २०६० सालमा यो संग्रह प्रकाशित भए पछि यसले पाएको लोकप्रियता मेरा लागि आश्चर्य जनक थियो। कञ्चनजंघा एफ.एम विर्तामोडबाट पहिलोपल्ट विमोचन गरिएको यो कृति दुई महिना मै एक हजार प्रति विकिसकेको थियो। २०६२ सालमा काठमाडौं आएका बेला यादव भट्टराईले यो कथा माथि फिल्म बनाउने कुरा गरे। मैले त्यति ध्यान दिइनँ। अर्काे पल्ट काठमाडौं आउँदा फेरि उही कुरा दोहोर्‍याए र दिपक आलोकजीले पनि कुरा गर्नु भयो। त्यस पछि कथालाई नविगारी, कुनै प्रकारका फिल्मी मसला नहाली, जस्ताको तस्तै बनाउने भए मात्र दिन्छु भनें। दिपकजीले म पटकथा लेख्छु, त्यो हेर्नाेस् पहिला भन्नु भो। नभन्दै चाँडै नै उहाँले पटकथा तयार गर्नु भएछ। त्यो हेरे पछि चित्त बुझ्यो र मैले फिल्म बनाउनका लागि यादव भट्टराईजीलाई कपि राइट दिएँ।
 फिल्म बनाउने तरखर गर्दा गर्दै दिपक आलोकजीको निधन भयो। त्यसले फिल्म युनिटलाई ठूलै धक्का लागेछ। तै पनि यादवले फिल्म बनाउने कुरा गर्न छोडका थिएनन्। समय वित्दै गयो। मलाई अरुतिरबाट पनि यस कथामा फिल्म बनाउने प्रस्तावहरुको दवाव आइरहन थाल्यो। यी कुरा म यादवलाई भन्दै जान्थें र उनी 'झोला' मेरो सपना हो दाइ, यो मै बनाउछु भन्थे। तर २०६६ सालदेखि झण्डै डेढ वर्ष यादवजीसँग मेरो कुनै सम्पर्क हुन सकेन। फिल्म बन्ने कुरा पनि अब मौन भइसकेको थियो। फिल्म बनाउन के कस्ता प्रकृया हुन्छन् भन्ने मलाई थाहा थिएन। यसै वीचमा सीताजीको निधन भयो, म अर्काे महाशोकमा परेको थिएँ।
२०६८ साल माघमा म झापामा भएको बेला काठमाडौंबाट रमेश बुढाथोकीजीले फोन गर्नु भयो। 'झोला' कथामा फिल्म बनाउने उहाँको प्रस्ताव थियो। मैले यादवको बारेमा सामान्य जानकारी दिदै काठमाडौंमा आई सल्लाह गर्ने कुरा गरे।
 यादवसँग फोन, फेसबुक, कतैबाट पनि सम्पर्क नभए पछि सायद उनी विदेश तिर लागे होलान भन्ने सोचें। रमेशजीसँग फिल्म बनाउने सहमती भयो र उहाँले काम अघि बढाउनु भयो। मैले उहाँलाई पनि लेखेर दिएँ। यो कुरा बजारमा गए पछि यादवले थाहा पाएछन्। चैत्रको अन्तिम साता सीताजीको बरखीको काममा म झापामा हुँदै उनी घरमै पुगे र आफू फिल्म सुटिङ्गको अन्तिम तयारीमा रहेको कुरा गरे। म छाँगोबाट खसें। उनीसँग रिसाएँ। उनले चलचित्र विकास वोर्डसँग भएका औपचारिक कागजातहरु देखाए। म अन्यौलमा परें। रमेश बुढाथोकी जस्तो भलाद्मी मित्रलाई मैले हतारमा स्वीकृति दिएर नराम्रो काम गरेछु भन्ने नराम्रो तनावमा परें। पछि रमेशजी र यादव बसेर आफैं यो समस्यालाई सुल्झाई अहिले 'झोला' फिल्म तयार भएर प्रदर्शनीको क्रममा छ।

 खुशी लागेको छ। मेरो कथा माथि यति सुन्दर ढङ्गले फिल्म बनेको छ। मलाई लग्छ यस अघि साहित्यिक कृतिहरु माथि बनेका कुनै फिल्म पनि सन्तोषजनक थिएनन् र लेखकहरुले समेत चित्त बुझाएका थिएनन्।

साहित्यिक कृतिमाथि बनेको यो नै सायद पहिलो सफल फिल्म हुन्छ होला। यादवले मेरो कथा माथि न्याय गरेका छन् उनलाई धन्यवाद।   

...
धरावासीको 'राधा', 'शरणार्थी' उपन्यासलगायत एक दर्जनजति कृति प्रकाशित छन्। उनको चर्चित कथा 'झोला' माथि बनेको सिनेमा अर्को साताबाट देशभरि प्रदर्शन हुँदैछ।
घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

विन्टर डेस्टिनेसन

नमोबुद्धगौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।

मलाई मनभोग आमालाई क्याडवरी

मलाई मनभोग आमालाई क्याडवरी

बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।

आफू त परियो गोतामे!

नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर...

मःमःको सहर

चालिस वर्षअघि असनको मासंगल्लीमा लक्ष्मीनारायण डंगोलको प्रख्यात खाजा पसल थियो– छोयला, कचैला, भटमास र चिउराको खाजा पाइने। एकदिन उनले ग्राहकलाई फरक स्वाद चखाउने विचार गरे र, 'ट्राई' गरे। नयाँ स्वादको...

स्ट्रिङसका जादुगर

स्ट्रिङसका जादुगर

ठमेलको एक रेस्टुरेन्टमा तोकिएको समयभन्दा केही ढिलो उनी हस्याङफस्याङ गर्दै आइपुगे। हामीलाई पर्खाउनु परेकोमा उनलाई ग्लानि थियो। त्यसै रेस्टुरेन्टमा त्यो साँझ उनको पर्फमेन्स थियो। सर्ट, जिन्स र स्यान्डलमा हामीसामु उभिएका...

सफलतासँगै लोकप्रियता

सफलतासँगै लोकप्रियता

विश्वमै लोकप्रिय फुटबल खेल नेपालमा भित्रिएको झन्डै १ सय वर्ष भइसकेको छ। आधिकारिक तथ्यांक नभेटिए पनि विक्रम सम्वत् १९७५ सालतिरै नेपालमा फुटबलले प्रवेश पाएको बताइन्छ।

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...