Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

लेखक बन्न भीडबाट भाग्नुपर्छ

  • ११ माघ, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(0 votes)
जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

यी सबै पहाडी भाषा हुन्।
'प्रकृतिको यो भाषा बुझेर लेख्न सके त्योभन्दा राम्रो केही हुँदैन,' जयपुर साहित्य महोत्सवको तेस्रो दिन गीतकार एवं स्त्रि्कप्ट राइटर प्रशुन जोशीले यसो भनिरहँदा 'राग पहाडी' सेसनको समन्वय गरिरहेकी थिइन्, नेपाली 'पहाडकी छोरी' मञ्जुश्री थापा। प्रशुनले लेखनमा पहाडी भाषा प्रस्तुत गर्ने क्रम घट्दै जानुलाई दुर्भाग्य बताइरहँदा मञ्जुश्रीलाई पनि नेपालको अवस्था करिब–करिब उस्तै लाग्यो।
भारतमा 'पहाडी राग' मेटिँदै गएको चिन्ता त्यही सेसनका अर्का सहभागी शेखर पाठकले पनि राखे। कुमाउ युनिभर्सिटीका अध्यापक पाठकले हिमालयको विविधतासँग परिचित हुँदै, जति त्यसको गहिराइमा पुग्न सक्यो उति नै लेखकको भाषा स्तरीय हुने आवाज उठाए। उनले अर्को गहकिलो भनाइ राखे, 'एउटा भाषा दोस्रोको पूरक हुन सक्छ प्रतिद्वन्द्वी होइन।'
'शब्द मर्दा संकृति पनि जीवित रहँदैन,' समन्वयकर्ताको भूमिका निर्वाह गर्दै वक्तालाई यस्तो बकाउन सकिन् मञ्जुश्रीले। उनलाई 'राग पहाडी' सेसनमा उब्जिएका धेरै पक्ष नेपाली साहित्यमा पनि खट्किएको अनुभूति भयो।
ग्रेटर हिमाली रेन्जमा छ सय भाषा बोलिन्छन्, जुन विश्वको १० प्रतिशत हिस्सा हो। युवापुस्ता अंग्रेजी भाषाको 'ग्ल्यामर'मा लोभिन थाले। मिडियाले पनि धेरैले बोल्ने र बुझ्ने भाषा रोजे। यस्तो अवस्थामा 'स्थानीय भाषा कसरी जोगाउने?' सबैतिर यो चिन्ता उब्जिएको छ। सेसनमा यो पक्षलाई गम्भीर रूपमा उठाइरहँदा नेपालमा भने एकेडेमी र जनजाति/आदिवासी आन्दोलनले जर्गेनामा टेवा पुर्‍याएको मञ्जुश्रीले बताइन्।
आफ्नै पुस्तक 'सिजन्स अफ फ्लाइट'को नाममा आयोजित सेसनमा उनी बंगलादेशी लेखक फराह गुज्नाभीसँग दक्षिण एसियाली लेखनको विषयमा पोखिइन्।
...
भारतको गुलाबी सहर जयपुरमा उपस्थित करिब तीन सय साहित्यकारको भीडमा नेपालबाट एक्लो प्रतिनिधि थिइन्, मञ्जुश्री। महोत्सवको दुई सेसनमा सहभागी बन्न उनी क्यानाडाबाट सोझै जयपुर पुगिन्। दिल्लीमा आफ्नो नयाँ पुस्तकका सम्पादकसँग भेटघाट गरेपछि उनी अमेरिकाको वासिङ्टन डिसी उड्नेछिन्। त्यहाँ आफू पढेको स्कुलले एउटा कार्यक्रमको वक्ताका रूपमा उनलाई निम्ता गरेको छ।
'त्यसपछि क्यानाडा जान्छु, नेपाल जाने साइत मार्चमा मात्र जुर्लाजस्तो छ,' लेखकहरूबाट घेरिएकी मञ्जुश्रीले भारतीय मुलकी अमेरिकी लेखक गायत्रा बहादुरसँग परिचय गराइन् र साहित्यकारको भीडबाट पाखा लाग्दै नागरिकसँग कुराकानी गर्न तयार भइन्।
नेपालबाट करिब १४ सय किलोमिटर टाढाको भारतीय सहर जयपुर अन्तर्राष्ट्रिय जगतका प्रख्यात लेखक साहित्यकारको 'डेस्टिनेसन' बनेको छ। नोबेल पुरस्कार विजेतासमेत त्यहाँ आफ्नो अनुभव सुनाउन पुग्छन्। यसपालि पनि साहित्य, सिनेमा र संगीतको बेजोड खाल जम्यो त्यहाँ।
यो महोत्सवको हावाले नेपाललाई कति लाभ पुग्ला?
तीनपटक महोत्सवको अतिथ्य ग्रहण गरिसकेकी मञ्जुश्रीले भनिन्, 'हामी बाहिरको हावासँग गाँसिन सकेका छैनौं। यो महोत्सव नेपालका लेखक साहित्यकारलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने थलो बन्न सक्छ।'
विश्वप्रसिद्ध लेखक, राजनीतिज्ञ, अर्थशास्त्री, कुटनीतिज्ञ, फिल्म निर्देशक र कलाकारको अभिव्यक्ति सुन्न भीड लाग्ने महोत्सवमा केही वर्षदेखि डिएससी पुरस्कार अर्को आकर्षण थपिएको छ। हरेक वर्ष एकजना दक्षिण एसियाली लेखकलाई दिइने ५० हजार अमेरिकी डलरको यो पुरस्कार सपना नेपाली लेखकको नजिकै छ। पुरस्कारमा प्रतिस्पर्धा गर्ने पुस्तक अंग्रेजी भाषामा प्रकाशित हुनुपर्छ वा अनुवाद। मञ्जुश्री अनुवाद नै नेपालका लागि चुनौतीपूर्ण काम ठान्छिन्।  
'अंग्रजीमा लेख्ने तीन चार/जना नेपाली छन्। केहीले लेख्दै गरेको जानकारी पाएकी छु,' उनी भन्छिन्, 'ती किताब भारतबाट प्रकाशित भएपछि जानकारीमा आउँछ। तिनलाई अन्तर्राष्ट्रिय जगतसँग कनेक्ट गर्ने पहल हामीले गर्नुपर्छ।'
यसको हावाले भारतका अन्य सहर र नेपाललाई समेत राम्ररी प्रभाव पारेको उनले बुझेकी छिन्। यसले प्रकाशकलाई बढी उत्साहित तुल्यायो भन्ने उनको अनुमान छ।
महोत्सवहरू सधैं सोचेजस्तो हुँदैन। हाहा–हुहु र बुद्धिविलासको ठाउँ पनि बन्छ कहिले। 'बहस कति गहिरो हुन्छ, सुन्न आउनेहरू उति लाभान्वित हुन्छन्,' सामान्य गफ छाँटेर सेसन पूरा गर्ने तरिका उनलाई मन पर्दैन, जुन केही सेसनमा हुने गर्छ।
आधुनिक नेपाली साहित्यको इतिहास छोटो छ। त्यही अनुरूपको छ यसको फड्को पनि। दक्षिण एसियाका अरू मुलुकको साहित्यिक इतिहास लामो भएकैले त्यहाँको साहित्य धनी छ भन्छिन्, उनी। 'यसैले हामीले अन्तर्राष्ट्रिय जगतमा उपस्थिति जनाउन सकेनौं भनेर दुःखी भइहाल्नु पनि पर्दैन,' यद्यपि नेपाली साहित्य पछि पर्नुका प्रमुख कारण उनले पहिचान गरेकी छिन्।
२०४६ सालको राजनीतिक परिवर्तनको प्रभाव पुस्तक प्रकाशनमा पनि पर्‍यो। प्रकाशनको होडबाजीमा लेखक आफैं प्रकाशकसमेत बने। 'यसले पुस्तकको राम्रो मार्केटिङ भएन। कतिपय त पाठकको नोटिसमै पर्न सकेनन्,' जसले गर्दा राम्रो पुस्तक पनि छायाँमा परेको उनी बताउँछिन्।
अहिले प्रकाशकले देखाएको व्यवसायिकता र उनीहरूप्रति लेखकको बढ्दो विश्वासको भने उनी प्रशंसा गर्छिन्। यसलाई शुभसंकेतको रूपमा व्याख्या गर्छिन्।
अन्तर्राष्ट्रिय साहित्यको चिरफार गर्ने जिम्मेवारीका साथ आएकी मञ्जुश्रीले अलिकति समय नेपाली साहित्यको समीक्षामा खर्च गरिन्।
'नेपाली लेखकलाई हौसला पुगेको छैन,' कमसल साहित्यको पहिलो कारण उनले यही देखाइन्। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि विश्वेश्वरप्रसाद कोइराला र पारिजातको स्तरमा वर्तमान लेखक पुग्न नसक्नुमा उनले स्पष्ट कारण देखाइन्, 'अहिलेको पुस्ता त झन् अरूको नपढी नै लेखक हुन खोज्दैछ। पहिलेकाले धेरै पढ्थे त्यसैले राम्रो लेख्थे।'
पाठकको भोक भने भारतभन्दा नेपालमा धेरै देख्छिन्, उनी। 'यहाँ (भारत)का प्रकाशकले पनि यो कुरा बुझेका छन्। त्यसैले नेपाली लेखकको पुरस्तक प्रकाशनमा चासो देखाउन थालेका छन्।'
अंग्रेजीमा लेख्ने नेपाली लेखकको संख्या नगन्य छ। संसारमै अनुवाद गरिने पुस्तकको प्रतिशत ज्यादै न्युन हुन्छ। अंग्रेजीबाट अरू भाषामा अनुवाद गरिनेभन्दा निकै थोरै हुन्छ अरू भाषाको अंग्रजी अनुवाद।
नेपालमा अंंग्रेजीमा लेख्ने केही लेखक आउने क्रममा छन्। मञ्जुश्री स्वयंले आख्यान र गैरआख्यानका पुस्तक अंग्रेजी भाषमा लेखेकी छिन्। तर स्तरको कसीमा उनलाई नेपालीले लेखेको अंग्रेजी पुस्तकभन्दा नेपाली नै उम्दा लाग्छ। 'अंग्रेजी लेखन त सतही हुन्छ, नेपाली भाषामै नेपाली समाजको गहिरो चित्र आउने मैले पाएकी छु,' उनले भनिन्।
नेपालीले अंगे्रजीमा लेख्नुका पछाडि उनी 'ग्ल्यामर'को हात देख्छिन्।
चेतन भगतको जस्तो 'पपुलर फिक्सन'को पछि लागेर लेख्न थाल्नेले 'लिटररी भ्याल्यु' गुमाएको उनी आरोप लगाउँछिन्।  
उनी राम्रा नेपाली किताबको अंग्रेजी अनुवाद नहुनुलाई अन्तर्राष्ट्रिय एक्सपोजर नमिल्नुको विडम्बना मान्छिन्। र, अनुवाद नहुनुको दुईवटा कारण औल्याउँछिन्।
'प्रमुख कारण त अनुवाद गर्ने पैसा नै हो,' उनी दोस्रो कारण देखाउँछिन्, 'नेपाली भाषामा पकड भएको र अंग्रेजी राम्रो जान्ने अनुवादकको अभाव छ।'
उनले पनि इन्द्रबहादुर राईको उपन्यास 'आज रमिता छ' अनुवाद गर्ने सुर कसेकी थिइन्। त्यसका लागि उनले अठोट पनि गरिन् र यो काम सम्पन्न गर्न छ महिना लाग्ने हिसाब निकालिन्। त्यसपछि उनलाई यो सुर्ताले पिरोल्यो, 'विदेशको बसाइ छ, महँगो घरभाडालगायत खर्च कसले गर्ने?' यही अन्योलले अल्भि्कएको काम उनले सम्पन्न गर्न सकेकी छैनन्।
अरू अनुवादकको हकमा पनि उनलाई यस्तै समस्याले सताएको होलाजस्तो लाग्छ।
नेपाली साहित्यको 'अन्तर्राष्ट्रिय प्रतिनिधि'जस्ती लाग्छिन्, मञ्जुश्री। देश–विदेशको साहित्यिक जमातलाई नजिकबाट नियालेकी उनी नेपाली साहित्यको उचाइ बढाउन धेरै पुस्तकको आवश्यकता देख्दिनन्। 'वर्षमा तीन–चारवटा राम्रा किताब निस्किए पुग्छ। भारतमै पनि त्योभन्दा बढी राम्रा किताब कहाँ निस्कन्छ र,' उनी भन्छिन्।
पैसाको अभावमा पनि नेपाली साहित्यले पेस गरेको स्तरप्रति उनको त्यति गुनासो छैन।
...
मञ्जुश्रीले नयाँ उपन्यास लेख्न थालेको चार वर्ष भयो।
कहिले निस्कन्छ?
शुभचिन्तकहरूको जिज्ञासा शान्त पार्न नसकेको पनि उत्तिनै भयो। यो वर्षचाहिँ जसरी पनि सक्ने उनको लक्ष्य छ।
'मलाई पनि कहिले सकिएलाजस्तो भइसक्यो,' उनलाई लेख्ने काम सजिलो लाग्दैन। क्यानाडाको पिआर होल्डर मञ्जुश्रीले लेख्नलाई त्यहाँ राम्रो वातावरण पाएकी छिन्। त्यहाँको सरकारले लेखकप्रति सदासयता देखाउँदै उनलाई 'फन्डिङ' गरेको छ। तैपनि समयमा काम पूरा गर्न नसक्दा उनको छटपटी बढेको छ।
आम लेखकको तुलनामा मञ्जुश्रीलाई मिलेको अवसर 'सुवर्ण' हो। किनभने पश्चिमी मुलुकमा पनि उनले पूर्णकालीन लेखक साह्रै थोरै देखेकी छिन्, जो लेखेरमात्रै गुजारा चलाउन सक्छन्। अधिकांश लेखक जागिर खाएर बचेको समयमा लेख्छन्। अरू काम गरेर 'सर्भाइभ' हुनुपर्ने झन्झटबाट मुक्त रहेकाले उनी आफूलाई भाग्यशाली ठान्छिन्।
उनी अंग्रेजीमा लेख्छिन्, तर उनका पात्र र परिवेशमा नेपाल र नेपाली नै हुन्छन्। नेपाली विषय नेपालमै बसेर लेख्न भने उनलाई सजिलो लाग्दैन। यहाँको सामाजिकताबाट मुक्त हुन उनलाई गाह्रो लाग्छ। त्यसमै अल्भि्कँदा लेखन कार्य ओझेलमा पर्छ।
क्यानाडाको 'राइटिङ रेसिडेन्ट'मा उनी अधिकांश समय एक्लो हुन्छिन्। त्यसमा उनलाई पीर छैन। उनी स्पष्टै भन्छिन्, 'लेखक बन्ने हो भने एकलकाँटे हुनैपर्छ।'
साथीभाइसँग गफिनु, बिहे र भोजमा सरिक हुनुको मजाले मञ्जुश्रीलाई पनि लोभ्याउँछ। फेरि उनलाई आफ्नै मनले सजग गराउँछ र उनी आफ्नो मुख्य लक्ष्यबाट हराउने डरमा भीडबाट एक्लिन्छिन्।
'यो एकदमै एक्लै बसेर गर्ने काम हो,' उनी दोहोर्‍याउँछिन्, 'म त विदेशमा हुर्किएँ त्यसैले एक्लै बस्न जानेँ। तर, धेरैको एक्लै बस्ने बानी हुँदैन। जुन राम्रो लेखक बन्ने अवसरको अवरोध हो।'

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

चलखेलको डायरी

चलखेलको डायरी

एकजना समकालीन पत्रकारद्वारा लिखित पुस्तक जहिले पनि अध्ययन, मन्थन र सम्बन्धित विषयलाई नियालिने विश्लेषणको माध्यम बन्नसक्छ। मत, मान्यता र निष्कर्ष अलग हुन सक्छन्। तर, फेरि पनि सूचना र ज्ञान बहुमूल्य...

वाल्मीकि आश्रम

वाल्मीकि आश्रम

वाल्मीकि आश्रम। राममयणका रचयिता वाल्मीकिको साधना भूमि। नेपालका धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थलमध्येको महत्वपूर्ण ठाउँ। चितवनको ठोरी गाविसमा पर्ने यो आश्रम जति लोकप्रिय छ, उत्ति नै उपेक्षित पनि।

साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

जात्रै जात्राको इन्द्रजात्रा

जात्रै जात्राको इन्द्रजात्रा

युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो...

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

ठमेल ‘बनाउने' बुवा

ठमेल ‘बनाउने' बुवा

बुवालाई गुमाएको ४५ दिनजति भएको थियो। नयाँ स्वरूपमा निर्माण गर्न पूरै भत्काइएको लाजिम्पाटस्थित होटल एम्ब्यासडरको ढुंगामाटोको थुप्रोमाथि उभिइरहेको थिएँ। पारि सडकमा स्कुटर रोकेर लगभग ७० वर्ष हाराहारी देखिने एक वृद्धले...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...