Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

पत्तै नपाई पैसा गायब

  • २५ माघ, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(1 Vote)
पत्तै नपाई पैसा गायब
पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो हतियारधरी चाहिन्न।

प्रविधिको विकासले वित्तीय व्यवसाय जति छिटो र भरपर्दो बनेको छ, त्यत्तिकै अप्ठ्यारा पनि थपिएका छन्। 
बैंकिङ ठगी, एटिएम दुरुपयोग, चेक बाउन्स, लेनदेनको समस्या, सहकारीको भाग्ने प्रवृत्ति पछिल्लो समय देखिएका प्रमुख वित्तीय समस्या हुन्। यसमध्ये पनि चेक बाउन्सको समस्या सबभन्दा धेरै रहेको अपराध महाशाखा प्रमुख विजयलाल कायस्थ बताउँछन्।
चेक बाउन्सलाई जाली नोटबराबरको अपराध मानिन्छ। चेक बाउन्स गर्ने उद्देश्यले अनेक तरिका अपनाउँछन् ठगहरू। जस्तो– एक व्यापारीले अर्कोसँग सुरुमा १०–१५ लाख रुपैयाँ बराबरको सामान उठाउँछ। त्यसको पैसा दिन्छ। अर्कोपटक २०–२५ लाखको सामान उठाउँछ, त्यो पनि तिर्छ। यस्तै गरी तीन–चारपटक व्यापार गर्छ। अन्तिममा उसले १–२ करोडकै सामान लिन्छ तर त्यो बेला चेक बाउन्स हुन्छ। ठगी गर्ने नियत राखेको व्यक्ति भाग्छ।
'चेकबाट हुने व्यापार निकै खतरामा अडिएको हुन्छ,' दुई वर्ष सिआइबीमा वित्तीय अपराध हेरेका अपराध महाशाखाका डिएसपी ओम अधिकारीले नागरिकसँग भने। 
हनुमानढोकाको पछिल्लो रेकर्ड हेर्ने हो भने दिनको लगभग १० वटा चेक बाउन्सका केस आउँछन्। पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासमा पनि चेक बाउन्सका मुद्दा सबैभन्दा धेरै देखिएका छन्। इजलासमा गत पुससम्म बैंकिङ कसुरमा २ सय ४२ मुद्दा परेका छन्। त्यसमध्ये ७० प्रतिशत मुद्दा चेक बाउन्सकै रहेको उप–रजिस्ट्रार वैदप्रसाद उप्रेती बताउँछन्। 
अर्को ठूलो समस्या हो– एटिम, डेबिट र क्रेडिट कार्डको नक्कली प्रयोग।
केही समयअघि नबिल बैंकको खाताबाट रूपा शर्मा ओलीको चार लाख रुपैयाँ एटिएमबाटै हरायो। दुई एटिएम सेन्टरबाट तीनचोटिमा उक्त रकम झिक्दा सिसी टिभी नभएका एटिएम सेन्टर प्रयोग भएको थियो। खोज्दै जाँदा बैंककै पूर्व कर्मचारीको मिलेमतो भएको फेला पर्योन।
बैंकमा एटिएम कार्ड र यसमा म्याग्नेट एकजनाले हाल्छ भने पिन कोड अर्कैले बनाउँछ। बैंकको नियमअनुसार दुवैखाले कर्मचारीको भेट हुनुहँुदैन। दुवैले गरेको काम छुट्टाछुट्टै खाममा फाइल भएर ग्राहककहाँ पुग्छ। रूपाको केसमा भने बैंकका दुई कर्मचारीले पहिल्यै भेटघाट गरे। दुई कार्ड बनाए। एउटा कार्ड ग्राहकलाई दिए र अर्को नक्कली कार्ड आफूले राखे। 
गत वर्ष असोजमा हनुमानढोकामा दर्ता भएको अर्को केस यस्तो छ– तनहुँ आबुखैरेनीका २३ वर्षे अभियान श्रेष्ठ र सोही उमेरकी काठमाडौंकी मन्जु महर्जनबीच प्रेम थियो। एकअर्काबीच राम्रो विश्वास भएकाले हरेक कुरामा दुवैको साझेदारी थियो। मन्जु पैसा कारोबारका लागि एटिएम प्रयोग गर्थिन्। बिस्तारै मन्जुले आफ्नो खाताबाट पैसा घट्दै गएको चाल पाइन्। उनले प्रहरीकहाँ उजुरी गरिन्। प्रहरीले पत्ता लगायो– मन्जुलाई छलेर उनकै प्रेमीले एटिएम प्रयोग गरेका रहेछन्। 
एटिएम दुरूपयोग आफन्तबाटै धेरै भएको देखिन्छ। बाबुको एटिएम छोराले प्रयोग गर्ने केस पनि धेरै छन्। 
शंकरदेव क्यापसमा भएको एउटा घटनामा परीक्षार्थी महिला झोला एक ठाउँ राखेर परीक्षा लेख्न थालिन्। परीक्षा दिने बहानामा कोठाभित्र छिरेको एक केटाले त्यही झोला बोकेर हिँड्यो। झोलामा मोबाइल, पैसा र एटिएम कार्ड रहेछ। मोबाइलमा 'पिन' भनेर एटिएमको पिन नम्बर सेभ गरिएको थियो। उसले त्यहीँबाट पत्ता लगाएर पैसा चोर्यो । 
'आफ्नो मोबाइलमा पिनकोडलाई पिन लेखेर सेभ नगरौं,' अधिकारी सुझाउँछन्, 'गर्नैैपरे अर्कै नामबाट र चार अंकको नम्बर छ भने अगाडि–पछाडि कुनै नम्बर थपेर सेभ गरौं।' 
प्रहरीका अनुसार नक्कली एटिएम बनाउने गिरोह पनि सक्रिय भएको भेटिएको छ। छ महिनाअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरमा एटिएम कार्डमा पिन नम्बर हाल्ने मेसिन फेला पारेको थियो। सिआइबीको चालु आर्थिक वर्षको पुस महिनासम्मको रिपोर्टअनुसार दुईजनाबाट विभिन्न बैंकका १३ थान एटिएम पक्राउ गरिसकिएको छ। 
नक्कली एटिएमबाट पैसा निकाल्ने व्यक्ति सामान्य लेखपढ गर्ने नभएर प्रविधिसँग परिचित वा इन्टेलेक्चुअल र बैंककै कर्मचारी हुने गरेको कायस्थ बताउँछन्। उनका अनुसार यस्ता व्यक्तिले दुई किसिमका अपराध गर्छन्। एक, एकैचोटि ठूलो रकम निकालेर भाग्ने र अरूलाई नबिझाई अपराध गर्ने। दुई, हजारौंको बैंक खाताबाट एक–दुई सय रकम झिक्ने। यस्तो अपराधमा बैंकिङ सिस्टमसँग परिचित व्यक्तिको संलग्नता देखिएको कायस्थ बताउँछन्। 
क्रेडिट कार्ड दुरुपयोगको समस्या पनि बढ्दो छ। यो अपराध विकसित देशमा अझ धेरै देखिन्छ। लेनदेनको कारोबारले अपराधको संख्यालाई बढावा दिएको छ। लेनदेनसँग जोडिएर अन्य अपराध हुने गरेका छन्। चिनजानका आधारमा लेनदेन हुन्छ। समयमै कारोबार नभएपछि मुद्दा प्रहरी र अदालतसम्म पुग्छ। लेनदेनको समस्या प्रहरीले नहेर्ने भएकाले अदालत जानुपर्छ। अदालतले चार–पाँच वर्ष लगाइदिन्छ। खर्च र समय धेरै लाग्ने भएकाले पैसा उठाउन पीडितहरू गुन्डा प्रयोग गर्छन्। 
गुन्डाले त्यो व्यक्तिलाई धम्क्याउँछ वा परिवारको कसैलाई अपहरण गरेर पैसा उठाउन खोज्छ। अनि अर्को अपराध जन्मन्छ– अपहरण।
अपहरणका घटनामा लेनदेनका केस बढी जोडिएको प्रहरी बताउँछ। 'लेनदेनसँग जोडिएका अपहरण ९९ प्रतिशत हुन्छ। साँच्चिकै अपहरण १ प्रतिशतमात्र,' अधिकारी भन्छन्। उनका अनुसार लेनदेनको केस हेर्न राज्यले 'फास्ट ट्र्याक' व्यवस्था गर्नुपर्छ।
पछिल्लो समय बढेको अर्को वित्तीय अपराधको क्षेत्र हो, वैदेशिक रोजगार। विदेश पठाउने नाममा लाखौं रकम उठाएर फरार हुने घटना धेरै छन्। यस्तो अपराध बढ्नुको कारण लेनदेनको विषयलाई वैदेशिक रोजगार भनेर कागज गर्नु हो। वैदेशिक रोजगारको केसलाई प्रहरीले प्राथमिकतामा राखेर छिटो हेर्ने भएकाले यस्ता घटना धेरै भएको अधिकारीको अनुभव छ। 
हरेक मान्छेको बैंकिङ कारोबार बढेसँगै यससँग जोडिएका अपराध पनि बढेका छन्। बैंकमा मुख्यतः ऋण दुरुपयोग, धितोको उच्च मूल्यांकन, ऋण प्रवाहमा दुरुपयोगजस्ता घटना देखिएका छन्। एउटा उद्देश्यले ऋण लिएर अर्कै काममा प्रयोग गर्ने समस्याबाट पनि बैंक पिरोलिएका छन्। 
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका पवनकुमार कार्कीको समस्या यस्तै हो। उनले आफ्नो नामको जग्गा अर्काको नाममा गराइदिए र त्यो थोरै जग्गालाई धेरै मूल्यमा ऋण दिए। अरूको नाममा दिएको ऋण आफैं लिए। 
बैंकमा देखिएको अर्को समस्या, बोर्ड सदस्यले आफ्नो नातेदारको नाममा ऋण दिनु पनि हो। बैंकको नियमअनुसार यसो गर्न पाइँदैन। यही नियमबाट बच्न दुई बैंक मिलेर ऋण प्रवाह गरेको देखिन्छ। जस्तो– दुई बैंकका सिइओ, अध्यक्ष मिल्ने अनि एकअर्काका नातेदारलाई कमसल धितोको उच्च मूल्यांकन गरेर ऋण प्रवाह गर्ने। किस्ट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीले गरेको अपराध यस्तै प्रकृतिको हो। 
वित्तीय क्षेत्रमा देखिएको अर्को प्रवृत्ति हो– एउटै समूहले धेरैथरीको व्यवसाय गर्ने। समूह एउटै भए पनि उद्योग खोल्ने, इन्स्युरेन्स खोल्ने र बैंक खोल्ने फरक–फरक हुन्छन्। यी तीनको मिलेमतोमा पैसाको चलखेल हुन्छ। बैंकमा हजारौंको लगानी हुन्छ। त्यही लगानी बैंकले ऋणबापत उद्योगलाई दिन्छ। उद्योगमा जानीजानी इन्स्युरेन्स दाबी गर्न मिल्ने काल्पनिक घटना गराइन्छ। कतिपयले त उद्योगमा आगो पनि लगाउने गर्छन्। उद्योगको मान्छे इन्स्युरेन्स गएपछि आगो लागेकै हो भनेर प्रमाणित गर्छ। क्षति नभएको सामानको टन्न पैसा दिन्छ। त्यो पैसा बैंकमा जान्छ। 
इन्स्युरेन्समा अर्को खेल हुन्छ, कर्मचारीले पैसा खाने। दुई वर्षअघि सुर्खेतमा गाडी दुर्घटना भयो र सिन्धुपाल्चोक बाह्रबीसेमा डोजर खस्यो। इन्स्युरेन्स कर्मचारीको मिलेमतोमा दुवै घटनामा गाडी दुर्घटना भएपछि मात्र इन्स्युरेन्स गरियो। भित्रको कर्मचारीले पैसा खान्छ अनि इन्स्युरेन्सलाई डुबाइदिन्छ। 
बैंकिङ अपराधमा नौलो प्रकृतिको घटना पनि देखिएका छन्– पैसालाई बैकिङ सिस्टममा नहाल्ने। नेपाल सेयर मार्केट फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठले गरेको घटना यस्तै खालको हो। उनले दुई सफ्टवेयर सँगसँगै चलाएका थिए। एउटा बैंकको, अर्को व्यक्तिगत। उनले केही ठूल्ठुला रकम बैंकको सिस्टममा नहालेर आफ्नै सिस्टममा हाले। बैंककै सिस्टमअनुसार ग्राहकसँग कारोबार गरे तर जम्मा भएको पैसा आफ्नो व्यवसायमा लगानी गरे। नेपाली सेना, नागरिक लगानी कोष लगायतको १ अर्ब ९९ करोड अपचलन गरी उनले घर–जग्गामा लगानी गरेका थिए। 
बैंकिङ अपराधमा बैंक कर्मचारीको मिलेमतो धेरै देखिएको छ। ऋण दिने, धितोको उच्च मूल्यांकन गर्ने, पैसाको चोरी गर्ने, नक्कली एटिएम प्रयोग गर्ने घटनामा उनीहरू संलग्न देखिन्छन्। गएको कात्तिकमा ठमेल शाखाका बैंक कर्मचारी रोहितलाल श्रेष्ठको मिलेमतोमा नक्कली सुरक्षा गार्ड, गाडी, प्याड र छाप प्रयोग गरेर किस्ट बैंकबाट ८० लाख रुपैयाँ ठगी भयो। संलग्न ६ जना जेल परेका छन्।
'यो घटना अन्य अपराधभन्दा फरक तरिकाबाट गरिएको थियो,' कायस्थ भन्छन्, 'दुई महिनादेखि चोरी गर्ने योजना बनाइएको रहेछ।' 
सिआइबीमा वित्तीय अपराध शाखाका डिएसपी अनुपम राणाले दुई वर्षमा बैंकिङ कसुरका एक दर्जन ठूला केस हेरिसकेका छन्। 'ऋण प्रवाह गर्ने प्रक्रियाका घटना धेरै आएका छन्। त्योसँगै कमसल धितोको उच्च मूल्यांकन गर्ने केस धेरै देखिन्छ,' उनले भने।
सिआइबीको रिपोर्टअनुसार आर्थिक वर्ष २०६७/६८ मा चारवटा बैंक कारबाहीमा परे। सातजना पक्राउ परे। चारवटै बैंक कारबाहीमा परेको ०६८/६९ मा १३ जना समातिए। ०६९/७० को रिपोर्टअनुसार ६ बैंक र वित्तीय संस्था कारबाहीमा परे भने २ जना प्रहरी नियन्त्रणमा छन्। 
पुनरावेदन अदालत पाटन वाणिज्य इजलासका उप–रजिस्ट्रार वैदप्रसाद उप्रेतीका अनुसार इजलासमा सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरका पर्छन्। त्यसपछि कम्पनी, कमसल धितो, व्यक्तिगत ग्यारेन्टीका आधारमा दिएको ऋण, एक उद्देश्यलाई दिइएको ऋण अर्कैमा प्रयोग गरिएका मुद्दा बढी आएका छन्। बैंकिङ कसुरमा ऋणी, मूल्यांकनकर्ता, सिइओदेखि सञ्चालकहरूको संलग्नता देखिन्छ। बैंकका सामान्य कर्मचारीलाई फसाएर सिइओ वा सञ्चालक फरार हुने प्रवृत्ति पनि बैंकमा देखिन्छ। मुद्दाको सुनुवाइ हुँदा बैंकमा इन्टर्नसिप गर्ने कर्मचारीसमेत मुछिएका केस इजलासमा छन्।
पुनरावेदन अदालत पाटन वाणिज्य इजलासले दामासाही, करार, मध्यस्थता, बीमा, क्षतिपूर्ति, चेक अनादर, विद्युतीय कारोबार, निर्णय बदर, प्रतिलिपि अधिकार र ट्रेडमार्कजस्ता क्षेत्रका मुद्दा हेर्छ। पुस महिनासम्मको रिपोर्टअनुसार यहाँबाट वाणिज्यसम्बन्धी २ सय ८१ मुद्दा फैसला भइसकेका छन्। 
ऋण असुली न्यायाधीकरणमा खराब कर्जाका मुद्दा भने घट्दै गएका छन्। श्रेस्तेदार रुद्रप्रसाद सुवेदीका अनुसार अहिलेसम्म लगभग ४२ अर्ब रुपैयाँ बराबरका मुद्दा फैसला भइसकेका छन्। त्यसमध्ये ४० प्रतिशत खराब कर्जामात्र उठ्यो। ओभर ड्राफ्ट कर्जा सबैभन्दा धेरै देखिन्छ।
काठमाडौंमा सहकारीहरूले निम्त्याएका अपराधबाट धेरै सदस्य ठगिएका छन्। कति सहकारीका मालिक पैसा कुम्ल्याएर आफैं भाग्छन् भने कुनै सहकारीमा लिएको ऋण नतिरेका घटना पनि छन्। सहकारीका समस्या बढ्दै गएपछि महानगरीय प्रहरी कार्यालयले सहकारी–अपराध हेर्ने छुट्टै टोली बनाएको कार्यालयका प्रवक्ता हेमन्त पालले बताए। 'अहिले काठमाडैंमा यो ठूलो समस्याका रूपमा देखिएको छ,' उनले भने। 
महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ को पुस महिनासम्म बैंकिङ अपराधका १५ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये काठमाडौं र भक्तपुरमा ७ र ललितपुरमा १ छ। ६८/६९ मा २३ वटा बैकिङ अपराधका घटना दर्ता भएको काठमाडौंमा ०६९/७० मा २४ वटा दर्ता भए। 
डलर ठगीका घटना पनि बढ्दो छ। एक वर्षअघि सिन्धुली नेत्रगाली गाविसका तीर्थबहादुर गोलेले काठमाडौं इन्द्रचोकका रविन गुरुङबाट १५ लाख रुपैयाँबराबर डलर ठगी गरेको घटना हनुमानढोकामा दर्ता भएको छ। यो घटनाले कागजको नक्कली डलर बनाएर ठग्ने प्रवृत्ति दर्शाउँछ। 
जादु गरेर पैसा डबल बनाउने ठगीका अनौठो तरिकाबारे पनि प्रहरीकहाँ मुद्दा दर्ता भएको छ। काठमाडौं मुलपानीकी हिराकुमारी तामाङ यसबाटै पीडित छिन्। उनलाई आफन्तले ल्याएको मान्छेले यसैगरी ३ लाख ठगेर भागेको थियो। उनका अनुसार ती व्यक्तिले 'हजारका नोट झोलामा राख्नुस्, त्यसलाई डबल बनाइदिन्छु' भने। तामाङले पत्याइन् र ३ लाख आफ्नो ब्यागमा राखिन्। ती व्यक्तिले अनेक खेल खेले। उनकै अगाडि पैसालाई फोल्ड गरिदिए। अनि झोला राखिदिए र भने, '१२ घन्टापछि हेर्नु ठिक डबल हुन्छ।' उनले त्यतिखेर मात्र आफू ठगिएको थाहा पाइन्, जतिखेर झोलामा पैसा होइन, कागजका नक्कली नोट राखिएको थियो।'

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो...

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...

लेखक पछ्याउँदै

लेखक पछ्याउँदै

एक दशक पनि बितेको छैन। लेखकको काम पुस्तक लेख्नुमात्रै हुँदैनथ्यो। पुस्तक लेखेकै भरमा को लेखक होओस्! आफैं लेख। आफैं छपाऊ। आफैं विमोचन कार्यक्रम राख। अतिथिदेखि दर्शक आफैं डाक। आफूले लेखेर पुग्दैन, कुनै...

सडक संसद सञ्चालिका

सडक संसद सञ्चालिका

२०२२ सालमा सिराहा, नवराजपुरमा जन्मेकी चित्रलेखा यादव अहिले शिक्षामन्त्री छिन्। २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेका बेला उनी उपसभामुख थिइन्। यादव खुलेरै राजाको कदमविरुद्ध उत्रिइन्। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...