Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

नागरिक शनिबार

मदानीमा शब्द–मन्थन

  • २५ माघ, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

सभापतिलाई सुन्ने बेला सभाहल लगभग रित्तिइसकेको हुन्छ। छिटफुट आयोजकबाहेक कोही हुँदैन। 
सामान्यतः हाम्रा साहित्यिक कार्यक्रमहरूको ढाँचाढंग यस्तै कार्यसूचीअन्तर्गत चल्ने गर्छ। मानौं, यो कुनै कर्मकाण्ड हो। 
यस्तै रीति चलिरहेका बेला मध्यपश्चिम नेपालका युवा पाठकले 'नियम' तोडेका छन्।
मदानी– अर्थात्, गाउँघरतिर प्रचलित बाँस वा काठको कलात्मक साधन। मोही पार्न ठेकीभित्र मदानी छिराउनुअघि बाँसको सरमा नेती लगाइन्छ। ठेकीको दहीमा मदानी चोपेपछि सरको बीचतिर घुर्रा जोडिन्छ। अनि जमाइराखेको दहीमा घ्वारघ्वार पार्दै मथिन्छ। आधा घन्टाजति दहीमा मदानी फिटेपछि त्यसबाट मही र घ्यु छुट्टिन्छ।
भिन्न विचारलाई एक अर्कासँग मथ्न पनि यस्तै मदानी चाहिन्छ। यही मौलिक नेपाली प्रविधिको नामसँग आफ्नो उद्देश्यको साइनो देखेर हुनुपर्छ, दाङ घोराहीमा डेढ वर्ष खुल्यो 'मदानी साहित्य समूह नेपाल'। छोटकरीमा मदानी।
मदानी कुनै औपचारिक संस्था होइन। राप्तीका उत्साही युवाहरूको प्रयत्नमा सुरु भएको यो अभियानले सुरुवाती दिनदेखि नै देशभरिका लेखक, पाठकबीच नयाँ शैलीको साहित्य मन्थन सम्भव छ भन्ने सन्देश सञ्चार गर्न सफल भएको छ।
मदानीले पक्रेको नयाँ शैलीअनुसार विषय–सम्बन्धित लेखक अघिल्तिर हुन्छन्। वरिष्ठै भए पनि विषयको केन्द्रमा नरहेका लेखक दर्शकदीर्घामा हुन्छन्।
विशुद्ध अनौपचारिक तरिका छ। त्यहाँ उत्रो आसनग्रहण, मन्तव्य केही पनि हुँदैन। कार्यक्रमको केन्द्रमा निश्चित लेखक, पुस्तक या विषय हुन्छ। वक्ता लेखकले उत्तर–दक्षिणका विषयवस्तु जोडेर बोझिल भूमिका बाँध्न पाउँदैन। मञ्चमा बस्नेको वरियता व्याख्या गरिरहनुपरेन। 'भर्टिकल' वरियता त्यहाँ चल्दै चल्दैन। ऊ फटाफट आफ्ना विचार राख्न थाल्छ। स्रोताका जिज्ञासा, आलोचना र छलफल घनीभूत चल्छ। यी सबै क्रियाकलाप एकदेखि डेढ घन्टाबीच फत्ते हुन्छन्। बस्, मदानी–मन्थन यत्तिमै टुंगिन्छ। 
राप्ती साहित्य परिषद् घोराहीको हलमा मदानी शृंखला सुरु हुँदा राप्ती अञ्चलका वरिष्ठमध्ये कतिपय लेखकले नाक खुम्च्याएका थिए। चल्तीका कार्यक्रममा स्वतः अतिथि मेचमा विराजमान हुने उनीहरूका लागि त्यहाँ कुनै मञ्च र मेच उपलब्ध थिएन। केही आलाँकाँचा केटाकेटीले थालेको कार्यक्रम भनेर उनीहरूले ललकारे। यही सानो ठानिएको प्रयत्न अन्ततः १८ महिना पुगिसक्यो। यो बीचमा यसले देशभरिका लेखक र पाठकबीच उत्साहपूर्ण चर्चा बटुलेको छ। 'मदानी' मा आमन्त्रित हुनु लेखकका लागि इज्जतको कुरो बन्दैछ।
'मदानी' का संयोजक वसन्त आचार्यका अनुसार आसनबाट सुरु भएर भाषणमा टुंगिने चलन हटाउँदै निश्चित विषयमा केन्द्रित कार्यक्रम गर्न चाहेको भनी पुरानो पुस्तालाई बुझाउन समय लाग्यो। 
हुन पनि कविगोष्ठी गर्योद भने कार्यक्रममा आएका सबैलाई एउटा एउटा कविता नभनी नहुने। कसैको नाम छुट्यो या ढिलो आयो भने ती पनि रिसाउने। कोहीकोही त कार्यक्रममा बस्दाबस्दै कविता फुराउने, अनि मञ्चमा गएर नाम टिपाइहाल्ने। कविता भनिसकेपछि अरूको नसुन्ने। झोला टिपेर हिन्दिने। यस्तो चलन त देशैभरि छ।
कसैको प्रशंसाबाट सुरु भएर प्रशंसामै टुंगिने, स्वस्थ आलोचनात्मक विमर्शविनाको यस्तो प्रथा हटाउन कसै न कसैले कोसिस गर्नैपर्थ्यो। यसका लागि दंगाली पाठकहरू अघि सरेको बताउँछिन् मदानीकी एक अभियन्ता गुल्मीकी आस्था केसी। मोफसल र राजधानीबीच व्याप्त दूरी मेटाउन आफूहरूले सक्दो कोसिस गरेको उनको भनाइ छ। 
उनीहरूले अहिलेसम्म निम्त्याएका थुप्रै लेखक भने राजधानीबाटै गएका छन्। तर विभिन्न जिल्लामा बसेर लेख्नेहरूलाई पनि उत्तिकै महŒवका साथ बोलाएको अनुभव मदानीसँग छ। दाङकै कवि रमेश क्षितिजबाट सुरु मदानी शृंखला राप्तीकै अर्को जिल्ला सल्यानबाट झरेका आख्यानकार नयनराज पाण्डे हुँदै इटहरीका प्रभावशाली कवि मनु मन्जिलसम्मको प्रमाण पेस गर्छन् उनीहरू।
शारदा शर्मा, अमर न्यौपाने, अमर गिरी, नेत्र एटम, सरोजराज अधिकारी, डियर कल्याण, संगीत स्रोता, मोहन मैनाली, फूलमान बल मदानीका पाहुना बनिसकेका छन्। गायक जीवन शर्मा, मौरिससबाट आएका गायक डेबोरा खाँ पनि छँदैछन्। निश्चित विषयमाथि केन्द्रित भएर एउटै कार्यक्रममा विभिन्न लेखकको विचार लिने काम पनि मदानीको दायराभित्र पर्छ। 
मदानीका अर्का अभियन्ता दिल महरा आफूहरूले थालेको आलोचनात्मक अध्ययनको अभियान छोटो समयमै राष्ट्रिय आकर्षणको विषय बन्न सकेकाका मख्ख छन्। 'औपचारिक गोष्ठीहरूले हाजिरीकापीमा सहभागीको नाम टिप्ने र एकोहोरो भासनभुसनबाहेक केही उपलब्धि दिन सकेजस्तो हामीलाई लागेन,' उनी भन्छन्, 'हामीले यो अभियान थालेपछि लेखक–पाठकबीच निर्मित दूरी कम गर्न सफल भयौं। दोहोरो मन्थनको चलन सुरु भएको छ।' 
मदानीले अहिलेसम्म औपचारिक समिति निर्माण गरेको छैन। सहकर्मीहरूलाई पदीय श्रेणीमा विभाजन नगर्ने, खुला संरचनाका रूपमा चलाउँदै लैजाने उनीहरूको सोच छ। 'यहाँ राणाकाल सकिएसँगै खुलेका पुराना संघसंस्था पनि छन्, तर हाम्रो काम गर्ने शैली भिन्न छ,' संयोजक वसन्त भन्छन्, 'हामीले औपचारिक संस्था नभएर खुला र साझा मञ्च निर्माण गरेका हौं। यहाँ साहित्यको गम्भीर पठन गर्ने, विमर्शमा रुचि राख्ने जो पनि सहजै समेटिन सक्छ।' 
दाङमात्रै नभएर नजिकका जिल्ला सल्यान, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँचीजस्ता जिल्लाबाट समेत उत्साही पाठकहरू सहभागी हुन थालेका छन्। २५ जनाजतिबाट सुरु भएको मदानी शृंखलामा अहिले एउटा कार्यक्रममा कम्तीमा ७० सहभागी जुट्नु सामान्य हुन थालेको छ। सामान्यतः प्रत्येक महिना कुनै शनिबारको दिन पारेर आयोजना हुने मदानी विषय र सन्दर्भअनुसार कहिलेकाहीँ छिट्छिटो पनि आयोजना हुन्छ। दुखजिलो गरेर चियाखर्च जुटाउने मदानी अभियन्ताहरू तत्काललाई आर्थिक अभाव झेल्दै भए पनि शृंखला चलाउन दृढ देखिन्छन्।
गत आइतबार घोराहीमा भेटिएका मदानी अभियन्ताहरूले समकालीन नेपाली साहित्यबारे थुप्रै कोणबाट विमर्श गरे। कतिपय लेखक र कृतिको प्रशंसा गरे, कारणसहित। आलोचना गरे, कारणसहित। 
'सेतो धरती' उपन्यासका कतिपय सन्दर्भ यथार्थसँग मेल नखाएको भन्दै साथीहरूले लेखकको आलोचना गरेका थिए,' मदानीका डिल्ली मल्ल पुरानो शंृखला सम्झन्छन्, 'अमर न्यौपानेले तिनै आलोचनाका आधारमा नयाँ संस्करणमा केही भाग सच्याउने कबुल नै गर्नुपर्योख।' 
टीका बस्नेतका अनुसार पछिल्ला लेखकहरूमा कमाउनका लागि लेखिदिने प्रवृत्ति बढेको छ। त्यसले साहित्यिक मूल्यमा असर पार्न थालेको छ। रुकुमका गणेश ओली स्थापित लेखकले जे लेखे पनि पढिहाल्ने बानी मदानीमा आएपछि हटेको सकार्छन्। 'लेखकको नाम पढेकै भरमा पुस्तक पढ्दा धोका हुने रहेछ,' उनी भन्छन्, 'पुस्तक छान्नका लागि मदानीको छलफल कामलाग्दो भएको छ।' 
रोल्पाका दिल महरा काठमाडौं बसेर देश चिनेको दाबी गर्ने लेखकप्रति कठोर टिप्पणी गर्छन्। 'कुनै लेखकले आञ्चलिक भाषामा राम्रो लेखेपछि उसकै शैली सिको गर्ने हुँदा कतिपय लेखक चिप्लेको पनि देखियो,' पछिल्लो छिमलका केही लेखकको नाम लिँदै दिल थप्छन्, 'काठमाडौं बसिबसी सुदूर नेपालको आञ्चलिक भाषा अनुमानकै भरमा लेखिदिन्छन्। यस्तो गर्न मिल्दैन। स्थानीय ठाउँमा आएर अध्ययन गर्नुपर्छ।'
नाम चलेका लेखकहरूमा पहिलेझैं गम्भीरता पाउन हम्मे पर्दै गएको मदानी टिमको विश्लेषण छ। आफूलाई कृष्ण धरावासीको प्रशंसक बताउने वसन्त उनका राधा, आधा बाटो, शरणार्थीजस्ता गतिला कृति पछिल्लो समयमा नछापिएको गुनासो गर्छन्। यो प्रवृत्तिबाट अरू लेखकसमेत मुक्त नभएको उनको जिकिर छ।
'चलेका लेखकहरूलाई जे लेखे पनि पाठकले खरर्र पढिदिइहाल्छन् भन्ने भ्रम परेको छ,' गणेश ओली वसन्तकै तर्कमा सही थाप्छन्, 'उनीहरूले पाठकको आफूमाथि कति धेरै अपेक्षा बढेको छ भन्ने पक्षलाई बेवास्ता गरेका छन्।'
पछिल्लो समयमा कृतिको मूल्यभन्दा चर्चा बढ्ता देखिएको डिल्लीको विश्लेषण छ। नाम चलेका समीक्षकले सामान्य पुस्तकबारे पनि बढाइँचढाइँ गरेर पाठकलाई भ्रमित पारेको उनले कडा आरोप लगाए। 'पहुँच नभएका राम्रा लेखकको चर्चा नगर्ने, अनि पहुँच दुरूपयोग गर्ने झुर लेखकको चर्चा बढी भयो कि!' उनले अखबारका साहित्य पृष्ठका सम्पादकहरूलाई पनि दपेटे।
आस्थाका विचारमा कतिपय राम्रा आख्यानकार अखबारमा लेख्ने हुँदा नराम्ररी पछारिएका छन्। 'आख्यानमा स्थापित भइसकेकालाई पनि अखबारमा लेख्ने मोह देखिन्छ,' उनी भन्छिन्, 'कमजोर लेखलाई पुस्तकाकार दिँदा तिनकै प्रतिष्ठा घट्छ। राम्रो आख्यानकार अखबारमा पनि उत्तिकै जम्छ भन्ने छैन।' 
माओवादी सशस्त्र युद्धलगायतका घटनाले नेपाली समाजलाई पारेका सकारात्मक नकारात्मक असरको गहिरो चित्रण गर्नुपर्ने आवश्यकता औंल्याउँछिन्, आस्था। नेपाली समाजको मनोविज्ञानमा यसले पारेका प्रभावहरू अझै पनि नेपाली कृतिमा प्रभावकारी रूपमा आउन नसकिरहेको उनको बुझाइ छ।
मदानी पुगेर फर्केका लेखक नयनराज पाण्डे मदानी टिमको उर्जा र पठन संस्कृतिसँग कायल छन्। 'दाङसँग अद्भूत साहित्यिक चेत रहेछ,' उनी सकार्छन्, 'पढ्ने र विमर्शमा भिड्ने बानी मैले नचिताएको हदसम्म विकास भइसकेको रहेछ।' 
कवि रमेश क्षितिज मदानी भन्नेबित्तिकै गुणस्तरीय कार्यक्रम गर्ने संस्था हो भन्ने छाप मानिसहरूलाई परेको बताउँछन्। छोटो समयमै मदानीले आर्जेको ख्यातिलाई निरन्तरता दिने चुनौती रहेको डिल्ली स्वीकार्छन्।
'हामी जो पायो त्यही लेखक वा कृतिबारे छलफल गर्दैनौं, स्तरीयताको मापदण्ड राखेका छौं,' गणेश भन्छन्, 'बरु आर्थिक अभावले गर्दा कतिपय राम्रा लेखकलाई बोलाउन भने सकिएको छैन।'
कहिलेकाहीँ सम्बन्धित लेखकका प्रकाशकले धेरथोर आर्थिक आडभरोसा दिने गरेको मदानी टिम बताउँछ।
पुराना साहित्यिक संस्थाभन्दा भिन्न छ मदानी। तर, अग्रज र अरूसँग पनि उत्तिकै घनिष्टता रहेको उनीहरू जिकिर गर्छन्।
र, मदानी टीमले यी १८ महिनाबीच दंगाली विमर्शको संस्कृतिमात्रै बदलेको छैन। स्वयं आफूलाई पनि बदलेको छ। आस्थाका अनुसार मदानी सुरु हुनुअघि आफूहरूले लेख्ने गरेका रचना कति कमजोर थिए भन्ने यी निरन्तरका बहसबाट आफैंलाई थाहा हुन थालेको छ। 'नढाँटी भन्नुपर्दा हामी पहिलेका रचना अहिले बाहिर देखाउन नसक्ने भएका छौं,' उनी हाँस्छिन्, 'लेखन भन्ने कुरा त्यति सजिलो रहेनछ। मदानी सुरु गरेपछि आफैंलाई थाहा भयो।'
साहसी सहाना

साहसी सहाना

सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर,...

मानसिंको चैते दसैं

मानसिंको चैते दसैं

मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।

प्राध्यापनबाट परराष्ट्र

प्राध्यापनबाट परराष्ट्र

सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

मध्यम वर्गीयका कथा

प्रज्वल पराजुलीको नयाँ उपन्यास 'ल्यान्ड ह्वेर आई फ्ली' पढ्दै गर्दा मैले आफ्नै बूढी हजुरआमा सम्झेको थिएँ। उपन्यासकी आमा पात्रले मलाई उनको सम्झना दिलायोे।

घरभन्दा राजनीति प्यारो

घरभन्दा राजनीति प्यारो

अष्टलक्ष्मी शाक्य सानैदेखि विद्रोही स्वभावकी थिइन्। सम्पन्न परिवारमा जन्मे पनि सुखसयल छानिनन्। २०१० सालमा काठमाडौं, झोछेंमा जन्मेकी उनी परिवारका आठ सन्तानमध्ये फरक स्वभावकी मानिन्थिन्। पढाइलेखाइमा निकै ध्यान दिन्थिन्। यसै क्रममा...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...