Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

संगीत शताब्दी

  • ३ फागुन, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
रविन सायमि स्केच रविन सायमि स्केच
जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक 'मेहफिल'मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे। त्यस्तै एक मेहफिलमा बालकृष्ण समको नाटक 'प्रह्लाद' देखाउँदा नेपाली गीत गाए, हरिप्रसाद रिमालले।
विसं १९९० दशकतिरको कुरा हो यो। जुद्धशमशेरले 'ओहो, नेपाली गीत पो गायो यसले' भन्दै खुसी भएर पाँच सय रुपैयाँ बक्सिस दिए।
हरिप्रसादलाई बक्सिसमा पाएको चाँदीका सिक्का बोकेर घर ल्याइपुर्या उनै धौधौ पर्यो। त्यहीताक समकै 'मुकुन्द इन्दिरा' को गीत गाएर पनि उनले थुप्रै प्रशंसा र पुरस्कार पाए।
'नेपाली गीत गाउने र सुन्ने चलन त धेरैपछि सुरु भयो, हामी त काठमाडौंमा नेवारी गीत गाएर हुर्क्यौं, अनि हिन्दी गीत सुनेर सिक्यौं,' ९० टेक्न लागेका हरिप्रसादले नेपाली संगीतको आरोह–अवरोह केलाउँदै नागरिकसँग भने।
सय वर्ष नाघेको नेपाली संगीतका एक जीवित इतिहास हुन्, हरिप्रसाद रिमाल।
रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड गरेका उनले नेपाली संगीत यात्राको उतारचढावलाई नजिकबाट देखे–भोगेका छन्। काठमाडौं उपत्यकामा फैलिएको नेवारी सुरताल, दरबारमा जम्ने 'मेहफिल'मा हिन्दी गीतको आधिपत्यदेखि रेडियो नेपाल स्थापनापछि सुरु भएको नेपाली गीत–संगीतको माहोल, स्वर्णिम युग र प्रविधिसँगै फेरिँदै गएको आधुनिक कालका समेत साक्षी हुन् उनी। 
काठमाडौंको लगनटोलमा जन्मिएका उनी तोतेबोलीमै नेवारी गीतमा भाका हाल्थे। उपत्यकाका मठ–मन्दिरमा मल्लकालीन सिर्जना गाइन्थ्यो। रिमाल त्यही सुनेर हुर्के। उपत्यकाका जात्रा र पर्वमा गाइने तिनै गीतमा उनले आफ्नो आवाज तिखारे। उनका बाबु राणाको दरबारमा काम गर्थे। बाबुलाई पछ्याउँदै दरबारमा आवतजावत बढेपछि उनको स्वर हिन्दी गीतमा अभ्यस्त हुन थाल्यो। बेलाबखत त्यहाँ गाउने अवसरसमेत जुर्थ्यो उनलाई।
'दरबारका ठूलाबडाकहाँ उर्दु र हिन्दी गीत बज्थ्यो, हामी त्यही सुनेर कण्ठ गर्थ्यौं, त्यसैले रियाज गर्थ्यौं,' उनी सम्झन्छन्।
दरबारसँग उठबस र त्यहाँको सांगीतिक माहोलका कारण संगीतमा रिमालको टक बस्दै गयो। आफूभन्दा अघिल्लो पुस्ताका नेपाली गायक–गायिकाका गीत सुन्ने अवसर र उनीहरूबारे जानकार हुने मौका पनि दरबारकै सान्निध्यबाट प्राप्त गरेको उनी बताउँछन्। 
त्यसबेला राणाका सचिवसम्मले मात्र आफ्ना घरमा रेडियो राख्न पाउँथे। दरबारमा गाउन गएकै बेला उनले सेतुरामका गीत सुन्ने मौका पाए। सेतुराम नेपाली गीत रेकर्ड गराउने पहिलो गायक हुन्। उनले विसं १९६५ मै नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति–संसारमा पदार्पण गराएको मानिन्छ। समीक्षक प्रकाश सायमीद्वारा लिखित 'नेपाली संगीतको एक शतक' पुस्तकमा भने उनले मोतीराम भट्टको गजलमा आफ्नो स्वर दिएको उल्लेख छ। 
रिमालले थाहा पाएसम्म सेतुराम कहिल्यै नेपाल आएनन्। कलकत्तामै बसेर नेपाली गीत गाए। संगीतका सोखिनहरूले उनले गाएको गीत नेपाल ल्याए। र, उनलाई 'पहिलो गायक' को पगरी दिए। 
उता कलकत्तामै बसेर 'सवारी मेरो रेलैमा' रेकर्ड गराएकी मेलवादेवी गीत रेकर्डिङको इतिहासमा पहिलो नेपाली गायिका बनिन्। मेलवादेवीको आवाज मात्र होइन, दरबारभित्र चल्ने किस्सा कहानीको स्रोतासमेत थिए, रिमाल। प्रधानमन्त्री चन्द्रशमशेर उनको स्वरको जादूमा मोहित थिए भन्ने चर्चा उनले सुनेका थिए। 
पूर्वी नेपालको लामिछाने–गुरुङ परिवारमा विसं १९६४ मा जन्मेकी मेलवादेवी १९७१ मा काठमाडौं आएपछि प्रधानमन्त्री चन्द्रशमशेरको पालामा दरबारमा गाउन थालेको इतिहास छ। 'नेपाली संगीतसाधक' पुस्तकमा रामशरण दर्नालले 'दरबारी कुचक्र र षड्यन्त्रका कारण २२ वर्षको उमेरमा मेलवादेवीले सिंहदरबार त्याग्नुपरेको' प्रसंग उल्लेख गरेका छन्। चन्द्रशमशेर हटेर जुद्धशमशेर सत्तामा आएपछि कोपभाजनको डरले मेलवादेवी भारतको कलकत्ता पसेको उक्त किताबमा छ।
रिमालले सुनेअनुसार चन्द्रशमशेर मेलवादेवीप्रति मोहित थिए, मेलवादेवी भने गीत–संगीत रचनाका हिसाबले शुक्रराज शास्त्रीसँग नजिक थिइन्। उनले शास्त्रीका रचनामा 'न घरलाई घर कहिन्छ' गीत गाएकी छन्। 
गीतमा महिलाअधिकारको कुरा उठाउने चेत उनमा उतिबेलै विकास भइसकेको थियो। यी कुनै पनि कुरा जुद्धशमशेरलाई सह्य नहुने भएपछि उनी प्रवास पसिन्। उनको अर्को गीत 'आऊ न बस पियारी मिरमिरे ‰यालैमा' लाई निर्देशक यादव खरेलले फिल्म 'प्रेमपिण्ड'मा समेत राखेका छन्।
जुद्धशमशेर हटेर पद्मशमशेर प्रधानमन्त्री भएपछि व्यवस्था केही खुकुलो भयो। यही मौकामा रिमालका पिताले घरमा रेडियो राखे। रेडियो सुन्न थालेको चार वर्षपछि २००७ सालको अन्त्यतिर उनले देशमा रेडियो खुल्न लागेको जानकारी पाए। त्यसबारे बुझ्न जाँदा ठाउँको ठावैँ जागिर पनि पाइहाले।
२००७ चैत ३०।
प्रजातन्त्र आएको महिना दिन नबित्दै तत्कालीन 'क्रान्तिकारी रेडियो' लाई राज्यले 'रेडियो नेपाल' मा रूपान्तरण गर्दै थियो। तिनताक रेडियोको औपचारिक सुरुआतमा के–के कार्यक्रम भए, रिमाललाई पूरा हेक्का छैन। यत्ति थाहा छ, मुलुकका लागि त्यो ऐतिहासिक दिन थियो, किनभने देशमा रेडियो खुल्यो।
रिमालले पनि इतिहास रचे, 'रेडियोमा गाउने पहिलो गायक' मा दर्ता भएर। 
'मेरो दिल टुक्रा भएर एक दिन आँखाको बाटो बहनेछ'– शंकर लामिछानेको रचनामा आफूले गाएको यही गीतले 'पहिलो' बन्ने सौभाग्य दिलाएको उनी सम्झन्छन्। रिमाल रेडियो खुल्नुअघि नै गायकका रूपमा चर्चित थिए, त्यसैले पहिलो गीत गाउने पंक्तिमा निर्विवाद उनको नाम आयो। 
सिंहदरबारभित्र राणाका छोराछोरी पढ्ने एउटा बंगलामा रेडियोको अफिस थियो। बाजाको नाममा एउटा हार्मोनियम पनि थिएन। नेपालमा किन्नधरी पाइँदैनथ्यो। धेरैतिर खोजेपछि बल्लतल्ल साहित्यकार विजयबहादुर मल्लको बाबुसँग मागेर एउटा हार्मोनियम व्यवस्था गरे। त्यही हार्मोनियममा आफ्नो सांगीतिक समूहले अभ्यास गरेको उनी बताउँछन्।
त्यसबेला रेडियो नेपालमा स्टुडियो थिएन। सामान्य कोठाबाटै प्रसारण हुन्थ्यो। 'कहिले त समाचार पढिरहेका, गीत गाइरहेका बेला कौवा कराउँथ्यो। हाम्रो र कौवाको गीत सँगै सुने स्रोताले,' उनी सामान्य स्तरबाट सुरु भएको रेडियो नेपालको अवस्था दर्शाउँछन्।
रेडियो नेपालबाट पहिलो गीत रेकर्ड गर्न कलकत्ता जाँदा अघिल्लो पुस्ताकी चर्चित गायिका मेलवादेवीसँग भेटेको स्मरण गर्दै रिमाल भन्छन्, 'मैले तपाईंको गीतको नेपालमा खुब प्रशंसा हुन्छ, उतै फर्किनुस् भनेँ, तर उहाँले मान्नुभएन। भन्नुभयो– 'हैन अब बूढी भएँ, यतै बस्छु।'
गीत रेकर्ड गरेर फर्किएपछि रिमाल नेपालमा चर्चित बने। 'त्यतिबेला गीत गाउने काम गाइनेको मात्र हो भन्ने सोच थियो। मेरो गीत रुचाइन थालेपछि, ए गीत त जसले गाए पनि हुँदो रहेछ भन्ने सन्देश गयो,' उनी भन्छन्। 
रानुदेवी, हिम्मतबहादुर र किशोरीदेवी रिमाल रेडियो छिर्दाका समकालीन थिए। 'क्रान्तिकारी रेडियो' बाट रेडियो नेपाल प्रवेश गरेकी रानुदेवीले रेडियोमा गाउने पहिलो गायिकाको इतिहास बनाइन्। त्यसलगत्तै सरकारले केही गायक–गायिकालाई जागिर दिने योजना ल्याएपछि नातिकाजी, शिवशंकर र पन्नाकाजी पनि थपिए। लोकप्रियता बढ्दै गएपछि गायक/गायिकाको लस्कर बढ्न थाल्यो रेडियो प्रांगणमा। स्वर परीक्षा र गाउने पालोको नियम बस्यो।
रिमाल भने गीतभन्दा नाटकतिर लम्किए। गीतमा त उनी बच्चैदेखि रत्तिएकै थिए, नाटकको रन्कोले समेत छुन थालेपछि उनले रंगमञ्चमा गाउने र अभिनय गर्ने क्रमलाई सँगसँगै अघि बढाए। रेडियो छिरेको प्रारम्भिक दिनमै बनेको 'फगत एक नजरमा कसैले लियो मन'ले रिमाललाई गायकको रूपमा दरिलो पहिचान दिइरह्यो।
र, आजसम्म दिइरहेकै छ।
नेपाली गीत–संगीत त्यो अवस्थाबाट अहिलेको आधुनिक युगसम्म आउनुमा रेडियो नेपालको स्थापनालाई सबभन्दा महत्वपूर्ण 'टर्निङ प्वाइन्ट' मान्छन् रिमाल।
संगीत अनुसन्धानमा क्रियाशील बुलु मुकारुङ पनि यसमा सहमत छन्। 
'आधुनिक नेपाली संगीतको विकास विभिन्न चरणमा भयो, यसमा रेडियो नेपालको स्थापना सबभन्दा महŒवपूर्ण फड्को हो, जसले नेपाली गीत–संगीतलाई आमजनतासम्म पुर्याउने काम गर्योन,' मुकारुङ भन्छन्, 'गीत–संगीत क्षेत्रमा नयाँनयाँ सर्जक जन्माउनमा पनि रेडियो नेपालको ठूलो हात छ।'
भारतीय राजनीतिमा आएको परिवर्तन, रत्न रेकर्डिङ, ट्र्याक रेकर्डिङ प्रविधि र डिजिटल रेकर्डिङको समेत हात देख्छन् उनी। 'ब्रिटिसले भारत कब्जा गरेपछि त्यहाँका राजा–महाराजाकहाँ काम गर्ने संगीतकर्मी बेरोजगार भए। उनीहरूमध्ये केहीले नेपालको दरबारमा काम पाए। त्यो संगीतको प्रभाव यहाँ पनि पर्योा,' उनी भन्छन्, 'ब्रिटिसले भिœयाएको पाश्चात्य बाजा र गीतको प्रभावबाट पनि नेपाली संगीत राणाकालमै ग्रस्त भयो।'
मित्रसेनजस्ता लाहुरे संस्कृतिमा हुर्किएका प्रवासी नेपाली, सेतुराम र मेलवादेवीले भारतमै बसेर नेपाली गीत सुरु गरेको तथ्य उनले भेटेका छन्। 
'अहिले जुन अवस्थामा नेपाली संगीत छ, त्यो विभिन्न कालखण्डमा कला र प्रविधिमा आएको परिवर्तनको प्रभाव हो,' मुकारुङ भन्छन्, 'त्यसमध्ये रेडियो नेपाल खुलेर नेपाली गीत बज्न थालेपछि त्यसले नेपाली गीत–संगीत क्षेत्रमा अभूतपूर्व क्रान्ति नै ल्यायो।'
रेडियो नेपाल खुल्नुअघि नै रेडियोका पारखी प्रेमध्वज प्रधानका लागि समेत नेपाली गीत बज्नु अनौठो कुरा थियो।
त्यसबेला 'रेडियो सिलोङ' खुब सुन्थे उनी। त्यसकै प्रभावमा परेर हिन्दी गीत गाउँथे। उनकी आमाको पनि संगीतमा दक्खल थियो। प्रेमध्वजले आमाबाट संगीत पनि सिक्न पाए। साथीभाइ जम्मा हुँदा हिन्दी गीत गाउनु उनको सोखको विषय थियो। नेपालमा रेडियो खुलेपछि उनले फाट्टफुट नेपाली गीत सुने। आमाको प्रेरणा पाएपछि उनमा गाउने मोह पनि बढ्दै गयो। भर्खर किशोर वयमा प्रवेश गरेका उनले स्वर परीक्षा पास गरे रेडियोमा गीत गाउन पाइने थाहा पाए। 
२००९ सालमा उनी स्वर परीक्षामा सामेल भए। 
'क्रान्तिकारी रेडियो' ले विराटनगरबाट आधुनिक नेपाली गीत बजाए पनि काठमाडौंमा त्यो चलन सरिसकेको थिएन। उनलाई एउटा पनि नेपाली गीत कण्ठ थिएन, हिन्दी गीत गाएर स्वर परीक्षा दिए।
'तीन दिनपछि गएर हेरेको त 'क' श्रेणीमा मेरो नाम टाँसिएको रहेछ,' प्रेमध्वजको गायन यात्रा त्यही दिनदेखि औपचारिक बन्यो। उनले त्यही दिन महिनामा दुईपटक गीत गाउने करारपत्र पाए। सुरुआतका गीत उनले उस्ताद भैरवबहादुरको गाए। अरू उपकरण थिएन, उनी हार्मोनियमकै लयमा भाका हाल्थे। गीत रेकर्ड गर्ने उपकरण थिएन। लाइभ गायो, सकियो।
स्रोताहरू चर्चा गर्थे, 'प्रेमध्वजले आज यस्तो गीत गाए।'
उनी भने एउटै कौतुहलमा गुजि्रए, 'रेडियोमा मेरो स्वर कस्तो सुनिन्छ होला!' 
चार वर्षसम्म गीत गाउँदा पनि उनले आफ्नो स्वर सुन्न पाएनन्।
२०१३ सालमा रेडियो नेपाललाई अमेरिकी दूतावासले गीत रेकर्ड गर्ने 'सेकेन्ड ह्यान्ड' मेसिन दियो। अब केही छानिएका गायक–गायिकाको गीत रेकर्ड हुने भयो। आफू पर्न पाए हुने भन्ने चाहना प्रेमध्वजको पनि थियो। नभन्दै, नातिकाजीले गायिका तारादेवीसँग गाउन प्रेमध्वजलाई छाने। 
'यो नेपाली शिर उचाली संसारमा लम्कन्छ'
पहिलोचोटि रेकर्ड भएको गीतबाटै प्रेमध्वज कालजयी भए। 
'अनि मैले आफ्नो आवाज रेडियोमा सुन्न पाइरहेँ,' उनी भन्छन्।
त्यसपछि लामो समय प्रेमध्वजको गीत रेकर्ड भएन। अमेरिकी दूतावासले दिएको सेकेन्ड ह्यान्ड मेसिनको क्षमता थोरै भएकाले उनी मात्र होइन, अरू थुप्रै कलाकार त्यसमा अट्न सकेका थिएनन्।
'हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा'– गायक धर्मराज थापाले कलकत्ता पुगेर यो गीत रेकर्ड गराएको प्रेमध्वजले थाहा पाए। २०२० सालतिर उनी पनि धर्मराजसँग ठेगाना लिएर कलकत्ता हान्निए, आफ्नै खर्चमा गीत रेकर्ड गर्न। 
'ग्रामोफोनमा बजाउने लाहाको चक्कामा दुईवटा मात्र गीत अट्थ्यो। रेकर्ड गराएपछि दुई सय कपी किन्नैपर्ने नियम थियो,' उनले चार सय प्रति चक्का ल्याए, एउटाको पाँच रुपैयाँमा बेचेर लगानी उठाए। 'घुम्तीमा नआऊ है' बाट उनले चर्चाको शिखर चुमे।
रत्न रेकर्डिङ खुलेपछि बल्ल गीत रेकर्डिङको काम सहज भएको उनी बताउँछन्। २०१८ सालमा रत्नराज्यलक्ष्मीको अनुदानमा रत्न रेकर्डिङ ट्रस्ट स्थापना भएको हो। ट्रस्टको सुरुआती कालमा नारायणगोपाल, तारादेवी, प्रेमध्वज, बच्चुकैलाश, कोइलीदेवी, पन्नाकाजी लगायतको गीत रेकर्ड भयो।
संगीतमय माहोल
रेडियोमा बोल्ने र गाउने व्यक्ति किरण खरेललाई 'सुपरम्यान' जस्ता लाग्थे। काभ्रेपलान्चोकको खरेलथोकबाट राजधानी आएर ओटुटोलमा पढ्न बस्दा उनी तिनै 'सुपरम्यान' हरूको घेराभित्र थिए। २०१३ सालतिर तारादेवी, प्रेमध्वज, नारायणगोपाल, माणिकरत्नजस्ता कलाकारको छिमेकी हुन पुगे खरेल। 
सहरमा चर्चाको मुख्य विषय बन्थ्यो, भर्खर खुलेको रेडियो। गीत लेख्ने, गाउने, बोल्ने सबैको जमघट हुन्थ्यो, नयाँ सडकको पीपलबोटमा। त्यो संगतले खरेललाई पनि तान्यो। उनी गीतकार माधवप्रसाद खनाल 'भावुक' को गीतको प्रशंसक हुन थाले। रचना गर्ने प्रेरणा उनैबाट पाए। 
उनी रामायण पढ्दा सीताको संवेदनाले दुःखी हुन्थे। स्वस्थानी पढ्दा पार्वतीको कथामा डुब्थे। खरेलथोकमा छँदा उत्तरतिरका हिमाली लहर देखेर उनी सोचमग्न हुन्थे। ठान्थे, हिमालका तल साना गाउँ होलान्। हिमालय पर्वतकी छोरी पार्वती त्यहीँ खेल्दिहुन्। 
गीत रचनाको सुरुआती दिनमा आफ्नो त्यही बाल्यकालीन प्रभाव उनले लिपिबद्ध गरे। 'पर्वतीकी छोरी हुँ म पार्वती हो नाउँ' ले गीत रचनामा खरेललाई स्थापित गरिदियो। 
वटुककृष्ण ज्वालासँग किरणको संगत बढ्यो, जो टोलटोलमा सांस्कृतिक कार्यक्रम आयोजना गर्थे। उनैले किरणलाई पहिलो गीत लेखाए। 
'ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ?' यो रचना सँगै कलाकारको पंक्तिसँग जोडिन पुगे उनी। 'फूलबारी' कार्यक्रम हेर्न आएका राजा महेन्द्रले रुचाएपछि उनको अर्को गीत 'चन्चले आँखाले के गरे मलाई' रेकर्ड गर्न पैसा दिए। 
बिस्तारै किरणका गीत भैरवबहादुर थापा, नातिकाजी, शिवशंकरजस्ता गायक एवं संगीतकारको रोजाइमा पर्योि। मविवि शाह, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, रत्नशमशेर थापा, धर्मराज थापाजस्ता रचनाकारको पंक्तिमा आफूलाई उभ्याउन सफल भए खरेल। 
फिल्ममा समेत गरेर ८ सय गीत लेखेँ हुँला भन्छन् उनी।
निजी लगानीको पहिलो फिल्म 'माइतीघर' मा उनले फिल्मका लागि पहिलो गीत लेखेका थिए। जयदेवको संगीतमा आशा भोसलेलगायत चर्चित भारतीय गायक–गायिकाको स्वरमा गीत रेकर्ड भएर आउँदा उनी चकित परे। पहिलोपटक आफ्नो गीत छायांकन भएको देख्दा उनको खुसीले आकाश छोलाजस्तो भयो।
हालै लन्डन गएका बेला उनलाई एउटा सांस्कृतिक कार्यक्रममा निम्तो आयो। उतै जन्मिएकी नेपाली बालिकाले त्यही 'माइतीघर' गीतमा नृत्य गरेको देखे। आयोजकले आफूलाई गीतको रचनाकार भन्दै चिनाएपछि ती बालिकाले भनिछन्, 'यो गीतमा त मेरी हजुरआमा पनि नाच्नुभएको छ रे।' 
तीन पुस्तालाई रिझाउन सफल यो गीतका रचनाकार स्वयं पनि यसका प्रशंसक हुन्। त्यसैले आफ्ना हजार गीतबाट छानेर उनले यसैलाई मोबाइलको 'रिङ टोन' बनाएका छन्। 
अहिलेसम्म गीत रचनामा सक्रिय खरेललाई त्यतिबेलाकै गीत किन बढी मनपर्छ?
'किनभने, त्यसबेलाका गीत समर्पणले तयार हुन्थ्यो,' उनी भन्छन्। 
'माइतीघर' को गीत रेकर्डिङ उनले देखेनन्, किनभने फिल्मको सम्पूर्ण प्राविधिक काम भारतमा भएको थियो। पछि, रेडियो नेपालमा आफ्नो गीत 'सोधूँसोधूँ लाग्छ मलाई' रेकर्ड हुँदा उनलाई हेर्न मन लाग्यो। त्यो दिन गायिका तारादेवीको समर्पण देखेर उनी 'स्तब्ध' बनेका थिए। 
'उनको पत्थरीको अपरेसन भएको एक हप्ता भएको थियो, तैपनि गाउन तम्सिइन्। म कौतुहलताका साथ हेर्न बसेको थिएँ। लाइभ रेकर्डिङ गर्नुपर्ने जमाना, ५ घन्टा लाग्यो काम सकिन। अम्बर गुरुङसँग पूरै भावमा डुबेर गाइरहेकी तारादेवी जब काम सकिएको सुनेर उठ्न खोजिन्, अपरेसन गरेको ठाउँ फुटेर बिजोग भइसकेको रहेछ,' खरेल अहिले पनि बेलाबखत स्टुडियो जान्छन्, आफ्नो गीत रेकर्ड भएको हेर्न।
तर, गीतप्रति साधकमा त्यो तहको श्रद्धा नदेख्दा विरक्त लाग्ने उनी बताउँछन्।
किरणसँगै मिल्दोजुल्दो भनाइ राख्छन्, गीतकार यादव खरेल। २०१६ सालमा रेडियो नेपालको कार्यक्रम सञ्चालक भएका खरेलले त्यहाँ नौ वर्ष काम गरे। 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले' उनले त्यहाँ प्रवेश गर्नेबित्तिकै रचना गरेको गीत हो। खरेलले त्यसपछि पनि धेरै गीत लेखे, धेरै कलाकारसँग काम गरे। फत्तेमानको आवाजमा रेकर्ड भएको यो गीत 'कालजयी' हुनुमा उनले बुझेको तथ्य हो – मौलिकता, सरलता र कलाकारको तपस्या।
'संगीतकर्म पेसा थिएन, त्यही भएर गुणस्तर थियो,' खरेल प्रकाश पार्छन्।
उनी कार्यक्रम चलाउन रेडियो नेपाल जाँदा सधैं सारेगमको झंकार सुन्थे। नातिकाजी, तारादेवी र फत्तेमानहरू असिनपसिन हुँदै अभ्यास गरिरहेका हुन्थे। 'लाइभ' गायनमा प्रविधिको छलछाम हैन, कलामात्र हुन्थ्यो। 
'डिजिटल रेभुलुसन'को युगमा पनि संगीतकर्ममा लागिरहेका खरेल प्रविधिले सजिलो बनाउँदै लगेपछि साधना गर्ने क्रम घटेको औंल्याउँछन्। एउटै गीतमा संलग्न व्यक्तिबीच परिचय नै नभई काम सकिने जमानाले कलालाई कृत्रिम बनाउँदै लगेको उनले अनुभव गरेका छन्। 
स्वर्णिम युग 
विसं २०२० को दशकलाई नेपाली संगीतको स्वर्ण युगका रूपमा सम्भि्कइन्छ। अहिले पनि उत्तिकै रुचाइने कालजयी गीत त्यही दशकका उपहार हुन्। यस युगका अनमोल रत्नहरू नातिकाजी, शिवशंकर, नारायणगोपाल, तारादेवी, बच्चुकैलाश नेपालमै तिखारिएका थिए भने दार्जिलिङबाट अम्बर गुरुङ र गोपाल योञ्जन थपिए। यी स्रष्टाको सहकार्यमा जति गीत बने, ती टिकाउ बने।
गोपाल योञ्जन दार्जिलिङका ढुकढुकी थिए। नेपालको सुगम संगीतमा नारायणगोपालको प्रगति ग्राफ बढिरहेको थियो। 'स्वर्गकी रानी', 'ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो', 'मान्छेको माया यहा“ खोलाको पानीजस्तो' लगायत गीतबाट उनले आफ्नो अब्बल कलाको प्रमाण दिइरहेका थिए। 
कवि ईश्वर बल्लभले चौरस्तामा नारायण गोपालसँग कर्म योञ्जन र उनका भाइ गोपाल योञ्जनको भेट गराएपछि नेपाली संगीत चम्किलो बनाउने इतिहास निर्माण भएको गीतकार नगेन्द्र थापाले चर्चा गरेका छन्। गोपाल योञ्जनले नारायणगोपाललाई आफ्ना केही रचना र संगीत भेट दिए।
'तिम्रोजस्तै मुटु मेरो पनि', 'मेरो गीत मेरै प्रतिबिम्ब हैन', 'जीवनदेखि धेरै धेरै नै थाकेर', 'लौ सुन म भन्छु मेरो राम कहानी', 'गल्ती हजार हुन्छन् यहा“ होस हराएको बेला', 'मेरो गीतमा उभिएको धुलो' ले लगायत गीत नारायणगोपालले कोसेली पाएका थिए। तीमध्ये केही कलकत्तामा रेकर्ड भए, केही रेडियो नेपालमा। यिनै गीत नेपाली संगीतको स्वर्णिम कालखण्ड बनाउने आधारमध्येका बने।
त्यो कालखण्डमा संगीत व्यापार थिएन। रुचिले संगीतमा लाग्ने र आत्मसन्तुष्टिका लागि गाउनेले रेडियो भरिएको थियो। कलाकार भएर जीवन चलाउन सहज थिएन। असहजतासँग जुधेरै कलालाई कालजयी बनाउन समर्पित थिए सबै। त्यो जमातमा औसत प्रतिभालाई 'इन्ट्री' थिएन। संगीतमा कठोर साधना गर्नेले मात्र रेडियोमा प्रवेश पाउँथे। 
त्यस्तो कठिन परिस्थितिमा एउटा किशोर स्वर परीक्षा दिन रेडियो नेपाल छिर्योो। 'स्वर्ण युग'को उत्कर्षमा पुगिरहेका बेला संगीतमा करिअर बनाउन तम्सिएका थिए, शम्भुजीत बास्कोटा। २०२८ सालमा उनले स्वर परीक्षा पास गरे। गीत गाउने पालो आउन दुई वर्ष लाग्यो। गायनमा 'नाच्देऊ मैच्याङ' जस्तो लोकशैली रोजेका शम्भुजीतले संगीतकारका रूपमा भने सुगम संगीतको कठिन बाटो रोजे। उनको संगीतमा 'तिमीले भनेका सारा देव छोएर' र 'पर्खी बसेँ आउला भनी' बोलको गीत नारायणगोपालले समेत गाए। दीपक खरेलले 'पूर्णिमाको रात पनि' शम्भुजीतकै संगीतमा गाए। 
प्रारम्भिक दिनमा शम्भुजीतले फिल्ममा सुगम संगीतको कठिन बाटो अपनाए। 'माया' फिल्मको 'मन्दिरमा छ कि मूर्तिमा माया' नारायण गोपाललाई गाउन लगाए। 
तर, फिल्मको संख्या बढ्दै गएपछि 'सुगम' मै अडिइरहन सकेनन् उनी। २०५० को दशकमा उनले फिल्म संगीतमा एकछत्र राज गरे। 'संगीतको फ्याक्ट्री' बन्ने धूनमा हल्काफुल्का गीत उत्पादन गरेकामा उनको धेरै आलोचना भयो। उनी लोक र आधुनिक शैली मिसाएर नयाँ स्वाद पस्किएको दाबी गर्थे। संगीत समीक्षकहरू भने उनको यही कामलाई 'खिचडी' को संज्ञा दिन्थे। 
'मैले संगीतमा व्यावसायिकता दिएँ। गीतकै कारण फिल्म चल्ने जमाना आयो। हिन्दी गीत बजाउने ब्यान्ड बाजाले पनि नेपाली फिल्मको गीत बजाउन थाले,' आफूले लोकप्रिय काम गरेको दाबी गर्दै उनी आरोपको खण्डन गर्छन्।
बच्चुकैलाश, पुष्प नेपाली, नारायणगोपाल, प्रेमध्वज, फत्तेमान, हिरण्य भोजपुरे, गणेश रसिक, तारादेवी, अरुणा लामाले 'उत्पात' मच्चाएका बेला अर्थात् २०३० को दशकमा रेडियो छिरे, बुलु मुकारुङ। 
२०३५ सालमा स्वर परीक्षा पास गरेर रेडियो नेपाल छिरेका उनी अहिले वरिष्ठ संगीत संयोजकमा कार्यरत छन्। संगीतमा लाग्नेले लेखन, कम्पोजिसन र प्रस्तुतीकरणलाई मात्र ध्यान दिएर हुँदैन रहेछ भन्ने बुझेपछि उनी संगीतको अध्ययन र अनुसन्धानमा लागे। नेपालको सांगीतिक इतिहासलाई अनुसन्धानबाट र नयाँ संगीतलाई अनुभवबाट बुझेका मुकारुङ प्रविधिको फड्कोले पुराना स्रष्टालाई पछि पारेको देख्छन्। 
'प्रविधिबाट अघि बढ्ने कि साधना?' नयाँ पुस्तामा चल्न थालेको यो बहसबारे मुकारुङ भन्छन्, 'गला र कलाको कमाल मानिने क्षेत्रमा प्रविधिले मालामाल बनाएको देखेपछि केही कन्फ्युजन पनि ल्याएको छ।'
यसको पछिल्लो उदाहरण हो, 'सन्डे मर्निङ लभ यु' गीतको प्रसिद्धि। स्वर परीक्षा पास नभए गायक बन्नै नपाउने समय बितेको दुई दशक पनि भएको छैन। आफ्नो गीत रेडियो र टेलिभिजनको सहायताबिनै चर्चाको शिखरमा पुर्यातउन सकिने उदाहरण पेस भइसकेको छ। 'सन्डे मर्निङ लभ यु' का गायक भीम निरौलालाई प्रसिद्ध हुन कुनै परीक्षा दिनुपरेन। उनी आफैंले गाए, भिडियो बनाए, यु ट्युबबाट संसारलाई देखाए। 
मुकारुङ भने कला र प्रविधिको संयोजनको पक्षमा छन्। 
संगीतमा व्यापारीकरण
पुराना साधकले संगीतको व्यावसायिक पाटोलाई महत्व दिएनन्। मुलुकमा टेलिभिजन (२०४२) खुलिसके पनि भिडियो बनाउन चासो दिँदैनथे। साथीभाइको धेरै करकापपछि २०४५ सालमा नारायणगोपाल बल्ल 'एकल साँझ' का लागि तयार भएका थिए। बच्चुकैलाशले त मिडियालाई निषेध नै गरे। रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्चश्व रहेका बेला काठमाडौंका कलेजमा गाउँदै हिँड्ने रामकृष्ण ढकालले सजिलै सांगीतिक साँझ गर्ने मौका पाए। 
नारायणगोपालले एकल साँझ गरेकै वर्ष रामकृष्ण मञ्चमा उक्लिन पाए। 'महान गायक नारायणगोपालले जीवनको उत्तरार्द्धमा स्विकार्नुभएको अवसर मैले माइक्रोफोन अगाडि उभिनेबित्तिकै पाएँ,' संगीत र आम्दानी सँगसँगै आयो ढकालको जीवनमा। 
उनले उत्तरार्द्धमा आइपुगेको लाइभ रेकर्डिङको स्वाद चाखे। र, डिजिटल रेकर्डिङको लाभ पनि उठाइरहेका छन्। सबै प्रविधिलाई आत्मसात गर्दै अघि बढेको आफू संगीतबाट नअलग्गिएको उनको भनाइ छ। 
ल क्याम्पसबाट गाउन सुरु गर्दा रामकृष्ण ढकाल स्कुल पढ्ने उमेरका थिए। राजधानीका सबैजसो कलेजका विद्यार्थीलाई आफ्नो आवाजले मुग्ध पारेपछि उनलाई रेडियोमा गाउन मनलाग्यो। तर, रेडियो नेपालको स्वर परीक्षाको तगारोले यी 'सहर सेलिब्रेटी'लाई पनि रोक्यो। 
१२ वर्षका ढकालको स्वर कसैले नराम्रो भन्न सकेनन्, उनले गीत रेकर्ड गराउन पनि सकेनन्। 'बालगीत गाउने उमेरमा आधुनिक गीत!' रेडियोमा उनीबारे यस्तो टिप्पणी भएपछि त्यहीँका गायक जयनन्द लामाले सिधै रेडियोका निर्देशक भोग्यप्रसादकहाँ लगे। र, गाउन पाउने गराए। 
देशमा पुनः प्रजातन्त्र आएपछि रेडियो नेपालमा सोर्सफोर्सको राजनीति घुसेको ढकालले थुप्रैचोटि देखेका छन्। त्यसरी आएकाहरूले लाइभ रेकर्डिङमा हायलकायल भएर हिँडेको पनि उनले देखे। 
निजी क्षेत्रको संगीत उत्पादन कम्पनी म्युजिक नेपालमा फोर ट्र्याक रेकर्डिङ गर्ने अवसर पाए ढकालले। 'हाम्रो सुन्दर संसार थियो' बोल गीत ट्र्याकमा रेकर्डिङ गर्न पाउँदा उनले राहत अनुभूति गरे। 
'एकदिन नारायणगोपाल दाइको घरमा खाना खान गएको, गीत सुनेर एप्रिसियट गर्नुभयो,' स्वर समा्रटको हौसलाले ठूलो ऊर्जा मिलेको अनुभव गरे उनले। र, उनकै संगीतमा गीत गाउन पाए। 'माया गर्नेको चोखो माया पनि देखियो' गीत हिट भयो। 
यो गीत उनले तीनपटक रेकर्ड गरे। 'बच्चाको जस्तो स्वर लाग्यो, २०४८ सालमा पुनः रेडियोमा रेकर्ड गरेँ, अहिले मुम्बईमा रेकर्ड गरेको भर्सन बज्छ,' उनले प्रविधिको लाभ उठाइरहेका छन्।
पुराना सर्जकले साधना गरे, संगीतबाट आर्थिक लाभ पाएनन्। रामकृष्ण संगीतमा गुणस्तर पेस गर्दै आर्जन गर्ने पंक्तिका प्रतिनिधि हुन्। उनले एकल साँझमै रेकर्ड गरिएको क्यासेटबाट मनग्य आर्थिक लाभ गरे। 
नारायणगोपालहरूले गीत–संगीतबाट पैसा कमाएनन्, दुःखै पाए। रामकृष्णको आगमन र संगीतमा व्यावसायिकता सँगै आयो। 
उनले मुम्बईमा गीत रेकर्ड गर्न पाउने भए। म्युजिक नेपालको 'फोर ट्र्याक' भन्दा चार गुना बढी 'सिक्सटिन ट्र्याक' मा रेकर्ड हुने भयो उनको गीत। आठजनाको शब्द र संगीत बोकेर उनी एक्लै भारतको मनोरञ्जन नगरी पुगे। 'एकै दिनमा भोकलको काम सकियो,' उनले ठाने, 'रेडियो नेपालमा लाइभ गाउँदाको अभ्यासले छिटो काम सक्न मद्दत गर्योन।'
एल्बम 'आशीर्वाद' को गीतले उनलाई सांगीतिक क्षेत्रमा नयाँ उचाइ दियो। 'रिसाउँदा नि आफ्नै' सहित सबै गीत चर्चित बन्यो। 
सात गीत एकै टेकमा भ्याएपछि सिंहदरबार गेटमा बस्ने पुलिसलाई हात जोडेर रेडियो नेपाल छिरेको, गाउने पालो पाउन एक वर्ष कुरेको, गाउने बेलामा भ्वायलिन नदिएर आफैंले जुटाउनुपरेको, आफ्नो गीत नबजाएर हैरान पारेको लगायत सबै दुःख उनले बुझे। एउटै कुरा सम्भि्कए, 'रेडियोले पारंगत बनाउन यस्ता दुःख दिएकोरहेछ।'
रामकृष्णको गीत बढ्यो, काठमाडौंमा एफएम। अब गीत बजाउन रेडियो नेपालको मात्र भर पर्नुपरेन। रेडियोले गीत नबजाइदिएर हैरान पारेको पप गायक–गायिकाका लागि त एफएम स्टेसनले ठूलो राहत दियो।
रातभरि छाप्दा पनि क्यासेटको माग पूरा गर्न नसकेको दुःख भोगेका रामकृष्ण केही वर्षमै क्यासेट नबिक्ने समस्याको भुक्तभोगी भए। सिडीको चलन आयो, तर लामो टिकेन। 
संगीतको 'फिजिकल सेल' घट्यो। पाइरेसी बढ्यो। अनलाइनबाट निमेषभरमै गीत संसारभरि फैलन थाल्यो। हातहातमा मोबाइल, हातहातमा गीत। गाउँगाउँमा एफएम। सम्भ्रान्तको पहुँचबाट संगीत सबैमा पुग्यो। बिक्री घट्यो, बजार बढ्यो। 
बढ्दो बजारलाई कसरी समेट्ने?
सजिलोका लागि उनले 'गायक समाज' खोलेका छन्। 'कपीराइटको कानुन कार्यान्वयन भएको छैन। रोयल्टी उठ्दैन। अब ती चिजलाई आफ्नो हातमा पार्न सक्नुपर्छ,' उनी सिआरबिटी, पिआरबिटी, अनलाइन मार्केटिङजस्ता नयाँ युगले देखाएको आयस्रोतलाई कसरी आफ्नो पहुँचमा ल्याउने भन्ने चिन्तनमा छन्।
लाइभ भर्सेस ट्र्याक रेकर्डिङ
लाइभ रेकर्डिङको विसर्जन र ट्र्याक रेकर्डिङको आरम्भका प्रत्यक्षदर्शी हुन् गायक रामकृष्ण ढकाल। मादल, तबला, हार्मोनियमसहित खडा भएका वाद्यवादक। उनीहरूको लयसँगै एक 'टेक'मा गीत सकाउनुपर्ने। 
'जसले बिगारे पनि सबैले दुःख पाउँथ्यो। सानो मान्छे, आफ्नो कारणले बिग्रियो भने सबैले गाली गर्छन् भनेर म डराउँदै गाउँथेँ,' उनी भन्छन्। 
ढकालजस्तो बाजागाजा पहिल्यै रेकर्ड भइसकेको ट्र्याकमा स्वर भर्न छिट्टै अवसर पाउने गायकमा पर्दैनन् प्रेमध्वज प्रधान। रेकर्डिस्टको इसारामा स्वर भर्ने युगलाई प्रेमध्वजले त्यति अपनाएनन्। 'कहिलेकाहिँ भजन रेकर्ड गर्न गएँ, आफ्ना गीत त लाइभ रेकर्ड गरिएको हो,' उनी भन्छन्।
रेकर्डिङमा यस्तो प्रविधिको विकास भएपछि गायक/गायिका बढेको उनले देखेका छन्। उनी भने १५ वर्ष भयो रेकर्ड गर्न स्टुडियो नछिरेको।
करिब एक वर्षअघि 'पुस्ता' एल्बम तयार पार्दा यादव खरेललाई काम गरेजस्तै लागेन। 'एकएकजना गरेर आउँछन्, काम सकेर जान्छन्। कम्प्युटरमा सबैको काम मिसाएर रेकर्डिस्टले एल्बम दिन्छ,' सजिलै हार्डडिक्समा गीत पाउँदा उनले 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले' को समय सम्भि्कए। नातिकाजी, फत्तेमान र तारादेवीहरुको अनुहार पसिनाले भिजेको सम्भि्कए। 
सहरमा दिनको एउटा एल्बम विमोचन नभएको दिन होलाजस्तो लाग्दैन, गीतकार किरण खरेललाई। सहज प्रविधिले एल्बमको भेल बगाएको ठान्छन् उनी। 'त्यो भेलमा राम्रो गीत छान्नु शालिग्राम खोजेजस्तो भयो,' उनी प्रविधिले सजिलो बनाएपछि साधना गर्ने क्रम घटेको देख्छन्।
एक पंक्ति गीत आज गाएर बाँकी अर्को दिनलाई साँच्न मिल्ने, शब्दशब्द सच्याउन मिल्ने यो समयसँग उनी आफ्नो सुरुआतको समय दाँज्छन्। 
'पहिले यति सजिलो भएको भए के हुन्थ्यो होला?,' भन्छन्, 'तारादेवीको पेट उधि्रने थिएन। आवाज पनि नतिखारिन सक्थ्यो।'
हेर्ने गीतको भेल
टेलिभिजन खुलेपछि रेडियोमा गीत बजेर मात्र गायक/गायिकाको धीत नमर्ने भयो। रेडियोको आकर्षणको हिस्सा विस्तारै टेलिभिजनमा सर्न थाल्यो।
नेपाल टेलिभिजन समाचारमा केन्द्रित भए पनि सांगीतिक कार्यक्रम पनि उत्पादन गर्थ्यो। 'गायक/गायिका स्टुडियोमै आउँथे, गाउँथे। त्यसैलाई खिचेर बेलाबेला देखाउँथ्यौं,' नेपाल टेलिभिजनका पुराना स्टुडियो निर्माता सूर्यमान रञ्जित भन्छन्। 
देशको एउटा मात्र टेलिभिजनमा भिडियो बनाउनेको लर्को लाग्थ्यो। केही राम्रा गीतको आउटडोर सुटिङ गरेर भिडियो बनाउने काममा रोशनप्रताप राणा सक्रिय देखिए। 
'हेर्ने गीत' को मोहमा परे कलाकार। नारायणगोपालको एकल साँझदेखि अरुण थापा, तारा थापालगायत कलाकारलाई भिडियोमा उतारेका रञ्जित टेलिभिजन प्रविधि सहज बनेसँगै भिडियो निर्माणमा बाढी आएको बताउँछन्। 
'एकैजनाले, एउटै कोठामा बसेर सबै काम गर्न सक्ने भएपछि भिडियोको बाढी आयो,' रञ्जित भन्छन्। 
म्युजिक कम्पनी, गायक/गायिका, प्रसारण संस्था बढ्दै गए। 
'संगीतमा गुणस्तर भएन, मिडियाको मोनोपोली बढ्यो, पैसाको भरमा गाउने र गीत बजाउने जमाना आयो,' अधिकांश पुराना सर्जकलाई संगीत जगतमा घुसेका यस्ता कुरा सह्य भएन। 
केही अघि एउटा सांगीतिक कार्यक्रममा गीतकार किरण खरेलले महिनावारी पैसा बुझेर गीत हिट गराउने मिडियामाथि औंला उठाए। उनका कुरामा धेरैले सही थापे। 
टेलिभिजन र रेडियोमा गीत बज्न स्तर होइन, 'गिभ एन्ड टेक' चल्न थालेकोमा धेरैले चिन्ता व्यक्त गरे।
म्युजिक भिडियो देखाउन त टेलिभिजनमा सांगीतिक कार्यक्रम बनाउने र चलाउनेलाई हात नलिई सुख नहुने गुनासो हाकाहाकी सुनिन्छ।
गायक तथा संगीतकार शिशिर योगी थोरै म्युजिक भिडियो बनाउने कलाकारमा पर्छन्। उनलाई 'हेर्ने गीत' मा उति मोह छैन। मौलिक शब्द र मन छुने संगीतमा डुबेर गाउन सकियो भने गीत ओझेल नपर्ने विश्वास उनको छ। गम्भीर गीत टिभीमा हेर्दा होइन, आँखा चिम्लेर सुन्दा आनन्द आउने उनी बताउँछन्। 
तर, अहिले गीत देखाउन टेलिभिजनको मात्रै भर पर्नु नपर्ने अवस्था हटेको छ। 'फेसबुक, यु ट्युबजस्ता सन्जालको प्रयोग गरेर दर्शक–स्रोता माझ पुग्न कसैलाई चाकरी गर्न पर्दैन,' गायक राजेशपायल राई नयाँ मिडियाले धेरै राहत पुर्या एको अनुभव गर्छन्। 
रेडियो नेपाल मात्र छँदा यसको मोनोपोलीको खुबै आलोचना सुन्थे प्रेमध्वज प्रधान। कतिपय कुरा उनलाई जायज पनि लाग्थ्यो। 'अहिले यतिका एफएम रेडियो छन्, टिभी पनि त्यत्तिकै खुलेका छन्। तैपनि गीत बजाउन पैसा बुझाउनुपर्छ भन्ने पो सुन्छु। यो त झन् मोनोपोली भएन र?' उनी प्रश्न गर्छन्। 
आफूलाई नसोधी आफ्नो गीत यु ट्युमा राख्ने म्युजिक कम्पनीसँग पनि उनको गुनासो छ। रोयल्टी ठग्ने, सिआरबिटीको उचित रकम नदिने कम्पनीको व्यवहारले उनी दुःखी छन्। 'प्रविधि बुझेका चम्बुहरुले के के गरेर कमाए। कलाकारको त शोषण नै छ अहिले पनि,' उनी भन्छन्।

यो पनि पढ्नुस्...

शताब्दीका अविस्मरणीय यात्री

Narayan Gopal Sketch

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही बेलालाई आधार मान्दै नेपाली संगीतलाई धुनको बनावट र गायन शैलीका हिसाबले दुई खण्डमा छुट्ट्याउने गरेको छु मैले। विस्तृत पढ्नुस्: 

नेपाली संगीतको प्रतिध्वनि

cropped sayami

यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'
यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी छ। काठमाडौंमा नातिकाजी र अन्य झल्याकझुलुक देखापर्ने एक–दुई व्यक्तिबाहेक हाम्रो संगीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे।
मसँग चर्चा हुँदा काठमाडौंका संगीतप्रेमी भन्छन्, दार्जिलिङको गीतमा रवीन्द्र संगीतको प्रतिध्वनि आउँछ, खासगरी अम्बर (गुरुङ) का रचनामा।'
यो कुरा पुरानो भए पनि यसको ताजापन हो, अम्बरको संगीतले बनाएको पहिचान। त्यो पहिचान रवीन्द्र संगीतभन्दा फरक छ। विस्तृत पढ्नुस्:

दार्जिलिङको सरगम

Peter J Karthak

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास अढाइ सय वर्षभन्दा पुरानो छैन। बस्ती र चियाबगान बसाएर आवादी गर्न थालेको एक सय १४ वर्ष पुगिसक्यो। यसबीच पटकपटक सानाठूला आन्दोलन चलेका छन्। ती आन्दोलनमार्फत् भारतीय नेपालीले आफ्नो पहिचान खोजेका छन्। विस्तृत पढ्नुस् : 

थारु संगीतमा प्रेम र समर्पण

Tharu music

 

अरी कहासेन सिरिजल चकियाक पिहि्रया
अरी कहासेन सिरिजल चकियाक खुटिया
विवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय ऋतुअनुसारका लोकभाका र संगीतमा रम्ने गर्छन्। वसन्त ऋतुलाई 'रोमान्स'को ऋतु मानिन्छ। यो बेला रोमान्सका गीत गाउने चलन छ। गुरुङ र मगर समुदायमा रोधी गाएजस्तै थारु गाउँमा 'सजना' गाउने चलन रहेको थारु लेखक तथा संस्कृतकर्मी सुशील चौधरीले बताए। उनी भन्छन्, 'वसन्त ऋतुमा नयाँ पालुवा पलाएसँगै सजना गाएर थारु समुदायका युवायुवती मनका भावना पोख्छन्।'सजनाको अर्थ ‘प्रेमिका' हो। विस्तृत पढ्नुस् : 

स्टेजले उठाएका कलाकार

main pic by upendra

 

विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'
उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'
पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै पैसाको खनखन सुनिन थालेको छ। क्यासेट तथा सिडीको कमाइ घटेको समयमा देश–विदेशमा हुने विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमले कलाकारको पोल्टो भरेको छ। संगीतका कारण विदेश उनीहरूका लागि पानी पधेँरो बनेको छ। जीवनस्तर फेरिएसँगै उनीहरू विभिन्न देशका स्टेज फेरिरहेका छन्। विस्तृत पढ्नुस् : 

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

bimochan of time album of prabesh man shakya gyanu rana om bikram bista sambhujeet baskota deepak kharel and anil shahi sanjaya shrestha

 

थ्रिलरका गीतहरूले संसारमा राज गरिरहेका बेला काठमाडौंमा भीम तुलाधर उदाए। लामो कपाल, कालो गगमाथि कालै ड्रेस लगाएर स्टेजमा उक्लिँदा कसैले माइकल ज्याक्सनलाई सम्भि्कए त कसैले एलोसपेर्सीलाई। 'मायालुलाई...' जब उनी गिटार नचाउँदै स्टेजमा गीत घन्काउँथे, दर्शकको वाहवाहीले सहर थर्किन्थ्यो। ‘नेपाली संगीतमा रातारात क्रान्ति आएको थियो,’ क्रस रोड ब्यान्डका संजय श्रेष्ठ सम्झन्छन्।
देश प्रजातान्त्रिक युगतर्फ जाँदै थियो। २०४६ सालको संघारमा नेपाली संगीतको नयाँ विधा पपले अस्तित्व खोज्दै थियो। जसलाई पुराना स्रष्टाले कटाक्ष आरोप लगाउँथे– संस्कृति बिगार्ने, हल्लाका भीड, हुरीका चल्लाहरू! विस्तृत पढ्नुस् : 

हराउँदै छ भजन

bhajan pic

 

भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन गाउँदै गरेका उनको काखचाहिँ रित्तो थियो। त्यहाँ न उनको नाति थियो, न अरू केटाकेटी। विस्तृत पढ्नुस् :  

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

Ramsobhit Raut

भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ।
मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्। तर पनि मैथिली संगीतले अहिलेको विकसित सांगीतिक बजारमा व्यावसायिक पैठ (पक्कड) जमाउन सकेको छैन। विस्तृत पढ्नुस् :

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो देखाए र राजासामु जाहेर गरे। राजाको चित्त बुझिहाल्यो। रानी रत्नकै नामबाट उनले ट्रस्ट खोल्न लगाए, जसको मुख्य काम 'गीत–संगीतको प्रवर्द्धन गर्नु' थियो। विस्तृत पढ्नुस् : 

भक्ति गीतदेखि अन्डरग्राउन्डसम्म

कला–संस्कृतिको धनी उपत्यकाको सांगीतिक इतिहास कोट्याउने हो भने लिच्छवीकालसम्म पुग्नुपर्ने हुन्छ। लिखित ऐतिहासिक सामग्री पाइने लिच्छवीकालमा लेखिएका गीतहरूबारे प्रामाणिक आधार त छैनन् तर अभिलेखमा कुँदिएका भगवान स्तुति र नाचगानका दृश्यले भक्ति गीतको थालनी सोही बेलादेखि भएको अनुमान गर्न सकिन्छ । लिच्छवी राजाहरूले गुठी बनाएर जग्गा दान गर्ने परम्पराअनुसार कतैकतै वाद्यसम्बन्धी गुठी निर्माण गरेको आधारमा त्यसबेला वाद्यसामग्री प्रयोगमा थिए भन्ने अनुमान गर्न सकिने बताउँछन्, नेपाल भाषा केन्द्रीय विभागका प्रमुख तुलसीलाल सिंह। विस्तृत पढ्नुस् :

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

पाखा लाग्दैछन् बागमती भजाउनेहरू

पाखा लाग्दैछन् बागमती भजाउनेहरू

काठमाडौं– बागमतीका नाममा अहिले पनि १ सय ८० संघसंस्था छन्। उनीहरुले कहिल्यै बागमतीको वास्तविक समस्या समाधानमा वकालत गरेनन् तर यही नाममा पैसा मागेर समितिलाई दिक्कै बनाए। 'बागमतीलाई भजाएर खानेहरु आजकाल...

धन्न धानेका छन् विभागीयले

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...