Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

हराउँदै छ भजन

  • ३ फागुन, २०७०
  • उपेन्द्र लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
हराउँदै छ भजन
काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन गाउँदै गरेका उनको काखचाहिँ रित्तो थियो। त्यहाँ न उनको नाति थियो, न अरू केटाकेटी।
'छोराछोरी र नातिनातिना टिभी हेर्दै होलान्,' उनले भने, 'अब त भजन गाउने–सुन्ने बुढापाकाले मात्रै हो।' भजनप्रति युवाको रस घटेकाले लोप हुने अवस्थामा पुगेको उनले बताए। 'हामीसँगै भजन पनि हराउला जस्तो छ,' उनले भने, 'नयाँ पुस्ताले यसलाई चासो दिएको छैन।' 
नारायणभक्तले भनेजस्तै उपत्यकाको नेवार बस्तीमा गाइने भजन पछिल्लो समय हराउन थालेको छ। हरेक साँझ काठमाडौं, भक्तपुर र ललितपुरका टोलटोलमा निस्कने हारमोनियम, धिमे र अन्य बाजाको धुनसँगै परम्परादेखि गाइँदै आएका हलचा, दाफालगायत भजन लोप हुन थालेका छन्।
ललितपुरको भिन्डुलाक्षीमा भजन गाउँदै गरेका ७५ वर्षीय हरिबहादुर महर्जन भजन गाउँदा आनन्द मिल्ने सुनाउँछन्। भजनको संरक्षण अब युवाले गर्नुपर्ने उनले बताए। 'हामीसँग सबै ऋतुुमा गाइने भजन छन्,' उनले भने, 'यी हाम्रा सम्पदा हुन्, हामीले जोगायौं, अब नयाँ पिँढीले बचाउनुपर्छ।' 
'वसन्तैया वेलस राधाओ मेलवन, वृन्दावन वाजान यागंनाव,' कृष्ण र राधाले वृन्दावनमा नृत्य गर्दै गरेको वसन्त रागको भजन सुनाउँदै उनले भने, 'यस्ता भजन गाउँदा आनन्द लाग्छ।'
भक्तपुर नगरपालिकाका अनुसार केही वर्ष अघिसम्म नगरपालिका क्षेत्रमा करिब २ सय ५० वटा दाफा रहेकामा अहिले त्यो संख्या निकै घटेको छ। भजनमण्डलीकै लागि भनेर उतिबेला गुठीसमेत राख्ने गरिएकोमा अहिले त्यो पनि मासिँदै गएको जानकारहरू बताउँछन्। 
भक्तपुरमा नौबाजा, दाफा, ढल्का, राग र हरिभजन गरी पाँच प्रकारका भजन चल्तीमा रहेको संस्कृतिविद ओम धौभडेल बताउँछन्। 'पुराना भजन मासिँदै छन्, नियमितजसो गाइने कतिपय भजन चाडपर्व र जात्रामा सीमित हुन थालेका छन्,' उनले भने।

वषौं अघिसम्म नगरका टोल–टोलमा गाइने यस्ता भजन अहिले कतै–कतै मात्र सुनिन्छ। संस्कृतिविद सत्यमोहन जोशी भक्तिसंगीत पछिल्लो समय लोप हुँदै गएको बताउँछन्। 'कहिलेदेखि गाउन थालियो भन्ने यकिन छैन तर परम्परादेखि गाइँदै आएको छ,' उनले भने, 'हिजोआज पहिलेजस्तो भजन सुन्न पाइँदैन।' 
भित्री सहरको नेवारबस्ती बाहेक उपत्यकाको काँठ क्षेत्रका भजन र भजनमण्डली पनि हराइसकेका छन्। दुई दशक अघिसम्म उपत्यकाका टोल–टोलमा सुन्न पाइने भजन अहिले सप्ताह, नवाह तथा अन्य पूजापाठमा पनि मुस्किलले सुनिन्छ। 'साँझ भजन गाएर आरती सुन्नु र प्रसादी खानुको रमाइलो बेग्लै थियो,' डाँछीका श्रीराम पुडासैनी भन्छन्, 'अब भजन सुन्ने हैन, सिरियल हेर्ने चलन बढेको छ।'
भजनले मानसिक शान्ति मिल्ने उनको बुझाइ छ। 'भक्तिरसले मनमा शान्ति दिन्थ्यो, रातमा निन्द्रा पनि राम्रो पर्थ्यो,' उनले विगत सम्झे । 
मैथिली प्रभाव 
परम्परादेखि नै उपत्यकाका मन्दिर र पाटीमा संस्कृत, नेवारीसँगै मैथिली, भोजपुरी र अवधी भाषाका संगीत पनि गुञ्जिदै आएका छन्। 
संस्कृतिविद जोशी पनि त्यतिबेला भजन संगीतमा उदार नीति रहेको सुनाउँछन्। उनी भन्छन्, ‘संस्कृत कवि जयदेव र मैथिली कवि विद्यापतिका भजन उपत्यकामा बज्ने गरेका थिए।' 
नेवार संस्कृतिबारे जानकारी राख्ने ओम धौभडेल गाउने–बजाउनेले भाषाबारे जानकारी नराखे पनि भक्तपुरका पाटीहरूमा सदियौंदेखि मैथिली भजन गुञ्जिँदै आएको बताउँछन्। भक्तपुरका राजा जगज्योति मल्ल (ने.सं. ७२३–७५९) ले आफ्नो दरबारमा मिथिलाबाट विद्वान झिकाउने गरेको उल्लेख गर्दै त्यही बेलादेखि यी भजनले निरन्तरता पाएको उनले सुनाए। 
कवि तथा गीतकार दुर्गालाल श्रेष्ठले उपत्यकाको भजनमा देहाती प्रभाव परेको बताए। 'यहाँका भजन मैथिली, भोजपुरी र अवधी भाषाबाट प्रभावित थियो,' उनले भने।
गाउने र बजाउनेलाई कुन भाषा भन्ने पत्तो नभए पनि भजनसँग उनीहरुको गहिरो नाता छ। तौमढीस्थित भैरव मन्दिरअगाडिको पाटीमा भजन गाउँदै गरेका रघुनाथ कायस्थले भजनको अर्थ नबुझे पनि ऋतुअनुसारका भजन गाउँदै आएको सुनाए। 'सानैदेखि भजन गाउँदै आएका छौं,' ९० वर्षीय कायस्थले भने, 'हामीलाई भजन भन्ने थाहा छ, त्यत्ति हो।' 
'अहिले हामी वसन्त राग गाउँदै छौं,' उनले भने, 'दसंैमा मालश्री, असारमा असारे र चैत–वैशाखमा घाँटु रागको भजन गाउँछौं।' पहिले भजन गाउने र सुन्नेको संख्या धेरै हुने गरे पनि अहिले घटेको उनले बताए। 'उतिबेला खेतीपाती सकाएर टोलका महिला तथा पुरुष जम्मा भई भजन गाउँथ्यौं,' रधुनाथले भने, 'अहिले त गाउने पनि बुढापाका, सुन्ने पनि बुढापाका।' 
भजन संरक्षणका लागि गुठीसमेत रहेको उनले सुनाए। 'हामीले प्रत्येक महिना ६ माना तोरीको तेल आरतीका लागि पाउने गरेका छौं,' उनले भने, 'भैरवमन्दिर वरिपरि भजन गाउने अन्य दुई टोलीका लागि पनि गुठीको व्यवस्था छ।' 
पुराना पाण्डुलिपिमा रहेको भजनलाई ढोलकको तालमा गवैयाले लय तानेर गाउँदा हरेक साँझ उपत्यकाको माहोल संगीतमय बन्ने गरेको कवि श्रेष्ठ बताउँछन्। 'अहिले त भजन केही निश्चित ठाउँमा खुम्चिएको छ,' उनले भने, 'भक्ति संगीतले सबैलाई न्याय गरेको छ।'
सरल, तर प्रखर

सरल, तर प्रखर

यदुनाथ खनाल तीन क्षेत्रमा प्रखर देखिए– शिक्षा, साहित्य र कूटनीति। खनाललाई नजिकबाट बुझेकाहरू उनको विद्वताबाट जति प्रभावित छन्, सरल जीवशैलीले उत्तिकै चकित। पद र प्रतिष्ठामा घमण्ड नगर्ने व्यक्तिको छविलाई कहिल्यै...

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

प्रकाशोन्मुख उपन्यास 'द लोल्यान्ड' की लेखक झुम्पा लाहिरी बंगाली मूलकी अमेरिकी आख्यानकार हुन्। कथा संग्रह 'इन्टरप्रेटर अफ् मलाडिज' का लागि सन् २००० को पुलित्जर पुरस्कार जितेकी उनको 'नेमसेक' उपन्यास पनि...

ह्याङ आउट बर्दिया

ह्याङ आउट बर्दिया

पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी!

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

नयाँ ढंगले सोचौं

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला...

कर्नाली किनारको फूलबारी

कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्,...