Friday 23 Shrawn, 2077 | August 07, 2020
Menu

नागरिक शनिबार

दार्जिलिङको सरगम

  • ३ फागुन, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
दार्जिलिङको सरगम
आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास अढाइ सय वर्षभन्दा पुरानो छैन। 


बस्ती र चियाबगान बसाएर आवादी गर्न थालेको एक सय १४ वर्ष पुगिसक्यो। यसबीच पटकपटक सानाठूला आन्दोलन चलेका छन्। ती आन्दोलनमार्फत् भारतीय नेपालीले आफ्नो पहिचान खोजेका छन्।
जस्तो कि, सन् १९६२ मा लेखक इन्द्रबहादुर राईले भाषा आन्दोलन सुरु गरे। त्यस बेला पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र रोय थिए। दार्जिलिङ चोक बजारको डबलीमा संगीतकार अम्बर गुरुङ र साथीहरूले गाए : 
सुगौली सन्धि हामीले
भुलेका छैनौं, भनिदेऊ।
यो गीतले पश्चिम बंगालको सत्तावृत्तमा खैलाबैला मच्चियो। अगमसिंह गिरीले लेखेको, अम्बरले गाएको 'नौ लाख तारा उदाए' गीत भारतीय संस्थापनको भावनामाथि आक्रमण गरेको भन्ने अभियोगमा पहिल्यै प्रतिबन्धित भइसकेको थियो। उसमाथि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिबारे शब्द राख्दै नेपाली जातिको भारतीयले गाएको गीतको अर्थ उति राम्रो लगाएन भारतले।
नतिजा, अम्बर 'एन्टिनेसनल' भनिए। 'अराष्ट्रिय तŒव।' 
अम्बर पनि उस्तै। भारतको सरकारी जागिर खाएर नेपाली जागरणका गीत गाउने। पश्चिम बंगाल सरकारले उनका पछाडि त्यहाँको गुप्तचर विभाग 'डिस्ट्रिक्ट इन्टलिजेन्स बोर्ड' (डिआइबी) खटाइदियो, सुराकी गर्न। 
पेन्सनवाला जागिर गुमाएपछि अम्बर कालिम्पोङ ससुराली गए। एक दिन त्यहीँबाट आफ्ना चेला, दार्जिलिङे कलाकार पिटर जे कार्थकलाई अंग्रेजीमा चिठी लेखे, 'प्रिय पिटर, म परिवार धान्न केही कलेज र स्कुलमा कन्सर्ट गर्न चाहन्छु। कृपया मलाई सघाऊ, तिम्रो 'हिलियन्स'सहित।'
हिलियन्स्– पिटर र साथीहरूको रक ब्यान्ड। हिलियन्स्– अर्थात् पहाडीहरू।
पिटरको ब्यान्डसँग सबै वाद्यवादन थिए। तीक्ष्ण वादक पनि थिए। सिजनमा राम्रै पैसा पनि कमाइ हुन्थ्यो। पिटरको शब्दमा उनीहरू आफ्नो समयका 'रिचेस्ट टिनएजर्स' थिए। 
बाजागाजाहरू सबै जम्मा पारेर पिटरले ल्यान्डरोभर खोजे। अम्बरलाई सघाउन गए। चन्दा उठाएर छ वटा जति स्कुलमा कार्यक्रम गरे। त्यहाँबाट चाहिनेजति पैसा आर्जन पनि भयो। 
टिम अम्बर उत्साहित भयो। गुरु अम्बरको पछि लागेर पिटरहरूले आसामलगायत ठाउँहरूमा सांगीतिक कार्यक्रम चलाउने निधो गरेछन्। तर त्यही बीच काठमाडौंमा राजा महेन्द्रले चाल पाइहाले, अम्बर गुरुङले नेपाली सभ्यताको जागरण गीत गाएर भारतमा जागिर गुमाएको कुरो।
'नौलाख तारा' ले भारतीय नेपालीबीच अद्भूत तरंग सञ्चार गरिदिएको थियो। जब कि, त्यो अल इन्डिया रेडियो, रेडियो खरसाङमा बजाउन प्रतिबिन्धित थियो। तर रेडियो नेपालले भने बजाइरहन्थ्यो। 
महेन्द्रले अम्बरलाई नेपाल निम्ता गरे। अघिल्लो वर्ष 'नौ लाख तारा' को नेपाल यात्राका क्रममा अम्बर नेपाल एक पटक आइसकेकै थिए। 
छोराछोरी भेट्न दार्जिलिङ गइरहने राजा महेन्द्रले त्यो सानो सहर र अम्बर दुवैलाई चिनिसकेका थिए। अम्बर नेपाल घुम्नुका पछाडि त्यही चिनजानले काम गरेको थियो। 'म जुनियर भएकाले त्यस टोलीमा त परिनँ, तर मेरो गिटार नौलाख तारा टुरमा नेपाल आइपुगेको छ,' पिटर भन्छन्, 'सन् १९६२ तिर रेडियो नेपालबाट नौलाख तारा घन्किन थालेपछि भारत चिढियो। 
भारतीय नेपालीबीच भने नौलाख ताराको रेकर्ड नै इस्यु भएको थियो। भारतका सर्वसाधारण नेपालीहरुको ग्रामोफोनहरूमा बजेको बज्यै। 
कला, साहित्य, संगीतको गूढ बुझेका राजा महेन्द्रले नेपाल बोलाएका दुई भारतेली प्रतिभा थिए, आसामबाट कवि हरिभक्त कटुवाल, दार्जिलिङबाट संगीतकार गायक अम्बर गुरुङ।
एउटा भनाइ नै प्रचलित थियो– 'दार्जिलिङका प्रतिभालाई कि त कालले खान्छ, कि नेपालले लान्छ।'
कलाकारहरु भने नेपालले लैजानुलाई राजा महेन्द्रको दूरदर्शिता ठान्थे।
दार्जिलिङ नै बसे नौलाख तारा गीतका रचयिता अगमसिंह गिरी। त्यसो त उनलाई पनि सजिलो थिएन। तर उनी सामुदायिक स्कुलका हेडमास्टर भएकाले सरकारी जागिरे अम्बरलाई जस्तो समस्या भएन। अम्बरको टेक्ने समाउने केही बाँकी रहेन। उनी अराष्ट्रिय घोषित भइसकेका थिए। जतिसुकै प्रतिभाशाली भए पनि उनले भारतभित्र जागिर पाउने सम्भावना कमजोर हुँदै गएको थियो। त्यसमाथि आफ्नै समकालीन, राजनीतिक दल र नागरिक अगुवाले समेत उनको पक्षमा पैरवी नगरेको तीतो सम्झना सुनाउँछन्, पिटर। 
अनि अम्बर नेपाल आए, सन् १९६५ मा। 
अम्बरको पुस्तक 'कहाँ गए ती दिनहरू' मा अगमसिंह गिरीको भूमिका पनि संगृहीत छ– 'अम्बर नेपाल गएपछि' शीर्षकमा। 
'नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ फूल छैन र कहाँ हाँसेको
हामी सबैको प्यारो अम्बर नेपाल जान्छ दार्जिलिङदेखि टाढिएर। वेदना मिश्रित स्वरमा अम्बरले बेलाबेलामा गाएका दिनहरू अहिले सम्झन्छु। 
'नजाऊ फर्की नेपाल,' उठेर भन्छ देउराली : 
'फर्केर हेर मुगलानको, मायालु पाखा चियाबारी।'
(अगमसिंह गिरी)
... 
दार्जिलिङे संगीतको उत्कर्ष–कथा खेलाँचीमा रचिएको होइन। त्यसको पूर्वकथा एक सय १४ वर्ष पुरानो छ।
सन् १९००। अर्थात्, बिसौं शताब्दीको सुरुवातमा दार्जिलिङ, सिक्किम, आसामलगायत ठाउँमा नेपालीहरुले बस्ती बसाल्न थालिसकेका थिए। बस्ती क्षेत्रमा आवादी भइसकेको थियो। ब्रिटिश इन्डिया सरकारले शिक्षा, स्वास्थ्य, यातायात जस्ता विकास पनि गरिरहेका थियो।
नेपाली बस्ती विकास भएसँगै सन् १९०७ मा नेपाली भाषाले सरकारी मान्यता पाउनुपर्ने माग सरकारसमक्ष गयो। भारतीय नेपालीहरुको पहिचानका लागि छुट्टै स्वायत्त प्रदेश हुनुपर्ने माग त्यस बेलै उठ्यो। त्यस आन्दोलनका अगुवामा पारसमणि प्रधान, पादरी गंगाप्रसाद प्रधान थिए। सन् १९६२ मा इन्द्रबहादुर राईले भाषा आन्दोलन चलाएपछि नेपाली भाषा भारतीय संविधानको अनुसूचीमै समेटियो। 
३० को दशकमा नेपालबाट गायिका मेलवादेवी गुरुङ र गायक मित्रसेन मगर दार्जिलिङ र आसाम भ्रमणमा गए। त्यहाँ उनीहरुले नेपाली गीतहरु गाएका थिए। नेपाल र दार्जिलिङबीचको संगीत सेतु त्यस बेलै जोडिएको थियो। त्यो संगीत यात्रामा अर्धविराम लाग्यो। कारण थियो, दोस्रो विश्वयुद्ध।
विश्वयुद्धले बसाएका खाटा पुरिन थालेसँगै पचासको दशकमा गायक नवीन बर्देवा, उर्मिलादेवी श्रेष्ठ, हीरासिंहको उदय भयो। पिटरका अनुसार दार्जिलिङको नेपाली संगीतमा आधुनिकता राम्ररी छिप्पिन नपाउँदै एकैचोटि उत्तरआधुनिकता भित्रेको थियो।
पचासको मध्य दसकतिर उर्मिलादेवी श्रेष्ठको गीत चर्चित थियो : 'सुनाउँ के कथा तिमीलाई, जीवनमा बितेको मेरो'। अर्को थियो, 'सन्ध्या तिम्रो रिमझिमतामा दुःखैदुःखले भरेको।' यो गीतमा अर्केष्ट्रासमेत बनाएको पिटर सम्झन्छन्। सन् १९५६/५७तिर कोलकातामा रेकर्ड गरिएका यी दुवै गीत आफ्नो समयका हिट थिए। 
... 
५० को दशकमा अम्बर गुरुङ उदाइसकेकै थिए। उनले गाएको 'नौलाख तारा' को पनि पोहोर ५० वर्ष पुगिसक्यो। त्यसै बेला साहित्यमा रुपनारायण सिन्हा, अच्छा राई 'रसिक' , अगमसिंह गिरी, इन्द्रबहादुर राई, गणेशलाल सुब्बा छाइसकेका थिए। 
गोपाल योन्जन, अम्बरलगायत कलाकार नेपाल आउनअघिको दार्जिलिङमा प्रतिभाको कमी थिएन। पिटरको शब्दमा त्यो सानो पहाडी सहरमा एक से एक 'जिनियस राक्षस' बस्थे। प्रतिष्पर्धाले कहिलेकाहीँ उग्र रुप लिन्थ्यो। संगीत सम्मेलनका बेला दार्जिलिङ सनन्न हुन्थ्यो, मानौं, त्यहाँ कुनै गृहयुद्धको तयारी हुँदैछ। मानौं, त्यो आँधीपूर्वको शान्ति हो।
पिटर र साथीहरू हिलियन्स रक ब्यान्ड चलाउँदै गर्दा अम्बर गुरुङचाहिँ पिटरले पढेको टर्नबुल हाइस्कुलमा शिक्षक थिए। उनी निजी आर्ट एकाडेमी अफ् म्युजिकका संस्थापक थिए। त्यस एकाडेमीमा गोपाल योन्जन, उनका दाजु कर्म, गीतकार पासाङ वाङबल, रुद्रमणि गुरुङ, अरुणा लामा, शान्ति ठटाल साथै थिए। शरण प्रधान, रन्जित गजमेर, ललित तामाङ, शेखर दीक्षित, इन्द्र थपलिया पनि थिए। इन्द्र अम्बरका मीत थिए।
सन् १९६० मा अम्बर पश्चिम बंगाल सरकारको लोकमनोरन्जन शाखामा संगीत निर्देशक नियुक्त भए। चर्चित संगीतकार गोपाल योन्जन त्यसबेला अम्बरकै कार्यालयमा सहायक पदमा जागिर खान्थे। अम्बर सरकारी सेवामा जानु, अनि चेलाहरु गोपाल योन्जन र उनका दाजु कर्मचाहिँ हिमालय कला मन्दिरतिर लाग्नु। आर्ट एकाडेमी स्वतः विघटन हुनुका पछाडि यत्ति कारण पर्याप्त थियो।
तत्कालीन युवराज वीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्र, धीरेन्द्रलगायतहरू त्यसबेला दार्जिलिङकै नर्थप्वाइन्ट स्कुलमा पढ्थे। वीरेन्द्र त्यहाँको पढाइ सकाएपछि बेलायतको इटन कलेज जाने भए। वीरेन्द्रको बिदाइमा अम्बरको नेतृत्वमा रहेको लोकमनोरन्जन शाखाका शान्ति ठटाल, अरुणा लामा, रन्जित गजमेर, शरण प्रधान, जितेन्द्र बर्देवा, पिटर जे कार्थकलगायत स्टाफले बिदाइस्वरुप भव्य सांगीतिक कार्यक्रम पस्के। 
हिमालय कला मन्दिरमा कर्म योन्जन, दिलमाया खाती, गोपाल योन्जन आदि गए। काठमाडौंबाट गएका नारायण गोपाल पनि अतिथि कलाकारका रुपमा सहभागी हुन्थे। उता सन् १९६१ मा खुलेको संगम क्लबमा जितेन्द्र बर्देवा, अरुणा लामा, शरण प्रधान र रन्जित गजमेरसहित पिटरहरू पनि थिए। 
... 
सन् १९६२ तिरको कुरा। अरुणा लामा र दिलमाया खातीबीच ठूलो प्रतिष्पर्धा थियो। अरुणा लामा संगम क्लबबाट गाउँथिन्। दिलमाया भने हिमालय कला मन्दिरकी गायिका। दुईजनाको खतरनाक टकराव। पिटर सम्झन्छन्, 'उनीहरू जब मञ्चमा गाउन उक्लिन्थे, पूरै दार्जिलिङ हल्लिन्थ्यो।'
प्रायः सबै कार्यक्रममा निर्णायक बस्ने गरेका अम्बर गुरुङ र निर्णायक मण्डलीमाथि धर्मसंकट हुन्थेछ– कसलाई पुरस्कृत गर्ने!
'अम्बर सरले बडो कूटनीतिक ढंगले पालैपालो अरुणालाई प्रथम बनाएर दिलमाया दोस्रो, दिलमाया प्रथम बनाएर अरुणा दोस्रो बनाइदिनुहुन्थ्यो,' पिटर खित्खिताउँछन्, 'सबैको चित्त बुझाइदिनुपर्ने बेला थियो। निर्णायकमा संगीतका बडे बडे उस्तादहरू बस्थे। विवाद नआवस् भन्नेमा अम्बर सरहरू सचेत हुनुहुन्थ्यो।'
प्रतियोगिताको निर्णय यसरी सुनाउनुपर्ने कि, जनतालाई पनि चित्त बु‰नुपर्योा। कदाचित् दर्शकले दंगा मच्चाए भने केहीले नथाम्ने!
'अब दिलमाया खाती आउँदै छिन्,' चिसो दार्जिलिङलाई तताउन यत्ति सूचना पर्याप्त हुन्थ्यो।
'अब अरुणा लामा आउँदै छिन्,' माहोल अझै तातिन्थ्यो। 
मेचीपारिका भारतीयमा त्यति धेरै उन्माद भरिदिने एउटै चीज थियो– नेपाली संगीत। 
...
नारायणगोपाल र गोपाल योन्जनबीच 'मीतज्यू' को सम्बन्ध दार्जिलिङमै झांगियो। यसबारे पहिले पनि धेरै लेखिइसकेको छ। दार्जिलिङका कलाकार नेपाल पसेको प्रसंग भने रोचक छ।
नर्थ बंगाल युनिभर्सिटीले नेपाली विभाग चलाउने योजना बनाएको थियो। त्यसका लागि नेपाली भाषामा एमए गरेका प्राध्यापकहरु चाहियो। युनिभर्सिटीले गोपाल योन्जन, वानीरा गिरि, प्रेम शेर्पा विरोकी आदिलाई छात्रवृत्ति दिलायो। उनीहरू पढ्न कीर्तिपुर आए। पिटरका शब्दमा प्रेम शेर्पा विरोकी, छिरिङ डोल्माबाहेक सबै नेपाल 'पलायन' भए।
युनिभर्सिटीले पनि छात्रवृत्ति खाएर किन नफर्केको भनेर सोधीखोजी गरेनछ।
दार्जिलिङ पहाडकी रानी भनेर चिनिन्छ। त्यो प्रतिभाको खानी पनि थियो। अम्बर, गोपाल र उनको पुस्ता नेपाल पसेपछि पनि त्यहाँ संगीत यात्रा त जारी नै रह्यो। पहिलेजस्तो रौनक भने रहेन। पहिले धेरै प्रतिभा हुँदा पनि व्यवस्थापनको समस्या, अहिले घट्दा पनि रौनक नहुने समस्या।
शान्ति ठटाल सिक्किम गइन्। 'सिक्किम फर सिक्किमिज्' भन्ने आन्दोलन चलिरहेको थियो। उता बस्ने कलाकार पनि पछि नेपाल त आए, तर धेरै पछि।
गोपालका दाजु कर्म योन्जन, कुमार सुब्बा, डेजी बराइली, दावा ग्याल्मो जस्ता कलाकार दार्जिलिङ नै बसे। कहिलेकाहिँ नेपाल आउजाउ गरे पनि जितेन्द्र बर्देवा, अरुणा लामा, शरण प्रधान, मणिकमल क्षेत्री, अशोक राई पनि उतै बसे। उतैबाट संगीत जारी राखे।
... 
अनि नेपालमा। 
नेपालप्रति दार्जिलिङे कलाकार मोहित हुनुका पछाडि नेपाल सरकारले कलाकारका लागि गरिदिएको व्यवस्था प्रमुख थियो। राजा महेन्द्रले नातिकाजी, शिवशंकरलगायत कलाकारलाई कलकत्ता पठाउने, थ्रीस्टार होटलमा राख्ने, दमदमस्थित टुँडिखेलभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा गीत रेकर्डको व्यवस्था मिलाइदिएका थिए। राज्यकोष खन्याएर भए पनि कलाकारको लागि सक्दो गरेका थिए। जब कि दार्जिलिङे कलाकारले त्यस्तो सुविधा उहाँ केही पनि पाउँदैनथे। बरु उल्टै झन्झट, स्पष्टीकरण र कारबाही झेल्नुपर्थ्यो। पिटरका शब्दमा त्यो भारतीय लोकतन्त्रको अँध्यारो पक्ष थियो।

दार्जिलिङमा देउसी, भैलो, चन्दा, दान आदिको भरमा संगीत साधना गर्दै रहेका कलाकारहरू नेपालका राजाले सिंगै राष्ट्रको खजानाबाट कला संगीतका लागि ढुकुटी खन्याएको देख्दा अचम्भित हुनु स्वाभाविक भयो।
यतिका हन्डरबीच पनि दार्जिलिङमा यस्तो ठूलो संगीत–जागरण कसरी सम्भव भयो त!
'हामी भारतीय नेपालीहरू बंगाली, बिहारी र मारवाडीसँग एकसाथ जुधिरहेका थियौं,' पिटर थप्छन्, 'बिहारी र मारवाडीझैं बिजनेस गर्न सक्नुपर्ने भयो, बंगालीझैं पढ्न, विद्वान हुन सक्नुपर्ने भयो, नत्र प्रतिष्पर्धामा टिक्न सम्भव थिएन।' यही दबाबले दार्जिलिङवासी नेपालीहरूमा सभ्यता, भाषा, कला र संगीतको जागरण आउन सम्भव भएको उनी बताउँछन्। 
समयक्रममा पिटर पनि वीरगन्ज हुँदै काठमाडौं पसे। एउटा प्रोजेक्टको सन्दर्भले उनलाई नेपाल ल्याइ पुर्याभयो। कुन्नि के भयो, कसो भयो! एक बेलाका यी धुरन्धर संगीत–सारथीले धुनको यात्रालाई चटक्कै माया मारिदिए। फर्केर दार्जिलिङ पनि गएनन्। लेखन उनको जीवनशैली भयो।
नेपालको यति ठूलो राजधानी सहरमा पिटरले दार्जिलिङको जस्तो 'भाइब्रेसन' पाएनन् रे। उताको जस्तो प्रतिष्पर्धाको भावना यहँ नपाएको उनी बताउँछन्।
'वनको चरी वनमै रमाउँछ' भनेझैं पिटरको जीवनका सरगमहरू दार्जिलिङकै वरिपरि घुमिरहन्छन्। उनले लेखेको उपन्यास 'प्रत्येक ठाउँ प्रत्येक मान्छे' मा पनि त्यो लवज, स्वाद र प्रकृति जहीँतहीँ घुसेको छ। यतापटि बसेर गाउने पछिल्लो छिमलका गायकगायिकामा साठीको पुस्ताका दार्जिलिङेबराबरीको गाम्भीर्य उनी पाउँदैनन्। 'जस्तो कि अम्बर गुरुङ, अरुणा लामाको आवाजमा जुन वेदना पाइन्छ, त्यो जीवनभरिका सुखदुःखको परिणाम हो जस्तो लाग्छ,' उनी समीक्षा गर्छन्, 'अहिलेका कलाकारमा त्यो चेत पाउँदिनँ।'
बंगालीहरूसँग रवीन्द्र संगीत थियो। 'रोबिन्द्रो सोङ्गीत।' नेपालीहरूसँग थियो– आफ्नै ‰याउरे संगीत। 'ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न' जस्ता गीतको धुन विदेशीहरूबाट समेत अति प्रशंसित भएको पिटरको जानकारीमा छ। आधुनिक नेपाली संगीतलाई सन् ६० को दशकमा नै अम्बरले उत्तरआधुनिक पारिसकेको पिटरको तर्क छ।
दार्जिलिङले नेपाललाई दिएको अतुलनीय संगीत, शब्द र आवाजबारे पिटरसँग यतिका धेरै सम्झना छन्। उनले लेख्दै गए मोटो पुस्तक तयार हुन सक्छ। तर उनीसँग त्यसबेलाका तस्बिरहरू भने छैनन्। उनी परे यायावर। पछि घर फर्किदा अलिअलि भएका सामग्री पनि थिएनन्।
'कुनै फोटो त होलान्!'
'छैन छैन।' 
पिटर चस्माको फ्रेम पुस्छन्। अनि परेली झिम्क्याउँछन्। शब्दहरूको बीचमा हाँसो फुत्किन्छ। जस्तो कि, सर्टवेभ प्रसारण हुँदा हुँदै स्वाँ˜˜˜ गर्छ।
अनि सर्ट हुन्छ।
घट्दो देउसी रौनक

घट्दो देउसी रौनक

'ए है, भन भन भाइ हो' – देउसी रे'रामरी भन' – देउसी रे'स्वर मिलाइकन' – देउसी रे...

प्रक्रियामा विश्वास

डा. भगवान कोइरालामतदाता, काठमाडौं क्षेत्र नम्बर– ५आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा...

एकालाप

एकालाप

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त...

तपाईंको देशमा

तपाईंको देशमा

कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...

अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...