Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

नेपाली संगीतको प्रतिध्वनि

  • ३ फागुन, २०७०
  • प्रकाश सायमी
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली संगीतको प्रतिध्वनि
यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'
यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी छ। काठमाडौंमा नातिकाजी र अन्य झल्याकझुलुक देखापर्ने एक–दुई व्यक्तिबाहेक हाम्रो संगीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे।
मसँग चर्चा हुँदा काठमाडौंका संगीतप्रेमी भन्छन्, दार्जिलिङको गीतमा रवीन्द्र संगीतको प्रतिध्वनि आउँछ, खासगरी अम्बर (गुरुङ) का रचनामा।'
यो कुरा पुरानो भए पनि यसको ताजापन हो, अम्बरको संगीतले बनाएको पहिचान। त्यो पहिचान रवीन्द्र संगीतभन्दा फरक छ।
...
गीत सुन्नेबित्तिकै स्रोता वा भावकले पहिलो पक्डिने शब्द, संगीत वा स्वर के हो, ठ्याक्कै भन्न सकिँदैन। गीत सुन्दै गएपछि क्रमबद्ध रूपमा भावकमनले तीनमध्ये एउटा मन पराउन सक्छ वा तीनमध्ये दुई। तीनमध्ये तीन मनपराउन अचाक्ली गाह्रो हुन्छ, गीत पनि, शब्द पनि वा स्वर पनि। 
यस्तो विरलै हुन्छ। गीतसंगीत गर्ने, गीतसंगीत रच्ने वा त्यसमाथि विचारविमर्श गर्ने स्रष्टा सर्जकका निम्ति एउटा हिन्दी गीत त्यस्तै एउटा इतिहास बनेको छ। त्यो गीत हो, 
'जाने वो कैसे, लोग थे जिन के प्यार को प्यार मिला। 
हम ने तो जब कलियाँ माँगी, काँटो का हार मिला ...'
यो गीत सुन्नेबित्तिकै शंकर, भूपि र अम्बर फलामे निर्णयमा पुगे, 'अ राइट संग कम्पोज्ड बाई राइट पर्सन एन्ड स्यांग्ड बाई राइट पर्सन एट अ राइट टाइम (राम्रो समयमा राम्रो संगीतकारले धुनबद्ध गरेर राम्रो गायकले गाएको एउटा राम्रो गीत।) 
यसो भने तीनैजना स्रष्टाले। 
ती तीनै स्रष्टा आ–आफ्ना क्षेत्रका धुरन्धर थिए। गीतसंगीतका पनि धुरन्धर। रेडियो नेपालका प्रथम गीतकार शंकर लामिछाने, प्रवासबाट पहिलोपटक एउटै गीतको ख्याति लिएर आएका संगीतकार अम्बर गुरुङ, अनि अम्बर र शंकरलाई जोड्ने भूपि शेरचन। कविता र गीतमा उनको परिचय नै चाहिँदैन। 
हिन्दी सिनेमा प्यासाको यो गीतमा एसडी बर्मनले संगीत भरेका थिए। यही गीतबाट सन् १९६९ मा भारतकै सर्वश्रेष्ठ पुरस्कार पद्मश्री पाएका एसडी बर्मनले यसको संगीतमा नेपाली संगीतकार श्रीराम सिंह ठकुरीको संगीत संयोजन र भावभूमिबाट प्रभावित भएको स्वीकारेका छन्। 
संगीतकार एसडी बर्मनको यो स्वीरोक्तिले एउटा नेपालीभाषीको सांगीतिक शक्ति वा संरचनाको प्रशंसामात्र गर्दैन, उनी नेपाली शैलीको संगीतबाट प्रभावित भएकोसमेत प्रस्ट पार्छ, जुन उनी आफैंले पनि बारम्बार सकारेका छन्। उनी आफैंले पछि संगीत गरेका सफल गीतमा नेपाली बाजा (खिँ) प्रयोग गरेर करामत नै देखाएका छन्। सन् १९६३ को 'तेरे घर के सामने' फिल्मको 'दिल की मञ्जिल कुछ ऐसी है' मा पूर्वीय तथा पश्चिमी धुन मिश्रण गर्ने क्रममा उनले क्लारनेट, बाँसुरी, गितार र भ्वायलेनसँग नेपाली ड्रम भनेर खिँ प्रयोग गरेका छन्। त्यसैगरी सन् १९६७ मा 'ज्वैल थिफ' फिल्मको गीत 'होंठो पे ऐसी बात' मा पनि नेपाली ड्रम प्रयोग गरेका छन्। संगीतकार एवं समीक्षक खगेशदेव बर्मनले लता र भूपिन्दरले गाएको यो गीतको कोरसमा नेपाली ड्रमको संगतले गीतमा कम्पन र भयका साथै सिनेमाको कथावस्तुमा रहस्य र तनाव ल्याएको उल्लेख गरेका छन्।
एसडी बर्मनले यो बाजासित कसरी परिचय पाए? उनी त्रिपुराको पुरानो राजघरानाका पूर्वयुवराज भएकाले यससँग परिचित भएका हुन् कि? एसडी बर्मनले कोमिला राज्यबाट कलकत्ता प्रवेश गरेपछि परमगुरु मानेर जोसित संगीत सिके, ती नेपाली मूलका तबलावादक एवं ठुमरीका ज्ञाता श्यामलाल क्षेत्री थिए। स्वस्थानी कथामा संगीत सुनाउँदै नेपाली जनस्थानमा लोकप्रियता हासिल गरेका क्षेत्रीले नै एसडीलाई असली संगीत सिकाए। 
श्यामलालमार्फत नै एसडी बर्मनले कवि गीतकार अतुलप्रसाद रे अनि संगीतकार गायक गिरिजाशंकर चक्रवर्तीसित परिचित हुन पाएको इतिहास छ। 
यो एउटा संयोग नै मानिन्छ, हिन्दी र बंगाली सिनेमाका स्तम्भ मानिने एसडी अर्थात् सचिनदेव वर्मनलाई अधिकांश भारतीय 'जापानी' भन्थे र उनका छोरा राहुलदेव बर्मन अर्थात आरडी बर्मनलाई 'गुर्खा' भन्थे। 
भारतवासीले गुर्खा भनेर ठट्टामा जिस्काएका आरडी बर्मनले पहिलो सिनेमा 'भूतबंगला'को असफलतापछि पाएको मेजर ब्रेक 'तिसरी मञ्जिल' थियो। यसका लागि उनले कैयौं धुन सुनाए तर यस चलचित्रका नायक देव आनन्दले मन पराएनन्। जब उनले नेपालमा चर्चित भइसकेको अम्बर गुरुङद्धारा संगीतबद्ध 'ए कान्छा मलाई सुनको तारा खसाई देऊ न, 
त्यो तारा मात्र होइन जून पनि झारी दिउँला' को धुन गुनगुनाए, नायक देव आनन्द प्रभावित भए। उनी तत्काल त्यस चलचित्रका निम्ति अनुबन्धित भए। यही धुनलाई मूलधारमा राखेर उनले 'दीवाना मुझ सा नहीँ इस अम्बर के नीचे' शब्द थपेर रेकर्ड गरेपछि उनी हिन्दी चलचित्र संगीतको एक नम्बर भएर अम्बरभरि छाए। 
त्यसपछि आरडी बर्मन साँच्चै नेपाली गीत, लोकगीत र लोकबाजाप्रति लोभिन थाले। आफ्नो जीवनी 'आरडी बर्मन : द म्यान एन्ड म्युजिक' मा उनले यो स्वीकार गरेका छन्।

हिन्दी सिनेसंगीतमा ७० र ८० दशकमा अत्याधुनिक संगीत भिœयाउने आरडी बर्मनले आफ्ना पिताले जस्तै अर्को एक नेपाली बाजा भिœयाए, मादल। उनले आफ्ना प्रायः गीतमा मादलको धुन मिसाएका छन्। कतिपय गीत मादलकै बिटमा धुनबद्ध गरेका छन्। 'अजनबी' फिल्मको 'हम दोनो दो प्रेमी दुनियाँ छोड चले' र 'लेकर हम दिवाना दिल' जस्ता गीतमा उनले मादलको सदुपयोग गरेका छन्। मादललाई उनले प्रविष्टी दिएको गीत देव आनन्द निर्देशित 'हरे रामा हरे कृष्णा' मा नेपाली प्रचलित शब्द कान्छा र कान्छी प्रयोग गरेर निर्देशकलाई लोभ्याए, 'कान्छी रे कान्छी रे प्रीत मेरे साँची' गीतबाट 
भनिन्छ, अम्बर गुरुङका एक शिष्यका कारण उनले अम्बरका धेरै धुन फिल्ममा प्रयोग गरेका छन्। कान्छा र कान्छी शब्द र त्यो सित मिल्ने पहाडी धुन त उनले पछिल्लो चलचित्र 'जमाने को दिखाना है' मा पनि प्रयोग गरेका छन्। उनी यस्तै संगीतका कारण बलिउडमा ९० को दशकसम्म टिकिरहे। 
आरडी बर्मनको ख्यातिपछि उनकै जस्तो शैली अपनाएका प्रायः नयाँ संगीतकार नेपाली संगीतलाई आफ्नो पुँजी मान्थे, त्यसमध्ये एआर रहमान, विशाल शेखर र उत्तम सिंह प्रमुख छन्। 
बलिउडमा संगीत संयोजकका रूपमा काम गर्ने उत्तम सिंहले नेपाली सिनेमामा मनोहरि सिंह, धीरज भाइले जत्ति नै काम गरेका छन्। उनी संगीत संयोजक भएका कारण नेपाली संगीत र धुनको प्रकृतिसित परिचित थिए। यस्तै अवसरमा उनले मुरलीधरद्वारा संगीतबद्ध 'देउकी' सिनेमाको सम्पूर्ण गीतको म्युजिक एरेन्ज गर्ने मौका पाए। 'देउकी'मा प्रयोग भएको पश्चिम नेपालको लोली मिसिएको गीत 'जाऊँ न है लै लै त्यो डाँडापारि माया बोकेर' गीतले उनको हियारसम्म छोएको हुनुपर्छ। देउकी रिलिज भएको दुई वर्षपछि उनले यही मुरलीधरको यही लयलाई आफ्नो बनाएर यश चोपडाद्वारा निर्देशित 'दिल तो पागल है' मा 'भोली सी सूरत आँखो में मस्ती दूर खडी शरमाए' बनाएर रेकर्ड गरे।
यसअघि यश चोपडाले आफ्नो सुपरहिट फिल्म 'चाँदनी' मा नेपाली लोकगीतमा आधारित 'आगे आगे चले हम पीछे पीछे बोल मितवा' बनाएर रेकर्ड गरिसकेको इतिहास पनि छ। पहाडी रागमा आधारित भनिए पनि यो गीत धेरै हदसम्म पश्चिमाञ्चलको नेपाली लोकगीत 'आऊ बाँध रुमाल चट्ट पारी' सित प्रभावित भएको पाइन्छ। यसका संगीतकार शिवहरिले आफ्ना निजी एल्बममा विभिन्न शैलीका नेपाली धुन प्रयोग गरेको पाइन्छ।
सिमाना जोडिएको एक निकटवर्ती राष्ट्र भएकाले पनि नेपालका धेरै प्रतिभाशाली गायक–गायिका भारतमा पढ्न जाने र कतिपय कलाकार उतै बसेर संगीतको ज्ञान आर्जन गर्ने गरेको पाइन्छ। नेपाली जातिकी प्रथम रेकर्डेड गायिका मेलवादेवी मानन्धर भारतीय शास्त्रीय संगीतमा ठुमरीकी रानी उपनामबाट परिचित छिन्। उनको भारतमा नाम नै सुमलन्दा देवी रहेको इतिहासमा उल्लेख छ। 
त्यस्तै 'माया गयो झन् पर पर' गाउने गायक बिके शाही, प्रसिद्ध भ्वायलेनवादक भोला श्रेष्ठकी छोरी सुषमा श्रेष्ठ (जो हाल पूर्णिमा नामबाट प्रसिद्ध छिन्), डैनी डैन्जोङपा, उदितनरायण झा, मुरलीधर, मदन परियार, उग्येन लामा, सिचेन लामा, लुई ब्याँक्स, मनोहरि सिंह, कृष्ण सिंह, ज्ञानचन्द्र श्रेष्ठ लगायत बलिउड संगीतमा नेपालीपनको पहिचान दिन आबद्ध छन्। 
आजका चर्चित संगीतकार मानिने विशाल शेखर जोडीले आफ्नो पहिलो हिट गीत हिमालयन ब्यान्डको 'मुुसुमुुसु हाँसिदेऊ न लै लै' बाट सुरु गरे र सफलता पनि पाए। यस गीतको ख्यातिपछि नेपालमा रहेका हिमालयन ब्यान्डका संगीतकार एवं गायक फिरोज लेप्चाले मुम्बई हाइकोर्टमा मुद्दा हाल्दा समयावधि कटिसकेकाले सुनवाइ हुन सकेन। तर संगीतकार विशाल दलानी र राज शेखरले कृतज्ञतासम्म पनि दिएनन्। 

यसरी गीत वा धुन सापट लिँदा त्यसप्रति कृतज्ञ हुनु व्यावसायिक धर्म हो, तर त्यो बलिउड संस्कारमा प्रायः देखिँदैन। नेपाली लोकधुन र चिनियाँ लोकधुनबाट म अतिप्रभावित छु भनेर फिल्मफेअरमा अन्तर्वार्ता दिएका प्रसिद्ध संगीतकार एआर रहमानले 'एक हिन्दुस्तानी'मा 'माछा जालैमा भन्ने' बोलसमेत प्रयोग गरेका छन्। संगीतको निम्ति ओस्कार जितेको उनको सिनेमा 'स्लमडग मिलिनायर' मा नेपालीभाषी कवि गीतकार गोपालसिंह नेपालीको धुन र शब्द नै प्रयोग गरेर उनी विवादमै आए। गोपालसिंह नेपालीका पुत्रले ओस्कार पुरस्कारमा उनको पिताको पनि हिस्सा हुनपर्ने दाबी गरेपछि रहमानले प्रियता सम्म देखाए। 
विश्वप्रसिद्ध फिल्म निर्देशक सत्यजीत रेले आफ्नो सिनेमा कञ्चनजंघामा गोपाल योञ्जनको बाँसुरी वादन प्रयोग गरेर पनि कास्टिङमा उनको नाम नदिएकोमा गीतकार नगेन्द्र थापाको गुनासो छ। 
भारतीय सिनेमाको इतिहासमा सर्वाधिक लोकप्रिय गायिका लता मंगेशकरको पहिलो सफल गीत 'आयेगा आयेगा आनेवाला' का संगीतकार खेमचन्द प्रकाश हुन्। सन् १९४९ मा यसै गीतबाट आफ्नो परिचय बनाएकी लतालाई पायदान दिने संगीतकार खेमचन्दको सांगीतिक जीवन नेपालको दरबारबाट सुरु भएको उनले स्वीकारेका छन्।
सन् १९०८ मा राजस्थानको सुजनगढमा जन्मेका खेमचन्द विकानेर दरबारमा संगीत सिक्थे। 
हिन्दी सिनेसंगीतमा नौशाद, अनिल विश्वास, मदनमोहन, सी रामचन्द्र, एसडी बर्मन, हेमन्तकुमारका एक्ला अग्रज मानिने खेमचन्द राणाकालमा नेपाली लोक संगीत सिक्न नेपालको दरबारमा पसेको बुझिन्छ र उनले आफूले संगीतबद्ध गरेका प्रायः सिनेमाका पार्श्वमा नेपाली धुनको छाप छोडका छन्।
शंकर, भूपि र अम्बरले 'जाने वो कैसे लोग थे लाई सही समयको सही गीत भनेजस्तै ती मान्छे पनि कस्ता थिए होलान्, जसले नेपाली संगीतको अनुहारलाई ठ्याक्कै चिन्न सके।

'युग' धानेका दम्पती

गौरीघाटस्थित घरमा ९४ वर्षीय गोविन्दकुमार रिमाल भुइँखाटमा बसिरहेका छन्। दोलाइँमा गुटमुटिएर बसेका। दसैंको फूलपातीका दिन बाथरुममा लडेर उनको दाहिने हात भाँचिएको छ। बाथरुममा उनी कसरी लडे? उनैलाई पत्तो छैन। घटनाबारे...

मौन चालले दर्शक नचाउँदै

मौन चालले दर्शक नचाउँदै

काठमाडौं हाँडीगाउँकी अनिता प्रजापतीलाई आठ वर्षको उमेरमा टाइफाइड भयो। त्यसपछि उनका दुवै कान बन्द भए। आवाज सुन्न नसकेपछि उनले बोल्न जानिनन्/सकिनन्। तर उनको नृत्य हेर्ने हो भने उनी सुन्न/बोल्न नसक्ने...

शताब्दीका अविस्मरणीय यात्री

शताब्दीका अविस्मरणीय यात्री

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही...

बालसखाको अन्तिम बिदाइ

शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर...

चुनाव २०७० (कथा)

'चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!''अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!' 'गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै...

घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

वीरसिंहको पोखरेली पौरख

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट...

प्राध्यापनबाट परराष्ट्र

प्राध्यापनबाट परराष्ट्र

सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ...