15 Chaitra, 2076 | March 28, 2020
Menu

नागरिक शनिबार

टेगोर हुँदै वाइल्डसम्म

  • १० फागुन, २०७०
  • महेश पौड्याल
  • DISQUS_COMMENTS
(1 Vote)
मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।
सहरले जीवनका सबै पाटालाई निथ्रुक्कै भिजायो, तर मैले देख्ने अधिकांश सपनालाई सहरले कहिल्यै छुन सकेन। हुन त सहरका चिसा रातमा देखिएका अधिकांश खण्ड–खण्ड सपना बिहानको शीतसँग उडेर बाफ बन्छन्। जे जति सपना स्मृतिमा लेखिन्छन् र बाँच्छन्, ती सधैं गाउँका सम्झना लिएर फुलेका हुन्छन्। ती शैशवकाल र तन्नेरी नहुँदैका सम्झना बढी आवृत्त हुन्छन्, सपनामा। ठूलो भएपछिका, क्याम्पस धाउन थालेपछिका, अलिअलि राजनीति गर्न थालेपछिका अनि कथा र समीक्षा लेख्न थालिसकेपछिका स्मरण, जो विपनाका हरेक पाइलाका अनुहारहरू हुन्; किन सपनामा आउँदैनन्? सपनाका विम्बहरू सायद त्यो समयमा मस्तिष्कले टिपेका विम्ब हुन्, जुन बेला मस्तिष्क साँचो अर्थमा निर्दोष थियो। खैर, शैशवकाल जीवनको लय निर्धारण गने एक महत्र्वपूर्ण समय रहेछ।
 मैले देख्ने भीरपाखाका शैशवकालीन केही सपना छन्। सपनासित गाँसिएका कतिपय मृदु र भावुक संस्मरण पनि छन्, जसले मेरो सम्पूर्ण स्वभावलाई साहित्यको अध्ययनका लागि तयार गरिदिए। तीमध्ये एक हो मेले दैनन्दिन साक्षात्कार गर्ने गरेका रवीन्द्र्रनाथ टेगोर र ओस्कार वाइल्डजस्ता लेखकका ती किताब, जसबाट मभित्र भाषा र साहित्यको अंकुरण भयो। यी किताबभित्रको अमूर्त भावनात्मक रङले मेरो आन्तरिक संसारलाई यसरी रंगाइदियो, म कुनै पनि कठोर व्यवसायका लागि पूर्णतः अयोग्य हुन पुगेँ।
विज्ञान संकायबाट कक्षा बाह्र सकेपछि म भारतीय सेनाको पाइलट गएँ। सबै तह पास भएँ, अन्ततः शारीरिकमा फालिएँ। फेरि डाक्टर बन्न पनि कस्सिएँ। प्रवेश परीक्षामा तीनपल्ट अनुत्तीर्ण भएँ। यद्यपि, थाहा थियो– रोग, घाउ, रगत, शल्यक्रिया आदिसँग साक्षात्कार गर्न सक्ने मुटु मसँग थिएन। सबैले पुनः सहानुभूति नै दिएँ, तर आमाले कुनै आश्चर्य मान्नुभएन। भन्नुभो, 'यसको मुटु सारै कमजोर छ। डाक्टरी लाइनमा रमाउँदैन।' मैले शब्दले जति बचाउ गरे पनि हृदयले मभित्रभित्रै आफ्नै कमजोरीको उत्सव मनाइरहेको थियो। भन्न विवश भएँ, 'आमा, तपाईंले जति कसले चिन्यो होला, मलाई?'
मलाई शैशवकालका दुई कुराले सधैं आत्मविभोर गराइरहन्छ। कलेज र विश्वविद्यालयमा पुगेपछि कति पुस्तक पढेँ वा पढाएँ, यकिन भन्न सक्दिनँ। पढेका वा पढाएका पुस्तकका कति हरफ र अंश मुखाग्र सुनाउन सक्छु भन्ने कुरामा सदैव लज्जाबोध भइरहन्छ। तर, बाल्यकालमा पढेका– सुनेका ती कथा–कविता आज पनि मेेरो एक्लोपनका अभिन्न साथी हुन्। मैले शिक्षणका क्रममा कक्षाकोठामा मुखाग्र सुनाउने हरफ बचपनकै सम्झना हुन्। पछि पढेका वा घोकेका कुराले त्यसै मस्तिष्कमा घर जमाउन सकेको मैले पाएको छुइनँ।
दोस्रो, मैले विश्वविद्यालयको अध्ययन–अध्यापन क्रममा पढेका कथा, पात्र वा चरित्रले सधंै एक औपचारिक र राणनीतिक सम्बन्धमात्रै कायम राखेको कुरा सत्य हो। सीमान्त दुखान्त साहित्यका अतिशय दुःखी पात्रको वेदनाले म कहिल्यै विक्षिप्त भइनँ। स्वैरकाल्पनिक साहित्यका गगनभेदी छटाकाहरूको उडानमा म कहिल्यै रमाउन सकिनँ। मजस्तै जिम्मेवारीले किचेका पात्रका आह र सुस्केकाहरूको एक काल्पनिक संयोजनभन्दा माथि केही भएन मेरा लागि इडिपसको दुखान्त कथा। मैले बाल्यकालमा पढेका कथा भने आज पनि उत्तिकै वेगवान भएर तरंगित हुन्छन्, मेरो मनको आयतनभरि। तिनले मलाई हुत्याइरहन्छन्, निर्दोष दिनका मृदु सम्झनातिर, जहाँबाट लोभ, कपट, हिंसा र आडम्बरका कुनै पनि थुम्का देखिँदैनथे। हो, रवीन्द्र्रनाथ टेगोर र ओस्कार वाइल्डले बनाएका हुन्, मैले गाई चराउने फाँट, जसको दुई किल्लाका बीचमा कहिलेकाहीँ देवकोटा र माधव घिमिरेलाई पनि भेटेको हुँ।
'मुनामदन'को कारुणिकतामा जति हेलियो मेरो कलिलो मन, त्यस भावको गहिराइलाई मेरो वयस्क र व्यस्त मन अब फेरि कहिल्यै भेट्न सक्दैन। विवाह हुनु, विछोड हुनु, र बिछोडमा तड्पिनु वयस्कहरूका कुरा हुन् सायद। मैले जीवनका यी पीडालाई पूर्णतः बु‰न सक्ने उमेरमा गौरीलाई फेरि पढेँ। तर मेरा कलिला आँखाले पढेका 'गौरी'का हरफभित्रको आँसुको जलधि वयस्क आँखामा कहिल्यै त्यही वेगसँग उर्लन सकेन। मलाई यो पुनर्पठित गौरी या मुनामदन भावुकताको राजनीति अर्थात् 'पोलिटिक्स अफ इमोसन'भन्दा माथि केही पनि लागेन।
म मणिपुरका डाँडाकाँडामा गाई चराएर हुर्किएँ। सानामा दिदी र दाइहरूभन्दा शारीरिक रूपले कमजोर भएकाले खेतबारीमा काम गर्नु परेन। बिदाका दिन गाई हेर्न जानु मेरा लागि प्रमुख काम हुन्थ्यो। पारि सिरुबारीमा गाई–गोरुसँग म हुन्थेँ, मसँग टेगोर र वाइल्ड। उनीहरूका कथा मेरा लागि साहित्यका सबैभन्दा ठूला पाठशाला हुन पुगे। मैले यी दुई गन्धमादनबाट सञ्जीवनी त टिप्न सकिनँ, तर भाषा र भावुकताको सुन्दरतम रूपबारे भने अन्दाज गर्न पाएको छुँ। मैले हजार वर्ष अभ्यास गर्दा पनि सायद त्यो भाषिक कलात्मकतालाई जन्म दिन सक्दिनँ, जुन टेगोर र वाइल्डले आफ्ना कथामा दिएका छन्। तिनले एक अबोध शिशुको शैशवकालीन हृदयलाई पनि सदाका लागि झंकृत गरिदिएका छन्। ती दुई द्रोण गुरुका पात्रसँग रुँदा, हाँस्दा र दुख्दा मैले हेर्ने गरेका गाई–गोरुले मानवीर काको खेतबाट कति धान खायो होला! तर यो भन्न सक्छु, अरूले देख्दा खरो, तर मेरी आमाले सधैं भन्ने गरेको कमलो मुटुको म, ती र तिनीहरूजस्तै अन्य कथाबाटै यति धेरै पग्लिएको हुन सक्छु।
म खासै साथी बनाउँदिनथे बाल्यकालमा। मेरा वरिपरि फटिक चक्रवर्ती, अजिता, मिनी, मालिनी र लिटलमास्टरजस्ता रवीन्द्र्र–बालक अनेक रूप र आवरणमा उपस्थित रहन्थे। तिनले  मभित्र बेग्लै मान्छेको निर्माण गरिरहन्थे। टेगोरको दार्शनिकताले मलाई त्यो बेला छुने कुरै भएन। तर मेरैजस्ता दुःख र सुख, मेरैजस्ता डर र लोभ, मेरैजस्ता सपना र विपना बेकेका ती रवीन्द्र–बालकले मलाई कथाको एक पात्रजस्तै बनाइदिए। म ती पात्रजस्तै कमलो भएँ, तिनीहरूजस्तै जिद्दी पनि भएँ र मेरा वरिपरिको संसारलाई मेराभन्दा उनीहरूका आँखाबाट हेर्न थालेँ। उनीहरूले बोलेको भाषा मैले लेख्ने साहित्यका ती प्रथम प्रभावमध्ये एक हुन्। आज पनि मलाई टेगोरको अंग्रेजी भाषा एक अप्राप्य आदर्शजस्तो लग्छ, जसको असफल नक्कल गर्ने दुस्साहस गर्दामात्रै पनि एउटा सानोतिनो लेखक बनिटोपलेको छु।
लेखनका र भाषा प्रयोगका प्रेरकबारे सोध्दा मैले सधैं उच्चारण गर्ने पहिलो नाम हो– रवीन्द्र्रनाथ टेगोर। कुनै अन्तर्राष्ट्रिय गोष्ठीमा या विश्वविद्यालयको कक्षाकोठामा टेगोरको जीवनदर्शनबारे बोल्न वा लेख्न लागउँदा मेरा हातगोडा काँप्नेछन्। तर टेगोरका बालपात्र कसरी दुख्छन्, कसरी दुष्ट काकीको दुराग्रहबाट पिसोलिन्छन्, कसरी घरको सम्झनामा रुन्छन्, कसरी घरको सान्निध्यबाट विनाकारण टाढा जान बाध्य गरिन्छन्, कसरी बिछोडिएको बाबुको प्रतीक्षामा शून्य बाल्यकाल बिताउँछन् र कसरी आमा–आमा भन्दै मर्छन्— हो, म त्यो भन्न सक्छु र तिनै बालपात्रजस्तै धुरुधरु रुन सक्छु। टेगोरका बालपात्र मेरो हृदयका सूक्ष्मतम परतहरूसम्म पुगेका छन्, भिजेका छन् र मलाई हल्लाएका छन्। मैले बालसाहित्य लेखिरहँदा, बालकथा भनिरहँदा र बालअधिकारका मुद्दाबारे आफैंलाई अभिव्यक्त गरिरहँदा ती पात्र मेरो सन्निकट बसेर दिशानिर्देश गरिरहेका हुन्छन्। ठूलाहरूले बाल मनोविज्ञान नबु‰दा बालबालिका कसरी अन्यायका पात्र बन्छन् भन्ने नै मेरो बालसाहित्यको मुद्दा हुने गर्छ। यस दिशामा मलाई टाढाबाट निर्देश गरिरहेका हुन्छन्, टेगोरका ती गहिरा आँखा र दृष्टिले, जसबाट देखिएको विशाल संसारको एक तृणजतिको अंश पनि म देख्न सक्दिन सायद। ममाथि टेगोरको सूक्ष्म अध्ययन र जादुयी भाषाशैलीको ऋणको पहाड सधंै खसिरहन्छ। त्यो मैले उनीबाट बाल्यकालमै लिएको जीवन्त सापटी हो।
टेगोरको जुन जादुयी भाषाशैलीको छाप ममा बाल्यकालमा पर्‍यो, त्यसको ब्याजले मलाई विश्वविद्यालयसम्म पुर्‍याएको हो भन्न कुनै हिच्किचाहट छैन। भाषाको सबैभन्दा ठूलो गुण सरलता हो भन्ने कुराको हिमालजत्तिकै अग्लो प्रमाण टेगोर हुन्। सरल भाषामा हृदयसँग अत्यन्त नजिक बस्ने भावनालाई उनले जुन कलाकारिताका साथ उनका बालकथामा बुनेका छन्, त्यसको मिसाल मेरो अध्ययनमा अन्यत्र  कतै पनि पाइँदैन। उनी पात्र खडा गर्छन्, ती पात्रभित्र पस्छन् र तिनीहरूका सुख–दुःख आफैं बाँच्छन्। ती बालपात्रका कलिला सुस्केरा र निर्दोष आँसु टेगोरका सुन्दर शब्दहरूको आकार लिएर किताबमा पानामा छरिँदा मेरो मन सधैं रोमाञ्चित हुने गर्छ। शान्ति निकेतनमा बालबालिकालाई रवीन्द्र संगीत र जीवनका गीत सिकाउँदै टेगोरले त्यहाँबाहिरको संसारलाई जसरी स्पर्श गरे, त्यो स्पर्श साहित्यको एक विलक्षण र दुर्लभ स्पर्श हो।
टेगौरसँगै ममाथि बाल्यकालको अर्को साहित्यिक प्रभाव थियो, अंग्रेजी कथाकार ओस्कार वाइल्डको। वाइल्डको जीवन चरित्रसँग म परिचित थिइनँ तर उनको आँसु लेख्ने कलाले मलाई सधैं भिजाएको छ। उनको हेप्पी प्रिन्स एन्ड अदर स्टोरिजका पात्रहरूको रङमा मेरो आजको व्यक्तित्व हदैसम्म रंगिएको छ।
टेगोर जसरी यथार्थको सन्निकट रहेर पीडा लेख्छन्, वाइल्ड स्वैरकल्पनाको बाटो आँसुका कथा लेख्छन्। मैले गाई–गोरु हेर्ने खर्कमा देखिने फूल, पाती, रूख, झरना र ती विशाल गौचरनमाथिको आकाशमा कावा खाने चराहरू नै टिपेर वाइल्डले कथा बनाए जस्तो लाग्थ्यो। मेरैजस्तो दुखिरहने मुटु टिपेर कसरी ती पात्र निर्माण गरे, मलाई सधैं रोमाञ्चित पारिरहने प्रश्न थियो। म उनलाई पढिरहन्थेँ। पग्लिरहन्थेँ। छेवैमा बग्ने खारनालो बगिरहन्थ्यो निस्पि्कक्री, आफ्नै गतिमा। हामी पनि समानात्तर नदीमा हेल्लिइरहेका हुन्थ्यौं अर्कोतिर, गहिरो तहबाट दुखेर फुटेको आँसुको मूलसँगै। आहा, ओस्कार वाइल्ड मेरो बाल्यकालमा यस्तो एउटा नाम हुन पुग्यो, जसका कथाभित्रबाट मैले सर्वप्रथम मानव जीवनका समयातीत पीडालाई स्पर्श गर्न सुरु गरेँ। वाइल्डजस्तो विराट प्रतिभालाई थाहा थियो, यत्तिको कमलो मानव यथार्थलाई गति दिन त्यस्तै कमलो भाषाशैली र विम्ब संयोजनको खाँचो हुन्छ। त्यसैले, वाइल्डका कथाका मन्द गतिमा बग्ने पश्चिमेली हावाको त्यो प्रवाह छ, जसको स्पर्शले इराङ नदीको किनारमा उभिएको म सधैं रोमाञ्चित हुन्थेँ। सबै कटु यथार्थलाई बिर्र्सिएर त्यही बताससँग बग्न पुग्थे। वाइल्डका वाक्यको आरोह–अवरोह मेरा लागि पीडाको त्यो आदिम गीत हो, जो कहिल्यै पुरानो हुँदैन र कहरपूर्ण पनि हुँदैन। त्यसैले मैले वाइल्डलाई अनेकौंचोटि पढेँ र आजपर्यन्त पढिरहेको छु।
आज यत्तिका वर्षपछि जब म यस व्यावसायिक जीवनको नाटकघरका सबै पर्दा च्यातेर आफैंजस्तो बनेर रुन चाहन्छु, म टेगोर र वाइल्डकै शरणमा पुग्छु। 'काबुलिवाला' र 'द सेल्सिफ जाइन्ट' मेरा लागि आज पनि जीवनको सञ्जीवनी दिने ती गन्धमादन हुन्, जसलाई टाढैबाट हेरेर पनि आफू बाँचेको अनुभव गर्न सक्छु। हो, मलाई सबै नाटकबाट माथि उठेर भित्रैबाट रुन मन लाग्यो भने म यिनै कथा पढ्छु। र, हृदय निचोरेर छताछुल्ल पोखिदिन्छु।
चलखेलको डायरी

चलखेलको डायरी

एकजना समकालीन पत्रकारद्वारा लिखित पुस्तक जहिले पनि अध्ययन, मन्थन र सम्बन्धित विषयलाई नियालिने विश्लेषणको माध्यम बन्नसक्छ। मत, मान्यता र निष्कर्ष अलग हुन सक्छन्। तर, फेरि पनि सूचना र ज्ञान बहुमूल्य...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

सरल, तर प्रखर

सरल, तर प्रखर

यदुनाथ खनाल तीन क्षेत्रमा प्रखर देखिए– शिक्षा, साहित्य र कूटनीति। खनाललाई नजिकबाट बुझेकाहरू उनको विद्वताबाट जति प्रभावित छन्, सरल जीवशैलीले उत्तिकै चकित। पद र प्रतिष्ठामा घमण्ड नगर्ने व्यक्तिको छविलाई कहिल्यै...

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...

स्टेजले उठाएका कलाकार

स्टेजले उठाएका कलाकार

विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै...

‘खेल संस्कार, स्तरीय उत्पादन’

‘खेल संस्कार, स्तरीय उत्पादन’

कीर्तिमानको चाङमाथि विराजमान अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीलाई ११ वर्षकै उमेरमा ग्रोथ हार्मोनमा गम्भीर समस्या देखियो।

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

कवि कहिल्यै बूढो हुँदैन

कवि कहिल्यै बूढो हुँदैन

हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए। मैले बालाई...