Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

बौद्धिक समालोचक

  • १७ फागुन, २०७०
  • फणीन्द्र संगम
  • DISQUS_COMMENTS
(0 votes)
बौद्धिक समालोचक
माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो– सूक्तिसिन्धु।
श्यामजीप्रसाद शर्माको सम्पादनमा निस्किएको उक्त संग्रहमा दुई दर्जन कविका ३५ कविता छापिए। सहभागी थिए, १७ वर्षे रुद्रराज पाण्डेदेखि ६९ वर्षीय वृद्ध राजीवलोचन जोशीसम्म। सबैले खुलेर शृंगारिकताको नाममा कवितामा भरपूर 'शृंगार' भरे। पाँच सयप्रति छापिएको सूक्तिसिन्धु हारालुछ बिक्यो। ३५ कविताको सानो संग्रहले बजार तताउँदै गर्दा एकाएक प्रतिबन्ध खेप्नुपर्यो।। युवाहरूलाई भड्काएको र समाजको नीति उल्लंघन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले प्रतिबन्ध लगाइदिएपछि एकाएक सेलाएको यसको चर्चा ४३ वर्षपछि पुनः सुरु भयो, जसलाई ब्युँताएका थिए समालोचक यदुनाथ खनालले। 
२००४ सालतिर समालोचक रामकृष्ण शर्माले सूक्तिसिन्धुको प्रशंसा गर्दै पहिलोपटक टिप्पणी गरे। 'शर्माको प्रभावपरक टिप्पणीले खासै चर्चा पाएन,' समालोचक तथा प्राध्यापक राजेन्द्र सुवेदी भन्छन्, 'केही वर्षपछि यदुनाथ खनालले सैद्धान्तिक धरातलमा टेकेर गरेको बौद्धिक समालोचनाले सेलाएको सूक्तिसिन्धु–विवाद फेरि सतहमा ल्यायो।' 
शास्त्रीय रूपमा दुई हजार वर्षअघिको पूर्वीय सिद्धान्तमा टेकेर काव्यको गुण–दोषबारे केलाउने खनालको बौद्धिक आलोचनाका सामु शर्माको प्रभाव बिस्तारै सेलाउँदै गएको सुवेदी बताउँछन्। 'त्यस्तो 'भल्गारिटी' कृति राणाकालीन समाजसापेक्ष सुहाउँदो थिएन,' उनले भने, 'सैद्धान्तिक अडानमा रहेर खनालले खुलेरै आलोचना गरेका हुन्।'
खनालले २०१७ को 'इन्दु' पत्रिकामा 'नेपाली साहित्यमा प्रयोग र परम्परा' लेखमार्फत गरेको सूक्तिसिन्धुको समालोचनाले यसको चर्चालाई मात्रै ब्युँताएन, पहिलोपटक वादविवादपूर्ण समीक्षालाई पनि भित्र्यायो। सूक्तिसिन्धुले साहित्यको कालचक्रमा मध्यरात भिœयाएको टिप्पणी गदर्ैै उनले यसलाई क्षयोन्मुख कविताको संज्ञा दिए। अश्लीलताको पराकाष्ठाको रूपमा लिँदै प्रभाव र प्रेरणा नभएका लेखकलाई जमघट गराएको उल्लेख गरे। सूक्तिसिन्धुको समर्थन गर्दै आएका शर्मालाई खनालको तीख्खर टिप्पणी पचेन। 'नेपाली' पत्रिकाको 'सूक्तिसिन्धु एक स्वतन्त्र दृष्टिकोण' लेखमार्फत शर्माले प्रतिवाद गरे– खनालले भनेजस्तो क्षयोन्मुखी नभई क्रान्तिकारी कविता हुन्। उनले थप पुस्ट््याइँ दिए– शृंगार रसको हुरीले कविताका सेपिला हाँगा भाँचिए, अरू कविता हुर्कन र बढ्न पाए। 
यसपछि लगातार दोहोरी चहिरह्यो। 
शर्माको बचाउप्रति खनाल चुप बसेनन्। 'साहित्य रोचक या रोमाञ्चकारी मात्र भएर पुग्दैन, त्यो त एकैसाथ सत्य, शिव र सुन्दर हुनुपर्छ' भन्ने मान्यतामा अडिग खनालले 'रूपरेखा'को अंक ६ मा 'सूक्तिसिन्धुको मूल्यांकनको खोजमा' लेख छापे। शर्मातर्फ इंगित गर्दै ठोकिदिए– सूक्तिसिन्धुबारे आलोचनाभन्दा बढी पूजा गरेको देखियो। मानवताको तिरस्कार र दासत्वको स्तुति रहेका कवितामा इमानदारी नभई नक्कलीपन देखिएको छ। 
श्लीलताका पक्षपाती खनालको टिप्पणीबारे चर्चा गर्दै जयराज आचार्यले 'यदुनाथ खनाल जीवनी र विचार'मा लेखेको छन्, 'अँध्यारोमा गरिने स्त्री सम्पर्क र यौन–सम्पर्कका निमित्त गरिने क्रयविक्रयका विषयवस्तु समाविष्ट सूक्तिसिन्धुलाई खनालले ग्रहण गर्न सकेनन्।' 
शर्माले फेरि 'नेपाली' पत्रिकामा प्रतिक्रिया दिए– पुरुषले नारीको अनुभूति र कल्पना गर्नु नक्कलीपन होइन। शृंगार प्रेममात्र होइन, प्रेम र काम दुवै हो। 
यसपछि भने शर्माले थप प्रतिवाद गर्न चाहेनन् र लेखे– खनालज्युकै अनुसार मैले सूक्तिसिन्धुका सम्बन्धमा ३३ अंक ल्याएर उत्तीर्ण भएँ, उहाँसँग सहमत हुन सकिनँ, त्यो मेरा लागि दुर्भाग्य हो।
उनीहरूको दोहोरी बन्द गर्नमा कृष्णचन्द्रसिंह प्रधानको मध्यस्थता महत्वपूर्ण रहेको बताउँछन्, अर्का समालोचक लक्ष्मणप्रसाद गौतम। 'शर्माले भनेजस्तो उच्चतम कृति पनि होइन, न कि खनालले भनेजस्तो भ्रष्ट नै,' गौतमको आफ्नो तर्क छ, 'माध्यमिककालीन समय नै शृंगारिक कविताको युग भएकाले तिनको महत्व आफ्नो ठाउँमा छ।' प्रधानले शृंगारिककालमा केही अश्लील देखिए पनि कृतिलाई नमुनाका रूपमा लिएको गौतम बताउँछन्। 
'आगो र पानी'माथि गरिएको खनालको समालोचनालाई गौतम बौद्धिक समालोचनाका रूपमा लिन्छन्। 'दार्शनिक सीमा साहित्यको सीमासँग सम्बन्धित हुन्छ भन्ने उनले निचोड निकाले,' उनले भने, 'खनालको बौद्धिकताको प्रयोग नै आगो र पानीको समालोचनामा भएको मानिन्छ।' मूलतः नीतिपरक समालोचनालाई जोड दिएका खनालले सूक्तिसिन्धुमा यसैको प्रयोग गरे। 
शृंगारिक कालमा मोतिरामले मार्मिक सौन्दर्यको चर्चा गर्दै आएको अवस्थामा सूक्तिसिन्धु उत्कर्षका रूपमा आएको सुवेदी बताउँछन्। २०५२ सालपछिका संस्करणमा सूक्तिसिन्धुको सम्पादनसमेत गर्दै आएका उनको तर्क छ, 'परिवारका सबैले एकै ठाउँ बसेर पढ्न नसकिने कविताका बारेमा खनालले पतनोन्मुख भन्नु अस्वाभाविक थिएन।' 
...
'आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र' लेखेर मोतिराम भट्टले १९४८ सालमा नेपाली साहित्यमा समालोचनाको सुरुवात गरे। सैद्धान्तिक रूपमा कमजोर भए पनि त्यसयता फाट्टफुट्ट समालोचनाको गति अघि बढ्यो। मोतिरामले सुरु गरेको प्रभावपरक समालोचनाले शास्त्रीय रूप लिन नसकेको अवस्थामा रामकृष्ण शर्मा र सूर्यविक्रम ज्ञवालीले अलिअलि सैद्धान्तिक प्रयोग गर्न थाले। 'उनीहरूले सिद्धान्तलाई सबल रूपमा अघि बढाउन नसकिरहेका बेला खनालले पूर्वीय र पाश्चात्य दुवै चिन्तनलाई नेपाली साहित्यमा प्रवेश र विस्तार गराएको सुवेदी बताउँछन्। उनीसँग सहमत गौतमको भनाइ छ, 'परम्परित र पूर्वीय साहित्य सिद्धान्तबाट निर्देशित समालोचना हुँदै आएकोमा खनालले आधुनिक समालोचनाको विस्तारमा योगदान पुर्यािए।' 
यसरी शर्मा र ज्ञवालीले समालोचनामा आधुनिकता भिœयाए भने खनालले नयाँ रूपबाट त्यसको विस्तारमा लागे। तुलनात्मक समालोचकका रूपमा नाम कमाएका खनालका समालोचना दार्शनिकता, बौद्धिक गहिराइ, गुुण र दोषको निरूपणमा केन्द्रित छन्। कृतिको प्रशंसामा जोड दिँदै समीक्षा हुने परम्परा भत्काउँदै उनले प्रामाणिकतासहित दोषको पनि खुलेर चर्चा गरे, जसको प्रमाण हो 'सूक्तिसिन्धु'माथिको कडा आलोचना। 
१९९७ देखि २००२ सम्मको अवधिमा पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तलाई नेपाली सिर्जनासँग जोडेर समालोचनात्मक लेखहरू सिर्जना गरे, खनालले। २००३ मा त उनको समालोचनात्मक कृति 'समालोचनाको सिद्धान्त' नै निस्कियो। जसमा उनले कविता, कथा र निबन्ध कृतिहरूको पूर्वीय–पाश्चात्य सिद्धान्तका आधारमा निष्कर्ष दिएका छन्। 
संस्कृत र अंग्रेजी साहित्यका विद्वान खनाल त्रिचन्द्र क्याम्पसमा पूर्वीय र पाश्चात्य समालोचना पढाउँथे। यसले उनी झनै खारिँदै गए। उनको समयमा अन्य समालोचक पनि थिए, तर चर्चामा आएनन्। समालोचनामा हालिमुहाली जमाउँदै आएका रामकृष्ण शर्माजस्ता प्रभावपरक समालोचक खनालको आगमनसँगै किनारा लागेको सुवेदी बताउँछन्। 'रत्नध्वज जोशी र ईश्वर बरालजस्ता समालोचकलाई पनि खनालले गाइड गरिदिए,' उनले भने, 'खरो र आवेगमा आएर समालोचना गर्ने शर्मालाई उनको बौद्धिकताले पेलिदियो।' त्यसबेला उत्कृष्ट समालोचना गर्ने लक्ष्मीप्रसाद देवकोटा पनि खनालबाट प्रभावित थिए। सुवेदी भन्छन्, 'बौद्धिकताको दूरीमा उनी खनालनजिक र भावनाको दूरीमा शर्मानजिक थिए।' 
थोरै कृति लेखे पनि सिद्धान्तमा अडिग खनाल बौद्धिक समालोचकका रूपमा स्थापित छन्। 'समालोचना सिद्धान्त'मा तुलनात्मक समालोचनालाई जोड दिँदै उनले सिंगो साहित्यलाई काव्यका रूपमा अध्ययन गरे। २०३४ मा प्रकाशित अर्को कृति 'साहित्यिक चर्चा'का अधिकांश समालोचना प्रायोगिक रूपमा आएका छन्। यही कृतिभित्रका दुई समालोचनाले उनलाई अझ चिनायो। 'सूक्तिसिन्धुको मूल्यांकनको खोजमा'ले चर्चामा पुर्या्यो भने आगो र पानीको समीक्षाले बौद्धिक समालोचकका रूपमा स्थापित गरिदियो,' गौतम भन्छन्। 
संस्कृत–अंग्रेजी चिन्तनलाई पचाएर नेपाली साहित्यअनुकूल प्रयोग गर्ने उनी पहिलो समालोचक हुन्। 'बामे सर्दै गरेको समालोचनालाई सञ्चार र प्रविधिको अभावपूर्ण समयमा पनि विस्तार गर्नु नै उनको विशिष्ट योगदान हो,' अहिले नेपाली समालोचना पद्धतिप्रति संकेत गर्दै गौतम भन्छन्, 'आफू चर्चामा आउने लोभमा आएका अखबारी समीक्षकले पनि खनालको बौद्धिक समालोचना पद्धतिलाई बिर्सन हुँदैन।' वर्तमान समालोचना र खनालको समालोचना पद्धतिबारे तुलना गर्न नमिले पनि समालोचकीय व्यक्तित्वलाई अहिलेसम्म उँचो पारिरहन सक्नु खनालको बौद्धिक अडान रहेको उनी बताउँछन्।

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

हराउँदै छ भजन

हराउँदै छ भजन

काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'

घरभन्दा राजनीति प्यारो

घरभन्दा राजनीति प्यारो

अष्टलक्ष्मी शाक्य सानैदेखि विद्रोही स्वभावकी थिइन्। सम्पन्न परिवारमा जन्मे पनि सुखसयल छानिनन्। २०१० सालमा काठमाडौं, झोछेंमा जन्मेकी उनी परिवारका आठ सन्तानमध्ये फरक स्वभावकी मानिन्थिन्। पढाइलेखाइमा निकै ध्यान दिन्थिन्। यसै क्रममा...

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

अन्तर्राष्ट्रिय अवसरको खाँचो

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।