22 Chaitra, 2076 | April 04, 2020
Menu

नागरिक शनिबार

प्राध्यापनबाट परराष्ट्र

  • १७ फागुन, २०७०
  • ध्रुवहरि अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
प्राध्यापनबाट परराष्ट्र
सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ राणा शासनको अन्त्य हुनुभन्दा आठ वर्ष अगावैको प्रसंग हो यो।
मैले विशिष्ट विद्वान् प्रोफेसर खनालको सामीप्य पाउन थालेको उहाँले सरकारी सेवाबाट अवकाश लिन लागेको सामयतिर हो। अर्थात् २०४८ सालको निर्वाचनपछिका प्रधानमन्त्री गिरिजाप्रसादको परराष्ट्र मामिला सल्लाहकारबाट फुर्सद लिने चरणतिर। कोइरालाको सल्लाहकार राख्ने तर प्राप्त परामर्शको कदर नगर्ने प्रवृतिले नै सम्भवतः प्रोफेसर खनाललाई लामो समय सिंहदरबारमा अड्किन मन लागेन। 
एसएलसीको छात्र छँदा गद्यसंग्रहमा पढेको 'नारी जीवन’ निबन्धका निबन्धकारसित परिचय गर्ने अवसर २०४६ सालको राजनीतिक परिर्वतनभन्दा केहीअघि पाएको हुँ। गोरखापत्रको संवाददाता थिएँ, एउटा कूटनीतिक कार्यक्रम भएका बेला परिचित हुने मौका छोपेँ। त्यसपछि पटक–पटक त्यस्तो अवसर पाउँदा परिचय नवीकरण गर्दैरहेँ। उहाँले चिन्न, ठम्याउन थाल्नुभयो। कहिलेकाहीँ गोरखापत्रमा प्रकाशित सामग्रीबारे जिज्ञासा राख्दै चर्चा टिप्पणी पनि गर्नुहुन्थ्यो। त्यसताका गोरखापत्र नै मुलुकको ठूलो अखबार हुनाले त्यसमा छापिएका अधिकांश कुरा पढ्नु र पढिएका कतिपय कुरामा विवेचना गर्नु अनौठो भएन पनि। 
एकपल्ट उहाँले अंक मिसिएको समाचार आउँदा 'अक्षरेपी' लेख्ने चलन कसरी चल्यो भनेर प्रश्न गर्नुभयो। हुन पनि त्यो विचित्रको चलन बीच–बीचै आएको थियो– वाक्यको बीचमा अंक आए तुरुन्त कोष्ठकभित्र अक्षरेपी लेख्नुपर्ने, कपाली तमसुकमा जनाउने शैलीमा। उतिखेर दरबार हावी थियो, त्यसैले त्यो उट्पट्याङ चलन कायम गर्न बाध्य थिए सम्पादकहरू। हुकुमको जवाफ थिएन कालको ओखती नभएझैं।
प्रोफेसर खनाल अवकाशप्राप्त जीवनको उपयोग नयाँ पुराना पुस्तक पढेर गर्नुहुन्थ्यो। बानेश्वर हाइटस्को उहाँको घरमा जाने जो कोहीले बैठक कोठामा टेबुलभरि नेपाली, अंग्रेजी र संस्कृतका साना–ठूला ग्रन्थ देखेको हुनुपर्छ। आफूलाई भेट्न आउने व्यक्तिको रुचि बुझेको अवस्थामा उहाँ तत्काल आफूले पढ्दै गरेको पुस्तकबाट कुनै रोचक प्रसंग सुनाइदिनुहुन्थ्यो। मैले पनि त्यो अवसर पटक–पटक पाएँ। आफ्नो अनुकूल समयमा भेट्न आए हुन्छ भनेर उहाँबाट अनुमति पाएका थोरै मानिसमा म पनि परेको रहेछु। त्यस उदारभावको लाभ उठाएर दुई–चारपल्ट मैले आफ्नो सम्पर्कमा आएका विदेशी विद्वान्, पत्रकारलाई पनि उहाँसित भेटघाट गराएँ। फर्किंदा सबै उहाँको उच्च बौद्धिक क्षमताको प्रशंसा गर्दै फर्किन्थे। चीन र भारतको बीचमा अवस्थित 'सानो’ नेपालमा बसेर विश्व घटनालाई नियाल्ने र तिनलाई यथार्थवादी कोणबाट र आलोचनात्मक शैलीमा विवेचना गर्ने उहाँको खुबीबाट प्रभावित भएर जान्थे।
'आगो ताप्नु मुढाको, कुरा सुन्नू बूढाको’ भन्ने आह्वान छ। मलाई यस लोकोक्तिले नै हौस्याएको हो, म दर्जनांैपटक उहाँको घर गएँ हुँला। हरेकपटक घन्टा, दुई घन्टा बित्थे। सुन्ने कुरा धेरै हुन्थे, भन्ने कुरा मसित स्वभावतः थोरै हुन्थे। र, जे हुन्थे तिनमा पनि प्रश्न र जिज्ञासा नै हुन्थे। सुनेका कुरामा घत पर्ने प्रसंग, मानिसका नाम र ठाउँको चिनारी टिपोट गर्ने गर्थे। त्यस्ता टिपोट, खेस्रा, चिर्कटा घरमा पुगेपछि अरू कागजपत्रका चाङमा परेका छन्। फुर्सद मिल्दा खोतल्नुपर्ला भन्दैछु। यतिखेर सम्झेका र तत्काल फेला परेका एकाध टिपोटको आधारमा केही विषय बुँदा उल्लेख गर्दैछु। 
प्रोफेसर खनाल २०६१ साल असोजमा बित्नुभयो, मैले २०६० साउनमा भेट्दा सोधेको थिएँ, 'यहाँ भारतमा राजदूत छँदा (सन् १९६४–६७) सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको विषय परामर्शमा आयो कि आएन?' उहाँले उत्तर दिनुभयो, 'किन नआउनु, आयो। नेपालको उत्तरी सिमानामा राखिएका भारतीय चेकपोस्ट बन्द गर्नुपर्यो र नेपालमा रहेको सैनिक नियोग (मिसन) फिर्ता गर्नुपर्योर भनेर आग्रह गर्दा उताबाट सन् ५० को सन्धि देखाए (त्यसो गर्न मिल्दैन भन्न)।'
मैले भनँे, 'सन्धि (मोहन शमशेर) राणाको पालाको हो, सैनिक मिसन त मातृकाप्रसादको कार्यकालमा पछि नेपाल छिराइएको हो। त्यसकारण सैनिक मिसनलाई सन् ५० को सन्धिसित जोड्न मिल्दैन।' 
एउटा सार्वभौमसत्ता सम्पन्न देशमा अर्को मुलुकको सैनिक उपस्थित राम्रो नहुने भन्ने कुरामा पछि वार्ताद्वारा भारतीय पक्षको चित्त बुझाएपछि प्रोफेसर खनाल परराष्ट्र सचिव भएका बखत नियोग फिर्ता भयो। त्यतिखेर प्रधानमन्त्री थिए, कीर्तिनिधि विष्ट र राष्ट्राध्यक्ष थिए राजा महेन्द्र।
चीनमा 'सांस्कृतिक क्रान्ति’ (सन् १९६६–७६) चर्केका बखत काठमाडौंको रमाइलो मेला काण्ड भयो र द्विपक्षीय सम्बन्ध चिसिन गयो। त्यसलाई सामान्य तुल्याउने हेतुले परराष्ट्र सचिव खनाल पेचिङ जानुभयो। पछि राजदूत भएरै चीनमा बस्नुभयो। कम्बोडिया र उत्तर कोरिया समेतका देशमा ओहदाको प्रमाणपत्र पेस गर्ने सिलसिला पर्योन। कम्बोडियाको पोलपोटको जगजगी, यत्रतत्र हिंसा। भयावह अवस्था। चीनमा रहँदा एकपल्ट दुई अधिराजकुमार (ज्ञानेन्द्र र धीरेन्द्र) का साथ उत्तर कोरिया भ्रमणमा गइयो। दस दिन सँगै बिताइयो, तर सुखद् क्षण, प्रसंग बटुल्न पाइनँ। 
प्रोफेसर खनाल संयुक्त राज्य अमेरिकामा राजदूत रहँदाको एउटा घटनाको चर्चा तत्कालीन सैनिक सहचारी कृष्णनारायण सिंह थापा (हाल अवकाशप्राप्त रथी) ले यस हरफको लेखकलाई केही पहिले सुनाउनुभएको हो। भियतनामको लडाइँपछि अमेरिकी सैनिकहरू स्वदेश फर्किने तयारीमा थिए। वासिङ्टनमा सैनिक पक्षबाट मलाई सोधियो, 'एसियामा रहेका उपकरणमध्ये कुनै काम लाग्ने देख्नुभएको छ भने भन्नुहोस्। हामी दिन्छौं।' मैले बाढी, भूकम्पजस्ता विपद्मा उद्धार सामग्री ढुवानी गर्न (गैरसैनिक प्रयोजनमा) हेलिकोप्टर उपयोगी हुने देखेँ। करिब एक दर्जनको जोहो गर्ने ध्येयले कुरा गरेँ। अमेरिकीहरूले सुरुमा सञ्चालन कार्यको लागि ३०–४० जना प्राविधिक सँगै पठाउने प्रस्ताव राखे। मैले महामहिम राजदूतसमक्ष यो विषय प्रस्तुत गरेँ। प्रोफेसर खनालले गम्भीरतापूर्वक सुन्नुभयो, र आएको प्रस्ताव परराष्ट्रमार्फत जाहेर गर्नुभयो। तर काठमाडौंबाट कुनै उत्तर आएन। पछि महामहिमले नै मलाई अमेरिकी सैनिक निकायलाई नेपालको संरचना अपर्याप्त भएको समेतका कारण देखाई तत्काल सहयोग नलिने सूचना दिन अह्राउनुभयो। त्यसै गरियो। 
भाषा र साहित्यमा प्रोफेसर खनालको रुचि र पकड उच्चस्तरीय रहेको उद्गार धेरै विद्वान्को मुखबाट सुनिएको छ। र, समालोचनाको सिद्धान्त पुस्तकमात्र यस कथनको आधार होइन। प्रा. दुर्गाप्रसाद भण्डारीको कृति 'मृगस्थली’मा परेको खनालज्युको मन्तव्यले त्यसबखत निकै चर्चा पाएको सम्भि्कन्छु। एक दिनको कुरो हो, प्रोफेसर खनालले कोषकार वसन्तकुमार शर्म्मा 'नेपाल’को आग्रहमा 'नेपाली शब्दसागर’लाई 'दुई शब्द’ लेख्ने मौका पाएको कुरा सुनाउनुभयो। 'प्रत्येक नयाँ कोष विकासमा एक खुड्किलो हो’ भन्ने उहाँको मान्यता छ। अंग्रेजी–नेपाली शब्दकोषमा उहाँले नरेन्द्रमणि आचार्य दीक्षितको 'साझा संक्षिप्त शब्दकोश’लाई भरर्दो मान्नुभएको छ।
'यदुनाथ खनाल : जीवनी र विचार’ २०५९ सालमा प्रकाशित पुस्तक हो। त्यसमा लेखक जयराज आचार्यले प्रोफेसर खनालको कूटनीतिक व्यक्तित्वलाई पर्याप्त स्थान नदिएको हो कि भन्ने पाठकहरू भेटिएका थिए। प्रोफेसर सुरेन्द्रबहादुर श्रेष्ठ (पछि साउदी अरेबियामा राजदूत) र डा. मदनकुमार भट्टराई (हाल जापानमा राजदूत) यस्तो गुनासो गर्ने पाठकमा पर्नुहुन्थ्यो। यी र यस्ता सन्दर्भबारे कुरा हुँदा ती कुरा ध्यानपूर्वक सुनेपछि प्राफेसर खनालले मलाई नेल्सन मन्डेलाको पुस्तक 'लङ वाक् टू फ्रिडम’ र ली कुवान युको 'द सिंगापुर स्टोरी’ पठनीय छन्, भन्नुभयो। थप कुरा, मन्डेला गान्धीजस्ता र सिंगापुरका लीचाहिँ भारतका पटेलजस्ता। प्रोफेसर खनालले गर्नुभएको घतलाग्दो तुलना। 
टंकप्रसाद आचार्यको सम्झना गर्नेले उहाँको पालामा निजामती सेवाको थालनी भएको कुरा वर्णन गर्छन्। त्यसै बेला प्राध्यापनको क्षेत्रबाट तानिएर निजामती सेवामा भित्र्याइएका यदुनाथ खनालको कालान्तरमा 'परराष्ट्र सेवा’को छुट्टै व्यवस्था गर्ने पहल गरेको सम्भि्कन्छन्। कतिपयले उहाँलाई राजा, प्रधानमन्त्रीहरूका सारगर्भित भाषणका मस्यौदाकारको रूपमा चिन्छन्। तर नेपालको कूटनीतिक सेवामा धेरै वर्ष बिताएका उच्च पदस्थ कर्मचारीले खनालज्युलाई असंग्लन सिद्धान्तको आधारमा नेपालको स्वतन्त्र परराष्ट्र मूलनीतिको निर्माणमा सक्रिय र सशक्त व्यक्तिको रूपमा सादर सम्झना गर्छन्।
यस हरफको लेखकसित विगतमा सम्पर्कमा आएका कुनै–कुनै अधिकृतले खनालज्यु सचिव छँदा आफू उपेक्षित भएको कुरा बताएका छन्। यदाकदा सचिव खनालले आफ्ना नातेदारलाई अघि बढाएको चर्चा पनि गरेको सुनियो। यद्यपि, सचिव (स्वर्गीय) कुमार ज्ञवाली अयोग्य अधिकृत थिए चाहिँ भनेको सुनिएन। प्रोफेसर खनाल आफैंले प्रसंगवश ठट्यौली शैलीमा एकपल्ट मलाई सुनाउनुभयो, 'खनाल बाजे’को अर्थोक त ठिकै हो, दौरा सुरुवाल मिलाएर लगाउनचाहिँ जान्नुहुन्न भन्ने सम्मको खोट दरबारमा पुर्यायएछन्।'

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी...

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

राम्रो रचना मिठो नेपाली

भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो...

शून्यबाट सभासदसम्म

शून्यबाट सभासदसम्म

आठ वर्षको उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कमलरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। दाङ लक्ष्मीपुरकी उनी मुक्त भएपछि ढुक्कले बसिनन्, आफूजस्तै अन्य कमलरीको मुक्ति–अभियानमा होमिइन्। जमिनदारकहाँ पाएको...