Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

नेपाली कूटनीतिका ऋषि

  • १७ फागुन, २०७०
  • जयराज आचार्य
  • DISQUS_COMMENTS
(1 Vote)
नेपाली कूटनीतिका ऋषि
मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो विद्वान् हुनुपर्छ, धेरै पढ्नुपर्छ।'
मैले सोधेँ, 'उहाँले के पढ्नुभएको थियो?'
उत्तर आयो, 'संस्कृतमा व्याकरण र अंग्रेजी साहित्यमा एमए।'
'उसो भए म पनि संस्कृत व्याकरण र अंग्रेजीमा एमए गर्छु,' मैले भनेँ।
कालान्तरमा मैले त्यही गरेँ। आज मेरा प्रेरणापुरुष यदुनाथ खनाललाई सम्झँदा मेरो मन श्रद्धाले भरिन्छ। 
म २०२१ फागुनमा काठमाडौं आउँदा यदुनाथ खनाल भारतमा राजदूत हुनुहुन्थ्यो। २०२५ सालमा मैले हाइस्कुल (दशम कक्षा) पास गर्दा म संस्कृतपट्टि प्रथम श्रेणीमा प्रथम भएँ। मेरो फोटोसहित गोरखापत्रले एक परिचयात्मक लेख छाप्यो। त्यतिखेर खनाल नेपाल फर्केर दोस्रोपटक परराष्ट्र सचिव हुनुभएको थियो। उहाँले पनि त्यो लेख पढ्नुभएको रहेछ। केही समयपछि भेट हुँदा उहाँले खुसी व्यक्त गर्नुभयो।
मेरा हजुरबा लोकनाथ आचार्य र यदुनाथकी आमा तारा सहोदर दाजुबहिनी थिए। खनालकहाँ मेरो आवतजावत हुन थाल्यो। म भर्खरै कलेज प्रवेश गरेको ठिटो, तर मलाई जहिले पनि उहाँले आफ्नो घरमा स्नेहसाथ स्वागत गरेर शिक्षा दिनुहुन्थ्यो। 
खनालले मलाई पहिलै भेटमा आफ्ना दुई किताब दिनुभयो। एक थियो 'रिफ्लेक्सन्स् अन नेपाल–इन्डिया रिलेसन्स' र दोस्रो 'स्ट्रे थट्स।' ती किताब उहाँले भारतमा राजदूत हुँदा दिएका भाषण, अन्तर्वार्ता र प्रकाशित लेखका संकलन थिए। त्यस्ता विद्वत्तापूर्ण लेखहरूको संकलन, त्यो पनि अंग्रेजी भाषामा लेखिएका कुरा, म संस्कृतमा भर्खर हाइस्कुल पास गरेको ठिटाले बुझ्छ भनेर कसरी ठान्नुभयो? किन ती किताब दिनुभयो? मलाई आश्चर्य लाग्यो। तैपनि खुसीसाथ ती किताब ल्याएर संस्कृत छात्रावासमा बसी पढेँ।
वास्तवमा ती किताब नै नेपालको परराष्ट्रनीतिमा रूचि जगाएर कालान्तरमा संयुक्त राष्ट्रसंघमा राजदूत भई काम गर्ने तयारीका लागि मेरा प्रेरणास्रोत बने। खनाल कसैलाई पनि कमजोर वा अक्षम ठान्नुहुन्थेन। सबैको सम्मान गर्नुहुन्थ्यो, सबैलाई प्रोत्साहन गर्नुहुन्थ्यो। ठूलो मानिसले अरूलाई उठाउन कोसिस गर्छ, सानो मानिसले अरूलाई दबाउन कोसिस गर्छ।
उहाँले संस्कृत अनि विज्ञान र अंग्रेजी साहित्य पढेर कलकत्ताबाट आई त्रिचन्द्र कलेजमा बाह्र वर्ष पढाउनुभयो— विसं १९९९ देखि २०१२ सालसम्म। प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो प्रमुख सचिव र गृहसचिव बनाएर सिंहदरबारको प्रशासन क्षेत्रमा लगे पनि खनाल समाजमा एक विद्वानका रूपमै परिचित रहिरहनुभयो। उहाँको विद्वत्ता र कूटनीतिक क्षमतालाई बिपी कोइराला, राजा महेन्द्र र राजा वीरेन्द्रले मात्र होइन, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले प्रयोग गरे। नेपालमा दुईपटक परराष्ट्र सचिव र नेपालका लागि अत्यन्त महत्वपूर्ण तीन देश (भारत, चीन र अमेरिका) मा राजदूत हुने एकमात्र नेपाली यदुनाथ खनाल हुनुभयो। 
अप्ठ्यारो समयमा सचिव र राजदूत
२०१७ सालमा यदुनाथ खनाल पराराष्ट्र सचिव हुँदा नेपालको आन्तरिक राजनीति र परराष्ट्र सम्बन्धमा संकट थियो। त्यस संकटको समाधानमा सहायता लिन राजाले उहाँलाई परराष्ट्र सचिव बनाएका थिए।
२०१७ पुस १ गते राजा महेन्द्रले कू गरी शासनसत्ता लिनेबित्तिकै भर्खर संयुक्त राष्ट्रसंघको पन्ध्रौं साधारणसभामा भाग लिएर न्युयोर्कबाट नेपाल फर्केका खनाललाई दरबारमा बोलाएर भने, 'खनालजी मैले बुबा त्रिभुवनले ल्याइबक्सेको प्रजातन्त्र बिगार्न खोजेको होइन। कांग्रेसहरूले भन्दा छिटो देश विकास गर्न सक्छु कि भनेर मैले पुस १ गतेको काम गरेँ। अब मलाई तपाईंले सहयोग गर्नुपर्योर। म तपाईंलाई परराष्ट्र सचिव बनाउन चाहन्छु। भारत मसित धेरै रिसाएको छ, सम्हाल्नुपर्योग।'
खनालले 'हुन्न, सक्दिन' भन्नै मिलेन। मलाई उहाँले त्यसै भन्नुहुन्थ्यो। उहाँ बिपीसित संयुक्त राष्ट्रसंघ जानुभएको थियो र उहाँको भाषण पनि लेख्नुभएको थियो। बिपीको आत्मवृत्तान्तमा पनि त्यसको उल्लेख छ। 
खनाल परराष्ट्र सचिव भएको दोस्रो वर्ष (अक्टोबर–नोभेम्बर १९६२, कात्तिक–मंसिर २०१९) चीन–भारत सीमायुद्ध भयो। दुई देशबीच चेपमा परेको नेपाल अप्ठ्यारोमा पर्योन। भारतीय सेनामा नेपाली जवान पनि थिए। तर भारतीय अखबारहरू लेख्थे, 'नेपालले बाहिर–बाहिर तटस्थजस्तो देखाए पनि भित्रभित्रै चीनलाई सघाइरहेछ।'
खनालले भारतीय राजदूत हरिश्वर दयाललाई बोलाएर सोध्नुभयो, 'के हो, अखबारमा आएका विचार भारत सरकारको पनि हो कि अखबारवालाहरूको मात्रै? यदि भारत सरकारले पनि त्यस्तै ठानेको छ भने हाम्रा राजासित समेत कुरा गर्नुपर्योअ।'
दयालले खनाललाई भने, 'होइन, नेपाल सरकारले जुन तटस्थताको नीति अवलम्बन गरेको छ त्यो बिल्कुल ठिक छ। त्यसको हामी प्रशंसा गर्छौं। अखबारको पछि नलाग्नोस्।'
उहाँको जीवनी लेख्ने क्रममा मलाई यो कुरा खनालले भन्नुभएको थियो। 
त्यसताका भारतका लागि नेपाली राजदूत नरप्रताप थापाको विमान दुर्घटनामा देहावसान भएको थियोे। जटिल नेपाल–भारत सम्बन्ध सम्हाल्न जान्ने अर्काे मानिस भेटिएन। राजा महेन्द्रले खनाललाई नै भारतमा राजदूत बनाई पठाए।
त्यतिखेर नेपाली कांग्रेसका कार्यकर्ताले भारतबाट नेपालमा सशस्त्र विद्रोहको कार्यक्रम चलाइरहेकै थिए। नेपाल–भारत सम्बन्ध चिसो थियो। नेपालको राष्ट्रिय दिवसमा आयोजित जलपानमा भारतका कुनै उच्चपदस्थ अधिकारी आएनन्। उपराष्ट्रपति आउने चलन थियो, ती पनि आएनन्। अनि खनालले जनस्तरमा कूटनीति गर्नुभयो। त्यसैको फल थियो– 'रिफ्लेक्सन्स अन नेपाल–इन्डिया रिलेसन्स।' उहाँले भारतीय जनतासमक्ष दिएका भाषण, व्याख्या, अन्तर्वार्ता र लेखहरूको संकलन। 
फेरि अप्ठ्यारो, फेरि सचिव 
२०२५ सालमा भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको चिनिया स्टलमा विद्यार्थीहरूले तोडफोड गरेर माओ त्से तुङको तस्बिर खसालिदिए। नेपाल–चीन सम्बन्धमा त्यस घटनाले ठूलो तनाव पैदा गर्योर। चिनिया राजदूत नेपाल सरकारसित बिदा नै नभई कोदारी राजमार्गको बाटो चीन फर्के। त्यो संकट समाधान गर्न फेरि यदुनाथ खनाललाई नै फिर्ता बोलाएर परराष्ट्र सचिव बनाइयो र चीन पठाइयो। 
बेइजिङमा कुराकानी हुँदा चाउ एनलाइले त्यस विषयमा चिन्ता नगर्न आश्वासन दिए। नेपाल सरकार निकै चिन्तित थियो, किनकि काठमाडौंस्थित चिनिया दूतावासका कर्मचारीले नेपाल सरकारलाई कडा विरोधपत्र लेखेर धम्क्याएका थिए। प्रधानमन्त्री चाउ एनलाइले भने त्यस्ता कर्मचारीलाई सरुवा गरिदिने वचन दिए। त्यो मिसन सफल पार्न खनालको सुझबुझ उपयुक्त भयो। 
२०२६ सालमा खनालले नेपालबाट भारतीय सैनिक सल्लाहकारहरूको टोली फिर्ता पठाउने कूटनीतिक सफलता हासिल गर्नुभयो। त्यसको केही चर्चा मैले लेखेको किताब 'यदुनाथ खनाल : जीवनी र विचार' का पृष्ठ ९६–१०४ मा गरेको छु। त्यसमा नपरेको एउटा कुरा उल्लेख गर्न आवश्यक ठान्छु। त्यस विषयमा कूटनीतिको विषयवस्तु (कन्टेन्ट) जस्तै कूटनीतिको प्रक्रिया (प्रोसेस) पनि महत्वपूर्ण हुन्छ भनेर उहाँले मलाई बुझाउनुभयो। 
२००९ सालमा एक–डेढ वर्षका लागि आएको भारतीय सैनिक सल्लाहकार समूह १६–१७ वर्षसम्म नेपाल बसिरह्यो। राजा महेन्द्रलाई त्यो फिर्ता पठाउने इच्छा भयो। उनले खनाललाई भने, 'खनालजी, यस विषयमा तपाईं एउटा भाषण लेख्नोस्, म त्यो पढ्छु।' 
खनालले भन्नुभयो, 'सरकारले पढ्न हुँदैन, किनकि सरकारको भाषणमा व्यक्त चाहनाबमोजिम भारतले आफ्ना सैनिक सल्लाहकार टोली फिर्ता लग्यो भने त सरकार 'हिरो' होइबक्सिन्छ, तर भारतले मानिदिएन भने कता गइबक्सिन्छ?'
यदुनाथको तर्क सुनेर राजा झस्किए।
भने, 'ठिक भन्नुभयो खनालजी, मैले होइन, प्रधानमन्त्री कीर्तिनिधि विष्टले पढ्छन्।'
खनालजीले फेरि भन्नुभयो, 'भाषण पनि नदिऊँ। राइजिङ नेपालमा एउटा अन्तर्वार्ताका रूपमा हाम्रो विचार राखौं। त्यसमा भारतको कस्तो प्रतिक्रिया आउँछ सोहीअनुसार अघि बढ्ने या नबढ्ने निर्णय गरौंला। वास्तवमा यो यति संवेदनशील र खतरनाक विषय छ कि यसमा मिसफायर (कूटनीतिक गल्ती) भयो भन्ने अवस्था आयो भने हामीमध्ये कुनै एकले आफ्नो पदबाट हट्ने तयारीका साथ अघि बढ्ने हो।'
खनालको कुरा राजालाई उचित लाग्यो। त्यस विषयमा २०२६ असार ११ गतेको राइजिङ नेपालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टको नाममा एउटा अन्तर्वार्ता छापियो।
केही दिनपछि तत्कालीन भारतीय राजदूत राजबहादुरले खनालाई भनेका थिए रे, 'भाषा त जम्मै तपाईंकै जस्तो लाग्छ नि!' 
निक्सन सिद्धान्तको चुनौती र खनाल 
खनालले भारतीय सैनिक सल्लाहकार र नेपाल–चीन सिमानाबट भारतीय चेकपोस्ट हटाएकोमा राजा महेन्द्र खुसी भए। भारत भने सम्बन्ध बिगार्न थाले। त्यसकारण महेन्द्रसित केही चित्त दुखेकाले परराष्ट्र सचिव पद छाडेर खनाल २०२७ साल (सन् १९७०) मा हार्वर्ड विश्वविद्यालयमा 'फेलो' भएर जानुभयो। त्यहाँ नेपालको परराष्ट्र नीतिबारे लामो लेख लेख्नुभयो। उहाँ फर्किंदा नेपालमा नयाँ राजा स्थापित थिए– वीरेन्द्र।
उनले खनाललाई दरबारमा बोलाएर (आफ्ना बाबु महेन्द्रकै भाषामा) 'मलाई पनि मद्दत गर्नुपर्योा' भने र संयुक्त राज्य अमेरिकामा राजदूत बनाई पठाए।
त्यतिखेरको चुनौती के थियो भने, सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको सप्ताहव्यापी भ्रमण गरिसकेका थिए, जसलाई उनले संसार परिवर्तन गर्ने एक हप्ता (द विक द्याट चेन्ज्ड द वर्ल्ड) भनेका थिए। त्यसकारण अमेरिका र चीनबीच स्थापित नयाँ सम्पर्कले चीनसित सीमा जोडिएको नेपाललाई के अर्थ राख्छ भन्ने गम्भीर चासोको विषय थियो।
हाम्रो दक्षिणी छिमेकी भारत र रूसबीचको सम्बन्ध राम्रो थियो तर भारत–अमेरिका सम्बन्ध यति खराब थियो कि राष्ट्रपति रिचर्ड निक्सनले इन्दिरा गान्धीलाई 'बिच' (कुकुर्नी) भनेका थिए। अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले भारतीयहरूलाई 'बास्टर्ड' (ठिमाहा) भनी गाली गरेका थिए। कारण– पूर्वी पाकिस्तान (हालको बंगलादेश) लाई स्वतन्त्र बनाउने युद्धमा भारतले रूससित २० वर्षे पारस्परिक सुरक्षा सन्धि गरीकन अमेरिकी नीति र इच्छाविपरीत अघि बढेको थियो।
खनालले राजदूत भएर वासिङटन पुगेको साता दिन नपुग्दै राष्ट्रपति निक्सनसित ह्वाइट हाउसमा ओहोदाको प्रमाणपत्र बुझाउनुभयो (जुन २४, १९७३)। उहाँभन्दा धेरैअघि वासिङटन पुगेका भारतीय राजदूत टिएन कौल भने महिनौंअघिदेखि पालो कुरेर बसिरहेका थिए। उनले खनाललाई भेटेर सोधेछन्, 'मेरो पालो कहिले आउलाजस्तो लाग्छ, केही बुझ्नुभयो कि?'
खनालले भन्नुभयो, 'खै, तपाईंले त अलि कुर्नै पर्नेजस्तो बुझेँ।'
खनाललाई स्वागत गर्दै आफ्नो लिखित वक्तव्यमा राष्ट्रपति निक्सनले भनेका थिए, 'मेरो प्रशासन विश्व शान्तिको नयाँ संरचना निर्माण गर्न कृतसंकल्प छ र त्यसमा नेपालका राजा र जनताले दिएको योगादनको हामी हार्दिक प्रशंसा गर्छाै।'
त्यस भनाइको अर्थ बुझाउँदै मलाई खनालले पछि भन्नुभएको थियो, 'रूसलाई आफ्नो एक नम्बरको प्रतिपक्षी मानेर अमेरिकाले चीनसित मित्रता र सहकार्य गर्ने नयाँ नीति अख्तियार गर्दै थियो। त्यसैलाई निक्सनले 'विश्व शान्तिको नयाँ संरचना' भनेका हुन्।
त्यतिबेला चीनसितको सम्बन्धसूत्रका रूपमा अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको थियो, तर त्यो भूमिका खेल्दा भारतले कारबाही गर्ने खतरा देखेर हामीले गर्न सकेनौं। पाकिस्तानको भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरले त्यताबाट सुटुक्क चीन गई निक्सनको चीन भ्रमणको तयारी गरेका थिए। नेपालको भू–राजनीतिक संवेदनशीलता अमेरिकीहरूले बुझेका थिए। हामीले व्यक्त गरेको असमर्थतालाई लिएर चित्त दुखाएका थिएनन्। हामी रूसतिर ढल्केका छैनौं भन्ने उनीहरूले बुझेका थिए। त्यही कुरालाई निक्सनले 'नेपालका राजा र जनताले दिएको योगदान' भनेको हो।' निक्सनले दिएको भाषणको कपी खनालले मलाई पढाउनुभयो। 
खनाललाई व्यक्तिगत रूपमा प्रशंसा गर्दै राष्ट्रपति निक्सनले आफ्नो लिखित भाषणको अन्तिम प्याराग्राफमा भने, 'तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्तिलाई श्री ५ ले अमेरिकाका लागि राजदूत नियुक्त गर्दा संयुक्त राज्य अमेरिका नै विशेष रूपमा सम्मानित भएको छ। तपाईंको नियुक्ति हाम्रा दुई देशबीचको सम्बन्धमा एउटा कोसेढुंगा हो।'
अमेरिकाले तिब्बती खम्पाहरूलाई सिआइएमार्फत तालिम र हतियार दिएर चीनविरुद्ध काण्डहरू मच्चाउन गोप्य रूपमा मद्दत गरिरहेकोे थियो। त्यो काममा नेपालको भूमि प्रयोग हुनु हाम्रो राष्ट्रिय हितमा थिएन। आखिर सन् १९७५ (२०३२ साल) तिर नेपालले मुस्ताङ, डोल्पा, हुम्ला आदि जिल्लामा उनीहरूमाथि कारबाही गरेर उनीहरूका हतियार खोस्यो र 'शान्तिपूर्ण ढंगले नेपालमा बस्ने'मात्र अनुमति दियो।
त्यसताका खनालले अमेरिकी सरकार र तिनका एजेन्सीहरूलाई के भनेर सम्झाउनुभयो भने, 'नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ। हामी हाम्रा छिमेकी भारत र चीनलाई अप्ठ्यारो पारेर अमेरिकाको हित गर्ने काममा संलग्न हुन सक्दैनौं। यो कुरा तपाईंहरूले बु‰नुपर्छ। जहाँसम्म खम्पाहरूको विषय छ, अब त अमेरिका स्वयं चीनसित सम्बन्ध सुधार्ने प्रयासमा छ भने खम्पाहरूलाई प्रयोग गरिरहने आवश्यकता नै के छ र?'
खनालको यो गम्भीर कूटनीतिक तर्कबाट अमेरिकीहरूको चित्त बुझ्यो। 
यस प्रसंगमा मेरो किताबमा नपरेको एउटा प्रसंग यहाँ चर्चा गर्नु सान्दर्भिक देख्छु। संयुक्त राष्ट्र संघ ज्यादै 'पश्चिम–परस्त' र अझ 'अमेरिका–परस्त' भयो भन्ने रूसी सिकायत थियो। त्यो कुरा बिपी संयुक्त राष्ट्र संघ जाँदा पनि खु्रश्चेवले उहाँसित उठाएका थिए र तीनवटा महासचिव राख्ने प्रस्ताव गरेका थिए। त्यो प्रस्ताव अव्यावहारिक भनी नेपालले त्यसमा सहमति जनाएन। बिपीको भाषणमा नैै त्यस विषयमा असहमति आएको छ। त्यो थियो सन् १९६० को कुरा। पछि सन् १९६९ तिर एक दिन नेपालका लागि रूसी राजदूत परराष्ट्र सचिव खनाललाई भेट्न आएर के भन्यो भने, 'तपाईं संयक्त राष्ट्रसंघको महासचिव हुनोस्, रूसले समर्थन गर्छ।'
रूसको त्यस्तो प्रस्ताव आउनामा नेपालको स्पष्ट र दृढ असंलग्नताका साथै यदुनाथ खनालको व्यक्तिगत क्षमता र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित व्यक्तित्व पनि थियो। उहाँले 'यो गम्भीर कुरा हो, यसमा म केही सोचेर र सरसल्लाह गरेर जवाफ दिऊँला' भन्नुभयो। 
खनाललाई थाहा थियो अमेरिकाले नचाहे राष्ट्र संघमा केही हुँदैन। सुरक्षा परिषदमा पाँच स्थायी सदस्यमध्ये चार एकातिर (अमेरिकी पक्षमा) हुन सक्थे। त्यसकारण यस विषयमा उहाँले नेपालस्थित अमेरिकी राजदूत क्यारोल सी लेसलाई बोलाएर कुरा गर्नुभयो। लेसले कूटनीतिक शैलीमा खनालको प्रशंसा गरिन्, तर यस्ता विषयमा व्यक्तिको व्यक्तिगत क्षमताभन्दा देशको राजनीतिक व्यवस्था, सम्बन्ध र हैसियतले काम गर्ने कुरा गरिन्। खनालले कुरो बुझ्नुभयो। त्यो प्रस्तावको चर्चा बाहिर ल्याउनुभएन।
निक्सनले आफ्नो स्वागत भाषणमा 'तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति' भनेर भन्नुको पछाडि यही कुरा थियो कि, अमेरिकीहरूले रूसी प्रस्तावको बारेमा थाहा पाएका थिए। 
माओपछिको चिनिया चुनौती र खनाल
खनाल वासिङटनमा धेरै बस्न चाहनुभएन। आफ्नी श्रीमतीको स्वास्थ्यका कारण नेपालै फर्कन चाहनुभयो। राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल आएका बेला त्यो इच्छा जाहेर गरी नेपाल फर्केर लोकसेवा आयोगको अध्यक्ष नियुक्त हुनुभयो। राजा वीरेन्द्र उहाँलाई खाली राख्न चाहन्नथे। 
खनालले अमेरिकाको राजदूत पदबाट फर्केपछि लेखेको लामो लेख 'अमेरिकी परराष्ट्र नीतिमा नयाँ दिशा : नेपालका लागि सम्भावित निहितार्थहरू' त्यतिखेर मननीय थियो। आज अमेरिकाले 'पिभट टु एसिया' वा 'रिब्यालेन्स' भनेर आफ्नो विदेश नीतिमा पूर्वी एसियाली समायोजनको कुरा गरिरहेछ। यस नयाँ सन्दर्भमा हामीले त्यसको अध्ययन गरेको खोइ? खनालको सम्झनाले घचघच्याउँछ। 
जब चीनमा माओ त्से तुङको मृत्यु भयो, त्यहाँ नयाँ युगको प्रारम्भ हुने संकेत देखियो। त्यसले राजनीतिक, आर्थिक कूटनीतिक कोल्टो फेर्न थाल्दा नेपालको के कस्तो प्रतिक्रिया हुनुपर्छ भन्ने विषय बु‰ने व्यक्ति यदुनाथ खनाललाई नै ठहराई चीन पठाइयो।
उहाँले चीनका विषयमा गरेको विश्लेषणात्मक प्रतिवेदनका विषयमा मैले लेखेको उहाँको जीवनी र विचारको पन्ध्रौं अध्यायमा केही उल्लेख छ। म त्यसलाई नदोहोर्यााइकन यतिमात्र भन्छु, उहाँले माओपश्चातको चीनको परराष्ट्र नीतिमा क्रान्तिकारिता, सैन्यशक्ति र आधुनिकीकरणका तीन धार रहेको देख्नुभयो। आधुनिकीकरण भनेको चीनको आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक– यी चार क्षेत्रमा गरिने परिवर्तनको कार्यक्रम थियो।
सन् १९८२ मा खनालले दुइटा भविष्यवाणी गर्नुभएको थियो। एक, चीनको पश्चिमामुखी परराष्ट्र नीति धेरै वर्षसम्म चलिरहनेछ भन्ने। दोस्रो, चीनको प्रतिव्यक्ति औसत आय दुई दशकमा चार गुना वृद्धि हुनेछ भन्ने। त्यो २००२ मा आइपुग्दा ठिक साबित भयो। आज त चीन झन् धेरै अघि पुगेको छ।
चीनको नेपाल र भारतसितको सम्बन्धमा खनालले भनेको कुराचाहिँ आजका नेपालीहरूले मनन गरिराख्नु अत्यावश्यक ठानेकाले त्यसलाई म यहाँ प्रस्तुत गर्छु। उहाँको विचारमा 'चिनियाहरू यथार्थवादी छन्। उनीहरू नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सम्बन्ध र चीन–भारत सम्बन्ध तीन अलग–अलग कुरा हुन् भन्ने मान्छन्। हरेक सम्बन्ध विकसित हुनुको आफ्नै औचित्य वा तर्क छ। अनि हरेक सम्बन्धलाई आफ्नै–आफ्नै मूल्य र महŒवका आधारमा हेरिनुपर्छ। चिनियाहरू नेपाल–चीन मैत्रीलाई महत्व दिन्छन्, हाम्रो स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान गर्छन्। यस विषयमा उनीहरूका नेताले विशेष ध्यान पनि दिन्छन्। तर उनीहरूले नेपाल–चीन सम्बन्धलाई जतिसुकै महत्व दिए पनि त्यो नेपाल–भारत मैत्रीको स्थानापन्न हुन सक्दैन भन्ने पनि मानेका छन्। साथै त्यो भारत–चीन मित्रताको स्थानापन्न हुन सक्दैन भन्नेमा पनि उनीहरू स्पष्ट छन्। चिनियाँहरू आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्ना मित्रहरूको उचित सम्मानका साथ उनीहरूसित स्वतन्त्रतापूर्वक मित्रता बढाउन चाहन्छन् र हामीले पनि भारतसितको सम्बन्धमा पनि त्यसै गरांै भन्ने अपेक्षा गर्छन्।'
यदुनाथ खनालबाट प्रेरणा पाएर मैले व्याकरण पढेँ। अंग्रेजीमा एमए गरेँ। नेपालको परराष्ट्रनीतिबारे त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागमा कोर्स पढेँ। संयुक्त राष्ट्र संघमा राजदूत पनि भएँ। तर खनालको जीवनी लेख्ने क्रममा नेपालको परराष्ट्रनीतिको जटिलता र संवेदनशीलताबारे जेजति बुझ्ने मौका पाएँ त्यसबाट मलाई महसुस भयो, म यदुनाथ खनालको एक प्रतिशत पनि हुन सकिनँ। उहाँ त नेपालको परराष्ट्र नीतिलाई बौद्धिकीकरण गर्ने कूटनीतिक उपनिषदका एक महान ऋषि हुनुहुन्थ्यो। त्यस्ता व्यक्तिको सान्निध्य पाउनु मेरो अहोभाग्य थियो।
बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

काइँलादाइको पथमा

काइँलादाइको पथमा

महिला आन्दोलनमा शशी श्रेष्ठ पनि चर्चित नाम हो। चौथो महाधिवेशन, एकता केन्द्र हुँदै अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य रहेकी श्रेष्ठ आफ्ना काइँला दाजु तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठको प्रेरणाले...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

महानायकको एक्लो दसैं

महानायकको एक्लो दसैं

अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न...