Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

'टम ब्वाई' कमान्डर

  • २४ फागुन, २०७०
  • अजय फुयाँल/सुरेन्द्र पौडेल
  • DISQUS_COMMENTS
(1 Vote)
'टम ब्वाई' कमान्डर
साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध महिला।

उनी हिँड्न सक्दिनन्। बोल्न सक्दिनन्। लेख्न सक्दिनन्। खाना खाने बेडमै हो। कोठाभित्रै रहेको शौचालयधरि जान सक्दिनन्। दिसापिसाब आए कोपरामै गर्छिन्। उनलाई खुवाइपियाइ, नुहाइधुवाइ, दिसापिसाब गराउने सबै काम सहयोगी इन्दिराले गर्छिन्। 
जनआन्दोलन २०४६ की एक कमान्डर सहाना प्रधानले यसरी दिन बिताउन थालेको डेढ वर्ष भयो।
'डेढ वर्ष अघिसम्म उहाँ कागजमा लेखेर कुराकानी गर्नुहुन्थ्यो,' छोरा उमेश आमा सहानाको अवस्था बताउँदै थिए, 'बाथ रोगले च्यापेपछि अहिले हिँड्न, बोल्न सक्नुहुन्न। धेरै समय टोलाएर बिताउनुहुन्छ।' 
उनको स्वास्थ्य स्थिति बुझ्न दिनहुँ शुभचिन्तक आउँछन्। कतिलाई चिनेझैं गर्छिन्, कतिको वास्तै गर्दिनन्। कतिलाई देख्नेबित्तिकै रुन थाल्छिन् त कुनैबेला पाहुना फर्कनासाथ क्वाँक्वाँ रुन्छिन्। छोरा उमेशको मनमा भने सकेसम्म आमाको आँखामा आँसु देख्न नपरोस् भन्ने छ। आमालाई भेट्न चाहने सबैलाई उनी रोक्न पनि सक्दैनन्। त्यही भएर बिहान उठ्नेबित्तिकै 'घरमा हुलमुल नभइदियोस्' भन्ने कामना गर्छन्।
नेकपा (एमाले) का नेता वामदेव गौतम केही दिनअघि उपप्रधान तथा गृहमन्त्री भएलगत्तै सहानालाई भेट्न सानेपास्थित उनको घर पुगेका थिए। उनको स्वास्थ्य स्थिति बुझ्न सबैभन्दा बढी पुग्नेमा गौतम एक हुन्। दसैंको टीकाको दिन त कहिल्यै बिराउँदैनन्।
'आमा, मलाई आशीर्वाद दिनोस्,' गौतम बेडमा सुतिरहेकी सहानाछेवै गएर बसे।
उनी सहानालाई 'आमा' भनेरै सम्बोधन गर्छन्। सहानाले केही बेर गौतमको अनुहार हेरिन्। टोलाइरहिन्। गौतमले उनको टाउकोमा हात राखेर कपाल सुम्सुमाए। उनी मुसुक्क हाँसिन्। बोलीचाहिँ फुटेन। 

एमाले संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै केपी ओली पनि सहानालाई भेट्न पुगेका थिए। एमाले अध्यक्ष झलनाथ खनाल पनि प्रधानमन्त्री भएपछि गएका थिए। त्यतिबेलासम्म उनी अलिअलि बोल्न सक्ने थिइन्। 
'ठाउँमा त पुगियो दिदी,' झलनाथले दुःख पोखे, 'तर, गाह्रो रहेछ।'
'राम्रो काम गर्नू, तर नचिप्लिनू,' उनले थुम्थुमाइन्, 'त्यहाँ पुगेपछि धेरैजना चिप्लिँदा रहेछन्।'
सानेपास्थित साढे दुईतले घरको एउटा कोठामा सीमित छ अहिले सहानाको जीवन। मुटु र बाथको रोगले थलिएकी ८७ वर्षे कम्युनिस्ट नेतृको जीवन परिवार र इन्दिराको साथले चलेको छ। परिवारसँगको संवाद पनि भावना र आँखाको इशारामा मात्र हुन्छ। 
जीवनको सक्रिय सात दशक समाज र देशको मुहार फेर्ने अभियानले राजनीतिमा होमिएकी उनी तीन वर्षदेखि संन्यासको अवस्थामा छिन्। कुनै बेला दैनिक १८ घन्टा हिँड्ने, पार्टीको प्रचारप्रसारमा नरोकी घन्टौं भाषण गर्ने सहाना आफ्नो बलमा हलचल गर्न सक्दिनन्। आफ्नै पार्टीभित्र 'मन्दिरको देउता' जस्तो बनेकी छन्। कुनै नेतालाई गाह्रो परे आशीर्वाद लिन उनकैमा जान्छन्। सफल भएर इच्छाएको ठाउँमा पुगे पनि आशीर्वाद लिन उनैकोमा पुग्छन्। 
...
आर्थिक रूपमा समृद्ध असनका व्यापारी शंकरलाल र रम्भादेवी प्रधानकी तेस्रो सन्तान हुन्, सहाना।
विसं १९८४ असार २७ गते जन्मिएकी उनी कम्युनिस्ट आन्दोलनमा लाग्नु आफैंमा आश्चर्यजनक थियो। बुबाको बर्मामा व्यापार थियो। उनी चुरा, पोते, टोपी, हुक्का, कोपरा, पौभा, थांका बर्मा लगेर बेच्थे। आमाको मृत्युपछि सहाना बाबुको साथमा बर्मा पुगेकी थिइन्। उनी त्यतिबेला पाँच वर्षकी थिइन्। नेपालमा छँदा हजुरबुबाले उनको नाम 'चिनी' राखिदिएका थिए। बोलाउँदा 'बद्रीफूल'।
बर्माबाट नेपाल फर्केपछि नयाँ नाम पाइन्– सहाना।
बर्मा पुगेपछि नेपालसँग उनको सम्बन्ध विच्छेदजस्तै भएको थियो। त्यही बसाइँसराइ सहाना, उनकी दिदी साधना (मनमोहन अधिकारीकी पत्नी) तथा दाजु र भाइलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर बन्यो।
त्यतिबेला नेपालमा सर्वसाधारणले पढ्न पाउनु ठूलो कुरा थियो। अझ महिलालाई त पढ्ने व्यवस्थै थिएन। राणा परिवारकै एक आफन्तले बर्मामा नेपाली स्कुल खोलेका थिए। सहानाले दिदी र दाजुभाइसँगै त्यही स्कुलमा कखरा पढेकी हुन्।
बर्मामा पाँच कक्षा पढ्दासम्म सहानालाई आफू नेपाली भएको थाहा थिएन। नेपाल देशबारे समेत थाहा थिएन। यसबीच कहिले नेपाली स्कुल त कहिले बर्मेली स्कुल र कहिले मद्रासी स्कुलसमेत पढ्न भ्याइन्। मद्रासी भाषा सिक्ने अवसर त्यहीँ जुर्योस।
'म अलि 'टम ब्वाई' खालकी थिएँ,' आफ्नो जीवनी 'सहाना प्रधान : स्मृतिका आँखिझ्यालबाट' मा उनले आफ्नो बाल्यकालबारे भनेकी छन्, 'घरेलु काममा मेरो ध्यानै गएन।' 
सन् १९३२ मा जवाहरलाल नेहरु बर्मा आउने चर्चा चल्दा सहाना सानै थिइन्। छोरी इन्दिरालाई लिएर नेहरु बर्मा पुग्दा ठूलै भिड जम्मा भएको थियो। त्यतिबेला सहाना रुखमा चढेर नेहरु र इन्दिरालाई हेरिरहेकी थिइन्। सायद त्यहीबेला उनमा राजनीतिक चेतना प्रवेश गरेको थियो। 'त्यो बेला विशेष गरेर मलाई हाम्रो देश नेपाल भनेर थाहा थिएन। म नेपाली हुँ भन्ने पनि थाहा थिएन,' पुस्तकमा उनले लेखेकी छन्। 
१९९७ सालमा चार सहिदलाई राणाहरूले मारेको खबर बर्मा पुग्यो। त्यसपछि बल्ल सहानाले थाहा पाइन्, आफ्नो देशको नाम। र, आफ्नो परिचय। त्यतिबेला दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो। अखबारभरि विश्वयुद्धका समाचार छापिन्थे। उनी बुबासँगै अखबारका पाना पल्टाउँथिन्। विश्वयुद्ध चर्कंदै गएपछि उनीहरूलाई बर्मा असुरक्षित लाग्न थाल्यो। 
अनेक हन्डर खाँदै २००१ असारमा प्रधान परिवार नेपाल आइपुग्यो।
...
२००३ सालमा सहाना केही राजनीतिक नेताहरूको सम्पर्कमा आइन्। नेताहरूले राणाविरोधी आन्दोलनमा सहभागी हुन प्रस्ताव गरे।
'पढ्न पाउने भए मात्र,' उनले सर्त राखिन्। उनको सर्त स्वीकार भयो।
उनले पर्चा बनाउने जिम्मा पाइन्। घरका सबै सदस्य सुतिसकेपछि उनी पर्चा लेख्न थाल्थिन्। २००४ वैशाख १७ गते आन्दोलनमा ओर्लिनुपर्ने भयो। पर्चा छरेर भाषण गर्नुपर्थ्याे। 'नागरिक अधिकार दिनैपर्छ, गोलीदेखि डराउन्नौं,' जमलमा उनले नारा लाइन्। त्यहीँ उनको भेट पहिलोपटक पुष्पलाल श्रेष्ठसँग भयो। नारा लगाउँदै मखन पुगेपछि उनी पक्राउ परिन्। उनलाई सात दिन महाराजगन्ज ब्यारेकमा राखियो। त्यसपछि तत्कालीन प्रधानमनत्री पद्मशमशेरले दरबारमा बोलाए। 
'केटीहरूले पनि पढ्न पाउनुपर्छ,' बर्मामा सात कक्षासम्मको अध्ययन सकेकी उनले पद्मशमशेरसामु नागरिक अधिकारको माग राखिन् । 
'विचार गरिनेछ,' पद्मशमशेरले टाउको हल्लाए। 
'कहिलेसम्म?' उनी बम्किइन्। 
'१५ दिनभित्र,' जवाफ आयो। 
नभन्दै, १५ दिनमा महिलाका लागि दरबार स्कुलमा प्राथमिक तहको पढाइ सुरु भयो, जुन अहिले डिल्लीबजारमा कन्या स्कुलका रूपमा परिचित छ।
त्यही वर्ष सहानाले प्राइभेट एसएलसी थिइन्। पहिलोपटक सहानासहित चार महिलाले प्राइभेट एसएलसी दिएका थिए। सबै पास भए। अन्य महिलामा उनकी दिदी साधना, अंगुरबाबा जोशी र भुवन सिंह थिए। 
महिलाको पक्षमा आवाज उठाउन २००४ सालमा नेपाल महिला संघ निर्माण भयो। मंगलादेवी अध्यक्ष थिइन् भने सहाना सदस्य। उनको राजनीतिक सक्रियता बढ्दै गएको परिवारलाई भने चित्त बुझेको थिएन। बुबा शंकरलालले चार सन्तानलाई 'राजनीतिक वनबास' का रूपमा लखनउमा उच्च शिक्षा अध्ययनका लागि पठाउने निर्णय गरे। पढाइमा व्यस्त भए राजनीति र अधिकारको भुत उत्रिने आशा थियो, परिवारको। सहाना मेडिकल साइन्स पढेर डाक्टर बन्ने सपनासहित लखनउ पुगिन्। तर, बिरामी भएर साइन्स पढ्न सकिनन् र मानविकीमा भर्ना भइन्। लखनउको इशावेल थर्वल कलेजबाट आइए पास गरेर काठमाडौं फर्किइन। २००९ सालमा उनले बिए पास गरिन्। त्यही बेला उनैको सक्रियतामा महिला प्रौढ स्कुल खोलियो। 
कांग्रेसभित्र राजालाई हेर्ने दृष्टिकोणदेखि प्रजातन्त्रप्रतिको धारणासम्ममा वैचारिक मतभिन्नता बढेपछि एउटा समूहले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्योत। पुष्पलाल कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता थिए। सहाना त्यही वर्षबाट कम्युनिस्ट पार्टीमा लागिन्। अर्को वर्ष जिल्ला कमिटी सदस्य भइन्। २००९ सालमा पार्टी विशेषको कामले एक महिनाका लागि सहाना भारत गइन्। फर्केलगत्तै पुष्पलालले बिहेको प्रस्ताव राखे। परिवारको इच्छाविपरीत २०१० माघ २ गते उनले पुष्पलालसँग बिहे गरिन्। त्यसपछि पढाइ रोकियो। पूर्णकालीन रूपमा उनी नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिन्। 
२००८ सालमा नगरपालिका चुनाव घोषणा भयो। तत्कालीन प्रशासनले महिलालाई मतदानबाट वञ्चित गर्ने निर्णय गरेको थियो। महिलालाई पनि मतदानको अधिकार चाहियो भनेर ठूलो आन्दोलन भयो। सहाना आन्दोलनमा उत्रिइन्। नेपाल महिला संगठन तर्फबाट उनी राजा त्रिभुवनसँग कुराकानी गर्न दरबार पुगिन्। अन्ततः अधिकार प्राप्त भयो। मंगलादेवीसँग मतभिन्नता भएपछि सहानाले २००८ सालमा नेपाल महिला संगठन खोलेकी थिइन्। उनी संगठनकी महासचिव थिइन्।
बिहेपछि पनि सहानाको राजनीतिक सक्रियता कम भएन। २०१० सालमा अञ्चल कमिटीमा थिइन्। पार्टी प्रतिबन्धित थियो, पुष्पलाललगायत नेता भूमिगत थिए। लुकिछिपी चिठीपत्र ठाउँठाउँ पुर्याीएर उनले पार्टीलाई सहयोग गरिरहिन्। २०१३ सालमा पार्टीमाथिको प्रतिबन्ध फुकेपछि उनी खुलेर प्रचारप्रसारमा लागिन्। जेठाजु गंगालाललाई तत्कालीन राणा सरकारले मृत्युदण्ड दिँदा पुष्पलाल परिवारको सर्वस्वहरण गरेको थियो। उनले परिवार चलाउन त्यतिखेर कन्या मन्दिर, शान्ति निकुञ्जलगायत स्कुलमा पढाउन थालिन्। २०१५ सालको निर्वाचनमा जागिरबाट एक महिना बिदा लिएरै उनी प्रचारमा लागिन्। पाटन, कीर्तिपुर र काठमाडौंको प्रचार उनले हेरेकी थिइन्।
यसबीच २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिए। यो घटनाले फेरि उनको र पुष्पलालको विछोड गरायो। पुष्पलाल भारत गए, उनले नेपालमै बसेर छोराछोरी सम्हालिन्। त्यही वर्ष त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरसमेत गरिन्। २०२० देखि ०२१ सालसम्म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाइन्। पोखराबाट फर्केर पद्मकन्या क्याम्पस र ०३० सालबाट त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउन थालिन्। विश्वविद्यालयमा उनको जिम्मेवारी महिला छात्रावासको वार्डनका रूपमा पनि थियो। 
राजनीतिमा लागेकी शिक्षिका सहानालाई २०३२ सालको सिक्किम काण्डले नतान्ने कुरै थिएन। सिक्किम भारतमा गाभिँदा नेपालमा पनि विरोध भएको थियो। विद्यार्थी आन्दोलनमा उत्रिए। सहाना सक्रिय भइन्। त्यही अभियोगमा तत्कालीन प्रशासनले अर्जुननरसिंह केसी, हिरण्यलाल श्रेष्ठलगायत करिब पाँच दर्जन नेतालाई बर्खास्त गर्दा सहाना पनि परिन्।
'जागिर खुस्किए पनि आमा आफ्नो काममा पूरा जिम्मेवार हुनुहुन्थ्यो,' त्यतिखेर बिएस्सी अन्तिम वर्ष अध्ययन गर्दै गरेका सहानाका पुत्र उमेश सम्झन्छन्, 'जागिरबाट बर्खास्त भएको दुई दिनपछि उहाँ घरमा परीक्षाको कापी जाँचिरहनुभएको थियो। मैले बर्खास्त भइसकेको जागिरको काम किन गरेको भन्दा उहाँले यो मेरो जिम्मेवारी हो भनेर पूरा गर्नुभयो।' 
दुई वर्षपछि सहानाकी छोरी उषाको बिहे बनारसमा भयो। नेपाली केटासँगै विवाह भए पनि पुष्पलाल भारतमा भएकाले बनारसबाट बिहे गरिएको थियो। त्यसैका भारत जाँदा सहानाले २०३४ सालमा दिल्ली विश्वविद्यालयमा पिएचडीका लागि भर्ना भइन्। तर, २०३५ साउन ७ मा पुष्पलालको मृत्यु भएपछि उनले अर्थशास्त्रमा पिएचडी गर्ने सपना त्यागिन्। २०३६ सालमा छोरीबाट नाति जन्मेपछि नेपाल आएकी साहाना त्यसपछि भारत फर्किइनन्। 
त्यसपछि सुरु भयो उनको सक्रिय राजनीतिको दोस्रो इनिङ।
...
देशमा जनमत संग्रहको चहलपहल थियो। त्यही बेला राजनीतिबाट टाढिइसकेकी सहानालाई पुष्पलालको विरासत थाम्न सहकर्मीले प्रोत्साहित गरे। उनी नयाँ दिल्लीमै रहँदा भिनाजु मनमोहन अधिकारीले आफ्नो नेतृत्वमा पार्टी फुटाएर नयाँ पार्टी बनाइसकेका थिए। उनलाई संस्थापन पक्षको नेतृत्व लिने दबाब आएको थियो। पति वियोगको शोकबाट मुक्त हुन नभ्याउँदै पार्टीको नेतृत्व लिने क्रममा जनमत संग्रहमा सहाना निकै व्यस्त भइन्।
छोरीको बिहे भइसकेको र छोराले पनि मेडिकल रिप्रिजेन्टेटिभको जागिर पाइसकेकाले उनलाई पारिवारिक रूपमा राजनीतिमा लाग्न कुनै तगारो थिएन। ढुक्क भएर पूरा देश घुमेर आमसभाहरूमा भाषण गर्दै बहुदलको पक्षमा जनमत जुटाउन थालिन्।
जनमत संग्रहमा बहुदल पराजित भएपछि नेपाल कम्युनिस्ट पार्टीले धाँधली भएको ठहर गर्योब। सहानालगायत नेताले परिणम नमान्ने चेतावनी दिए। जनताबाट समेत निरंकुशता अनुमोदन गराइसकेको पञ्चायतलाई सहानाहरूको चेतावनी सह्य हुने कुरै थिएन। तत्काल आमसभास्थलबाटै उनीहरू सबैलाई पक्राउ गरियो। राजद्रोहको अभियोग लगाएर उनलाई तीन महिना महिला जेलमा राखियो।
राजनीतिक जीवनमा विशेष परिस्थितिमा केही दिन सुरक्षित सेल्टर लिनुबाहेक कहिल्यै भूमिगत नभएकी सहाना लामो समय जेल परेको त्यो पहिलोपटक थियो। पुष्पलालले देशको मुख्य शत्रु पञ्चायत र राजतन्त्र भएकाले त्यसलाई ढाल्न पञ्चायतइतरका सबै मिल्नुपर्ने तर्क राखेका थिए। सहाना त्यसमा सहमत थिइन। २०४२ सालमा कांग्रेसले सत्याग्रह गर्दा उनले मिलेर जाने प्रस्ताव राखिन्। कांग्रेसले महत्व दिएन। तथापि स्वतन्त्रताको आन्दोलनमा उनी होमिइरहिन्। पक्राउ परिन्। चार महिना जेलमा बिताइन्। 
२०४६ सालमा पञ्चायत ढाल्ने निर्णायक आन्दोलन भयो। त्यसको तयारी भने एक वर्ष अघिदेखि सुरु भइसकेको थियो। कांग्रेस पनि कम्युनिस्टको सहयोगविना पञ्चायत ढाल्न नसक्ने निष्कर्षमा पुगिसकेको थियो। यही निष्कर्षका आधारमा दुई विपरीत ध्रुवका नेताहरूबीच घुलमिल सुरु भयो।
त्यही सेरोफेरोमा एकदिन सहानाले गणेशमान सिंहलाई सानेपास्थित आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। गणेशमानले पहिलोपटक कांग्रेस र कम्युनिस्ट मिल्नुपर्ने आवश्यकता स्वीकार गरे।
'गणेशमानजीले त्यो बेला हेर सहाना हामी नमिली राजतन्त्र र पञ्चायत ढाल्न सकिन्न। तर, तिमी कम्युनिस्टहरू आफैं मिल्न सक्दैनौ, धेरै चिरा परेका छौं। कसरी मिल्न सकिन्छ? तिमीहरू सबै मिलेर आउनुपर्योि। त्यसपछि सबै प्रजातन्त्रवादीको मोर्चा बनाएर पञ्चायतविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नुभएको थियो,' उक्त वार्तालापका प्रत्यक्षदर्शी उमेशलाल भन्छन्, 'त्यसपछि कम्युनिस्ट पार्टीहरू मिलेर आमाको नेतृत्वमा संयुक्त वाम मोर्चा बनेको हो।'
सात कम्युनिस्ट पार्टी मिलेर बनेको संयुक्त वाममोर्चाको अध्यक्ष तोकिइन्, सहाना। 
कम्युनिस्टहरू वाम मोर्चाका रूपमा एक भएपछि ०४६ माघमा चाक्सीबारीमा भएको भेलाले गणेशमानको सर्वोच्च नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेको थियो। समग्र आन्दोलनको सर्वोच्च नेता गणेशमान भए पनि वाम मोर्चा तर्फबाट भने सहानाले आन्दोलनको अगुवाइ गरेकी थिइन्। केही दिनमा उनी पक्राउ परेपछि राधाकृष्ण मैनालीले वाम मोर्चाको नेतृत्व सम्हालेका थिए। सहानाका छोरा मैनालीको मुख्य सहयोगीका रूपमा रातभर मोटरसाइकलबाट ठाउँठाउँमा पर्चा पुर्याेउन सक्रिय भएका थिए।
सहाना, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनालीसँगको छलफलपछि राजा वीरेन्द्रले चैत २६ मा प्रजातन्त्र पुनर्स्थापनाको घोषणा गरे।
आन्दोलनको नेतृत्व गरेकाले महत्वपूर्ण समयमा सरकारमा गएर काम गर्नुपर्छ भनेर सबैले कर गरेपछि सहानाले उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी स्वीकार गरिन्। पहिलोपटक मन्त्री हुँदा क्वार्टरमा नबसी आफ्नै निवासमा बसेकी थिइन्।
२०४७ मा तत्कालीन दुई कम्युनिस्ट पार्टी नेकपा (मार्क्सवादी) र नेकपा (माले) एकीकरण भई नेकपा (एमाले) बन्यो। पहिलो आमनिर्वाचन २०४८ मा सहाना नेकपा एमाले तर्फबाट काठमाडौं ४ मा विजयी भइन। ०५१ मा काठमाडौं ६ बाट जितेकी उनको राजनीतिले २०५४ सालमा नयाँ मोड लियो। महाकाली सन्धिको विषयमा तत्कालीन नेकपा एमालेमा तीव्र धु्रवीकरण हुँदा सहाना, वामदेव गौतमलगायत नेता त्यसको विपक्षमा थिए। बाँकी पार्टी सन्धिको पक्षमा। विवाद चुलिँदै जाँदा पार्टीले सहानासहित १० नेतालाई कारबाही गर्योो। पार्टीभित्र अल्पमतको कदर नभएको र पार्टीले राष्ट्रियताको मुद्दामा सम्झौता गरेको भन्दै उनकै अध्यक्षतामा त्यही वर्ष एमालेबाट फुटेर वामदेव गौतमसहितको समूहले नेकपा माले गठन गर्योद। ०५६ को आमनिर्वाचनमा माले तर्फबाट काठमाडौं ८ को उम्मेदवार हुँदा सहानाको पक्षमा जित थिएन। उनको पार्टीले पनि एउटै सिट जित्न सकेन।
दोस्रो जनआन्दोलनमा बुढ्यौलीका बाबजुद सहानाको सक्रियतामा कुनै कमी आएन। लोकतन्त्र स्थापनापछि पार्टीले सहानालाई फेरि सरकारमा पठाउने निर्णय गर्योा। ८० वर्षको उमेरमा सहानालाई फेरि सरकारमा जाने इच्छा थिएन। तर, पार्टी र साथीहरूकै करकापले परिवारको असहमतिका बाबजुद उनी परराष्ट्रमन्त्री भइन्। उनकै कार्यकालमा विदेशी कूटनीतिज्ञलाई देशका नेता तथा उच्चओहोदाका अधिकारीले सोझै भेट्न नपाउने नियम ल्याइएको थियो। विदेशीलाई भेट्दा परराष्ट्रको स्वीकृति लिर्नैपर्ने 'कूटनीतिक आचारसंहिता' उनले बनाइन्। 
२०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पोलिटब्युरो सदस्य भएकै कारण उनलाई पार्टीले समानुपातिक सभासदको सूचीमा राखेन। 'सायद त्यहाँबाट आमाको मन अलि कुँडियो। उहाँ कहिल्यै केही गुनासो गर्नुहुन्न, तर त्यो निर्णयमा उहाँ खुसी नभएजस्तो मलाई लाग्छ,' छोरा उमेश भन्छन्।
...
सहानाको कोठाको टेलिभिजन प्रायः खुलै हुन्छ। जब नेपाली च्यानलमा समाचारको धुन बज्छ, उनी फर्केर टेलिभिजनको पर्दातिर आँखा डुलाउँछिन्। देश–विदेशमा के भइरहेको छ भन्ने चाख लिएर सुन्छिन् र हेर्छिन्। तर, समाचारको विषयलाई लिएर उनी प्रतिक्रिया जनाउन सक्दिनन्।
'टेलिभिजनमा समाचार आउनेबित्तिकै हेर्नुहुन्छ। अन्य कुरा हेर्न उहाँ चाख दिनुहुन्न,' छोरा उमेश भन्छन्।
बोलीले साथ दिएका बेला उनी प्रतिक्रिया जनाउँथिन्। भेट्न आउनेलाई चिन्ता जाहेर गर्थिन्। आमामा राजनीतिप्रति नै वितृष्णा जागेको उमेशको बुझाइ छ। उनी तीन वर्षअघिको कुरा सम्झन्छन्, जतिबेला सहानाको दोस्रो 'जंकू' गरिँदै थियो। 
'जंकूमा कोही नेतालाई नबोलाऊ,' छेवैमा आएर सहानाले भनिन्। 
'केहीलाई त बोलाउनुपर्ला,' उमेशले भने। 
'होइन, कसैलाई नबोलाऊ। साथीभाइ, नातेदार मात्र,' सहानाले प्रस्ट पारिन्। 
लामो समय पार्टीको नेतृत्व लिनुका साथै तीनपटक मन्त्री भए पनि सहानालाई राजनीति सुरु गर्दाको आदर्शअनुरुप काम गर्न नसकेको बोध भइरह्यो। मुटु र बाथको रोगले ओछ्यानमा थलिँदा भेट्न आउने अन्य नेता कार्यकर्तालाई उनी यस्तै भनिरहन्, 'खोइ केही पनि भएन। देशलाई हामीले केही पनि गर्न सकेनौं।'
बागमती यसरी बन्यो ढलमती

बागमती यसरी बन्यो ढलमती

काठमाडौं– शिवपुरी बागद्वारको मुहानबाट छङछङाउँदै उपत्यका फालहाल्ने बागमती पहिले प्राकृत बागमती नै थियो, अहिलेजस्तो ढलमती थिएन। तीस महिनाभित्र बागमतीलाई त्यही अवस्थामा फर्काउने अभियानमा सहभागी सर्वसाधारणको साझा प्रश्न छ : बागमती कसरी...

पोखरामा फूल फुल्दैन

पोखरामा फूल फुल्दैन

गीतकार/ कवि विनोद गौचनलाई सम्झदा सम्झनाको इलाकामा हल्लाहरुलाई निषेध गर्नैपर्छ किनभने उनलाई हल्ला बिल्कुलै मन पर्थेन।

समय र लेखकको तस्बिर

झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...

इन्जिनियर पढेर राजनीति

इन्जिनियर पढेर राजनीति

शिक्षित र स्वतन्त्र राजनीतिक परिवारमा जन्मिएकी हिसिला यमी औपचारिक अध्ययनले इन्जिनियर हुन् तर उनको मूलबाटो बन्यो राजनीति। एकीकृत माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री यमीले पुरानै समाजमा हुर्के पनि विभेदको सामना...

घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

कठै खेलकुद!

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

मिनेटमा कर्म नाप्दै

कलाकार गेहेन्द्रमान अमात्य ७७ वर्ष पुगे। तर उनको जोस, जाँगरले शरीरमा बुढ्यौली छिर्न दिएको छैन। उनी प्रायः खैरो रङको दौरा–सुरुवाल, कोट, ढाका टोपी, गलबन्दीमै भेटिन्छन्। काठमाडौं कालधारास्थित उनको घर पुग्दा...