24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

अन्तर्वार्ताले झन्डै जागिर खुस्केको

  • १ चैत्र, २०७०
  • सूर्य सुवेदी
  • DISQUS_COMMENTS
(1 Vote)
अन्तर्वार्ताले झन्डै जागिर खुस्केको
म त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढ्दाताका रेडियो नेपालमा ‘पार्टटाइम' काम गर्थें। दिउँसो त्रिविमा पढ्न धाउँथें भने प्रायशः चारबजेपछि रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्ने समेत काम गर्थें। यो २०२८/२९ सालतिरको कुरा हो।
तत्कालीन महानिर्देशक रामराज पौडेल, कार्यक्रम हेर्ने अधिकृत तीर्थराज सुवेदी, केशवकृष्ण अधिकारी, नारायण श्रेष्ठ आदिले मलाई बाहिरका अन्तर्वार्ता ल्याउने काम पनि दिन थाले। त्यो बेला मैले नाटककार बालकृष्ण सम, कवि सिद्धिचरण श्रेष्ठ त्रिविका प्राध्यापक मोहनप्रसाद लोहनी, तेजरत्न कंसाकार, पुस्तकालय प्रमुख शान्ति मिश्र, प्रध्यापक दिव्यदेव भट्ट, प्रा. यदुनाथ खनाल, प्रा. युगेश्वरप्रसाद बर्माका साथै महानन्द सापकोटा, विजय मल्ल, तत्कालीन सचिव र लेखक सुन्दरप्रसाद शाह दुःखी, तत्कालीन परराष्ट्र सचिव पदमबहादुर खत्री, कमलमणि दीक्षित, अम्बर गुरुङ, तारानाथ शर्मा समेत २०/२५ जना लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग अन्तर्वार्ता लिएको थिएँ।
मलाई अन्तर्वार्ता लिन सजिलो पनि थियो र अप्ठेरो पनि थियो। सजिलो यस अर्थमा थियो कि विश्वविद्यालयको समयभन्दा अघि पछि बिहान र बेलुका अन्तर्वार्ता लिन पाइन्थ्यो। हप्तामा एउटा अन्तर्वार्ता तयार गर्दा बाँकि दिन कोर्सका किताब पढ्ने समय पनि पुग्थ्यो। अप्ठेरो यस अर्थमा थियो कि अन्तर्वार्ता लिन खोजेको मानिससँग सम्पर्क गर्न कठिन थियो। कतिपय लेखक, साहित्यकार र प्राध्यापककहाँ फोन हुँदैनथ्यो। अहिले जस्तो यातायात र सञ्चार उपलब्ध थिएनन्। कहिलेकहीँ त एउटा अन्तवार्ता लिने समय मिलाउन निकै गाह्रो हुन्थ्यो। 
मैले लिएको दुइटा अन्तर्वार्ताको कारणले मैले मेरो करारको जागिर दुई पटक मुस्किलले जोगाएको सम्झना छ। तारानाथ शर्माले प्रज्ञाप्रतिष्ठान र त्यहाँबाट दिइने पृथ्वी प्रज्ञा पुरस्कारलाई समेत कडा आलोचना गरेका थिए। पृथ्वी प्रज्ञा पुरस्कार लगायतका पुरस्कारहरू मदन पुरस्कारभन्दा थोरै रकमका थिए। तारानाथले पृथ्वी प्रज्ञा पुरस्कार भन्दा मदन पुरस्कार महत्वपूर्ण र ठूलो पुरस्कार हो भनेका थिए। त्यतिबेला पृथ्वी प्रज्ञा प्रज्ञा पुरस्कार राशि मदन पुरस्कारकोभन्दा कम थियो। त्यो आलोचनात्मक अन्तर्वार्ताको प्रतिक्रिया दरबारसम्म पुगेछ। एकेडेमीले रातारात पटक पटक, मिटिङ गरेर त्यै ताका पृथ्वी प्रज्ञा पुरस्कार समेत सबै पुरस्कारको राशी बढाएको थियो। मैले लिएको एउटा सानो अन्तर्वार्ताले त्यत्रो तरङ्ग ल्याउने मैले कल्पना गरेको थिइन। तत्कालीन सरकारी दृष्टिबाट हेर्दा त्यो कडै थियो। तिमीले तारानाथसँग लिएको अन्तर्वार्ता सुन्दा तिम्रो जागिर चट पार्छन् होला भन्ने लागेको थियो भनेर भनेको विजय मल्लको भनाइ म अझै पनि सम्झन्छु।
त्यसको केही दिनपछि प्रा. दिव्यदेव भट्टले वनस्पति विज्ञान सम्बन्धी अन्तर्वार्ता दिनुभएको थियो। वहाँले त्यो अन्तर्वार्ताका कतिपय कुराहरू संशोधन गर्न चाहनुभएको रहेछ। दिउँसो महानिर्देशक पौडेललाई उहाँले निकै कडा भाषामा फोन पनि गर्नु भएछ। म दिउँसो त्रिविवि कीर्तिपुर गएको थिएँ। मसँग महानिर्देशकको दिउँसो सम्पर्क भएन। भोलिपल्ट बिहान भट्टजीको अन्तवार्ता प्रसारित भयो। दिउँसो मलाई महानिर्देशककहाँ भेट्न भनियो। प्रा. दिव्यदेव भट्ट र महानिर्देशक रामराज पौडेलले म पुग्ने बित्तिकै गाली गर्न थाले। भट्टजी निकै आगो हुनुभएको रहेछ। त्यसपछि मलाई केही दिन अन्तर्वार्ता लिन रोक लगाइयो। दुई हप्ता पछि पुनः महानिर्देशक पौडेलले मलाई बोलाउनुभयो। अन्तर्वार्ता दिनेले गलत कुरा बोल्ने त्यसको परिणाम मैले व्यहोर्ने कुरा कति ठीक हो? तपाईले महानिर्देशकको अहोदा मर्यादा निर्वाह गर्नुभयो त? भनि मैले भन्दा पौडेलजीसँग उत्तरै थिएन। 
तर पनि मैले अन्तर्वार्ता लिन थालें। सकेसम्म मेरो प्राथमिकता चाहिँ साहित्यकार नै थिए। यो किताबको रचनागर्भ त्यही नै समय हो भन्दा पनि हुन्छ। त्यसपछि नै मैले साहित्य र साहित्यकार कति शक्तिशाली हुँदा रहेछन् भन्ने चाल पाएँ। यस्तै खालको किताब तयार गर्ने सोच मलाई त्यतिखेर नै आएको थियो। तर पढाईतिर नै ध्यान दिनुपर्ने हुँदा त्यो काम गर्न सकिएन। रेडियोमा प्रसारित भएका केही अन्तर्वार्ताहरू राम्रा पनि थिए। ती मध्येका केही उत्कृष्ण अन्तर्वार्ता थपेर र अरू राम्रा लेखकको अन्तर्वार्ताहरूको एउटा संगालो निकाल्ने धुन ममा थियो। पछि म केही दिन गोरखापत्रमा र त्यसपछि सरकारी सेवातिर लागें। मेरो त्यो अन्तर्वार्ता लिने ताँदो चुँडियो। 
२०४६ पछि मैले जागिर छोडेर राजनीति र पत्रकारितातर्फ फाल हालें। मैले आफ्नै प्रकाशनको ‘गाण्डीव' साप्ताहिकमा पनि केही राजनीतिक, तथा सामाजिक अन्तर्वार्ता लिएको थिएँ। २०४९ को अन्त्यसम्ममा आर्थिक समेत कारणले आफ्नो पत्रिका बन्द गर्ने परिस्थिति आयो। म त्यसपछि २०५०–५८ सम्म सामाजिक कार्य र काँग्रेसी राजनीतिमा कस्सिएर लागें। मेरो लेखपढ कम र गाउँ जिल्लाको विकास तथा राजनीतिक संगठन प्रमुख प्राथमिकतामा परें। २०५७/२०५८ सालमा मेरो अग्रसरतामा तेह्रथुममा स्थापित सावला ग्रामीण केन्द्र नामको सामाजिक संस्था माओवादी तारोमा परे। त्यसबीचमा कांग्रेस राजनीतिबाट पनि मलाई निकै वितृष्णा बढ्यो। अलि बुझेको मान्छेभन्दा पैसा दिने र लाए अह्राएको मान्ने दास संस्कारको मान्छे कांग्रेस राजनीतिमा बढी प्राथमिकतामा परेको देखिन थाल्यो। व्यापारी–ठेकेदार र चाकरीया बढी शक्तिशाली देखिन थालेपछि म कांग्रेसभन्दा अलगधार तिर लागें। तर त्यति सक्रिय भने भइन। 
माओवादी विद्रोह हिंसाका कारणले गर्दा २०५८ पछि म पुनः काठमाडौं केन्द्रीत भई लेखनमा सक्रिय भएँ। मैले २०२८/२९ देखि अहिलेसम्ममा २०/२५ सय समसामयिक लेख लेखें हुँला। कुनै कुनै दिन त साना ठूलापत्रिकामा चारवटा पनि लेख छापिएका छन्। जस जसले माग्यो सबैलाई दियो गर्दा थुपै्र लेखियो। लेख प्रकाशन भएको पन्ध्र मिनेटपछि समसामयिक लेखको जुत्ता बोको पार्ने मूल्य मात्रै हुने रहेछ। यदि मैले साहित्यिक लेख मात्रै लेख्थें भने कमसेकम पाँच सय पृष्ठका कम्तीमा पनि २०/२५ वटा किताब हुन्थे होला।
मैले २०२३ सालमा निस्किएको उत्तम कुँवरकाको ‘स्रष्टा र साहित्य' भन्ने पुस्तकका केही अन्तर्वार्ता त्यतिखेर नै पढेको थिएँ। उत्तम कुँवर मेरा दाजु स्व. पुण्यप्रसाद सुवेदी साथी थिए। त्यो किताब २०६९ सालमा पुनर्मुद्रित भएर बजारमा आएछ। त्यो किताब पुनः ल्याएर मैले पढेपछि मलाई त्यो किताबले निकै तान्यो। मैले कमै मात्र पढेका बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली लगायतका स्रष्टाहरूका बारेका अन्तर्वार्ता पढेपछि त्यस्तै खालको अलि भिन्न पुस्तक तयार गर्ने निधो गरें। त्यसपछि मैले केही इनसाइक्लोपेडिया पल्टाएँ। त्यसबाट मैले आफ्नै खालको दृष्टिकोण बनाएँ। स्रष्टाको छोटो चिनारी, कृतित्व पक्ष र मेरो थोरै भए पनि स्रष्टाप्रतिको सानो धारणाबाट अन्तर्वार्ता टुङ्ग्याउनु उपयुक्त हुने धारणा बनाएँ। 
स्रष्टाको कृतिलाई के कसरी जन्मियो? स्रष्टाको आफुप्रतिको आफ्नो धारणा के हो? ऊ अरूभन्दा किन भिन्न भयो? एउटा स्रष्टा हुनुको सबल र सकारात्मक पक्ष के हो? जस्ता कुरा पनि सकेसम्म तान्नुपर्ला भन्ने धारणा पनि मेरो रह्यो। मेरो २०४२ सालमा दिवंगत भएका पुण्यप्रसाद सुवेदीको स्मति ग्रन्थ निर्माण गर्दा पनि थुप्रै जनासँग टेपवार्ता गरेको थिएँ।
२०६९ साल कार्तिक २६ र २७ गते मदनमणि दीक्षितको अन्तर्वार्ता लिएपछि मैले लिएका अन्तर्वार्ताहरू अर्थपूर्ण बन्छन् होला जस्तो लाग्यो। त्यसपछि म विभिन्न साहित्यकारहरूसँग सम्पर्क गर्न थालें। म जो जो साहित्यकारहरूसँग अन्तर्वार्ता गर्न समय माग्थें उनलाई मैले प्रश्न बनाएर सुनाउने र उनको सुझाव मागेर प्रश्न निर्माण गर्दथें। कुराकानीको सन्दर्भमा बीचबीचमा प्रश्न सोध्ने र लेखकका कृतिहरू आधार बनाएर प्रश्न सोध्दै गएपछि प्रायशः अन्तर्वार्ताहरू पूरा भएका हुन्।
समग्रमा साहित्यकारहरूसँग अन्तर्वार्ता लिएर किताब नै तयार गर्ने सोचको विजारोपण र रेडियो नेपालमै २०२८/२९ सालमा रेडियो नेपालमै भएको थियो। अन्तर्वार्ताको स्किल सिकाउने पनि रेडियो नेपाललै नै गरेको थियो। मैले २०२९ सालमा लिएका यदुनाथ खनाल, विजय मल्ल र महानन्द सापकोटाका अन्तर्वार्ताहरू अहिले आएर हेर्दा खासै स्तरीय छैनन्। ती कम स्तरीय हुनुमा मेरै अध्ययनको कमजोरी हो भन्न मलाई संकोच छैन। तुलनात्मक रूपमा म अहिले अध्ययनका दृष्टिले र अनुभवले निकै खारिएको अवस्था हो। यस दृष्टिले पनि यस कितामा छापिएका पछिल्ला अन्तर्वार्ताहरू निश्चय नै अलि बढी स्तरीय छन् भन्न मलाई हिचकिचावट छैन।
यो पुस्तकका लागि मैले कसकसको अन्तर्वार्ता लिने भनेर सूची तयार गरिन। जो जो लेखक मलाई मन परे र जसलाई मनले खायो त्यसैलाई मैले सम्पर्क बनाउँदै अन्तर्वार्ता लिँदै गरेको हुँ।
मैले रूसी अङ्ग्रेजी, अमेरिकी, क्यानेडियन, जापानी, भारतीय समेत अनेक देशका साहित्यकारहरूलाई इनसाइक्लोपेडियामा हेर्दा विचारकहरू कलाकारहरू र साहित्यकारहरूलाई उच्च तहमा राखेको देखें। बेलाइतीहरूले शेक्सपियर वडर्सवर्थ शेली वाइस, किट्स आदिलाई हाम्रा महान व्यक्ति भनेर देखाउँछन्। प्रसिद्ध राजनीतिज्ञ र प्रथम र द्वितीय विश्वयुद्धका सेना र प्रधानमन्त्री चर्चिलले समेत साहित्यमा नोबेल पुरस्कार पाएका थिए। अमेरिकीहरू वाल्ट हिट म्यान, रोवर्ट फ्रष्ट आदिलाई देखाउँछन्। रूसीहरू टाल्सटाय, चेखब, गोर्की आदिलाई देखाउँछन्। चिनीहरू, लसुन, कन्फ्युसियस आदि हाम्रा महान साहित्यकारहरू हुन् भन्छन्। भारतीयहरू रविन्द्रनाथ ठाकुर, कालिदास आदिलाई देखाउँछन्। हामीले देवकोटा, सम, लेखनाथ, सिद्धिचरण आदिलाई किन नदेखाउने? हामीसँग जीवित रहेका माधव घिमिरे मदनमणि दीक्षित, दुर्गालाल श्रेष्ठ, श्यामदास वैष्णव, भुवन ढुङ्गाना, सत्यमोहन जोशी, गोविन्दप्रसाद लोहनी, परशु प्रधान, दुर्गालाल श्रेष्ठ, चित्तरञ्जन नेपाली, कमलमणि दीक्षित, अभि सुवेदी, बालकृष्ण पोखरेल समेत अनेकन उच्चस्तरका कवि लेखक समेत हाम्रा प्रतिनिधि साहित्यकार होइनन् र भनेर किन नभन्ने?
हाम्रा लेखकहरू, सर्जकहरू र स्रष्टाहरूको बारेको रिसर्च शैलीका अन्तर्वार्ताहरू किन नगर्ने? भन्ने मेरो सोचको मूर्त रूप नै ‘सिर्जना र दृष्टिकोण' पुस्तक हो भन्ने मेरो भनाई छ। यो किताबको तयारीले हाम्रा लेखकहरूबारेमा केही मात्रामा भए पनि नयाँ कुराहरू पाठकले पाउने कुरामा म विश्वस्त छु।
हुन त एउटा कवि वा लेखकले जिन्दगीभर गरेको तपस्यालाई सानो अन्तर्वाताले कति नै समेट्छ र? तर पनि मैले लेखकहरूले पहिले नभनेका कुरा खोतल्ने प्रयास गरेकोले केही नयाँ जानकारी आउला नै।

सुवेदीले विभिन्न लेखकसँग लिएका ५९ अन्तर्वार्ताको संगालो ‘सिर्जना र दृष्टिकोण' हिमालयन बुक स्टलबाट गत शनिबार सार्वजनिक भएको छ। उनले सोही पुस्तक विमोचनका दिन प्रज्ञा प्रतिष्ठान भवनमा पुराना लेखकको जमघट र फोटोसेसन समेत गराए।
वागमती लहरले उठेर बर्सिदेऊ...

वागमती लहरले उठेर बर्सिदेऊ...

पानी.....पानी.....पानीवागमती लहरले उठेर बर्सिदेऊ.....पानी.....पानी.....पानी

तेक्वान्दो चुचुरोमा

तेक्वान्दो चुचुरोमा

२०४८ सालमा एसएलसी दिएपछि संगीना वैद्यको औपचारिक खेल जीवन सुरु भयो। स्कुल पढ्दा नै ‘वीरेन्द्र सिल्ड' जित्न भूमिका खेलेकी उनी त्यतिखेरै खेलकुदको मोहपासमा यसरी जेलिइन्, तेक्वान्दो चुचुरोमा नपुगी उम्कनै सकिनन्।

डल्लो

डल्लो

पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

सफलतासँगै लोकप्रियता

सफलतासँगै लोकप्रियता

विश्वमै लोकप्रिय फुटबल खेल नेपालमा भित्रिएको झन्डै १ सय वर्ष भइसकेको छ। आधिकारिक तथ्यांक नभेटिए पनि विक्रम सम्वत् १९७५ सालतिरै नेपालमा फुटबलले प्रवेश पाएको बताइन्छ।

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...

साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...