Tuesday 13 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

  • ८ चैत्र, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू
साल्मेडाँडा, स्याङ्जा– पोखराबाट १७ किमी पश्चिम हुइँकिएपछि स्याङ्जाको फेदीखोला पुगिन्छ। कुभिन्डे भन्ने ठाउँमा गाडीबाट ओर्लेर पूर्वतिर तीन किमी उकालो चढेपछि आइपुग्छ साल्मेडाँडा। हिउँदयाममा पनि हरियाली बचाएर राखेको यो पहाडमा दुई दर्जन कामदार अहोरात्र खटिइरहेका छन्। उद्देश्य हो, गोरखा स्मारक निर्माण।
७० वर्षे पूर्व गोर्खा सैनिक तथा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङ यो स्मारक निर्माणका मुख्य अभियन्ता हुन्। यी तिनै पदमबहादुर हुन्, जसलाई २०६३ असारमा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले भेटेर भनेका थिए, ‘मिस्टर प्रेसिडेन्ट, थ्यांक यु फर ह्वाट यु ह्याभ डन।'
कुनै पनि आन्दोलनका नेतालाई मानिस सुरुमा मूर्ख वा पागल भनी उडाउँछन्। सफल हुँदै गयो भने उसकै पछि लाग्छन्। प्रथम र दोस्रो विश्वयुद्धमा लडेका नेपालीको आत्मसम्मानका लागि गेसोको संघर्षमा पनि यही लागू हुन्छ। पदमबहादुर र उनका सहकर्मीले थालेको गेसो आन्दोलनलाई त सुरुमा आतंकवादी गतिविधिसमेत भनिएको थियो। आज त्यो आन्दोलनले मान्यतामात्र पाएको छैन, अभियन्ताहरूलाई सम्मान दिन स्वयं बेलायती सरकार अघि सरेको छ।
बेलायत जसका लागि उनीजस्तै हजारौं नेपालीले लडेका थिए।
बेलायत जसको सरकारविरुद्ध उनीहरू आज लड्दैछन्।
पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) सय वर्ष पुगेको सन्दर्भमा नागरिकले उनै पदमबहादुरलाई माछापुच्छ्रे हिमाल अघिल्तिर उभिएको निर्माणाधीन स्मारक स्थल साल्मेडाँडाको उचाइमा भेट्यो। विश्वयुद्धलगायत अनेकन युद्धमा बितेका, घाइते योद्धा र सकुशल फर्केका नेपालीको सम्झनामा उनी गोरखा स्मारक बनाउँदैछन्।
सन् १९१४ मा सुरु पहिलो विश्वयुद्धमा २५ हजार नेपाली लगिएका थिए। तीमध्ये कोही जीवित फर्केनन्। त्यसपछि समेत पटकपटक भर्तीमा लगिएका नेपालीहरू आजसम्म कति मारिए, घाइते भए भन्ने लेखाजोखा न त बेलायती सरकारले राखेको छ, न नेपालले।
‘सबै युद्धमा गरी कम्तीमा ६० हजार मारिए,' पदमबहादुरको दाबी छ, ‘हामी तिनै पितृहरु बलिदान भएका देशबाट अस्तु ल्याएर यो डाँडामा समाधि बनाउँछौं, विश्वलाई देखाउँछौं।'
मानव सभ्यताको इतिहासलाई नै कलंक लगाउने ती रक्तपातको मूल उद्देश्य शक्तिशाली राष्ट्रले आफूभन्दा कमजोर राष्ट्रलाई सके निल्नु, नसके आफ्नो उपनिवेश बनाउनु हुन्थ्यो। कहिल्यै घाम नअस्ताउने भनिएको बेलायती साम्राज्यले निल्न र उपनिवेश दुवै बनाउन नसकेका देश एसियाभरिमा केवल दुई थिए– थाइल्यान्ड (तत्कालीन सियाम) र नेपाल। तर, इतिहासको यो पाटोका आधारमा मात्रै अध्ययन पूर्ण हुँदैन। उपनिवेश नबनाईकनै तत्कालीन अंग्रेजले ६० हजार नेपालीलाई आफ्नो सामरिक उद्देश्यका लागि प्रयोग गरेको थियो। लडाइँमा मर्ने नेपालीको वास्तविक संख्या कति हो भन्ने यकिन छैन, तर जनसंख्या खासै नबढेको त्यस बखतको नेपालमा ६० हजार ऊर्जाशील युवाले अर्काको देशका लागि बन्दुक बोकेका, शक्तिराष्ट्रहरूको किचाघानमा मरेका थिए भन्ने इतिहास पढ्दा जोकसैको मन कुँडिन्छ।
इतिहासकार प्रत्यूष वन्तका अनुसार तिनै गोरखाली योद्धाहरूको सम्झना र सम्मानमा विभिन्न देशमा स्मारक बनेका छन्। नेपालमा पनि बन्नुपर्योय भन्ने आवाज उठ्यो, उनी आफैं पनि त्यसमा सक्रिय थिए। बेलाबखत उठेका तिनै आवाजको परिणम समुद्री सतहबाट १५ सय फिट उचाइको सुन्दर साल्मेडाँडामा विश्वयुद्धका जीवित योद्धाहरू स्मारक बनाउन लागिपरेका छन्। बेलायती मन्त्रीहरू नेपाल घुम्न आउँदा साल्मेडाँडा वरिपरि हेलिकप्टरबाट चक्कर लगाउने गरेको समाज घरका सदस्य तथा स्थानीय युवा अचम्म गुरुङ बताउँछन्।
‘कहिल्यै दास र उपनिवेश नभएको स्वतन्त्र मुलुकका छोराहरूलाई किन लडाइयो, विभेद र अपमान गरियो भन्ने प्रश्न र सम्झना रहिरहोस् भनेर यो स्मारक बनाउँदैछौं,' मलायादेखि इन्डोनेसियासम्मका धावामा बाँचेर फर्केका पदमबहादुर भन्छन्, ‘५० भन्दा बढी देशमा लडेका गोर्खालीहरूको वीरता र इमानको सम्मान विश्वले गरोस् भन्ने हाम्रो चाहना छ।'

झ्वाट्ट ‘युरेका'
२०६३ सालको एक चिसो बिहान।
लन्डनको हर्नस्लोनेर एक जंगलको बाटोमा मर्निङवाकमा निस्केका थिए, पदमबहादुर र गोर्खा सैनिकमाथि लन्डनको विश्वविद्यालयबाट पिएचडी गरेका चन्द्रबहादुर गुरुङ। ब्रिटिस राजमा दुःखसुख भोगेर बसेका गोर्खाको इतिहास सम्झाउन त्यस्तो कुन उपाय गर्न सकिन्छ भनी उनीहरू घोत्लिँदै, दगुर्दै, घोत्लिँदै गरिरहेका थिए।
अचानक ‘युरेका'।
दिमागमा झिल्का बल्यो– एउटा स्मारक बनाउने।
तुरुन्तै एक जोर दायाँ हात परस्परमा ठोक्किए। १८ वर्षयता भूपू गोर्खाहरूका लागि अन्तर्राष्ट्रिय अदालतहरूमा लड्दै–जित्दै आएका यी दुवै जोदाहा सिपाही स्मारक बनाउन सहमत भए। कास्की स्याङ्जातिरको कुनै सुन्दर पहाड पहिचान गरेर सबैले टाढैबाट देख्नेगरी गोर्खा स्मारक बनाउने सपना बुने। त्यसपछि अरू लाहुरेहरूसँग सल्लाह र सहयोग जुटाउन थाले।
यो पहाडमा बनाउने कि त्यो पहाडमा भनी खोजिरहेका बेला तत्कालीन सांसद हितकाजी गुरुङले साल्मेडाँडामा बनाउने उपाय सुझाए। स्थानीय जनतालाई कन्भिन्स गर्न कुनै अप्ठेरो परेन। बरु उल्टै सक्दो सघाए। कुनै बेलाको गौचरन र चिहानघारीलाई ब्रिटिस राजमा लडेका नेपालीको स्मरणमा उपयोग गरे। त्यसका लागि गोर्खा स्मारक ट्रस्ट दर्ता गराए। आफैं भैरहवाबाट सिमेन्ट, पोखराबाट अरू सामग्री र गाउँलेहरूबाट श्रम लगाए। एक इन्जिनियर खोजे। कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अघिल्लो वर्ष मंसिर ५ गते शिलान्यास गरेको यो स्मारकमा १९ जातिका पुरोहित ल्याएर विश्वयुद्धमा बितेका नेपालीको विधि संस्कार गरिएको थियो।
१९ जातिका पुरोहित ल्याउनुको अर्थ विश्वयुद्धमा १९ जातिका नेपाली मारिएका थिए।

लाहुरेको निशानी
‘जहाँ स्वतन्त्र आमाहरूले
छोरा होइन, लाहुरेमात्र जन्माउँछन्।'
– भूपि शेरचन, यो हल्लैहल्लाको देश हो

साल्मेडाँडा हुँदै हामी विश्वयुद्ध लडेका लाहुरेहरूको बस्ती चहार्दै हिँडिरहेका छौं। स्मारकबाट तीन किलोमिटर पूर्वतिर तेर्सो लागेपछि घोडेटो बाटो ओरालो झर्छ। रामकोटबाट बटौली हुँदै पक्लिहवा झर्ने यो बाटोछेउका लाहुरे बस्ती रित्ता गाउँमा फेरिएका छन्। एकाध लाहुरे छाड्ने हो भने सबै सपरिवार विदेशमा छन्।
नेपाल आफैंले कहिल्यै सामना नगरेको पहिलो विश्वयुद्ध सुरु भएको ठ्याक्कै सय वर्ष पुगेको छ। दोस्रो विश्वयुद्ध सकिएको पनि ६९ वर्ष पुग्यो। ती विश्वयुद्धले नेपाली जीवनलाई प्रत्यक्ष प्रभावित पारेको थियो भन्ने साक्षी यही पक्लिहवा भर्तीकेन्द्र झर्ने बाटो हो। पूर्व धरानदेखि पश्चिम स्याङ्जा, भैरहवा, बुटवलजस्ता ठाउँमा यस्ता केही मूलबाटा छन् जहाँबाट युवा लाहुरेहरू धुलो उडाउँदै लडाइँमा गएका थिए। लडाइँमा बाँचेकाहरू बुट बजार्दै फर्केका थिए। लडाइँमै मारिएकाहरूको शव पहाड भित्रिएको यही मूलबाटो हो। घाइतेहरूलाई ढाकरमा बोकेर पहाड चढाइएको पनि यही मूलबाटो हो।
यो मूलबाटोले हाँसो र आँसु दुवैको कथा सुनेको छ। समृद्धि र विनाश दुवै देखेको छ।
हामी त्यही बाटो हुँदै कास्की र स्याङ्जाको सिमानास्थित मट्टीखान डाँडा आइपुगेका छौं। आजभन्दा ५० वर्षअघिसम्म यो डाँडो हुँदै झरेको बाटोमा रातभर घोडा र खच्चरको टाप बजेको, पिठ्युँमा भारी चुइँकिएको सुनिन्थ्यो। त्यो बाटोमा युद्धबाट फर्केका लाहुरेका भारी बोकेर खच्चर र घोडामात्रै उक्लिँदैनथे। उज्यालो खस्न नपाउँदैको बिहानमा गल्लावालले गाउँका युवालाई लाइन लगाएर झार्थे। ती नयाँ लाहुरेका चेली आँसु पुछ्दै मट्टीखानको डाँडाबाट नछेलिउन्जेलसम्म रुमाल हल्लाइरहन्थे। युवाहरू यो डाँडामा आइपुगेपछि थकाइ मेट्थे। अनि आखिरी बिदाइका लागि मुखमा औंला छिराएर सुसेली मार्थे।
गोर्खाहरूको पक्षमा लड्दै आएकी ब्रिटिस सेलिब्रिटी अभिनेत्री जोअन्ना लुम्लेको सम्मानमा राखिएको ‘जोअन्ना लुम्ले भ्यु'को फेदमा अर्का लाहुरे भेटिए। ७० वर्षे यी भारतीय पूर्वगोर्खा पदमबहादुर भुजेलका अनुसार टड्कारो आवाजले नभ्याउने गरी टाढा छेलिएका चेली र प्रेमिकाहरूसँग संवाद गर्ने एकमात्र भाषा बन्थ्यो त्यतिबेला सुसेली।
‘लाहुर जाने दिन चेलिबेटी, आइमाई, तरुनीहरू रुँदैरुँदै एक घन्टाजतिको बाटोसम्म छाड्नु आउँथ्यो, निकोसन्चै जोगिएर आउनू भन्थ्यो,' मट्टीखानको डाँडा देखाउँदै भुजेलले नागरिकसँग रिमरिम सम्झना सुनाए, ‘त्यसो भन्दा हामी पनि मन थाम्नु सक्दैनथ्यो, बोली दबाएर आँशु झार्दै हिँड्थ्यो। यही डाँडामा आए गाउँतिर फर्कन्थ्यो। अनि सुसेली हालेर गल्लावालसँगै बटौली (अहिलेको बुटवल) जान्थ्यो।'
बिदाइ बेला झर्ने आँसुभित्र लाहुर जाने, पैसा र इज्जतसँग घर फिर्ने, घरजम गर्ने, अरूका अघिल्तिर छाँटको घर बनाउने सपना र रोमाञ्च पनि मिसिएकै हुन्थ्यो। त्यही सपना मलजल गर्ने गल्लावाल गाउँगाउँ घुम्थे। फरक यत्ति थियो, जंगबहादुर राणाले लाहुर जाने प्रथा मन नपराए पनि चन्द्रशमशेर र वीरशमशेरका पालामा आइपुग्दा नेपालको राणाशासक परिवार आफैंमा एक गल्लावाल भइसकेको थियो। सरदार भीमबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल' अनुसार जुद्धशमशेरका पालामा अहिलेको भाषामा भन्दा म्यानपावर, जसले एक सिपाही अंग्रेजकहाँ पठाए बराबर निश्चित रुपैयाँ पाउँथ्यो। गाउँको मुखिया, जिम्मावाललाई यसका लागि उर्दी जारी गरिन्थ्यो। उर्दी नमान्ने जिम्मावालले सजाय पाउँथ्यो।
इपरको लडाइँमा बेल्जियमलगायतलाई आक्रमण गर्दै जर्मनी बेलायतमाथि जाइलाग्न सामुन्ने आइसकेको थियो। सन् १९१५ मा भएको त्यो लडाइँमा २ लाख सैनिक खटिएका थिए। तीमध्ये गोर्खाली मात्रै २५ हजार रहेको आँकडाले देखाउँछन्। पदमबहादुर गुरुङका अनुसार अधिकांश गोर्खा तानसेनबाट गएका मगर थिए। दोस्रो विश्वयुद्ध बेला राणाहरूले २ लाख ५० हजार नेपालीलाई अंग्रेजकहाँ भर्ती गरेको इतिहास छ। गएका मध्ये कहाँ, कति कति मारिए भन्ने तथ्यांक भेटिँदैन। कतिसम्म भने सरकारी सेनाका तर्फबाट गोर्खाली लड्दैछन्, विद्रोहीका पक्षबाट पनि उनीहरू नै लड्दैछन्। श्रीलंकाको तमिल विद्रोहका बेला यस्तै भएको थियो।
यसरी लाहुरे बनाउने नाममा राणाहरूले नेपाली सर्वसाधारणलाई एक प्रकारले बेचेका थिए भनेर इतिहासमा पढ्न पाइन्छ। किनकि, नेपालीलाई जबर्जस्ती युद्धमा पठाएबापत पैसाचाहिँ उनीहरूले पाउँथे। स्वर्गीय भूगोलविद हर्क गुरुङका अनुसार सन् १८८५ पछि ब्रिटिस फौजमा भर्ना हुन प्रोत्साहनमात्रै होइन, चन्द्रशमशेरका पालामा उर्दी नै थियो। ‘गोर्खाली भर्ना नेपालका शासकका लागि कूटनीतिक मुद्रा बन्न पुग्यो। ब्रिटिस सरकारले गोर्खाली सेवाको कदरस्वरुप सन् १९१९ देखि नेपाललाई १० लाख रुपैयाँ वार्षिक सलामी दियो,' लाहुरेका कथा नामक पुस्तकको भूमिकामा गुरुङले लेखेका छन्, ‘गोर्खालीको बहादुरीले नेपालको कीर्ति बढ्यो होला, तर उनीहरू यताका न उताका भए।'
गुरुङले भनेझैं विशेषगरी जनजाति समुदायका यी लाहुरे समयक्रमसँगै नेपाली समाजबाट समेत काटिँदै गए। राणाकालभन्दा अघि स्वैच्छिक मानिएको यो भर्ती उनीहरूका पालादेखि मानव बेचबिखनको शैलीमा बदलियो। आफूमाथि भइरहेको शोषण नै थाहा नपाउनेगरी जनजातिमा वैचारिक अन्धता भरिदियो। त्यसपछि त यो स्वयं लाहुरेहरूको रहरमा बदलियो। जनजातिलाई मात्रै लैजाने, त्यसभित्र पनि गुरुङ, मगर, राई र लिम्बु प्राथमिक मानिएपछि अरू जातिकाहरू समेत जात बदल्दै लाहुरमा प्रवेश गरे।
वसन्त थापा र मोहन मैनालीले सम्पादन गरेको ‘लाहुरेका कथा' पुस्तकमा जीवनाथ भट्टराईले भनेका छन्, ‘पल्टनमा बाहुनलाई भर्ती नलिने भएकाले मैले जात ढाँटेर टेकबहादुर क्षेत्री भनेर नाम लेखाएँ।'
आफ्नो आँखैअघिल्तिर छिमेकीले चिटिक्क परेको घर बनाउँदा जोकोही जनजातिलाई आफ्नो छोरा पनि लाहुर पठाउने रहर लाग्नु अनौठो थिएन। कुनै बेला स्वैच्छाको यो विषय राणाकालमा बाध्यता बन्यो, त्यसपछि फेसन, भनौं लहड। पदमबहादुरका अनुसार अंग्रेज जुन दिन भारत पस्यो त्यही दिनदेखि नेपालमा गोर्खाभर्तीको लहड सुरु भयो।
इतिहासमा भने विश्वयुद्धभन्दा पहिले पनि विश्वका विभिन्न देशमा नेपाली गएर लडेको इतिहास पाइन्छ। गोर्खाभर्तीमाथि अनुसन्धान गरेका विद्वान हर्क गुरुङका अनुसार अंग्रेज र नेपालबीचको दौत्यसम्बन्धमा गोर्खाली भर्ना एक महत्वपूर्ण विषय थियो। अंग्रेजले भारत छाडेको वर्ष सन् १९४७ मा अंग्रेज, भारत र नेपालबीच भएको त्रिपक्षीय सहमतिले पनि उनीहरूका लागि नेपाली लैजाने प्रथालाई निरन्तरता नै दियो। फरक यत्ति हो, अंग्रेजका लागि लड्ने प्रथालाई भारतले आफ्नो बनायो।
हामीले मट्टीखानमा भेटेका पदमबहादुर भुजेल तीमध्येकै एक हुन्।
१८ वर्षको उमेरमा भर्ती हुँदा भुजेलको तलब थियो मासिक ६२ भारु। सन् १९६५ मा भारतीय सेनाबाट कास्मिर बारमुल्लाह लडाइँ लडेका यी योद्धाले त्यही क्रममा गोली खाएर बायाँ हातको औंला गुमाए। त्यसपछि उनको भूमिका बन्दुक बोक्नेबाट आलु, प्याज र गोलभेडा काट्नेमा सीमित भयो। जम्मा छ वर्ष सेवामा बिताएका यिनले तीन वर्ष लडाइँमा बिताए, तीन वर्ष भान्छामा। त्यही युद्धमा उनका दुई क्याप्टेन बेपत्ता बनाइएका थिए।
कास्मिरी किल्लामा आक्रमण गर्न गएका बेला उनीहरूले खुर्सानीको धुलो आँखामा छर्किने गर्थे भने कसैका हात मर्काइदिन्थे। ‘पहिले को–को लड्ने हात उठाऊ भन्थ्यो, अनि जोश आओस् भनेर रम खान दिन्थ्यो,' यी भूपू भारतीय सैनिकले भने, ‘ठूलो नदी थियो राबी भन्ने, घोडाले मात्रै तर्नु सक्थ्यो, हामी पनि घोडाबाटै उता कास्मिर गयो।'
घाइते भएपछि दिल्ली, लखनऊतिरका अस्पताल चहारे उनले। त्यति गर्दा पनि निको नभएपछि सन् १९६८ मा अवकाश पाइहाले।
बेलायत, भारत, सिंगापुर, ब्रुनाईलगायत देशमा गएका लाहुरेहरूमाथि एउटै खालको व्यवहार हुने नगरेको सुनेका छन् भुजेलले। गोर्खा, कुकुर, जंगली भनेर आफ्नै कम्पनीका कमान्डरहरूले हेप्ने गरेको सुनाउने गोर्खा सैनिक पनि भेट्यौं हामीले। भुजेल भने आफूहरूलाई भारतीयले राम्रो व्यवहार गर्ने गरेको बताउँछन्। ‘गोर्खा पदमबहादुर, ऐसा करो, वैसा करो भन्थ्यो उनीहरू, माया नै गर्थ्यो,' मैलो दुब्लो कायाका यी वृद्ध अतीत सम्झन्छन्, ‘फर्कंदा भने केही दिएन, बाटो खर्चमात्रै पठायो।'
अनि थप्छन्, ‘त्यहाँ लडेको फाइदा यही १६ हजार पेन्सन हो।'
अनि पेन्सनले खानलाउन राम्ररी पुगेको छ त? के पुग्थ्यो?
भन्छन्, ‘पुग्ने भए मेरा दुई भाइ छोरा किन विदेश जान्थे र!'
....
स्याङ्जा राङभाङ– १ का ६६ वर्षे जितबहादुर गुरुङ यस्तै अर्का भूपू गोर्खा सैनिक हुन्। सन् १९६६ मा भर्ती भएर १९८२ मा उनी रिटायर्ड भएका थिए।
रामकोटबाट पक्लिहवा क्याम्प जाँदा १८ वर्षे जीतबहादुरसँग २२ जना अरू युवा थिए। पक्लिहवामा चुच्चे टोपी ढल्काएर, सैनिक कमिज लगाएर उनी कलकत्ताबाट पानीजहाज चढे। सात दिन सात रात पानीजहाज चढेपछि उनी मलेसियाको जंगल पुगे। नौ महिना तालिम लिए। त्यसपछि उही त हो, युद्ध। उनले बेलायतका लागि कलकलाउँदो १० वर्ष चढाए।
नेपाल फर्केपछि फेरि बु्रनाई सरकारले बोलायो। त्यहाँ १० वर्ष सेवा गरे। उनी आउन त दुवै देशबाट सकुशल आए, तर आफ्नो सबैभन्दा ऊर्जावान समय अर्काको देशमा गयो भनेर थकथकी मानिरहेका छन्।
‘अहिले सम्झँदा किन गएछुजस्तो लाग्छ। १६ वर्ष बेलायत र १० वर्ष ब्रुनाई जाँदा आफ्नो उमेर ढल्कियो,' जितबहादुर भन्छन्, ‘बेलायतका लागि भोकैतिर्खै लडियो, आखिर आज उसैसँग लड्नुपर्यो९।'
जसले नोकरी दियो, उसैका विरुद्ध किन लडे होलान् त जितबहादुरले?
‘हामीले उसका लागि लड्यौं, तर उसैले अन्याय र भेदभाव गर्योख, समान तलब, पेन्सन त के व्यवहार पनि गरेन,' जितबहादुर आफ्नो कुरा प्रस्ट्याउँछन्, ‘त्यही भएर संघर्षका लागि मैले आफ्नो तलबसमेत आन्दोलनमा दिने गरेको छु।'
जितबहादुरले उल्लेख गरेको आन्दोलन हो, गेसो आन्दोलन।
अर्थात्, गोर्खा भूतपूर्व सैनिकहरूले बेलायत सरकारसँग २५ वर्षदेखि चलाइरहेको समान पेन्सन र सामाजिक सुरक्षाको आन्दोलन।
गेसो : आत्मसम्मानको आन्दोलन
‘१८२ वर्षसम्म अर्काका लागि पसिना, रगत र जीवनको बलिदान चढायौं। अब बाँकी जीवन आफ्नो अधिकारका लागि लड्नेछौं।'
यही नारालाई आफ्नो मूल उद्देश्य बनाएर पदमबहादुर, चन्द्रबहादुरलगायतले आफ्ना सहकर्मीसँग मिलेर गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) निर्माण गरेका हुन्, सन् १९९० जुलाईमा।
आज ब्रिटिस सरकारसमक्ष उनीहरूका प्रश्न छन् :
– कुनै सार्वभौम सत्तासम्पन्न राष्ट्रका स्वतन्त्र नागरिकलाई के आधारमा बेलायती सेनामा भर्ती गरियो? हामीलाई कुन अन्तर्राष्ट्रिय कानुन वा मान्यताअनुसार दुई सय वर्षसम्म बेलायतको सैनिक सेवामा लगाइयो?
– बेलायती सेनामा हाम्रो सेवा वैध हो कि अवैध? वैध भए किन विभेद?
– युद्ध सकिएपछि क्षतिपूर्ति पनि नदिने, पेन्सन पनि नदिने र यतिसम्म कि, युद्धमा लागेको चोटपटकको उपचार पनि नगरिदिने, यो घोर अमानवीय व्यवहार भएन र? नेपालसम्म आइपुग्ने खर्च दिएर हजारौं गोर्खालाई रित्ता हात नेपाल फर्काइयो।
गत पुस २९ गते बेलायती सरकारसमक्ष गेसोले स्मरणपत्र बुझाएको छ– दुवै देशका संसदहरूको उच्चस्तरीय छानबिन समिति गठन गरी गोर्खा लाहुरेहरूको प्रश्न टुंग्याउनुपर्ने, गोर्खाहरूमाथि घोर अमानवीय व्यवहार भएकाले दुवै देशका मानवअधिकारवादीहरूको छानबिन समिति बनाउनुपर्ने।
२०४७ सालमा पहिलोपटक यी भूतपूर्व गोर्खा सैनिकले आफूहरू ब्रिटिस सरकारबाट अन्यायमा परेको भन्दै के–कति कारणबाट अन्यायमा परेको भन्ने स्पष्ट खुलाउँदै विज्ञप्ति सार्वजनिक गरेका थिए। २०४७ जेठ २३ गते लेफ्िटनेन्ट कर्नेल लालकाजी गुरुङको अध्यक्षतामा नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समिति बनाए पनि त्यसले गोर्खा सैनिकको हितमा काम नगर्ने दाबी गर्दै अर्को महिना असार २७ गते पदमबहादुर गुरुङको अध्यक्षतामा गोर्खा भूतपूर्व सैनिक संघ गठन भयो।
गेसोका नारा आकर्षक र लोकप्रिय भए पनि कार्यान्वयनमा कठिनाइ छ भन्नेहरू थुप्रै छन्। लाहुरे समुदायका कतिपयमा समेत यस्तो विचार छँदैछ। पदमबहादुर भने आफ्नो मान्यतामा अडिग देखिन्छन्। साल्मेडाँडामा गोर्खा सैनिक स्मारक बनाइछाड्ने उनको प्रतिबद्धता यही मान्यतामा अडेको छ। त्यसमाथि उठाएका मुद्दाहरूले धमाधम बेलायती अदालतबाट जित्दैछन्।
गोर्खा भूतपूर्व सैनिकका नाममा थुप्रै संगठन खुले पनि गेसोको भूमिका अरूभन्दा प्रभावशाली देखिएको बताउँछन् इतिहासकार प्रत्यूष वन्त। गेसो आक्रामक रूपमा प्रस्तुत भएपछि यसको आन्दोलन दबाउन भूपू सैनिकभित्रैबाट केहीलाई उचालेर आन्दोलन कमजोर बनाउन खोजिएको पुरानो तथ्य उनी खोतल्छन्। ‘गेसोले भूपू गोर्खाको पेन्सन, सेवासुविधालगायत विषयमा बेलायतकै अदालतहरूबाट मुद्दा जित्न थालेपछि विरोधीहरूको स्वर कमजोर भएको छ,' वन्त भन्छन्।
संसारमा गोर्खालीहरू बहादुर हुन् भन्ने इमेजमात्रै गएको छैन, उनीहरू गरिब, असभ्य, जंगली, जिउँदा मान्छेको रगत तन्तनी पिउने मानिस हुन् भन्ने धारणा पनि सिर्जना गरिएको छ। बेलायतकेन्द्रित पश्चिमाले लेखेका पुस्तकमा पनि यस्ता थुप्रै उदाहरण पाइन्छन्। जबकि, विश्वयुद्ध सुरु हुनुअघि नेपालीहरू गरिब नभएको, तर बेलायतले अनधिकृत रूपमा युवा नेपाली लगेकै कारण नेपालीहरू आर्थिक–सामाजिक रूपमा पराधीन हुन विवश भएको भूतपूर्व गोर्खाहरूको बुझाइ छ। ‘पहिले अरू देशभन्दा समृद्ध हामी गरिब हुनुको मुख्य कारण अंग्रेज हो भन्ने सन्देश दिनुपर्ने छ,' पदमबहादुर भन्छन्, ‘हामी गोरखा एकेडेमिक फोरम बनाएर विश्वलाई वास्तविकता सुनाउँदैछौं।'
यसका निम्ति गेसो आन्दोलनकर्मीले लन्डनमा दर्जनौं प्रदर्शन गरे। ‘हामी गोर्खा किन मारियौं, विश्वयुद्ध सकियो, विश्वले शान्ति पायो, हामीले के पायौं, हामी यो प्रश्न गरिरहेका छौं,' पदमबहादुर भन्छन्, ‘गोर्खालीलाई तक्मा दियो, तर ब्रिटिस सैनिकझैं सेवासुविधा दिएन। आत्मसम्मान त कता हो कता, न्यूनतम मानवीय व्यवहार पनि गरेन। हामी त्यही आत्मसम्मानका लागि लडिरहेका छौं।'
पदमबहादुर भर्ती भएर मलाया जाँदा उनको तलब ४२ मलायान डलर थियो। उनकै सरहको अंग्रेजको भने ४ सय ५० डलर। मलायाले दुवै सेनानिम्ति बराबर तलब निकासा गरे पनि गोर्खालाई ४२ मात्र दिएर ४ सय ८ डलर बेलायती सरकारले नै खाइदिएको भन्दै उनी आक्रोश पोख्छन्। ‘मेरो तलबमा समेत अंग्रेजले मुनाफा खोज्यो,' उनी भन्छन्, ‘यसरी हजारौं गोर्खालीका नाममा उसले व्यापार गर्योस।'
१९४७ मा राणा, अंग्रेज र भारतबीच भएको त्रिपक्षीय सहमतिपछि भने अंग्रेजले बेलायती सेवाका सैनिकको हैसियत दियो ,तर तलबमान नेपालकै कायम गर्योक। अहिले पनि नेपाली सैनिक सेवा वैधानिक नबनाइएको पदमबहादुर बताउँछन्। यसरी अवैध भर्ती गरेर बेलायतले युद्धअपराध गरेको उनको कडा आरोप छ।
आत्मसम्मानको यो संघर्ष कहिले सोझो बाटोबाट अघि बढ्यो, कहिले बांगोटिंगो। सन् १९८२ मा हवाईमा एक महिने जंगल तालिम भयो। तालिम सकिएपछि एक रेस्टुरेन्टमा आयोजित भोजमा नेपालीहरू देखेर त्यहाँका स्थानीय चकित परेछन्। अनुहार कताकति उनीहरूसँग मिल्ने, तर लवज नमिल्ने। उनीहरू को हुन् भनी सोधिखोजी गर्दैजाँदा एक अंग्रेज कम्पनी कमान्डरले जवाफ दिएछन्, ‘यिनीहरू नेपाल भन्ने देशको विकट पहाडबाट आएका गरिब मानिस हुन्। दुई छाक मिठो खान पाउँदैनन्। उनीहरूलार्ई भर्ती गरेर हामीले जीवन बचाइदिएका छौं।'
गोर्खा सैनिकहरू आत्मसम्मानमा गहिरो ठेस पुग्नेगरी अंग्रेजले बोलेपछि रिसले आगो भए। पार्टी सकेर फर्कंदै गरेका कमान्डरलाई लक्ष्य गरेर बाटोमा एम्बुस थापे। अनि पिटे। एउटा कमान्डरसँग केही गोर्खा सिपाहीले झगडा गरेको निहुँमा गोर्खालीका १ सय ११ सदस्यीय बटालियन नै खारेज गरिदिएको सम्झन्छन् पदमबहादुर। जसले गल्ती गर्योा, सैनिक ऐनअन्तर्गत उसलाई सजाय हुनुपर्नेमा गोर्खालीको पल्टन नै खारेज गरिदिनुले ब्रिटिसहरूको नेपालीमाथि हेर्ने नजर कस्तो थियो भन्ने सम्झाउन काफी रहेको पदमबहादुर बताउँछन्।
लाहुरे आन्दोलनकारी होइन, आज्ञाकारी जात हो। तर जसका लागि लड्यो, उसैले केही नदिई खाली खुट्टा नेपाल फर्काइदिएको बुझेपछि पदमबहादुर र सहकर्मी जागे।
२०५३ फागुन २७ गते गेसोले काठमाडौंमा शक्ति प्रदर्शन गर्योय। नेपालस्थित बेलायती दूतावासले ५ डिसेम्बर २००० मा गेसो आन्दोलन चर्किंदै गएको रिपोर्ट आफ्नो सरकारलाई बुझायो। त्यसको असर बेलायतमा पर्यो०। त्यसबेला प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई, परराष्ट्रमन्त्री थिए रामशरण महत। डिसेम्बर १२ को राति बेलायती प्रधानमन्त्री रबिन कुकले परराष्ट्रमन्त्री महतलाई फोन गरेर भने, ‘खुसीको कुरा छ। क्रिसमसको उपलक्ष्यमा हामी एउटा सिपाहीको ३ सय पाउन्डदेखि अफिसरको ५ सय पाउन्डसम्म मासिक पेन्सन हुने घोषणा गर्दैछौं।'
भोलिपल्टै मन्त्रिपरिषद बैठकमा महतले सुनाए, ‘मलाई बेलायती प्रधानमन्त्रीले यो खबर टेलिफोनबाट दिएका हुन्।'
नेपालको मन्त्रिपरिषदले ब्रिटिस सरकारका तर्फबाट आधिकारिक सूचना आश गरेर बस्यो। तत्कालीन शिक्षा राज्यमन्त्री गंगाधर लम्सालले यो सूचना चुहाइदिएपछि भूपू गोर्खाहरूले पनि आश गर्दै बसे। नभन्दै, क्रिसमसको दिन घोषणा त भयो, तर अमूर्त। ‘गोर्खाहरूको २ सयदेखि २ सय ५० प्रतिशतसम्म पेन्सन वृद्धि भयो,' काठमाडौंस्थित बेलायती दूतावासले विज्ञप्ति निकाल्यो।
संसारमै कहीँ नभएको प्रतिशत बढ्यो भनी गोर्खालीहरू दंग परे। वास्तविकता त्यसको उल्टो थियो। १० पाउन्ड जति पेन्सन पाउँदै आएका उनीहरूले पाउने रकम त उही ५०–६० पाउन्डको हाराहारीमात्रै हुन आयो।
‘ब्रिटिस दूतावासले त्यसबेला सम्झाएर अहिले हामीले यति नै सक्यौं, अरू बिस्तारै गरौंला भनेको भए पनि हाम्रो चित्त बुझ्थ्यो होला,' पदमबहादुर भन्छन्, ‘उसले यो पेन्सन ब्रिटिस सरकारका तर्फबाट क्रिसमस गिफ्ट हो, गेसोको आन्दोलनबाट प्राप्त भएको होइन भनेपछि गोर्खा सैनिकहरू रिसले आगो भए।'
प्रथम र दोस्रो विश्वयुद्धमा बेलायतकै पक्षमा लडेका उनीहरूले आत्मसम्मान रक्षाका निम्ति बेलायत सरकारविरुद्ध नै मुद्दा लड्ने निधो गरे। र, लाहुरेहरूसँग खर्च उठाउन थाले।
सुरुमा गेसोले आन्दोलन गर्छ कि गर्दैन भनी संशय पालेर बसेका लाहुरेहरू पनि त्यतिबेलासम्म खुलेरै समर्थनमा लाग्न थालिसकेका थिए। किनकि, बढेको पेन्सन आखिर गेसो आन्दोलनकै परिणाम थियो। त्यही बेला बेलायत सरकारले आफ्ना युद्धबन्दीलाई १०–१० हजार पाउन्ड दिने घोषणा गर्यो । यसले गोर्खालीहरू झन् रिसले चुर भए। बेलायतीलाई दिने भन्यो, गोर्खालीलाई दिने त कुरै छैन। तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरकी पत्नी शेरी बुथले समेत आफ्ना पतिसँग गोर्खालीको पेन्सन बढाएर मासिक तीन सय पाउन्ड पुर्या उन सल्लाह दिएकी थिइन्।
यसरी सुरुमा चारसूत्रीय मागबाट सुरु गेसो आन्दोलन अन्ततः दर्जनौं मुद्दामा प्रवेश गर्योन। त्यसमा गोर्खालीको ‘सेटलमेन्ट', स्वास्थ्योपचार, शिक्षाजस्ता सामाजिक सुरक्षाका विषयले पनि प्रवेश पाएका थिए।
नेपालका जतिसुकै उच्चपदस्थ भनिएकाले समेत उपचार पाउन मुस्किल ठानिएका लन्डनका अस्पतालहरूका वार्डमा आज भूतपूर्व गोर्खा सैनिकहरू उत्तानो सुतिरहेका भेटिन्छन्। पदमबहादुरको भनाइअनुसार हिजो कुनै बेला गोर्खालीले ब्रिटिसको पाउ छुुनुपर्थ्यो, आज २५ लाख पाउन्ड खर्च गर्नुपर्ने अस्पतालमा निःशुल्क सुतिरहेका गोर्खालीको पाउ बेलायती डाक्टर र नर्सहरू छोइरहेछन्। यस्ता थुप्रै लडाइँ छन् जहाँ विश्वयुद्धमा लडेका गोर्खा सैनिकले आफ्नो हक मागेका छन्। न्यायका धावाहरू जितिरहेछन्।
र, आज साल्मेडाँडामा धमाधम गोर्खा स्मारक बनिरहेको छ। ‘पितृहरूको रोएको आत्माले हामीलाई लड्ने प्रेरणा दिइरहेको छ,' जीतबहादुर भन्छन्, ‘मान्छेको रगतले एक दिन पोल्नेछ युद्ध घोषणा गर्नेलाई। हामी त्यसैका लागि र नेपाली जातिको गौरवका लागि यो बनाइरहेका छौं।'
इतिहासलाई पढ्नेमात्रै होइन, बदल्ने पनि हो। गेसोको यो लडाइँले गोर्खालीलाई हेर्ने पश्चिमी चस्मा बदल्दिएको छ।
पहिचान बदल्ने सपना
म घाउ सुमसुम्याएर
यो रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख लाहुरे फूल
म तिम्रो नाम फेर्न चाहन्छु
– तीर्थ श्रेष्ठ (‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु' कविताबाट)
झट्ट सुन्दा गोर्खा भन्ने शब्दले पृथ्वीनारायण शाहले बृहत गोर्खा राज्य विस्तार अभियान थालेको गोरखा जिल्लामात्रै सम्झाउँदैन। सुगौली सन्धिभन्दा पहिले गोरखा उद्गमथलो भएका शाहवंशीय राजासँग जोडिएको यो शब्द कालान्तरमा बेलायतीहरूले भर्ती लिन प्रयोग गर्ने शब्द हुन पुग्यो। नेपालमा चलेको गोर्खा शब्द ब्रिटिसहरूले आफ्नो जिब्रोको सजिलोका लागि गुर्खा बनाएका हुन् भनेर बुझ्न गाह्रो छैन। किनकि, उनीहरूले भारतलगायत अधिकांश ठाउँका स्थानीय नामलाई आफ्नो लवजअनुरुप ढालेका थिए।
अंग्रेजसँग मलाउमा लड्दा आत्मसमर्पण गरेका योद्धा अमरसिंह थापालाई जबर्जस्ती सही गराएको कागजमा तत्कालीन इस्ट इन्डिया कम्पनीका गभर्नर वारेन हेस्टिङ्सले गोर्खालीलाई आफ्नो सेनामा भर्ती दिने सहमति प्रदान गरेका थिए। त्यसपछि सोही युद्धमा अंग्रेजले युद्धबन्दी बनाएका गोर्खाली सेनाका जवान र भगौडालाई सोही वर्ष भर्ना गरेर चारवटा गोर्खा बटालियन खडा गरेको गोर्खा भर्तीसम्बन्धी अनुसन्धान तथा लेखनमा क्रियाशील पत्रकार वसन्त थापाले २०५५ कात्तिकको हिमाल द्वैमासिकमा लेखेका छन्।
‘पहिले–पहिले पाकिस्तानको लाहोरमा लगेर भर्ना लिने चलनसँगै लाहोरे हुँदै अन्ततः लाहुरे शब्द निर्माण भएको हो,' उनी भन्छन्।
त्यसपछि विभिन्न समयमा छुट्टाछुट्टै स्थानमा गोर्खा बटालियन बनाएको अभिलेख भेटिन्छ। झलक सुवेदीको पुस्तक ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा' मा यसको सम्पूर्ण नालिबेली संगृहीत छ।
भारतमा ब्रिटिस राज छँदा गोरखपुर र देहरादूनमा भर्तीकेन्द्र खोलिए। सन् १९५० सँगै नेपालमा धरान र पकलिहवामा क्याम्प राखेर भर्ती लिन थालियो। विश्वयुद्ध सकिएको १५ वर्षपछि सुरु भएको मलाया युद्धका बेला सर्वाधिक नेपाली भर्ती भएको इतिहास छ।
बेलायती प्रोफेसर राल्फ टर्नरले लेखेको यो कविता लन्डनको थेम्स नदी किनारको ह्वाइट हलमा गोर्खा सैनिकको विराट स्तम्भको मुनि कुँदिएको छ :
द गुर्खा सोल्जर
ब्रेभेस्ट अफ द ब्रेभ
मस्ट जेनरस अफ द जेनरस
नेभर ह्याड कन्ट्री
मोर फेथफुल फ्रेन्ड्स देन यु।
प्रोफेसर टर्नरको यो कविताको भावार्थले गोर्खालीलाई वीरता र उदात्त मन, विश्वासका लागि विश्वमै अतुलनीय मानेको छ। यो कविताको दायाँ र बायाँ भागमा देवनागरीमा ‘ॐ' शब्द कुँदिएको छ। पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाले लडेका ठाउँका नाम उल्लिखित छन्। दुवै विश्वयुद्धमा लड्ने गोर्खाका एघारवटा राइफल, रेजिमेन्ट र तिनीहरूसँग सम्बन्धित बटालियनका नामसमेत त्यसमा उद्धृत छन्। यसलाई बेलायती जनताले गोर्खालीप्रति गरेको स्नेह र सम्मानको परिचायक मान्नेहरू पनि छन् भने तक्मा र प्रशंसाले फुर्क्याएर स्वार्थ पूरा गर्न उक्साउने चाल भनी बुझ्नेहरू पनि छन्।
पञ्चायतकालमा तत्कालीन नेकपा मालेनिकट अनेरास्ववियुले गोर्खा भर्ती बन्द गर भन्ने नारा उछाल्यो। माओवादीले विद्रोह थाल्दा एउटा मुद्दा यसैलाई बनाएको थियो। एमालेलगायत दलहरूले पनि आश्वासन दिए। कांग्रेस भने सुरुदेखि नै अनुदार बनेको आरोप लगाउँछन् गेसो अध्यक्ष पदमबहादुर।
इतिहासकार वन्तका अनुसार विद्रोहका बेला प्रत्येक कम्युनिस्ट पार्टीले गोर्खा भर्तीको विरोधमा चर्का नारा दिए पनि आफू सरकारमा गएका बेला भर्ती रोक्न केही गरेनन्, आजसम्म गरेका छैनन्। कम्युनिस्ट पार्टी र यसका भ्रातृ संगठन लाहुरे प्रथाका विरोधी छन्। जंगबहादुर हुँदै पञ्चायतकालीन राष्ट्रवादीहरूले लाहुर जानुलाई ‘विदेशी भाडाका सिपाही' हुनु हो भनी अर्थ्याएका छन्। बीचका राणाहरूले भने एकप्रकारले गल्लावालको भूमिका नै निर्वाह गरे।
लाहुर जानु नेपाल र नेपालीका लागि ठिक या बेठिक थियो भन्ने बहस समाजमा छँदै छ। बेलायतको उपनिवेश सकिएसँग भारत, सिंगापुर, ब्रुनाइजस्ता देशमा आज पनि नेपाली भर्ती गइरहेछन्। एकातिर नेपालको समृद्धिमा खट्न सक्ने भनिएका युवाहरु लाहुरे वा श्रमिकका रुपमा ती देश र खाडी मुलुकमा गएर रगत पसिना खर्चिरहेका छन्। अर्कातिर उनीहरुको मेहनतले सहरदेखि गाउँसम्म जीवनस्तर सुधे्रको पनि देखिन्छ। अरू सामान्य नेपालीको आयआर्जन र जीवनशैलीभन्दा लाहुरे र तिनका सन्तान राम्ररी पढेबढेका देखिन्छन्। पूर्व मेचीदेखि महाकालीसम्मका ठाउँ चहार्ने हो भने यसको झलक पाउन सकिन्छ। सन्त्रास, अपमान र मृत्युको अर्को पाटोतिर राम्रो आयस्ता, समृद्धि र सुखद भविष्य पनि देखिन्छ। उसमाथि पहिलेजस्तो केवल युद्धको बेला अब रहेन। लाहुरमा गोर्खाहरूको भूमिका पनि बदलिँदैछ। त्यससँगै गुमेको आत्मसम्मान फिर्ता पनि हुँदैछ। गुमेको अस्मिता फर्काउन गेसो आन्दोलन अझै न्यायिक धावामा लडिरहेको छ।
पत्रकार वसन्त थापाका अनुसार बेलायतले भर्तीसंख्या क्रमशः घटाउँदै लगेकाले लाहुर जानु नेपालको हितमा थियो कि थिएन भन्ने बहस टुंगो लाग्नुपूर्व नै स्वतः निस्त्रि्कय हुँदैछ। नेपाली समाजमा लाहुरे संस्कृति विकास भएको तथ्य सकार्दै उनी भन्छन्, ‘यो ठिक थियो कि थिएन भन्दा पनि यसले नेपाली समाजको एउटा समयलाई प्रभावित पार्योन जुन महत्वपूर्ण तथ्य हो।'

यस्तो बन्दैछ स्मारक

साल्मेडाँडामा धमाधम निर्माण भइरहेको गोरखा स्मारकको नापनक्साअनुसार दक्षिणपूर्वबाट परिसर छिरेपछि दुई एम्पिथिएटरमा पुगिन्छ, जहाँ ३ सयआगन्तुक अँट्न सक्छन्। ३ लाख लिटर पानी भएको पोखरीमाथि आकर्षक पुल हुन्छ, पानीको अग्लो फोहरा पनि। अझ अगाडि बढ्दा विश्वयुद्धलगायत धावामा ज्यान गुमाएका ६० हजार गोर्खालीको अस्तु राखिएको सामूहिक समाधिस्थल बन्छ। समाधिअघिल्तिर पुग्दा जोकसैको शिर झुक्छ, किनकि त्यो गहिरो भागमा राखिन्छ। दाहिनेतिरबाट घुम्दैजाँदा गोर्खाली वीरताको प्रतीक खुकुरी लट्काइरहेको गोर्खा सैनिकको १६ फिट अग्लो मूर्ति हुन्छ। विश्वशान्तिको प्रतीक बन्ने हुनाले त्यहाँ बन्दुकहरु राखिँदैन। नेपाली ग्रामीण जनताहरुको साझा पहिचान झल्काउने पालीघर सम्झाउने संरचना बन्नेछ। छेउमा बन्छ, २६ फिट अग्लो टावर।
यो अर्धचक्राकार स्मारकलाई नेपाली परम्पराअनुसार दायाँबाट परिक्रमा गर्न मिल्नेगरी निर्माण भइरहेको छ। त्यसैसँग जोडिएको पर्खालको ब्रासलेटमा लेखिनेछ, ‘हाम्रा ६० हजार पूर्खाहरु, तपाईंहरुको आत्मा यहाँ बसेको छ।'
अलि मुनि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिनेछ, ‘तपाईंहरुको रगतले बेलायत महाशक्ति भयो, विश्वले शान्ति पायो। तपाईंहरुले चाहिँ के पाउनुभयो? नेपालले के पायो?'
पदमबहादुर भन्छन्, ‘जुनसुकै पर्यटकलाई पनि त्यहाँ पुग्दा विश्वयुद्धजस्ता धावामा नेपालीले गरेको बलिदान र त्यसबापत उल्टै सहेको अपमानको सम्झना र अनुभूति होओस्, हाम्रो चाहना यही हो।'
२६ फिट अग्लो टावरमा एउटा घडी राखिनेछ जहाँ कुनै एक समयलाई ‘जिरो आवर' मानेर टाढाटाढासम्म सुनिने गरी बिगुल बजाइनेछ। त्यसबेला सबैले ध्यान दिऊन्, र श्रद्धाले आफ्नो स्थानबाट मौन उभियून् भन्ने निर्माणकर्ताको चाहना छ। 
छेउमा रेस्टुरेन्ट र आवास हुनेछन्। स्मारकमुन्तिरको ३ सय रोपनी जग्गामा विश्वयुद्धमा मारिएका १९ जातिको सांस्कृतिक पहिचान झल्काउने सांस्कृतिक ग्राम बन्नेछ। त्यसको तयारी सुरु भइसकेको गेसोले जनाएको छ।

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...

युरोपले गरायो 'युटर्न'

युरोपले गरायो 'युटर्न'

'अंग्रेज बु्रअर नभई कम्पनी चलाउन नपाइने भयो, लौन खोज्न जाऔं !'काठमाडौंमा डिस्टिलरी चलाउने एकजना साथीको आग्रह टार्न नसकेर युरोप घुम्न हिँडेका वसन्तराज मिश्रको निम्ति त्यही भ्रमण जिन्दगीकै महत्वपूर्ण 'टर्निङ प्वाइन्ट'...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

झलमल्ल पुनहिल

झलमल्ल पुनहिल

कोही हिमालतिर क्यामेरा ताकिरहेका। कोही खुशीका आँसु चुहाइरहेका। पुनहिल (३,२१० मिटर) मा हरेक बिहान सूर्योदय र हिमाल हेर्नेहरुको मेलै लाग्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, हिमचुली, गंगापूर्ण र माछापुच्छे्र लगायत हिमाल देखिन्छ।

लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...

हराउँदै छ भजन

हराउँदै छ भजन

काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन...

जसले महिलालाई हतियार बोक्न सिकाइन्

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।