Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

पहिले खोजीखोजी अहिले रोजीरोजी

  • ८ चैत्र, २०७०
  • मनोज घर्तीमगर
  • DISQUS_COMMENTS
(0 votes)
पहिले खोजीखोजी अहिले रोजीरोजी
‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'
‘आई हो र? कहिले?'
‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'
‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'
‘बढी बोल्छेस्? अहिले फेरि ...!'
लाहुरे गाउँ फर्कंदै गरेको सुइँको पाउनेबित्तिकै तरुनीबीच मेलापात, पानीपँधेरामा यस्तै खासखुस चल्न थालिहाल्छ।
आमाहरू लाहुरे–छोरो आउने दिन गन्न थाल्छन्। बाउहरू छरछिमेकका फलैंचा, चियापसल र चौतारीतिर जुँगामा ताउ लगाउँदै छोरोको शान–सौकत बयान गर्छन्। दाँवलीहरू साथी आऊला र दुईचार दिन रमाइलो गरौंला भन्ने ध्याउन्नमा हुन्छन्। 
लाहुरे घर फर्कंदा नेपाली समाजमा कुनै जमाना यस्ता दृश्य खुब देखिन्थे। लाहुरेको यही रवाफिलो जीवन देखेर थुपै्र नेपाली युवा लाहुरे बने। अनि शान, मान र धन कमाए।
...
पाकिस्तानको एक सहर– लाहोर। त्यहाँ पन्जाबी सेनाको क्याम्प थियो। नेपाल–अंग्रेज युद्धमा गोर्खाली सेनाका कप्तान बलभद्र कुँवर लड्न नसकेपछि नालापानी किल्ला छाडेर भागे। उनी लाहोर पुगेर पन्जाबी सेनामा भर्ती भए। सम्भवतः पहिलो लाहुरे उनै थिए। यसरी नेपाली लाहोर जाने र लाहुरे बन्ने संस्कार सुरु भयो। लाहोर गएर सैन्यसेवामा छिर्ने युवालाई नेपालमा ‘लाहुरे' भन्न थालियो। पछि ब्रिटेनले सन् १८१५ तिर गोर्खा भर्ती थालेपछि लाहुरे प्रथाले मलजल पायो। लाहोर जानेमा धेरैजसो मगर, गुरुङ, लिम्बू, क्षत्री, राईलगायत थिए। खुकुरीको धारमाथि हिँडेर उनीहरूले ‘लाहुरे' पेसालाई व्यापक बनाए। गोर्खाली भर्ती अझै निरन्तर छ। 
...
सन् ८० को दशकसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चिन्थ्यो। ‘लाहुरे आएको छ रे! कस्तो रैछ लाहुरे?' सोधीखोजी चल्थ्यो। लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै दोब्बर हुन्थ्यो, पुर्खाको बिँडो थाम्यो भनेर। यही पुर्खाको बिँडो थाम्दै सन् २००१ मा लाहुरे भएका थिए– पोखरा रामबजारका दीर्घमान गुरुङ पनि। लाहुरेको शानसौकत र रवाफ देखेरै लाहुरे भएको सुनाउँछन् उनी। ‘हाम्रो समुदायमा लाहुरे नै सबथोक हो। जीवन पनि सुरक्षित छ,' ३३ वर्षे गुरुङ भन्छन्, ‘सामान्य नेपालीले मासिक साढे दुई लाख तलब खाने जागिर पाउनु मामुली कुरा हैन।' लाहुरे भएपछि पोखरामा बडेमानको घर जोडेको र परिवारलाई पनि सुखसुविधा दिन सकेको उनको भनाइ छ। 
बेलायतको चाकडीमा राणा प्रधानमन्त्री वीरशमशेर, चन्द्रशमशेरले भर्ती हुनैपर्ने उर्दीले यो माहोल ह्वात्तै बढ्यो। हजारौं युवा नचाहेरै बाध्यताले अंग्रेज सेनामा हुलिए। पहिलो–दोस्रो विश्वयुद्ध र विभिन्न क्षेत्रीय युद्धमा थुप्रै गोर्खालीको मृत्यु भयो। तैपनि लाहुरे हुनुमा गर्व गर्ने घटेनन्। लाहुरे भएकोमा यस्तै गर्व गर्ने युवा हुन्, पोखरा लामाचौरका २७ वर्षीय दिनेश पुर्जा। सन् २००७ मा छाती नपाएका उनी सिंगापुर पुलिसमा भर्ती भए। लगातार तीन वर्ष छाती फुलाएपछि उनी लाहुरे बने। ‘भर्ती नभएको भए लोफर भएर हल्लिँदै हिँड्नुपर्थ्यो होला,' उनी भन्छन्, ‘लाहुरे भएपछि पोखरामा घरघडेरी जोडेँ। घरपरिवार खुसी छन्।' 
छोटो कपाल। एकरंगी पोसाक। कालो बुट। पिठ्युँमा सुटकेस, काँधमा रेडियो। देब्रेहातमा दम दिने घडी। ओठमा मुस्कान। कसिलो ज्यान। घर फर्कंदा लाहुेरको शान नै बेग्लै। रहर या बाध्यताले विदेशी (बेलायती, सिंगापुर वा इन्डियन) फौजमा भर्ती भएर देशदेशावर लडाइँमा खटिँदाका पीडा भुल्न जन्मस्थल फर्कंदाको खुसी लाहुेरमा पनि कहाँ कम्ती हुनु र! बिछट्टै उत्साह, शान र स्फूर्ति लिएर फर्केको हुन्छ ऊ। 
लाहुरेलाई छुट्टी आउँदा यस्तै हुलियामा देखेका ठिमुरे–३ घोर्लीखर्क पाल्पाका हुमबहादुर थापामगर सन् १९७९ बेलायती सेनामा भर्ती भए। जस्तो सोचेका थिए, त्यस्तै भयो उनलाई। १५ वर्ष ब्रिटेनको सेवा गरेका उनले राम्रै कमाए। बुटवल र काठमाडौंमा आलिसान घर जोडेका उनी लाहुरे नभएको भए यति धेरै प्रगति गर्न नसक्ने बताउँछन्। ‘नेपालको जुनसुकै जागिर खाएको भए पनि बुटवल र काठमाडौंमा घर बनाउने औकात हुन्थेन,' हुम भन्छन्, ‘मेरा सहपाठी लाहुरे भएनन्। मजति प्रगति गर्न सकेनन्। मैले भने लाहुरे भएरै युरोप र एसिया धेरै घुमेँ। नत्र कहाँ यस्तो अवसर आउनु!' 

उहिले खोजीखोजी, अहिले रोजीरोजी
लडाइँमा पाउने दुःख जति छ, त्योभन्दा कयौं गुणा मानसम्मान छ लाहुरेको। त्यसैले, थुपै्र युवक लाहुरे बन्ने सपना बोकेर हुर्कन्छन् र जवानीले पाइला टेक्दानटेक्दै छाती नपाउन ब्रिटिस क्याम्पतिर दौडन्छन्। 
पोखरा फूलबारीका १८ वर्षीय सुभाष गुरुङ पोहोरको भर्तीमा असफल भएपछि यो वर्ष फेरि छाती तन्काउँदैछन्। ‘ब्रिटीस आर्मीमा भर्ती हुनु मेरो लक्ष्य हो,' उनी भन्छन् ‘भएन भने इन्डियन आर्मीमा ट्राई गर्छु।' उनका बराजु, बाजे हुँदै बाबु पनि लाहुरे हुन्। 
सुभाषजस्तै लिम्घा–६ गुल्मीका १८ वर्षीय सिजन थापामगरले एसएलसी पास हुनेबित्तिकै छाती नपाइसके। अहिले पोखरामै बसेर अभ्यास गरिरहेका उनी जसरी पनि ब्रिटीस आर्मीमा भर्ती हुने ध्याउन्नमा छन्। ‘आमाबाबा पनि म लाहुरे भएको देख्न चाहनुहुन्छ,' १२ कक्षा पढ्दै गरेका उनले भने। 
जनजातिलाई मात्रै प्राथमिकता दिने ब्रिटेनले केही वर्षदेखि सबै जातिलाई भर्ती लिन थालेपछि अन्य युवाको पनि आकर्षण बढेको छ। 
यही अवसर छोप्न लागिपरेका छन्, म्याग्दीका सरोज क्षेत्री। सरोज छिमेकी लाहुरेको शानदार जीवन देखेर हौसिएका हुन्। ‘गुरुङ, मगर साथीका बाआमाले बिहानै उठेर दौडिन जा, सुतेर कहाँ लाहुरे बन्छस् भन्दै हौसला दिन्छन्,' पोखरा बसेर भर्तीको तयारी गरिहरको उनी भन्छन्, ‘मलाई भने घरमा लाहुरेसाहुरे हुनु पर्दैन खुरुखुरु पढ् भन्छन्। तर मलाई लाहुरे बन्नुछ।' 
लाहुरे बन्न चाहने युवा यतिबेला तयारीमा जुटिरहेका छन्। कोही पहिलोपटक भिड्दैछन् त कोही दोस्रोपटक। कोही अन्तिम ‘चान्स'का लागि घुँडा धसिरहेका छन्। पटकपटक प्रयास गरेर असफल भए पनि पैयूँथन्थाप– २, बागलुङका दीपक थापामगर लाहुरे हुने आशमै छन्। उनी २०६९ भदौमा पहिलोपटक भर्ती हुन पोखराको ब्रिटिस क्याम्प पुगे। दुईपटक भारतीय सेनामा छाती नपाए। पोखराकै एक ट्रेनिङ सेन्टरमा तीन महिना तालिम पनि लिए तर असफल भए। ‘नेपालमा जति पढे पनि जागिर पाइन्न, लाहुरे भए आफू र परिवारको भविष्य सुरक्षित हुन्छ,' लाहुरे शैलीमा कपाल काटेका साढे १९ वर्षीय दीपक भन्छन्, ‘एक्लो छोरो लाहुरे बनोस् भन्ने बाउआमाको पनि आशा छ।'
एसएलसी उत्तीर्ण गरेका १७ वर्ष ६ महिनादेखि २१ वर्षबीचका युवा बेलायती सेना र सिंगापुर पुलिसमा भर्ना हुन सक्छन्। ५ फिट ३ इन्च उचाइ र ५० किलो वजन शारीरिक न्यूनतम योग्यता हुन्। छाती नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च हुनुपर्छ। आवेदकहरूले पूर्वमा धरानस्थित पुरानो घोपा क्याम्प र पश्चिममा पोखरा ब्रिटिस क्याम्पमा फाराम भर्नुपर्छ। आवेदन फारमका लागि आठ पटक भिम खिच्नैपर्ने, पासपोर्ट हुनैपर्ने, विभिन्न जिल्ला र अञ्चलका लागि तोकिएकै दिन फाराम भर्नुपर्ने व्यवस्थाले झन्डै २० प्रतिशत युवाको सपना फारम भर्नै नपाएर तुहिन्छ।
बर्सेनि झन्डै १० हजारले फाराम भर्छन्। तर, प्रथम–द्वितीय विश्वयुद्धताका जस्तो नेपाली युवालाई सोहोरेर लैजाँदैन बेलायती। छानी–रोजी हजारौं हजारबाट सवा सयमात्रै लैजान्छ। विश्वयुद्ध चल्दा लौरोले नापेर एकै दिन तीन–चार हजार भर्ती लिने बेलायतले एक दशकयता १ सय २६ जना छान्न झन्डै आठ महिना लगाउँछ। संख्या थोरै हुनाले भर्तीमा ठूलो प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धाको सुरुङभित्र पसेर निस्कन नेपाली युवालाई जति कठिन छ, त्यति नै सहज भएको छ, बेलायतलाई रोजी–रोजी भर्ती लिन। दोसो विश्वयुद्ध चलिरहेका बेला नेपाली युवाले भर्ती हुन प्रतिस्पर्धा नै गर्नु पर्दैनथ्यो। घरघरबाटै फकाएर लगिने त्यो समयमा १४–२९ वर्ष उमेर समूहका नेपाली युवा सजिलै भर्ती हुने गरेको भूपू ब्रिटीस आर्मीका ९२ वर्षीय धनकाजी गुरुङ बताउँछन्। ‘महायुुद्धका बेला फकाइफुलाई भर्ती लान्थ्यो। आजभोलि त मारामार केटाहरू छ,' उनी भन्छन्, ‘छानीछानी राम्रामात्रै लैजान्छ।' 

तयारी गर्नेको लस्कर 
लाहुरे हुन कडा प्रतिस्पर्धा भएपछि पूर्वतयारी गर्ने युवा दिनदिनै बढ्दैछन्। जेठ–असारमा भर्तीको आवेदन खुल्ने भए पनि चैत–बैसाखदेखि नै युवाको लस्कर देखिन्छ पोखरामा। यहाँ पूर्वदेखि पश्चिमसम्मका युवा आउँछन्। यसको फाइदा उठाउँदै पोखरामा लाहुरे बन्नेलाई प्रशिक्षण दिने एक दर्जन बढी संस्था खुलेका छन्। 
प्रायः सबै केन्द्रमा युवालाई जुडो कराँते, तेक्वान्दो, जीम, फुटबल, बास्केटबल, भलिबल र अंग्रेजी भाषाको ज्ञान दिइन्छ। ‘लाहुरे बन्न आवश्यक शारीरिक तयारीसँगै भाषाको ज्ञान र चम्चा–काँटाले खानेदेखि ट्वाइलेट पेपर चलाउनेसम्म सिप सिकाइन्छ,' सिंगापुर पुलिसमा २७ वर्ष बिताएका यामबहादुर गुरुङले भने। युवालाई प्रशिक्षण दिन उनले पोखरामै लोटस टे्रनिङ इन्स्टिच्युट चलाइरहेका छन्। 
यस्ता केन्द्रले ६ महिने कोर्स बनाएर एक मुस्ट ५ हजारदेखि ७ हजारसम्म मासिक शुल्क लिन्छन्। आवासीय प्रशिक्षण लिनेले ६ महिनाको ७० देखि ८० हजारसम्म खर्चिन्छन्। हरेक वर्ष भर्तीका लागी यी सेन्टरमा लाहुरे बन्न इच्छुक युवाको भीड लाग्छ। 

हरायो भर्तीविरोधी स्वर
पञ्चायतकालमा कम्युनिस्ट पार्टीले भर्तीविरोधी सन्देश र गीत गाउँ–गाउँसम्म पुर्या।ए। एकताका ‘दाजुभाइ नजाउ न लाहुर, नेपालमै पाइन्छ जागिर', ‘जान्न म त मलाया छाउनी' बोलका गीत खुब घन्किन्थे। यी गीतको प्रचारसँगै गोर्खा–भर्तीको विरोध हुन थाल्यो। तर, हिजोआज भर्तीविरोधी स्वर हराइसकेका छन्।
एनेकपा माओवादीले संविधानसभा चुनावताका घोषणापत्रमा बेलायती सेनामा हुने भर्ती रोक्ने उल्लेख गरेपछि लाहुरे समुदाय कडा विरोधमा उत्रिए। मगर–गुरुङलगायत केही समुदायको त पुस्तैनी पेसा नै लाहुरे बन्नु हो। अहिले ब्रिटिस आर्मीको सिपाहीले मासिक दुई लाख ५० हजार जति तलब पाउँछ। भर्ती हुनेबित्तिकै बेलायती नागरिकता र आवासीय अधिकार पाउँछ। अवकाशपछिको जीवन सुरक्षित हुन्छ। यो सुविधा नेपालीका लागि आकाशको फलजस्तै हो। यही कमाइले लाहुरेविरोधी स्वर बिस्तारै हराउँदै गएको छ।
वागमती लहरले उठेर बर्सिदेऊ...

वागमती लहरले उठेर बर्सिदेऊ...

पानी.....पानी.....पानीवागमती लहरले उठेर बर्सिदेऊ.....पानी.....पानी.....पानी

सन्तानलाई पैसा होइन, समय दिऊँ

कुनै काम सफल पार्न काम गर्ने व्यक्तिमा त्यससम्बन्धी ज्ञान र अनुभव दुवै हुनुपर्छ। सन्तानको लालनपालनमा पनि यो लागू हुन्छ। तर, अधिकांश मामिलामा पहिलोपटक आमाबाबु हुनेसँग यो दुवै हुँदैन। कसैकसैसँग किताबी...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...

गुफाभित्र देवतै देवता

गुफाभित्र देवतै देवता

घुर्मिबाट हलेसी जाँदा जयरामघाटमा दुधकोशी नदी तर्नु पर्छ। घाट वारी ओखलढुँगा पर्छ भने पारी खोटाङ। नदीमा बेलिब्रिज छ जुन बर्खामा झिकिन्छ। घाटबाट ३२ किलोमिटरमा हलेसी महादेव। वर्सेनी हजारौं तिर्थालु हलेसी...

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

काठमाडौं-बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शैया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

राम्रो रचना मिठो नेपाली

भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।

अमरता नचाहनेले रचनालाई माया गर्दैन

इटालीका ८१ वर्षे उपन्यासकार अम्बर्टो इको समकालीन विश्वका बहुचर्चित लेखकमध्ये एक हुन्। उनी दार्शनिक, निबन्धकार, साहित्यिक समालोचक र संकेतशास्त्री पनि हुन्। इकोको परिचय यत्तिमा सीमित छैन। उनी पचास हजारभन्दा बढी...