Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

कति नेपाली कहाँ–कहाँ लडे?

  • ८ चैत्र, २०७०
  • मणि दाहाल
  • DISQUS_COMMENTS
(1 Vote)
कति नेपाली कहाँ–कहाँ लडे?
पहिलो विश्वयुद्ध सुरु भएको यसै वर्ष एक शताब्दी पुगेको छ। युरोपका विभिन्न देशमा इतिहासको त्यो त्रासदीपूर्ण घटनाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।
नेपाल विश्वयुद्धको पक्षराष्ट्र होइन, तर त्यसबाट अछुतो पनि रहेन। त्यो समय मृत्युको लेखाजोखा गर्ने अहिलेजस्तो व्यवस्थित संस्था र प्रणाली नभएकाले कति नेपालीले लडे, कतिको मृत्यु भयो र कति घाइते भए भन्ने यकिन तथ्यांक छैन।
संसारभरका ८० लाख सैनिक लडाइँ क्रममै मारिएको र थप २ करोडको रोगभोकले मृत्यु भएको अनुमान गरिने पहिलो विश्वयुद्धमा २० हजारजति नेपालीको मृत्यु भएको अपुष्ट तथ्यांक छ। युद्धमा एक सैनिकको मृत्यु हुँदा तीनदेखि पाँच सैनिक घाइते हुन्छन् भन्ने अनुमान गरिन्छ। २० हजारको मृत्यु भएको मान्ने हो भने ६० हजारदेखि १ लाखभन्दा बढी नेपाली घाइते भएको आँकलन गर्न सकिन्छ।
सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धमा नेपालले बेलायती साम्राज्य तर्फबाट युरोप र मध्यपूर्वमा लडेका थिए। फ्रान्स र बेल्जियमको युद्धक्षेत्रदेखि टर्कीको ग्यालिपोलीका पहाड र मेसिपोटामिया (इराक) र प्यालेस्टायनको मरुभूमिमा समेत लडेका थिए। बेल्जियमको इपर र टर्कीको ग्यालिपोलीमा धेरै नेपाली मारिएका थिए। त्यसैगरी स्वेज, प्यालेस्टायन, मेसिपोटामिया (इराक), स्वेज (इजिप्ट), पर्सिया (इरान), वाजिरिस्तान (पाकिस्तान) सहित धेरैवटा स्थानमा गोर्खाली सेना तैथान गरिएका थिए।
युद्ध सुरु भएको दुई महिना दुई दिनमै नेपालीहरू लडाइँको मैदान पुगिसेका थिए। अस्ट्रिया–हंगेरीले सर्वियामाथि आक्रमण गरेको दस दिनपछि अर्थात अगस्ट ७ मा बेलायती सेनाको गोर्खा राइफलको सेकेन्ड बटालियनले युद्धको तयारीको आदेश प्राप्त गरेको थियो। सुरुको टोली दिल्ली, कराँची हुँदै फ्रान्सको मार्से पुगेर युद्ध क्षेत्रमा लागेको थियो। 
बेलायती सेनाकै आग्रहमा गाउँगाउँबाट युवालाई भर्ती गराइन्थ्यो। ‘क्षेत्रीहरूलाई समेत भर्ना लिइए पनि जनजाति समुदायलाई बढी प्राथमिकता दिने गरिन्थ्यो,' गोर्खाली इतिहासबारे अध्ययन गरेका झलक सुवेदीले नागरिकसँग भने, ‘काम गर्नसक्ने उमेरका करिब ३० प्रतिशत युवालाई युद्धमा भर्ना गरिएको थियो।'
उनका अनुसार सुरुमा बेलायती साम्राज्यले पश्चिम नेपालमा सघन बसोबास भएका मगर र गुरुङ समुदायलाई भर्तीमा प्राथमिकता दिएको थियो। पछि पूर्वका राई, लिम्बु, सुनुवार हुँदै तामाङ, नेवार र क्षेत्रीलाई समेत भर्ना लिन थाल्यो।
पहिलो विश्वयुद्धले युरोपेली देशहरूको आधिपत्य संसारभरि फैलाएको थियो। नेपालजस्तो देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युरोपेली प्रभाव सुरु भएको त्यतिबेलैदेखि हो। ‘बेलायतीको पक्षबाट नेपालीले लडेको त्यो युद्धले नेपालको जनसंख्या, अर्थतन्त्र, जीवनशैली र राजनीतिमा गहिरो प्रभाव पारेको थियो,' सुवेदीले भने, ‘मोजमस्तीमा रमाउने, रक्सी खाने, तास खेल्ने र पोइल जाने प्रवृत्ति भित्र्याएको पनि त्यसैले हो।'
पहिलो विश्वयुद्धमा बहादुरी देखाएबापत युद्ध क्रममा दुई नेपालीले बेलायती सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस' प्राप्त गरे। पहिलो विश्वयुद्धबाट फर्केका लाहुरे र मृत्यु भएका व्यक्तिको परिवारले १३ करोड रुपैयाँ प्राप्त गरेका थिए। सरदार भिमबहादुर पाण्डेको पुस्तक ‘त्यस बखतको नेपालमा' पनि पहिलो विश्वयुद्धपछि नेपाली समाजमा आएको परिवर्तनको रोचक वर्णन गरिएको छ।
‘त्यस महायुद्धमा झन्डै दुई लाखजस्तो नेपाली युवकले नेपाल अधिराज्यका विभिन्न पहाडी भागबाट ब्रिटिस गोर्खा फौजमा भर्ती भई मेसोपोटामिया, ग्यालिपोली, फ्लाल्याडर्सका लडाइँ लडी १९७७ सालतिर विदा र पेन्सन लिएर नेपाल फर्के,' सरदार पाण्डेले लेखेका छन्, ‘दुई लाख गोर्खाली सिपाहीले छ–सात वर्षसम्म जागिर, पेन्सन, मरुवा पेन्सन गरी सरदर पाँच सय भारतीय रुपैयाँ विदेशमा कमाएर उतारेका थिए, त्यो १३ करोड नेपाली रुपैयाँ हुन्थ्यो।' पाण्डेको भाषामा भन्ने हो भने ‘एकाध करोड' रुपैयाँ राजस्व उठ्ने सानो मुलुकको निम्ति त्यो ‘ठूलो रकम' हो। 
वस्तु विनिमयमा आधारित नेपाली अर्थतन्त्रको चरित्र परिवर्तनका गर्नका लागि त्यो रकमले मद्दत गरेको थियो। ‘नेपाली सर्वसाधारणका हातमा यति धेरै रुपैयाँ पुगेको पहिलोपटक थियो,' सुवेदीले भने, ‘यसले नेपालमा पुँजीवादी अर्थतन्त्रको विकास गर्न मद्दत गर्यो । पहिलो विश्वयुद्धपछि नेपालमा जापानी र बेलायती सामान बढेको देखिन्छ।' यसले नेपाली घरेलु उद्योगका सामानको माग घट्न थालेको उनी बताउँछन्। 
पहिलो विश्वयुद्ध लडेर आएका लाहुरेले ल्याएको पैसाकै कारण पहाडी क्षेत्रमा जग्गाको भाउ आकासिएको थियो। ‘१९७८ सालतिर लाहुरेले बन्धकी अथवा फार्से गरी धमाधम जमिन किन्न थालेकाले जमिनको मोल पहाडमा एकाएक बढ्यो,' पाण्डेले लेखेका छन्, ‘त्यसरी गाउँमा एक चिजको मोल बढेपछि अरू मालको मोल आफैं बढ्नु स्वाभाविकै हो।' 
युरोपेली शक्तिबीच साम्राज्य विस्तार गर्ने होड, सैनिक गठवन्धन, अन्धराष्ट्रवादको विकास, शक्ति सन्तुलनका लागि आवश्यक पद्धति विकास नभएको अवस्था, एकअर्काप्रति अविश्वासका कारण बढ्दो संकटबीच अस्ट्रियाका राजतन्त्रका उत्तराधिकारीको सर्वियामा हत्या भएपछि विश्वयुद्धको सुरुवात भएको थियो।
नेपालीहरू पहिलोपटक ठूलो प्रकृतिको हातहतियार प्रयोग भएको युद्धमा पुगेको त्यतिबेलै हो। ग्राउन्ड सेटरिङ आर्टिलरी र युद्धक विमानसँग गोर्खाली सैनिक पहिलोपटक साक्षात्कार भएका थिए। त्यसैगरी ग्यालिपोलीमाथि नियन्त्रण गर्न टर्कीको मोर्चामा पनि सुरुदेखि नै नेपाली लडेका थिए। नेपालीहरूले युरोप र मध्यपूर्वका धेरै युद्ध लडेर त्यहाँको रहनसहन सिकेका थिए। लाहुरेसँग रकम मात्रै नभई पश्चिमा संस्कृति पनि भित्रिएको थियो। 
‘तुर्की, इराकीसँग लड्न मध्यपूर्व र जर्मनसँग लड्न फ्लान्डर्स पुगेका र त्यहाँको उच्च रहनसहन देखेका धेरै नेपाली ठिटाको चिया, चुरोट, रक्सी खाने, पैसालाई हत्केलाको मयल ठान्ने, पैसा कमाउनुपर्छ, खर्च पनि गर्नुपर्छ भन्ने विचार र मिठा पौष्टिक आहार खानुपर्छ र साथीहरूलाई पनि खुवाउनुपर्छ भन्ने पश्चिमा आनीबानी बसेको थियो,' पाण्डेले लेखेका छन्। त्यही भएर विश्वयुद्धबाट फर्केका लाहुरेले नौतवनादेखि पैसा छर्दै, फुक्दै आफ्नो गाउँघरतिर आउँदाजाँदा बाटोमा भरियाको ज्याला बढेको र थुप्रै भट्टीपसल खुलेका थिए।
लाहुरेको लवज बेग्लै थियो। उनीहरू गोर्खाली पल्टन हाँकेका अंग्रेजका मुखबाट असजिलोसँग निस्कने शब्द प्रयोग गर्थे। उनीहरूको मुखमा ‘ड्याम फुल' जस्ता शब्द आउँथ्यो। 
पहिलो विश्वयुद्धको समय नेपालको जनसंख्या ५६ लाख थियो भने औसत आयु ५० वर्ष मात्रै थियो। त्यसयता भएका दुईवटा जनगणनामा नेपालको जनसंख्या घटेको देखिन्छ। तथ्यांक विभागको प्रतिवेदनअनुसार सन् १९११ मा ५६ लाख ३९ लाख जनसंख्या भएको नेपालमा सन् १९२० मा १.२ प्रतिशत घटेर ५५ लाख ७४ हजार पुग्यो। त्यस्तै १९३० मा गरिएको जनगणनामा ०.७ प्रतिशत घटेर ५५ लाख ३३ हजारमा झर्यो ।
‘जनसंख्या घट्नुमा भारत बसाइ सर्नु र रोगव्याधीको कारण हुनसक्छ,' उनले भने, ‘सन्तान जन्माउने उमेरका धेरै मानिस युद्धमा संलग्न हुनु जनसंख्या वृद्धि घट्नुको अर्को महत्र्वपूर्ण कारण हो।'

घाम ताप्दै आराम

पर्यटन दिनानुदिन बहुआयामिक बन्दै गइरहेको छ। पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरीयता बढेझैं विविधता थपिँदै गएको पाइन्छ। प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट आजको पर्यटन...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो...

टेगोर हुँदै वाइल्डसम्म

मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।

बाह्रसिंगा पछ्याउँदै

बाह्रसिंगा पछ्याउँदै

जीपमा बसेर बाह्रसिंगा हेर्न शुक्लाफाँटा पुग्दा मन सशंकित थियो। खर झाँगिएका बेला बाह्रसिंगा देख्न नपाइने हो कि भनेर। किनकि ०६६ मंसिरमा पहिलोपटक आउँदा देख्न पाइएको थिएन। घारीभित्र लुकेका थिए। ०७०...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

मतलब, तीन पुस्ता...

बाहिरपट्टि विभिन्न पत्रिकामा आफ्नो प्रकाशनका किताब र लेखकबारे छापिएका समाचार र तस्बिरका कटिङ सजाइएका छन्। विभिन्न लेखकबारे छापिएका स्टोरी पनि सँगै छन्। केही कलाहरू छन्।

गुन्यु–चोली र दौरा–सुरुवाल

झरना राईको घर पाँचथरको सिदिन –१ को दवाई पानी भन्ने ठाँउमा पर्छ। तिमीहरूलाई थाहा नै छ, पाँचथर पूर्वी पहाडी जिल्ला हो। भारतको सीमासँग जोडिएको उनको गाउँ विकट छ। बिजुली बत्ती...