Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

लाहुरे सहरको गैरलाहुरे

  • ८ चैत्र, २०७०
  • वसन्त थापा
  • DISQUS_COMMENTS
(0 votes)
लाहुरे सहरको गैरलाहुरे
म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने गरेका थिए।
मेरो मुखाकृति नै यस्तो छ, जसका कारण विराटनगर विमानस्थलबाट बाहिर निस्कँदा ट्याक्सी ड्राइभरहरू ‘धरान जाने हो मामा?' भनेर मलाई सोध्न आउँछन्। ‘मामा' अर्थात् लाहुरेहरूलाई लगाइने साझा साइनो र आम रूपमा गरिने सम्बोधन। यसको सुरुआत अंग्रेजहरूको सैनिक क्यान्टोनमेन्टका फेमिली लाइनबाट भएको हो, जहाँ जन्मिने केटाकेटीहरू बहालवाला गोर्खा सैनिकलाई यो साइनोबाट पुकार्थे। हरेक गोर्खा सैनिक अर्को परिवारका केटाकेटीका लागि ‘मामा' हुने गर्थे। पछि त्यो ‘मामा' क्यान्टोनमेन्टबाट बाहिर निस्केर समग्रमा लाहुरेलाई सम्बोधन गरिने विशेषण बन्न पुग्यो।
तर म लाहुरे होइन। जातीय पृष्ठभूमिका कारण सायद म लाहुरे हुनुपर्ने थियो। हाम्रो परिवारमा न मेरा बा लाहुरे भए न बाजे। बाजेभन्दा अगाडिको वंशवृक्षको त मलाई ज्ञान नै छैन। मेरा काका वा मामाहरू पनि लाहुरे थिएनन्, भएनन्। नजिकका नातागोता केही लाहुरे भए त्यो बेग्लै कुरा हो। हिसाबले म जन्मने बेलातिर मेरा पिता ब्रिटिस सेनामा भर्ती हुनुपर्ने थियो। त्यसबेला उहाँको उमेरमात्र होइन परिस्थिति पनि भर्ती जानलाई सुहाउने खालको थियो। अंग्रेजहरू आफ्नो अधीनबाट मुक्त भएको भारत छाडी मलायामा केन्द्रीकृत हुन पुगेका थिए, गोर्खा ब्रिगेडका दसमध्ये चारवटा रेजिमेन्टलाई आफ्नो साथ लिएर। दोस्रो विश्वयुद्धमा पराजित भएर जापानी सेनाले मलाया छाडेदेखि नै त्यो मुलुक आन्तरिक द्वन्द्वको चपेटामा नराम्रोसित परेको थियो। त्यहाँ कम्युनिस्ट छापामारहरूको बिगबिगी बढिरहेको थियो। पहिले ती छापामारहरू जापानी अतिक्रमणविरुद्ध ब्रिटिसहरूसित मिलेर लडेका थिए। जापानीहरू गएपछि भने उनीहरूले ब्रिटिस शासनलाई नै आफ्नो बन्दुकको निसानी बनाएका थिए। 
चीनमा माओत्से तुङको नेतृत्वमा साम्यवादी शासन स्थापना भइसकेको थियो। चीनको क्रान्तिबाट प्रेरित र अनुप्राणित मलायाका कम्युनिस्टहरू आफ्नो देशलाई पनि औपनिवेशिक बन्धनबाट मुक्त गरी साम्यवादी व्यवस्था खडा गर्न हौसिएका थिए। मलायाका कम्युनिस्ट आन्दोलन र छापामार युद्धलाई हाँक्नेहरूमा मूलतः मलायावासी चिनियाँहरू नै थिए। त्यसै हुनाले ब्रिटिसहरूले मलायामा संकटकाल घोषणा गर्नुपरेको थियो। ब्रिटिसहरूलाई मलायाका कम्युनिस्ट छापामारहरूसित लड्न जति गोर्खा सैनिक लगे पनि त्यो अपुग हुने अवस्था थियो। 
यस्तोमा मेरा पिता भर्ती हुन नसक्ने कुनै कारण थिएन। तर राणाहरूको तल्लो तहको कारिन्दा भई खाएका मेरा पिता भने आफूले गरेको सानो विरामको डरले भागेर विराटनगर पुग्नुभयो र मिल्स एरियाको श्रमिक संसारमा मिसिनुभयो। अरू मजदुर साथीहरूका साथ सात सालमा विराटनगरका बडाहाकिम उत्तम शमशेरको निवास आक्रमणमा उहाँ पनि सामेल हुनुहुन्थ्यो। त्यसप्रकार राजनीतिमा दीक्षित भएर आठ सालतिरै मेरा पिता कम्युनिस्ट पार्टीमा लाग्नुभयो र जीवनपर्यन्त त्यसैको सिद्धान्तमा समर्पित रहनुभयो। माहिला काका पनि आफ्ना दाजुको पदचिह्न अनुसरण गर्दै विराटनगर नै पुग्नुभयो। कान्छा काका र मेरो उमेरमा धेरै अन्तर थिएन। यसैले हामी स्कुलमा सहपाठी रह्यौं। उहाँले पनि लाहुरे हुने सपना साँच्नुभएको मलाई लाग्दैन। गल्लावालहरूको मोहपाशमा पर्नबाट मेरा बा र काकालाई रोक्ने या जोगाउने कारकतत्र्व उहाँहरूमा उम्रेको राजनीतिक चेतना थियो वा अर्थोकै, त्यो म भन्न सक्दिन। तर यथार्थ के हो भने, उहाँहरूले भर्तीको बाटो रोज्नुभएन र हाम्रो बाजेको सन्तानमा लाहुरे भनाउने कोही भएनन्।
म धनकुटामा जन्मेको हुँ। मेरो प्रारम्भिक शैशवकाल त्यहीँ बित्यो। तर पनि म हुर्कें बढेँ धरानमा, जसलाई ‘लाहुरे सहर' भनेर चिनिन्छ। त्यो अकारण होइन पनि।
धरानको फुस्रेमा भर्ती क्याम्प खोलेका थिए ब्रिटिसहरूले सन् पचासको मध्यतिर। पाल, तम्बु र टिनका छाप्राहरूले बनेको त्यो क्याम्प अस्थायी थियो। तैपनि त्यहाँ सब चिज थिए– गोरा डाक्टर र नर्सहरूसहितको सानोतिनो अस्पताल, मेस­क्यान्टिन, ओहोदाबमोजिम आवासगृह, भकुन्डो र कवाज दुवै खेल्न हुने मैदान, साप्ताहिक रूपमा सिनेमा देखाउने व्यवस्था। त्यहाँ भर्ती हुन अथवा भर्ती गरिन हुलका हुल तन्नेरीहरू आउँथे पूर्वी पहाडका गाउँहरूबाट। गाढा हरियो रङ पोतिएका ब्रिटिस सेनाका ल्यान्डरोभर, थ्री टन लरीहरू र एम्बुलेन्स ओहोरदोहोर गर्थे। तिनकै लागि भनेर जोगबनीदेखि धरानसम्मको पक्की सडक बनाउन थालेका थिए ब्रिटिसहरूले। फुस्रेदेखि माथ्लो छाताको हाम्रो टोल र तल–तल बजारमा समेत डेरा गरी बस्नेहरूको धुइरो थियो। तिनमा हुन्थे, दोस्रो विश्वयुद्ध लडिसकेका अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकहरू, दार्जिलिङतिरबाट आएका बाबुहरू, छोटेबडे कन्ट्र्याक्टर र ठेकेदारहरू, कुली र कुलीका सरदारहरू। उन्नाइस, चौहत्तर, छ्यासठ, छ्यातर जस्ता संख्याबोधक नाम भएका मानिस पनि हाम्रा छरछिमेकमा बस्न आए। उनीहरू एकआपस्तलाई ‘नम्बरी' भनेर बोलाउँथे। पछि थाहा भयो उन्नाइस, चौहत्तर आदि त पल्टनमा रहँदा उनीहरूले पाएका क्रमांक रहेछन्।
सन् १९५९ मा फुस्रेको भर्ती क्याम्प घोपामा नवनिर्मित क्याम्पमा सर्यो । त्यसले विशाल ठाउँ ओगटेको थियो। त्यहाँ बनेका सबै एकतले घरहरू पक्की थिए। बिइएमएच अर्थात् ब्रिटिस मिलिटरी हस्पिटल नामको काइदाको आधुनिक अस्पताल थियो। स्विमिङ पुल थिए, टेनिस कोर्ट थिए। तीनवटा त फुटबल खेल्ने मैदान थिए, मन्दिर थियो, चर्च थियो, किनमेलका लागि पल्टन बजार थियो, प्राइमरी स्कुल थियो, गल्फ कोर्स थियो, अफिसर्स क्लबहरू थिए, नाफीको पसल थियो, सिनेमा देखाउने हल थियो, एक इन्जिनको हवाईजहाज ओराल्न र उडाउन सकिने विमान पत्तन थियो, बिजुलीको आफ्नै पावर हाउस थियो, खानेपानीको हाइलेवल ट्यांकी थियो जसमा सेउती खोलाको शिर शिवजटाबाट बडेबडे पाइपमा पानी ल्याएर हालिएको थियो। अरू त अरू, फोहोरमैला तह लगाउने इन्तजाम पनि क्याम्पभित्रै थियो। क्याम्पको पुछारतिर जंगलमुखनिर घडीका दुई हातजस्ता देखिने तेर्सो पारेर राखिएका लामा–लामा ठूला पाइप निरन्तर गोल चक्करमा घुमिरहन्थे। तिनलाई मानिस ‘गुहु पेल्ने मिसिन' भन्थे। ती पाइपमा पारिएका असंख्य छिद्रबाट तरल वस्तु निस्किरहेको हुन्थ्यो। 
ब्रिटिस अफिसर र गोर्खा अफिसरका परिवार बस्ने इलाका छुट्टाछुट्टै थिए, मुकलिस क्वार्टरहरूको इलाका बेग्लै थियो, गैरसैनिक कर्मचारी र तिनका परिवार बस्ने ‘सिभिल लाइन' अलग्गै थियो। सडक र पगपथ टकटकाउँदा सफा थिए। हरेक घरअगाडि र सडकको दायाँबायाँ फूलहरू रोपिएका थिए। ठूल्ठुला रूखमा अंग्रेजीमा तिनका नाम लेखिएका टिनका पाताहरू टाँसिएका थिए। एउटा भव्य र विशाल उद्यान प्रतीत हुन्थ्यो त्यो घोपा क्याम्प– आफैंमा पूर्ण र आफैंमा एउटा छुट्टै संसार। 
सन् १९५७ मा मलाया ब्रिटिस अधीनबाट मुक्त भएर स्वाधीन मुलुक बनिसकेको थियो। टुन्कु अब्दुल रहमान स्वाधीन मलायाको प्रधानमन्त्री बनेका थिए। छापामार युद्धबाट भने मलायाले मुक्ति पाउन सकेको थिएन। संकटकाल अझै जारी थियो र ब्रिटिसहरूले छापामारहरूलाई तह लगाउने अभिभारा आफैंले बोकेका थिए। छापामारसित लड्न बढीभन्दा बढी गोर्खा सैनिकको आपूर्ति आवश्यक थियो। त्यस आपूर्तिको नेपालमा मुख्य स्रोत धरानको क्याम्प थियो भने अर्कोचाहिँ भैरहवा नजिकको पक्लिहवा क्याम्प। सम्भवतः सन् साठीको दशकको सुरुका वर्षहरूमा भर्ती संख्या उच्चतम विन्दुमा पुगेको हुनुपर्छ। स्कुलमा सँगै पढिरहेका सहपाठीहरू एकाएक हराउँथे र पछि सुनिन्थ्यो उनीहरू भर्ती गए भनेर। 
उसबेला राइफलम्यान बाहेक तेह्र­चौध वर्षका ठिटालाई पनि भर्ती लगिन्थ्यो। तिनीहरू ‘ब्वाई' भनिने छुट्टै वर्गीकरण अन्तर्गत पर्थे र हामी स्कुलमै हुँदा हराउने साथीहरू तिनै ‘ब्वाई'मा भर्ती भएर जानेहरू थिए। तीन­चार वर्षसम्म पढाइ­लेखाइपछि ती ‘ब्वाई' स्वतः राइफलम्यान अथवा ‘रिक्रुट' हुन्थे। सोह्र­सत्र वर्षदेखि माथि बढीमा एक्काइस वर्षसम्मका जवान ‘रिक्रुट'मा भर्ती हुन सक्थे। रिक्रुटमा भर्ती हुनलाई ‘ब्वाई' हुनु जरुरी थिएन, तर एउटा ब्वाई अवश्य ‘रिक्रुट' हुन्थ्यो।
ब्वाई र रिक्रुटबाहेक धरान क्याम्पबाट ‘क्लर्क'हरू पनि भर्ना गरिन्थे। यी क्लर्क भनेका कार्यालयमा काम गर्ने नौसिन्दाहरू थिए। तिनको काम गोरा हाकिमका सहायकका रूपमा चिठीपत्र दर्ता–चलानी गर्नु, बिदा र तलबभत्ताको रेकर्ड राख्नु, हरहिसाबको लगत राख्नु, फाइल मिलाउनु, पत्र टाइप गर्नु इत्यादि थियो। तिनलाई सैनिक तालिम लिए पनि तिनले मोर्चामा लड्न जानु नपर्ने। क्लर्कमा भर्ती हुनलाई अंग्रेजी भाषामा दख्खल हुनु जरुरी थियो। यसै हुनाले दार्जिलिङतिरबाट लर्को आउँथ्यो, क्लर्कमा भर्ती हुन चाहनेहरूको। उनीहरू सिलिगुढीदेखि रेलबाट किसनगन्ज, कटिहार, पूर्णिया हुँदै जोगबनी आउँथे र त्यहाँबाट बसमा विराटनगर हुँदै धरान पुग्थे। प्रत्येक वर्ष दसैंको केहीअघि सेप्टेम्बरतिर क्लर्कको भर्ती खुल्ने गर्थ्यो र त्यसबेला दार्जिलिङे युवा धरान बजारको फेरो मारिरहेका भेटिन्थे। तिनमा कति जना भर्ती हुन सफल हुन्थे कुन्नि, तर उनीहरूले पहिरनको नयाँ फेसन र दार्जिलिङका केही नयाँ गीत धरानमा छाडेर जान्थे। 
यसरी भर्ती भएर जाने ब्वाई, रिक्रुट र क्लर्कहरूको जत्थालाई धरानबाट थ्री टन लरीमा जोगबनीको रेल स्टेसन लगिन्थ्यो। त्यहाँबाट कलकत्ता नजिकको ब्यारेकपुर क्यान्टोनमेन्टमा पारवहनका लागि केही दिन राखेर कलकत्ता बन्दरगाहबाट पानीजहाजमा मलाया पुर्या इन्थ्यो। मलायाको सुङगाइपटानी उनीहरूलाई सैनिक तालिम दिइने मुख्य अखडा थियो। पछिपछि भने कलकत्ताको दमदम एयरपोर्टबाट हवाईजहाजमा सोझै उडाएर मलाया लैजान थालियो। यसरी भर्ती जाने सबै समग्रमा ‘मलाया लाहुरे' भनेर चिनिन्थे। मलाया लाहुरे भनिए पनि कालान्तरमा गोर्खा सैनिकको गन्तव्यस्थल मलायाबाट सरेर सिंगापुर, ब्रुनाई, हङकङ बन्न पुगे।
भर्ती भएर गएको तीन वर्षमा लाहुरे ‘छ महिनाको छुट्टीमा' घर फर्कन्थ्यो। उसको तामझाम र चुर्तीफुर्ति नै छुट्टै हुन्थ्यो। उसले काठको ‘हेभी किट' ल्याएको हुन्थ्यो जसमा नयाँ लुगाफाटा, अन्य सरसामान र कोसेलीपात भरिएका हुन्थे। उसका हरेक वस्तुमा पल्टनको क्रमांक लेखिएको पाइन्थ्यो, कपडा झुन्ड्याउने ह्याङगरमा समेत। नाडीमा वेस्ट एन्ड, सिको, टिसोट या सिटिजन घडी, औंलामा प्रायः सुनको बेरुवा औंठी, पालिस लगाएर टल्काइएका जुत्ता। डेक्रोनको पाइन्ट, टेरेलिनको सर्ट। ब्रायल क्रिम वा भ्यासलिन लगाएर सिनित्त कोरिएको कपाल। कुनै अत्तरको सुगन्ध। बिदामा आएको लाहुरे स्मार्ट र आकर्षक देखिन्थ्यो। हामी सधैं सेतो कपडाको जुत्ता घिस्याउँथ्यौं, ऊ फेरी–फेरी जुत्ता लाउँथ्यो। घरमा बस्दा पनि हवाई चप्पल लगाउँथ्यो, जो उसबेला धरानमा नौलो चिज बनेको थियो। हामी गम्छा वा जुनसुकै कपडाको टालोले जिउ पुछ्थ्यौं, ऊ तौलिया चलाउँथ्यो, जसलाई ऊ झाडन भन्थ्यो। हामीले कट्टु भन्ने गरेको हाफपाइन्टलाई ऊ जाँघे भन्थ्यो। हामी दतिवन लगाउँथ्यौं, ऊ ब्रुसले दाँत माझ्थ्यो। केही काम गर्नुपर्दा ऊ त्यस क्रियालाई ‘फटिक' भन्थ्यो। कपडा धुन र जिउमा लगाउन हाम्रो एउटै साबुन हुन्थ्यो। तर लाहुरे बास्नादार केमी वा लक्स साबुनले नुहाउँथ्यो। हामीलाई रेडियो सुन्न अरूका घरमा जानपर्थ्यो, ऊ आफ्नै न्यासनल पानासोनिक ट्रान्जिस्टर घन्काएर सुन्थ्यो। लाहुरेका भान्छाका सरसामान पनि अलग्गै हुन्थे। हाम्रो काम कन्ती वा कराही र सिलेवरको डेक्चीबाटै चल्थ्यो। तर उसकहाँ काँटा­चम्चा, छुरी, प्याला­पिरिच र ‘पेन' र ‘मिस्टिन'हरू हुन्थे। ऊ चिया मगमा पिउँथ्यो।
हाम्रा कुरा कोही सुन्दैन थिए, उसका किस्सा सुन्न मानिस उत्सुक हुन्थे। कहिले आयौ, कहिले फिर्नेदेखि बिहा कहिले गर्नेसम्मका प्रश्न गर्न भ्याउँथे। नवयौवनाहरू पनि छुट्टीमा आएको लाहुरेमाथि आँखा राख्थे। विवाहयोग्य उमेर पुगेका चेलीका माइती पनि हिसाब­किताबमा रहन्थे। कसरी कुन दुःख र सास्ती भोगेर आयो, कस्तो संकट झेल्नुपर्योि, त्यो कसैको सरोकारको विषय हुँदैन थियो। लाहुरे पनि दुःख कष्टका कुरा गरेर आफ्नो उज्यालो छविलाई किञ्चित् धमिलो पार्न चाहँदैन थियो। सदैव जहाज र पानीजहाजको यात्राको बखान गर्थ्यो। यदाकदा मलायाका ‘ब्यान्डिट'हरूको कुरा उप्काउँथ्यो र उनीहरू कति डरलाग्दा खुनी हुन्छन् भन्ने बताउँथ्यो। जबर्जस्ती चन्दा असुल्ने, जनफैसला गरेर तत्काल मृत्यदण्ड दिन पनि पछि नपर्ने, साहुमहाजनको सम्पत्ति बेदखल गर्ने, रबर खेतीका गोरा मालिकहरूलाई मार्ने र धपाउने आदि काम गरेका हुनाले मलायाका कम्युनिस्ट छापामारलाई ब्रिटिसहरूले ‘ब्यान्डिट' अथवा डाकु­लुटेराको संज्ञा दिएका थिए। यसै भनेर उनीहरूलाई मार्न गोर्खा सैनिकलाई सिकाए र कालान्तरमा सफाया गरेरै छाडे। लाहुरे तिनै ब्यान्डिटहरूको कहिलेकाहीँ किस्सा हाल्थ्यो।
स्थायी भर्तीकेन्द्रका रूपमा धरान स्थापित भएपछि त्यसले सेवानिवृत्त सैनिकहरूलाई पनि बसोबासका लागि आकर्षित गर्न थाल्यो। लाहुरेहरूले धमाधम घडेरी किन्दै धरानमा घर बनाउन थाले। चारकोशे झाडी पातलो भइनसकेकोले घर बनाउन चाहिने अग्राख काठको पौल थियो। लाहुरेहरू सखुवाका थाममा काठै काठका र जस्तापाताको छाना भएका दुईतले घर बनाउँथे, घरको भुइँतला वा छिडी प्रायः खुला र खाली हुन्थ्यो। सुत्ने­बस्ने कोठा पहिलो तलामा नै हुन्थे र पहिलो तलासित एउटा पुलले जोडिएको अलग्गै भान्छाकोठा हुन्थ्यो। गृहनिर्माणको यो शैली उनीहरूले सके मलायाबाट टिपेर ल्याएका थिए, जहाँ गर्मीमा हावा पाउन अग्लो भागमा बस्नुपर्दो हो र सर्प, बिच्छी तथा अरू जंगली जनावरसित जोगिन भुइँतला खालि राख्नुपर्दो हो। झ्याल, ढोका, बार्दलीमा इनामेल रङ पेन्ट गरिएका लाहुरेका घर अलग्गै छुट्टिन्थे र सुग्घर लाग्दथे। आँगन फूलको क्यारी र बार्दली फूलका गमलाबाट सजिएका हुन्थे। तिनका सामु रङरोगनविहीन तेल र मट्टीतेलका टिनको छाना हालिएका हाम्रा काठेघर भिखमगा देखिन्थे।
छापामार युद्धको समाप्तिपछि मलाया जाने लाहुरेको सैनिक सेवामा अन्तरनिहित जोखिमको मात्रा धेरै हदसम्म घट्न गयो। सन् १९६३ मा सारावाक, बोर्नियो र सिंगापुरसमेत मिसिएको संघीय संरचनाअन्तर्गत मलाया मलेसियामा परिणत भयो, यद्यपि त्यसको दुई वर्षमै सिंगापुर अलग्गिएर स्वतन्त्र राष्ट्र बन्यो। यसरी छुट्टिए पनि सिंगापुरले पूरै गोर्खा सैनिक राखेर सिंगापुर पुलिस फोर्स निर्माण गर्यो्, जसले गर्दा लाहुरेको सेवा क्षेत्र झनै फराकिलो बन्न गयो।
मैले धरान महेन्द्र कलेजमा पढुन्जेल लाहुरेको छवि र लाहुरे जीवनको आकर्षण किञ्चित् घटेको थिएन यद्यपि उनीहरूको सैनिक जीवन जोखिमयुक्त नै थियो। जानेहरू पढाइ छाडेर गइरहेकै थिए। परिवारको निम्छरो आर्थिक अवस्थाले मलाई पनि त्यो बाटो हिँडाउन सक्थ्यो। धरानको माहोल लाहुरेमुखी थियो। लाहुरे जीवनको चमकधमक र बाह्य आकर्षणबाट मनमा केही रहर नजागेका पनि होइनन् तर तिनले मलाई वशीभूत पार्न सकेनन्। दुब्लो­पातलो ज्यान र कुखुरे छाती बोकेको मजस्तो मानिस सैनिक सेवाका लागि योग्य नहुन सक्ने सम्भावना बढी थियो। मूढे बललाई प्रश्रय नदिने मेरो प्रकृति पनि लाहुरे जीवन अनुकूल थिएन।
यसप्रकार म लाहुरे सहरको एक गैरलाहुरे भएँ। बरु विद्यार्थी जीवनभरि मैले आफूलाई गोर्खा भर्ती हुनु हुँदैन भन्ने राजनीतिक मान्यता राख्ने विद्यार्थी समूहबीच पाएँ। यो ‘अमिलो अंगुर'को कुरा थिएन। कुरा विचारको थियो। अवसर जुनसुकै होस् तर महेन्द्र कलेज विद्यार्थी युनियनको हरेक मागमा गोर्खा भर्तीको विरोध अवश्य परेको हुन्थ्यो। राष्ट्रियस्तरमा पनि यस्तै हुने गर्थ्यो। सन् १९७२ मा त्यतिन्जेलको सबैभन्दा लामो राष्ट्रव्यापी विद्यार्थी आन्दोलन चलेको थियो र त्रिविमा गठित केन्द्रीय संघर्ष समितिमा म पनि सदस्य रहेको थिएँ। हामीले अघि सारेका मागहरूमा स्वभावतः ‘गोर्खा भर्ती तुरुन्त बन्द गरियोस्' भन्ने माग परेको थियो। त्यसप्रति एकजना विद्यार्थी मित्रले मसित बडो ठूलो आपत्ति व्यक्त गरेका थिए। उनी मेरा हितैषी मित्र जरुर थिए, तर त्यसका साथै धरान घोपा क्याम्पको मन्दिरमा नियुक्त पुजारीका छोरा पनि। उनको आपत्तिको कारण बुझ्न सकिने थियो, तर मागको सूचीबाट वामपन्थी विद्यार्थीहरूको त्यस सदावहार नारालाई हामीले कसरी हटाउने?
ब्रिटिस लेफ्टिनेन्ट फ्रेडेरिक यङ्गको तदारुकतामा गोर्खा सैनिकलाई भर्ना गर्ने काम सन् १८१५ मा थालिएको मानिन्छ। अर्को साल अर्थात् सन् २०१५ मा भर्ती थालिएको दुई सय वर्ष पुग्नेछ। जलवायु परिवर्तनजस्तै अहिले विश्वको राजनीतिक सन्दर्भमा पनि परिवर्तन आएको छ। पहिले जसरी मलाया भर्तीलाई हेरिन्थ्यो अहिले ब्रिटिस सेनामा भर्ती भई लन्डन जाने कामलाई त्यसरी हेरिँदैन। तर त्यसो भन्दैमा भर्तीको दुई सय वर्षको इतिहासलाई बिर्सन मिल्दैन। भर्तीको परम्पराबाट नेपाल र नेपाली समाजले के पायो, के गुमायो त्यसबारे गहिरो अनुसन्धान र विश्लेषण भएको छैन। समाजशास्त्रीय चिन्तनमा डुबेका विद्वानहरूका लागि चुनौतीको विषय हो यो। पहिलेका शासकहरूले यसलाई गुपचुप लेनदेनको विषय बनाए। अहिले पनि यो राष्ट्रिय चासोको विषय बन्न सकेको छैन। मैले यस सम्बन्धमा धेरैअघि नै गोर्खा भर्तीको घाटा­नोक्सानको वासलात बन्न बाँकी छ भनेर लेखेको थिएँ। यसबारे राष्ट्रिय नीति बनाउन पनि बाँकी छ। 
ब्रिटिस गोर्खालाई एकोहोरो हेरिरहँदा छिमेकी भारतको सेनामा पनि हजारौं नेपाली नागरिक सेवारत छन् भन्ने तथ्यलाई नबिर्सौं।

जाडोमा फिल्म

तिमी बसेको ठाउँमा अब त जाडो निकै बढिसक्यो होला हगि? जाडोमा धेरै पढ्न, काम गर्न मन लाग्दैन। हात ठिहिर्‍याउँछन्। जाडोमा हिटर बाल्न मजा हुन्छ। गाउँघरतिर अँगेनो वरिपरि झुम्मिएर आगो ताप्न...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

पतिकै पथमा

पतिकै पथमा

२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको...

मलाई मनभोग आमालाई क्याडवरी

मलाई मनभोग आमालाई क्याडवरी

बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

गुन्यु–चोली र दौरा–सुरुवाल

झरना राईको घर पाँचथरको सिदिन –१ को दवाई पानी भन्ने ठाँउमा पर्छ। तिमीहरूलाई थाहा नै छ, पाँचथर पूर्वी पहाडी जिल्ला हो। भारतको सीमासँग जोडिएको उनको गाउँ विकट छ। बिजुली बत्ती...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।