Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

नागरिक शनिबार

एकालाप

  • ८ चैत्र, २०७०
  • राजेन्द्र पराजुली
  • DISQUS_COMMENTS
(1 Vote)
एकालाप
ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने काम गरिसकेको थिएँ। अर्थात् तीन दशकअघि नै कसैको पति भइसकेको थिएँ।
सामाजिक बन्धनबाट म त्यो बेला नै बाँधिइसकेको थिएँ। बिहे गरेको मान्छे प्रेमवर्जित थियो र अद्यापि पनि छ। समाजले यस्तै आदेश दिएको छ। 
बिहे गरेको एक दशकपछि नै तिमीसँग मेरो भेट भएको हो। र, मैले जीवनमा प्रेम पाएको पनि ठिक त्यही बेलादेखि नै हो। तिमीसँगको मेरो प्रेम ‘भर्जिन' थियो। तिमीसम्म आइपुगेर नै मैले प्रेमको परीक्षा दिएको हुँ र उत्तीर्ण भएको प्रमाणपत्र तिम्रा आँखाबाट प्राप्त गरेको हुँ। अब त खोटो भइसकेको छ त्यो प्रमाणपत्र पनि।
मैले समातेको राजनीतिक पार्टी एकदमै कट्टर थियो। उसले बोकेको सिद्धान्तविपरीतका मान्छेसँग प्रेम गर्नमात्र होइन सामान्य सम्बन्ध राख्न पनि पाइँदैनथ्यो त्यो बेला। ‘प्रेम' त्यो पार्टीको शब्दकोशमा पारिएकै थिएन। यदाकदा कसैको कसैसँग प्रेम भइहालेका खण्डमा लामो सोधखोज–अनुसन्धानपश्चात् मात्रै समान सिद्धान्तका अनुयायीबीच मात्रै त्यो स्वीकार्य हुन्थ्यो। त्यसमाथि पनि म त विवाहित, प्रेम गर्ने कुरो त परै जाओस्, राम्रो लागेर विपरीत लिंगीलाई केहीबेर हेर्न पनि बन्देज थियो। त्यसो गरे पार्टी कारबाहीको भागिदार हुनुपर्थ्यो। त्यो विषम परिस्थितिमा पनि हाम्रो प्रेम हुर्किरहेको थियो। एउटा उचाइमा पुगेको थियो। म त्यसबेला पार्टीको काठमाडौं कमाण्डर थिएँ। एउटा सफल कमाण्डर। काठमाडौंमा हामीलाई निकै खतरा थियो। त्यसबखत देश खुम्चिएर राजधानीमा मात्रै सीमित हुन पुगेको थियो। प्रशासन तथा सुरक्षा निकाय राजधानीमा मात्रै केन्द्रित थिए। त्यसैले यहाँ जिम्मेवार तहमा बसेर काम गर्नु निकै असहज र चुनौतीपूर्ण थियो। तर त्यो असहजतालाई मैले सहजै पार लगाएको थिएँ। हाम्रो तर्फका कसैको ज्यान गएन त्यसबेला, दुस्मनलाई भने हायलकायल बनायौं। अहिले सबै कुरो सहज छ, तर तिमी यो भूपरिवेष्ठित देशमै छैनौ। 
मेरा सहकर्मी योद्धाहरू देशका कुनाकाप्चामा लुकेर सशस्त्र क्रान्तिको बाटोमा हिँडिरहेका थिए। तर म यही लाखौं मान्छेलाई आफ्नो छातीमा हिँडाउन सक्ने सामर्थ्य भएको राजधानी खाल्डोमै थिएँ। पार्टीले मलाई कैयौंपटक दुर्गम जिल्ला जाने आदेश दिएको थियो। तर म कहिल्यै गइनँ। पार्टीको निर्देशनबमोजिम काम पनि गरिरहेको थिएँ र आफ्नो मनको आदेशको काम अर्थात् तिमीसँग प्रेम पनि गरिरहेको थिएँ। त्यसैले मलाई काठमाडौं अधिक प्रिय थियो त्यसबेला। मलाई आफू जन्मेको ठाउँ भनेर यो काठमाडौंप्रति कहिल्यै गर्व भएन। तर जतिबेलासम्म तिम्रो सामिप्य पाएँ, त्यतिबेलासम्म मलाई यो ठाउँ औधी सुन्दर लाग्यो। त्यसपछि यहाँका विरूपता बढी देख्न थालेँ।
म तिमीबाट टाढा हुनै सक्दैनथेँ। तिमीबाट छुट्टिने कल्पनामात्रैले पनि म आहत हुन्थेँ। र, पार्टीका अग्रजलाई काठमाडौंमा निकै खतरा छ, म खतरापूर्ण स्थानमै रहेर काम गर्न चाहन्छु भन्थेँ। अरू साथीले यो क्षेत्र सम्हाल्न निकै गाह्रो छ भनिदिन्थेँ। उनीहरू मेरा कुरा सम्पूर्ण पत्याउँथे। र, मोफसलमा गएर काम गर्ने आदेश तुहिन्थ्यो। म तिमीसँग प्रायः हरेक साँझ भेट्न पाउँथेँ।
पार्टीका सबै काम साँझअगावै सक्थेँ म। सहकर्मी कमेरडहरूलाई विभिन्न जिम्मेवारी सुम्पन्थेँ। पार्टीले दिएको मोबाइलको सिम निकालिदिन्थेँ। आफ्नो निजी सिम हाल्थेँ त्यही मोबाइलमा, जसको नम्बर तिमीसँग मात्रै थियो। मेरो परिवारका कसैलाई पनि त्यो नम्बर थाहा थिएन। त्यो नम्बर केवल तिमी र मेरो लागि थियो। सोही नम्बरबाट तिमीलाई फोन गर्थें। र, तिम्रो कोठामा आइपुग्थेँ। मेरो पार्टी भूमिगत हुनुअघिदेखि नै म राजनीतिमा लागेको हुनाले मलाई थुप्रै मान्छेले चिन्थे। कतिपय प्रहरी तथा प्रशासकसँग पनि मेरो चिनजान थियो। तिम्रो कोठामा आउन मलाई ती सबैसँग जोगिनु आवश्यक थियो। तिनको आँखा छल्न नसक्ने हो भने म कुनै पनि बेला सहिद हुन सक्थेँ। पछिल्लो समय त हाम्राविरुद्ध सेनासमेत उतारिएको थियो। देशभरि सेना परिचालन गरिएको थियो। तिनका आँखा छल्न सजिलो थिएन। म मुखमा मास्क र टाउकोमा ह्याट लगाएर निस्कन्थेँ। ह्याट निकै तलसम्म ओराल्थेँ, आँखै छोप्नगरी। सकेसम्म आफ्नो हिँडाइ परिवर्तन गर्थें। अकस्मात सुरक्षाकर्मीको अघिल्तिर परेका बखत खुट्टा खोच्याउँथेँ। सिधा वा सहज बाटो नहिँडेर अप्ठ्यारो र लामो बाटो समात्थेँ। कसैको अनुहारमा हेर्दैनथेँ। फटाफट तिम्रो कोठा भएतिर पाइला चाल्थेँ। मेरो सफलता त त्यही नै भयो, मलाई कहिल्यै पनि सेना–प्रहरीले समात्न सकेन।
पार्टीका सहकर्मीहरू भने मलाई शंका गर्थे। आफ्नो कमाण्डर साँझपख एकाएक बेपत्ता भएको देखेर ती असमञ्जसमा पर्थे। त्यसमाथि मोबाइल पनि बन्द हुँदा त शंका नहुने कुरै भएन। म मध्यरातमा मात्र सेल्टर फर्किन्थेँ। बरु मध्यरातमा हिँड्दा मलाई कम डर लाग्थ्यो। त्यो समयमा अधिकांश सुरक्षाकर्मीले रक्सी पिएका हुन्थे। तिनको मुख्य काम जसरी हुन्छ रात कटाउनु र जागिर पकाउनु हुन्थ्यो। त्यसको फाइदा उठाउँदै म सहकर्मीहरू बसेको घरतिर लाग्थेँ। सहकर्मी भने म आफ्नो घर गएर श्रीमतीले पकाएको खाना खाएर र उनलाई माया गरेर आएको सोच्थे। तर म त्यस अवधिमा कहिल्यै आफ्नो घर गइनँ। दुई छोरी र तिनकी आमालाई मैले भेट्ने प्रयत्न नै गरिनँ। खोई किन हो, भेट्ने इच्छा नै भएन मलाई! कहिलेकाहीँ प्रश्न पनि गर्थे साथीहरू, ‘कामरेड सधैं साँझमा यसरी कहाँ जानुहुन्छ? खतरा छ है, गाह्रो पर्ला?' अनि ‘भाउजूलाई भेटेर आएको होला' भनेर जिस्क्याउँथे पनि। तर म निरुत्तर बसिदिन्थेँ। प्रसंगलाई अन्यत्रै मोडिदिन्थेँ। भोलिपल्टको योजना बनाउन थाल्थेँ। कति सकस थियो है निर्मला प्रेमलाई कायमै राख्न!
अहिले म उडेको चराजस्तै स्वतन्त्र छु। अब मेरो कुनै पार्टी छैन। म उन्मुक्त छु, प्रेम गर्न। तर मेरो यो उन्मुक्त समय त्यसैत्यसै खेर गइरहेको छ। व्यर्थ कटिरहेको यो समयप्रति मेरो उच्च मोह छ। तर त्यो मोह पनि अर्थहीन हुँदै गइरहेको छ।
मैले उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएँ। जब त्यो पार्टी राजनीतिक मूलधारमा आयो, प्रतिस्पर्धात्मक शासन प्रणाली तथा आवधिक निर्वाचनलाई मान्ने घोषणा गर्योय, तब मैले पार्टी छाडेँ। शान्तिपूर्ण भनिएको बाटोमा आएपछि त्यो पार्टीले अंगीकार गरेका कतिपय विचार मलाई मन परेनन् र छाडिदिएँ। तिमीले त उतिखेरै राजनीति छाड्ने सल्लाह दिएकी थियौ। निर्मला! अब म जीवनमा कहिल्यै राजनीति गर्ने छैन। राजीनामा दिँदा सहकर्मीहरू अधिकांशले मलाई मूर्ख भने। दुःख गर्ने बेला ज्यानको माया नगरी पार्टीको काम गर्ने, अहिले सुख भोग्ने र पद–सम्मान पाउने बखत किन छाड्न परेको होला! भनी विस्मय पनि माने कतिपयले। ती मेरा शुभचिन्तक थिए। कतिपय साथी भने असाध्यै खुसी भए म पार्टीबाट अलग्गिएकोमा। बाटाको काँडा पन्छिएको ठाने। पार्टीले भाग लिएको पहिलो निर्वाचनमा राम्रै नतिजा पनि हात पार्यो्। सरकार बन्यो, विभिन्न पद राजनीतिक दलहरूबीच भागबण्डा भए। 
मैले नै राजनीति सिकाएको र लामो समय मेरो सहयोगीका रूपमा राजधानीमै बसेका मित्र अहिले तिमी बसेको देश अर्थात् जापानका राजदूत बनेका छन्। सायद मैले राजनीति नछाडेको भए त्यो पद मैले नै पाउँथेँ कि! र, तिमीसँग त्यतै भेट पो हुन्थ्यो कि!
यो त एउटा अनुमानमात्रै हो। हामीबीचको सम्बन्ध जिउँदो राख्ने एउटा बलियो पुल पनि बन्न लागेको थियो त्यसबेला। तर त्यो पुल तिम्रै जिद्दीमा भत्किएको थियो। हामी दुईको सम्बन्धबाट तिम्रो पेटमा रहन गएको भ्रुण एउटा दरिलो पुल नै त थियो निर्मला! त्यसको हत्या नै हामीबीचको सम्बन्धको हत्या रहेछ। आज मलाई त्यस्तै लागिरहेछ। तिम्रै हठमा मैले ‘एबोर्सन'को स्वीकृति दिएको थिएँ। दुई–दुईपटक एबोर्सन गर्यौत तिमीले! पछिल्लोपटक त मैले ‘हुँदैहुन्न' भनेको थिएँ। तर तिमीले मानिनौ।
मैले सुनेको छु,, तिमीले बिहे गरेको जापानी नागरिक तिमीभन्दा २० वर्ष जेठो छ रे! ‘डिभोर्सी' हो रे त्यो। म पनि त एउटा डिभोर्सी नै हुँ अहिले। छोरीहरू दुवै अमेरिका गएपछि मसँग मेरी पत्नीले डिभोर्स मागिन्। द्वन्द्वकालमा उनी र बालबच्चालाई पटक्कै वास्ता नगरेको र आर्थिक सहयोगसमेत नगरेकामा उनको चित्त निकै दुखेको रहेछ। डिभोर्सचाहिँ नगरूँ कि भनेर मैले उनलाई केहीपटक अनुरोध पनि गरेँ। तर मानिनन्। मेरो कुनै पनि कुरा सुन्ने इच्छा भएन उनलाई। उनैले अदालतमा पारपाचुकेपत्र दर्ता गरिन्। मैले उनले भनेकै दिन त्यहाँ गएर ल्याप्चे थिचिदिएँ। र, म स्वतन्त्र भएँ। तर उनले हल्ला पिटिन्, मैले डिभोर्स मागेर दुःख दिएको भनेर! आफन्त र चिनजानका मान्छेका अघिल्तिर दोष मेरो भागमा परेको छ। थाहा छैन, दुर्भाग्य फेरि मलाई खोज्दै कहिले आइपुग्ने हो!
डिभोर्सपछि मेरो भागमा चार आना जग्गा दिइन् उनले। त्यसलाई मैले सहर्ष स्वीकारेँ। त्यो जग्गा पनि बेचिदिएँ। बेचेर आएको पैसाले नै मेरो जीवन चलिरहेको छ। सायद यो जिन्दगीभरिलाई त्यो पैसा पर्याप्त हुनेछ। एउटा जीवन, कुनै फुर्माइसी खर्च छैन, पुगिहाल्ला बाँचुन्जेल! अब मेरो नाममा कुनै सम्पत्ति छैन। म पैतृक र अचल सम्पत्तिबाट पनि स्वतन्त्र भएको छु। सबैथोकबाट स्वतन्त्र भएकै दिनदेखि मैले तिमीलाई खोज्न थालेको हो। तर भेट्न सकिनँ।
करिब पाँच वर्षअघि मैले फेसबुक नामको दुनियाँमा आफूलाई प्रवेश गराएको हुँ। र, केही समयपछि पहिलो ‘फ्रेन्ड रिक्वेस्ट' तिमीलाई गरेको हुँ। तर यो लामो समयसम्म पनि त्यो ‘एक्सेप्ट' भएको छैन। सुरुमा त यो फेसबुक भन्ने चिज सामाजिक सञ्जाल हैन, वाहियात जञ्जाल लाग्थ्यो मलाई। त्यसैले त्यसलाई हेर्दा पनि हेरिनँ। त्यसमा लत पनि बसालिनँ। तर अहिले यो मेरो सबैभन्दा मिल्ने साथी बनेको छ। कम्तीमा मैले तिमीबाट मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट हुने बहानामा प्रतीक्षा गर्न त पाएको छु! अहिले मेरा लागि फेसबुकको सबैभन्दा उत्तम सदुपयोग यही नै भएको छ। तर यसलाई सदुपयोग गर्ने हो भने धेरै उपयोगी हुने रहेछ भन्ने पनि बुझेको छु अहिले मैले। सूचना र मनोरञ्जन भरपूर लिइरहेछु यसबाटै। मैले तिम्रो ताजा फोटो पनि फेसबुकमै हेरेको हो। र, तिम्रो जापानी पतिबारे सम्पूर्ण जानकारी पनि फेसबुकबाटै पाएको हुँ। तर मैले तिम्रो पतिलाई भने फ्रेन्ड रिक्वेस्ट गरेको छैन। मलाई फ्रेन्ड रिक्वेस्ट गर्ने झन्डै एक हजार पुगिसकेका छन्। कसैलाई पनि मैले एक्सेप्ट गरेको छैन। म धेरै साथी बनाउन चाहन्नँ। नचिनेका वा छद्म नाममा एकाउन्ट खोल्नेलाई कसरी साथी बनाउनू? राजनीतिज्ञ, पत्रकार र साहित्यकारलाई पनि मैले थाहा पाएसम्म फेसबुकमा साथी बनाएको छैन। त्यसपछि मेरा नातेदार र पुराना छिमेकीलाई पनि यसमा जोडेको छैन। त्यसैले जम्माजम्मी एक सय ४९ जनामात्र साथी छन् यो सञ्जालमा मेरा। म फेसबुकमा केवल एक सय ५० जनालाई मात्रै साथी बनाउने विचारमा छु। तिम्रो एक ‘एक्सेप्ट'ले नै त्यो संख्या पूरा हुनेछ।
म संलग्न पार्टीले सशस्त्र युद्धको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउने क्रममा लामो समय लाग्यो। त्यो जायज पनि थियो। युद्धकालमा बाँडिएका थुप्रै सपना शान्तिपूर्ण राजनीतिक बाटोबाट साकार हुँदैनथे। सपना साँचेर बस्नेहरूलाई सम्झाई–बुझाई गर्नु कम्ती गाह्रो थिएन। यस कार्यमा म निकै खटेँ। त्यसैले समय निकै लाग्यो। सोही क्रममा म झन्डै तिमीसँग आधा वर्ष सम्पर्कविहीन रहेँ। तिमीसँग मात्रै नम्बर भएको मोबाइलको सिम राख्ने समय पनि पाइनँ मैले। अत्यन्तै व्यस्त बनायो मलाई त्यसबेला पार्टीले। सोही अवधिमा तिम्रो बाटो अलग भएछ। मैले नसोचेको बाटोमा हिँडिसकिछौ तिमी!
यो एकालाप लेखिरहँदा मैले आफ्नो फेसबुक पनि ‘साइन इन' गरेको छु। मेरो आफ्नै वास्तविक नाममै मैले आइडी बनाएको छु। अब मलाई कसैसँग लुक्नु वा भूमिगत राजनीति गरेर सोझा–सिधा नागरिकलाई सपना बाँडिरहनु छैन। तिनको गरिबीलाई बेचेर आफू धनी हुनु पनि छैन।
मैले आफ्ना फुलेका कपाल–दाह्रीसहितको फोटो राखेको छु फेसबुकमा। आफ्नो सही परिचय छ त्यसमा। जन्म मिति, एकल जिन्दगी, विगतमा लिएको बाटो, अहिले बुझेको सत्य सारा कुरा खुलस्त लेखेको छु आफ्नो प्रोफाइलमा। र, लामो समयदेखि व्यग्रताका साथ पर्खिरहेछु तिम्रो एक ‘एक्सेप्ट'लाई। 
अचानक फेसबुकमा रातो रङको एउटा संकेत देखापर्योस, नोटिफिकेसन्समा। मेरो मनमा ठूलो आँधी चल्न थाल्यो। मुटुको धड्कन एकछिनलाई रोकिएजस्तो भयो। सोचेँ, तिमीले मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्यौु।
मैले एकालाप लेख्न स्थगित गरेँ। तर फेसबुकको भित्तोमा हेर्ने हिम्मत गर्न सकिनँ। झ्याल खुला थियो। आकाशतिर हेरेँ।
एउटा तारा आकाशबाट झरेर धर्तीतिर आउँदै थियो।
आन्विकाको आधा चेहरा

आन्विकाको आधा चेहरा

सुनसरीको शिशु विकासिनी प्रावि मधेसाकी छात्रा आन्विका गिरी कक्षा पाँचमा पढ्थिन् । स्कुलले कविता प्रतियोगिता आयोजना ग¥यो । 'कलम' शीर्षकको कविता लेखेर उनी प्रथम भइन् । नजिकैको बलाहा गाउँस्थित शारदा...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

‘खेल संस्कार, स्तरीय उत्पादन’

‘खेल संस्कार, स्तरीय उत्पादन’

कीर्तिमानको चाङमाथि विराजमान अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीलाई ११ वर्षकै उमेरमा ग्रोथ हार्मोनमा गम्भीर समस्या देखियो।

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

‘स्मार्ट' बन्दैछ सवारी लाइसेन्स

काठमाडौं-न घामले खुइलिने डर, न पानीले भिजाउने चिन्ता। हराइहाले पनि अरु कसैले दुरुपयोग गर्ला कि भन्ने कत्ति पीर नहुने। सवारीचालकका लागि खुसीको खबर छ– यातायात व्यवस्था विभागले आठ महिनापछि ‘स्मार्ट...