Wednesday 5 Kartik, 2077 | October 20, 2020
Menu

नागरिक शनिबार

सुशीलदा'को डायरी

  • ८ चैत्र, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
‘मनको बह कसैलाई नकह' भन्ने उखान नै छ। कहने साथी कोही नपाएपछि कहिलेकाहीँ डायरी लेख्ने इच्छा हुन्छ। आफैं लेख्यो, आफै पढ्यो, अनि खोपामा थन्क्यायो। ईश्वरले गरेको सबैभन्दा गजप डिस्कभरी सायद यही डायरी होला।
हुन त मलाई यो डायरीसायरी लेख्ने कुरामा कहिल्यै उ भएन। डेमोक्रेसीका लागि फाइट गरुन्जेल केही लेख्ने कुरो आएन। उसमाथि लेख्ने काम सचिवको हो, मेरो होइन। तर मेरो वृद्ध कायालाई नयाँ नेपालका दुई ‘राजा'ले डायरी लेख्न बाध्य पारे। तिनको नाम पनि कस्तरी मिलेको– ज्ञानेन्द्र र पारस। 
जब क्रिकेटरहरु खेल जित्छन्, तब यहाँ नेताका दुःखका दिन सुरु हुन्छन्। उता रनको वर्षा सुरु हुन पा'छैन। यता फ्यानका गालीको वर्षा। क्रिकेटरले देशलाई यत्रो गरे, तिमी नेताहरुले आजसम्म के गरेर देखाएका छौ भनी ट्वीटर र फेसबुकमा हाकाहाकी पेल्छन् यार। अब त अति भयो भनेर हिजो मैले क्याबिनेटमै भन्दिएँ– क्रिकेटरले जे गर्नुपर्ने हो, त्यही गरिरहेका छन्। हामी नेताहरुले पनि जे गर्नुपर्ने हो त्यही गरिरहेका छौं।
कांग्रेसकै एक मन्त्रीले प्वाक्क मुख फोरे– सुशीलदा, अनि जनताले पनि जे गर्नुपर्ने हो, त्यही गरिरहेका छन्। 
अर्का बीचमै बोले। ती एमालेतिरका थिए क्यारे। खासमा म आफ्नो गुटबाहेक अरुलाई खासै चिन्दिनँ पनि। 
अँ, उनी भन्दैथिए– प्रधानमन्त्रीज्यू, हामी वास्तवमा के गरिहेका छौं?
प्वाक्क जवाफ फर्काउन मन थियो– ‘थाहा छैन? तिम्रो ‘ब्याचलर' प्रधानमन्त्रीको सरकार हनिमुन मनाइरहेको छ।'
आफ्नै मन्त्री यस्ता छन्। प्रधानमन्त्री पदको अलिकति पनि उ छैन। उ भन्नाले मनितो। 
हुन त कांग्रेस र डेमोक्रेसीलाई पारस र ज्ञानेन्द्रले आजदेखि दुःख दिएका होइनन्। डेमोक्रेसीका लागि त्यसैले पटक पटक लडेको हो। तर टी ट्वान्टी विश्वकपका पारस ज्ञानेन्द्रले दिएको चोटले हृदयमा नै उ गर्यो । उ भन्नाले आघात गर्योन। दुई ठाउँबाट चुनाव त मैले नै जितेको हुँ। तर गणतन्त्रका यी ज्ञानेन्द्र पारसले त देशविदेश सबैतिर उ जितिदिए यार। 
यस्तै रहिरह्यो भने हामी पोलिटिक्स गर्नेहरुको जमानत जफत हुन सक्छ। यसै त बल्ल बल्ल शेरबहादुरजीलाई साइड लगाइया छ। त्यही पनि कुन बेला बौरिएर सिंहासन ताक्ने हुन् थाहा छैन। उता एमाले त्यस्तै छ। ‘म प्रधानमन्त्री कि तँ प्रधानमन्त्री' भनेजस्तो गर्छ। महँगी, मूल्यवृद्धिले सुरुमै बद्नाम भइया छ। यही बीचमा यी एक दर्जन क्रिकेटवाला आएर सय दिनको हनिमुन पिरियडलाई नै उ लगाइदेलान् जस्तो। उ भन्नाले ग्रहण।
त्यही भएर मैले त सुरुमा यो क्रिकेटसि्रकेटका लागि मैदान बनाउनुपर्दैन भन्देको थिएँ। तर पछि मेरै मन्त्रीहरुले हैरान पार्न थाले। मिडिया मालिकहरुसमेत खुसी भएर टिम नेपालका लागि धमाधन पैसा झार्न थाले। साथीभाइ भने यता मलाई हैरानी दिन्छन्, ‘सिंगो देश नै आफ्नो गच्छेअनुसार केही दिने मुडमा छ, तिमी प्रधानमन्त्री भएर एक ‘सुको' दिन्नौ?' 
आफूसँग सुको (सुशील कोइराला होइन, एक सुका भन्या) छैन, भएको त्यही तीन सेट मोबाइल हो। त्यही पनि एउटा चल्दैन। हुँदै नभएको के दिने? त्यही मोबाइल दिने? अहिलेका लड्काले यो थोत्रो सेट पाए भने सिधै छक्का हान्छन्। दर्शकदीर्घामा समेत कसैले क्याच गर्दैन।
कांग्रेसजस्तो ‘निओलिबरल' पार्टीको सभापति गरिब छ भन्दा कोही पत्याउँदैनन् भन्या। ‘सभापति भएर हावा कुरा गर्ने?' भनेर ठाडै खाए। 
‘गरिबसँग विश्वेश्वर' भन्ने कार्यक्रम हामीले त्यसै ल्याएको हो र? हुन त यो कार्यक्रम ल्याउँदा पनि एउटा कविले बसी खान दिएन। लेखिदियो, ‘ठिकै हो, धनीसँग कांग्रेस। गरिबसँग विश्वेश्वर।'
सम्पत्तिका नाममा तीन थान मोबाइलबाहेक केही छैन भनी अस्ति सम्पत्ति विवरण सार्वजनिक गरेको, प्रचण्डले आफूलाई व्यंग्य गर्योल भन्ठानेछन्। अब मैले गर्ने के! मलाई उनको सम्पत्तिको के मतलब?
अस्ति चुनावअघि मात्रै हो, नेपालगन्ज प्लेन टिकट नपाएका बेला संयोगले उनी विमानस्थलमै रहेछन्। उनले कर्के नजरले हेर्दै खुब सहयोग गरेझैं गरी उडाएका थिए, ‘३० सालमा सिंगै प्लेन अपहरण गरें भनी खुब धाक दिनुहुन्थ्यो, आज मेरो हेलिकोप्टरमा लिफ्ट लिनुहोस्!'
उनले यसो भन्दा मेरा लाजहरु दाह्रीको सिमाना काटेर बाहिर फुत्कन खोजिरहेका थिए। 
साम्यवादी नेताले ध्वाँश दिए पनि आफूले समाजवादी र डेमोक्रेटिक आचरण देखाउनै पर्योथ। चिढिनु भन्दा चढिदिनु ठिक। म पनि पछिल्लो सिटमा चढिदिएँ। आखिर चुनाव पनि जितियो। कम्युनिस्टको हेलिकोप्टर चढेर जनमत पनि हरियो। 
सरकार त बन्यो। तर आफूसँग टेक्ने समाउने केही छैन। वास्तवमै मसँग सम्पत्तिका नाममा मात्रै हैन, विशेषताका नाममा पनि केही छैन। धरोधर्म मरिजाउँ्क, भएको यत्ति तीन सेट हो। हेर्नुस् त, गरिब देशको गरिब प्रधानमन्त्री हुनमा कति सन्तोष छ मलाई। नेपालीहरुको स्मरणशक्ति त्यति तेज छैन। १० वर्षअघि उनीहरु नै ‘गरिब देशका धनी राजा' भन्दै ज्ञानेन्द्रको विरोध गर्थे नि! अस्ति क्रिकेटका दिन त ज्ञानेन्द्र पारस आऊ देश बचाऊ रे।
जे भए पनि क्रिकेटमा नेपालले जित्दा मलाई पनि उ त लाग्छ नि। उ लाग्यो भन्दैमा अब के म जर्सी किनेर सडकमा कराउँदै हिँडूँ? ट्वीटे फ्यानहरु यस्तो संवेदनशीलता बुझ्दैनन्। आखिर नेपालका केटाहरुले हङकङ र अफगानिस्तानलाई चुट्नु भनेको डेमोक्रेसीका लागि पनि त राम्रै उ हो। उ भनेको संकेत। दुवै देशमा अहिले कन्डिसन ठिक छैन। मैले जीवनभरि पिस र डेमोक्रेसीका लागि फाइट गरेको हो। ल हेरौं त, अफगानिस्तानमा नाममात्रको भए पनि अलिअलि डेमोक्रेसी छ, पिस छैन। हङकङमा पिस छ, डेमोक्रेसी छैन। अनि त्यहाँ नेपालले गएर उ गर्नुपरेन?
मलाई धेरै लेख्ने जाँगर छैन। क्रिकेटरलाई केही दियो भने क्याबिनेटले दिन्छ, मैले होइन। मसँग भएको त्यही तीन सेट हो। लाने भए यो पनि लैजाऊ, तर प्रधानमन्त्रीका निजी सम्पत्ति भनेर मोबाइल सेटको विज्ञापन गर्नचाहिँ पाइन्न नि! अति विज्ञापन पनि डेमोक्रेसीका लागि उ होइन। मतलब, राम्रो होइन।

कर्नाली किनारको फूलबारी

कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्,...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

कुलीन वर्गबाट संघर्ष

कुलीन वर्गबाट संघर्ष

प्रतिभा राणाको जीवन आम महिलाको जस्तो अन्याय र विभेदले भरिएको थिएन। उनी सम्पन्न परिवारबाट राजनीतिमा आउने थोरैमा नेतृमा पर्छिन्। २०४६ सालको परिवर्तनपछि राजनीतिमा आएकी उनी त्यसअघि सामाजिक काममा सक्रिय थिइन्।

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

फेसबुकको 'इन्फो'

'नमस्ते है नवीन जी, त फर्स्ट बेन्च नै रिजर्भ गरिएछ त!'आज पनि क्लासभित्र छिर्नेबित्तिकै उनले हाँसेर भनिन्।तिनको अनुहार नियाल्दै लज्जामिश्रित स्वरमा भनेँ, 'त्यस्तो होइन।' उनी मेरो दायाँपट्टि बसिन्। लोकसेवा आयोगको...

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

साल्मेडाँडा, स्याङ्जा– पोखराबाट १७ किमी पश्चिम हुइँकिएपछि स्याङ्जाको फेदीखोला पुगिन्छ। कुभिन्डे भन्ने ठाउँमा गाडीबाट ओर्लेर पूर्वतिर तीन किमी उकालो चढेपछि आइपुग्छ साल्मेडाँडा। हिउँदयाममा पनि हरियाली बचाएर राखेको यो पहाडमा दुई...