Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

थोते साइँलो

  • ८ चैत्र, २०७०
  • उपेन्द्र सुब्बा
  • DISQUS_COMMENTS
(1 Vote)
थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ।
थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा छ। कसैले झुक्किएर थोते साइँलो भनी बोलाइहाले भने पहिलोचोटिलाई ऊ सुझावको रूपमा दाँत जोगाउने तीन उपाय बताउँछ–
१. बिहान–बेलुका सधैं दाँत माझ्ने, 
२. गुलियो नखाने, खाए पनि मुख कुल्ला गर्ने 
३. मलाई फेरि थोते साइँलो नभन्ने।
मान्छेहरूले बिहान–बेलुका दाँत नमाझे पनि, गुलियो खाएर मुख कुल्ला नगरे पनि साइँलोको तीन नम्बरको सुझावलाई भने मानेका छन् र आफ्नो दाँत सलामत राखेका छन्।
यहाँ, जिल्ला प्रशासन कार्यालयका सुब्बाले थोते भनेर साइँलो बाझेको भने पक्कै होइन। नगरिकताको प्रतिलिपि निकाल्न आएको साइँलोलाई सुब्बाले जन्म मिति २०३७ सालको भनी नपत्याउँदाचाहिँ ऊ जंगिएको हो।
‘मेरो जन्म ०३७ होस् कि ०२७ होस्। कागजपत्र मिलेको छैन भने भन्। तेरो रेकर्ड हेर्!' साइँलोले यसरी सुब्बाको सातो लियो।
‘यो पुरानो नगरिकतामा फोटै चिनिँदैन। के साह्रो धुजाधुजा पारेको? जुवाखालको पैसाजस्तो। नागरिकताजस्तो चिज,' नागरिकता हेर्दै सुब्बा अन्कनियो।
‘होइन, तिमी नै बनाउछौ कि म सिडियो साबलाई भेटूँ?' साइँलोले सुब्बालाई थर्कायो।
सुब्बाले आँखा टेँढो पारेर साइँलोलाई खाउँला झैं गरेर हेर्योँ। साइँलो किन डराउँथ्यो! आफ्ना चिम्सा आँखालाई झनै चिम्सा पारेर सुब्बासँग आँखामा आँखा जुधायो। 
‘भरै दुई बजे आउनू!' सुब्बा कागजपत्रको ढड्डा बोकेर अर्को फाँटतिर लाग्यो।
...
साइँलो धेरजसो राजधानी बस्छ, र त सुब्बाले चिनेन। ऊ एउटा विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा चुनाव लडेको मान्छे। पहुँच माथिसम्म छ। ऊ आफुलाई ठूलै नेता ठान्छ। उसले यसो सोच्नु नाजायज होइन। देशका ठूलाबडा भनाउँदा नेतासँग उठबस नै भन्न नमिले पनि उसको राम्रो चिनजान भने छ। र त प्रशासनको सुब्बाजस्तो ओहोदाको मान्छेलाई थर्काउन सकेको हो।
साइँलोले गोविन्द नाम आफैंले राखेको होला। लिम्बू बाउआमा वा फेदाङ्बाहरूले यस्तो नाम जुराउने कुरै भएन। भारतीय नायक गोविन्दाको फिल्म हेरेपछि प्रभावित भएर साइँलोले आफ्नो नाम कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्दा फेरेको होला। यस्तो अनुमान गर्न साइँलोको नाचको स्टाइलले पनि मद्दत गर्छ। बिहे–पार्टीहरूमा नाच्नुपर्दा ऊ भरसक गोविन्दाले नाचेजस्तै नाच्न खोज्छ। लिम्बूले जतिसुकै राम्रो नाम राखे पनि के गर्ने? अर्को लिम्बूले बोलाउँदा एकार जोडेर नाम बिगारिहाल्छ । गोविन्दलाई गोविन्दे। कृष्णलाई किस्ने। पछिल्लो समय धेरै युवाले आफ्नो नाम आफंैले राखे। फलामसिं, चाँदसिं, सुनकुमार आदि। तर, पनि हिराबहादुर, हिराचन्द नामचाहिँ लिम्बू केटाहरूले राखेनन्। 
साइँलोले आफ्नो बाउलाई शुद्ध ‘गोविन्द' उच्चारण गर्न कति सिकायो कति। बूढो लिम्बूले के सिक्थ्यो र भनिजान्नु गोविन्द? ‘हाओ कुभिण्डे' भन्नसम्म जाने। तब साइँलोले बाउलाई उर्दी नै जारी गर्योो, ‘कहिले गोविन्द नभन्नू! साइँलो मात्र भन्नू!' 
घरमा गोविन्दलाई साइँलो भनेर बोलाउँछन्। साइँलोको दाँत थोते भएकाले विशेषण जोड्न सिपालु मान्छेले थोते साइँलो भने। उसको गोविन्द नामभन्दा थोते साइँलो चर्चित थियो गाउँमा।

साइँलोको जन्मै दाँत थोते भने होइन।
एकदिनको घटना। उसका कान्छा बाजे गाउँका अध्यक्ष थिए। अध्यक्षले चढ्ने एउटा घोडा थियो। घोडा होइन घोडी। साइँलोको भनाइअनुसार खरायो मार्ने पासो बनाउन ऊ घोडीको पुच्छर चोर्न तबेलामा गयो। कर्दले घोडीको पुच्छर काट्दै थियो, घोडीले लात छोड्यो। साइँलो बेहोस भएर तबेलामा थियो। धन्न गोठालोले देख्यो र छिट्टै उद्धार भयो। ऊ आधा घन्टापछि होसमा त आयो, तर उसका हाँसी दाँतहरू भने थिएनन्। 
यो घटनालाई लिएर गाउँका केही फटाहा मान्छेले साइँलोमाथि अनेक अनुमानका फोहोरी कुरा पनि गरे। जसले जे भने पनि सत्य कुरा कि साइँलोलाई थाहा थियो कि घोडीलाई मात्रै। तर, शंका गर्नेलाई ठाउँ भने प्रशस्त थियो। सिकार नै नखेल्ने मान्छेले किन पासो बनाउनुपर्योा? पासो बनाउनलाई नाथे घोडीको पुच्छर नै किन चोर्नुपर्योन? कान्छा बाजेलाई माग्दा भइहाल्थ्यो। ल, साइँलो चोर्नै गयो, पुच्छर काट्दैमा घोडीले किन लात्ती हान्नु? आदिआदि।
कुरो जे भए पनि साइँलोको दुइटा दाँत घोडीको लातले नै झरेको भने साँचो हो। साइँलो त्यही दिनदेखि बेरूपको र सबैको हाँसोको पात्र भयो। नक्कली दाँत लाउन गाउँमा कुनै क्लिनिक वा डेन्टल हस्पिटल थिएन। जसको लागि सहर झर्नुपर्थ्यो। सहर झर्न पैसा चाहियो। साइँलोका बाउसँग तत्काल पैसा थिएन। पैसा जोरजाम गर्न वर्ष दिन लाग्यो। वर्ष दिनभित्रमा गोविन्द लिम्बू थोते साइँलोको नामले प्रख्यात भइसकेको थियो।
साइँलो सहर गयो। दाँत लगायो। तर पहिलेको गोविन्द हुनै सकेन। महँगो दाँत रोपे पनि गाउँलेको नजरमा ऊ थोतेको थोते नै रह्यो। तब, गाउँलाई माया मारेर ऊ राजधानी छिर्योँ। साइँलोले राजधानीमा बसेर पढ्यो तर बिए पास गर्न भने सकेन। विद्यार्थी राजनीति पनि खूबै गर्यो । बल गरे पनि केन्द्रीय सदस्य हुन सकेन। साइँलोले बिएसम्म पढ्नुलाई पनि ठूलै उपलब्धि मानेको छ। केन्द्रीय सदस्य हुन नपाए पनि पार्टीका नेतासँग राम्रै चिनजान छ। यसैमा ऊ सन्तुष्ट छ। 
साइँलोको राजधानीमा आफ्नै किसिमको कामकाज छ। एक–दुई साथीभाइबीच फाल्टै किसिमको रापधाप छ। बाँकी अब, साइँलोलाई एउटी श्रीमती चाहिएको छ। ‘छोरीचेली दिन्छौं' भन्नेका छोरीचेली साइँलोलाई राम्रै लागेनन्। राम्री तरुनीहरूले साइँलोलाई ढिम्किनै दिएनन्। साइँलोको रफ्तार यहीँनेर रोकियो।
एकदिन–
उदास साइँलो खाटमा उतानो पल्टेर बिहेबारे सोचिरहेको थियो। कोठाको ढोका कसैले ढकढक गर्योो। अल्छी मान्दै साइँलोले ढोका उघार्योे। ढोकाअघि एउटी केटी उभिएको देखेर साइँलो तर्स्यो। केटीले हाँस्दै नमस्ते गरी, ‘चिन्नु भएन? म पवित्रा।'
पवित्रा बेघालाई साइँलोले चिन्यो। क्याम्पस पढ्दा पवित्रासँग साइँलोको सामान्य चिनजान थियो। विद्यार्थी नेता भएपछि कति जनासँग चिनजान हुन्छ? सम्झीसाध्ये हुँदैन। साइँलोले पनि पवित्रालाई बिर्सिसकेको रहेछ। सामुन्ने देख्दा पो याद भयो।
साइँलोले पवित्रालाई कोठाभित्र बोलाउँदै सोध्यो, ‘कति कामले आउनुभो होला? के सेवा गर्नुपरो मैले?' 
‘काम त कामैले आको,' टुलमा बस्दै पवित्राले भनी।
‘सेवा गर्ने मौका पाऊँ हजुर,' साइँलोले हात जोड्यो। सेवा गरेर मेवा खाने साइँलोले युक्ति जुरायो।
‘तपाईंको सबतिर चिनजान छ। यसो जागिर मिलाइदिनुपरो। काठमान्डूमा बाँच्नै गाह्रो भो,' पवित्राले आउनुको कारण बताई।
‘थुक्क! एक–दुई दिनअघि मात्र आको भा? हेर, एउटा संस्थानमा कस्तो राम्रो जागिर थियो,' ठूलो मान्छेको भाषा साइँलोले पनि सिकिसकेको थियो। थप्यो, ‘जागिर खान मन भएकोले त सम्पर्कमा बस्नुपर्छ नि। हाम्रो मान्छेहरू त्यै भएर पछि परेको। अरू जातको मान्छे यतिकै लाइनमा हुन्छ। तारको तार फोन गर्छ। ए, हैरानै पो पार्छ।'
‘अबदेखि म पनि सम्पर्कमा बस्छु। हाम्लाई पनि माया गर्नुपर्योछ नेताज्यू!' पवित्राले पनि अलिअलि चाकडीको भाषा बोली।
‘खोइ, तपाईंको फोन नम्बर दिइराख्नूस्!' साइँलोले मोबाइल झिक्दै भन्यो।
पवित्राले आफ्नो मोबाइल नम्बर भनिन्। साइँलोले नम्बर ‘सेभ' गरेर पवित्रालाई मिस कल मार्दै भन्यो, ‘यो मेरो हटलाइन नम्बर हो। सम्पर्क गर्दै गर्नू!'
पवित्राले मुस्कुराउँदै ‘हस्' भनी।
‘आफू त एक्लो मान्छे। कोठामा केही पाक्दैन। जाऊँ चिया खान बाहिर,' साइँलोले भन्यो।
दुवै जना कोठाबाहिर निस्किए। साइँलोको कोठादेखि दुई–चार घर पर एउटा चिया पसल छ। त्यहाँसम्म सँगै हिँड्दा साइँलोले पवित्राबारे थुप्रै कुरा सोच्यो। पवित्राको नजर चोरेर साइँलोले पवित्राको सम्पूर्ण शरीर नियाल्यो। साइँलो र पवित्रा चिया पसलमा पुगे। साइँलोले दुई कप चिया माग्यो। 
‘पवित्राजी, तपाइँले बिहे गर्नु भा हो?' बेप्रसंग साइँलोले सोध्यो।
पवित्राले लजाउँदै भनी, ‘छैन। बिहे भाको भा जागिर किन खानुपर्थ्यो नि?' 
पवित्राको जवाफ साइँलोको लागि चाहेकै जस्तो थियो। साइँलो मुस्कुरायो। उसको मनले भन्यो, ‘तेरो लागि पर्फेक्ट केटी यही हो केटा।' 
पवित्रा गइसकेपछि साइँलोले आफ्नो भविष्य छर्लंगै देख्यो। उसले पवित्रालाई बिहे गर्नेछ, दुइटा छोराछोरी हुनेछन्। एकदिन साइँलो कसो मन्त्री नहोला र? तब, एउटा घर हुनेछ। गाडी मुला उसै भइहाल्छ। 
साइँलोले मन थाम्नै सकेन। पवित्रा गएको घन्टा पनि नभई साइँलोले पवित्रालाई फोन गरिहाल्यो। चिन्ता गरेर ‘कोठामा पुग्यौ?' भनी सोध्यो। जागिरको लागि आफूले मन्त्रीलाई फोन गरिसकेको भनेर ढाँट्यो। ‘म छु जागिरको फिक्री नगर्नू' भनी आश्वासन पनि दियो। र, अन्तिममा चाहिँ ‘बिहे गर्ने विचार छ छैन' भनी सोध्यो।
‘हाम्लाई कल्ले मन पराउँछ र?' पवित्राले भनी।
यो मौकामा पनि साइँलोले ‘मन पराउँने म छु नि' भन्न सकेन। कुराकानी अरूअरूतिरै बरालियो।
रातको खाना खाईवरी ओछ्यानमा ढल्केर साइँलोले फेरि पवित्रालाई फोन गर्‍यो। फोनबाट साइँलोले खाना खाए–नखाएको सोध्यो। सुत्ने बेला भए–नभएको सोध्यो। अन्तिममा चाहिँ साइँलोले बिहेकै कुरा उठायो, ‘कसैले बिहेको प्रस्ताव गरे के भन्नुहुन्छ?'
पवित्रालाई थोरै शंका लाग्यो। पढेलेखेकी पवित्रालाई कुराको के खाँचो पर्थ्यो र? उसले पनि भन्दिई, ‘के भन्ने? भन्ने कुरा प्रस्ताव गर्ने केटामा भर पर्छ।'
‘फर इक्जाम्पल। मानिलिनोस्, मैले प्रस्ताव गरेँ भने के भन्नुहुन्छ?'
साइँलोले जतिसुकै बांगो गरी सोधे पनि पवित्राले कुरा सिधा बुझी। उसले पनि कुरा घुमाई, ‘तपाईंले नै प्रस्ताव गर्नुभयो भने ‘नाइँ हुँदैन' त भन्दिनँ।'
पवित्राको जवाफ सुनेर खाटमा ढल्केको साइँलो खुसीले जुरुक्कै उठ्यो र बुरुक्क उर्फ्यो। 
‘तर...' पवित्राको कुरा बाँकी थियो। भनी, ‘तर मेरो बाउआमाले दिए भनेमात्र। लिम्बूको रीतिथिति तपाईंलाई थाहै छ। माग्नु जानूस्! दिए भने एस्। नदिए नो।'
‘रीत पुर्यााएर माग्न गयो भने कसो नदेलान्?' सोच्यो साइँलोले। साइँलोको मन फुरुंग भयो। भारी बोकेर चौतारोछेउ पुगेजस्तै लाग्यो। साइँलोले सोच्यो भारी बिसाउन किन ढिलो गर्ने? दुई भाइ साथी साथ लगाएर लाग्यो पवित्राको गाउँतिर। 
रातभरको बसको यात्रापछि तीन भाइ एउटा चोकमा ओर्लिए। पवित्राको घर चोकदेखि आधा घन्टा टाढा थियो। तीन भाइले चोकमै खाना खाएर जाने विचार गरे र एउटा ‘छाप्री होटल'तिर लागे। साइँलोले पवित्रालाई ‘जाँदैछौं है' भनी खबर गरिसकेको थियो। दिउँसै गएर के गर्नु? केटी माग्ने काम धेरजसो राति नै गरिन्छ। रातमा एउटा फाइदा हुन्छ। केटामा केही कमजोरी भए अँध्यारोमा सजिलै लुकाउन सकिन्छ। साइँलोको पनि त दुइटा दाँत नक्कली छन्। चुरोट खाने बानीले उसका असली दाँत भने खिया परेका थिए। नक्कली दाँत भने सेता। साइँलोलाई केटी माग्न रातिकै समय उत्तम लाग्यो। हतार नगरी आरामले कुखुराको मासुसँग भात खाए। तीन बोतल बियर पिए। घाम पश्चिम ढल्केपछि तीन भाइ हिँडे। पवित्राको घर पुग्न लाग्दा अचानक साइँलोको पाइला टक्क रोकियो। एउटा साथीले ‘के भो' भनी सोध्यो। साइँलो केही नबोली फनक्क फर्क्यो र दौड्यो चोकतिर। अरू दुई भाइ छक्क परे। ती पनि साइँलोको पछिपछि दौडिए। साइँलो सिधै अघि बसेको होटलमा पस्यो। टेबलवरिपरि हेर्दै साहुनीलाई सोध्यो, ‘यहाँको हड्डी खोई?'
साहुनीले डराउँदै भनिन्, ‘सप्पै बटुलेर सुँगुरको चारोमा पो लागाएँ। के थियो होला नि?'
‘चारो लाउने भाँडा कहाँ छ?' साइँलोले हप्काएर सोध्यो।
साहुनीले आत्तिँदै चारो लाउने ड्रम देखाइन्। साइँलोले विना हिच्किचाहट ड्रममा हात हालेर खोतल्यो। साथीहरू पनि त्यहाँ आइपुगे। साइँलोले ड्रमको फोहोर भुइँमा पोखायो र एकएक हड्डी छामेर हेर्योय। साइँलोले खोजेको चिज भेटेन। एउटा साथीले साइँलोको छेउ गएर रिसाउँदै सोध्यो, ‘के हरायो भन् न जाँठा! हामी पनि खोज्न सघाउँछौ। नभनी हाम्ले भुत्रा खोज्नु?‘
‘इः हेर जाँठा!' साइँलोले ङिच्च पारेर दाँत देखायो। साइँलोको नक्कली दाँत थिएन। परतिर उभिएको साथी मरीमरी हाँस्यो। साहुनी पनि हाँसिन्।
‘म त कस्तो डराको। सुनको औंठी वा मालासाला केही पो थियो कि भनेर,' साहुनीले हाँस्दै भनिन्।
साइँलोको दाँत भेटिएन। अब के गर्ने भन्ने सल्लाह गर्न तीन भाइ त्यही होटलमा बसे। 
‘बियर खाँदै सल्लाह गरूम्!' एउटाले भन्यो। ऊ आफैंले तीन बोतल बियर अर्डर गर्यो।।
बियर खाइसकेर अर्कोले भन्यो, ‘जे पर्ला केटी माग्न जाऊँ।'
‘थोते दाँत लिएर कसरी जानु?' साइँलोले मन खिन्न पार्दै भन्यो।
‘ए, देख्दैन। तर झुक्केर पनि हाँस्ने होइन। आँ गर भनीवरी दाँत त हेर्दैन होला नि,' बियर अर्डर गर्नेले भन्यो। 
साथीको कुराले साइँलोलाई थोरै भए पनि राहत महसुस भयो। घरछेउमै पुगेर त्यतिकै फर्किनु पनि साइँलोलाई सही लागेन। आखिर, पवित्रासँग कुरा भइसकेकै थियो। उसले पनि घरमा केही त अवश्य बताएको होला। बाउआमालाई मनाइसकेको हुन सक्छ। बाउमाइतीको मान, इज्जत राख्नलाई मात्र माग्नु भनेको हो कि! यस्तै सकारात्मक सोच्यो साइँलोले र केटी माग्न जान मञ्जुर भयो।
डेन्टल हस्पिटल वा क्लिनिकले भनेझैं जति नै महँगो पैसा तिरेर नक्कली दाँत रोपे पनि नहुँदो रहेछ। योभन्दा अघि पनि साइँलोको नक्कली दाँत एकचोटि झरेकै थियो। त्यस बेला भने उसलाई फाइदै भएको थियो। एउटा मान्छेसँग सानो कुरामा उसको हात हालाहाल भयो। नक्कली दाँत हरायो। असली दाँत झारिदियो भनेर साइँलोले पुलिसमा उजुरी हाल्यो। त्यो मान्छेले फोकटमा सत्तरी हजार साइँलोलाई जरिवाना तिर्योभ।
साइँलो र साथीहरू पवित्राको घरमा दुई बोतल रम र पातमा केही रकम भुइँमा राखेर केटी माग्न बसे। साथीले भरसक भाँती पुर्याोएर मुन्धुमी भाषामा कुरा राख्दै थिए। पवित्राको बाउले बीचैमा प्वाक्कै सोधे, ‘तीन जनामा केटाचाहिँ को हो?'
साइँलोलाई देखाउँदै अर्को साथीले भन्यो, ‘उहाँ हो हजुर, गोविन्द लिम्बू। हामी सबै लिम्बूहरूको आशलाग्दो युवा नेता। उहाँ एक दिन मन्त्री हुने पक्का छ।'
‘नाथे! मन्त्री भएर के नापिन्छ। उमेरमा लाहुर जानु छैन। हामी यस्तो बेकामे नेतासेतालाई छोरी दिँदैनौ,' पवित्राको बाउले सिधै अस्वीकार गर्योल।
‘केटा त बूढोजस्तो पनि छ,' ढोकामा उभिएर पवित्राकी बहिनीले सजिलै भनिदिई। 
‘उहाँ र पवित्रा क्लासमेट हुनुहुन्छ। पवित्राजीलाई सोध्नुभए हुन्छ। उहाँहरूको राम्रो चिनजान छ,' साथीले कुरा मिलायो।
‘एउटै क्लासमा पढ्दैमा उमेर एकैनासको हुँदैन। हाम्रो क्लासमा त अंकलजस्तापनि आउँछ,' उही बहिनीचाहिँले भनी।
साइँलोलाई सही नसक्नु रिस उठ्यो। भित्री गोजीबाट नागरिकता झिकेर भुइँमा पछायो, ‘लु हेर मेरो नागरिकता। म कसरी बूढो हुँ?'
‘नागरिकतामा उमेर घटाउनु मिलिहाल्छ नि। कुन ठूलो कुरा हो र?' फेरि पनि बहिनीले साइँलोको खिल्ली उडाई।
साइँलोले भुइँको आफ्नो नागरिकता टिपेर फेरि पछार्यो । भन्यो, ‘ए, यो तेस्तो कीर्ते नागरिकता हो र? लु, हेर्नु! इः राम्ररी हेर्नू!'
साइँलोले यसो भन्दा पवित्राको बाउले साइँलोको थोते दाँत देखिहाले।
‘ल, यो मान्छे त बूढोमात्र होइन, थोते पनि रैछ। यस्तो थोतेलाई कसरी छोरी दिनु हाओ? कि के सोचेर आको हँ। घुरुक्क उठेर जान्छौ कि लाठीमुंग्री लाऊँ? ओए पवित्राको आमा, त्यो टोटा बन्दुक लिएर आइजा त! साले थोते बूढा भएर छोरी माग्न आउने?' पवित्राको बाउ नराम्ररी रिसाए।
पवित्राकी आमाले बन्दुक लिएर आउनुपहिले नै जराक्कजुरुक उठेर तीन भाइले कुलेलम हाने। आधा घन्टाको बाटो दस मिनेटमै काटे। साइँलाहरू चोकमा पुगे। 
एउटा साथी रिसायो, ‘नबोली चुप बस है भनेको होइन साले!'
अर्को साथीले पनि थप्यो, ‘तँ त बाठो भनेको त लाटा पो रछस्। तेरो त्यो क्यारे, पवित्रा कि सविता? तेसको खेलमा परिस् केटा। यो सप त्यै केटीको प्लान हो। साला बिनासित्ती दुःख पाइयो।'
साइँलो स्तब्ध भयो। साइँलोको चोखो माया हाँसीमजाक बन्यो। पवित्राले साइँलोलाई मन नपराउनु साइँलोको चित्त दुखाइ होइन। अस्वीकार नै गर्नु थियो त पालमजस्तो घुमाउरो गरी किन गर्नु? सिधै भन्नु नि मन पराउँदिनँ भनेर।
...
झ्यालबाट बाहिरको चिसो स्याँठ पस्यो। उसै काठमान्डूले रोगी बनाएको। पिनास पनि छ साइँलोसँग। चिसो स्याँठले साइँलोको नाक पोल्न थाल्यो। उसले रोक्नै सकेन, जोडले हाँच्छ्यु गरिहाल्यो। साइँलोको एउटा दाँत फुत्तै उछिट्टियो। भित्तामा ठोक्किएर भुइँमा झर्योू। त्यही बेला सुब्बा आइपुग्यो। साइँलोले हतारमै दाँत टिपेर लगायो अनि सुब्बालाई हेर्दै हाँस्यो– हिहिहि...!
चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

एकालाप

एकालाप

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

‘स्मार्ट' बन्दैछ सवारी लाइसेन्स

काठमाडौं-न घामले खुइलिने डर, न पानीले भिजाउने चिन्ता। हराइहाले पनि अरु कसैले दुरुपयोग गर्ला कि भन्ने कत्ति पीर नहुने। सवारीचालकका लागि खुसीको खबर छ– यातायात व्यवस्था विभागले आठ महिनापछि ‘स्मार्ट...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...

साहसी सहाना

साहसी सहाना

सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर,...

चतराधाममा निम्तो

चतराधाममा निम्तो

पूर्वाञ्चलको चतराधाममा चैत १७ गतेदेखि पूर्ण महाकुम्भ मेला आरम्भ हुँदैछ। त्यसले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सदभाव वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। महिना दिन चल्ने मेलामा चैत्र शुक्ल...

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।