Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

एक क्रोनिक दार्शनिक

  • १५ चैत्र, २०७०
  • शकुन्तला जोशी
  • DISQUS_COMMENTS
(1 Vote)
एक क्रोनिक दार्शनिक
हरेक वर्ष वसन्त ऋतुले पालुवा हालेपछि राजधानीका सडकभरि नीलो शिरीष फूल्छन् जसै, एक महान् स्रष्टाको सम्झना हुन्छ। ती हुन्, पारिजात। आफ्नै स्वतन्त्रताको फाँटभरि छताछुल्ल पोखिने, अप्ठ्यारो टाकुरामा पुगेर पनि आफ्नै अस्तित्वको धरातलमा उभिने, यथार्थको पक्षमा कलम चलाउने एक अपराजिता।
मान्छे जातिका लागि लेख्दालेख्दै शिरीषका फूलमा जीवनको रङ बिसाएर उनी बिदा भएको बाइस वर्ष भइसकेछ। तर यत्ति लामो अवधि गुजि्रसक्दा पनि पारिजात नहुनुको पीडाले उत्तिकै तातो गरी पोलिरहन्छ सुकन्याको मन। रसाइरहन्छन्, आँखा। उनलाई लाग्छ, हरेक बिहान राति देखेको सपना बाँड्न ढोका ढक्ढक्याउन आइपुग्नेछिन् पारिजात। सहर हिजो नभएका धेरै मान्छेले भरिएको छ अहिले, र साँघुरिएको छ आफ्नो सँधियारी भएर बग्ने विष्णुमतिको किनारा। तर कति गर्दा पनि आफ्नो जीवनको क्षितिजभरि फैलिएको पारिजातको सम्झनालाई खुम्च्याउन सकिनन् सुकन्याले। बरु झन्–झन् फैलिँदो रहेछ छाडेर जानेको सम्झनाको आकार। 
कुनै ठूलो महत्वाकांक्षा र सपना नबोक्ने सुकन्या पारिजातको निम्ति बाँचिदिन केटीकेटीको भविष्य कोरिरहन्छिन्, आफ्नै पाठशालामा। बचेको समय पारिजातका निम्ति थप केही गर्ने योजनाको तान हालिहाल्छिन्। उसो त श्रीमान् निर्मल लामाजीले पनि उनलाई एक्लै छाडेर धरतीबाट बिदा भएको लामै भइसक्यो। तर कुन्नि कसो हो, उनलाई दिदी पारिजातकै सम्झनाले बिथोलिरहन्छ हरदम। उनी भन्छिन्, ‘जसरी आँसुविनाको आँखा हुँदैन, रगतविनाको मुटु हुँदैन, जसरी प्राणविनाको शरीर हुँदैन, फूलविनाको वसन्त ऋतु हुँदैन, त्यसरी नै पारिजातविना मेरो अस्तित्वको कल्पना गर्न सक्दिनँ।' खुट्टामा चोट लागेर छेउमै न्यासि्रन आइपुगेको कुकुरलाई सुम्सुम्याउँदै हिउँदको एक घमाइलो दिन उनको घरको छतमा बसेर उनका भाव एकोहोरिएर सुन्दै थिएँ म।
सानो छँदा दिदी–बहिनी जगटा लुछालुछ गरेर खेलेको सम्झना सुकन्याको मनबाट हराएको छैन, ‘उनी शारीरिक बनावटको हिसाबले निकै कमजोर थिइन्। रिसको झोँकमा म दिदीलाई टिपेर उः पर फाल्थेँ। तर जब बुझ्ने भयौं, असाध्यै मिल्थ्यौं; त्यो अपरिभाषित गहिरो मायाको रूपमा थियो सायद। अहिले धेरैले भन्छन्, पारिजातलाई सुकन्याले बचायो। तर त्यो बुझाइ गलत हो जस्तो लाग्छ। पारिजात आफैंमा एक सशक्त मान्छे, मेरो त आधार नै उही थियो। ऊ बितेपछि म त टुटेको नि, सम्पूर्ण रूपमा टुटेको। तर मर्नुअघि उसले भनेको एक वचन मेरो निम्ति जीवनलाई अघि बढाउने मूल आधार बनेजस्तो लाग्छ। म भावनात्मक रूपमा निकै कमसल मान्छे हो भन्ने उसलाई थाहा थियो। मुड चल्यो कि दिदी र म राति अलिअलि ड्रिंक गर्थो। पकौडा पकायो, अरू केके स्न्याक्ससँग लोकलको चुस्की लाउँदै आधा रातसम्म गफिएर बस्थ्यौं। त्यो बेला कहाँबाट पाउनु भीआइपी रक्सी?' (उनी लामो हाँसो हाँस्छिन्)। 
सुकन्या र निर्मलका एक्लो छोरो निमा छेवैमा बसेर आमाका कुरामा घरिघरि सही थाप्छन्, घरि केही कुरा थप्छन्। सुकन्या धागोको पोयो खोलेझैं मनलाई उधार्दै जान्छिन्। र भन्छिन्, ‘एकदिन दिदीले भन्यो, म मरेँ भने तँ के गर्छस् हँ?' केही नसोची मैले फ्याट्ट जवाफ फर्काएँ, ‘तिमी मर्यौ भने? म त आत्महत्या गर्दिन्छु।' दिदीले बडो कडा नजरले हेर्दै भनिन्, ‘थुक्क काँतर, केही गरी तँ मरिस् भने म त आफ्नो जिम्मेवारी पूरा गरीकन तेरो पनि काम सम्हाल्नेछु।' अहिले हेर्दा त उल्टोउल्टो पो भो, वास्तवमा जीवन त एक ‘आइरोनी'मात्र भो। उनले अधुरो छाडेको महान यात्रालाई अघि बढाउने क्षमता मसँग छैन। तर उनका बारेमा जिज्ञासा राख्न आउने तपार्इंहरूका लागि केही भनिदिने, उनका किताब, सम्झनालाई अलिकति जतन गरेर राख्ने, स्मृति केन्द्रको स्थापना गरेर उनको योगदान र सम्झनालाई थोरै भए पनि जीवित राख्ने प्रयासमा भने जुटेकै छु। तर पनि जीवन आइरोनी भो भन्ने लाग्छ,' स्मृतिका पत्र खोल्दै जाँदा सुकन्याको अनुहार घरि उज्यालिन्छ, घरि अँध्यारिन्छ।
पारिजातलाई प्रकृतिसँग खुब मोह थियो। रोगले थलिएर खुम्चिएको शरीर लिएर पनि उनलाई झमझम परेको पानीमा रुझ्न मन हुन्थ्यो। उनी साथीहरू भेला गरेर ‘नाइट पिकनिक' जान्थिन्। म्हेपीको हालकै घरछेउको जंगलभित्र कुञ्ज बनाएर साँझको समय त्यहाँ बिताउनु उनलाई खुब रमाइलो लाग्थ्यो। पारिजात जंगलको त्यो कुञ्जमा पनि वरिपरिका केटाकेटी भेला गरेर विभिन्न कथा सुनाउन रुचाउँथिन्। केटाकेटी भनेपछि खुब मन पर्ने उनले ‘बन्दी सहायता नियोग'को स्थापना गरेर जेलमा रहेका अभिभावकका अलपत्र बालबालिका संरक्षण अभियान पनि अघि बढाएकी थिइन्। त्यसैबेला त्यस्ता बालबालिकाको लागि ‘बचेरा बास' नाममा संस्था स्थापना गर्ने दिदीको अवधारणालाई पारिजातको देहान्तपछि सुकन्याले अघि बढाइन्। सन् १९९३ मा डिल्लीबजार सदरखोरका बन्दीका ६ जना बालबालिका ल्याएर सुरु गरेको संस्थामा हाल २८ जनाजति आश्रित छन्। 
खुट्टाले हिँड्न नमिले पनि पारिजातलाई सुकन्याले बोकेर तल विष्णुमतीको तीरमा पुर्या इदिनुपर्ने, उनी दिनभर नदीको पानीमा खुट्टा चोपलेर बस्थिन्। ‘सग्ला खुट्टा भएर पनि मलाई भने कतै हिँड्न मन नलाग्ने, तर त्यो हालतमा पनि दिदीको इच्छा चराजस्तै स्वतन्त्र भएर उड्ने हुन्थ्यो,' पर कतै क्षितिजतिर हेर्दै पुराणको कथावाचकझैं उनी गुन्गुनाउँदै जान्छिन्। मैले अक्षरहरूमा पढेको तर भौतिक रूपमा देख्न नपाएको पारिजातको आकृति सायद उनी हाम्रैछेउ देखिरहेकी थिइन्। उनले गीतको रूपमा सधैं गुन्गुनाइरहने यो कविता सायद त्यस्तै कुनै मौसममा सिर्जना गरेको हुनुपर्छ भन्ने सुकन्याको ठम्याइ छ– 
‘पानी परेर उघ्रेको रातमा मध्य प्रहरको जून होस्
हरेक फूलमा अश्रुविन्दु टप्केको होस्
लिएर कुनै जिउँदो सपना धरती सुतेको होस्
अधुरो मेरो आत्म कहानीमा रोग लागेको होस्

आत्म विस्मृतिको गन्ध फूलमा
वैराग्य स्पर्शमा
तन्द्रा बनोस् सब माया ममता बोझिलो स्पर्शमा
लिएर कुनै जिउँदो सपना धरती सुतेको होस्
अधुरो मेरो आत्म कहानीमा रोग लागेको होस्'
अहिले पनि पुतलीसडकमा पुगेपछि दिदीको सम्झनाले नराम्ररी बिथोलिन्छ सुकन्याको मन। त्यो बेला पारिजात र सुकन्या डेरा गरी बसेको घर भत्काएर दुईपल्ट नयाँ घर बनिसकेको छ। ती दुई दिदी–बहिनीले जीवनमा चरम संघर्षका दिन त्यही डेरामा बिताए। पारिजात त्यही घरमा छँदा आफ्नी हितैषी साथी दया सिंहसँग एकपटक साँझको झरीमा रुझ्दै टुकुचादेखि सिंहदरबार हुँदै पुनः भद्रकालीको फेरो मारेका थिए। त्यसरी नै रातको एकान्तमा खुल्ला आकाशमुनि विचरण गर्ने स्वच्छन्द चाह हुन्थ्यो उनको मनमा। त्यही घरमा बसेर शिरीषको फूल लेखेकी थिइन्। सुकन्यालाई अहिले पनि लागिरहन्छ– घर नभएर के भो, आखिर उनले टेकेको जमिन त अहिले पनि त्यही छ।
पारिजातलाई डाक्टर बनाउने उनका बाबु डा. केबी वाइबाको ठूलो सपना थियो। कोसिस गरे तर सकेनन्। ‘छोरीलाई डाक्टर बनाउन नसकेको कुराले बाउलाई लामो समयसम्म पोल्यो तर पछिल्लो समय दिदीको रुचि र क्षमतालाई बाउले स्वीकार्नुभयो। एकदिन बाउले दिदीलाई भन्नुभो, ‘ठिकै भो यो डाक्टर नभा'को। यो अधबेस्रोले एकातिर भनेर अर्कातिर सुई घोचिदिन्थ्यो होला। नसा फुलिएकेा देखेर पिलो भनेर काट्नु पनि बेर छैन। यो क्रोनिक फिलोसफर...।' 
जे होस्, पारिजातमा आफ्ना पिताको फरक किसिमले प्रभाव परेको थियो भन्ने लाग्छ सुकन्यालाई। विश्वप्रसिद्ध साहित्य, आध्यात्मिक ग्रन्थ खुब पढ्ने डा.वाइबाले त्यस्ता कृतिका प्रभावशाली चरित्र, घटनाक्रम र त्यसको प्रभावबारे छोराछोरीलाई सुनाइरहन्थे। यसरी पारिजात बुबाबाट प्रभावित थिइन्। 

शिरीषको फूल 
पारिजातलाई शून्यवादी भन्नेहरू पनि छन्, मार्क्सवादी मान्नेहरू पनि। आफूलाई एक सामान्य पाठक ठान्ने सुकन्या उनका सिर्जनालाई आफ्नै किसिमले विश्लेषण गर्छिन्। भन्छिन्, ‘म साहित्यलाई विश्लेषण गर्न सक्ने व्यक्ति होइन, सशक्त लेखक पारिजातको बहिनीमात्र हो। त्यसैले उनका कृतिको विश्लेषण गर्ने सामर्थ्य ममा छैन। यद्यपि, शिरीषको फूल लेख्ने बेला उनी चरम शारीरिक पीडाबाट गुजि्ररहेकी थिइन्। पीडाकै कारण उनमा जीवनप्रति नैराश्य बढेको थियो। र, मार्क्सवादी दर्शनको प्रभाव पनि उनमा परिसकेको थिएन। पछि मार्क्सवादी दर्शलाई अनुसरण गरिन्। त्यसको गहिराइमा पुगेका बेला ‘अनिँदो पहाड' लेखिन्। त्यसरी फरक परिवेशमा लेखिएका हुनाले ती दुई कृति निर्माणमा पक्कै पनि भिन्नता आएको हुनुपर्छ।' जे होस्, दुवै कृतिको उतिकै उच्च मूल्य भएको उनको ठम्याइ छ।
राल्फा मुभमेन्ट पनि उनको जीवनको संक्रमणकालीन अवधि नै थियो। पारिजातले ‘शिरीषको फूल जलाइदिए हुन्छ' पनि भनेको हो। तर उनलाई अमर बनाउने र उनको जीवनकालमै सबभन्दा बढी आर्जन गरिदिने पनि त्यही किताब भइदियो। ‘शिरीषको फूल त मेरो सबभन्दा बढी पैसा कमाउने छोराजस्तै भो है सुकन,' पारिजात को भनाइ यसरी सुनाउँछिन् सुकन्या। 

पात्रसँग पारिजात
जीवन भोगाइका अप्ठ्याराभन्दा अप्ठ्यारा परिवेशबाटै पात्रहरू टिप्नु उनको लेखनको सबल पक्ष थियो। ‘लेख्नका लागि कुनै नयाँ विषय आएपछि उनी दिमागभरि पात्र खेलाइबस्थिन्। एउटा सिंगो चित्र तयार भएपछि अक्षरमा उतार्ने उनले कुनै विषयलाई दोहोर्या्एर वा बिसाएर लेखेको मैले कहिल्यै पनि देखिनँ,' सुकन्या भन्छिन्। उनीसँग विभिन्न पत्रपत्रिकाले लेखरचना माग्थे। त्यो बेला अहिलेको जस्तो कम्प्युटरमा लेख्ने जमाना थिएन। हातैले लेख्नुपर्ने। पारिजात लेख्थिन् र मुल प्रति नै दिइपठाउँथिइन्। कतिपयले भने उनको लेख हराइदिने अनि फेरि लेख्न लगाउँथे। ‘कस्तो सालेहरू, फेरि लेख्न लगाए, उफ्!' उनी हैरान हुँदै फेरि लेख्थिन्। ती कतिपय पात्रको नाम सुकन्यालाई अझै सम्झना छ। पापी रोगले जर्जर भएर शरिरको नसा–नसा खुम्चिसक्दा पनि उनी आफ्ना कुरा अरूलाई लेख्न लगाउने विषयमा सहमत हुन सकिनन्। लेखनमा अरूले ‘डिक्टेट' गरेको पटक्क रुचाउँदैनथिन्। जसरी पनि आफैं लेख्थिन्। ‘अन्तिमतिर एउटा कविता भने मलाई लेख्न लगाइन्। मेरो मनभरि आयो मैले लेख्न सकिँन, लेख् लेख् भनिरहिन्,' उनी सुनाउँछिन्। त्यो कविता आजसम्म सुकन्यासँग सुरक्षित छ।
प्लेटोनिक लभ
पारिजातको अर्थमा प्रेमको परिभाषा फरक थियो। आफूले चरम प्रेम गरेको मान्छेसँग पनि शब्दमा मनको भाव अभिव्यक्ति गर्न मन पर्दैनथ्यो उनलाई। प्रेम हृदयको पवित्र अभिव्यक्ति भएकाले त्यसलाई शरीर र वासनाले बिटुलो बनाउँछ भन्ने पारिजातको विचार थियो। दार्जिलिङमा स्कुल पढ्दा उनका प्रेमी धनुवर मुखिया भेट्न आएका बेला पारिजातको अभिव्यक्तिप्रति सुकन्यालाई अहिले पनि अनौठो लाग्छ। ‘कुन्नि कस्तो विचार थियो दिदीभित्र? हात समातेर हिँड्ने प्रवृत्तिको प्रेमसँग उनलाई विश्वास थिएन। हुन पनि उनीहरू एकअर्कालाई खुबै सम्मान गर्थे। दिदी बितेपछि दाइ यहीँ आएर उनको सालिकमा आँसु चुहाएर गए। आखिर त्यही प्रेम पारिजात दिदीको जीवनको घाउ बन्यो,' उनी भन्छिन्। पारिजात र धनुवरको त्यो हार्दिकता सायद ‘प्लेटोनिक लभ' हुनुपर्छ भन्ने लाग्छ सुकन्यालाई। 
‘दिदीलाई साँझ, पानी परेर उघ्रेको रात मनपर्थ्यो। त्यस्तै बेला सिर्जना भएको थियो उनको त्यो कविता। त्यो कविता लय हालेर गाइरहन्थिन् बेलाबेला। वास्तवमा उनी गीत पनि गाउँथिन्, नाच्थिन् पनि, लेखनको त के कुरा भो र! पारिजात दिदी साँच्चै एक पूर्ण मानिस थिइन्,' उनी भरिला आवाजमा भन्छिन्।
दिदीको लागि अझै खास केही गर्न नसकेको गुनासो आफैंसँग गर्छिन् उनी। तर आफूलाई एक सामान्य मान्छे ठान्ने सुकन्याले आफ्नोतर्फबाट सक्नेसम्म गरिरहेकी छन्। पारिजातलाई आदर्श मान्ने, नेपाली साहित्यको मुर्धन्य स्रष्टा मान्ने वर्गले कही सुकन्यसँग सहकार्य गर्दै, कयौं ठाउँमा आ–आफ्नै पहलमा उनलाई सम्भि्करहेका छन्। म्हेपीको घर भएको क्षेत्रमा ‘पारिजात स्मृति केन्द्र' स्थापना छ। भवनमा उनको सालिक प्रतिस्थापित छ। सुकन्याले आफ्नो पाठशालामा उनको स्मृतिमा छात्रवृत्ति स्थापना गरेकी छन्। भन्छिन्, ‘म साधारण मान्छेले अरू के गर्न सक्नु र! जनताको तहबाट देशमा र भारतमा उनको स्मृतिमा विविध काम भइरहेका छन्। कहिलेकाहीँ बिदामा सिलिगुडी जान्छु, त्यहाँ दिदीको पूर्ण कदको ठूलो प्रतिमा छ। यस्तो लाग्छ, दिदी अहिले पनि जहितहीँ बाँचिरहेकी छिन्।' यो केन्द्रमा अब दिदीले प्रयोगका गरेका सामान राख्ने योजना उनको। पारिजातले प्रयोग गरेको ठूलो दराज, उनको डायरी, कलम, झोला, लुगाकपडा, टेबल, कचौरा, चार्टहरू छन्। पारिजातले प्रयोग गरेको एउटा कलम उनकै सालिकमुनि राखिएको छ। उनको एउटा पाण्डुलिपि भएको मोटो हरियो डायरी भने कतै हरायो। डायरीमा पारिजातद्वारा अनुदित उमर खैयामको रुवाइयात पनि थियो।
स्मृतिका लहर आँखामा डुलाउँदै सुकन्या भन्दै जान्छिन्, ‘अहिले पनि लामो यात्रा त गर्नैहुन्न। दिदीकै सम्झना दिमागभरि छाइरहन्छ। भन्थे, मरेका मान्छेलाई धेरै सम्झनुहुन्न, तिनको तस्बिर राख्नुहुन्न। त्यो म पत्याउँदिन। मेरो दिमागभरि दिदीकै मात्र तस्बिर छ। मेरो सिरानीभरि पारिजात दिदी र निर्मलजीका तस्बिर छन्। ती तस्बिर हेरेपछि आफूलाई सुरक्षित महसुस गर्छु। किन हो किन? दिदीलाई चाहिँ अति सम्भि्कन्छु अति। अहिले पनि मलाई साह्रो संकट पर्दा उसलाई सम्झेर रुन्छु, एक्लै बोल्छु र भन्छु– तिमी मलाई सपनामा केही भन। अनि दिदीलाई सपनामा देख्छु, कुरा गर्छु, उनी मलाई केके सुझाव दिइरहन्छिन्। हुन त सुन्दा यस्ता कुरामा अरूलाई हाँसो उठ्न सक्छ। जे भए पनि उनी मेरो सपनामा आइरहन्छिन्।'
मानसिंको चैते दसैं

मानसिंको चैते दसैं

मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।

नाति–नातिना स्याहार्न विदेश

भर्खर जन्मेको बच्चालाई चाहिने सामान काठमाडौंबाटै पोको पारेर यशोदा शर्मा (बाबा) अस्ट्रेलिया पुगिन्। उनका पोकोभित्र थिए– तोरीको तेल, लिटो, ढाकाको भोटोलगायत नातिनीका लागि चाहिने अन्य सामग्री। अस्ट्रेलियामा बच्चाका लागि चाहिने...

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

चतराधाममा निम्तो

चतराधाममा निम्तो

पूर्वाञ्चलको चतराधाममा चैत १७ गतेदेखि पूर्ण महाकुम्भ मेला आरम्भ हुँदैछ। त्यसले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सदभाव वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। महिना दिन चल्ने मेलामा चैत्र शुक्ल...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

घाम ताप्दै आराम

पर्यटन दिनानुदिन बहुआयामिक बन्दै गइरहेको छ। पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरीयता बढेझैं विविधता थपिँदै गएको पाइन्छ। प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट आजको पर्यटन...

टेगोर हुँदै वाइल्डसम्म

मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।